Find us on Facebook

Responsive Advertisement
यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

Pages

Showing posts with label Tourism Trail. Show all posts
Showing posts with label Tourism Trail. Show all posts

सुकिला हिउँका पगरीभित्र लुकेको लाङटाङ उपत्यका

Friday, August 18, 2023

सुकिला हिउँका पगरी गुथेर युगौंदेखि पर्यटकको स्वागत तथा सत्कारमा जुटिरहेका लाङटाङ्गेली वा एक हुल भोट बर्मेली, चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थलको नामबाट वा धारिलो भीरको एक कन्दरामा फैलिएको सानो उपत्यका, कतै झुरुप्प त कतै अलग अलग बस्तीहरूको नामबाट आज नेपालको तेस्रो प्रमुख पर्यटकीय मार्गको रूपमा आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ लाङटाङ ।
क्याञ्जेन भ्याली, रसुवा 

    लाङटाङ क्षेत्रको परिचय

    रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका-४ मा रहेको लाङटाङ उपत्यका स्वर्गको एक टुक्रा जस्तै हो । नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा परिचित लाङटाङ क्षेत्र यही उपत्यकाको नामले परिचित छ ।

    सुकिला हिउँका पगरी गुथेर युगौंदेखि पर्यटकको स्वागत तथा सत्कारमा जुटिरहेका लाङटाङ्गेली वा एक हुल भोट बर्मेली, चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थलको नामबाट वा धारिलो भीरको एक कन्दरामा फैलिएको सानो उपत्यका, कतै झुरुप्प त कतै अलग अलग बस्तीहरूको नामबाट आज नेपालको तेस्रो प्रमुख पर्यटकीय मार्गको रूपमा आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ लाङटाङ ।

    तिनै लाङटाङ्गेलीका अतिथि सत्कारका दृश्य तथा मृत्युपर्यन्त सम्झनाका लागि बनाईएका क्षुर्तेन हेर्दै गगन चुमुला झैं गरी हज्जारौं पर्यटकलाई सुपारी बाँडिरहेको लाङटाङ हिमश्रृङ्खला ।

    लाङटाङ वा लामटाङ मानव वस्ती बस्नु पूर्व अवस्थामा 'लाङडाङ' नामले परिचित थियो । 'लाङ' को अर्थ तिब्बतीयन भाषामा 'गोरू' र 'डाङ' को अर्थ 'अघाएको' भन्ने हुन्छ ।

    सुनिए अनुसार उहिले तिब्बततिरबार यहाँ एउटा गोरू भागेर आएको रहेछ । गोरूलाई खोज्दै एउटा गोठालो पनि पछिपछि आयो । खाम्जिङ कटेर नेसा: गाङ अर्थात् चौतारो पछाडि आईपुगेछि मात्र गोठालाले भेट्छ र गोरू बाँधेर राखेर आफू उत्तानो परेर पल्टिन्छ ।

    गोठालो भुसुक्कै निदायो, ब्यूझेर हेर्दा गोरू त्यहाँ थिएन । गोरू बाँधिएको भनेको ढुंगाको प्वाल अहिलेसम्म पनि त्यहाँ छ । गोरू बाँधिएको ठाउँ हुनाले त्यसलाई लाङतासा (गोरू बाँधिएको) भनियो । गोरू खोज्दै गोठालो फेरि अघि बढ्यो, उसले गोरूलाई पूर्व (स्यार) तर्फ फर्केर सुतेको पायो । जसको कारण ठाउँको नाम पनि 'स्यार्पोको' रहन गयो भनिएको छ । त्यसैको अपभ्रम्शित रूप नै शेर्पागाउँ हो ।

    गोरू फेरि अगाडि बढ्यो, चाङडाम (हाल- लामाहोटल) पुग्यो, चाङडामको अर्थ खोलाको किनार हुन्छ । त्यहाँबाट गोरू क्युर्पुनेसामा पुग्यो । क्युर्पु (अमिलो) डालेचुकको जंगल धेरै भएको र त्यसलाई गोरूले खाएको हुनाले 'क्युर्पुनेसा' भनिएको हो, जसलाई हामी आजभोलि घोडातबेला भन्छौं ।

