रसुवा, कालिका गाउँपालिका–५ स्थित जिबजिबे ग्रामीण अस्पतालमा बालबालिका, किशोरकिशोरी तथा वयस्कलाई लक्षित गरी नि :शुल्क मानसिक स्वास्थ्य परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ।
सिविन नेपालको आयोजनामा तथा प्लान इन्टरनेशनलको सहयोगमा सञ्चालित शिविरमा मानसिक स्वास्थ्य परीक्षण, मनोसामाजिक परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो।
शिविरमा उत्तरगया, कालिका तथा गोसाइँकुण्ड गाउँपालिकाका बालबालिका, किशोरकिशोरी तथा वयस्कहरूले सेवा लिएका थिए। शिविरमा कुल २६ जना बिरामीको विवरण संकलन गरिएको थियो, जसमा १० जना पुरुष र १६ जना महिला रहेका र अन्य समेत ५१ जनाले सेवा लिएकाे जिबजिबे ग्रामीण अस्पतालका उत्सव पाैडेलले बताए ।
त्यस्तै, मनोसामाजिक परामर्श तथा मनोचिकित्सा सेवा १४ जनाले प्राप्त गरेका थिए। बालबालिका तथा किशोरकिशोरीतर्फ ओपीडीमा १५ जना सेवाग्राही आएका थिए। ती मध्ये १० वर्ष वा सोभन्दा कम उमेरका एक जना र ११ देखि १९ वर्ष उमेर समूहका १४ जना रहेका थिए।
शिविरमा आएका बिरामीहरूमा समायोजन विकार, चिन्ता विकार, अवसाद, शोक तथा वियोग, रूपान्तरण विकार, भावनात्मक रूपमा अस्थिर व्यक्तित्व विकार तथा आफूलाई जानाजानी हानि पुर्याउने व्यवहारलगायतका मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू पहिचान भएका थिए। साथै, केही बिरामीमा मनोविकृति, मदिरा निर्भरता, मदिरा सेवनका कारण उत्पन्न मनोविकृति तथा दौरा विकारसम्बन्धी समस्याहरू पनि देखिएका थिए।
बालबालिका तथा किशोर किशोरी मध्ये तीन जनालाई औषधि सिफारिस गरी थप मनोवैज्ञानिक परामर्शका लागि पठाइएको थियो। अन्य बिरामीलाई आवश्यकता अनुसार मनो परामर्श सेवा लिन सिफारिस गरिएको थियो भने केहीलाई तनाव व्यवस्थापनका लागि विश्राम अभ्याससमेत सिकाइएको थियो।
थप परीक्षण तथा उपचार आवश्यक पर्ने बिरामी मध्ये दुई जनालाई क्लिनिकल साइकोलोजिस्ट कहाँ, दुई जनालाई अर्थोपेडिक विभागमा र एक जनालाई युरोसर्जरी विभागमा रेफर गरिएको थियो।
मनोसामाजिक परामर्श तथा मनोचिकित्सा सेवा लिएका बिरामीलाई निरन्तर उपचार र परामर्शको पहुँचमा राख्न कान्ति बाल अस्पतालमार्फत टेलि–काउन्सेलिङ तथा मनोचिकित्सा सेवाबाट फलोअप गरिने व्यवस्था मिलाइएको छ।
ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या समयमै पहिचान गर्न, आवश्यक उपचार तथा परामर्शमा पहुँच बढाउन र मानसिक स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्न यस्ता शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
शिविरले बालबालिका, किशोरकिशोरी तथा वयस्कको नागरिककाे मानसिक स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न र उनीहरूलाई आवश्यक परामर्श तथा उपचार सेवासँग जोड्न सहयोग पुर्याएको जनाइएकाे छ।








.jpeg)












