Find us on Facebook

Responsive Advertisement
यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

Pages

Showing posts with label Temples. Show all posts
Showing posts with label Temples. Show all posts

प्रवर्दनको पर्खाईमा कल्लेरीका भूमे

Sunday, August 4, 2024

 परापूर्व कालमा गुरूङ पुर्खाले पत्ता लगाएका र पूजाआजा चलाउँदै आएका भूमेस्थान रसुवा जिल्ला उत्तरगया गाउँपालिका, वडा नं ३, ठूलोगाउँमा अवस्थित छ ।

कल्लेरी (ठूलोगाउँ) का भूमे
तस्वीर : गौेरव सापकोटा

    कल्लेरीका भूमेको परिचय

    परापूर्व कालमा गुरूङ पुर्खाले पत्ता लगाएका र पूजाआजा चलाउँदै आएका भूमेस्थान रसुवा जिल्ला उत्तरगया गाउँपालिका, वडा नं ३, ठूलोगाउँमा अवस्थित छ ।

    किंवदन्ती अनुसार कल्लेरीका भूमे हाल जुन् ठाउँमा छ, त्यसको आधा किमी तल्लो क्षेत्रमा ठूलो तलाउमा रहेको थियो छ । जुन् अहिले  तलाउ लोप भई खेतीयोग्य जमिनको रूपमा परिणत भएको छ । प्राचीन भनाई अनुसार एक महिलाले स्नान गरी कपडासमेत् धोएको कारण भूमेदेवी रिसाएर तलाउ लोप भएको भनिएको छ ।

    रिसाएका भूमेलाई बौसाउन देवीसँगै पूजाआजा गर्न थालिएको भन्ने भनाई रहेको छ । जुन् देवीलाई कल्लेरीका देवी भनिन्छ । रसुवा नुवाकोटका स्थानीयहरू धुपधुँवार गर्दा कल्लेरीका भूमे र देवीलाई पुकार्ने गर्दछन् । भूमे भने अगाडिदेखि मानिँदै आएकोमा यहाँ रहेको  देवी भने परापूर्व कालमा एक महिलाले बारी खन्दा पत्ता लागेको विषयमा सुँनिदै आएको छ । कोदालाले खन्दा अलिकति चोईटिएको र सो भागबाट रगत आएका कारण शक्ति मानी देवीको नामले पुकारिन थालेको हो । जुन् चोइटिएको भाग हाल पनि देख्न सकिन्छ । 

    भूमेस्थानमा पाठी र देवीस्थानमा बोको बली चढाउने परम्परा रहेको यस स्थानमा वर्षैभरि भक्तजनहरू दर्शन गर्न आउने गरेका छन् ।

    एकपटकको दर्शनमा एक वर माग्ने परम्परा रहेको यस मन्दिरमा अहिले पनि विशेष गरी वैदेशिक यात्राको कामना गरिन्छ ।

    विशेष गरी ठूली एकादशी, माघेसंक्रान्तिमा यहाँ विशेष मेला लाग्ने गर्दछ । भौगोलिक दृष्टिकोणले विषम स्थानमा रहेको यस धार्मिक स्थललाई प्रचारप्रसार र संरक्षणका कार्यहरू गर्न सके आन्तरिक पर्यटन विकासका माध्यमबाट आर्थिक विकास गर्न सकिने छ ।

    -----(स्थानीय टिकादत्त पौडेलको कुराकानीमा आधारित )

    रसुवा जिल्लाको पश्चिम दिशातर्फ कल्लेरी वा ठूलोगाउँका भूमेदेवी र पूर्वतर्फ निर्कुभूमे रहेका छन् । 

     कल्लेरीका भूमे र वरपरका आकर्षण र महत्वहरू

    • आन्तरिक पर्यटकको रोजाईको क्षेत्र
    • छाँगा, झरनाहरूको अवलोकन,
    • स्थानीय गुरूङ संस्कृति अध्ययनको क्षेत्र
    • चराचुरूङ्गी तथा बासस्थान अवलोकन

    कसरी पुग्ने कल्लेरीका भूमे 

    पासाङल्हामु राजमार्गको बेत्रावती (रसुवा-नुवाकोटको सिमाना) बाट पश्चिम - उत्तरतिर अवस्थित पैरेबेंसी/शान्तिबजारबाट यस स्थानको लागि यात्रा तय गर्न सकिन्छ । मनोरम झरना 'भाँगे झरना' को अवलोकन गर्दै यस स्थानमा पुग्न सकिन्छ । 

