ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Litarature. Show all posts
Showing posts with label Litarature. Show all posts

Saturday, August 10, 2024

घिमिरेको पहिलो हास्यव्यङ्ग्य निवन्ध संग्रह 'चौध मगज' प्रकाशित


रसुवा, उत्तरगया गाउँपालिका -५ उपल्लोपौवाका दिपक घिमिरेको हास्यव्यङ्ग्य निवन्ध संग्रह 'चौध मगज' बजारमा आएको छ ।  

उनले 'चौध मगज' नामक हास्यव्यङ्ग्य निवन्ध संग्रह प्रकाशन गरी बजारमा ल्याएका हुन् । १४ वटा निवन्धहरू संग्रहित उक्त पुस्तकमा समाज, मानिसको चेतना, आधुनिकताबाद, सम्बन्ध, सरकार र मानिसको भ्रम र सामाजिक अवस्थामाथि व्यङ्ग्यात्मक प्रहार गरिएको छ । 

अक्षरधाम प्रकाशन प्रालिले उक्त निवन्ध संग्रह प्रकाशन गरेको हो । निजामति सेवामा कार्यरत घिमिरेका कविता, कथा, लेख, निवन्धलगायतका रचना विभिन्न पत्रपत्रिका तथा अनलाइमा प्रकाशित भइसकेका छन् । याे उनको  पहिलो प्रकाशित कृति हो ।  

Friday, May 10, 2024

चिनाऔं लाङटाङ - कविता

प्रेमप्रसाद पौडेल
सामाजिक अभियन्ता / पूर्व पत्रकार
Highlights

खाना दालअचार रोटी सँगमा फापर्सिमीजौकरु

चौरीको दुधमा मिलाइ करु नै चाहिन्न चिज् क्वै अरु ।।


हीमैकोँ शिखरै रहेछ नजिकै देखेर मन् हर्कने

जाऊ घुम्न तिमी रमाइ खुशिले केलाई हो पर्खने ?

बीहानी रवि कीरणै त परदा चाँदी सरी टल्कने

लाङ्टाङ् गाउँ अती मनोहर पुरी देशको मुहार् झल्कने ।।१

 

कैंर्यौ सागर पारिका जनहरु देखेर लालायित

हाम्रो शिखरमा जमेर हिउँ नै बन्यो सबै माझ् हित ।

सारै सुन्दर भै सबै बिचमहा मूटू कलेजै बनी

देख्दैमा सबका महीत नयनै हामी रहेछौ धनी ।।२

 

गर्छन् स्वागत तिमीलाई सबले जो जाँ बसेका छन

रोयो तन् जसको सुशान्ति मिलने त्यो ठाउँ घुम्दा कन ।

खाना दाल, अचार रोटी सँगमा फापर्, सिमी, जौ, करु

चौरीको दुधमा मिलाइ करु नै चाहिन्न चिज् क्वै अरु ।।३

 

विश्वै सामु महाँ परिचित हुँदा नौलै छ हामी सित

ठूलो -उत्सवमै बनाउँ परिचित् होला सबैको जित ।

फल्ला यै सबका नजिक सुन झैं अग्लिन्छ लाङ्टाङ् पनि

सामाजिक् जनभावना फिजियमा हामी हुनेछौं धनी ।।४ 

 

चिनाऔं लाङ्टाङ
- प्रथम रसुवा महोत्सवको अवसरमा, २०६२ कार्तिक २७ (जोमसोम, मुस्ताङ) मा रचना गरिएको हाे ।

Tuesday, May 7, 2024

आमाको महिमा – केही कविताहरू



आमा हुन् जगकी दयामय कला आदर्शकी आदर

आफ्नो सिर्जनमा सुहाइ रहने मातृत्वकी सागर ।

खाई कष्ट डटेर जीवन दिइन् संसार सारा भरिन्

मायाका अनुरागले भुवनमा कल्याण ठूलो गरिन् ।।

 

आमाकै अनुराग प्यार ममता यो सृष्टिको सार हो

आमाकै दशधार भित्र रहनू यो एक आधार हो ।

 

