Find us on Facebook

Responsive Advertisement
यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

Pages

Showing posts with label Important Places. Show all posts
Showing posts with label Important Places. Show all posts

गोसाइँकुण्ड तथा वरपर रहेका कुण्डहरूको संक्षिप्त जानकारी

Saturday, August 10, 2024















एक्‌सय आठ् जम्न पुगे कुण्ड कतिकति
सँगसँगै जम्न पुगे भैरब् र सर्‌स्वती ।
त्रिशूली बनी बगिन् बढाउँदै शान       
                   त्यै कुण्डमा पसी शिब भए बिराज्‌मान ।।

 

    गोसाइँकुण्ड तथा वरपरका कुण्डहरूको उत्पत्तिको बारेमा

     

    सत्ययुगमा देवता र दानव मिली गरेको समुन्द्र मथनबाट निस्केको हलाहल नामक कालकुट विष संसारको रक्षार्थ भगवान शिवले निल्दा घाँटीमा अड्कन गई डाहा हुँदा सो डाहाबाट मुक्ति पाउन भगवान् शिवजी हिमवत् खण्डमा जहाँ अहिले प्रख्यात गोसाइँकुण्ड रहेको छ, यही स्थानमा आउनुभई त्रिशूलले खोपेर कुण्ड उत्पत्ति गर्नुभएको भन्ने धार्मिक कथन  रहेको छ । भगवान् शिवजीको कण्ठमा अड्केको विषले डाहा भई उनको कण्ठ/घाँटी नीलो भएको कारण उनलाई नीलकण्ठ पनि भनिएको हो । नीलो कण्ठ भएका शिवजीले उत्पत्ति गर्नुभएको कारण गोसाइँकुण्डलाई नीलकण्ठ दह पनि भनिन्छ । जुन् कुण्डलाई शिवकुण्ड भनेर पनि चिनिन्छ ।

     

    त्रिशूलले खोपेर निस्केको तीनधारा जसलाई त्रिशूलधाराका नामले चिनिन्छ, सोही त्रिशूलधारा जम्न गई विशाल पोखरी बन्यो र त्यही कुण्डको नाम गोसाइँकुण्ड हो । गोसाइँकुण्ड उत्पत्ति सम्बन्धि केही रोचक तथा लोक भजन यस्तो रहेको छ ।

     

    त्रिशूलधाराको बारेमा थपजान्नुहोस्

     

    गोसाइँकुण्ड उत्पत्ति सम्बन्धि केही रोचक कविता तथा लोक भजनहरू

     

    (गोसाइँकुण्ड जाउँला, डुबुल्की नुहाउँला) राम.. हे ! नील्कण्ठको दर्शन पाई, हरि नील्कण्ठको र्शन पाई, हो (हर गंगे गोसाइँकुण्ड नुहाउन जाउँ) हरेराम ..

     

    • (रसुवा जिल्लाको छत्रनाँचको नालीबेलीमा समावेश भएको बालुन)

     

     

    गौरीका पसिना बगेर अघि नै जो धर्मधारा बन्यो ।

    त्यो सम्झेर झलक्क भित्र मनले ध्यानादि क्यै गर्नु भो ।।

    बढ्दै गो जब त्यो प्रभाव विषको पर्दै गयो तुल्बुली ।

    घोचे तिर्सुलले फुट्यो जल अहो ! नीलाद्रिमैँ भुल्भुली ।।५२।।

     

    धारा तीन त्रिशूलको जब बन्यो ठन्डा त्यही निर्मल ।

    पानी जम्न गई बडो दह बन्यो नीलाद्रिमा सुन्दर ।।

    खाल्टा आठ तथा अगाध गहिरो कल्लोलले शोभित ।

    देखी दिव्य विशाल कुण्ड शिवजी ज्यादै भए मोहित ।।५३।।

     

    बाधा त्यो सब कालकूट विषको संहारका खातिर ।

    आफैं गै सय दिव्य वर्ष सुकला भो कुण्डमा शङ्कर ।।

    नामैँ भो पछि नीलकण्ठ दह, त्यो गोसाइँथान नामले ।

    जो प्रख्यात छँदैछ आजतक नै देखिन्छ आफैं गए ।५४।।

     


    पहरामा जब खोपे श्रीशिवले तिर्शूल

    तीनैधारा निस्किएर गर्न थाले भुल्‌भुल् ।

    प्रख्यात् भयो नाम रह्‌यो भनी त्रिशूल्‌धारा

    भक्तिभाव्‌ले दर्शन् गर्न जान्छन् भक्त सारा ।।

     

    तिर्शुल्‌धारा झर्न गयो जम्न गयो पानी

    दिब्यदह नाम रह्‌यो गोसाइँकुण्ड भनी ।

    पिए पानी घटघटी शान्त पार्न डाहा

    डाहा शान्त भई शिब भन्नलागे  आहा !!

