ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

ताजा अपडेट

समाचारहरू

Popular of Month

Saturday, October 3, 2026

राहत सामग्रीले विद्यालयका कक्षाकोठा भरिएपछि पठनपाठन प्रभावित


 उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा बाढी प्रभावितका लागि संकलन गरिएको राहत सामग्री अन्यत्र नसार्दा पठनपाठन प्रभावित भएको छ । विद्यालयको कक्षाकोठा, बरन्डा तथा खेलमैदानमा राहत सामग्री, म्याट, बोरा, बाकस र त्रिपाल थुपारिएका छन् ।

विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन हुने भए पनि राहत सामग्रीका कारण आवश्यक कक्षाकोठा प्रयोग गर्न नपाउँदा विद्यार्थीलाई पढाउन समस्या भएको शिक्षक राजन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार विद्यार्थी विद्यालय आउन थाले पनि कक्षाकोठामा राहत सामग्री राखिएकाले पठनपाठन सञ्चालनमा कठिनाइ भएको छ ।


प्रधानाध्यापक माधवप्रसाद लामिछानेका अनुसार विद्यालयमा नियमित पठनपाठन सञ्चालनका लागि २५ देखि ३० वटा कोठा आवश्यक पर्ने भए पनि हाल १२ वटा कोठा मात्र प्रयोगमा छन् । कक्षा १, २ र ३ तथा कक्षा ९ देखि १२ सम्म समेत एकभन्दा बढी सेक्सन रहेकाले कक्षाकोठाको अभाव झनै देखिएको उहाँले बताउनुभयो ।

भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण उत्तरगया गाउँपालिकालगायतका सरकारी भवनमा क्षति पुगेपछि तत्कालीन आपतकालीन व्यवस्थापनका लागि विद्यालय परिसरलाई राहत संकलन तथा वितरण केन्द्रका रूपमा प्रयोग गरिएको थियो । विद्यालय सञ्चालन भएपछि राहत सामग्री अन्यत्र सार्न आग्रह गरे पनि हालसम्म पूर्ण रूपमा हट्न नसकेको प्रधानाध्यापक लामिछानेले बताउनुभयो । भदौ २४ गतेदेखि विद्यालय सञ्चालनमा आए पनि राहत सामग्री बोकेका सवारीसाधन आउने–जाने क्रम जारी रहेको उहाँको भनाइ छ ।

विद्यालयमा चामल, दाल, त्रिपाललगायतका राहत सामग्री तथा ठूलो परिमाणमा रबर म्याटसमेत राखिएका छन् । राहत सामग्रीका कारण विद्यार्थी र शिक्षकका लागि सहज रूपमा पढ्ने–पढाउने वातावरण बन्न नसकेको विद्यालयले जनाएको छ ।

उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङले विद्यालयमा रहेका राहत सामग्रीको रुजु सम्पन्न भइसकेको बताउनुभयो । उहाँका अनुसार बाढी प्रभावितलाई दोस्रो चरणको राहत वितरण सम्पन्न गरेपछि विद्यालय खाली गर्ने योजना छ । “विद्यालयको पठनपाठन केही प्रभावित भएको छ,” उहाँले भन्नुभयो, “अबको चार–पाँच दिनमा विद्यालयमा रहेका सबै राहत सामग्री हटाउने योजना छ ।”  



सम्झौता भएको एक वर्ष बित्दा पनि रसुवामा खाद्य डिपो सञ्चालनमा आएन

 


रसुवा, खाद्य सुरक्षा नभएको जिल्लाका रुपमा रहेको रसुवामा नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले खाद्यन्न आपूतिका लागि संझौता गरेपनि ढुवानी दिन नसक्दा अझै धुन्चेमा डिपो सञ्चालन हुन सकेन । 

गोसाइकुण्ड गाउँपालिका र नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनीलेबीच १ वर्ष अघि नै आवश्यक खाद्यन्न तथा अत्यावश्यक बस्तु ढुवानी गरी डिपो सञ्चालन गर्ने संझौता गरेपनि सामग्री ढुवानी नहुँदा डिपो सञ्चालन हुन नसकेको हो । स्थानीय उत्पादनले नपुगेर चामल, दाल, गेडागुडी, मैदालगायतका खाद्यबस्तु बाहिरबाट ल्याएर खानुपर्ने जिल्ला हो । बाढीपछि खेतीयोग्य जमिन जहा धान फल्थ्यो बगेकोले झनै खाद्य असुरक्षा बढ्ने देखिएो छ । 

