ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, January 14, 2026

अचार उत्पादन सम्बन्धी ७ दिने सीप मूलक तालिममा महिला


रसुवा,  उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा अचार उत्पादन सम्बन्धी ७ दिने सीप मूलक तालिम सम्पन्न भएको छ। 

उत्तरगया गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा मंसिर ४ गतेदेखि १० गतेसम्म सञ्चालन गरिएको तालिममा विभिन्न प्रकारका अचार उत्पादन गर्ने सीप सिकाइएको थियो।

प्रशिक्षक सिर्जना चापागाईं प्याकुरेलका अनुसार तालिममा टिमुर, अकबरे खुर्सानी, लप्सी, अमला, स्कुस, कागती, मसौरा, चिकेन, मुलालगायतका रैथाने सामग्रीबाट अचार बनाउने तरिका सिकाइयो।  डाँडागाउँका १४ जना महिलाहरू तालिममा सहभागी भएका थिए।

‘सधैं भान्सामा मात्र सीमित नभई आयआर्जनको बाटो पनि पहिल्याउनुपर्छ भन्ने उद्देश्य राखिएको थियो। तालिमले हामीलाई आत्मविश्वास बढाएको छ,’ प्रशिक्षणार्थी जानुका सापकोटा घिमिरेले भनिन्। यस्तै अर्की सहभागी अनिता गुरुङले ‘अचार उत्पादनको तालिम लिएपछि यसलाई निरन्तरता दिनेछौं’ बताइन्।

उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले गाउँपालिकाले यस्ता खाले सीपमूलक तालिमहरू नियमित रूपमा आयोजना गर्दै आएको  बताए । उनले भने, ‘सफलतापूर्वक सहभागी भई सीप प्राप्त गर्नेहरू बढिरहेका छन्, तालिम कहिले हुने भनेर सोध्नेहरूको संख्या पनि बढ्दो छ,’।


माघे सङ्क्रान्तिमा बेत्रावतीमा ११ हल गोरु जुधाइने


बेत्रावती,  रसुवा र नुवाकोटको सिमाना बेत्रावतीमा बिहीबार ११ हल गोरु जुधाइ प्रतियोगिता सञ्चालन हुने भएको छ।

हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुँदै आएको गोरु जुधाइ मेला यस वर्ष पनि निरन्तरता दिन लागिएको हो। स्थानीय गोसाईंकुण्ड युवा क्लवले वि।स। २०६२ देखि प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन वेत्रावतीमा गोरु जुधाइ उत्सव गर्दै आएको छ। 

प्रतियोगितामा भागलिनेको लागि ११ हल गोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ। प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको स्थानीय गणेश श्रेष्ठले बताए। 

रसुवाको कालिका, उत्तरगया गाउँपालिकाबा गाउँबाट र नुवाकोटका हर्कपुर, साहुगाउँ, तुप्चे, फिकुरी, गेर्खुलगायतका गाउँका किसानहरू आआफ्ना जुरे गोरु जुधाएर मनोरञ्जन तथा पुरस्कार प्राप्त गर्नका लागि वर्षभरी पौष्टिक खानेकुरा खुवाएर पालेका गोरु ल्याउदछन् ।  

गोरु जुधाइ अवलोकन गर्न आउने दर्शकका लागि पार्किङ स्थल, शौचालय तथा पिउने पानीको व्यवस्था गरिएको छ। साथै सस्तो मूल्यमा खाजा तथा खानाका लागि स्टलको समेत व्यवस्था गरिएको स्थानीय शसी डंगोल बताउछन् । 

नेपाल र तिब्बतबीच १८४९ साल असोज १७ गते सम्पन्न बेत्रावती सन्धिको खुसीयालीमा मनाइँदै आएको गोरु जुधाइ मेलाले ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। मेला अवलोकन गर्न रसुवासहित नुवाकोट, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर र ललितपुरलगायतका देशभरबाट हजारौँ दर्शक सहभागी हुने गरेका छन्।

कृषिमा आधुनिकीकरणसँगै हाते ट्याक्टरको प्रयोग बढ्दै जाँदा गाउँघरमा गोरु पाल्ने चलन घट्दै गएको कारण प्रतियोगिता सञ्चालनमा चुनौती देखिन थालेको क्लबले जनाएको छ।  

प्रतियोगितामा सहभागी गोरु धनीहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ भने जुधारु गोरुलाई भिटामिन तथा प्रतिस्पर्धामा सहभागी गोरुको बीमा समेत गरिएको आयोजकले जनाएको छ।


