ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

ताजा अपडेट

समाचारहरू

Popular of Month

Saturday, October 17, 2026

अस्पताललाई पोर्टेबल भिडियो एक्सरे मेसिन सहयोग


 

रसुवा, हिमालयन कर्पोरेसन सोसाइटी नेपालले रसुवा अस्पताललाई एक थान पोर्टेबल भिडियो एक्सरे (Portable USG) मेसिन  प्रदान गरेको छ। अस्पतालको स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त उपकरण उपलब्ध गराइएको हो।

नयाँ उपकरण भित्रिएसँगै अस्पतालमा आउने बिरामीहरूले सहजरूपमा अल्ट्रासाउन्ड सेवा पाउने भएका छन्। विशेषगरी गर्भवती महिला, आकस्मिक  (Emergency) कक्ष र अन्तरङ्ग (Inpatient)  विभागमा भर्ना भएका जटिल बिरामीहरूले सम्बन्धित शय्या वा विभागबाटै USG सेवा प्राप्त गर्न सक्नेछन्। यसले रोगको समयमै पहिचान, सही निदान र प्रभावकारी उपचार व्यवस्थापनमा ठूलो सहयोग पुग्ने अस्पताल प्रशासनले जनाएको छ।


अस्पतालमा आयोजित एक कार्यक्रमका बीच हिमालयन कर्पोरेसन सोसाइटी नेपालका अध्यक्ष दावा लामाले उक्त पोर्टेबल मेसिन हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण गरिएको उपकरण अस्पताल विकास समितिका अध्यक्ष निबेश श्रेष्ठ र डा सुनिलकुमार दासले संयुक्त रूपमा ग्रहण गरे । 

स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न र सेवाको गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै रसुवा अस्पताल परिवारले हिमालयन कर्पोरेसन सोसाइटी नेपालप्रति आभार व्यक्त गरेको छ।


स्राेत  : प्रमोदकुमार तितुङ

Friday, October 16, 2026

बाढीले प्रभावित बालबालिकाहरूलाई पोषण सामग्री वितरण

 


रसुवा, भदाै १० गतेकाे बाढीले प्रभावितहरूलाइ आसमान नेपाल र ल्याकाेष रसुवा जिल्लाको सहकार्यमा गोसाइँकुण्ड गाउँपालिका-३ का पाँच वर्षमुनिका बालबालिकाहरूलाई लक्षित गरी आवश्यक पोषण सामग्री वितरण गरिएको छ।

बाढीबाट प्रभावित परिवारका बालबालिकाको पोषण आवश्यकतालाई सम्बोधन गर्दै उनीहरूको स्वास्थ्य, पोषण अवस्था तथा समग्र वृद्धि र विकासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको हो।

यस पहलले बालबालिकाको पोषण सुधार गर्न तथा विपद्को कठिन परिस्थितिमा उनीहरूको स्वास्थ्य र सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष मिङमर तामाङले बताए ।

धुन्चेमा आगलागी नियन्त्रण तथा उद्धार सम्बन्धी कृतिम अभ्यास सम्पन्न

 


रसुवा, जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वय एवम् जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको सहकार्यमा आगलागी नियन्त्रण तथा उद्धार सम्बन्धी कृतिम अभ्यास रसुवाको सदरमुकाम धुन्चेमा सम्पन्न भएको छ।

​आगलागीजस्ता विपद्को समयमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न, उद्धार कार्यलाई प्रभावकारी बनाउन र सुरक्षा निकायहरूबीचको समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यका साथ उक्त अभ्यास सञ्चालन गरिएको हाे ।

अभ्यासका क्रममा आगलागी हुँदा अपनाउनुपर्ने सावधानी, उद्धारका उपायहरू र तत्काल पुर्‍याउनुपर्ने आपतकालीन सेवाहरूको व्यवहारिक प्रदर्शन गरिएको थियो ।



स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माणका लागि पहुँच मार्ग बनाइँदै

 


रसुवा, लेन्देखोलाहुँदै भोटेकोशी नदिमा ०८३ भदौ १३ गते आएको विनाशकारी बाढीका कारण क्षति पुगेको रसुवाको गोसाइकुण्ड गाउँपालिका स्याफ्रुबेँसी बजार क्षेत्रमा यातायात पुनः सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको छ।


आमाछोदिङमो गाउँपालिका र गोसाइकुण्ड—१, २, ३, ४ र ५ को कोही भागमा यातायात सम्पर्क जोड्न बेलीब्रिज राख्ने तयारीका लागी स्थलमार्ग निर्माणको कार्य भइरहेको छ । बाढीले बगाएको पुल भएको स्थानमा अस्थायी बेलिब्रिज राख्ने तयारीका लागि स्काभेटर प्रयोग गरी पहुँच मार्ग निर्माणका काम भइरहेको छ । चिलिमे जलविद्य्‌त केन्द्र तथा वारीको भागमा बाढीले कटान गरी भिर तथा पहरो निकालेकोले पहुँच मार्ग बनाउन ढिलाइ भएको गोसाइकुण्ड गाउँपालिकाले जनाएको छ ।


