ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)
Showing posts with label Gosainkunda News. Show all posts
Showing posts with label Gosainkunda News. Show all posts

Thursday, October 8, 2026

बाढीमा बेपत्ता कर्मचारीका परिवारद्वारा १५ दिने अल्टीमेटम सहित मागपत्र -पेश

 


रसुवा, गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत आयोजनामा ड्युटीका क्रममा बेपत्ता भएका कर्मचारीका परिवार तथा आफन्तले रसुवागढी जलविद्युत कम्पनी सञ्चालक समिति समक्ष १५ दिने अल्टीमेटम सहित ७ बुँदे माग-पत्र प्रस्तुत गरेका छन् । 

गोसाइँकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा ठूलाे क्षती तथा धेरै प्राविधिक तथा कामदारहरू बेपत्ता भएका छन् । 

बेपत्ता कर्मचारीका आश्रित परिवारले र आफन्तहरूले आज काठमाडौंमा आयोजनाको सञ्चालक समितिलाई उक्त माग-पत्र बुझाएका हुन् । संस्थाको स्थापनाकालदेखि नै निरन्तर कार्यरत कर्मचारीहरू अचानक बेपत्ता हुँदा उनीहरूका परिवार अत्यन्त कष्टकर अवस्थाबाट गुज्रिरहेका छन् साथै, गत वर्षको बाढीबाट पाठ सिकेर अर्ली वार्निङ सिस्टम पूर्वसूचना प्रणाली जडान नगरिनु व्यवस्थापनको स्पष्ट लापरवाही भएको पीडित पक्षको भनाइ रहेको छ । 

माग-पत्रमा बाढीबाट प्रभावित परिवारले सामाजिक सुरक्षा कोषबाट उपलब्ध हुने सम्पूर्ण सुविधा आश्रित परिवारलाई पूर्ण रूपमा उपलब्ध गराउन, तलब तथा अन्य सेवा /सुविधाको निरन्तरता दिन र जीवनयापन सहज बनाउन मासिक निर्वाह भत्ताको व्यवस्था गर्न माग गरेका छन् । साथै, बेपत्ता वा मृत भएका कर्मचारीका परिवारका सदस्यलाई योग्यता अनुसार अनिवार्य रोजगारी दिनुपर्ने र रोजगारी गर्न असमर्थ सदस्यको हकमा एकमुष्ठ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरिएको छ । आमा (बुबा दुवै गुमाएका बेसहारा बालबालिका र परिवारका सक्षम सदस्यलाई प्राथमिकताका साथ रोजगारीमा जोड्नुपर्ने उल्लेख छ ।  

यस अघिको ५ लाख रुपैयाँको दुर्घटना बीमा रकम वृद्धि गर्न तथा त्रिशूली नदी करिडोरमा पुगेको क्षतिको विषयलाई सम्बोधन गर्दै अन्य बाढी प्रभावित आयोजनासरह उचित क्षतिपूर्ति दिन माग गरिएको छ । बालबालिकाको पठनपाठनका लागि सामाजिक सुरक्षा कोषबाट सम्बोधन नभएमा कम्पनीकोतर्फबाट शैक्षिक आर्थिक सहयोग उपलब्ध गराउन, कार्यस्थल वरपर स्मरण पार्क निर्माण गरी प्रत्येक वर्ष वार्षिक श्रद्धाञ्जली सभा आयोजना गर्न तथा परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिन पर्ने साे माग-पत्रमा उल्लेख छ । 

बाढीबाट प्रभावित कर्मचारीका परिवारलाई सहयोग पुर्‍याउन र उनीहरूको मानसिक पुनर्जीवनका लागि मनोसामाजिक परामर्श कार्यक्रम आयोजना गर्न बाढी प्रभावित कर्मचारी परिवार सहायता कोष स्थापना गर्नुपर्ने माग गरिएको छ।

मागपत्र बुझाएको मितिले १५ दिनभित्र जायज मागहरू पूर्ण रूपमा सम्बोधन र कार्यान्वयन गरी पीडित परिवारको घाउमा मल्हम लगाउन आग्रह गरिएको छ। तोकिएको समयसीमाभित्र मागहरूलाई बेवास्ता गरिएमा त्यसबाट सिर्जना हुने सम्पूर्ण परिस्थिति र जिम्मेवारी स्वयम् आयोजनाले लिनुपर्ने कडा चेतावनी समेत माग-पत्रमार्फत दिइएको छ। 

बाढी प्रभावितका बेपत्ताहरूकाे परिवारका तर्फबाट साे माग-पत्र उत्तरगया गाउँपालिका -४ का माधव लामिछानेले वाचन गरी बुझाएका थिए  ।





रसुवाका बाढी प्रभावितको अधिकार संरक्षणमा जुट्नु पर्ने सरोकारवालाकाे भनाइ

 


भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार र राहतसँगै दीर्घकालीन पुनस्र्थापना तथा पुनर्निर्माणका लागि सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ । जिल्ला समन्वय समिति, रसुवा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसीएको आयोजनामा भएको एक छलफलमा सरोकारवाला सो कुरा बताएका हुन् । 

०८३ असोज २१ गते धुन्चेमा आयोजित ‘भोटेकोसी बाढीबाट प्रभावितहरूको उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणको अवस्था’ विषयक छलफलमा सहभागीहरूले यस्तो बताएका हुन् ।

भोटेकोसीहुँदै तथा त्रिशूली नदीमा आएको बाढीनदिमा आएका बाढी पछिको राहत, उद्धारमा सामाजिक संस्थाहरूको महत्वपूर्ण भूमिका खेलेको भन्दै अबको पुनर्निर्माणका लागि छलफल कार्यालयमा सम्पन्न सम्पन्न भयो । छलफलमा सरोकारवालाहले बाढी प्रभावितको अधिकार संरक्षणका जुट्न सबै सरोकारवालाहरूले आग्रह गरेका छन् । 

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले बाढी प्रभावित नागरिकको राहत, उद्धारमा खट्नुहुने सबैलाइ धन्यवाद दिदैं अबको पुनर्निमाणामा सबैले ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले घर, जग्गा तथा परिवार गुमाएका वा बेपत्ता भएका परिवारमा रोजगारी तथा जिविकोपार्जनमा सहयोग गर्नुपर्ने बतउनुभयो । अकस्मात अपेक्षा भन्दा ठूलो बाढी आएकोले देशका बिभिन्न भागका मानिसहरू बेपत्ता भएका र रसुवामा बढी क्षती पुगेको बताउँदै उहाँले यस्ता छलफल तथा समीक्षा गर्दै अघि बढ्न पनि अनुरोध गर्नुभयो । 

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बाढीपछि तत्कालको राहत उद्धारमा खट्ने सबै सरकारी तथा सामाजिक संस्थाहरूलाइ धन्यावदन दिंदै एकद्धार प्रणालीमार्फत काम गर्न पनि अनुरोध गर्नुभयो । 


भौतिक विकास, निजी आवास निर्माण तथा जिवीकोपार्जनका लागि गर्नुपर्ने छ तर नगद बितरण गरेर परनिर्भरता बढ्ने हुनाले कामका लागि नगद कार्यक्रम गर्न अनुरोध गर्दै पुनर्निर्माणका लागि कार्यशाला आवश्यक रहेको बताउनुभयो । 