     

    कल्लेरीका भूमेसँग सम्बन्धित भिडियो तथा थप सामग्रीहरू


    एकपटक पुग्नै पर्ने गन्तव्य-धैबुङ कालिका

    Friday, April 12, 2024


    शैली खतिवडा

     

    गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने र गोसाइँकुण्डबाट फर्कंदा कुण्डको जल कालिका मन्दिरमा चढाउँदा कालिका प्रसन्न भई भक्तजनले मागेको वरदान पाउने र दुःख–कष्ट नाश हुने विश्वास छ । 

    कालिकामाई मन्दिर रसुवाको दक्षिणी भेगको कालिका गाउँपालिका–२ स्थित कालिका बजारनजिकै रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य हो । यसलाइ धैबुङ कालिका पनि भन्दछन् । यहाँ बोका, कुखुरा, हाँस बलि दिने चलन पनि छ । मागेका कुरा पूरा हुने जनविश्वास रहिआएको छ । मन्दिरमा बडादसैँ तथा मुख्य चाडहरू र शनिबार धेरै भक्तजन पूजाआजा गर्न आउँछन् । 

    गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने र गोसाइँकुण्डबाट फर्कंदा कुण्डको जल कालिका मन्दिरमा चढाउँदा कालिका प्रसन्न भई भक्तजनले मागेको वरदान पाउने र दुःख–कष्ट नाश हुने विश्वास छ । कालिका मन्दिर काठमाडौँबाट ९३ किलोमिटर सवारीसाधनको यात्रापछि पुग्न सकिन्छ । कालिका मन्दिर काठमाडौँबाट तीन वटा बाटो भएर पुग्न सकिन्छ कलंकी–नागढुङ्गा–गल्छी, टोखा–छहरे–सडक र बालाजु–माछापोखरी–ककनीको बाटो हुँदै पनि पुग्न सकिन्छ । 

     

    मन्दिर रहेको स्थानबाट हेर्दा चाँदीझै टल्किने गणेश हिमाल र सातधारे हिमालको दृश्य,  ककनी, रानीपौवा, शिवपुरी, नुवाकोट, हिमालदेखि पहाड तथा समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ । 

    विसं १८११ मा नेपाल–तिब्बतबिच युद्धका क्रममा तिब्बती सेनाले मन्दिरलगायतका क्षेत्र विजय प्राप्त गरेर मन्दिरमा बास बसे । विजयोत्सव मनाउँदै मन्दिरमा यत्रतत्र गाई काटेर भोज गरे । उनीहरूको कूकृत्यले देवी क्रूद्ध भई हावाहुरी, चट्याङसहित असिनापानीले तिब्बती सेना धेरै जनाको मृत्यु भई ठुलो क्षति भएको थियो । जसका कारण तिब्बती सेना त्रिशूलीमा होमिन पुगेको बुढापाकाको भनाइ छ । 

    त्यसपछि बेत्रावती सन्धि भएको इतिहासमा उल्लेख छ । त्यसपछि बेत्रावती सन्धि विसं १८४९ भदौ ६ गते भएको इतिहासमा उल्लेख छ । त्यसबेलाको युद्धको अवशेषका रूपमा मन्दिर आसपासमा गढीहरू रहेका छन् । नजिकै घलेगढी, कमारेगढी जस्ता युद्ध सामग्री भण्डार गर्ने ढुङ्गे गुफा रहेका छन् । मन्दिर रहेको स्थानबाट हेर्दा चाँदीझै टल्किने गणेश हिमाल र सातधारे हिमालको दृश्य,  ककनी, रानीपौवा, शिवपुरी, नुवाकोट, हिमालदेखि पहाड तथा समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ । चारैतिर रमणीय हरियाली प्राकृतिक दृश्यले मन्दिर दर्शन गर्न आउँदा छुट्टै आनन्द हुने गर्छ । हाम्रो विद्यालयनजिकै रहेकोले हामी विद्यालय टिफिन वा खाली पिरियडमा खेल्दै घुम्दै मन्दिर पुग्छौँ ।        