    गोरू समात्न नसक्दा गोरू अझै अगाडि बढ्यो, गोठालाले खोज्दै जाँदा घाँसपात, करू खाएर टन्न गोरू अघाएको भेट्यो । जहाँ गोरू अघाएको भेट्यो, त्यही ठाउँको नाम हो 'लाङडाङ । जसको अर्थ माथि नै उल्लेख गरिसकिएको छ ।

    अझै गोरू अगाडि बढ्दै जाँदा निकै पर पुगेपछि गोरूको यात्रा रोकियो, उसले भोटतिर फर्केर अर्को जन्म पनि भोटमा नै लिन पाउँ भनी प्रार्थना गर्दै देह त्याग गर्‍यो । गोरू मरेको हुनाले त्यस स्थानको नामाकरण लाङ (गोरू) सिसा (मरेको ठाउँ) – लाङसिसा रहन गयो ।

    लाङटाङ क्षेत्रका मुख्यमुख्य वस्तीहरूमा शेर्पागाउँ, रिमिचे, लामाहोटल, रिभरसाइड, घोडातबेला, थाङ्स्याप, गोम्बा, लाङटाङ, सिम्बु, क्याञ्जिन गोम्‍बा पर्दछन्।

    पहिलो हिमाली निकुञ्जको नामले मात्र हैन सायद नेपालमै पहिलो पटक याक चिज उत्पादन गर्ने ठाउँको नामले पनि परिचित छ लाङटाङ । पछिल्लो समयमा माउन्टेनियरिङ स्कूल निर्माण हुने कुराले पनि लाङटाङले झन् चर्चा पाउँदैछ । छिमेकी मुलुक चीनसँग कठालोमा बाँधिएको मुलुकको तेस्रो गन्तव्यले सांस्कृतिक, ऐतिहाँसिक, धार्मिक, पर्यटकीय तथा पर्यावरणीय यी सबै विधालाई उत्तिकै महत्व राख्दछ । यही क्षेत्रको गोसाइँकुण्डमा हुने धार्मिक मेला, क्याञ्जिन उपत्यकामा नाँचिने डुक्पा छेच्यु र यसका आपपासमा मनाईने विभिन्न सांस्कृतिक पर्व, कला संस्कृति तथा परम्पराले पर्यटकीय सम्बन्ध अझ गाढा र नजिक बनाउँदछ । विश्वमा नै दुर्लभ मानिएका रातो हाब्रे, हिमचितुवालगायतका जंगली जनावर, लालीगुँरास, लाङटाङे सल्लो तथा विविध प्रजातिका दुर्लभ वनस्पति अनि हिमश्रृङ्खला, नदीहरू यहाँका आकर्षणका केन्द्रविन्दु हुन् । यी सबैको उचित संरक्षण तथा व्यवस्थापन हुन सके युगौंसम्म धरतीभरिका आगन्तुकलाई डाकिरहनेछ यस लाङडाङले ।

    लाङटाङ क्षेत्रको आकर्षण

    o  प्रलयका उथुलपुथुलले ठडिएका गगनचुम्बी हिमश्रृङ्खला, ग्ल्यासियर,

    o  चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थल

    o  कतै झुरूप्प त कतै अलि बाक्लो वस्ती,

    o  पदमार्गका वरिपरि रहेका माने, छुर्तेन, गोम्बा, लाङटाङ राष्ट्रिय निकुञ्जको मनोरम छटा, लालीगुँरास, मार्गको नजिकै रहेको नदीको सुस्याहट, चराचुरूङ्गीको गायन, हिमचितुवा, घोरल, थारल, बँदेल, भालु, लङ्गुर बाँदर यहाँका मुख्य आकर्षण हुन् ।

    o  लाङटाङ री, क्याञ्जिन री, यालापिक, लाङसिसाजस्ता पिक र खर्कहरू ।

    o  चौंरी र भेडापालनको मुख्य क्षेत्र

    o  नेपालकै पहिलो याक चिज फ्याक्ट्री

    o  तिब्बतीयन / शेर्पा संस्कृति, भेषभूषा र रहनसहन पनि यहाँको आकर्षण हो ।

    o  होटल, लज तथा रेष्टुरेन्टको व्यवस्था 


    लाङटाङ क्षेत्रमा कसरी पुग्ने ?