बाढी पछि ल्याउन नसकोको ढुवानीको ठेक्का पाएका कम्पनीका प्रमुख कृष्ण बिडारीले भने ‘बाढीको कहरपछि भादादर तेब्बर पर्ने भएकोले ढुवानी हुन सकेन सडक सुचारु भएपछि खाद्यन्न ढुवानी गरिन्छ ।’

कृष्ण बिडारीले गोसाईकुण्ड गाउँपालिकाको लागि खाद्यन्न सप्लाइको लागि नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनीलेसँग संझौता गरेको तर ढुवानी नगरेको गुनासो आएको कम्पनीका सूचना अधिकारीले माधब मिश्रले बताउनुभयो । 

जहिले पनि खाद्य असुरक्षा भएको जिल्लाको रुपमा रुपमा रहेको रसुवामा खाद्य गोदाम नभएकोले यो विपत्तीमा नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले ढिपो राखेको भए किनेर नपाउने खान पाउने स्थानीय उपभोक्ताहरु बताउछन् । खाद्यको डिपो भएको भए यहाँ सुपथ मूल्यमा खाद्यन्न पाइन्थ्यो अहिले विपतमा खाद्यन्न अभाव हुने थिएन नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ भन्नुभयो ‘पहिले पनि धुन्चे र बृद्धिमको खाम्जिङमा डिपो थियो अहिले पनि आवश्यक छ, अहिले पनि डिपो खुल्ने चर्चा निकै चलेको थियो किन चर्चामै सिमित भयो ? 

तत्कालीन नेपाल खाद्य संस्थानको दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानी गरी सुपथ मूल्यमा बिक्री गर्नु र गोदाममा खाद्यान्न मौज्दात राखेर बिक्री गर्न २०३१ माघ १७ मा स्थापना भएको सरकारी विवरणमा उल्लेख छ । खाम्जिङमा रहेको डिपो बिसं २०५१ हटेको स्थानीय बताउछन् । 

  

गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले भन्नुभयो ‘नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनी बीच गाउँपालिकासँग १ वर्ष अघि सहुलियतमा दरमा उपभोक्ताले खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु पाउने तथा स्थानीय कृषि उपज खरिद समेत गर्ने गरी संझौता भएपनि हालसम्म डिपो सञ्चालन भएको छैन ।’ 


सबै ब्यवस्थापन कम्पनीले गरेरे खाद्यन्न आपूर्ती गरेर डिपो चलाउने भनेपनि धेरै पहिले सञ्चालनमा आउनु पर्ने अहिले बाढी पछि सम्पर्कमा आएपनि ढुवानीमा समस्या सुनाएको छ अध्यक्ष तामाङले भने ‘यस्तो विपतको समयमा खाद्य डिपो सञ्चालनमा हुनुपर्ने हो, सहज बेलामा त धेरै विकल्प हुनसक्छ ।’ 


रसुवा आएका कृषि तथा खाद्य विज्ञ बद्री ओझा भन्नुभयो ‘धुन्चेमा खाद्यन्न स्टक नदेखिएकोले समस्या धेरै छ । बाहिरबाट आउने मान्छेले किनेर खान नपाउने अवस्था रहेछ ।’ खाद्यको डिपो नभएको जिल्ला रहेछ । डिपो भएको भए चामल किन्न पाउँथे । रसुवाको उत्तरी क्षेत्र र चन्दनबारीमा समेत चामल अभाव भएको उनले बताए । कृषि तथा पशु विकास अनुगमनका क्रममा रहेका ओझाले भने ‘बाढीको कहरपछि रसुवाको उत्तरी गाउँगाउँमा खाद्यान्नको समस्या छ यस्तो अवस्था प्रति सबैले ध्यानदिनुपर्छ ।’


नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनी खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्ने उद्देश्य लिएको छ । किसानको उत्पादन र स्वदेशी उद्योगले प्रोत्साहन पाउने तथा उपभोक्ताले प्रतिस्पर्धी मुल्य एवं गुणस्तरका अत्याबश्यक वस्तु सहज र सुलभ रुपमा प्राप्त गर्न सक्ने गरी बजार निर्माताको भूमिका खेल्ने देशका खाद्य संकटग्रत क्षेत्र र विपन्न जनताको खाद्य सुरक्षाका लागि बितरण प्रणालीलाई सुदृढ गर्दै आवश्यक खाद्यवस्तु सम्बन्धित स्थान/क्षेत्रमा समयमैं ढुवानी गरी बिक्री वितरण वा आपूर्ति गर्ने/गराउने काम कम्पनीले गर्दछ । 


नेपाल सरकारको राष्ट्रिय आपूर्ति तथा बाणिज्य नीति र योजना तर्जुमा, कार्यान्वयन र मूल्याकंनमा र खाद्यलगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य सुची निर्धारणमा सुझाव र सहयोग गर्ने उद्देश्यको कम्पनीले रसुवामा पनि सेवा सुचारु गर्ने भन्दै गतवर्ष संझौता गरेपनि सेवा प्रबाह गर्न सकेन । 