डा. ओमवीरसिंह बस्न्यातद्वारा सिर्जित 'आमा' खण्डकाव्यको आमाको महिमा/परिचय दर्शाउने यो कविताबाट यो लेख उठान गरिएको छ । डा. बस्न्यातको आमा खण्डकाव्यको यो कविता, कवितामा मात्र सिमित छैन । अत्यन्त आदर्शको शब्द, सबैका जन्मदाता आमाको प्रतीकको रूपमा यो कविता रहन्छ । नेपाली साहित्यकारहरूको सिर्जना मध्येको आमाको परिभाषालाई प्रतिबिम्बित गर्ने हरफहरूका प्रतिनिधि हरफहरू पाइन्छन् उनका कवितामा ।

 

पृथ्वीका सबै सजीव प्राणी पृथ्वीमा देखापर्नैका लागि पनि आमा चाहिन्छ । आमाको सहायताले नै भरखर जन्मेको एक बालकले जीवन पाउँछ ।

 

आमा जीवनको पहिलो व्यक्ति, जसले दश महिनासम्म गर्भमा पीडा र खुसीका साथ लिएर हामीलाई जीवन प्रदान गर्नुहुन्छ । त्यसैको फलस्वरूप हामी आमाको त्यही दुःखको स्मरण गर्दै सम्मान प्रकट गर्दछौं । बैशाख कृष्ण अमावश्याका दिन आमाको दुधको भारा तिर्नका लागि विभिन्न परिकारका खानेकुरा र राम्रो लाउन दिएर खुसी बनाउने गर्छौं ।

 

'आमा त्यो आउँछ र ?  हो बा त्यो आउँछ,  त्यो बिहानीको सूर्यझैं उज्यालो छर्दै आउँछ ।' अर्को प्रतिनिधि कविता साहित्यकार गोपालप्रसाद रिमालको आमा ङ्मयमा आमा र छोराको परिवर्तनशील यो वार्तालाप हो । नेपाली साहित्यकारहरूले आमालाई विभिन्न तरिकाबाट कवितामा उतारेका छन् ।

 

झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्

भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् ।

-कवि कृष्णप्रसाद भट्टराई

 

पृथ्वीभन्दा को ठूलो भारी हुन्छ महान

पृथ्वीभन्दा पनि ठूली जननी जान महान ।।

 

साहित्यकार लक्ष्मीदत्त भट्टले लेख्नुभएको आमाको स्मृतिबाट लिइएको यी दुई हरफले पनि आमाको महिमा उल्लेख गरेको छ । पृथ्वीभन्दा पनि ठूली आमाको महिमालाई त्यस काव्यमा पनि धेरै चर्चा गरिएको छ ।

 

माथिका केही प्रतिनिधिमूलक कविताका हरफबाट आज आमाको मुख हेर्ने दिनमा आमाको महिमा सम्झने प्रयास गरें । जन्म दिएर हामीलाई मानिसको आकार बनाइदिने महान् आमालाई सद्भाव र सम्मान दिने न त  कुनै शब्द छन्, न त गर्ने केही व्यवहार नै । जति सम्मान, मान र मर्यादा गरे पनि आमाको ऋण तिर्न सकिन्न । आमा हाम्रा लागि धरती हुन्,  हामी उहाँका सन्तान ।

 

त्यस्तै साहित्यकार/डा. नवराज लम्सालले आमालाई भन्नुभएको छ -

 

दुख्दा सबै दुख्ख दु:खेर जान्छ

जाँदा उसैले सब दुख्ख लान्छ ।

यो देश तिम्रै सपना सँगाल्छ

आमा नरोउ अब घाम लाग्छ ।।

                    : तर घाम लाग्ने छाँट देखिएन ।

 

 

आमासँग सम्बन्धित केही कविताहरू

     


     कवयित्री प्रभा भट्टराई

    आमा श्रृष्टि फुलाउने हृदयको,स्वर्गीय झंकार हुन् !

    रच्ने सिर्जनवाग यो झिलिमिली आमा कलाकार हुन् !!

