'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

लेन्दे खोलाको बाढी : अलपत्र नेपालीलाई स्वदेश फर्काउने तयारी


रसुवा,  लेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ। उनीहरूलाई तातोपानी नाका हुँदै ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। पौडेलका अनुसार अलपत्र परेका १ हजार २०० जनालाई स्वदेश फर्काउनका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ।

केरुङमा अलपत्र नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ। अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक ९१ जना छन्। कामको सिलसिलामा त्यहाँ रहेका १ सय १७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ।

तिब्बतको केरुङ बजारमा रहेका नेपाली कामदारहरू सुरक्षित छन्। लेन्दे खोलामा बाढी आउदा केरुङमा न त वर्षात भयो न त कुनै बाढी नै थियो। ‘लेन्देमा बाढी आएको र मितेरी पुल बगेको थाहा पाएपछि घरतर्फ कसरी जाने चिन्ता बढेको थियो तर धेरैले यहाँ सुरक्षित भएर काम गरिरहेका छन्’, त्यहाँ कार्यरत कालिका गाउँपालिका–३ का होमनाथ ढकालले भने, ‘चालक तथा मेसवालासहित २ सय जना जति नेपाल फर्कने तयारीमा बसेका छन्।’

केरुङमा आयात निर्यात कम्पनी र होटलमा काम गर्ने धेरै नेपाली छन्। रसुवागढी नाकाबाट आउने साना सवारी साधन तथा मालबाहक कन्टेनरका चालकहरू बाढीका कारण केरुङतर्फ पुगेको बखत रोकिनु परेको थियो।

पीडामा लेन्देखोला बाढी पीडित

जेठ २४ गते नेपाल चीन सिमानाको रसुवागढी नाकामा लेन्दे खोलामा राति आएको बाढीले ठूलो धनजनको क्षति भएको छ। बाढीमा १८ जना बेपत्ता भएकामध्ये हालसम्म २ जनाको सनाखत भएको छ। बाढीमा परेकाहरूमध्ये लास तथा मानव अंग गरी १२ वटा भेटिएको छ।

गोसाइँकुण्ड गाउँपालिका–२ की स्थानीय समाजसेवी मिनाक्षी थापा मगर नियमित जस्तै ३ बजे ब्युँझने गर्थिन्। ‘बिहान पौने ३ बजे नै खोलाको आवाज आयो। खोला बढेको, डुंगा बगेको गड्याङ गुडुङ गरेको आवाज आयो र केहीबेरमा जमिन हल्लियो। भूकम्प हो कि जस्तो लाग्यो’, मगर भन्छिन् ‘उनले नजिकै प्रहरीमा खबर गरिन्। सबै सडकमा निस्के। रसुवागढी जलविद्युत् आयोजनामा साढे ३ बजे मात्र साइरन बज्यो। खोलाले गाडी बगाएको देखियो।’ बिहानको उज्यायो हुँदा नहुँदै उद्धार सुरु भयो। मगरले पीडित परिवारका लागि निजी तवरबाट राहत समेत बितरण गरेकी छिन् । 

उद्धारमा खट्ने प्रहरीले अरू धेरैलाई बचाए, उनीहरूले ज्यान गुमाए। ‘बिहान ४ बजे केरुङ बस्ने दिदीको फोन आयो। बिहान ६ बजेपछि फोन पनि चलेन। कतैबाट अपडेट लिन पाइएन। ६ दिनमा बत्ती बल्यो। गाउँ अन्धकार भयो। अझै नेट चलेको छैन। फोनमा पनि समस्या छ’, उनले भनिन्।