यस सन्दर्भका कम्पनीका नि प्रमुख प्रशासकीय अधिकृत सर्मिला न्यौपानेले भन्नभयो ‘गतवर्ष नै खाद्यन्न सप्लाइ गर्न र डिपो चलाउने स्थानीय सरकारसँग संझौता भएपनि रसुवामा हाम्रो आफ्नै संरचना छैन, त्यसैले स्थानीय सरकारसँग समन्वय र सहकार्यमा काम गर्ने कुरा भएको छ ।’


दुर्गम तथा पछि परेको क्षेत्रमा नाफाभन्दा आपूर्ति, किसानबाट खरिद र विपत तथा सङ्कटका बेला सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने कामलाई कम्पनीले आफ्नो प्राथमिक दायित्वका रूपमा कार्यान्वयन गर्नुपर्ने स्थानीय बताउछन् । 


यसैगरी, रैथाने (स्थानीय) बाली तथा स्थानीय उत्पादन संकलन र बजार लैजान सहज बनउने बजारमा मूल्य स्थिर राख्ने मात्र नभई किसानका उत्पादनको बजार सुनिश्चितताका लागि पनि सघाउ पु¥याउने उद्देश्य नै रहेको छ । 


Friday, October 2, 2026

जलवायु उत्थानशीलता र सामाजिक न्याय

 


कर्ण नेपाली

जलवायु परिवर्तनलाई प्रायः तापक्रम वृद्धि, अनियमित वर्षा, खडेरी, बाढी र हिमनदी पग्लिने प्रक्रियासँग जोडेर बुझिन्छ। तर यसको प्रभाव वातावरणमा मात्र सीमित छैन। यसले मानिसको जीविका, स्वास्थ्य, खाद्य सुरक्षा, बसोबास र भविष्यका अवसरलाई पनि बदलिरहेको छ। 

अझ, जलवायु सङ्कटले सबैलाई समान रूपमा असर गर्दैन। जसको योगदान न्यून छ, त्यही समुदाय प्रायः यसको सबैभन्दा ठूलो भार बोक्छ। यही असमानतालाई सम्बोधन गर्ने दृष्टिकोण हो—जलवायु न्याय। यसलाई दिगो उत्थानशीलता र सामाजिक न्यायसँग जोडेर हेर्दा मात्र जलवायु परिवर्तनको सामना गर्ने प्रयास दीर्घकालीन र न्यायपूर्ण बन्न सक्छ।


जलवायु न्यायको अर्थ

जलवायु न्यायले जलवायु परिवर्तनका कारण, असर र समाधानमा रहेको असमानतालाई पहिचान गर्छ। औद्योगिकीकरण र जीवाश्म इन्धनको अत्यधिक प्रयोगबाट धेरै लाभ लिएका देश तथा समुदायले उत्सर्जनमा ठूलो योगदान गरेका छन्। तर जलवायु जोखिममा सबैभन्दा बढी पर्नेमा न्यून आय भएका परिवार, दलित, आदिवासी जनजाति, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, साना किसान र दुर्गम क्षेत्रमा बसोबास गर्ने समुदाय पर्छन्। 

साथै, देशका हिसाबले पनि विश्वका अतिकम विकसित तथा हिमाली देशहरू नै यसको सबैभन्दा ठूलो मारमा पर्दछन्। उनीहरूसँग जोखिमबाट जोगिने स्रोत र निर्णय प्रक्रियामा प्रभाव पार्ने पहुँच कम हुन्छ एवं उत्थानशील क्षमता पनि कमजोर हुन्छ।

त्यसैले जलवायु न्याय भनेको क्षतिपूर्ति वा राहतको विषय मात्र होइन। यो कसले निर्णय गर्छ, कसले लाभ पाउँछ, कसले लागत बेहोर्छ र कसको ज्ञानलाई मान्यता दिइन्छ भन्ने प्रश्न पनि हो। नीति निर्माणमा प्रभावित समुदायको अर्थपूर्ण सहभागिता र जलवायु कार्यमा जिम्मेवारीको न्यायोचित बाँडफाँट यसका आधार हुन्।


दिगो उत्थानशीलता किन आवश्यक छरु

उत्थानशीलता भन्नाले विपद् वा परिवर्तनपछि पुरानै अवस्थामा फर्किनु मात्र बुझिँदैन। दिगो उत्थानशीलताले समुदायलाई जोखिम सहन, त्यसबाट अनुकूलन गर्न र आवश्यक परे अन्यायपूर्ण वा असुरक्षित संरचनालाई रूपान्तरण गर्न सक्षम बनाउँछ। 