    गाेरखापत्र अनलाइन र २०८० माघकाे मुना मासिक पत्रिकाबाट साभार 




    थुम्कीमा छन् जलेश्वर महादेव

    Thursday, August 3, 2023

    एक स्थानीय बासिन्दाको गाई सँधै फुकेर दुध दुहुने बेलामा हराउने गरेको र खोजी गर्दै जाँदा यहाँ हाल महादेव मानिएको शिलामा दुध चढाईरहेको भेटिएको हुँदा शक्ति मानेर पूजा आजा गरिँदै आएको भन्ने भनाई रहेको छ । धार्मिक कथन अनुसार गोसाइँकुण्ड उत्पत्ति गर्न महादेव यहाँ १ रात बास बसी गएका हुन् पनि भनिएको छ ।


    रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नं ५, जिबजिबेमा रहेको नीलकण्ठ महादेव मन्दिरलाई स्थानीयहरूले 'थुम्कीका महादेव' भनेर चिन्दछन् । जलेश्वर महादेव भनेर पनि चिनिदै आएको यस मन्दिर रमणीय स्थानमा रहेको छ । सूर्योदय, सूर्यास्त हेर्नका लागि पनि उपयुक्त स्थलको रूपमा रहेको यस मन्दिर उत्पत्ति सम्बन्धि एक कथन रहेको छ ।

    एक स्थानीय बासिन्दाको गाई सँधै फुकेर दुध दुहुने बेलामा हराउने गरेको र खोजी गर्दै जाँदा यहाँ हाल महादेव मानिएको शिलामा दुध चढाईरहेको भेटिएको हुँदा शक्ति मानेर पूजा आजा गरिँदै आएको भन्ने भनाई रहेको छ । धार्मिक कथन अनुसार गोसाइँकुण्ड उत्पत्ति गर्न महादेव यहाँ १ रात बास बसी गएका हुन् पनि भनिएको छ ।

    बालाचतुर्दशीको बेलामा यहाँ मेलासहित शतबीज छर्ने पर्व पनि लाग्ने गर्दछ ।स्थानीय तथा पूर्व प्रधानपञ्च स्व. चुडामणि पौडेलको अगुवाईमा यहाँ मेला आयोजना गर्न थालिएको हो ।

    धार्मिक आस्थाको धरोहर : गोसाइँकुण्ड

    Monday, July 17, 2023

    यो कुण्डको उत्पत्तिको कथा हिन्दु र बौद्द धर्ममा भिन्नाभिन्नै रहेको छ । दुवै धर्मअनुसार शिवजीले नै सिर्जना गरेका हुन् भनिएको छ ।

    Gosainkunda and Bhairav Kunda Rasuwa
    गोसाइँकुण्ड र भैरवकुण्ड । फोटो स्रोत : Wiki Media Commons 

      गोसाइँकुण्डको परिचय

      वैदिक युगदेखि ऐतिहाँसिक पोखरी वा ताल हो गोसाइँकुण्ड । धार्मिक आस्थाको धरोहर र पर्यटकीय गन्तव्य पनि हो यो कुण्ड तथा वरपरका क्षेत्रहरू । सांस्कृतिक र प्राकृतिक छटाले परिपूर्ण छ यो क्षेत्र । पवित्र त्रिशूली नदीको उद्गमस्थल पनि हो यो कुण्ड ।


      'गो' गाई र 'स्वामी' मालिक अर्थात् संस्कृतको 'गोस्वामी' शब्द जनजिब्रोले बोल्दै जाँदा अपभ्रम्श भई 'गोसाइँकुण्ड' भएको हो । गोस्वामी अर्थ धेरै गाई हुने व्यक्ति भन्ने बुझिन्छ । त्यस्तै 'गो' शब्दले 'इन्द्रिय' भन्ने पनि बुझाउँदछ, स्वामी भन्नाले जितेन्द्रिय भन्ने बुझिन्छ । देवता वा ठूला ऋषिहरू इन्द्रियजयीहरूमा पर्दछन् भने सबैभन्दा श्रेष्ठ जितेन्द्रिय भगवान शिव हुन् ।