बाढीका कारण सडक सम्पर्क विच्छेद हुँदा स्थानीय बासिन्दाका साथै उत्तर–दक्षिण व्यापारिक गतिवधिका लागि आवतजावतमा ठूलो असर परेको छ । अस्थायी बेलिब्रिज स्थापना गर्नका लागि आवश्यक मेसिनरी तथा सामग्रीहरू निर्माण स्थलसम्म पुर्‍याउन पहुँच मार्ग बनाउनु पहिलो प्राथमिकता भएकाले स्काभेटरको प्रयोग गरी पहुँच मार्ग निर्माण गर्ने काम भइरहेको छ ।

बाढीले सडक र पुल बगाएपछि स्थानीय जनश्रमदानबाट काठेपुल निर्माणमा


रसुवा, गत भदौ १० गते लेन्दे खाेलाहुँदै भाेटेकाेसीमा आएको विनाशकारी बाढीले गोसाइँकुण्ड गाउँपालिका-५ स्थित स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ ।

पुल अभावले बाढीका कारण आवतजावत ठप्प हुँदा गोसाइँकुण्ड गाउँपालिका (वडा नं. १ देखि ५) र आमाछोदिङ्मो गाउँपालिका (वडा नं. १ देखि ५) का स्थानीय नागरिकले ठूलो सास्ती खेप्दै आएका छन् ।

​लामो समय बितिसक्दा पनि स्याफ्रुबेँसीमा तत्काल स्थायी पुल बन्ने निश्चित नभएपछि आमाछोदिङ्मो गाउँपालिकाका स्थानीयवासी आफैँ जनश्रमदानमार्फत अस्थायी काठेपुल निर्माणमा जुटेका हुन् । असोज २५ गतेदेखि स्थानीय र सुरक्षा निकायको संयुक्त सहभागितामा काठको पुल निर्माण कार्यलाई निरन्तर अघि बढाएका छन् ।
​
​सडक सञ्जाल अवरुद्ध हुँदा स्थानीय किसानहरूले उत्पादन गरेको नगदे बाली बजारसम्म पुर्‍याउन पाएका छैनन् । गत वर्ष आमाछोदिङ्मो गाउँपालिकाका वडा नं. २, ३, ४ र ५ बाट करिब ३ करोड रुपैयाँ बराबरको तरकारी निकासी भएको थियो । यस वर्ष उत्पादन बढेर करिब ६ करोड रुपैयाँ बराबरको तरकारी बजार पठाउने तयारी थियो ।

​तर, बाढी गएको ५० दिन भन्दा बढी बितिसक्दा पनि यातायात सञ्चालन नहुनु र कुनै वैकल्पिक मार्गसमेत नहुँदा बन्दा, आलु र सिमीजस्ता नगदे बाली बारीमै कुहेर जाने अवस्था सिर्जना भएको छ । गत वर्षको तुलनामा दोब्बर आम्दानी हुने अपेक्षा गरेका किसानहरू वर्षभरिको मेहनत खेर जाने जोखिमले चिन्तित बनेका छन् ।

तत्काल सडक खुलाउन माग तथा पुन निर्माणमा जुट्न सरकार समक्ष स्थानीयले ​दावापेम्बा तामाङले अनुराेध गरेका छन् । ​सरकारले सवारी साधन सञ्चालनका लागि बेलीब्रिज निर्माण गर्ने तयारी गरेतापनि त्यसबाट तत्कालको समस्या समाधान नहुने देखेपछि स्थानीय आफैँ काठेपुल बनाउन जुटेका हुन् । निर्माण कार्यलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न गाउँवासीलाई श्रमदानमा सक्रिय सहभागी हुन आह्वान गरिएको छ ।
​स्थानीय किसान तथा सर्वसाधारणले सम्बन्धित निकायसँग अवरुद्ध बनेको मूख्य सडक खण्ड तत्काल मर्मत गरी यातायात सहज बनाइदिन जोडदार माग गरेका छन्।

तस्वीर : प्रवेश खनाल एसिया नेपाल



Wednesday, October 14, 2026

विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका राहत सामाग्री प्रदान



नेपालको सामुदायिक वन उपभाेक्ता महासंघ (FECOFUN)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागि उत्तरगया गाउँपालिकालाई राहत सामाग्री प्रदान गरेको छ।

केन्द्रीय अध्यक्ष ठाकुर भण्डारी, काेषाध्यक्ष शान्ता न्याैपानेलगायतकाे टिमले केन्द्रीय कार्यालय चाङ्गुनारायण नगरपालिका-२, भक्तपुरबाट संघको संघीय सचिवालयले पठाएको पत्र अनुसार, बाढीबाट प्रभावित घरधुरीहरूको तत्काल आवश्यकताका लागि राहत सामाग्री प्रदान गरिएको हो। 