उदाहरणका लागि, बाढीपछि घर पुनर्निर्माण गर्नु तत्कालीन आवश्यकता हो। तर बाढीको जोखिम बारम्बार बढाउने भू–उपयोग, कमजोर पूर्वसूचना प्रणाली र सुरक्षित आवासमा असमान पहुँचलाई सम्बोधन नगरी पुनर्निर्माण गर्दा जोखिम फेरि दोहोरिन्छ।

यस अर्थमा उत्थानशीलता सामाजिक र संस्थागत क्षमतासँग गाँसिएको हुन्छ। सुरक्षित पूर्वाधार, भरपर्दो स्वास्थ्य सेवा, जीविकाको विविधता, स्थानीय ज्ञान, प्रभावकारी विपद् तयारी र निर्णयमा समुदायको पहुँचले उत्थानशीलता बलियो बनाउँछन्। यी अवसर केही समूहमा मात्र केन्द्रित भएमा समाज समग्रमा उत्थानशील हुन सक्दैन।


साथै, पुनर्लाभ तथा पुनर्निर्माणका प्रक्रियामा जलवायु न्यायको कुरा गर्दा यसको संरचना, निर्णयकर्ता तथा संयन्त्रमा विपन्न तथा सीमान्तकृत समुदायको पहुँच स्थापित हुन जरुरी छ। 

अर्कोतिर, जलवायु न्यायका हिसाबले विश्व समुदायबाट प्राप्त क्षतिपूर्ति रकमको वितरण वा उक्त स्रोतबाट सञ्चालन हुने कार्यक्रमहरूमा समेत सामाजिक न्यायको दृष्टिकोणबाट सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता र संलग्नता नभई दिगो उत्थानशीलता हासिल हुन सक्दैन।


सामाजिक न्यायसँगको सम्बन्ध

सामाजिक न्यायले स्रोत, अधिकार, अवसर र जोखिमको बाँडफाँटमा निष्पक्षता खोज्छ। जलवायु परिवर्तनका सन्दर्भमा यसको अर्थ सबैलाई एउटै प्रकारको सहयोग दिनु होइनस फरक आवश्यकता र जोखिमअनुसार सहयोग पुर्‍याउनु हो। 

हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिममा रहेका बस्तीलाई चाहिने उपाय तराईका बाढी प्रभावित समुदायको आवश्यकताभन्दा फरक हुन सक्छ। सुख्खा क्षेत्रमा पानीको दिगो व्यवस्थापन प्राथमिकता हुन सक्छ भने सहरी बस्तीमा गर्मीको असर घटाउने हरियाली र सुरक्षित आवास आवश्यक हुन सक्छ।

समानताको यो बुझाइले जलवायु नीतिलाई अझ प्रभावकारी बनाउँछ। किसानलाई मौसमसम्बन्धी सूचना मात्र दिएर पुग्दैनस सिँचाइ, बाली बीमा, बजार पहुँच र अनुकूल बीउमा पहुँच पनि चाहिन्छ। 

विपद् प्रभावित परिवारलाई अस्थायी राहतसँगै सुरक्षित पुनर्वास, जीविकोपार्जन र मानसिक स्वास्थ्य सेवाको आवश्यकता पर्न सक्छ। न्यायपूर्ण नीति भनेको सहयोगलाई जोखिम, आवश्यकता र ऐतिहासिक वञ्चितिसँग मिलाएर उपलब्ध गराउने पद्धति हो।


नेपालका सन्दर्भमा अन्तरसम्बन्ध

नेपाल जलवायु परिवर्तनमा न्यून योगदान गर्ने देशहरूमध्ये भए पनि यसको भौगोलिक बनावट र जीविकाको प्रकृतिका कारण जलवायु जोखिम उच्च छ। हिमाली क्षेत्रमा हिमनदी र हिमतालको अवस्था, पहाडी क्षेत्रमा पहिरो तथा अनियमित वर्षा र तराईमा बाढी, डुबान तथा अत्यधिक गर्मीले फरक–फरक समुदायलाई असर गर्छ। कृषि र प्राकृतिक स्रोतमा निर्भर परिवारका लागि यस्तो परिवर्तनले आम्दानी र खाद्य सुरक्षामा प्रत्यक्ष असर पार्न सक्छ।

यस्ता जोखिमको सामना गर्न स्थानीय तहमा बनाइने योजना र बजेट महत्त्वपूर्ण छन्। तर समुदायसँग परामर्श नगरी बनाइएका योजना स्थानीय भूगोल, संस्कृति र जीविकासँग नमिल्न सक्छन्। 