उहाँले बाढी प्रभावितका लागि न्याय हुने गरी अबको पूनर्निर्माणमा लाग्न पनि सबैलाइ अनुरोध गर्नुभयो । प्रजिअ पाण्डले सरकारले नीति निर्माण र समन्वयको तहमा काम गर्ने सामाजिक संस्थाहरूले काम गर्ने बताउदै समुदायलाइ परनिर्भता तर्फ लैजान नहुने पनि बताउनुभयो । 

गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बाढीले धेरै क्षती पु¥याएको समुदायको मनोवल उठाउन आवश्यक रहेको बताउँदै उपयुक्त पर्याप्त जग्गा अभावका कारण अब स्थायी आवास पुनर्निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले कागज समेत नभएको स्थानीय तहका कार्यालय सञ्चालनमा सामाजिक संस्थाहले मद्दत गरेको प्रति प्रशंषा गर्नुभयो । 

गैर सरकारी संस्था महासंघ रसुवाका कोषाध्यक्ष गायत्री लामिछानेले महिला तथा बालबालिकाको क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहयोग गरेको र आगामी दिनमा पनि बालकालिका र महिला वर्ग जोखिममा पर्न सक्ने कुरालाइ ध्यान दिएर काम गर्न अनुरोध गर्नुभयो । 

छलफललमा भूमिअधिकार मञ्चका भवानी न्यौपाने, एक्सन एडका कमल आचार्य, आत्मनिर्भ केन्द्रका विस्वास नेपाली, एसिया अनलुसका नबराज आचार्य, मानेकोर सोसाइटीका आङछिरिङ तामाङ, ल्याकोषका सुनिल घले, डिप्रोक्स नेपालका युएनडिपीका मनोज आचार्य, जिल्ला समन्वय समितिका समन्वय अधिकारी राजेन्द्र आचार्य, सदस्य खुवाप्रसाद पौडेललगायतका सरोकारवालाहरूले बाढी पछि गरेको काम तथा आगामी योजना बारे धारणा राखेका थिए । 


सामाजिक संस्थाहरू, नेपाल रेडक्रस सोसाइटी, मानेकोर सोसाइटी, ल्याकोस, कारितास, एसिया नेपाल, डिप्रोक्स नेपाल, सेभ द चिल्ड्रेन, लुमन्ती, आत्मनिर्भर केन्द्र, वर्ड भिजन नेपाल, फोकस नेपाल, क्रिडाक, रोयम नेपाल, हेल्भिटास, एक्सन एड नेपाल, जेसिवाइसीएन, सिविन, सिएमसी नेपाल, आस्लुन, टिपीओ नेपाल, आस्लुन, पिन, पिएडी नेपाल, ओरेक, भूमिअधिकार मञ्च, सेचन करुण, युनिसेप, सिएसआर, सिएसएन, कोशेली नेपाल विश्व खाद्य संगठन, स्लामिक रिलिफ, विश्वास नेपाल, प्लान इन्टरनेशनल, डिप्रोक्स, सामुदायिक वन उपभोक्ता महासंघ, गैसस महासंघ, मानवअधिकार एलाइन्सलगायतका संस्थाले सहभागी थिए । 


अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधि तथा गैसस महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले बाढी प्रभावितको न्यायका लागि मिलेर काम गर्नका लागि समन्वय तथा सहकार्यका लागि छलफल प्रभावकारी हुने बताउदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालमा मानवअधिकारको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेको बताए । इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अभिलेखीकरण, अनुगमन, पीडितको न्यायमा पहुँच, मानव अधिकार शिक्षा, पैरवी तथा नीतिगत वकालतका साथै विपद् तथा संकटका समयमा प्रभावित नागरिकको मानव अधिकारको अवस्थाको अनुगमन र तथ्य संकलन गर्दै आएको जानकारी दिंदै इन्सेकले विगतमा भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, कोभिड महामारीलगायतका प्राकृतिक तथा मानवीय विपद्का समयमा प्रभावित क्षेत्रको स्थलगत अनुगमन, क्षतिको विवरण संकलन, प्रभावित तथा पीडित परिवारको अवस्थाको अभिलेखीकरण, सरोकारवाला निकायसँग समन्वय तथा प्रभावित समुदायको मानव अधिकार संरक्षणका लागि पैरवी गर्दै आएको बताए । 

इन्सेकले मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा समन्वय गरे समेत काम गरिरहेकाेले सबै क्षेत्रकाे समन्वय आवश्यक रहेको बताउदै इन्सेकका प्रतिनिधि खतिवडाले विपद्का समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूदायको अधिकार र सुरक्षाको अवस्थालाई प्राथमिकताका साथ अनुगमन गर्दै आएको बताए । 



इन्सेकले सूचना तथा समन्वय सम्पर्क कार्यालय, विदुरबाट २०८३ भदौ १० गतेको भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित नागरिकको मानव अधिकार अवस्थालाई केन्द्रमा राखेर समन्वय सहकार्य र सूचना संकलन प्रकाशन गरिरहेको काम गरिरहेको बताए । 

सहभागीहरूले सरोकारवालाहरूले सरकारको पुनस्र्थापना तथा पुनर्निर्माणसम्बन्धी नीतिअनुसार आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका छन् । 

बाढीबाट विद्यालयका भवन क्षतिग्रस्त भई प्रयोग गर्न नसकिने केही विद्यालयमा पठनपाठन सुरु नै हुन नसकेको अवस्था रहेको केही विद्यालयमा कक्षा वैकल्पिक भवनमा सञ्चालन गरिएको कार्यक्रममा जानकारी दिइयो । प्रभावित क्षेत्रमा कार्यरत संस्थाहरूले तत्कालीन आवश्यकता पूरा गरिरहेका भए पनि दीर्घकालीन पुनर्निर्माणका ठूला कार्यक्रम भने अझै सञ्चालनमा आउन नसकेको बताएका थिए । 

सहभागीहरूले राहत वितरणसँगै दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने, प्रभावित परिवारको जीविकोपार्जन सुनिश्चित गर्नुपर्ने तथा बाढीबाट क्षतिग्रस्त विद्यालय, खानेपानी, सडक र पुललगायत भाैतिक संरचनाको पुनर्निर्माणलाई तीव्रता दिनुपर्ने बताएका थिए । 

कार्यक्रममा बाढी प्रभावित समुदाय, सरकारी निकाय, अधिकारकर्मी, तथा सामाजिक संघसंस्था र संचारकर्मीहरू गरी ८७ जना सहभागी थिए । 



Saturday, October 3, 2026

सम्झौता भएको एक वर्ष बित्दा पनि रसुवामा खाद्य डिपो सञ्चालनमा आएन

 


रसुवा, खाद्य सुरक्षा नभएको जिल्लाका रुपमा रहेको रसुवामा नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले खाद्यन्न आपूतिका लागि संझौता गरेपनि ढुवानी दिन नसक्दा अझै धुन्चेमा डिपो सञ्चालन हुन सकेन । 