    आमा नै नभए हुँदैन रचना, आमा बिना के छ र ? !

    आमाकै प्रिय कोखबा जगमा, जन्मे स्वयम् श्वर !!

     

    आफ्नो जीन मृत्युको पनि कठै, र्वाह छोडीकन !

    सक्छिन् यत्न गरेर भर्न जननी निर्जीवमा जीवन ।

    आफू जोखिममा परेर अरूको उद्दार को गर्छ र ?

    आमा कर्मठ स्वार्थहीन जगकै श्रष्टा र संरक्षक ।।

     

    बाँड्छिन् सन्ततिमा बराबर गरी माया र श्रद्दायिनी !

    छातीमा छहरा सुधारसभरी ञ्चार गर्छिन् यिनी !!

    जस्तै दुष्ट कपूतको पनि यिनी, गर्छिन् भलो उत्तिकै !

    चाहे पुत्रकुपुत्र होस् जगतमा, हुन्नन् कुमाता कतै !!

     

    आमा छन् घरमा भनि घर भयो, सम्पन्न सुन्दर !

    आमा कै मृदुमोहमा रहरिलो , स्वर्गीय कहाँ छ र ?

    आमाको महिमा नभै त कविले रोएर भन्दैनथे

    आमा बालककी नमार भगवान् संसार तर्ने भए ।।

     

    आमा हुन् ममतामयी सहृदयीवात्सल्यकी निर्झरी !

    लाखौं यत्न गरुन् तथापी अरु केई, लाग्दैन आमा सरि !!

    हुन्छन् शब्द अनेक जगतमा, प्यारा र राम्रा तर !

    यौटै शब्द छ शब्दकोश भरिकै, आमा आहा सुन्दर ..!!


     कवि जीवनहरि शर्मा 

    आमा हुन् पृथिवी धरा र जननी यो विश्वकी शारदा

    प्राणी सन्तति हुन् सबै जगतका वात्सल्य मौलाउँदा

    आमा हुन् धरती र गाउँ घरकी बस्ती  अध्यारो हुँदा

    न्यानो हुन्छ असाध्य मातृ ममता बाबू भनी भन्दिँदा।।

     

    आमा काख समान हो धरणीमा पल्टेर गिज्याउँदा

    जिब्रो  स्वाद  चपाउने  वदनका ती दन्त  देखाउँदा

    आमा हुन्न भने रहन्छ र कहाँ यो सृष्टिको  काइदा

    खुट्टा टेक्नु स्वयम् नटेक सबका भन्ने सुझावै दिँदा।।

     

    आमाको स्वर भावना हृदयको बोली र भाषा कला

    आमाका करले  सिकाउछ सधैँ  सत्कर्मका  पाइला

    आँखा ज्योति समान हुन् सुपथमा यो विश्वमा आउँदा

    के बज्लान् मन मन्दिरै र घरमा कारुण्य सिद्ध्याउँदा।।

     

    आमाका न विकल्प छन् जगतमा त्यो सत्य तेर्स्याउँदा

    प्यारो हुन्छ  असाध्य मातृ  ममता सामिप्य  मै आउँदा

    आमाको   अनुवादका  पृय  कथा  लेखेर  यो  गाउँदा

    सुन्नेमा अझ भक्ति भक्त महिमा सङ्गीत रन्काउँदा।।

     

    आमाका पृय बात अर्ति उपमा हुन् सत्य पत्याउँदा

    इच्छा मात्र थिएन सन्तति  सुधा देखेर अर्थ्याउँदा

    आमा  धीर भएर   दुःख पिरमा  सामर्थ्य  देखाउँदा

    आफ्नो सन्तति नीद भित्र छ भने सम्झेर ब्यूझाउँदा।।

     

    आमाको व्यवहार काम शिरमा राखेर  हिँड्ने  सदा

    आशीर्वाद लिएर हिँड्दछ भने त्यो चन्द्रमा उक्लँदा

    सारै सङ्कट  भो भने  मनुजले  ऐया भनी सम्झँदा

    प्यारो काख समात डाक घरमा आमा सबैका छँदा।।


    युगकवि : सिद्दिचरण  श्रेष्ठ

     