    • रसुवा जिल्लाको पासाङल्हामु राजमार्गको स्याफ्रुबेंसीबाट खाम्जिङ- शेर्पागाउँ-रिमिचे - लामाहोटल  हुँदै
    • स्याफ्रुबेंसीबाट पहिरो - बम्बु- रिमिचे- लामाहोटल हुँदै
    • धुन्चेबाट भार्खु - नाउरडाँडा - ब्राबल - ठूलोस्याफ्रु - पहोरो - बम्बु हुँदै
    • मेलाम्ची वा हेलम्बुबाट ठाडेपाटी- फेदि- सूर्यकुण्ड- गोसाइँकुण्ड - ठूलोस्याफ्रु हुँदै
    • काठमाण्डौं सुन्दरीजल/शिबपूरी - चिसापानी- पाटीभञ्ज्याङ - कुटुमसाङ- ठाडेपाटी - घोप्चे- फेदि- गोसाइँकुण्ड हुँदै 
    • नुवाकोटको दुप्चेश्वर- सागरकुण्ड- नौकुण्ड- गोसाइँकुण्ड हुँदै

       

    लुकेको पर्यटकीय गन्तव्य : साङ्जेन भ्याली

    Monday, August 14, 2023

     

    साञ्जेन खर्क/भ्याली, रसुवा 

    तामाङ सम्पदामार्गमा रहेको थाम्बुचेतबाट तातोपानी हुँदै वा पर्यटकीय गाउँ गत्लाङ, सोमदाङ, जागेश्वर कुण्ड हुँदै साङ्जेन भ्यालीमा पुग्न सकिन्छ ।करीव १० घण्टाको पैदल यात्रा रहेको यस क्षेत्रमा सडक विस्तार भएसँगै सातघण्टामा पुग्न सकिने भएको छ ।


     यसभित्र

      साञ्जेन भ्यालीको परिचय

      -- रसुवा जिल्ला, आमाछोदिङ्मोा गाउँपालिका अन्तर्गत रहेको साङ्जेन भ्याली (उपत्यका) समुद्री सतहबाट ३७४० मीटर उचाईमा अवस्थित छ ।

      -- रमणीयस्थल हुँदाहुँदै पनि साङ्जेन भ्याली स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बन्न सकेको छैन ।

      -- तामाङ सम्पदामार्गमा रहेको थाम्बुचेतबाट तातोपानी हुँदै वा पर्यटकीय गाउँ गत्लाङ, सोमदाङ, जागेश्वर कुण्ड हुँदै साङ्जेन भ्यालीमा पुग्न सकिन्छ । करीव १० घण्टाको पैदल यात्रा रहेको यस क्षेत्रमा सडक विस्तार भएसँगै सातघण्टामा पुग्न सकिने भएको छ ।


      चीनको स्वशासित क्षेत्रको सिमानामा रहेको यो क्षेत्रमा लोपोन्मुख जडीबुटी पाइन्छन् ।यार्सागुम्बा, कुटकी, सर्पगन्धा, पाँचऔँले, जटामसीलगायतका बहुमूल्य जडीबुटीको धनी क्षेत्र पनि हो साङ्जेन भ्याली । घाँसेमैदानको पर्याप्तता रहेको यस क्षेत्र चौँरी, भेडा र च्याङ्ग्रापालनको लागि पनि उपयुक्त रहेको छ ।

      साञ्जेन उपत्यकाको नजिकबाट गणेश हिमाल, साङ्जेन हिमाल र पाल्दोर पिकलाई देख्न पाईन्छ । हिमाली ग्ल्यासियरको दृश्यले सबैलाई मोहित बनाउँछ ।


      -- आवास पूर्वाधारको व्यवस्था नभएपनि क्याम्पिङ ट्रेकिङ गर्न सकिन्छ । स्थानीयहरू चौंरी र भेडी गोठहरूमा बास बसेर पनि यात्रा गर्ने गर्दछन् ।

      साञ्जेन भ्याली र वरपरका आकर्षणहरू

      -- विभिन्न खर्कहरू : सुन्दुर खर्क , खोला खर्क, डिल्पु कुण्ड, मुलखर्क, नादाङ खर्क, डाडाँ खर्क मनोरम पाल्दोर पिक, याङरा, गणेश हिमाल, साङ्जेन हिमाल, तिबब्तीयन हिमालका दृष्यले यहाँको सौन्दर्य थपेको छ ।

      -- वन्यजन्तुहरू झारल, घोरल, थार, कस्तुरी, मृग, बँदेललगायतसँग जम्काभेट यहाँको अर्को आकर्षण हो।

      -- तामाङ संस्कृति, भेषभूषा र रहनसहन अर्को महत्वपूर्ण आकर्षकीय पाटो हो ।

      कसरी पुग्ने साञ्जेन भ्याली ?

