रसुवा, गत असार २४ गते नेपाल चीन सिमाना लेन्देखोलामा आएको बाढीले आएको भीषण बाढीले ठूलो धनजनको क्षति पुर्याएको रसुवाबाट राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी रसुवाले प्रधानमन्त्रीलाई विशेष अनुरोधसहित पत्र प्रेस गरेको छ ।
असार २४ गते राति ३ बजेर १५ मिनेट जाँदा चिनको भू–भागमा रहेको अस्थायी हिमताल फुटेर आएको भीषण बाढीले रसुवामा अकल्पनीय विनाश मच्चाएको थियो । मितेरी पुल, सुख्खा बन्दरगाह, सडक तथा हाइड्रोपावरहरूमा ठूलो क्षति पुगेको छ भने नेपाली र चिनियाँ गरी १८ जना मजदुरको ज्यान गएको थियो । सयौँ गाडीहरू बगाएको बाढीपछि सडक अवरुद्ध हुँदा रसुवाबाट केरुङतर्फ गएका १५ सय बढी नेपाली मजदुर र व्यापारी अहिले चिनको केरुङमा अलपत्र अवस्थामा छन् ।
युवासंघ रसुवाका अध्यक्ष कुमार नगरकोटीले हस्ताक्षर गरेको अनुराेध पत्रमा भनिएको छ:
“केरुङमा फसेका नेपालीहरू खाना र नियमित सेवन गर्ने औषधि अभावमा पीडित भएका छन् । आधा महिना भइसकेको छ, उनीहरू अलपत्र छन् । नेपालमा रहेका उनीहरूका परिवारहरू पनि समस्यामा परेका छन् । त्यसैले प्रधानमन्त्रीज्यूको पहलमा तत्काल उद्धारको व्यवस्था गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।”
पत्रमा प्रधानमन्त्रीको तत्काल स्थल निरीक्षण र निर्देशनपछि सडक पुनःनिर्माण, उद्धार तथा राहत कार्य तीव्र रूपमा अघि बढेको भन्दै आभार व्यक्त गरिएको छ । यद्यपि अझै पनि स्याफ्रुबेसी बजारमुनिको बस्ती बाढीको कटानका कारण जोखिममा परेको उल्लेख गर्दै त्यसको रोकथामका लागि तत्काल पहल गर्न युवासंघले सरकारसँग माग गरेको छ ।
पत्रमा मितेरी पुल, सुख्खा बन्दरगाह र रोङ्गादेखि टिमुरेसम्मको सडक पुनर्निर्माणका लागि आवश्यक निर्देशन दिन आग्रह गर्दै बाढीमा क्षति पुगेका मजदुर तथा सम्पत्तिको उचित क्षतिपूर्ति सुनिश्चित गर्न पनि युवासंघले सरकारसँग अपिल गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल, रसुवाले गरेको यो आग्रहले बाढी–पीडितको आवाज पुनः सरकारको कानमा पुर्याउने अपेक्षा गरिएको छ ।
No comments:
Post a Comment