    आमा ! तिमी जन्म दिने मलाई

    आमा ! तिमी प्राण दिने मलाई

    आमा ! तिमी बोट, म फूल त्यस्को

    हो दान तिम्रै जति जे छ मेरो ।

     

    आमा छ तिम्रो महिमा अपार

    सिद्धिन्न गाए पनि बारबार

    हर्दम बहाईकन प्रेमधारा

    दिन्छ्यौ मलाई कतिको सहारा ।

     

    असङ्ख्य तिम्रो गुणको निमित्त

    केही कुरा छैन दिने मबाट

    संसार यो जति सजाउने छु

    सपूत तिम्रो कहलाउनेछु ।

     

    बिग्रिरहेको म बनाई दिन्छु

    सारा रुनेलाई हँसाइ दिन्छु

    ज्ञानी भई नाम कमाई उच्च

    बन्नेछु तिम्रो म सुयोग्य पुत्र ।


    कवि- कृष्णप्रसाद भट्टराई

    धर्तीमै छ सबै चिज खोजे मिल्छ घरीघरी

    तर जन्मदिने "आमा" पाइँदैन कसैगरी ।


    झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्

    भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् ।


    जिन्दगी बन्छ आमाले खाएको गाँसगाँसमा

    सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा ।


    कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन्

    तातेताते भनी मीठो तोते बोली सिकाउँछिन् ।


    राखेर काखमा नानी कहिले गीत गाउँछिन्

    बालो सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन् ।


    नानी उठ्छ भनी राति अल्पअल्प निदाउँने

    नानी रुन्छ भनी चाँडै अन्तबाट बिदा हुने ।


    नानीकै साथमा खेल्छिन् काखकाखै नचाउँछिन्

    आमाले नै विधाताको सृष्टिलाई बचाउँछिन् ।


    को खा को खाभनी खाना नानीलाई खुवाउँछिन्

    बगाई दूधको धारा शिशुलाई नुहाउँछिन् ।


    मातृवात्सल्य रित्तिन्न जस्तै दुःख भए पनि

    बचरा गुँड छोडेर टाढाटाढा गए पनि ।


    आमाको रूप बिग्रन्छ सन्तान जन्मिएपछि

    सन्तान पर भै जान्छन् डोलीमा अन्मिएपछि ।


    तैपनि हुन्छ यो सारा आमाका निम्ति गौरव

    आमा निःस्वार्थ देवी हुन् कसरी नभनूँ अब !


    जिन्दगानी रहेसम्म आँखाले देख्न पाउलान्

    आफ्नो शक्ति भए मान्छे सेवामा जुट्न आउलान् ।


    धर्तीमै छ सबै चीज खोजे मिल्छ घरीघरी

    तर जन्म दिने आमा पाइँदैन कसै गरी !!!!!