      संक्षिप्त जानकारी

      • कुण्डको नाम : गोसाइँकुण्ड (Gosainkunda)
      • तामाङ भाषामा : ग्यो, छोकर, ह्‍वे
      • शेर्पा भाषामा : घ्यो
      • तिब्बतीयन भाषामा : छो
      • नेवारी भाषामा : शिलु
      • अवस्थिति : वागमती प्रदेश, रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ (साविक स्याफ्रु-५)
      • अक्षांश : २८° ५' ००'' पूर्व
      • देशान्तर : ८५° २४' ९६'' उत्तर
      • उचाई : ४३८० मीटर (१४६०० फिट)
      • क्षेत्रफल : १३.८० हेक्टर (०.१३८ वर्ग किमी)
      • लम्बाई : ६२५.५५ मीटर
      • चौडाई : ३०२ मीटर
      • गहिराई : २६ मीटर
      • पानीको आयतन : १४.७२० लाख घनमीटर
      • प्रतिसेकेण्ड कुण्डमा आउने पानी : ३५ लिटर
      • प्रतिसेकेण्ड कुण्डबाट बाहिर जाने पानी : ६० लिटर
      • वरपरका अन्य प्रमुख कुण्डहरू : भैरवकुण्ड, सरस्वती कुण्ड, आमाकुण्ड, चन्द्रकुण्ड, सूर्यकुण्ड, रक्तकुण्ड, क्योम्युहो कुण्ड, दुधकुण्ड, गणेशकुण्ड, बतासकुण्ड, नौकुण्ड



      'गो' गाई र 'स्वामी' मालिक अर्थात् संस्कृतको 'गोस्वामी' शब्द जनजिब्रोले बोल्दै जाँदा अपभ्रम्श भई 'गोसाइँकुण्ड' भएको हो । गोस्वामी अर्थ धेरै गाई हुने व्यक्ति भन्ने बुझिन्छ । त्यस्तै 'गो' शब्दले 'इन्द्रिय' भन्ने पनि बुझाउँदछ, स्वामी भन्नाले जितेन्द्रिय भन्ने बुझिन्छ । देवता वा ठूला ऋषिहरू इन्द्रियजयीहरूमा पर्दछन् भने सबैभन्दा श्रेष्ठ जितेन्द्रिय भगवान शिव हुन् ।



      रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ (साविक स्याफ्रु गाविस-५) मा समुद्री सतहबाट ४३८० मीटर (१४६०० फिट) उचाईमा रहेको तो ताल १३.८० हेक्टर क्षेत्रफलमा फैलिएको छ । करीव २६ मीटर गहिराई भएको यो कुण्डको लम्बाई ६२५.५५ मीटर चौडाई ३०२ मीटर रहेको छ । यस कुण्डमा प्रतिसेकेण्ड ३५ लिटर पानी भित्रिन्छ भने प्रतिसेकेण्ड ६० लिटर पानी बाहिरिन्छ ।

      हिमचितुवा, रातो हाब्रे -रेडपाण्डा), कस्तुरी मृग, हिमाली थारलगायतका लोपोन्मुख वन्यजन्तुको आश्रयस्थल बनेको यस क्षेत्रमा निकुञ्जले संरक्षण प्रदान गरेका ल्यारिक सल्लो, १० भन्दा बढी प्रजातिका लाली गुँरास र सुनाखरीका जातहरू रहेका पाइन्छन् । 

      लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र प्राकृतिक छटाले परिपूर्ण भएर जमिरहेको वरपरका अन्य कुण्डहरूसहित यस कुण्ड संरक्षण तथा संवर्दनको अभिप्रायले असोज ५, २०६४ (23rd September 2007) मा (१०३० हेक्टर क्षेत्र) रामसार सूचिमा सूचिकृत गरिएको छ । यस क्षेत्रमा लोपोन्मुखसहित विभिन्न प्रजातिका वनस्पतिहरू, जडिबुटी र वन्यजन्तुहरू रहेका छन् । धार्मिक आस्थासहित वानस्पतिक वा जैविक विविधताभित्र रहेर यस कुण्डले वर्षेनी हज्जारौं आन्तरिक तथा वाह्‍य पर्यटकहरूलाई भित्र्याईरहेको छ ।

      वर्षैभरि यस स्थानमा तीर्थालु वा पर्यटकहरू आउने भएपनि विशेष गरी गंगादशहरा र जनैपूर्णिमाका समयमा विशेष मेला लाग्ने गर्दछ ।

