'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

सुकिला हिउँका पगरीभित्र लुकेको लाङटाङ उपत्यका

सुकिला हिउँका पगरी गुथेर युगौंदेखि पर्यटकको स्वागत तथा सत्कारमा जुटिरहेका लाङटाङ्गेली वा एक हुल भोट बर्मेली, चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थलको नामबाट वा धारिलो भीरको एक कन्दरामा फैलिएको सानो उपत्यका, कतै झुरुप्प त कतै अलग अलग बस्तीहरूको नामबाट आज नेपालको तेस्रो प्रमुख पर्यटकीय मार्गको रूपमा आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ लाङटाङ ।
क्याञ्जेन भ्याली, रसुवा 

    लाङटाङ क्षेत्रको परिचय

    रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका-४ मा रहेको लाङटाङ उपत्यका स्वर्गको एक टुक्रा जस्तै हो । नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा परिचित लाङटाङ क्षेत्र यही उपत्यकाको नामले परिचित छ ।

    सुकिला हिउँका पगरी गुथेर युगौंदेखि पर्यटकको स्वागत तथा सत्कारमा जुटिरहेका लाङटाङ्गेली वा एक हुल भोट बर्मेली, चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थलको नामबाट वा धारिलो भीरको एक कन्दरामा फैलिएको सानो उपत्यका, कतै झुरुप्प त कतै अलग अलग बस्तीहरूको नामबाट आज नेपालको तेस्रो प्रमुख पर्यटकीय मार्गको रूपमा आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ लाङटाङ ।

    तिनै लाङटाङ्गेलीका अतिथि सत्कारका दृश्य तथा मृत्युपर्यन्त सम्झनाका लागि बनाईएका क्षुर्तेन हेर्दै गगन चुमुला झैं गरी हज्जारौं पर्यटकलाई सुपारी बाँडिरहेको लाङटाङ हिमश्रृङ्खला ।

    लाङटाङ वा लामटाङ मानव वस्ती बस्नु पूर्व अवस्थामा 'लाङडाङ' नामले परिचित थियो । 'लाङ' को अर्थ तिब्बतीयन भाषामा 'गोरू' र 'डाङ' को अर्थ 'अघाएको' भन्ने हुन्छ ।

    सुनिए अनुसार उहिले तिब्बततिरबार यहाँ एउटा गोरू भागेर आएको रहेछ । गोरूलाई खोज्दै एउटा गोठालो पनि पछिपछि आयो । खाम्जिङ कटेर नेसा: गाङ अर्थात् चौतारो पछाडि आईपुगेछि मात्र गोठालाले भेट्छ र गोरू बाँधेर राखेर आफू उत्तानो परेर पल्टिन्छ ।

    गोठालो भुसुक्कै निदायो, ब्यूझेर हेर्दा गोरू त्यहाँ थिएन । गोरू बाँधिएको भनेको ढुंगाको प्वाल अहिलेसम्म पनि त्यहाँ छ । गोरू बाँधिएको ठाउँ हुनाले त्यसलाई लाङतासा (गोरू बाँधिएको) भनियो । गोरू खोज्दै गोठालो फेरि अघि बढ्यो, उसले गोरूलाई पूर्व (स्यार) तर्फ फर्केर सुतेको पायो । जसको कारण ठाउँको नाम पनि 'स्यार्पोको' रहन गयो भनिएको छ । त्यसैको अपभ्रम्शित रूप नै शेर्पागाउँ हो ।

    गोरू फेरि अगाडि बढ्यो, चाङडाम (हाल- लामाहोटल) पुग्यो, चाङडामको अर्थ खोलाको किनार हुन्छ । त्यहाँबाट गोरू क्युर्पुनेसामा पुग्यो । क्युर्पु (अमिलो) डालेचुकको जंगल धेरै भएको र त्यसलाई गोरूले खाएको हुनाले 'क्युर्पुनेसा' भनिएको हो, जसलाई हामी आजभोलि घोडातबेला भन्छौं ।

    गोरू समात्न नसक्दा गोरू अझै अगाडि बढ्यो, गोठालाले खोज्दै जाँदा घाँसपात, करू खाएर टन्न गोरू अघाएको भेट्यो । जहाँ गोरू अघाएको भेट्यो, त्यही ठाउँको नाम हो 'लाङडाङ । जसको अर्थ माथि नै उल्लेख गरिसकिएको छ ।

    अझै गोरू अगाडि बढ्दै जाँदा निकै पर पुगेपछि गोरूको यात्रा रोकियो, उसले भोटतिर फर्केर अर्को जन्म पनि भोटमा नै लिन पाउँ भनी प्रार्थना गर्दै देह त्याग गर्‍यो । गोरू मरेको हुनाले त्यस स्थानको नामाकरण लाङ (गोरू) सिसा (मरेको ठाउँ) – लाङसिसा रहन गयो ।

