देवराज सिंखडा
हामीले पूर्वीय दर्शनमा आधारित जीवनपद्धति अँगाल्दै आएका छौँ । हाम्रा पुर्खाहरू ज्ञानकोश प्रकृति, मौलिक संस्कृति, पुर्खाले सिर्जना गरेका अनमोल सिप, कला र प्रविधिसँग नजिक रहेर, खेलेर, चिन्तन, मनन र ध्यान गरेर ज्ञान आर्जन गर्दथे । विभिन्न परिस्थिति र घटनामा परेर र आवश्यकता, चाहना र बाध्यताले धेरै प्रकारका अभ्यास र प्रयोग गरेर अनुभव हासिल गर्दथे । यिनै अनुभवबाट ज्ञान र संस्कार निर्माण हुन्थे । आफुले सिकेको,
जानेको, बुझेको अनुभव र ज्ञान अरूलाई बाँड्न, सिकाउन उद्यत् हुन्थे । उतिवेला रचना गरिएका विश्वविख्यात ज्ञानग्रन्थहरू वेद, उपनिषद्, पुराणहरू, त्रिपिटक, कुरान आदि आधुनिक विज्ञान र प्रविधिका जननी मानिन्छन् । वर्तमान युग ज्ञान र विज्ञानको हो ।
ज्ञान प्राप्त गर्न पुस्तक, घटना, अवस्था, अवस्थितिको अध्ययन, अवलोकन, तर्क र अनुभव आवश्यक पर्दछ । परम्परागत रूपमा विभिन्न प्रकारबाट ज्ञान प्राप्त गर्न सकिन्छ; पढेर, गरेर, हेरेर वा सुनेर र अनुभव गरेर । यी कुरा हामीमा नै निहित छन् । शरीरका ज्ञानेन्द्रियहरू कर्मेन्द्रियहरू, मन र मस्तिष्क ज्ञान प्राप्तिका माध्यमहरू हुन् । हामी जहाँ–जहाँ पुग्दछौँ, जे–जे देख्दछौँ वा जे–जे गर्छौँ, जे–जे अनुभव गर्र्छौँ, यिनै हुन् ज्ञान वृद्धि गर्ने प्रमुख मार्गहरू । अहिले विज्ञान र प्रविधिको तीव्र विकासले सूचना तथा सञ्चार प्रविधिमा पहुँच विस्तार भएको छ ।
इन्टरनेटको प्रयोग सही ढङ्गले गर्न सकेमा सिकाइको एउटा भरपर्दो र सर्वसुलभ माध्यम बन्न सक्छ । पछिल्ला केही वर्षहरूदेखि मानिसहरूको ध्यान किताब खोज्ने, किन्न र पढ्नमा भन्दा मोबाइल फोन, ट्याब्लेट, ल्यापटपजस्ता अत्याधुनिक विद्युतीय उपकरणतिर बहकिने गरेको छ । आजका किशोर, युवा, प्रौढ वा वृद्ध सबैजना यस्तो प्रविधिसँग जानकार छन् र प्रयोगकर्ता बनेका छन् । अहिले सूचना प्रविधि हाम्रो जीवन पद्धति बनेको छ, बर्सेनि बढ्दै र झाँगिँदै गएको छ ।
केही मानिसहरूबाट सुन्ने गरेका छौँ– ‘अब किताब किनेर पढ्ने जमाना गयो, गुगल, फेसबुक आदि हेरे पुगिहाल्छ नि !’ हाम्रो देशले भर्खरै अल्पविकसित मुलुकबाट बामे सर्दै विकासशील देशको हैसियत बनाउँदै छ । विकसित देशहरूमा किताब पढ्नेको सङ्ख्या घटेको छ र ?