     

    एक्‌सय आठ् जम्न पुगे कुण्ड कतिकति

    सँगसँगै जम्न पुगे भैरब् र सर्‌स्वती ।

    त्रिशूली बनी बगिन् बढाउँदै शान

    त्यै कुण्डमा पसी शिब भए बिराज्‌मान ।।

     

    स्नान, दान, ध्यान, जप, श्रद्दादि र तर्पण्

    आफू मोक्ष भई पुर्खाहरू पनि तर्छन् ।

    यस्तो विश्वास गरीकन पुण्यादि कमाउन

    ब्रम्हाण्डकै सारा जान्छन् थाल्नेछन् रमाउन ।।

     

    • (शिवगाथा – प्रेमप्रसाद पौडेल)

     

    गोसाइँकुण्ड, भैरव्‌कुण्ड, कुण्ड सरस्वती

    दुधकुण्ड, जागेश्वर कुण्ड ती पार्वती ।

    नउकुण्ड, सूर्य, चन्द्र, आमा, अग्नी कुण्ड

    यत्रतत्र धेरै जमे बनाउँदै आनन्द।।

    •  (रसुवागाथा / यही हो हाम्रो रसुवा – प्रेमप्रसाद पौडेल)


    गोसाइँकुण्ड तथा वरपरका कुण्डहरूको बारेमा जानकारी

    कुण्डको नामाकरणका विषयमा धेरै विविधता पाईएको छ । एउटै कुण्डका विविध नामाकरण सुनिदै आएको छ । यहाँ उल्लेख भएका कुण्डहरूको नामावलीमा कुण्डहरू दोहोरिएका हुनसक्छन् । 

    1. गोसाइँकुण्ड
    2.  भैरव कुण्ड
    3. सरस्वती कुण्ड
    4. पार्वतीकुण्ड
    5. जागेश्वर कुण्ड (जेसुर)
    6. दुधकुण्ड (टिमुरे र गोसाइँकुण्ड क्षेत्र दुवै ठाउँमा रहेको )
    7. ब्रम्हाकुण्ड
    8. नागकुण्ड (नाउ/नाग)
    9. नवकुण्ड
    10. लम्बेकुण्ड
    11. राजा कुण्ड
    12. रानीकुण्ड
    13. कामी कुण्ड
    14. कमिनी कुण्ड
    15. छेडा कुण्ड
    16. एक्ले कुण्ड
    17. मोक्ष कुण्ड
    18. सागर कुण्ड
    19. झ्याकुम कुण्ड
    20. सूर्य कुण्ड
    21. आमा कुण्ड
    22. चन्द्र कुण्ड
    23. अग्नी कुण्ड
    24. सृष्टिमाता कुण्ड
    25. गणेश कुण्ड
    26. रक्त कुण्ड
    27. नोजे कुण्ड
    28. लोङजे कुण्ड
    29. रामलक्ष्मण कुण्ड
    30. रामकुण्ड
    31. लक्ष्मण कुण्ड
    32. सीता कुण्ड
    33. दामोदर कुण्ड
    34. भरत कुण्ड
    35. पीपकुण्ड
    36. कुमार कुण्ड
    37. जनकुण्ड
    38. बर्दकुण्ड
    39. महालक्ष्मी कुण्ड
    40. महासरस्वतीकुण्ड
    41. महाकालीकुण्ड
    42. धर्मकुण्ड
    43. फलामकुण्ड
    44. कर्णकुण्ड
    45. शेषकुण्ड
    46. अद्भूत कुण्ड
    47. वेदकुण्ड
    48. बैष्णवायकुण्ड
    49. विष्णुकुण्ड
    50. व्यासकुण्ड
    51. गौरीकुण्ड
    52. उमाकुण्ड
    53. रमाकुण्ड
    54. दीपकुण्ड
    55. ज्वाला कुण्ड
    56. बतास कुण्ड
    57. रिभर कुण्ड
    58. ग्रुबाकुण्ड
    59. हिउँकुण्ड (आइसलेक, क्याञ्जेन)
    60. वाइवा कुण्ड
    61. तेम कुण्ड
    62. दि कुण्ड
    63. चुल्हो कुण्ड
    64. शीर कुण्ड
    65. अमर कुण्ड
    66. छोनाक कुण्ड
    67. डुल्बु कुण्ड
    68. गोपो कुण्ड 
    69. गोसाइँकुण्ड बन्नुअघिको पहिलो कुण्ड : ग्यो नेबा
    70. गोसाइँकुण्ड बन्नुअघिको दोस्रो कुण्ड : सपिङ ग्यो
    71. गोसाइँकुण्ड बन्नुअघिको तेस्रो कुण्ड : नाम्सुङ ग्यो