त्यसैले महिला, दलित, आदिवासी जनजाति, भूमिहीन, अपाङ्गता भएका व्यक्ति र जोखिमग्रस्त बस्तीका बासिन्दाको सहभागिता निर्णय प्रक्रियाको अभिन्न अङ्ग हुनुपर्छ। स्थानीय तथा परम्परागत ज्ञानलाई वैज्ञानिक तथ्यसँग जोड्दा समाधान अझ व्यवहारिक र टिकाउ बन्न सक्छ।

यसका साथै, जलवायु अनुकूलनका नाममा गरिने विकासले नयाँ अन्याय सिर्जना गर्न नहुने कुरामा ध्यान दिनुपर्छ। उदाहरणका लागि, जलविद्युत् वा सडक पूर्वाधारले आर्थिक अवसर बढाउन सक्छस तर जोखिम मूल्याङ्कन, पारदर्शिता र प्रभावित समुदायको सहमति कमजोर भएमा विस्थापन, जीविकाको क्षति वा वातावरणीय दबाब बढ्न सक्छ। जलवायु नीति आफैँ न्यायपूर्ण हुन सकेन भने त्यसले उत्थानशीलता बढाउनुको सट्टा असमानता गहिर्‍याउन सक्छ।

हाल पनि जलवायु न्यायको दृष्टिकोणबाट नेपालमा प्राप्त स्रोतको प्रभावकारी प्रयोग, परिचालन तथा सदुपयोग भएको पाइँदैन। यसमा केही मुठ्ठीभर जलवायु क्षेत्रमा कार्यरत व्यक्ति वा समुदायले मात्र हालीमुहाली गरेको देखिन्छ भने सामाजिक न्यायको दृष्टिबाट प्रभावकारी रूपमा कुनै पनि प्रकारको काम अगाडि बढाएको स्पष्ट रूपमा देखिँदैन। 

अर्कोतिर, सरकार वा जिम्मेवार निकायले स्रोत प्रदान गर्ने निकाय वा सरोकारवालाका मापदण्ड नै उचित तवरमा पूरा गर्न नसकिरहेको समेत देखिन्छ। यी दुवै समस्याको दिगो र प्रभावकारी समाधानका लागि पनि सामाजिक न्यायसहितको जलवायु न्याय आवश्यक छ।


न्यायपूर्ण जलवायु कार्यका आधार

दिगो उत्थानशीलता र सामाजिक न्यायलाई एउटै ढाँचामा अघि बढाउन केही आधारभूत पक्ष आवश्यक छन्।

पहिलो, जलवायु जोखिमसम्बन्धी तथ्याङ्क लिङ्ग, जातीयता, आय, अपाङ्गता र स्थानअनुसार छुट्याएर विश्लेषण गर्नुपर्छ, ताकि बढी जोखिममा रहेका समूह पहिचान हुनुका साथै उनीहरूको सहभागिता तथा संलग्नतालाई सुनिश्चित गर्न सकियोस्।


दोस्रो, योजना तथा बजेट निर्माणमा प्रभावित समुदायको सहभागिता औपचारिकता मात्र नभई निर्णयलाई असर पार्ने वास्तविक अधिकार बन्नुपर्छ।

तेस्रो, जलवायु वित्त र सार्वजनिक स्रोतको वितरण पारदर्शी, जवाफदेही र आवश्यकतामा आधारित हुनुपर्छ।

चौथो, अनुकूलनका उपायले जीविका, स्वास्थ्य, शिक्षा र समान अवसरलाई सँगसँगै सम्बोधन गर्नुपर्छ।

पाँचौँ, जलवायु परिवर्तनमा योगदान कम भएका र क्षति बढी भोगेका समुदायको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एकीकृत, संगठित र रणनीतिक पैरवी आवश्यक छ। अर्कोतिर, जलवायु परिवर्तनको क्षति बढी भोगेका देशहरूबीच समेत रणनीतिक साझेदारी तथा व्यवस्थित संरचनासहितको सहकार्य आवश्यक छ।


निष्कर्ष

दिगो उत्थानशीलता, सामाजिक न्याय र जलवायु न्याय अलग–अलग लक्ष्य होइनन्स एकअर्कालाई बलियो बनाउने परस्पर सम्बन्धित आधार हुन्। सामाजिक असमानतालाई बेवास्ता गर्ने उत्थानशीलता केहीका लागि मात्रै काम गर्छ। 