राम्रा पुस्तकहरू सङ्कलन गर्ने र पढ्ने बानी घटेको छैन, हट्ने त कुरै भएन । विद्युतीय उपकरणमा पढ्नुभन्दा किताबमा नै पढ्नुको छुट्टै मज्जा छ । किताब ज्ञानको र जानकारीको आधिकारिक र भरपर्दो स्रोत हो भने विद्युतीय उपकरणबाट प्राप्त हुने ज्ञान, सूचनाहरू, तथ्याङ्कहरू आधिकारिक र हाम्रो परिवेश, अवस्थाअनुकूल नहुन सक्छन् । यही समाज, यही परिवेश र संस्कृतिभित्र जन्मेर हुर्केका लेखकहरूद्वारा लेखिएका पाठ्यवस्तुहरूको पठनलाई प्राथमिकता दिनुपर्दछ ।
पठनसंस्कृति प्रवद्र्धनका लागि पहिलो आधार आपूm बसेको घर, परिवार हो । घरमा पठनमैत्री वातावरण निर्माण गर्ने काम परिवारका सक्रिय सदस्यहरूको हो । परिवारमा सामान्यतया तीन पुस्ताका सदस्य हुन सक्छन्– अघिल्लो पुस्ता, पछिल्लो पुस्ता र यी दुईबिचको उत्पादनशील पुस्ता । अर्थात् पहिलो पुस्ता, दोस्रो पुस्ता र तेस्रो पुस्ता । यी तीन पुस्तामध्ये पहिलो र दोस्रो पुस्ता मिलेर तेस्रो पुस्तालाई अध्ययनशील बनाउन प्रयत्न गर्नु अपरिहार्य हुन्छ ।
संस्कार राम्रो होस् वा नराम्रो, पुस्तान्तरण हुँदै आएको हुन्छ र हुँदै जानु पनि पर्छ । परिवारमा अघिल्ला पुस्ता कस्ता छन् । त्यसकै प्रतिबिम्ब हो दोस्रो पुस्ता । दोस्रो पुस्ताको प्रतिच्छाया तेस्रो पुस्तामा पर्छ । यो कुरा बुझेर पहिलो र दोस्रो पुस्ताले तेस्रो पुस्तालाई यस्तो बनाउने भनेर समयमा नै सोच्नुपर्दछ । नत्र, यसको असर परिवारले मात्र होइन, सिङ्गो समाज र कालान्तरमा मुलुकले नमिठो गरी भोग्नुपर्ने दिन आउन सक्छ । भनिन्छ, ‘एउटा असल पुस्तक जीवनको असल साथी र सारथि बन्न सक्छ ।’ असल पुस्तकले कसैलाई हानि पु¥याउँदैन ।
अध्ययनशील मानिसले पनि अरूलाई हानि हुने क्रियाकलाप गर्न सक्दैन । पठनसंस्कृति संस्कारजन्य बानी हो ।
यसले मानिसका नयाँ कुरा जान्ने केही न केही नयाँ कुरा पढ्ने, अभ्यास गर्ने र सिक्ने चाहनामा रमाउन सिकाउँछ । यसले कुनै कोठाभित्र अलग्गै बसेर किताब पढ्ने बानीको वकालत गर्दैन । व्यक्ति, घरपरिवार र समाजको आवश्यकता, अवस्था, रुचिको आधारमा व्यक्तित्व विकास, व्यवसाय प्रवद्र्धन र सामाजिक सेवाको क्षेत्रमा उपयोगी हुन सक्ने विषयवस्तुको अध्ययन गर्नु पठन हो भने यसको निरन्तरताले बानीको निर्माण गर्छ । त्यो बानी नै परिष्कार र मानव विकासका लागि उपयुक्त वा स्वीकार्य बन्नु संस्कार हो ।
अतः सरल भाषामा भन्दा पाठ्यसामग्रीहरूको प्रयोगबाट सिकाइलाई अवसरको रूपमा लिनु, सिकेका कुरा जीवनमा उतार्न प्रयत्न गर्नु , सकारात्मक सोच बढाउँदै चिन्तन, मनन र विश्लेषणात्मक क्षमतामा स्तरोन्नति गर्दै जानु पठनसंस्कृति निर्माणतर्पmको यात्रा हो । हाम्रो समाजमा पठनसंस्कृति प्रवद्र्धन गर्न सकिने प्रशस्त सम्भावनाहरू छन् ।
