रसुवा, बाढीका कारण ध्वस्त रहेको रसुवा र नुवाकोटको सङ्गमस्थल उत्तरगया गाउँपालिका–५, बेत्रावतीस्थित ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदा उत्तरगया धामलाई धर्मगुरुहरूले पुनःस्थापना गर्ने प्रतिबद्धता जनाएका छन्।
मगंलबार कालाग्निरुद्र पीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईंको नेतृत्वमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका नायब बडागुरु प्राडा माधवप्रसाद भट्टराई, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतम, समितिका निवर्तमान कार्यकारी निर्देशक पं। आचार्य लक्ष्मण पन्थी, विदुषी डा। कान्ता भट्टराई, अरुणकुमार पाण्डे तथा प्रकाश ढोडारीलगायत नेपाली हिन्दु समाज अष्ट्रेलिया, प्रा उपरथी श्री सतिश बिक्रम शाह, केशव पुरी अध्यक्ष नेपाल तेक्वाण्डो संघ, समाजसेवीहरु शान्तिदेव पुरि, हरिहर ढुंङ्गाना, उमेस श्रेष्ठ, दिपेश शर्मा हुमागाई, र हरिप्रसाद हुमागाईको टोली उत्तरगया धाममा आएको थियो।
सो अवसरमा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदा रहेको उत्तरगया धामको पुनःस्थापना गर्ने प्रतिबद्धता जनाएका धर्मगुरुहरूप्रति आभार व्यक्त गरे। उत्तरगया क्षेत्रमा आएर वर्षैपिच्छे हजारौँ भक्तजनहरूले परलोक भएका आफ्ना आफन्त तथा बुबाआमाको नाममा श्राद्ध, दान र तर्पण गर्ने गर्दछन्। तप्तनदी अर्थात् उत्तरगया क्षेत्रमा गई श्राद्ध गरेमा बीस पुस्ता अघिका पितृहरू मोक्ष प्राप्त भई स्वर्ग जाने जनविश्वास रहिआएको छ। सोही कारण पनि टाढा–टाढाबाट भक्तजनहरू यहाँ आएर श्राद्ध गर्ने चलन छ।
भारतको उत्तरगया जान नसकेका श्रद्धालु भक्तजनहरू नेपालको यही ठाउँमा आएर श्राद्ध गर्छन्। स्कन्द पुराणको हिमवत्खण्डमा उल्लेख भए अनुसार उत्तरगया क्षेत्रमा त्रिशूली नदी र देवी गङ्गा नदी बगेकोले पवित्र पानी भएको फलाखु र त्रिशूली नदी मिसिने उक्त ठाउँलाई बेत्रागङ्गा भनिएको छ। बाढीले क्षति पुर्याएको पुरातात्विक महत्वको क्षेत्र भएकाले यसलाई नयाँ ढङ्गले विकास गर्नुपर्ने स्थानीय शशी डङ्गोल बताउँछन्।
इतिहासका महत्वपूर्ण घटनाक्रममा पनि उत्तरगयाको वर्णन गरिएको पाइन्छ। बालाचतुर्दशी, पौषे औँसी, रामनवमी, हरिबोधनी एकादशी, दशहरा, ऋषितर्पणी, कुशे औँसी आदि पर्वमा यहाँ भक्तजनहरूको भव्य मेला लाग्छ। टाढा–टाढाबाट भक्तजनहरू आएर पूजाअर्चना गर्छन्। नेपाल–तिब्बतबीच लडाइँ हुँदा वि।सं। १८४९ असोज १७ गते ‘बेत्रावती सन्धि’ भएको स्थल पनि यही क्षेत्र भएकाले यसको महत्व अझ बढेको छ।
पितृ मोक्षको कामना गर्दै तिथि छुटेकाहरूले पनि श्राद्ध तथा पूजाआजा गर्न हजारौँ तीर्थयात्रीहरू यस पवित्र धार्मिक तथा पर्यटकीय क्षेत्रमा आउने गरेका थिए। धार्मिक व्यक्तित्वहरूको भ्रमणले बाढीले ध्वस्त पारेका सरकारी संरचना, राममन्दिर तथा उत्तरगया धामको पुनस्र्थापना हुने विश्वास लिएको गाउँपालिका अध्यक्ष अर्यालले बताए।
धार्मिक तथा पर्यटकीय स्थल उत्तरगया धाम भदौ १० गते नेपाल–चीन सिमानाको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण खण्डहरमा परिणत भएको छ।