गोसाइकुण्ड गाउँपालिका र नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनीलेबीच १ वर्ष अघि नै आवश्यक खाद्यन्न तथा अत्यावश्यक बस्तु ढुवानी गरी डिपो सञ्चालन गर्ने संझौता गरेपनि सामग्री ढुवानी नहुँदा डिपो सञ्चालन हुन नसकेको हो । स्थानीय उत्पादनले नपुगेर चामल, दाल, गेडागुडी, मैदालगायतका खाद्यबस्तु बाहिरबाट ल्याएर खानुपर्ने जिल्ला हो । बाढीपछि खेतीयोग्य जमिन जहा धान फल्थ्यो बगेकोले झनै खाद्य असुरक्षा बढ्ने देखिएकाे छ । 

बाढी पछि ल्याउन नसकोको ढुवानीको ठेक्का पाएका कम्पनीका प्रमुख कृष्ण बिडारीले भने ‘बाढीको कहरपछि भादादर तेब्बर पर्ने भएकोले ढुवानी हुन सकेन सडक सुचारु भएपछि खाद्यन्न ढुवानी गरिन्छ ।’

कृष्ण बिडारीले गोसाईकुण्ड गाउँपालिकाको लागि खाद्यन्न सप्लाइको लागि नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनीलेसँग संझौता गरेको तर ढुवानी नगरेको गुनासो आएको कम्पनीका सूचना अधिकारीले माधब मिश्रले बताए ।  

जहिले पनि खाद्य असुरक्षा भएको जिल्लाको रुपमा रुपमा रहेको रसुवामा खाद्य गोदाम नभएकोले यो विपत्तीमा नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले ढिपो राखेको भए किनेर नपाउने खान पाउने स्थानीय उपभोक्ताहरु बताउछन् । 

२०७२ काे भूकम्पपछि तत्कालिन जिल्ला कृषि विकास कार्यालय रसुवाको अगुवाइमा विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा संचालित नेपाल खाद्य सुरक्षा अनुगमन प्रणालीले रसुवामा खाद्य असुरक्षा देखाएकाे थियाे । त्यस बेला धान २५२० मे टन, मकै ३४२९ मे टन, काेदाे ९६६ मे टन र आलु २३५२९ मेट्रिक टन उत्पादन देखाएकाे थियाे । जिल्लाकाे उत्पादनले खाने नपुग्ने जिल्ला अहिले झनै खेती याेग्य जमिन बाढीमा बगेकाेले खाद्य असुरक्षा बढेकाे सहजै अनुमान लगाउन सकिन्छ ।  

खाद्यको डिपो भएको भए यहाँ सुपथ मूल्यमा खाद्यन्न पाइन्थ्यो अहिले विपतमा खाद्यन्न अभाव हुने थिएन नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ भने ‘पहिले पनि धुन्चे र बृद्धिमको खाम्जिङमा डिपो थियो अहिले पनि आवश्यक छ, अहिले पनि डिपो खुल्ने चर्चा निकै चलेको थियो किन चर्चामै सिमित भयो ? 

तत्कालीन नेपाल खाद्य संस्थानको दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानी गरी सुपथ मूल्यमा बिक्री गर्नु र गोदाममा खाद्यान्न मौज्दात राखेर बिक्री गर्न २०३१ माघ १७ मा स्थापना भएको सरकारी विवरणमा उल्लेख छ । खाम्जिङमा रहेको डिपो बिसं २०५१ हटेको स्थानीय बताए । 

गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले भने ‘नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनीबीच गाउँपालिकासँग १ वर्ष अघि नै सहुलियतमा दरमा उपभोक्ताले खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु पाउने तथा स्थानीय कृषि उपज खरिद समेत गर्ने गरी संझौता भएपनि हालसम्म डिपो सञ्चालन भएको छैन ।’ 

सबै ब्यवस्थापन कम्पनीले गरेरे खाद्यन्न आपूर्ती गरेर डिपो चलाउने भनेपनि धेरै पहिले सञ्चालनमा आउनु पर्ने अहिले बाढी पछि सम्पर्कमा आएपनि ढुवानीमा समस्या सुनाएको छ अध्यक्ष तामाङले भने ‘यस्तो विपतको समयमा खाद्य डिपो सञ्चालनमा हुनुपर्ने हो, सहज बेलामा त धेरै विकल्प हुनसक्छ ।’ 


रसुवा आएका कृषि तथा खाद्य विज्ञ बद्री ओझा भन्नुभयो ‘धुन्चेमा खाद्यन्न स्टक नदेखिएकोले समस्या धेरै छ । बाहिरबाट आउने मान्छेले किनेर खान नपाउने अवस्था रहेछ ।’ खाद्यको डिपो नभएको जिल्ला रहेछ । डिपो भएको भए चामल किन्न पाउँथे । रसुवाको उत्तरी क्षेत्र र चन्दनबारीमा समेत चामल अभाव भएको उनले बताए । कृषि तथा पशु विकास अनुगमनका क्रममा रहेका ओझाले भने ‘बाढीको कहरपछि रसुवाको उत्तरी गाउँगाउँमा खाद्यान्नको समस्या छ यस्तो अवस्था प्रति सबैले ध्यानदिनुपर्छ ।’


नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनी खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्ने उद्देश्य लिएको छ । किसानको उत्पादन र स्वदेशी उद्योगले प्रोत्साहन पाउने तथा उपभोक्ताले प्रतिस्पर्धी मुल्य एवं गुणस्तरका अत्याबश्यक वस्तु सहज र सुलभ रुपमा प्राप्त गर्न सक्ने गरी बजार निर्माताको भूमिका खेल्ने देशका खाद्य संकटग्रत क्षेत्र र विपन्न जनताको खाद्य सुरक्षाका लागि बितरण प्रणालीलाई सुदृढ गर्दै आवश्यक खाद्यवस्तु सम्बन्धित स्थान/क्षेत्रमा समयमैं ढुवानी गरी बिक्री वितरण वा आपूर्ति गर्ने/गराउने काम कम्पनीले गर्दछ । 


नेपाल सरकारको राष्ट्रिय आपूर्ति तथा बाणिज्य नीति र योजना तर्जुमा, कार्यान्वयन र मूल्याकंनमा र खाद्यलगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य सुची निर्धारणमा सुझाव र सहयोग गर्ने उद्देश्यको कम्पनीले रसुवामा पनि सेवा सुचारु गर्ने भन्दै गतवर्ष संझौता गरेपनि सेवा प्रबाह गर्न सकेन । 


यस सन्दर्भका कम्पनीका नि प्रमुख प्रशासकीय अधिकृत सर्मिला न्यौपानेले भन्नभयो ‘गतवर्ष नै खाद्यन्न सप्लाइ गर्न र डिपो चलाउने स्थानीय सरकारसँग संझौता भएपनि रसुवामा हाम्रो आफ्नै संरचना छैन, त्यसैले स्थानीय सरकारसँग समन्वय र सहकार्यमा काम गर्ने कुरा भएको छ ।’


दुर्गम तथा पछि परेको क्षेत्रमा नाफाभन्दा आपूर्ति, किसानबाट खरिद र विपत तथा सङ्कटका बेला सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने कामलाई कम्पनीले आफ्नो प्राथमिक दायित्वका रूपमा कार्यान्वयन गर्नुपर्ने स्थानीय बताउछन् । 