      -- चिलिमे थाम्वुचेतवाट तातोपानी हुँदै एकदिन पैदल यात्रा हिंडाई पछि यो खर्क पुग्न सकिन्छ । तातोपानीदेखि छरप्चुङ वगर, साङजेन खोला भित्रका जेजुङमा खोला, साङजेन खर्क भित्रका मोरप्पा खर्क, मल्र्कु खर्क, छुलिङ खर्क, मरकोङ खर्क, ज्यार्के वासा, चेरा वासा, सादी, नादाङ, चेदाङ, पराङ, दोगोरग, व्राङजे ९ खोला खर्क हुँदै जागेश्वर कुण्ड, साञ्जेन, पाल्दोर पिक, याङरा, गणेश हिमाल, साङ्जेन हिमालका वरपर पुग्न सकिन्छ ।

      -- गतलाङको पार्वतीकुण्ड हुँदै जागेश्वर कुण्ड हुँदै पनि साञ्जेन भ्यालीसम्म पुग्न सकिन्छ ।

      तपाईलाई यो सामग्री कस्तो लाग्यो, कृपया कमेन्ट गर्नुहोला । तपाईबाट सुधारको आशा सहित

       


      ओझेलमा दुधकुण्ड (पेदाङ छो)

      फूलको रूख र तोरमा जस्तै आकृति कुण्डमा देखिन भएकाले पेदाङ छो भनिएको हो । यो कुण्ड पन्ध्र सय वर्ष अघि लामाहरूले पत्ता लागाएका हुन् भनिएको छ । गत्लाङको पार्वती कुण्ड र दुधकुण्ड दिदिबहिनी हुन् भनेर पनि भनिएको छ ।

       

        दुधकुण्ड (पेदाङ छो) को परिचय

        नेपाल चीन सिमाना अर्थात् गोसाइँकुण्ड गाउँपालिका-२ मा पर्ने यो दुधकुण्डलाई स्थानीयहरू 'पेदाङ छो' भन्दछन् । यस कुण्डको पानी अन्यत्रको पानी भन्दा सेतो छ । चामल पलाखेको चौलानी जस्तै देखिन्छ । पहिले दुध जस्तै भएकाले दुधकुण्ड नामाकरण गरिएको जनविश्वास छ ।

        फूलको रूख र तोरमा जस्तै आकृति कुण्डमा देखिन भएकाले पेदाङ छो भनिएको हो । यो कुण्ड पन्ध्र सय वर्ष अघि लामाहरूले पत्ता लागाएका हुन् भनिएको छ । गत्लाङको पार्वती कुण्ड र दुधकुण्ड दिदिबहिनी हुन् भनेर पनि भनिएको छ ।


        कुण्ड कसरी पत्ता लाग्यो भन्ने विषयमा भने कसैको फरक मत छ । स्थानीय उर्केन घले भने ‘तिव्वतको लेन्देबाट आएका गोठालाहरूले देखेर पत्ता लगाएको वताउँछन् । आकाशमा बादल लाग्दा कुण्डको पानी पुरै दुध जस्तै देखिन्छ ।’

        विभिन्न प्रमाणको आधारमा यो निकै पुरानो र निकै महत्वको छ । कुण्डमा बर्षेनी भदौ पूर्णिमाका दिन मेला लाग्दछ । यहाँ पुगेको वर्ष झाँक्रीहरूले तीन वर्ष दर्शन गर्न आउने नआउने निर्क्यौल गर्नुपर्ने प्रचलन छ ।