समुदायको सहभागिता र न्यायोचित स्रोत वितरणबिनाको जलवायु नीति दीर्घकालीन रूपमा सफल हुँदैन। त्यसैले जलवायु सङ्कटको समाधान प्रविधि र पूर्वाधारमा मात्र खोज्नु पर्याप्त छैन। अधिकारको सम्मान, जिम्मेवारीको न्यायोचित बाँडफाँट, स्थानीय ज्ञानको कदर र सबैभन्दा बढी प्रभावित समुदायलाई निर्णयको केन्द्रमा राख्नु आवश्यक छ।

जलवायु परिवर्तनबाट सुरक्षित भविष्य निर्माण गर्ने प्रश्न अन्ततः कति संरचना बने भन्नेमा मात्र निर्भर हुँदैन ती संरचनाले कसलाई सुरक्षित बनाउँछन् र कसलाई पछाडि छाड्छन् भन्नेमा पनि निर्भर हुन्छ। सबैको मर्यादा, सहभागिता र न्यायलाई सुनिश्चित गर्न सकेमा मात्र उत्थानशीलता दिगो बन्नसक्छ।


लेखक नेपाली अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिका अध्येता, दलित मानवअधिकारकर्मी तथा अभियन्ता साथै, सुशासन, नीति पैरवी, विकास योजना तथा समावेशी विषयका विज्ञ हुन्।

होल्डिङ सेन्टरमा अझै २ सय ५० जनाले आश्रय लिदैं

 


रसुवा, भोटेकोशी बाढीपछि रसुवाका विभिन्न होल्डिङ सेन्टरमा अझै २ सय ५० जनाले आश्रय लिइरहेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिकाका पाँच र गोसाइँकुण्ड गाउँपालिकाका दुई होल्डिङ सेन्टरमा उनीहरू बसिरहेका छन्।


उत्तरगयाको सिड्स भवनमा ४७, मीभसेन आविमा ३०, गणेश आविमा २५ र नीलकण्ठ माविमा ७७ जना छन्। त्यस्तै, गोसाइँकुण्डको कोमिन स्यामेवाङफेल माविमा ४० र लिङलिङ आविमा ३१ जना आश्रय लिइरहेका छन्।


होल्डिङ सेन्टरमा रहेका मध्ये १ सय २९ महिला, १ सय ९ बालबालिका, १९ ज्येष्ठ नागरिक, दुई सुत्केरी, दुई गर्भवती र एक जना अपाङ्गता भएका व्यक्ति छन्।


कार्यालयका अनुसार भोटेकोशी बाढीपछि रसुवाका १ हजार ६ सय ७४ जना बेपत्ता छन्। अन्य जिल्लाबाट रसुवा आएका १ हजार ८ सय ४० जना र ३ सय ६६ जना विदेशी पर्यटकसमेत हराइरहेका छन्। बाढीपछि रसुवामा २ सय ३६ जनाको शव फेला परेको छ।


यस्तै, काठमाडौंको मुस्ताङ गुम्बामा २ सय ४१ र स्वयम्भूस्थित नेपाल बुद्ध धर्म सेवा सङ्घको भवनमा १ सय जना प्रभावितले आश्रय लिइरहेका छन्। विभिन्न स्थानमा रहेका प्रभावितको संख्या ७ सय ७५ जना रहेको जनाइएको छ।


रसुवामा ६१ जना बालबालिका बाबुआमाविहीन



रसुवा, बाढीका कारण अभिभावक बेपत्ता भएपछि रसुवामा ६१ जना बालबालिका बाबुआमाविहीन भएका छन् । यस्तै, २ सय ६८ जना बालबालिकाले आफ्ना एक जना अभिभावक गुमाएका छन् ।

जिल्ला शिक्षा समन्वय इकाइका सूचना अधिकारी जीवन दाहालका अनुसार बाढीका कारण बालबालिकाको पारिवारिक संरक्षणमा समेत असर परेको छ । अभिभावक गुमाएका तथा बेपत्ता भएका बालबालिकाको अवस्था पहिचान गरी उनीहरूको संरक्षण र आवश्यक सहयोगमा ध्यान दिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

बाढी प्रभावित केही बालबालिकाले आधारभूत राहतसमेत प्राप्त गर्न नसकेको दाहालले बताउनुभयो । राहतबाट वञ्चित बालबालिकाको खोजी गरी उनीहरूको आवश्यकता पहिचान गरेर आवश्यक राहत तथा सहयोगको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

दाहालका अनुसार अभिभावकविहीन तथा अभिभावक गुमाएका बालबालिकाको शिक्षा, संरक्षण र आधारभूत आवश्यकताका विषयमा सम्बन्धित निकायले थप ध्यान दिन आवश्यक छ ।

२० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी

 


रसुवा, गत भदौ १० गते लेन्देहुँदै भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ । दाबी फछ्र्योटलाई सहज र छिटो बनाउन नेपाल बीमा प्राधिकरणले रसुवा बाढीसम्बन्धी संक्षिप्त भुक्तानी कार्यविधि लागू गरेको छ ।