यसैगरी, रैथाने (स्थानीय) बाली तथा स्थानीय उत्पादन संकलन र बजार लैजान सहज बनउने बजारमा मूल्य स्थिर राख्ने मात्र नभई किसानका उत्पादनको बजार सुनिश्चितताका लागि पनि सघाउ पु¥याउने उद्देश्य नै रहेको छ । 


Tuesday, September 29, 2026

बाढी प्रभावितलाइ गैर-खाद्य सामग्री वितरण

 

रसुवा, गोसाइँकुण्ड गाउँपालिका-५ मा बाढी प्रभावित स्थानीय बासिन्दाहरूका लागि गैर-खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

गोसाइँकुण्ड गाउँपालिकाको कार्यालयको समन्वयमा 'रसुवा भोटेकोसी बाढी प्रतिकार्य कार्यक्रम' अन्तर्गत उक्त राहत सामग्री वितरण गरिएको हो।

प्राकृतिक विपद्को समयमा नागरिकहरूलाई तत्काल राहत र सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा केयर नेपाल (CARE Nepal), लाकाेस (LACCoS) तथा अस्ट्रेलियन एड (Australian Aid) ले आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेका छन्।

उत्तरदायित्व र गुनासो सुनुवाइ संयन्त्र राहत वितरण कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन सहयोगी संस्थाहरूले "हामी सुन्छौँ तपाईंका कुरा, साथै भन्छौँ हाम्रा कुरा" अभियान समेत सञ्चालन गरेका छन्। 

राहत वितरणका क्रममा कुनै पनि गुनासो, सुझाव वा दुर्व्यवहार सम्बन्धी जानकारी भएमा स्थानीय नागरिकले निम्न माध्यमबाट सीधा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ।यस्तै उहाँ हरू एलपी सिलिन्डर १०० पिस,डवल बर्नर स्टाेभ १०० पिस,पाईप १०० पिस, रेगुलेटर १०० पिस, क्लिप २०० सय पिस प्रत्येक सेटकाे लागि ,लाईटर १०० पिस वितरण गरिएकाे छ ।

Monday, September 28, 2026

वन्यजन्तुहरूले होटल तथा घरमा क्षती

 


रसुवा, गोसाइँकुण्ड गाउँपालिका, रसुवाअन्तर्गत वडा नम्बर ३ र वडा नम्बर ४ का लाङटाङ क्षेत्रका लामो होटल, घोडातबेला र रिभरसाइड होटल लगायतका होटल व्यवसायहरू पछिल्लो समय विभिन्न समस्याबाट प्रभावित हुँदै आएका छन्। 

एकातर्फ विपद्को अवस्था छ भने अर्कोतर्फ वन क्षेत्रबाट आउने भालुजस्ता वन्यजन्तुहरूले होटल तथा घरभित्रै पसेर क्षति पुर्‍याउने गरेका छन्। भालुले खानेकुरा तथा सामान नष्ट गर्ने अवस्था बढ्दै गएकोले, स्थानीय बासिन्दा तथा होटल व्यवसायीहरूलाई आफ्नो जनधनको सुरक्षा कसरी गर्ने भन्ने गम्भीर चिन्ता बढेको छ। 

केही दिनदेखि उक्त वडा अन्तर्गत पर्ने लामा होटल, घोडाताबेला, थाङस्याब र रिभरसाइड लगायतका स्थानीयका घर तथा होटलहरूमा भालु पसी उपद्रो मच्चाउने गरेकाे स्थानीयले बताएका छन् । वन क्षेत्रबाट गाउँ तथा होटल परिसरमा प्रवेश गर्ने भालु लगायतका वन्यजन्तुले सीधै घर र होटलभित्रै पसेर ठूलो क्षति पुर्‍याउने गरेकाे गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डुप तामाङले बताए ।

यस्तो अवस्थामा, सम्बन्धित निकायले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक सुरक्षा तथा व्यवस्थापनका उपायहरू तत्काल अवलम्बन गर्नु आवश्यक देखिन्छ।”

Monday, September 21, 2026

गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा २५ विद्यार्थी र ६ शिक्षकरशिक्षिका बेपत्ता

 


रसुवा, लेन्देखोला हुँदै भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पूर्णरूपमा ध्वस्त भएको छ। बाढीमा परी उक्त विद्यालयका २५ विद्यार्थी र ६ जना शिक्षक तथा शिक्षिका बेपत्ता भएका छन्।

विद्यालयमा ३५ विद्यार्थी अध्ययनरत थिए। बाढीपछि १० विद्यार्थी मात्र सम्पर्कमा आएका छन्। बेपत्ता विद्यार्थीमध्ये सबैभन्दा धेरै शिशु कक्षाका १० जना रहेका छन्। ज्यान जोगाएका विद्यार्थीहरू आफ्ना अभिभावकसँगै काठमाडौंस्थित होल्डिङ सेन्टरमा बस्दै आएका छन्।

विद्यालयका प्रधानाध्यापक फुर्पु दोर्जे घलेका अनुसार बाढीले विद्यालयको भवनसहित टिमुरे गाउँ र बजार क्षेत्र नै तहसनहस बनाएको छ। चीन सरकारको सहयोगमा निर्माण गरिएको २८ कोठे सुविधासम्पन्न नयाँ विद्यालय भवनसमेत बाढीले पूर्णरूपमा क्षतिग्रस्त भएपछि विद्यालय सञ्चालन गर्न कठिन भएको छ।

बाढीमा विद्यालयका शिक्षक रामचन्द्र बिक, सन्तोष श्रेष्ठ र हिमानसिं तामाङ तथा शिक्षिका कविता न्यौपाने, कान्छी घले र सोनाम बुरी तामाङ बेपत्ता भएका छन्। “धेरै आफन्त गुमेका छन्। बाँचेकाहरू एक–दुई सेकेन्डले जोगिएका छन्,” प्रधानाध्यापक घलेले भन्नुहुन्छ, “मानिसहरू आफ्नो ठाउँमा फर्कन चाहन्छन्, तर त्यसका लागि सरकारले सुरक्षित वातावरण बनाउनुपर्छ।”

टिमुरेमा विद्यालय मात्र होइन, वडा कार्यालयलगायतका सार्वजनिक तथा निजी संरचनासमेत बाढीले बगाएको छ। सडक र पुलमा क्षति पुगेपछि आवतजावतसमेत प्रभावित भएको छ। २०७८ सालको जनगणनाअनुसार टिमुरेमा १ सय ६३ घरधुरीमा ५ सय ५० जनसंख्या थियो।

प्रधानाध्यापक घलेका अनुसार टिमुरे गाउँका ७७ महिला र ६८ पुरुष गरी १ सय ४५ जना तथा विभिन्न समयमा बसाइँसराइ गरी आएका थप ५८ जनासहित २ सय ३ जना बेपत्ता छन्। यसमा अन्य कामदार तथा बाहिरबाट आएका यात्रुहरूको विवरण समावेश छैन।

जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख दुर्गा सिलवालका अनुसार बाढीबाट प्रभावित जिल्लाका अन्य विद्यालयमा पठनपाठन सुरु भए पनि नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेमा तत्काल पठनपाठन सञ्चालन गर्न सकिने अवस्था छैन। विद्यालयको भवन, कक्षाकोठा र अन्य संरचना पूर्णरूपमा क्षतिग्रस्त भएकाले विद्यार्थीलाई सुरक्षित वातावरणमा पठनपाठन गराउन चुनौती भएको छ।

प्रारम्भिक तथ्यांकअनुसार जिल्लाभर २ सय ८५ विद्यार्थी बेपत्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयका १ सय ५० विद्यार्थी रहेको बताइएको छ। बाढीका कारण जिल्लाका विभिन्न स्थानमा शिक्षक, सरकारी कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयसमेत बेपत्ता भएका छन्।



बाढीका कारण समाजसेवी दावाफिन्जाेकाे जीवनमा ठूलाे बज्रपात

 


रसुवा, लेन्देखाेलाहुँदै भाेटेकाेसी नदिमा भादाै १० गते चीनतर्फबाट आएको विनाशकारी बाढीले जिल्लाका धेरै जना बेपत्ता छन् । गोसाईकुण्ड गाउँपालिका-५ विकासप्रेमी ९१ वर्षिय दावा फिन्जाे तामाङकाे परिवारमा पनि ठूलाे बज्रपात भयाे । 

१९९४ साल असार १५ गते गोसाईकुण्ड गाउँपालिका-५ सानाे भार्खुमा बाबु डिनडुव वाङदी तामाङ (ब्लोन) तथा आमा निम ल्हेनजेन थोकरकाे काखबाट जन्मिनु भएका उनी पेशाले कृषि, सामाजिक सेवामा छन् । सानो भार्खु गाउँमा बस्ने तामाङका छोरा फुर्पासाङको होटल थियो । 

स्याफ्रुवेसी बजारमा रहेकाे राम्राे हाेटल थियाे बुद्ध गेष्ट होटल । पुर्खौली सम्पत्ति र चार पुस्ताको मेहनतबाट समृद्ध हुँदै गएको होटल व्यवसाय नाती टिन्डु छिरिङले सम्हालेका थिए । 

स्याफ्रुवेसी बजारदेखि माथि (उत्तर तर्फ) भिरालो भार्खु गाउँस्थित पुर्खौली घरबाट करोडौं मूल्यको होटल व्यवसायसम्मको प्रगतिबाट खुशी  हुनु भएका दावाफिन्जो परिवारको खुशी भदौ १० गतेबाट सकियाे । 

होटल मात्र होइन, छोरा फुर्पासाङ, बुहारी छेटिन, नाति टिन्टु छिरिङ, नातिनी बुहारी याङ्जी, पनाति कल्साङ र एक जना काम गर्ने मान्छे समेत बाढीले बेपत्ता भए । 

सरकारी अभिलेख अनुसार बाढीबाट हालसम्म १२५९ जनाको मृत्यु भएको तथ्याँक छ । अझै ५०५३ जना सम्पर्कविहिन छन् । 

उनीहरु एक हप्ता भार्खु बस्ने गरी त्यहाँ पुगेका थिए । त्यही कारण  दावा दम्पत्ति बच्न सफल भए । तर सय वर्ष नजिकको उमेरमा आफूहरू बाँचेर आफ्नै तीन पुस्ता गुमाउनुको पीडा उहाँ व्यक्त नै गर्न सक्नु हुन्न ।

समाजसेवी दावाफिन्जो तामाङको ‘भेडिगोठ देखि राष्टिय पञ्चायतसम्म’ नामको जीवनीमूलक पुस्तक प्रकासित छ । पुस्तकमा उहाँले जीवनमा गरेका परम्परागत संघर्षदेखि समस्याहरूको फिहरिस्त प्रस्तुत गरेका छन् ।  तर पुस्तकमा यस्तो संकटको कतै बर्णन छैन । 

बुढेसकालमा पाँच जनाकाे साेकमा परेका तामाङप्रति समवेदना मृतक प्रति हार्दिक भावपूर्ण श्रदाञ्जली । 






Friday, September 18, 2026

तुईनको आवतजावत कठिनाइ


गोसाँइकुण्ड गाउँपालिका –५ स्याफ्रुवेसीमा तुईनको तरेर पहरामा रहेको भ¥याङबाट तल जानुपर्ने भएकाेले जेष्ठ नागरिक तथा बालबालिकालाइ आवतजावत कठिन आमाछोदिङमो गाउँपालिका तथा गोसाइकुण्ड गाउँपालिका भेगको नागरिकलाई आवतजावतमा निकै कठिनाई भैईरहेको छ । चाडो भन्सदा चाँढो सडक तथा बेलीबृज बनाउन सको नागरिकलाई राहत हुने आमाछोिदङ गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले बताइन् । 

अहिले स्थानीय प्रशासन र सुरक्षा निकायको प्रयासमा भोटेकोशी नदीमा फलामे तुइन निर्माण गरी अस्थायी आवतजावत सुरु गरिएको छ, तर यो यात्रा निकै जोखिमपूर्ण र जटिल छ। खाद्यान्न, औषधि र दैनिक उपभोग्य सामग्री ढुवानीमा अझै ठूलो समस्या भइरहेको छ।

तस्वीर : हेमनाथ खतिवडा, रसुवा

Monday, August 24, 2026

गोरखनाथको पात्र देवता यात्रा टोली धुन्चे आइपुगे

 

रसुवा, प्रसिद्ध एवं पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने जनैपूर्णिमा मेलाको अवसरमा गुरु गोरखनाथको पात्र देवता यात्रा टोली सोमबार सदरमुकाम धुन्चे आइपुगेको छ । 

पात्रलाई गोसाइँकुण्ड लग्दा पहिलो रात धुन्चे‚ त्यसपछि चन्दनबारी र अन्त्यमा गोसाइकुण्डको स्नान एवम् दर्शन गराई सोही मार्ग काठमाडौं ल्याइने र पिरपाटीमा राखिनेछ ।

परापूर्वकालदेखि चल्दै आएको धार्मिक परम्पराअनुसार गुरु गोरखनाथको पात्र देवतालाई गोसाइँकुण्डमा स्नान गराउनका लागि यो टोली धुन्चे आइपुगेको हो।

पात्र देवता यात्रा टोलीको आगमनले हिमाली जिल्ला रसुवा र पवित्र गोसाइँकुण्ड क्षेत्रमा जनैपूर्णिमा मेलाको धार्मिक रौनकता अझ बढाएको छ। काठमाडौँबाट सुरु भएको यात्रा टोलीको पहिलो बास सदरमुकाम धुन्चेमा हुनेछ। दोस्रो दिन उकालो चढ्दै टोली मनमोहक चन्दनबारी  पुगेर बास बस्नेछ।

तेस्रो दिन टोली प्रसिद्ध गोसाइँकुण्ड पुग्नेछ, जहाँ पवित्र कुण्डमा पात्र देवतालाई स्नान गराइनेछ र विशेष पूजाआजा तथा दर्शन सम्पन्न गरिनेछ। धार्मिक विधिपूर्वक स्नान र दर्शन सकिएपछि टोली सोही मार्ग हुँदै काठमाडौँ फर्किनेछ र पात्र देवतालाई पुनः पिरपाटीमा लगेर प्रतिस्थापन गरिनेछ।