      यो कुण्डको उत्पत्तिको कथा हिन्दु र बौद्द धर्ममा भिन्नाभिन्नै रहेको छ । दुवै धर्मअनुसार शिवजीले नै सिर्जना गरेका हुन् भनिएको छ । हिन्दु धर्मग्रन्थ अनुसार सत्ययुगमा भगवान शिवजीले यस कुण्ड सिर्जना गरेका हुन् । देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको 'हलाहल' नामक कालकूट विषले संसार दग्ध गर्न लाग्दा विश्वको रक्षार्थ सो विषलाई भगवान शिवजीले निल्न खोज्दा घाँटीमा अड्कन गयो । घाँटीमा अड्केको विषको डाहाले शिवजीको घाँटी (कण्ठ) नीलो भएको कारण उनलाई 'नीलकण्ठ' भनिएको हो । घाँटीमा अड्केको 'हलाहल' नामक कालकूट विषका कारण डाहा भई सो डाहा शान्त पार्न भगवान शिवजी नेपालका विभिन्न स्थललाई तीर्थाटन बनाई यहाँ आईपुगे । यहाँ आएर त्रिशूलले खोपेर पानी उत्पत्ति गर्नुभयो र प्यास मेट् । त्रिशूल खोपेर निकालिएको हुनाले त्यसलाई त्रिशूलधारा भनिएको हो । सोही पानी जमी गोसाइँकुण्ड उत्पत्ति भएको र त्यही शिवजी बिराजमान भई डाहा शान्त गरे भनिएको छ ।

      त्यस्तै बौद्द धर्म अनुसारको कथन भिन्न रहेको छ । रसुवाली फूर्पा तामाङले 'जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म-संस्कृति' नामक पुस्तकका उल्लेख गरेका कथन यसप्रकार रहेको छ । महादेव (महादेउ) का दुई दाजुभाई थिए । महादेउका दाजु 'छोना' थिए । उनीहरू बस्नका लागि स्वच्छ ठाउँ खोज्दै हिँडेछन् । सबैभन्दा पहिला काठमाण्डौं आईपुगे । त्यहाँबाट साँढे रूप धारण गरेर नमिबुद्द (तामालोजेन) बाट पाँचपोखरी हुँदै कालो गंगा पुगेछन् । ती स्थानहरूमा उनीहरूलाई बस्न मन लागेन र घुम्दै बेत्रावती आईपुगे । बेत्रावतीबाट भार्खु गाउमा आईपुगे । भार्खुमा कुण्ड बनाएर बस्दा गाईवस्तु र मानिसको आवतजावत हुने हुँदा फोहोरसमेत् हुने भएकोले त्यहाँबाट अलि माथि लेकमा 'सपिङ ग्यो' मा कुण्ड बनाएर बसे । त्यहाँ पनि उपयुक्त वातावरण नभएपछि अझै स्वच्छ ठाउँको खोजी गर्दै नाम्सुङ भन्ने ठाउँमा कुण्ड बनाएर बसे । त्यहाँ पनि वातावरण नभएपछि अर्को सफा ठाउँ खोजेर तिमीलाई लिन आउँछु भनेर दाजुले भाईलाई भनेछन् तर धेरै समय बित्दा पनि दाजु नफर्केपछि महादेउ खोजीमा निस्के ।

      चोलाङ माथिको गुराबमा पुगेर ध्यान गरी हेर्दा पनि दाजु कहाँ छन् भनेर पत्ता लगाउन सकेनन् र पनि अन्तस्करणले पूर्वपट्टि लाग्न सुझाब दियो । लौरीबिनाको नौक्याग्याङमा पुगेर हेर्दा दक्षिणतर्फ दाजु कुण्ड बनाई असल ठाउँमा बसेको देखेछन् र राम्रो ठाउँ पाएपछि भाईलाई बिर्सेको उनले चाल पाए र मनमनै भने मैले दाजुको चिन्ता गरें, राम्रो ठाउँ पाएपछि भाईलाई पनि बिर्सँदा रहेछन् । मेरो मनमा पाप भए मैले दाजुको भन्दा नराम्रो ठाउँ पाउँ र दाजुको कुण्डमा नुहाएको पानी मेरो कुण्डमा आओस् । यदि दाजुको मनमा पाप भए दाजुको भन्दा मैले राम्रो ठाउँ पाउँ र मेरो कुण्डमा नुहाएको पानी दाजुको कुण्डमा जाओस् ।