        टिमुरेबाट ४ दिन पैदल हिडेर पुग्न सकिने दुधकुण्ड समुन्द्री सतहबाट ४ हजार ७ सय मिटर उचाईमा रहेको छ । हिमाली हावाको चिसो सुस्याहट, सुरम्य वातावरण थरिथरिका फूलको वासना, मृग उफ्रेका र डाँफे चरी नाँचेको देख्दा उकाली बाटोको पट्यार लाग्दो यात्रालाई सहज बनाएको महसुस हुन्छ । साँच्चै प्रकृतिका बिभिन्न थरिका मनोरम दृष्यहरूले चुनौतीपूर्ण यात्रा नै भए पनि त्यहाँ स्थानमा पुग्ने सबैलाई लाग्छ एकपटक पुग्नै पर्ने गन्तव्य रहेछ दुधकुण्ड ।

        धार्मिक तथा पर्यटकीय महत्वको पवित्र तीर्थस्थल दुधकुण्ड तर्फको यात्रा गर्दा तीर्थयात्रीले फरक मार्ग आउने जाने र फरक दृष्य हेर्न पाईने सुविधा छ । जाँदा घट्टेखोला र फर्कदा खैदीहुँदै टिमुरे फर्कने मार्ग छ । पापबाट मुक्ती पाई पुण्य कमाउने आशामा यहाँ भक्तजनहरू कठिनाइपूर्ण यात्रा गरेर भएपनि दुधकुण्ड पुग्दछन् । कुण्डमा गएर एक माग गरेमा पुरा हुने विश्वास रहेको छ । कुण्डमा नुहाउन डुबुल्की मारेपछि कुण्डको सतहबाट एउटा ढुङ्गा टिप्ने र त्यसलाई जतनसाथ ल्याएर घरमा राख्नाले छोरा नहुनेको छोरा जन्महुने र बच्चा पैदा नभएसम्म घरमा पूजा गरेर राख्नुपर्ने जनविश्वास रही आएको छ ।


        दुधकुण्ड र वरपरका आकर्षण तथा महत्वहरू

        -- यात्राभर नेपाल र तिब्बती भू–भागका हिमाल , रमणीय खर्कहरू वनस्पति, वन्यजन्तुहरू जस्ता विभिन्न दृष्यहरू देख्न सकिन्छ ।
        -- प्राकृतिक दृष्य, जैविक विविधताले यो स्थान पुग्ने कसैको पनि मन प्रफुल्लित हुन्छ ।
        -- सुवुरगाङ् गुम्बा,खैदीको गुरूगुम्बा, एक औलाले हल्लाए जति जनाले सक्दो बल गरेर हल्लाए पनि उत्तिकै हल्लीने अनौठो ढुङ्गा देख्न सकिन्छ ।


        -- दुधकुण्ड क्षेत्रमा धेरै प्रकारका जडिबुटी कस्तुरी, झारल मृग, हिमचितुवा, गिद्ध, डाँफे, चौरी र भेडा पाल्ने रमणीय खर्कहरू रहेको छ ।

        -- आउँदा र जाँदा फरकफरक मार्गको प्रयोग र फरक फरक दृश्यावलोकन ।


        कसरी पुग्ने दुधकुण्ड (पेदाङ छो)

        -- टिमुरेको घट्टेखोलाबाट, धुम्बाबु, धोजु, तोङया नालुङखर्क, लाङटाङ बासा, चेन्दुलुङ पाखा,चेन्दुलुङ खोला, चौरी खर्क भेडा खर्कहुँदै दुधकुण्ड पुग्न सकिन्छ ।
        -- यात्रा गर्दा ३ दिनको यात्रा तय गर्दा राम्रो हुन्छ । सो दिन कुण्डमा स्नान गरी फर्कदा गाङसेर, कालोकुण्ड घ्यागर छो झारलखर्क, याङछोसा, देउराली रावुलाप्चे ,सिङयुल ,डुप्चु, जार्सा, क्यारूङ, थाङसेम्बु, ब्राङगा हुँदै फर्कन सकिन्छ ।


        तपाईलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला, तपाईबाट सुधारको आशासहित ।


        सन्दर्भ स्रोत : हेमनाथ खतिवडाको ब्लग

         
        दुध कुण्ड (पेदाङ छो)

         

        नौ वटा कुण्डहरूको समूह : नौकुण्ड एक परिचय

        Thursday, August 10, 2023

        प्रसिद्द गोसाइँकुण्डको नजिकै रहेको नौकुण्ड क्षेत्र ओझेलमा परेको छ । उचित आवासको सुविधा र प्रचारप्रसारका अभावले गोसाइँकुण्डको नजिकै रहेर पनि यसले आफ्नो पहिचान स्थापित गर्न सकिरहेको छैन । नजिकै रहेर पनि गोसाइँकुण्डको कुइनेटो बनिरहेको छ नौकुण्ड क्षेत्र ।
         

