ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, July 17, 2023

चार धाममध्येको एक धाम : उत्तरगया धाम

Betragangga Rudraganga TrishulGanga Rasuwa

लठ्ठी गाड्नुभयो जहाँ गिरिशले त्यो वेतको क्यै अघि ।
 हो त्यैँ मूल फुटी कुवा पनि बन्यो त्यो कूपबाटै छुटी ।। 
मीठो शब्द गरी बगिन् कलकली प्रख्यात वेत्रावती 
गङ्गा पुण्यदिने यिनैकन सबै भन्छन् फलाँखू नदी ।।४२
(अप्र. नीलकण्ठ महिमा, डा. सत्यराज थपलिया)

डा. सत्यराज थपलियाको अप्रकाशित कृति नीलकण्ठ महिमामा उल्लेख गरिएको माथिका चार लाइन कविताबाट बेत्रावतीको उत्पत्ति तथा पौराणिक महत्व झल्कन्छ । एक पौराणिक किंवदन्ती अनुसार  सत्ययुगमा देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको “हलाहल” नामक कालकूट विषले संसार दग्ध गराउन लाग्दा संसारको रक्षार्थ शिवजीले उक्त विष निल्नुभएको थियो । शिवजीले निल्नुभएको विष घाँटीमा अड्कन गएकोले उहाँलाई डाहा भएको र डाहा शान्त गर्न छट्पटिएर बेतको लौरो र त्रिशूल लिएर निस्कनु भएको शिवजी अहिले उत्तरगयाको नामले चिनिएको बेत्रावतीमा आइपुग्नु भएको थियो । पानी प्यास लाग्दा बेतको लौरीले खोपेर सबैलाई पुण्य दिने बेत्रावती नदीको उत्पत्ति भएको भन्ने परिचय माथिको कविताले दिएको छ । “त्यही पानी पिएर भगवान शिवले प्यास मेटाउनु भएको थियो” पौराणिक कथनमा उल्लेख गरिएको छ ।  


बेतको लौरीबाट उत्पत्ति भएकी “बेत्रावती” नदीका नामबाट नामाकरण हुन गएको यो स्थान रसुवा र नुवाकोट जिल्लामा पर्दछ । दुबै जिल्लामा बेत्रावतीको भू–भाग बराबर जस्तै भएपनि महत्वपूर्ण संरचना भने रसुवाका भूभागमा रहेका छन् । समुद्री सतहबाट ७१४ मी. उचाईमा अवस्थित बेत्रावती रसुवाको प्रवेशद्वार हो । पासाङल्हामु सडकखण्ड त्रिशूली बजारबाट ८ किमी उत्तर, फलाँखु, सलाँखु  र त्रिशूली नदीको त्रिसंगमको रूपमा रहेको बेत्रावती सबैको धार्मिक आस्थाको धरोहर बनेको छ । 

जल्ले गर्छ सभक्ति स्नान शिवको वेत्रावती घाटमा 

यद्वा यज्ञ र दान, ध्यान, जप वा श्राद्धादि गर्ला त्यहाँ ।

पुर्खा क्वै त्यसका अधोगति भए उद्धार होलान् अझ ।।

चढ्दै दिव्य विमानमा शिवपुरी जाला स्वयम् आखिर ।।४४।


रसुवा र नुवाकोटका अधिकाँश क्षेत्रका मानिस (हिन्दु) हरूको मृत्युपश्चात यही नदीमा देहदहन गर्ने गरिन्छ । यस पुण्यभूमिमा देहदहन, वितेका पुर्खाको नाममा श्रद्धा तथा यस क्षेत्रमा धार्मिक कार्य गर्दा मृत्युपर्यन्त मानिस सिधै कैलाशमा जान्छ भन्ने खालको भाव माथिको कविताबाट पाइन्छ । नेपाल तथा भारत र अन्य देशबाट विशेष गरी पौषे औंशीका दिन पुर्खाको नाममा श्रद्धा गर्नेको भीड लाग्ने गरेको छ । अधोगति (असामयिक निधन वा दुर्घटनामा परी मरेका) परेका पुर्खाको नाममा यहाँ पुगेर तर्पण मात्र दिए पनि उनीहरूको देह मोक्ष हुने जनविश्वास रही आएको छ ।  संसारका चार धाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियाली रहेको छ  । 

                                                           

यो देखी अति हर्ष भै ऋषिहरू सद्भक्ति ली चित्तमा ।

आए किन्नर, यक्ष, मानिस सबै वेत्रावती तीर्थमा ।।

न्वाए सज्जनले महेशजलमा आनन्द भै आखिर ।

“गङ्गा वेत्र” भनेर पूजन गरी फर्की गए ती घर ।।४३।।

 

पौराणिक कालदेखि नै यहाँ स्नान गर्न धेरैस्थानबाट मानिसहरू आउने गरेका थिए भन्ने खालको कथन माथिको हरफबाट पाउन सकिन्छ । जब शिवजीले बेतको छडी मार्फत् गंगाजी उत्पत्ति गर्नुभो, त्यति नै बेला ऋषिहरूसहित किन्नर, यक्ष र मानिसहरू स्नान गर्न आएका थिए । हुनसक्छ, त्यसैको प्रतिफल आज यहाँ धेरै ठाउँबाट नुहाउन र तर्पण दिनकै लागि भनेर वर्षेनी हज्जारौं मानिसहरू आउने गर्दछन् ।

 

बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ । ठूली एकदशी, गाइजात्रा, पौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ । त्यसबाहेक विभिन्न अवसरहरूमा पनि यहाँ जात्रा लाग्ने गरेको पाइन्छ । 

 

रसुवालाई प्रवेशद्वार बनाएर पूर्वतर्फ भोर्ले, सरमथली र यार्सा र पश्चिमतर्फ नुवाकोटका फिकुरी, मनकामना रसुवाका ठूलोगाउँ, डाँडागाउँ, हाकु तथा गतलाङतर्फका पर्यटकीय मार्गहरूको विकास गर्न सकिने सम्भावना रहेको छ । केही मात्रामा पर्यटन व्यवसायी र राज्यका निकायबाट यसका विषयमा केही प्रयास भइरहेका भने छन् ।

 

माथि उल्लेखित पौराणिक तथा धार्मिक महत्व र सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्न गरिएको बेत्रावती सम्झौता, यहाँको राम, लइमण, सीता, हनुमान, सलाँखु, फलाँखु र त्रिशूली नदीको त्रिसंगम बेत्रगंगा, उत्तरगया, पौषेऔंशी, एकादशी, गाइजात्रा तथा मात्रेसंक्रान्ति पर्वका गोरू जुधाइ जस्ता पर्व र उत्सवको प्रवद्र्धन गर्न सके पक्कै पनि बेत्रावती र यसका आसपासमा पर्यटन विकास भई जनताको आर्थिक सुधार तथा जीविकोपार्जनमा टेवा पुग्नेछ । 

सम्बन्धित भिडिय ोह रू 


                       



No comments:

Post a Comment