      मनमनै यति भनेर त्रिशूलले पहरामा एकपटक हान्दा ह्‍युम पार्वतीको स्तनमा लागेर दुध निस्केछ । दोस्रोपटक हान्दा गंगालाई लागेर पानी निस्केछ । दुध र पानी मिसिएको हुनाले सेतो रंगको कुण्ड उत्पत्ति भयो । पहिले गोसाइँकुण्ड सेतो थियो भनिएको छ । त्यसैले तामाङहरूले यस कुण्डलाई 'छोकर' (सेतो कुण्ड) भन्ने गर्दछन् । किंवदन्ती अनुसार महादेउको मन सेतो हुनाले सेतो कुण्ड अर्थात् गोसाइँकुण्ड बन्यो र दाजुको मन कालो भएको हुनाले कालोकुण्ड अर्थात् भैरवकुण्ड बन्यो ।

      जैविक विविधतामा सम्पन्न गोसाइँकुण्ड क्षेत्र रैथानीय, दुर्लभ र सङ्कटापन वनस्पति एवं चराचुरुङ्गी र वन्यजन्तुको आश्रमको रूपमा परिचित छ । हिमचितुवा, रातो हाब्रे -रेडपाण्डा), कस्तुरी मृग, हिमाली थारलगायतका लोपोन्मुख वन्यजन्तुको आश्रयस्थल बनेको यस क्षेत्रमा निकुञ्जले संरक्षण प्रदान गरेका ल्यारिक सल्लो, १० भन्दा बढी प्रजातिका लाली गुँरास र सुनाखरीका जातहरू रहेका पाइन्छन् । लाङटाङ राष्ट्रिय निकुञ्जको स्थापनादेखि नै लोपोन्मुख वन्यजन्तुका वासस्थान जोगाइ राख्ने र ती वनमा आश्रयस्थल बनाएका प्राणीहरूको संरक्षण, त्यहाँ उपस्थित विविध प्राकृतिक, जैविक सम्पदाको संरक्षण, धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, स्थानीय जनताको जीवनस्तर उकास्ने क्रममा स्थानीय तहमा अपनाइएको भू उपयोग पद्धतिबाट परिस्थितिकीय प्रणालीमा पर्ने असर घटाउने तथा निकुञ्ज र आसपासमा रहेको प्राकृतिक स्रोतको मानवीय दोहन घटाएर निकुञ्जको प्राकृतिकपन र सुन्दरता जोगाउने भन्ने लक्ष्यमा आधारित रहेर निकुञ्जले कार्य गर्दै आइरहेको छ ।

      अमरसिंह थापा नेपाली इतिहाँसका एक उदाहरणीय पात्रको देहवसान र 'अमरसिंह गुफा' गोसाइँकुण्डमा रहनुले महत्वमा विविधता थपिएको छ । गोसाइँकुण्ड क्षेत्र वरपरका तामाङ समुदायको भेषभूषा तथा संस्कृति पनि यस क्षेत्रका आकर्षणहरू हुन् । तामाङ संस्कृति अनुसारका विभिन्न नाँचहरूले सांस्कृतिक महत्व पाएको छ । यिनै धार्मिक, ऐतिहाँसिक र सांस्कृतिक महत्वभित्र नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको महत्व दिनानुदिन बढ्दै गइरहेको छ ।

      पर्यटकीय महत्वले गोसाइँकुण्ड मात्र नभई हेलम्बु, लाङटाङ र तामाङ सम्पदा मार्गका क्षेत्रहरूलाई समेट्छ । यी अरु क्षेत्रमा पनि ऐतिहाँसिक, धार्मिक र सांस्कृतिक महत्व पनि त्यत्तिकै छन् । पौराणिक कथनको विश्वासको आधारमा एकसय आठ कुण्ड मध्येका विभिन्न कुण्डहरू यत्रतत्र छरिएर रहेका छन् ।



      गोसाइँकुण्ड उत्पत्ति सम्बन्धि केही कविताहरू



      नुवाकोट, थानसिङ निवासी डा. सत्यराज थपलियाले 'नीलकण्ठ महिमा' nullमा लेख्नुभएको गोसाइँकुण्ड उत्पत्ति सम्बन्धि कविता यहाँ प्रस्तुत गरिन्छ ।

      गौरीका पसिना बगेर अघि नै जो धर्मधारा बन्यो ।
      त्यो सम्झेर झलक्क भित्र मनले ध्यानादि क्यै गर्नु भो ।।
      बढ्दै गो जब त्यो प्रभाव विषको पर्दै गयो तुल्बुली ।
      घोचे तिर्सुलले फुट्यो जल अहो ! नीलाद्रिमैँ भुल्भुली ।।५२।।