नेपाली समाज मूलतः वैदिक दर्शनमा आधारित छ । अधिकांश घरघरमा, टोलटोलमा देवीदेवताहरूको पूजा–आरधना र सत्कार गर्ने परम्परा छ । दैनिक गरिने यी कार्यहरूबाट बालबालिकामा सकारात्मक प्रभाव पार्न सकिन्छ । माथि उल्लेख गरिएजस्तै पहिलो र दोस्रो पुस्ता प्रायः सबै लेखपढ गर्न सक्छन् । सिकाइ, ज्ञान, सिप र चेतनाको उन्नयन गरी साक्षरता वृद्धि, व्यक्तित्व विकास, सामाजिक मर्यादा र सुख–समृद्धि हासिल गर्न पठनसंस्कृति प्रवद्र्धन गर्न आवश्यक छ ।
पठनसंस्कृतिको प्रवद्र्धन एक्लो प्रयासले मात्र सम्भव हु ँदैन । यसका लागि हरेक नागरिक, हरेक परिवार, समाज, सामाजिक सङ्घसंस्था, राज्यका तहगत सरकारहरू, नीति निर्माण र योजना तर्जु मासम्म पुग्नुपर्ने हुन्छ । अझ प्रस्टसँग भन्नुपर्दा बालबालिकाका लागि घरपरिवार र विद्यालय, युवाहरूका लागि विश्वविद्यालयहरू स्थानीय तह, सामाजिक सङ्घसंस्थाहरू, राजनीतिक दलहरूले भूमिका खेल्न सक्छन् । यसका लागि व्यक्ति नै सर्वाधिक महत्त्वपूर्ण पक्ष हो । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेभैmँ हामी सबैले आफ्नो आम्दानीको कम्तीमा पाँच प्रतिशत रकम पाठ्यसामग्री खरिदमा खर्च गर्न तत्पर हुनुपर्दछ । यसो गर्न सकेमा अभियानमा मद्दत पुग्दछ ।
विद्यालयहरूले मौजुदा पुस्तकालय र बुक कर्नरलाई थप व्यवस्थित गरी सबै बालबालिकाहरूले सहज रूपमा पुस्तकहरू प्रयोग गर्न सक्ने वातावरण बनाउन सक्नुपर्दछ । अबको नयाँ पुस्तालाई सानो उमेरदेखि नै पठनसंस्कार दिन सम्बद्ध पक्ष सबैले ध्यान दिनुपर्छ ।
पठनसंस्कृति प्रवद्र्धन गर्ने राज्यको प्रमुख अङ्ग स्थानीय तह हो । यो जनताप्रति प्रत्यक्ष उत्तरदायी स्थानीय सरकार हो । स्थानीय तहहरूले आफ्नो सेवाक्षेत्रभित्र रहेका सबै तह र प्रकारका विद्यालयहरूमा सूचना प्रविधिसहितको आधुनिक पुस्तकालय र पुस्तकालय कर्मचारीको व्यवस्थालाई पहिलो शैक्षिक कदमको रूपमा लिनुपर्दछ । विद्यार्थीले घरघरमै बसेर पनि प्रयोग गर्न सकिने डिजिटल सामग्रीहरू निःशुल्क वितरण गर्न सक्नुपर्दछ । सामुदायिक पुस्तकालयहरूलाई प्रविधियुक्त, पाठकमैत्री र व्यवस्थित बनाइनुपर्छ ।
विषयगत शाखाहरूले टोल–टोल र बस्तीबस्तीमा गएर चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, बिउबिजनको साथसाथै सान्दर्भिक पुस्तकहरू पनि निःशुल्क वा न्यूनतम शुल्कमा वितरण गर्दा नागरिकहरू थप लाभान्वित हुन्छन् । स्वास्थ्य शाखा, शिक्षा तथा खेलकुद शाखाले पढ्ने, लेख्ने र सिक्ने कुरामा विशेष ध्यान दिन सक्छन् । अर्को प्रभावकारी क्षेत्र सञ्चार हो ।