प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ लागू गर्दै बाढीबाट प्रभावित बीमितलाई क्षतिको प्रमाणका आधारमा छिटो दाबी भुक्तानी गर्ने व्यवस्था गरेको हो ।

कार्यविधिले सानो रकमको दाबीमा सर्भेयर नियुक्त गर्नुपर्ने व्यवस्था हटाउनुका साथै अनुमानित दायित्वको आधासम्म रकम अग्रिम रूपमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

कार्यविधिअनुसार पाँच लाख रुपैयाँसम्मको दाबीमा सर्भेयर नियुक्त नगरी बीमा कम्पनीले आफ्नै कर्मचारीमार्फत स्थलगत निरीक्षण र क्षति मूल्यांकन गरी दाबी फछ्र्योट गर्न सक्नेछन् । तर दाबी सरल प्रकृतिको, प्राविधिक जटिलता नभएको र क्षतिको पर्याप्त प्रमाण उपलब्ध भएको हुनुपर्नेछ ।

त्यस्तै, बीमा कम्पनीले अनुमानित दायित्व निर्धारण गरेपछि त्यसको ५० प्रतिशतसम्म रकम अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी दिइएको रकम अन्तिम दाबी फछ्र्योट गर्दा समायोजन गरिनेछ ।

बाढीका कारण प्रभावित बीमितले दाबीको सूचना दिन ढिला भएको आधारमा मात्रै बीमा कम्पनीले दाबी अस्वीकार गर्न पाउने छैनन् । विशेष परिस्थितिका कारण तोकिएको समयमा सूचना दिन नसकेका बीमितको दाबीलाई समेत उपलब्ध प्रमाणका आधारमा प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था गरिएको छ ।

बाढीका कारण बीमा दाबीसम्बन्धी भौतिक कागजात नष्ट भएको अवस्थामा पनि वैकल्पिक प्रमाणका आधारमा दाबी प्रक्रिया अघि बढाउन सकिनेछ । क्षति हुनुअघिका फोटो तथा भिडियो, बैंक भ्यालुएसन प्रतिवेदन, कर चुक्ता विवरण, सरकारी अभिलेख, अडिटेड ब्यालेन्ससिट तथा अन्य डिजिटल प्रमाणलाई आधार बनाउन सकिने व्यवस्था कार्यविधिले गरेको छ ।

बेपत्ता व्यक्तिको दाबीमा सहज व्यवस्था

बाढीमा परी बेपत्ता भएका व्यक्तिको हकमा समेत दाबी भुक्तानीको बाटो सहज बनाइएको छ । अधिकारप्राप्त निकायको सिफारिसबाट व्यक्ति मृत्यु भएको यकिन हुने अवस्था भएमा हकवालाबाट स्वघोषणा लिएर बीमा दाबी भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

यसले बाढीमा परी बेपत्ता भएका व्यक्तिको जीवन बीमालगायतका दाबी फछ्र्योटमा देखिन सक्ने प्रक्रियागत जटिलता घटाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, बाढीले सवारीसाधन बगाएर पूर्ण क्षति भएको यकिन भएमा पनि अग्रिम भुक्तानीको व्यवस्था गरिएको छ । दर्ता खारेजीसम्बन्धी आवश्यक प्रमाण पेश भएपछि बाँकी दाबी रकमसमेत तोकिएको समयभित्र फछ्र्योट गर्नुपर्ने व्यवस्था गरिएको छ ।

दाबी अस्वीकार गरे कारण खुलाउनुपर्ने

बीमा कम्पनीले कुनै दाबी अस्वीकार गर्नुपर्ने अवस्था आएमा बीमितलाई त्यसको लिखित कारण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । यसले दाबी फछ्र्योट प्रक्रियालाई पारदर्शी बनाउने प्राधिकरणको अपेक्षा छ ।

बाढीका कारण आयातको क्रममा रहेका, भन्सार यार्डमा रहेका वा यातायात व्यवस्था कार्यालयमा दर्ता हुन बाँकी सवारीसाधनको हकमा पनि आवश्यक अभिलेख र प्रमाणका आधारमा दाबी फछ्र्योट गर्न सकिने व्यवस्था गरिएको छ ।

तर दाबी प्रक्रिया सहज बनाइए पनि गलत वा झुट्टा विवरण दिएर दाबी भुक्तानी लिनेलाई भने कारबाही हुने प्राधिकरणले जनाएको छ ।