सुक्खा बन्दरगाहमा बस्ने गेट पाले लेम्बा तामाङले नेपाली तथा चिनियाँहरूलाई बाढीको संकेत गरेर ब्यँुझ्याएर बचाएका थिए। रसुवागढी लज विद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारी बाढी आउँदा घटनास्थलमै थिए। ‘जेठ २४ गते राति ३ बजे खोलाको आवाज आयो। हामी ३ः२० बजे त आत्तिएर भागेका थियौं। क्याम्पका रहेका सबै साथीलाई ब्युँझाएर भीरतिर चढेर बाँच्यौं। १० मिनेटमा पूरै क्याम्प खाली भयो। क्याम्पनजिकै घुँडाभन्दा माथि पानी आउने भइसकेको थियो’, अधिकारी भन्छन्, ‘सायद प्रि–फ्याव भवन भएकाले होला हल्लायो अनि आवाज पनि सुनियो। १ बजेतिर सेनाको हेलिकप्टरले हाम्रो २३ जनाको उद्धार गरेको दृश्य मेरो स्मरणमा रहेको छ।’

निर्माण सम्पन्न जलविद्युत आयोजनामा आठ दिन बित्दा पनि क्षति विवरण संकलन हुन सकेको छैन। आयोजनाको ड्याम साइड, भवन, टर्वाइन र गेटहरू भत्केको छ। क्याम्प पूरै ध्वस्त छ। ८ वटा हाइलक्स, माइक्रो गाडी पुरेको, प्रशारण लाइन, आयोजना तथा क्याम्पमा जाने बाटो क्षति भएको अधिकारीले बताए। सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार लिङलिङ नजिकैको ठूलो अवरोधले समस्या पारेको हो। १६ किमी मध्ये १५ किमी सडक अवरुद्ध हटाइएकाे छ।

बाढीले प्रभावित १६ किलोमिटर सडकको अधिकांश भागमा यातायात अवरुद्ध भएपछि स्थानीय प्रशासन, सडक विभाग, विभिन्न जलविद्युत् आयोजना तथा स्थानीय तहको सहकार्यमा मर्मत तीव्र गतिमा अघि बढेको हो। गल्छी–त्रिशूली–रसुवागढी सडक सुधार आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठले तिब्बततर्फबाट बग्ने लेन्देखोलामा आएको बाढीले सडकमा क्षति पुर्‍याएपछि आपत्कालीन मर्मत अभियान सुरु गरिएको जानकारी दिए। लिङलिङ भिरको बाहेक अधिकांश अवरोध हटाइएको छ। ‘सडक खुलेपछि जनजीवन सामान्य अवस्थामा फर्किने आशा छ’, उनले भने।

बेपत्ताको खोजी जारी

बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको रसुवामा पुनः बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले थप सतर्कता अपनाउन आम सर्वसाधारण र सरोकारवाला निकायलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विपद् सूचनाअनुसार असार २४ गते बिहान ३ः०० बजे चीनको तिब्बतबाट भोटेकोशी नदी हुँदै नेपाल प्रवेश गरेको हिम बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको तथ्य उल्लेख गरिएको छ। प्राकृतिक प्रकोपको जोखिम अझै कायम रहेको भन्दै जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट प्राप्त सूचनामा भोटेकोशी, त्रिशूली, लाङटाङ खोला, चिलिमे खोला लगायत जिल्लाभित्र बहने अन्य नदीरखोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना औंल्याइएको छ। यी क्षेत्र आसपास बसोबास गर्ने नागरिक, नदी किनारमा रहेका आयोजनाहरू, कार्यालयहरू तथा यातायात सञ्चालनमा संलग्न सरोकारवालाहरूलाई आवश्यक सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

प्रशासनले विशेष गरी नदी किनारमा बस्ती रहेका समुदायहरूलाई स्थानिय तह र सुरक्षाकर्मीहरूसँग समन्वय गरी सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरेको छ। साथै वर्षा तथा बाढीका कारण सडक मार्गहरूमा अवरोध वा क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राखी यात्राको क्रममा अत्यावश्यक सतर्कता अपनाउन समेत सुझाव दिइएको छ।

Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

🤝 Community

Join Forum Give Feedback
]]>
🌱 Soft Launch Phase
Share your feedback

Search This Blog

साताको चर्चित

साताको चर्चित

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music