    प्रवर्दनको पर्खाईमा कल्लेरीका भूमे

    Sunday, August 4, 2024

     परापूर्व कालमा गुरूङ पुर्खाले पत्ता लगाएका र पूजाआजा चलाउँदै आएका भूमेस्थान रसुवा जिल्ला उत्तरगया गाउँपालिका, वडा नं ३, ठूलोगाउँमा अवस्थित छ ।

    कल्लेरी (ठूलोगाउँ) का भूमे
    तस्वीर : गौेरव सापकोटा

      कल्लेरीका भूमेको परिचय

      परापूर्व कालमा गुरूङ पुर्खाले पत्ता लगाएका र पूजाआजा चलाउँदै आएका भूमेस्थान रसुवा जिल्ला उत्तरगया गाउँपालिका, वडा नं ३, ठूलोगाउँमा अवस्थित छ ।

      किंवदन्ती अनुसार कल्लेरीका भूमे हाल जुन् ठाउँमा छ, त्यसको आधा किमी तल्लो क्षेत्रमा ठूलो तलाउमा रहेको थियो छ । जुन् अहिले  तलाउ लोप भई खेतीयोग्य जमिनको रूपमा परिणत भएको छ । प्राचीन भनाई अनुसार एक महिलाले स्नान गरी कपडासमेत् धोएको कारण भूमेदेवी रिसाएर तलाउ लोप भएको भनिएको छ ।

      रिसाएका भूमेलाई बौसाउन देवीसँगै पूजाआजा गर्न थालिएको भन्ने भनाई रहेको छ । जुन् देवीलाई कल्लेरीका देवी भनिन्छ । रसुवा नुवाकोटका स्थानीयहरू धुपधुँवार गर्दा कल्लेरीका भूमे र देवीलाई पुकार्ने गर्दछन् । भूमे भने अगाडिदेखि मानिँदै आएकोमा यहाँ रहेको  देवी भने परापूर्व कालमा एक महिलाले बारी खन्दा पत्ता लागेको विषयमा सुँनिदै आएको छ । कोदालाले खन्दा अलिकति चोईटिएको र सो भागबाट रगत आएका कारण शक्ति मानी देवीको नामले पुकारिन थालेको हो । जुन् चोइटिएको भाग हाल पनि देख्न सकिन्छ । 

      भूमेस्थानमा पाठी र देवीस्थानमा बोको बली चढाउने परम्परा रहेको यस स्थानमा वर्षैभरि भक्तजनहरू दर्शन गर्न आउने गरेका छन् ।

      एकपटकको दर्शनमा एक वर माग्ने परम्परा रहेको यस मन्दिरमा अहिले पनि विशेष गरी वैदेशिक यात्राको कामना गरिन्छ ।

      विशेष गरी ठूली एकादशी, माघेसंक्रान्तिमा यहाँ विशेष मेला लाग्ने गर्दछ । भौगोलिक दृष्टिकोणले विषम स्थानमा रहेको यस धार्मिक स्थललाई प्रचारप्रसार र संरक्षणका कार्यहरू गर्न सके आन्तरिक पर्यटन विकासका माध्यमबाट आर्थिक विकास गर्न सकिने छ ।

      -----(स्थानीय टिकादत्त पौडेलको कुराकानीमा आधारित )