          नौकुण्ड क्षेत्रको परिचय

          रसुवा जिल्ला नौकुण्ड गाउँपालिका, वडा नं २ मा ४००० मीटरदेखि करीब ५३०० मीटर उचाईसम्म फैलिएका नौ वटा कुण्डहरूको समूहलाई नौकुण्ड भनेर चिनिएको छ । स्थानीयहरू यसलाई नाउकुण्ड भनेर चिन्दछन् । नौकुण्डका समूहभित्र पर्ने नागकुण्ड वा नाउकुण्ड नै मुख्य नौकुण्ड हो भनेर भनिएको छ ।

          नौकुण्ड क्षेत्रका तालहरू

          स्थानीयका अनुसार जनैपूर्णिमाका बेलामा गोसाइँकुण्डमा फोहोर मैला हुने हुनाले शिबजी सो अवधिमा यहाँ आउने गर्दछन् । जनैपूर्णिमा वा गंगा दशहरामा यहाँ स्नान गर्नाले मुक्ति मिल्ने जनविश्वास रही आएको छ ।

          प्रसिद्द गोसाइँकुण्डको नजिकै रहेको नौकुण्ड क्षेत्र ओझेलमा परेको छ । उचित आवासको सुविधा र प्रचारप्रसारका अभावले गोसाइँकुण्डको नजिकै रहेर पनि यसले आफ्नो पहिचान स्थापित गर्न सकिरहेको छैन । नजिकै रहेर पनि गोसाइँकुण्डको कुइनेटो बनिरहेको छ नौकुण्ड क्षेत्र ।

          यही कुण्ड वा क्षेत्रको नामबाट नै यहाँको गाउँपालिकाको नामाकरणसमेत् नौकुण्ड रहेको हो । यस नौकुण्डका समूहमा पर्ने कुण्डहरूमा १. लामो अर्थात् लम्बे कुण्ड, २. नाउ/नागकुण्ड, ३. राजा कुण्ड, ४. रानी कुण्ड, ५. कामी कुण्ड ६. एक्ले कुण्ड ७. ज्याकसन्चुली कुण्ड, ८. चिता कुण्ड, ९. कमिनी कुण्ड ।

          यहाँ रहेका कुण्डहरूको नामाकरण अन्धधुन्ध जस्तै छ । ओझेलमा परेको हुनाले यसस्थानका कुण्डहरूको नामाकरणमा विविधता आएको हो । स्थानीयका अनुसार यस नौकुण्ड समूहभित्र तेम कुण्ड, छेडा कुण्ड, दि कुण्ड, चुल्हो कुण्ड र शीर कुण्ड रहेका छन् ।९ वटा कुण्डमध्ये २ वटा कुण्ड सुकिसकेको अवस्थामा छ ।

          नौकुण्ड क्षेत्रका मुख्य आकर्षणहरू

          -- लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र तथा विविध वनस्पतिहरू, वन्यजन्तुहरूको वासस्थान (लोपोन्मुख रेडपाण्डाको बासस्थान), विभिन्न प्रकारका फूलहरू, चराचुरूङ्गीहरूको अवलोकन, चौरीगोठ र भेडागोठहरूको अवलोकन

          -- यस पदमार्गमा प्राय सबै किसिमका लालीगुँरासका फूलहरू पाईन्छन् ।

          -- कुण्डैकुण्डहरूको क्षेत्र

          -- विभिन्न हिमालहरू, पहाडी श्रृङ्खलाहरूको अवलोकन ।

          -- सूर्योदय र सूर्यास्तका मनोरम दृस्यहरू ।

          -- तामाङ, शेर्पा संस्कृति र परम्परा

          कसरी पुग्ने नौकुण्ड ?