काठमाडौं लगेपछि गोरक्ष पात्रलाई माता दक्षिणकालीको दर्शन गराई पिरपाटीमै राखी झम्केश्वरी रथयात्राको दिन विधिपूर्वक गुरु गोरखनाथको मन्दिरमा पात्रलाई विराजमान गराइसकेपछि विधिवत रुपमा गोरक्ष पात्र देवता यात्रा समापन हुने परम्परा रहिआएको छ । 

शताब्दियौँदेखि चलिआएको यो परम्परामा राजा सहभागी हुने चलन रहेतापनि हाल त्यो चलन हटेको छ ।

हरेक वर्ष जनैपूर्णिमाका अवसरमा देशका विभिन्न भागबाट हजारौँ श्रद्धालुहरू गोसाइँकुण्ड पुग्ने गर्छन्। गुरु गोरखनाथको पात्र देवताको यो वार्षिक यात्रालाई गोसाइँकुण्ड मेलाको मुख्य धार्मिक आकर्षण र पवित्र परम्पराका रूपमा लिइन्छ।

परम्पराका अनुसार निम्न कार्य गरिने छ 

  • पशुपतिस्थित गोरखनाथ आश्रमबाट सुरु भएको यो यात्रा पात्रलाई गोसाइकुण्डतर्फ लैजाने परम्पराअनुसार अघि बढेको हो।
  • बासस्थान र मार्ग: पात्रलाई गोसाइकुण्ड लग्दा पहिलो रात धुन्चेमा बास बस्ने र त्यसपछि चन्दनबारी हुँदै गोसाइकुण्ड पुर्याउने कार्यतालिका हुन्छ।
  • दर्शन तथा समापन: गोसाइकुण्डमा स्नान र दर्शन गराएपछि सोही मार्ग हुँदै काठमाडौँ फर्काएर विधिपूर्वक यात्रा समापन गरिन्छ। [1, 2, 3]
  • रेडक्रस रसुवाका सभापति तामाङले दिए राजिनामा


    रसुवा, चारदशकदेखि निरन्तर नेतृत्व गरेका नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति बाबुलाल तामाङले राजिनामा दिएका छन् । 

    नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (अठारौँ संशोधन २०७७) को धारा ’६६’ को ’ख’ (१) मा भएको वैधानिक व्यवस्था अनुसार जिल्ला कार्यसमिति समक्ष पेस भएको उक्त राजीनामा भदौ ८ गतेदेखि लागू हुने गरी स्वीकृत भएको रेडक्रस रसुवा जिल्ला शाखाले जनाएको छ ।

    नेपाल रेडक्रस केन्द्रीय कार्यालयले १५ जिल्लालाइ स्पष्टिकरण सोधेर पत्राचार गरेपछि उनले राजिनामा दिएका हुन् । कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि देकीछोमो तामाङले आफ्नो पदीय दायित्व पूर्ण इमानदारीका साथ निभाउने प्रतिबद्धता व्यक्त गरिन् । 

    शाखाका सभापति बाबुलाल तामाङले घरायसी तथा शारीरिक अस्वस्थताका कारण आफ्नो पदबाट राजीनामा दिनुभएपछि संस्थाको दैनिक कामकाज सञ्चालनका लागि उनलाई सो जिम्मेवारी दिइएको हो ।

    रेडक्रस अभियानमा विगत ४१ वर्षदेखि निरन्तर र सक्रिय रूपमा क्रियाशील रहनुभएका निवर्तमान सभापति तामाङले पदमा रहेर काम गर्न असमर्थ रहेको उल्लेख गर्दै राजीनामा दिएको बताए ।  

    जिल्लामा रेडक्रसको अभियानलाई अझ प्रभावकारी बनाउन, विपद् व्यवस्थापन र मानवीय सेवाका कार्यलाई चुस्त रूपमा अघि बढाउन कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्य र स्वयंसेवकहरूलाई एकजुट बनाएर लैजाने उनले कार्यवाहक सभापतिलाइ अनुरोध गरे । 


    Sunday, August 23, 2026

    प्राथमिक उपचार, प्रजनन् स्वास्थ्य तथा महिनावारी स्वच्छता सम्बन्धि अभिमुखीकरण

     

    रसुवा, धुन्चेस्थित रसुवा माध्यमिक विद्यालयमा शिक्षक तथा विद्यार्थीहरूका लागि एकदिने बेसिक लाईफ सपोर्ट (प्राथमिक उपचार, प्रजनन् स्वास्थ्य तथा महिनावारी स्वच्छता) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    गोसाइँकुण्ड गाउँपालिका, स्वास्थ्य शाखा स्याफ्रुवेशी, रसुवाको आयोजनामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका लागि नेपाल मेडिक एण्ड माउन्टेनियर्स फाउन्डेसनुले प्राविधिक सहयोग पुर्‍याएको थियो।

    कार्यक्रममा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचारका विधिहरू बेसिक लाईफ सपोर्ट, प्रजनन् स्वास्थ्यका महत्त्वपूर्ण पक्षहरू र महिनावारी स्वच्छता व्यवस्थापनका विषयमा व्यावहारिक जानकारी गराइएको थियो। विद्यालय स्तरमै यस्ता संवेदनशील र जीवनोपयोगी विषयमा ज्ञान दिँदा शिक्षक तथा विद्यार्थी दुवै लाभान्वित हुने र यसले समूदाय स्तरमा समेत सकारात्मक सन्देश जाने जनाएको छ।

    अभिमुखीकरणमा रसुवा माविका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। 

    तस्वीर: विमल घिमिरे 



    Friday, August 21, 2026

    असिनाले खायो ठूलाेस्याफ्रुकाे स्याउ

     


    रसुवा, स्याउ ढकमक्क फुलेको समयमा असिना पानी परेपछि यसवर्ष स्याउ उत्पादन हुन सकेन। गोसाइँकुण्ड गाउँपालिका–५ का स्थानीय युवा सोनाम काल्साङ तामाङले ४ वर्षअघि २४६ रोपनी जग्गामा स्याउ खेती सुरु गरेका थिए।

    उनले फुजी, गाला र गोल्डेन जातका १० हजार स्याउका बिरुवा रोपेका थिए। गतवर्ष ३० टन स्याउ बिक्री गरेका तामाङले यसवर्ष भने २ टन मात्र उत्पादन भएको बताए। फर्मबाटै प्रतिकिलो २५० रुपैयाँमा स्याउ बिक्री गर्दै आएको उनले जानकारी दिए।

    तामाङ भन्छन्, जलवायु परिवर्तनको असर पनि हुन सक्छ, पानी पर्ने समयमा पानी पर्दैन र हिउँ पर्ने समयमा हिउँ पर्दैन। यहाँ हिउँ नपरेको ८ वर्ष भइसक्यो।


    स्याउको फूलमा असिनाले हानेर सबै झारिदियो। पछि चिसो बढेपछि फुल्न बाँकी केही बोटमा फूल फुल्नै सकेन। यसले यसवर्ष स्याउ खेती गर्ने सबै किसानलाई निराश बनाएको छ।

