रसुवा, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नाट्य विभागद्वारा ‘विद्यालयसँग प्रतिष्ठान ः जनचेतनाका लागि नाट्य अभियान’ भन्ने मूल नारा सहित मिति २०८२ जेठ १४ गते बुधबार रसुवा जिल्ला कालिका गाउँपालिका - १ राम्चेस्थित श्री सेतिभूमे माविमा एक दिने अभिनय कार्यशाला आयोजना गरियो ।
नाट्य विधामा अभिरुचि राख्ने विद्यार्थीलाई अभिनयबारे आधारभूत ज्ञान र सीप सिकाउने उद्देश्यले आयोजित कार्यशालामा २५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । विभिन्न तहमा अध्ययनरत विद्यार्थीमध्येबाट नाट्य विधामा रुचि राख्नेलाई कार्यशालाका लागि छनोट भएका थिए ।
कार्यशालामा प्राज्ञ पुरु लम्साल र रङ्गकर्मी दिवाकर घिमिरेले नाट्य अभिनयका आधारभूत सिद्धान्त, ध्वनि, रस र संवादबारे प्रयोगात्मक प्रशिक्षण दिए ।
कार्यशालाका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठान, नाट्य विभाग प्रमुख प्राज्ञ हिसनबहादुर मगरले नाट्य र सङ्गीत विधा सिकाउन सरकारबाट विद्यालयमा विधागत शिक्षक व्यवस्था गराउन, त्यसअनुरुपको पाठ्यक्रम निर्माण गर्न र मौलिक नेपाली नाट्य सिद्धान्त विकास गर्न नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानको नाट्य विभागले अग्रसरता लिइरहेको बताए ।
नाट्यकलाले फरक–फरक स्थान र समयका मानिसका संस्कृतिलाई चिनाउने भएकाले नेपाली कला र रैथाने संस्कृतिको जगेर्ना गर्न विद्यालय तहमा यस्ता अभियान आवश्यक रहेको बताए ।
कार्यशाला समापनका अवसरमा श्री सेतिभूमे माध्यमिक विद्यालयका प्रधानाध्यापक शीला मगरले कुृनै औचारिक प्रशिक्षण बिनै पनि नाटक मञ्चन गरिसकेका सेतीमूमिका विद्यार्थी र शिक्षकवर्ग प्रशिक्षणबाट धेरै उत्साहित भएको अनुभव बताइन् ।
कार्यशालामा प्रशिक्षित विद्यार्थीलाई नाट्य विधामा थप अघि बढ्नलाई विद्यालयबाट निरन्तर सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु हुँदै प्रधानाध्यापक मगरले कार्यशाला सञ्चालन गर्न आफ्नो विद्यालयलाई चयन गरेकोमा प्रज्ञा–प्रतिष्ठानप्रति आभार प्रकट गरे ।
प्रमुख प्रशिक्षक प्राज्ञ पुरु लम्सालले एक दिने अभिनय कार्यशाला अभिनय विधामा लाग्न इच्छुक विद्यार्थीका लागि पहिलो अनि स्मरणीय पाइला हुने आशा व्यक्त गर्दै प्रशिक्षर्थीलाई शुभकामना दिए ।
No comments:
Post a Comment