      रसुवा जिल्लाको पश्चिम दिशातर्फ कल्लेरी वा ठूलोगाउँका भूमेदेवी र पूर्वतर्फ निर्कुभूमे रहेका छन् । 

       कल्लेरीका भूमे र वरपरका आकर्षण र महत्वहरू

      • आन्तरिक पर्यटकको रोजाईको क्षेत्र
      • छाँगा, झरनाहरूको अवलोकन,
      • स्थानीय गुरूङ संस्कृति अध्ययनको क्षेत्र
      • चराचुरूङ्गी तथा बासस्थान अवलोकन

      कसरी पुग्ने कल्लेरीका भूमे 

      पासाङल्हामु राजमार्गको बेत्रावती (रसुवा-नुवाकोटको सिमाना) बाट पश्चिम - उत्तरतिर अवस्थित पैरेबेंसी/शान्तिबजारबाट यस स्थानको लागि यात्रा तय गर्न सकिन्छ । मनोरम झरना 'भाँगे झरना' को अवलोकन गर्दै यस स्थानमा पुग्न सकिन्छ । 

       

      कल्लेरीका भूमेसँग सम्बन्धित भिडियो तथा थप सामग्रीहरू


      गोसाइँकुण्ड बन्नुअघिको पहिलो कुण्ड : ग्यो नेबा

      Sunday, May 12, 2024

      गोसाइँकुण्ड बन्नुअघिको पहिलो कुण्ड : ग्यो नेबा


      यो कुण्ड अहिले नभएपनि ऐतिहाँसिक रूपमा थियो भन्ने जानकारी वा सूचना यस वरपर राख्न सके यहाँको महत्व अझ दर्शन गई आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्नेमा विश्वास गर्न सकिन्छ ।
         
      रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ ठूलोभार्खुमा परापूर्व कालमा गोसाइँकुण्ड बन्नु अघि उडेर आई अवतरण भएको भनिएको कुण्ड हो 'ग्यो नेबा' । कतैबाट उडेर आई अवतरण भएको हुनाले यस कुण्डको स्थानीय नामाकरण 'ग्यो नेबा' भनिएको हो । महादेव र उनका दाजु छोनाले उक्त कुण्ड निर्माण गरेका हुन् पनि भनिएको छ ।

      नेपाली नामाकरण नभएको ठूलोभार्खुको खोलाको किनारमा रहेको यो कुण्ड धेरै वर्ष अघि आएको बाढीले बगाएको भन्ने विश्वास छ । बाढीका कारण कुण्ड लोप भएपछि वा हराएपछि सो कुण्ड वा स्थानलाई 'ग्यो नैपा' वा कुण्ड हरायो/कुहियो भनिएको भनेर 'जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृति नामक पुस्तकमा फुर्पा तामाङले उल्लेख गरेका छन् ।

      यो कुण्ड अहिले नभएपनि ऐतिहाँसिक रूपमा थियो भन्ने जानकारी वा सूचना यस वरपर राख्न सके यहाँको महत्व अझ दर्शन गई आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्नेमा विश्वास गर्न सकिन्छ ।

        

      स्वर्गको एक अंश : नागथली

      Saturday, May 11, 2024

      स्वर्गको एक अंश : नागथली


      यहाँबाट देखिने गणेश हिमाल, पाल्दोरपिक, साञ्जेन, लाङटाङ लिरूङ, गोसाइँकुण्ड क्षेत्रका हिमशृङ्खलालगायत तिब्बतका गगनचुम्बी हिमाल तथा वस्तीका मनोरम दृश्यले जो कोहीलाई पनि मोहित बनाउँदछ ।

      पर्यटकीय नगरी : नागथली


        नागथलीको परिचय

        रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, वडा नं १ मा पर्ने नागथली आन्तरिक तथा बाह्य पर्यटकको अधिकतम रोजाईमा पर्ने गन्तव्य हो । स्थानीयहरू यस स्थानलाई 'नगथली' भन्दछन् । तीन हजार १ सय ६५ मीटर उचाईमा अवस्थित नागथलीलाई स्वर्गको टुक्रा मानिन्छ ।

        गुम्बाको नजिकै नागको थान रहेको कारण यस स्थानको नामाकरण 'नागथली' भएको हो । 

        यहाँबाट देखिने गणेश हिमाल, पाल्दोरपिक, साञ्जेन, लाङटाङ लिरूङ, गोसाइँकुण्ड क्षेत्रका हिमशृङ्खलालगायत तिब्बतका गगनचुम्बी हिमाल तथा वस्तीका मनोरम दृश्यले जो कोहीलाई पनि मोहित बनाउँदछ ।