राहत प्याकेजमा ५० एलपीजी सिलिन्डर, ५० ग्याँस चुल्हो, १०० इलेक्ट्रिक चुल्हो र ३५० लुगा-सजावटका सेटहरू समावेश छन्। संघले १,००० प्याक/बोराको जीरा मसिनो चामल, ४०० सेट दाल, चिनी, खाना पकाउने तेल र नुन तथा ५०० सेट भाँडाकुँडा पनि प्रदान गरेको छ।

यस अघि पनि वडा नं ५ र ६ मा १ हजार परिवारमा चामल बितरण गरेकाे  थियाे । महासंघले जनाएको छ कि यी सामग्रीहरू विपत्तिबाट प्रभावित परिवारहरूलाई सहयोग पुर्‍याउनका लागि प्रदान गरिएको हो र गाउँपालिकालाई वितरण समन्वय गर्न तथा आवश्यक कागजात उपलब्ध गराउन अनुरोध गरेको छ।

विनासकारी बाढीबाट विस्थापित रसुवा र नुवाकोटका स्थानीय उपभोक्तालाई सहयोग स्वरूप महासंघले पटक पटक खाद्यान्न, भाँडाकुँडा र ग्यास तथा इन्डक्सन चुलोसहित  राहत सामग्री प्रदान गरेको छ । महासंघका अध्यक्ष ठाकुर भण्डारी, वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाही, महासचिव पार्वता गौतम,सचिव डिल्ली गिरी र कोषाध्यक्ष शान्ता न्यौपाने लगायतका पदाधिकारी र सदस्यहरू स्थलगत रूपमै पुगेर राहत दिनुभएको हो ।

महाविपत्तिले अकल्पनीय क्षति भोग्न बाध्य भएका बाढी पहिरो पीडितलाइ फेकोफनले चामल, दाल, नुन, तेलसहितको खाद्यान्र, कुक्कर, कराइ, थाल, कचौरा लगायतका भाँडाकुँडा तथा ग्यास सिलिण्डर र इन्डक्सन चुलोसहितका सामग्री सहयोग गरेकोमा रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले धेरै धन्यवाद पनि दिनुभयो ।

महासंघले भोटेकोशी बाढीबाट घरबास सबै गुमाएर आश्रय लिन बाध्य भएका रसुवा र नुवाकोटका पीडित परिवारलाइ स्थानीय तहसँगको समन्वयमा राहत सामग्री प्रदान गर्दै आएको फेकोफनका फाइनान्स डाइरेक्टर राम प्रसाद पौडेलले जानकारी दिनुभयो ।

महासंघले अति प्रभावित विस्थापित र चुलो बाल्न समेत समस्यामा परेकाहरूलाइ स्थानीय तहसँग समन्वय गरेर राहत सामग्री दिएको महासंघका बागमती प्रदेश उपाध्यक्ष लिलानाथ न्यौपानेले बताउनुभयो ।

फेकोफनले यसअघि बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा नगद पाँच लाख प्रदान गरेको थियो । महासंघले करिब डेढ करोड बराबारको खाद्यान्नसहितका राहत सामग्री सहयोग गरेको हो ।

Tuesday, October 13, 2026

बाढी पछि स्थलगत अवलोकनमा पूर्वप्रधानमन्त्री 'प्रचण्ड' रसुवामा

 

रसुवा, लेन्दे हुँदै भोटेकोसीको बाढी पहिरोपछिको क्षतिको स्थलगत अवलोकनका लागि रसुवा पुग्नु भएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र जिल्लाका सरोकारवालाहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।

​जिल्ला समन्वय समिति रसुवाको आयोजनामा सदरमुकाममा आयोजित उक्त छलफल कार्यक्रममा बाढीपहिराका कारण जिल्लामा भएको भौतिक तथा मानवीय क्षति, विस्थापित नागरिकको अवस्था र आगामी पुनर्निर्माणका प्रयासबारे छलफल भएको थियो ।

बाढी प्रभावितहरुको सहजताका लागि तत्काल बाकी सडक सञ्जाल तत्काल जोड्नुपर्ने र सडक नजोडिएको ठाउमा राहत तथा पुनस्थापन चाँढो हुनुपर्ने धुन्चेमा भएको एक छलफल कार्यक्रम पुर्व प्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल प्रचण्डले बताए । 

छफफलमा प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे र जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले बाढी पछिको जिल्लाका अवस्था बारे जानकारी दिएका थिए । साे अवसरमा बिभिन्न स्थानमा बाढी पीडित तथा कार्यकर्ताहरू भेटघाट सकेर पूर्वप्रधानमन्त्री 'प्रचण्ड' फर्केका छन् ।