यसमा कागजी अर्थात् छपाइ माध्यम र विद्युतीय माध्यम दुवैले नागरिकको मौलिक हक, अधिकार सुरक्षित गर्न मानिसहरूको जमघट भइरहने स्थानहरूमा आफ्ना उत्पादनहरू पु¥याइदिन सक्छन् । त्यस्तै, ती उत्पादन, प्रकाशन र प्रसारणहरूलाई डिजिटल एपमार्फत उपलब्ध गराउन सक्छन् । इन्टरनेट सेवा प्रदायक संस्थाहरूले मानिसहरूको बाक्लो उपस्थिति हुने स्थानहरूमा निःशुल्क वाइफाइ सेवा दिन सक्छन् । राज्यका स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, प्रादेशिक अस्पताल र सङ्घीय अस्पतालहरूले रोग लागेर उपचारका लागि धाइरहनुभन्दा रोग लाग्न नदिन रोकथामको विधि अपनाउन सक्छन् ।
यसका लागि आफ्नो कार्यक्षेत्रमा नै परामर्श सेवा र पाठ्य वा श्रव्यदृश्य सामग्री वितरण गर्न सक्छन् । जडीबुटी खेती गर्न र औषधि कारखानाहरू सञ्चालनमा सहयोग पु¥याउन सकिन्छ । यसैगरी कृषि, वन, कानुनजस्ता मन्त्रालयमातहतका निकायहरूले चेतनामूलक कार्यक्रममार्पmत पठनसंस्कति प्रवद्र्धनमा सघाउन सक्छन् ।
अहिले हाम्रो समाज पुस्ता–पुस्तामा विभाजित हुन थालेको देखिन्छ । एउटा पुस्तामाथि अर्को पुस्ताको भरोसा र सम्बन्ध कमजोर हु ँदै गएको छ । आदर, स्नेह र सद्भाव खल्बलिन लागेको देखिराखेका छौँ । स्वार्थको पहाड चुलिँदै गएको छ । यसको कारण हामी आत्मानुशासनबाट भाग्दै छौँ । के गर्ने, के नगर्ने, के बोल्ने के, नबोल्ने, के लेख्ने, के नलेख्ने, आपूm को हो र अरू को हुन् भन्ने कुरामा ध्यान जान छोडेको छ । परिवार र देशका लागि सिङ्गो जीवन दिएका आमाबाहरू आश्रमहरूमा रोइरहेका छन् । नकारात्मक सोच, विचार र व्यवहारले नयाँ पुस्तालाई अन्यत्र धकेलिरहेछ । नागरिक कर्तव्य र देशभक्ति शिथिल बन्दै गएको छ ।
यी सबै अवस्थाका कारणहरूमध्ये एउटा प्रमुख कारण पठनसंस्कृतिमा देखिएको उदासीनता हो । वास्तवमा पठनसंस्कृति अनुशासन हो, बुद्धि र विवेकको द्वार हो । सचेतना र सहिष्णुता, सामाजिक सद्भाव र उत्तरदायित्व वृद्धिको आधार हो । ज्ञान, सिप र प्रविधिको पुस्तान्तरण र समाजको रूपान्तरणको सरल माध्यम हो । पठनसंस्कृति अज्ञान र अन्धविश्वासको निर्मूलीकरण हो भने ज्ञान, विज्ञान र विश्वासको जग मजबुत पार्नु हो । कला, साहित्य र विचारमा परिष्कार ल्याउनु हो । अतः मानवजीवनलाई सुखी र समृद्ध बनाउन पठनसंस्कृतिको जगेर्ना र विकास आवश्यक छ ।

0 Comments :
Post a Comment