        थुमन गाउँबाट चार घण्टाको ठाडो उकालो चढेपछि पुगिने यस स्थानमा रहेको नागथली गुम्बामा वर्षेनी पूजाआजा गर्ने गर्दछन् । चन्द पात्रो अनुसार बैशाख र असोज महिनाको पूर्णिमाका दिन यहाँ मेलासहित गुम्बामा पूजापाठ हुने गर्दछ । गुम्बाभित्र भगवान बुद्द, चेंरेसी र गुटासिङ्तोङको मूर्ति रहेको छ । टाँगिएका फरफराई रहेका लुङ्तरसहितको दृश्यले अझै मनमोहक बनाउँदछ । 

        जनविश्वास अनुसार उहिले गुरू रिम्बोर्छे यस क्षेत्रमा तपस्या गर्न आएका र आफैंले गुम्बा निर्माण गरेका थिए । उक्त गुम्बा नागथली गुम्बादेखि उत्तर पश्चिमको कुनामा छ । यस वरपर गुरू रिम्बोर्छेको पैतालाको डोब, पापधर्म छुट्याउने सुरूङ, खण्डोमो क्षाम्सा अर्थात् देवी नाँच्ने थान, ढुङगे गुफाहरू, गुरू रिम्बोर्छेले मन्त्र गरी निकालेको कहिल्यै नसुक्ने तर सानो पानीको मुहान, जसलाई पबित्र जलको रूपमा प्रयोग गरिन्छ, याक/चौंरी, भेडा चरन र खर्क, विभिन्न किसिमका फूल, लालीगुँरास आदिका बृक्षहरूको दृश्यहरू यहाँका महत्वपूर्ण आकर्षणहरू हुन् ।

        नागथलीबाट गणेश हिमालको फेदि करीब १ दिनको पैदलयात्रामा अवस्थित छ । यहाँबाट करीब २ घण्टा पैदलयात्रा गरी मनोरम दृश्यावलोकनको थलो तरूचे पुग्न सकिन्छ । जहाँबाट चीनतर्फका ठोङ्सा, नेस्यारगाउँ, च्याङगाउँ वरपरका दृश्यहरू देख्न सकिन्छ ।

        नागथली वरपरका आकर्षणहरू  

        -      प्रलयका उथुलपुथुलले ठडिएका गगनचुम्बी हिमश्रृङ्खला, ग्ल्यासियर आदिको दृश्यावलोकन

        -      चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थल

        -      कतै झुरूप्प त कतै अलि बाक्लो वस्ती,

        -      पदमार्गका वरिपरि रहेका माने, छुर्तेन, गोम्बा, लालीगुँरास, मार्गको नजिकै रहेको नदीको सुस्याहट, चराचुरूङ्गीको गायन, हिमचितुवा, घोरल, थारल, बँदेल, भालु, लङ्गुर बाँदर यहाँका मुख्य आकर्षण हुन् ।

        -      यस वरपर गुरू रिम्बोर्छेको पैतालाको डोब, पापधर्म छुट्याउने सुरूङ, खण्डोमो क्षाम्सा अर्थात् देवी नाँच्ने थान, ढुङगे गुफाहरू, गुरू रिम्बोर्छेले मन्त्र गरी निकालेको कहिल्यै नसुक्ने तर सानो पानीको मुहान, जसलाई पबित्र जलको रूपमा प्रयोग गरिन्छ, याक/चौंरी, भेडा चरन र खर्क, विभिन्न किसिमका फूल, लालीगुँरास आदिका बृक्षहरूको दृश्यहरू यहाँका महत्वपूर्ण आकर्षणहरू हुन् ।

        -      चौंरी र भेडापालनको मुख्य क्षेत्र

        -      तिब्बतीयन / शेर्पा संस्कृति, भेषभूषा र रहनसहन पनि यहाँको आकर्षण हो ।

        -      होटल, लज तथा रेष्टुरेन्टको व्यवस्था

         

         कसरी पुग्ने पर्यटकीय नगरी : नागथली ?

