'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

ठूलाेगाउँमा ‘सती घाँटु नाच’ जाेगाउँदै स्थानीय


रसुवा, उत्तरगया गाउँपालिका–३, ठूलोगाउँस्थित ठूलो आँगनमा बुद्ध पूर्णिमाको अवसर पारेर वर्षेनी नाचिने ‘सती घाँटु नाच’ यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ ।

विधिपूर्वक पूजा–अर्चना गरी सुरु गरिएको यो नृत्य तीन दिनसम्म सञ्चालन गरिएको थियो । नाच्ने स्थान ९चँदुवा० निर्माणका लागि निश्चित विधिअनुसार फिकुरीको लेकबाट धुपीको काठ ल्याएर तयार पारिएको स्थानीयहरूले बताएका छन् ।

गुरुङ समुदायको पहिचान बोकेको यस नृत्यलाई केवल मनोरञ्जन मात्र नभई गहिरो आध्यात्मिक तथा ऐतिहासिक महत्व बोकेको सांस्कृतिक सम्पदाका रूपमा लिइन्छ । पौराणिक कथामा आधारित यो लोकनृत्य पछिल्लो समय लोप हुने अवस्थामा पुगे पनि स्थानीय समुदाय यसको संरक्षणमा सक्रिय देखिएका छन् ।


सती घाँटु नाचमा प्राचीन कालका राजा परशुराम र रानी यम्फावतीको जीवनकथा, प्रेम, युद्ध तथा वियोगलाई नाटकीय रूपमा प्रस्तुत गरिन्छ । कथाअनुसार रानी यम्फावती आफ्नो श्रीमानको मृत्युपछि सती गएको प्रसंगका आधारमा यस नृत्यलाई ‘सती घाँटु’ नाम दिइएको हो ।


नृत्यको विशेषता अनुसार दुई जना कुमारी कन्यालाई कुवा वा धारामा स्नान गराई शुद्ध बनाइन्छ । त्यसपछि गुरुवा–गुरुआमाको नेतृत्वमा मन्त्र उच्चारण गर्दै देवी–देवताको आवाहन गरिन्छ र ती कुमारीहरूमा दैवी शक्ति प्रवेश गरेको विश्वास गरिन्छ । यसरी देवीको अंश चढेको कुमारीलाई ‘घाँटुसारी’ भनिन्छ । उनीहरू रजस्वला नभएका र धार्मिक रूपमा शुद्ध हुनुपर्ने मान्यता रहेको छ ।

नाचका क्रममा गुरुवा–गुरुआमाले गीत गाउँदा गीतबाट घाँटुसारीहरूको आँखा बाधिन्छ । जसलाई स्थानीय भाषामा ‘घाँटु जगाउने’ भनिन्छ । नृत्यमा कुमारीहरूलाई राजा र रानीको रूपमा प्रस्तुत गरिन्छ । उनीहरूलाई छिटको गुन्यू, चोली, पटुकी र घलेक लगाइने तथा शिरमा विभिन्न रङका फूलले सजाइन्छ ।


पौराणिक कथाअनुसार नृत्यमा राजा सिकार खेल्न जंगल जाने, मृग सिकार गर्ने प्रयास गर्ने र अन्ततः राजाको मृत्यु भएपछि रानी पनि सती जाने कथा प्रस्तुत गरिन्छ । यसले प्रेम, समर्पण र विरहको भाव झल्काउँछ ।

नाच अवलोकन गर्न तथा आशीर्वाद लिन छिमेकी गाउँहरूबाट ठूलो संख्यामा दर्शकहरू भेला हुने गरेका छन् । विशेषगरी रानी सती जाने दृश्य प्रस्तुत हुँदा वातावरण अत्यन्त भावुक बन्ने गर्दछ ।

स्थानीय युवा क्लब तथा आमा समूहहरूले यस सांस्कृतिक सम्पदाको संरक्षणमा सक्रिय भूमिका खेल्दै आएका छन्, ताकि परम्परा आगामी पुस्तामा हस्तान्तरण हुन सकोस् ।

नाचको अन्तिम दिन घाँटुलाई गाउँ नजिकैको देउरालीमा लगेर विसर्जन गरिन्छ र सामूहिक रूपमा दही–चामल खाएर कार्यक्रम समापन गरिन्छ ।



Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music