रसुवा जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल
बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ । भगवान शिवले बेतको लौरोद्वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ ।
बेत्रावती रसुवा जिल्लाको प्रवेशद्वार हो । रसुवा-नुवाकोटको सिमानामा पर्ने यो स्थल धार्मिक, ऐतिहाँसिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको छ । रसुवा र नुवाकोटका अधिकाँश क्षेत्रका मानिस (हिन्दु) हरूको मृत्युपश्चात यही नदीमा देहदहन गर्ने गरिन्छ । यस पुण्यभूमिमा देहदहन, वितेका पुर्खाको नाममा श्रद्धा तथा यस क्षेत्रमा धार्मिक कार्य गर्दा मृत्युपर्यन्त मानिस सिधै कैलाशमा जान्छ भन्ने विश्वास गरिन्छ ।
नेपाल तथा भारत र अन्य देशबाट विशेष गरी पौषे औंशीका दिन पुर्खाको नाममा श्रद्धा गर्नेको भीड लाग्ने गरेको छ । अधोगति (असामयिक निधन वा दुर्घटनामा परी मरेका) परेका पुर्खाको नाममा यहाँ पुगेर तर्पण मात्र दिए पनि उनीहरूको देह मोक्ष हुने जनविश्वास रही आएको छ ।
संसारका चार धाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियाली रहेको छ । बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ । रामनवमी, ठूली एकदशी, गाइजात्रा, पौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ ।
त्यसबाहेक विभिन्न अवसरहरूमा पनि यहाँ जात्रा लाग्ने गरेको पाइन्छ । सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्न गरिएको बेत्रावती सम्झौता, यहाँको राम, लक्ष्मण, सीता, हनुमान, त्रिवेणीधाम, उत्तरगया, पौषेऔंशी, एकादशी, गाइजात्रा तथा मात्रेसंक्रान्ति पर्वका गोरू जुधाइ जस्ता पर्व, जात्रा र उत्सवको प्रवर्दन गर्न सके पक्कै पनि बेत्रावती र यसका आसपासमा पर्यटन विकास भई जनताको आर्थिक सुधार तथा जीविकोपार्जनमा टेवा पुग्नेछ ।
बेत्रावतीको धार्मिक, ऐतिहाँसिक तथा पर्यटकीय महत्व विभिन्न ऐतिहाँसिक तथ्य अनुसार रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावती (उत्तरगयाधाम) मा अवस्थित राममन्दिर पृथ्वीनारयण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो । युद्द जित्ने कामनासहित यहाँ धैबुङमा रहेका सिद्द योगी अगस्तीबाट खड्गसिद्दि प्राप्त गरेवापत पृथ्वीनारायण शाहले अगस्तीलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए । उनै सिद्द योगीले आफ्नो धर्म चेली गौरादेवीलाई कुश बिर्ताको रूपमा दिएका थिए । बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा चलाउने र बेत्रावतीदेखि ठीक माथि माझगाउँमा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा सत्कार गर्ने शर्तमा गौरीदेवीले धैबुङ गाउँ गुठीको रूपमा प्राप्त गरेकी हुन् ।
गौरादेवी पृथ्वीनारायण शाहकी कान्छी रानी नरेन्द्रलक्ष्मीको दिक्षामन्त्र सुनाउने गुरूआमा थिईन् । उनको विवाह पं जयमङ्गल पौडेल (नेपालका मुख्तियार पं रंगनाथ पौडेलको हजुरबा) सँग भएको थियो । उनीहरूका चार छोरामध्ये जेठो रघुनाथ रामभक्त थिए, उनैले बेत्रावतीको किनारमा राममन्दिर बनाएर पूजाआजा चलाएका हुन् भनिएको छ । धैबुङ गाउँलाई उनी रामपूर भनेर चिनाउन चाहन्थे ।
देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको 'हलाहल' नामक कालकूट विषले संसार दग्ध गर्न लाग्दा विश्वको रक्षार्थ सो विषलाई भगवान शिवजीले निल्न खोज्दा घाँटीमा अड्कन गयो । घाँटीमा अड्केको 'हलाहल' नामक कालकूट विषका कारण डाहा भई सो डाहा शान्त पार्न भगवान शिवजी नेपालका विभिन्न स्थललाई तीर्थाटन बनाई यहाँ आईपुगे र आफूसँग रहेको बेतको लौरोले खोपेर जलाशय उत्पत्ति गरी प्यास मेटाएको भनिएको छ । जुन् कुवाबाट नदी बनिन् जसलाई बेत्रगंगा भनियो । यो स्थानलाई त्रिशूली, रूद्रगंगा (फलाँखु) र बेत्रगंगा (जुन् लोप भईन) ले त्रिवेणीको रूप प्रदान गरेको छ ।
त्रिवेणीधाम वा उत्तरगया धाम बेत्रावतीमा स्नान, जप, ध्यान र श्रद्दादि गर्दा मानिसको जीवन सफल भई मृत्युपर्यन्त कैलाश पद पाउने र दिवंगत पितृहरूको मोक्ष हुने जनविश्वास गरिदै आएको छ । यो स्थान पवित्र घाटको रूपमा पनि स्थापित छ ।
सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्नका लागि यहाँ दुई देश बीच सन्धी वा सम्झौता गरिएको थियो । दोस्रो पटक भएको युद्दमा नेपाली फौज र चिनीयाँ फौज बीच यहाँ घमासान लडाई भएको थियो ।
करीव १२०० संख्यामा चिनीयाँ फौज यहाँ मारिएका थिए, युद्दबाट हारेर कतिपय चिनीयाँ फौजले त्रिशूली नदीमा हामफालेर देहवरण गरेका थिए भने ३०० संख्यामा नेपाली फौजले पनि विरगति प्राप्त गरेका थिए ।
त्यतिखेर चिनीयाँ फौजले भनेको एक भनाई यहाँ प्रस्तुत गरिन्छ ।
'उँधो जाउँ त काटलासी, उँभो जाउँ त मार्लासी, माझै गंगा सोलोलो ।'
यो कथन सायद त्यतिखेर नेपालीहरूले नै चिनीयाँ फौजको स्थितिलाई हेरेर सिर्जना गरेका हुन सक्छन् । यो भनाई केही फरक शब्दमा पनि हुनसक्छ । तर जे होस् शब्दार्थ भन्दा पनि यसको भावार्थ के हो भने – नेपाली फौजले चारैतिरबाट घेरेर चिनीयाँ फौजलाई उम्कन नदिएर कब्जामा पारेका हुन् वा चिनीयाँ फौज हार्ने स्थितिमा पुगेको हो भन्ने हुन्छ । यसबाट नेपालीहरूको बहादुरी देखिन्छ । त्यही सन्धिका कारण बेत्रावती दुई देश बीचको सिमाना हुन पुग्यो । तेस्रोपटक भएको युद्दबाट मात्र रसुवागढी सिमाना बन्न पुगेको हो ।
सांस्कृतिक तथा पर्यटकीय महत्व : यस क्षेत्रमा हुने विभिन्न पर्व, उत्सव तथा जात्राहरूले धार्मिकसहित सांस्कृतिक महत्व पनि झल्काइरहेको छ । यहाँको भेषभूषा विशेष गरी लाखेनाँचले सांस्कृतिक पक्षलाई समेत् उजागर गर्दछ । जसका माध्यमबाट यहाँ धार्मिक पर्यटन विकास भईरहेको पनि छ ।
- काठमाडौँ → गल्छी → त्रिशूली → बेत्रावती
- काठमाडौँ → टोखा-छहरे → त्रिशूली → बेत्रावती
- काठमाडौँ → ककनी → त्रिशूली → बेत्रावती
- स्याफ्रु → धुन्चे → कालिकास्थान → बेत्रावती
- सुवास आगमन (आचार्य), गोसाइँकुण्ड : प्रकृति र इतिहाँस
- प्रेमप्रसाद पौडेल , चार धाममध्येको एक धाम : उत्तरगया धाम
0 Comments :
Post a Comment