        -          पासाङल्हामु राजमार्ग स्याफ्रुबेंसी-टिमुरे खण्डमा पर्ने रोङ्गाबाट मेन्दो, थुमन हुँदै

        -          पासाङल्हामु राजमार्ग स्याफ्रुबेंसीबाट गोल्जुङ/गतलाङ, चिलिमे (तातोपानी) हुँदै

        अर्थात् तामाङ सम्पदा मार्गको प्रयोग गरेर

        पर्यटकीय नगरी : नागथलीसँग सम्बन्धित सामग्रीहरू

        दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी : एक परिचय

        Tuesday, May 7, 2024

        दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी : एक परिचय
        दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी 

        रसुवा जिल्लाको सदरमुकाम धुन्चेको पुरानो वा स्थानीय नामाकरण दुङ्‌ल्हाङ हो । दुङ्‌ल्हाङको अर्थ शंख ठड्याउने भन्ने हुन्छ ।


          दुङ्‌ल्हाङ (शंख ठड्याउने) वा धुन्चे कसरी भयो ?

          किंबदन्ती अनुसार उहिले बारपाकमा बौद्द धर्मका शक्तिशाली तान्त्रिक एकजना घले राजा (ग्याल्बो) थिए ।उनले आफ्ना केही छोराहरूलाई उपयुक्त ठाउँ खोजेर पठाउन चाहे । तीमध्ये एक छोरालाई बोलाएर भनेछन् 'म मन्त्र गरेर यो शंखलाई यहाँबाट फाल्छु, तिमी त्यसलाई खोज्दै जाउ र जहाँ भेटिन्छ त्यही राजा भएर राज्य चलाउनु ।'

          ती राजाले शंखलाई मन्त्र गरी उडाए । शंख आकाशमा उड्यो, उनका छोरा ठिसुम देप्के घले शंख उडेको तिर खोज्दै गए । गोरखाको बारपाकबाट धादिङको तिप्लिङ हुँदै धुन्चे पछाडिको ब्राबल आईपुगे । भीरको टुप्पोमा आकाशतिर ठडिएर बसेको अवस्थामा शंख फेला पर्‍यो । ढुङ्‌गेभीरको टुप्पोमा शंख फेला परेको हुनाले भीरको नामाकरण 'दुङ्‌ल्हामो' भयो र यस वरपरको क्षेत्रको 'दुङ्‌ल्हामो' बाट 'दुङ्‌लाङ' अपभ्रम्श भई 'दुङ्‌जे वा धुन्चे' रहन गएको हो ।

          दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी : एक परिचय
          धुन्चेको मध्य बजारमा रहेको शंखपार्क


          ती ठिसुम देप्के घलेले आफूलाई राजा घोषित गरी 'गोङ्‌गाङ' भन्ने ठाउँमा राजा भएर राज्य चलाउन थाले । उनले थोक्रा बंशका तामाङलाई काजी पद दिए ।

          दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी वरपरका मुख्य आकर्षणहरू

          • पासाङल्हामु राजमार्गमा अवस्थित
          • तामाङ संस्कृति, परम्परा र भेषभूषा
          • टुल्कु क्षेलिङ गुम्बा
          • तामाङ संग्रहालय
          • ह्युल्साङ, ल्होसार, बुद्दजयन्ति जस्ता पर्व
          • मानी डुप, मानी ङ्आ, मानीकोर, काङ्नी मानी, ङ्यारूङ टुल्कु क्षोर्तेन, सेरा खनेन मानी जस्ता आकर्षकीय तथा ऐतिहाँसिक सांस्कृतिक स्थलहरूको अवलोकन  
          • पर्यटकीय गन्तव्यको बिन्दु
          • लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकन
          • रमणीय प्राकृतिक भ्यूटावरहरू

           

          दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी कसरी पुग्ने ?

          पासाङल्हामु राजमार्गको प्रयोग गरेर, सदरमुकाम धुन्चेबजारको बीच भागमा अवस्थित छ ।

          दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरीसँग सम्बन्धित सामग्रीहरू

           

          स्रोत : जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृतिको महत्व – फूर्पा तामाङ, रसुवाली 

           
          Support : Creating Website | Johny Template | Mas Template
          Copyright © 2011. यही हो हाम्रो रसुवा - All Rights Reserved
          Template Created by Creating Website Inspired by Sportapolis Shape5.com
          Proudly powered by Blogger