ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Nagthali Related. Show all posts
Showing posts with label Nagthali Related. Show all posts

Friday, March 21, 2025

नागथली–तरुचेको रमाइलो यात्रा






शैली खतिवडा

नयाँ ठाउँ घुम्ने रुचि कसको हुँदैन र ? कालिका हिमालय माविका विभिन्न कक्षामा अध्ययनरत साथीहरूको अध्ययन भ्रमणमा जाने योजना बन्यो । कुनै समूह नुवाकोटको किस्पाङ, कुनै समूह लुम्बिनी र कोही छिमेकी देश भारतको दार्जिलिङसम्म जाने भए । 

हाम्रो समूहको भने आफ्नै जिल्लाभित्रको पर्यटकीय स्थल नागथली जाने निधो भयो । अध्ययन भ्रमणका लागि शिक्षक र साथीहरू दुई वटा बसमा यात्रा सुरु भयो । बस सरासर स्याफ्रुबेँसी पुगेर रोकियो । त्यहाँ भूमिगत संरचना रहेको चिलिमे जलविद्युत् केन्द्रको पावर हाउसमा कसरी विद्युत् उत्पादन हुन्छ भनेर हेर्ने मौका मिल्यो । बसमा यात्रा अघि बढ्दै गयो । स्याफ्रुबेँसी बजारमा धेरै होटेल र लज रहेछन् । यहाँ लाङटाङ जाने विदेशी तथा स्वदेशी पर्यटक बस्ने रहेछन् । यहाँबाटै पैदलयात्रा सुरु गर्दा रहेछन् । यहाँ गोसाइँकुण्ड गाउँपालिकाको केन्द्र पनि रहेको छ ।  

पर्यटकीय दृष्टिकोणले गोसाइँकुण्ड, लाङटाङलगायतभन्दा नागथली कमै चर्चित ठाउँ हो । यो ठाउँ गोसाइँकुण्ड गाउँपालिका–१ मा पर्दछ । आमाछोदिङमो गाउँपालिकाको तातोपानीबाट जाने सल्लाह भयो । तातोपानीबाट हाम्रो पैदलयात्रा सुरु भयो । यो ठाउँमा हामी धेरै जना पहिलो पटक जान लागेकाले ठाउँ कस्तो होला भनेर मनमा कौतूहल थियो । वरिपरिका डाँडाकाँडा, हिमाल, हरियाली दृश्य हाम्रो आँखामा नाच्दै थियो । त्यहाँका वन्यजन्तु, चरा, वातावरण र रहनसहन नियाल्दै हामी झन्डै साढे दुई घण्टाको उकालो यात्रापछि नागथलीको समथर भूभागमा पाइला राख्यौँ । चिसो सिरेटोले हामीलाई स्वागत गरेको अनुभव हुन थाल्यो । यो ठाउँ समुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा रहेको छ । हामीलाई दिनले बिदा माग्दै साँझ पर्दै थियो । त्यहाँ रहेको दुई वटा होटेलमा हाम्रो टोलीले विश्राम ग¥यो । 


भोलि बिहान तरुचेडाँडा पुग्ने योजना बनाएर खानपिन गरेर सुतियो । बिहान सूर्योदय नहुँदै हाम्रो टोलीको यात्रा अघि बढ्यो । तीन घण्टा हिँडेर तरुचे पुगियो । चारैतिर सुन्दर तथा मनोरम दृश्य देखिने तरुचेडाँडा साँच्चै रमाइलो रहेछ । नजिकै गणेश हिमाल, पाल्दोपिक, साङ्जेन, लाङटाङ, लिरुङ र तिब्बतको सिसापाङमा हिमाल र गाउँ देखियो । आँखा अगाडि सजिएको हिमाल र डाँडाकाँडाको दृश्य हेरिरहुँ जस्तो लाग्ने । साथीहरू आपसमा कुरा ग¥यौँ, यस्ता स्थानमा रहेछन्, त्यसैले पो विदेशी यहाँ घुम्न आउने रहेछन् । तरुचे तीन हजार सात सय मिटर उचाइमा रहेको छ । धेरै उकालो छ भनेर सबै जना साथी जान सकेनन् । हामी सजिलै पुग्यौँ । हाम्रा ९० जनामध्ये २० जना जति साथीले मात्र तरुचेडाँडाबाट दृश्य नियाल्ने मौका पाए ।  


हाम्रो ध्यान त्यहाँको मनोरम दृश्यले तानिरहेको थियो तर समयले हामीलाई पर्खिएन । फर्किने समय भयो । बास बसेको ठाउँमा एक जनासँग कुराकानी गर्ने योजना पूरा भयो । यहाँका अगुवा पर्यटन व्यवसायी दावासाङ्बो तामाङले यहाँ धेरै धार्मिक तथा पर्यटकीय सम्पदा रहेको र बँदेल, घोरल, भालु, बाँदर, घोरल, थार जस्ता वन्यजन्तु पाइने जानकारी दिनुभयो ।   

हिउँ परेको समय र पाखाभरि थरी थरीका लालीगुँरास फुलेर ढकमक्क भएको समयमा यो ठाउँ निकै रमाइलो हुने रहेछ । ती दृश्य हेर्न नेपाली पर्यटक धेरै नै आउने गरेका रहेछन् । तामाङ तथा तिब्बती संस्कृति, वेशभूषा, काठैकाठका घरले आकर्षण गर्ने रहेछ । यहाँ प्रशस्त जडीबुटी पनि पाइने रहेछ । यहाँ गुरु रिम्पोछेको मूर्ति पनि रहेको छ । नागथलीबाट तल थुमन गाउँ रहेको छ । 


नागथलीलाई साथीहरूले रसुवाको घान्द्रुक भने । मलाई त साँच्चै प्रकृतिको भ्यु टावर हो जस्तो लाग्यो । फर्किंदा थुमन गाउँ भएर फर्किने अपेक्षा पूरा हुन सकेन । पछि कुनै दिन अवसर जुरेमा थुमन गाउँ पुग्ने आशामा हामीले त्यहाँबाट यात्रालाई घरतर्फ मोड्यौँ । नागथली–तरुचे यात्रा मेरो लागि अविस्मरणीय रह्यो । 

कक्षाः १०, कालिका हिमालय मावि , रसुवा

मुना मासिकबाट सभार