      धारा तीन त्रिशूलको जब बन्यो ठन्डा त्यही निर्मल ।
      पानी जम्न गई बडो दह बन्यो नीलाद्रिमा सुन्दर ।।
      खाल्टा आठ तथा अगाध गहिरो कल्लोलले शोभित ।
      देखी दिव्य विशाल कुण्ड शिवजी ज्यादै भए मोहित ।।५३।।

      बाधा त्यो सब कालकूट विषको संहारका खातिर ।
      आफैं गै सय दिव्य वर्ष सुकला भो कुण्डमा शङ्कर ।।
      नामैँ भो पछि नीलकण्ठ दह, त्यो गोसाइँथान नामले ।
      जो प्रख्यात छँदैछ आजतक नै देखिन्छ आफैं गए ।५४।।

      धारा तिर्सुलको निकास हुन गै गङ्गा भइन् तिर्सुली ।
      बग्दैछिन् छहरो परी कलकली त्यै कुण्डबाटै झरी ।।
      कुण्डै भैरव जो बन्यो बुझ अझै देखिन्छ त्यो बाटुलो ।
      अर्को कुण्ड सरस्वती पनि बन्यो केही तलै पर्छ त्यो ।।५५।।

      कालो गाजल तुल्य भैरव अहो ! ती भीमकै कारण ।
      साँचै भैरवझैं भयो कलकले त्यो कुण्ड नै भीषण ।।
      हेरे हेर्न हुनेछ, हेर अझ त्यो नीलो छ ज्यादै अहो !
      साथै सुन्न सकिन्छ शब्द सुरिलो कल्लोल वा छालको ।।६६।।

      हे भूतेश ! उमापते ! पशुपते ! हे भर्ग ! हे शङ्कर !
      हे सर्वेश्वर ! चन्दशेखर ! विभो ! हे रुद्र ! गङ्गाधर ।।
      हे विश्वेश्वर ! विश्वपालक प्रभो ! हे धर्मधारे ! शिव !
      पाऊँ दर्शन नीलकण्ठ ! भगवन् ! हाम्रो नमस्कार छ ।।७४।।

      नीलकण्ठ महिमा पुरा पढ्नको लागि यहाँ जानुहोस् ।नीलकण्ठ महिमा पुरा पढ्नको लागि यहाँ जानुहोस् ।

      गोसाइँकुण्ड क्षेत्र तथा वरपरका आकर्षणहरू

      - धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण
      - विश्व सम्पदा सूचि (रामसार) मा सूचिकृत
      - वीर अमरसिंह थापाको गुफा
      - लोपोन्मुख रेडपाण्डा अवलोकन
      - लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।
      - लोपोन्मुख जडिबुटीहरूको भण्डार ।
      - हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।
      - प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।
      - नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि हेलम्बु पदयात्रा)
      - सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा
      - माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

      कसरी पुग्ने गोसाइँकुण्ड

      गोसाइँकुण्ड पदयात्राका विभिन्न मार्गहरूको प्रयोग गर्न सकिन्छ ।

      १) रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्साबाट चन्दनबारी वा (लाङटाङ पुग्न पनि सकिन्छ) स्याफ्रुबेंशी-ठूलोस्याफ्रु, फोप्राङ, चन्दनबारी (सिङ्गोम्बा), चोलाङपाटी, लौरीबिना हुँदै

      २) रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल, जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै

      ३) नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड हुँदै

      ३) नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड हुँदै

      ४) नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड हुँदै

      ५) काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी, दुप्चेश्वर, राउचुली, नौकुण्ड हुँदै

      ६) काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी, पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड हुँदै

      ७) सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड हुँदै

      गोसाइँकुण्ड क्षेत्र विकास सम्बन्धि जानकारी

      Comming Soon....

      धैबुङ चित्रकालिका मन्दिर

      Dhaibung Chitra Kalika Temple Rasuwa

      प्राकृतिक दृश्यको धनीऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ । तस्वीर : हेमनाथ खतिवडा
       
      Support : Creating Website | Johny Template | Mas Template
      Copyright © 2011. यही हो हाम्रो रसुवा - All Rights Reserved
      Template Created by Creating Website Inspired by Sportapolis Shape5.com
      Proudly powered by Blogger