    लाङटाङ क्षेत्रका मुख्यमुख्य वस्तीहरूमा शेर्पागाउँ, रिमिचे, लामाहोटल, रिभरसाइड, घोडातबेला, थाङ्स्याप, गोम्बा, लाङटाङ, सिम्बु, क्याञ्जिन गोम्‍बा पर्दछन्।

    पहिलो हिमाली निकुञ्जको नामले मात्र हैन सायद नेपालमै पहिलो पटक याक चिज उत्पादन गर्ने ठाउँको नामले पनि परिचित छ लाङटाङ । पछिल्लो समयमा माउन्टेनियरिङ स्कूल निर्माण हुने कुराले पनि लाङटाङले झन् चर्चा पाउँदैछ । छिमेकी मुलुक चीनसँग कठालोमा बाँधिएको मुलुकको तेस्रो गन्तव्यले सांस्कृतिक, ऐतिहाँसिक, धार्मिक, पर्यटकीय तथा पर्यावरणीय यी सबै विधालाई उत्तिकै महत्व राख्दछ । यही क्षेत्रको गोसाइँकुण्डमा हुने धार्मिक मेला, क्याञ्जिन उपत्यकामा नाँचिने डुक्पा छेच्यु र यसका आपपासमा मनाईने विभिन्न सांस्कृतिक पर्व, कला संस्कृति तथा परम्पराले पर्यटकीय सम्बन्ध अझ गाढा र नजिक बनाउँदछ । विश्वमा नै दुर्लभ मानिएका रातो हाब्रे, हिमचितुवालगायतका जंगली जनावर, लालीगुँरास, लाङटाङे सल्लो तथा विविध प्रजातिका दुर्लभ वनस्पति अनि हिमश्रृङ्खला, नदीहरू यहाँका आकर्षणका केन्द्रविन्दु हुन् । यी सबैको उचित संरक्षण तथा व्यवस्थापन हुन सके युगौंसम्म धरतीभरिका आगन्तुकलाई डाकिरहनेछ यस लाङडाङले ।

    लाङटाङ क्षेत्रको आकर्षण

    o  प्रलयका उथुलपुथुलले ठडिएका गगनचुम्बी हिमश्रृङ्खला, ग्ल्यासियर,

    o  चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थल

    o  कतै झुरूप्प त कतै अलि बाक्लो वस्ती,

    o  पदमार्गका वरिपरि रहेका माने, छुर्तेन, गोम्बा, लाङटाङ राष्ट्रिय निकुञ्जको मनोरम छटा, लालीगुँरास, मार्गको नजिकै रहेको नदीको सुस्याहट, चराचुरूङ्गीको गायन, हिमचितुवा, घोरल, थारल, बँदेल, भालु, लङ्गुर बाँदर यहाँका मुख्य आकर्षण हुन् ।

    o  लाङटाङ री, क्याञ्जिन री, यालापिक, लाङसिसाजस्ता पिक र खर्कहरू ।

    o  चौंरी र भेडापालनको मुख्य क्षेत्र

    o  नेपालकै पहिलो याक चिज फ्याक्ट्री

    o  तिब्बतीयन / शेर्पा संस्कृति, भेषभूषा र रहनसहन पनि यहाँको आकर्षण हो ।

    o  होटल, लज तथा रेष्टुरेन्टको व्यवस्था 


    लाङटाङ क्षेत्रमा कसरी पुग्ने ?


    • रसुवा जिल्लाको पासाङल्हामु राजमार्गको स्याफ्रुबेंसीबाट खाम्जिङ- शेर्पागाउँ-रिमिचे - लामाहोटल  हुँदै
    • स्याफ्रुबेंसीबाट पहिरो - बम्बु- रिमिचे- लामाहोटल हुँदै
    • धुन्चेबाट भार्खु - नाउरडाँडा - ब्राबल - ठूलोस्याफ्रु - पहोरो - बम्बु हुँदै
    • मेलाम्ची वा हेलम्बुबाट ठाडेपाटी- फेदि- सूर्यकुण्ड- गोसाइँकुण्ड - ठूलोस्याफ्रु हुँदै
    • काठमाण्डौं सुन्दरीजल/शिबपूरी - चिसापानी- पाटीभञ्ज्याङ - कुटुमसाङ- ठाडेपाटी - घोप्चे- फेदि- गोसाइँकुण्ड हुँदै 
    • नुवाकोटको दुप्चेश्वर- सागरकुण्ड- नौकुण्ड- गोसाइँकुण्ड हुँदै

       

    Share on Google Plus

    About This is Our Rasuwa

    This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
      Site Comment
      Facebook Comment

    0 Comments :

    Post a Comment