    यो पनि पढ्नुहोस् 

    थप कविताहरू पनि थपिदै जानेछन् । कृपया तपाई यो पानामा आईराख्नुस् ।


    Wednesday, April 10, 2024

    ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन




    ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन 

    एउटा पाना सकिन्छ

    अर्को पाना पल्टाउँछु

    पल्टाउँदा पल्टाउँदा धेरै पाना पल्टिसके

    पात्रामाथि पात्रा खप्टिसके

    पात्राका पाना मात्र पल्टेपछि

    पात्रामाथि पात्रा खप्टिएपछि

    शान्तिका पाना नपल्टेपछि

    ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन ।। १


    परिवर्तन हुने आशामा

    प्रत्येक महिना पल्टाउँछु

    पल्टाउँदा पल्टाउँदा धेरै महिना पल्टिसके

    महिना माथि महिना खप्टिसके

    महिनामाथि महिना खप्टिए पनि

    वर्षमाथि वर्ष थुप्रिए पनि

    तर कुनै परिवर्तन नआएपछि

    ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन ।। २


    पहिले ज्योतिष पात्रो पल्टाउँथे

    अहिले पात्रै पात्रो पल्टाउँछौं

    कतै भित्तेपात्रो त कतै गोजी पात्रो

    जति महिना पल्टेपनि

    पात्रै पात्रा खप्टेपनि

    शान्तिका पाना नपल्टेपछि

    देशमा शान्ति नआए पछि

    ए ! पात्राका पाना अब म तिमीलाई पल्टाउँदिन ।। ३


    Also See This Poem in Prem Prasad Paudel's Blog 


    Thursday, August 17, 2023

    Monday, August 14, 2023

    कविता : देश आफ्नो, सञ्चालन अर्कैको


    @

    शिबप्रसाद लामिछाने



    धेरै दिन बितिसकेछ

    मैले त बिर्सिसकेछु ।

    भुसुक्कै बिर्सिसकेछु ।।

    मेरो आफ्नै

    जुन् सबैभन्दा नजिक छ

    त्यसमा म रमाईरहेछु ।

    तर पनि मलाइ थाहा छ

    त्यो मेरो हैन

    कुनै पराई हो

    म किन रमाईरहेछु ?

     

    प्रश्न गर्छु आफैंसँग

    अनि, पुनः कल्पना गर्छु

    जुन् मेरो सबैभन्दा नजिक छ

    ऊ मेरो आफ्नै हो भन्ने

    मेरा रहर, सपना प्रमाणित गर्छन्

    अनि मेरो मुटु

    तर, मष्तिस्क सामुन्ने फर्किरहेछ

    मबाट टाढा तर्किरहेछ

    वास्तविकता र सपना नियालिरहेछ

    र सुन्य फूलबारीमा टोलाईरहेछ

    उक्त सुन्यताको दोबाटोमा

    हाम्रो सहयोग मागिरहेछ ।।

    -गोसाइँपुञ्ज, पहिलो सँगालो- २०६५ बाट   

    Sunday, August 6, 2023

    डा. सत्यराज थपलियाको आँखामा रसुवा


    रसुवा 

    डा. सत्यराज थपलिया
    थानसिङ, नुवाकोट 

    हाम्रो राम्रो रसुवाको माथि लेकतिर

    सुन, सेता हिमाल छन् तल तारेभिर ।

    सिरिरिरी स्याँठ चल्छ, हुन्छ ज्यादै जाडो

    पैदल नै हिँड्नुपर्छ, उकालो र ठाडो ।।

     

    हेमन्तमा घाम लागे पनि हुन्न तातो

    वसन्तमा लालीगुँरास फुल्छ भई रातो ।

    कोइरा मूला, चोतो, किम्बु, काफल करू कतै

    खुर्पानी र ओखर, स्याउ फल्छन् कताकतै ।।

     

    भेडी, चौंरी चराउन जाँदा जीउभरि

    जुका लाग्छन्, टिपी फाल्नुपर्छ घरीघरी ।

    बेथो, मार्सी, चिनु, गहुँ, गुँरास र आलु

    मकै, कोदो खान्छन् राती आई दुम्सी, भालु ।।

     

    पाउमा छन् रामचन्द्र, शीरमा गोसाइँकुण्ड

    बीचमा बसी कालिकाले मार्छिन् चण्डमुण्ड ।

    पहेँलो र रातो, सेतो, नीलो थरीथरी

    रङ्गीचङ्गी फूल फूल्छन् वन पाखै भरी ।।

     

    मगमग बास्ना चल्छ बुकी, सुनाखरी

    कालिज र तित्रासँगै डुल्छन् डाँफेचरी ।

    मुजुरको राम्रो नाँच, कोइलीको गीत

    कस्तुरीको दौडादौड, चखेवाको प्रीत ।।

     

    जता हेर्‍यो उतैतिर हेरूँहेरूँ लाग्छ

    प्रकृतिको सौन्दर्यले भोक, तिर्खा भाग्छ ।

    भन्छन् धेरै भट्याएर मात्र के हुन्छ र ?

    सुन्नुभन्दा देख्नै राम्रो, आऊ आफैं हेर ।।