    ब्राबलकै अर्का युवा बुनिमा तामाङले ३ सय स्याउका बिरुवा रोपेर आम्दानी लिन थालेका छन्। उनले रोयल डेलिसियस, गोल्डेन र फुजी जातका स्याउको खेती गरेका छन्। यसवर्ष असिनाले क्षति पुर्‍याएपछि उत्पादन राम्रो भएन, तामाङले भने, लगानीको अभावले समस्या परेको छ, बैंकले कृषिमा सहुलियतपूर्ण ऋण दिए राहत मिल्ने थियो।

    सदरमुकाम धुन्चे, भार्कु, ठूलो स्याफ्रु र ब्राबलमा परम्परागत स्याउ फस्टाउन नसकेपछि किसानहरू नयाँ जातका स्याउ रोप्न थालेका छन्। तर यसवर्ष असिनाका कारण उत्पादन हुन नसकेको किसानहरूको भनाइ छ।


    Wednesday, August 19, 2026

    लाङटाङ जिच कारखाना बन्दहुने अवस्थामा


     

    रसुवा, नेपालकै जेठो र ऐतिहासिक पहिचान बोकेको रसुवाको चिज उद्योग दूध उत्पादन घटेपछि संकटमा परेको छ। सात दशकअघि स्थापना भएको रसुवाको चिज उत्पादन क्षेत्रमा पछिल्लो समय अनेकौं चुनौतीहरू थपिँदै छन्। 

    दुग्ध विकास संस्थानअन्तर्गत रसुवाका पाँच उच्च हिमाली क्षेत्रहरू धुन्चे, चन्दनबारी, लाङटाङ, तातोपानी र गत्लाङमा यस वर्ष पनि वैशाखदेखि कात्तिक मसान्तसम्मका लागि चिज उत्पादन सुरु भइसकेको छ। 

    पौष्टिक तथा औषधियुक्त घाँस पलाउने मौसम सुरु भएसँगै यी केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन्। हालसम्म पाँचवटै केन्द्रबाट १६ सय केजीभन्दा बढी चिज र एक हजार केजी मक्खन उत्पादन भइसकेको छ। उत्पादित चिज काठमाडौंस्थित लैनचौर केन्द्रीय भण्डारमा पठाउने तयारी भइरहेको छ। संस्थानले चिजको मूल्य प्रतिकेजी १ हजार ९ सय र बटर ९मक्खन० प्रतिकेजी १ हजार १ सय ५० निर्धारण गरेको छ। तर नेपालकै जेठो मानिने लाङटाङ चिज उत्पादन केन्द्र भने यस वर्ष विविध कारणले ढिलो गरी एक साताअघि मात्र सञ्चालनमा आएको छ। 

    स्विस सरकारको सहयोगमा २००९ सालमा नेपालमै पहिलोपटक रसुवामा चिज उद्योगको स्थापना भएको थियो। २०१० सालमा क्यान्जिङ विमानस्थलमा चिज बोक्नका लागि हवाईजहाजसमेत आएको स्थानीय कर्म लामाले बताए। त्यसपछि स्थानीय बासिन्दाले चौंरीपालनलाई व्यावसायिक रूपमा अँगाल्दै आएका थिए। पछिल्ला वर्षहरूमा पर्यटन व्यवसायको विस्तारसँगै चौंरीपालक किसानहरू होटल तथा लज सञ्चालनतर्फ आकर्षित भएपछि चौंरीपालक कृषक अभावले चिज उद्योगहरूमा दूधको अभाव हुन थालेको हो। 


    दिनहुँ युवा पुस्ता वैदेशिक रोजगारीतर्फ पलायन हुनु, पुराना चौंरीपालक किसानहरूको उमेर ढल्किँदै जानु, दूधको उत्पादन निरन्तर घट्दै जानुले केन्द्र सञ्चालन गर्न निकै मुस्किल परेको चन्दनबारी चिज उत्पादन केन्द्रका प्रमुख सुभाष राई बताउँछन्। चन्दनबारी तथा अन्य चिज केन्द्रहरू सीमित दूध संकलनकै भरमा सञ्चालन भइरहेका छन्। अर्कोतर्फ, दूध विकास संस्थानले पहिले किसानहरूलाई उपलब्ध गराउँदै आएको छाता, बाल्टिन र गमबुटजस्ता किसानलाई प्रेरित गर्ने सामग्रीमा कटौती गरेकोले पनि असर परेको किसानहरू बताउँछन्।


    विनाशकारी भूकम्पका कारण यहाँ ६ सयभन्दा बढी चौंरी मरेपछि यहाँ चौंरीपालक कृषकहरू घटेका थिए। ‘विस्तारै बर्सेनि चौंरी पाल्ने घट्दै गएको घाँसका अभाव हुँदै गएकोले स्थानीय कृषक चौंरीपालन छाडेर होटल व्यवसायतर्फ लाग्न थालेका छन्। खर्क टाढा छ खर्कमा घाँस पनि अभाव हुने वर्षात्मा खर्कबाट दूध तार्न सकस हुन्छ,’ कृषक लाक्पा लामा बताउँछन्।


    यहाँ उत्पादन हुने चिज र बटरलाई बजार अभाव हुने थिएन। यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकले मन पराउने हुनाले स्थानीय बजारमै सबै खपत हुन्थ्यो अब बन्द हुने अवस्थामा पुग्यो लामाले भने। 

    चौंरीपालक किसानलाई राज्यले उचित राहत र प्रोत्साहन नदिए विश्वमै प्रसिद्ध लाङटाङ चिज इतिहासमा मात्र सीमित हुने जोखिम बढेको छ। लाङटाङमा बर्सेनि दूध उत्पादन घटेको छ। अहिले चौंरीपालक किसान दुई जना मात्र रहेका छन्। गत वर्ष पाँच जना थिए। यो क्रम अहिले घट्दो छ। स्थानीय चिज उत्पादन केन्द्रका प्रमुख ग्याल्बो लामाले भने— ‘भूकम्पअघि यहाँ ३३ जना किसानले झन्डै ३ सय ५० जति चौंरी पालेका थिए।’ लाङटाङमा दूध उत्पादन घटेपछि लामालाई अहिले दुग्ध विकास संस्थानले धुन्चेस्थित पाङले खर्क चिज उत्पादन केन्द्रमा पठाएको छ।

    Wednesday, August 12, 2026

    पूर्वाधार विकास, उपलब्धि, अभ्यास, चुनौती बारे छलफल

     

    रसुवा, जिल्लाको पूर्वाधार विकास, यसका उपलब्धि, अभ्यास, चुनौती र आगामी सुधारका विषयमा छलफल कार्यक्रम धुन्चेमा सम्पन्न भयाे ।

    जिल्ला विपत व्यवस्थापन सिमितकाे बैठक पछि रेडियो लाङटाङ ९०.३ मेगाहर्जको आयोजनामा जिल्लाको पूर्वाधार विकास, यसका उपलब्धि, अभ्यास, चुनौती र आगामी सुधारका विषयमा सरोकारवालाहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको छ।
    कार्यक्रमको मुख्य उद्देश्य जिल्लामा भइरहेको भौतिक र सामाजिक पूर्वाधार विकासको समीक्षा गर्दै भावी रणनीतिका बारेमा साझा धारणा बनाउनु रहेको आयोजकले बताएकाे छ । कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक समाज र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