          यहाँ पुग्नका लागि विभिन्न मार्गहरू रहेका छन् । पदमार्गको विवरण यसप्रकार छ ।

          -- पासाङल्हामु राजमार्गको कालिकास्थान वा गोम्बोडाँडा (स्याउबारी) बाट गैरीनागी-लोकिल हुँदै जुरेढुङ्गो वा सिप्पुङबाट ढोकाभञ्ज्याङ-कानछ्याम्बा खर्क, नचोक, श्यार्मा, बक्सार, परालथला हुँदै

          -- पासाङल्हामु राजमार्गको कालिकास्थान वा गोम्बोडाँडा (स्याउबारी) बाट गैरीनागी-लोकिल हुँदै लाङ्बु (विजिली जोङ्ग) – थाङ्दोर-स्याङ्ग्युल, सिम्बन्दी-श्यार्मा, बक्सार, परालथला हुँदै

          -- रसुवाको सदरमुकाम धुन्चे वा स्याफ्रुबाट वा लाङटाङ पुगेर चन्दनबारी, लौरीविना, गोसाइँकुण्ड-भैरवकुण्ड हुँदै

          -- नुवाकोटको बिदुर-लच्याङ, सरमथली (निर्कुभूमे), पार्‍च्याङ, यार्सा हुँदै सिम्बन्दी-श्यार्मा, बक्सार, परालथला हुँदै वा यार्साबाट राउचुली हुँदै

          -- काठमाण्डौंको नारायणस्थानबाट वा नुवाकोटको दुप्चेश्वर (शिखरबेशी) उर्लेनी-राउचुली हुँदै

          -- काठमाण्डौंको सुन्दरीजल-चिसापानी- कुटुमसाङ-ठाडेपाटी- फेदि-सूर्यकुण्ड – गोसाइँकुण्ड – भैरवकुण्ड हुँदै

          -- सिन्धुपाल्चोकको मेलाम्चीपुल बजारबाट तार्केघ्याङ--ठाडेपाटी- फेदि-सूर्यकुण्ड – गोसाइँकुण्ड – भैरवकुण्ड हुँदै

          तपाईलाई यो सामग्री कस्तो लाग्यो, कृपया कमेन्ट गर्नुहोला

          लोकिल सिपाङ पर्यटन मार्ग

          Monday, July 17, 2023

          रसुवाको तल्लो क्षेत्रमा पर्ने गोम्बोडाँडा, लोकिल, सिपाङ हुँदै नौकुण्ड तथा गोसाइँकुण्ड जाने पदयात्रा सम्भावित पर्यटकीय क्षेत्र हो । यहाँबाट रसुवाको तल्ला भागमा पर्ने तामाङ बस्तीहरू बेताङ, सस्र्यु, घोर्मो, लाङ्बु, थाङरदोर, सिम्बन्दी, दोक्लाङ, यार्सा तथा सरमथलीका बस्तीहरू घुम्न तथा अवलोकन गर्न सकिन्छ । काठमाडौंबाट नजिकै पर्ने यो क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्जका प्राकृतिक सम्पदा, घना जंगल, लालीगुँरासका ठूला ठूला रुखहरू, हिमाल तथा अग्ला अग्ला टाकुराहरूको बीचमा यात्रा गर्ने अवसर मिल्दछ । 

          Lokil Sipang Tourism Trail



          यस क्षेत्रमा उल्लेखनीय रूपमा पर्यटकहरूको चाप नदेखिए पनि वषौंदेखि रसुवा ट्रेक्स, हाइल्याण्ड ट्रेकिङलगायतका ट्रेकिङ एजेन्सीहरूले क्याम्पिङ ट्रेक चलाउँदै आएका छन् । पर्यटक बस्ने होटल तथा आवास नहुँदा यस क्षेत्रमा क्याम्पिङ भन्दा अर्को प्रकारको ट्रेकिङहरू नचल्ने  गरेको छ । पछिल्ला समयमा कालिकास्थान वा जिवजिवेमा बसेर तामाङ बस्ती घुम्न जाने पर्यटकको संख्यामा भने केही बृद्धि भएको पाइन्छ । 

          ठूला होटलहरू नभएपनि ग्रामीण घरहरूलाई होमस्टेको रूपमा विकास गर्दै लैजाने हो भने आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई बृद्धि गर्दै पर्यटन विकास गर्न सक्ने प्रचुर सम्भावना यस क्षेत्रले बोकेको छ ।


           
          Support : Creating Website | Johny Template | Mas Template
          Copyright © 2011. यही हो हाम्रो रसुवा - All Rights Reserved
          Template Created by Creating Website Inspired by Sportapolis Shape5.com
          Proudly powered by Blogger