गलत विवरणका आधारमा भुक्तानी लिएको प्रमाणित भएमा प्रचलित कानूनअनुसार कारबाही गर्नुका साथै भुक्तानी भएको रकमसमेत फिर्ता असुल गर्न सकिने व्यवस्था गरिएको छ ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा जलविद्युत् आयोजना, सवारीसाधन, व्यापारिक मौज्दात, घर तथा अन्य सम्पत्तिमा क्षति पुगेको छ । यसबाट परेको २० अर्ब ९८ करोड रुपैयाँको बीमा दाबीलाई समयमै फछ्र्योट गर्न नयाँ कार्यविधिले बीमित, बीमा कम्पनी र पुनर्बीमा कम्पनीबीचको प्रक्रियालाई समेत सरल बनाउने लक्ष्य राखेको छ ।

प्रहरी सहायक निरीक्षक सहित २५ जना प्रहरी अझै बेपत्ता

 

रसुवा, भोटेकोशीमा गएको बाढीले रसुवाका विभिन्न प्रहरी चौकीहरू बगाउँदा इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक अझै बेपत्ता हुनुहुन्छ । बाढीमा परेका २५ जना प्रहरी कर्मचारी अझै बेपत्ता रहेकै अवस्थामा केहीको भने शव फेलापरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता डिल्लीराज सापकोटाका अनुसार बाढीमा बगेका टिमुरे इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामहरि खड्का, प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्ट र बेत्रावती प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक रामकाजी पौडेलको शव फेला परेको हो ।

बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती र अस्थायी प्रहरी पोष्ट मैलुङमा ठूलो क्षति पुगेको छ । बाढीले प्रहरी चौकी र भौतिक संरचनाको नामोनिसान छैन, केही क्षतविक्षत भएका छन् ।

प्रहरी वरिष्ठ हवल्दार राजु तामाङका अनुसार बिहान ८:४५ बजेतिर स्याफ्रुबेँसी बजारमा कन्टेनर डिब्बाहरूको लाइन मिलाउने र इन्ट्री गर्ने काम भइरहेको अवस्थामा बाढीको त्यो त्रासदीपूर्ण भएको थियो । “बाढीले बजार डुबाउँदै गर्दा म छालमा परेको थिएँ । पानीको तीव्र बहावले मलाई निकै माथि हुत्याइदियो । 

करिब २–३ घण्टापछि होस् आउँदा म बजारभन्दा निकै टाढा पुगिसकेका थिएँ,” उहाँले त्यस दिनको घटना सम्झँदै भन्नुभयो, “ब्युँझिएर हेर्दा न त आफू कार्यरत प्रहरी चौकी थियो, न स्याफ्रुबेँसी बजार नै बाँकी थियो । सोही चौकीका अर्का घाइते प्रहरी जवान दिपेश भण्डारीले पनि सङ्घर्ष गर्दै कालको मुखबाट ज्यान जोगाउन सफल भएका थिए ।”

अस्थायी प्रहरी पोष्ट मैलुङमा कार्यरत प्रहरी हवल्दार रोशन विष्टले बाढी आउँदै गरेको खबर पाउनेबित्तिकै जलविद्युत् आयोजनाका कर्मचारीलाई सुरक्षित रहन खबर गर्न दौडिएको बताउनुभयो । तर, खबर गर्दागर्दै करिब ५ सय मिटर माथिबाट आएको बाढीको लेदो र छालले उनीहरूलाई बगाएको उनले बताए । आफूले विभिन्न आठ ठाउँमा ओत लाग्दै र हिलोमा सङ्घर्ष गर्दै भाग्यवश ज्यान जोगाएको बताए । 

सोही पोष्टका प्रहरी सहायक हवल्दार दुर्गाबहादुर मगर उकालोतिर दौडिएर एउटा सुरक्षित स्थानमा अड्किएर बच्न सफल भए । टिमुरेमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सन्तबहादुर थिङले त्यो दिन संझे  “हामी ड्युटीमै थियौँ । एक्कासी यति ठूलो बाढी आयो कि त्यो जमिनबाट नभई आकाशमै उडेर आएजस्तो देखिन्थ्यो ।” बाढी आएपछि ‘उकालो भागौँ, कतै ज्यान बच्छ कि’ भन्दै आफू र आफ्ना साथी प्रहरी हवल्दार ज्ञानबहादुर श्रेष्ठ पहाडतर्फ दौडिएर ज्यान जोगाउन सफल भएको उनले बताए ।

बाढीले अर्बौँको भौतिक क्षति पुर्‍याउनुका साथै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र नागरिक बेपत्ता पारेपछि यतिबेला सम्पूर्ण रसुवा जिल्ला शोकमा छ । बेपत्ता इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षकलगायत अन्य प्रहरी कर्मचारीको खोजी अझै तीव्र रूपमा जारी राखिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।