    साे अवसरमा ५ वटै गाउँपालिकाबाट प्राविधिकहरू, डिभिजन सडक कार्यालय नुवाकोटका कार्यालय प्रमुख ईन्जिनियर बद्रीप्रसाद शर्मा ,गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक योजना नुवाकोटका आयोजना प्रमुख इन्जिनियर कृष्णनाथ ओझाले प्रस्तुती गरेका थिए ।



    भालुको खुट्टा जस्तो देखिने (आखेटोपहार) सहित दुई जना पक्राउ



    रसुवा, गोसाइकुण्ड गाउँपालिका–६ धुन्चेमा भालुको जस्तो देखिने दुई वटा खुट्टा (आखेटोपहार) सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नावय उपरीक्षक अशोक थापाका अनुसार गोसाईकुण्ड गाउँपालिका–६ धुन्चेस्थित पासाङल्हामु राजमार्ग सडकखण्डमा वन्यजन्तुको अवैध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चालक आमाछोदिङ्मो–५ का २९ वर्षिय गोम्बो तामाङ र आमाछोदिङ्मो–३ का २४ वर्षिय तोप्देन तामाङ रहेका छन् । 

    गत्लाङबाट त्रिशुलीतर्फ जाँदै गरेको प्र.३.०१ ००५ ख ९७८३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा गाडीको हाइड्रोलिक पाइपमुनि रातो डोरीले बाँधेर लुकाइराखिएको अवस्थामा उक्त वन्यजन्तुको खुट्टा फेला पारिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले बरामद गरिएको दुई वटा खुट्टा र टिपरसहित दुवै जनालाई आवश्यक कानूनी कारवाही तथा अनुसन्धानका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको जनाएको छ ।


    Monday, July 27, 2026

    भोटेकोशी नदीमा हामफालेर एक जना बेपत्ता



    रसुवा, गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित भन्सार यार्डको स्याउ पार्किङ क्षेत्रबाट भोटेकोशी नदीमा हामफालेर एक व्यक्ति बेपत्ता भएका छन् ।
    बेपत्ता हुनेमा रसुवाकै कालिका गाउँपालिका–४ निवासी ४४ वर्षीय खेसम बहादुर तामाङ रहेका छन् । उनकाे आफूले बोकेको झोला नदी किनारमा राखेकाे भेटिएकाे छ ।
    घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल (BOP टिमुरे) बाट सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीको कमाण्डमा ७ जना, इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी निरीक्षक विक्रम कुँवरको कमाण्डमा ७ जना र नेपाली सेनाको श्रीनाथ गण घट्टेखोलाबाट उपसेनानी वीरेन्द्रकुमार चौधरीको कमाण्डमा १० जना गरी २४ जनाको संयुक्त सुरक्षा टोली उद्धारमा खटिएको छ।

    संयुक्त सुरक्षा टोलीले भोटेकोशी नदी र तटीय आसपासका क्षेत्रमा बेपत्ता तामाङको खोजी कार्यलाई तीव्र बनाएको छ। घटनाको कारण भने खुल्न सकेको छैन र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

    त्रिशूली नदिमा इभी खस्यो, चालक बेपत्ता, उद्धार तथा खोजी कार्य तीव्र

     


    रसुवा , गाेसाइकुण्ड गाउँपालिका ५ स्थित स्याफ्रुबेँसी नजिकै एउटा अनटेस्ट (On Test) विद्युतीय गाडी (EV) दुर्घटना भई खोलामा खसेको छ।

    गाडी सहित चालक खोलामा खसेर बेपत्ता भएका छन्। दुर्घटनाको पूर्ण र थप विवरण आउन अझै बाँकी रहेको छ। चालक कालिका -३ निवासी सविन तामाङ रहेकाे र गाडी तथा चालककाे खाेजी सुरू भएकाे छ ।
    हाल घटनास्थलमा उद्धार तथा खोजी कार्यलाई तीव्र पारिएको छ। बेपत्ता गाडी र चालकको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली खटिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताए ।

    Friday, July 3, 2026

    विपद् व्यवस्थापन सामग्री हस्तान्तरण


    रसुवा, गोसाँईकुण्ड गाउँपालिकाले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आज आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

    गाउँपालिकाले इलाका प्रहरी कार्यालय टिमुरे र सशस्त्र प्रहरी बल नेपाल (BOP) टिमुरेलाई विपद्का बेला प्रयोग हुने विभिन्न उद्धार सामग्रीहरू उपलब्ध गराएको हो।
    वर्षायामको सुरुवातमै गरिएको यस सहयोगले गाउँपालिका क्षेत्र भित्र आइपर्ने प्राकृतिक विपद् जन्य घटना तथा आपत्कालीन अवस्थामा छिटो, छरितो र प्रभावकारी रूपमा उद्धार एवं राहत कार्य सञ्चालन गर्न ठूलो टेवा पुग्ने विश्वास लिइएको गोसाँईकुण्ड गाउँपालिकाले जनाएकाे छ।

    जिल्ला समन्वय समितिको समीक्षा कार्यक्रम सुरू


    रसुवा, जिल्ला समन्वय समिति रसुवाको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को हालसम्मको प्रगति समीक्षा एवं आगामी आर्थिक वर्षको कार्यक्रम सम्बन्धमा समीक्षा कार्यक्रम सुरूभएकाे छ ।

    असार १७ र १८ गते संचालन हुने उक्त दुई दिने कार्यक्रममा जिल्ला भित्रका स्थानीय तहहरू लगायत सरकारी कार्यालय विभिन्न संध संस्थाले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण, बजेट कार्यान्वयन र सेवा प्रवाहको प्रगति विवरण प्रस्तुत गरेका छन ।

    कार्यक्रममा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेटलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा विस्तृत छलफल भएको छ। जिल्ला समन्वय समितिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू र सरोकारवालाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा विकास निर्माणका कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउने प्रतिबद्धता समेत जनाइएको छ।



    मानवअधिकार संरक्षण सम्बन्धी अन्तरक्रिया तथा सचेतमूलक कार्यक्रम सम्पन्न

     


    रसुवा,रसुवाको धुन्चेमा मानवअधिकार संरक्षण सम्बन्धी एक दिवसीय अन्तरक्रिया तथा सचेतमूलक कार्यक्रम सम्पन्न भएको छ। 

    जिल्ला समन्वय समितिको कार्यालय, धुन्चेमा आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा उक्त कार्यक्रम संचालन गरिएको हो।  असार १८ गते  आयोजित यस कार्यक्रममा समाजमा मानव अधिकारको रक्षा, कानुनी साक्षरता र नागरिक सचेतना अभिवृद्धि गर्ने विषयमा व्यापक छलफल भएको थियो।

    कार्यक्रमका वक्ताहरूले ग्रामीण क्षेत्रमा मानव अधिकारको अवस्था र यसको संरक्षणका लागि सरकारी तथा गैरसरकारी निकायहरूबीचको समन्वयमा जोड दिएका थिए। सो अवसरमा सुरक्षा निकायका प्रतिनिधिहरूले कानुनी उपचारका प्रक्रिया र सुरक्षा सचेतनाका बारेमा जानकारी गराएका थिए।