रसुवा, आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङ स्थित पार्वती कुण्ड पहिलो पटक आयोजना गरिएको ‘याक तथा चौँरी महोत्सव २०८३’ सम्पन्न भएको छ । महोत्सव बैशाख १३ देखि १५ गतेसम्म तीन दिन सञ्चालन भएको थियो ।
आमाछोदिङ्मो गाउँपालिकाको सहयोगमा याक तथा चौँरीको संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय पर्यटन, कला–संस्कृति तथा पशुपालन व्यवसायलाई टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हाे ।
महोत्सवको पहिलो दिन सयौँ चौँरी महोत्सव स्थलमा प्रदर्शन गरिएको थियो । साथै, उत्कृष्ट चौँरीपालक किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
महोत्सवका अवसरमा पालिकास्तरीय सांस्कृतिक प्रतियोगिता तथा म्याराथन प्रतियोगिता पनि आयोजना गरिएको थियो । समापन समारोहमा स्थानीय तथा राष्ट्रिय कलाकारहरू सुमन घले, शिशिर थोक्रा र छेवाङ तामाङले विशेष सांगीतिक प्रस्तुति दिएका थिए ।
महोत्सव अवधिभर चौँरीजन्य परिकारको प्रदर्शनीका साथै भेडाको ऊनबाट घरेलु रूपमा तयार गरिएका राडी, पाखी, गलैँचा, स्वेटर, टोपी तथा पटुकाजस्ता सामग्री बिक्रीका लागि राखिएको थियो ।
युवा पलायन बढ्दै जाँदा पुस्तौँदेखि चल्दै आएको चौँरीपालन पेशा संकटमा परेको र चरन क्षेत्रको अभावका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा चौँरी गोठ घट्दै गएको सन्दर्भमा संरक्षणको सन्देश दिन तथा चौँरीजन्य उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल समितिका संयोजक तथा आमाछोदिङ्मो गाउँपालिका–३ का वडा अध्यक्ष सुरेन्द्र तामाङले जानकारी दिए ।
यस क्षेत्रका बासिन्दाको प्रमुख आयस्रोत कृषि तथा पशुपालन भएकाले महोत्सवले किसानलाई थप हौसला मिलेको स्थानीय फुर्पुसिङ्गी तामाङले बताए ।
याक र चौँरी पालनका लागि चरिचरण क्षेत्र प्रसस्त भएको, ठाँउमा चिज उत्पादन केन्द्र भएकोले बजार र अवसर दुवै भएकोले चौँरी पालनलाई प्रोत्साहन गर्न कार्यक्रम, संरक्षण र प्रवद्र्धनमा जोड् दिने प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माेहन आचार्यले बताए ।
महोत्सवले हिमाली क्षेत्रको जनजीवन, परम्परा र उत्पादनलाई प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेकाे आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए ।


0 Comments :
Post a Comment