तिब्बती सेना र नेपाली सेनाबीच वेत्रावतीमा सन्धि भएपछि खुसियालीमा गोरु जुधाएर रमाइलो गर्ने चलन थालनी भएको स्रानीय बताउछन् । भोटतिब्बत र नेपालको युद्धका कारण युद्धग्रस्त क्षेत्रको अनुभव भोगेका यहाँका बासिन्दाले युद्ध समाप्त भएको खुसीयालीमा गोरु जुधाउएर उत्सव मनाउँन थालिएको हो भने  सन्धिको प्रसङ्गमा इतिहासमा लेखिए पनि कहिलेदेखि  गोरु जुधाउने उत्सव सुरु भएको कुराको एकीन अभिलेख चाहिँ अहिलेसम्म फेला परेको छैन। 

गोरु जुधाइ छिमेकी जिल्ला नुवाकोट र धादिङमा पनि हुने गर्दछ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा मामाघर जाँदा उनलाई मनोरञ्जन दिलाउन गोरु जुधाइ मेलाको सुरुवात गरिएको किम्बदन्ति रहेको छ । 

सिंह विसं १९७८ सालमा नुवाकोटको तारुकाको चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए । 

यही परम्परा अन्ततः वरपरको गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो । मेला अवलोकनका लागि काठमाडौँ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, चितवन लगायतका जिल्लाबाट सर्बसाधारण आउने गर्दछन ।



Sunday, January 11, 2026

प्रतिनिधिसभा निर्वाचन : रसुवाबाट नेकपा एमालेका दुईजना उम्मेदवार सिफारिस

रसुवा, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले रसुवाले दुई जनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेका निवर्तमान केन्द्रीय सदस्य तथा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल र नेकपा एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रेम तामाङको नाम सिफारिस भएको हो। 

गत साता भएको जिल्ला कमिटी बैठकमा १० जनाले उम्मेदवारका लागि दाबी प्रस्तुत गरे पनि सहमति नजुटेपछि बैठकले पार्टी पदाधिकारीलाई उम्मेदवारहरूबीच छलफल गरी थोरैभन्दा थोरै नाम सिफारिस गर्ने अख्तियारी दिएको थियो । सोही अनुसार गरिएको छलफलपछि दुईजनाको नाम सिफारिस गर्ने निर्णय गरिएको पार्टी  जिल्ला कमिटीका का बा अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए  । 

माधब प्रसाद अर्याल २ पटक केन्द्रीय सदस्य, २०५४ सालमा साविक लहरेपाैवा गाविस अध्यक्ष, २०६४ मा संविधानसभा सदस्यको लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार तथा २०७९ सालमा उत्तरगया गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए। प्रेम तामाङ २०६४ सालमा संविधानसभा सदस्य तथा २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। 

जिल्लाकाे विकास निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको र जनताप्रति उत्तरदायी नेतृत्व प्रदान गर्ने क्षमताका आधारमा दुवैजनाको नाम उम्मेदवारका रूपमा अघि सारिएको नेकपा एमाले रसुवाले जनाएको छ । 

Saturday, January 10, 2026

लाङटाङ खोला जलविद्युत आइतबारदेखि प्राविधिक परीक्षण हुने


रसुवा, गोसाईकुण्ड गाउँपालिका–५, स्याफ्रुबेशीमा मल्टी इनर्जी डेभलपमेन्ट प्रालिद्वारा निर्माणाधीन २० मेगावाट क्षमताको   लाङटाङ खोला जलविद्युत आयोजनामा आइतबारदेखि प्राविधिक परीक्षण कार्य सुरु हुने भएको छ।

आयोजनाको बाँधस्थलको सफल परीक्षणपछि बलुवा थिग्र्याउने पोखरी, सुरुङ, पेन्स्टक लगायत आयोजनाअन्तर्गत निर्माण भएका संरचना तथा उपकरणहरूको चरणबद्ध प्राविधिक परीक्षण पुस २७ गतेदेखि सुरु भई परीक्षण सम्पन्न नहुँदासम्म निरन्तर जारी रहने आयोजनाले जनाएको छ।

आयोजना निमित्त प्रमुख नारायण सुवेदीका अनुसार प्राविधिक परीक्षणका क्रममा बाँधस्थलमा रहेका गेट तथा विद्युतगृहका उपकरणहरू समय–समयमा खोल्ने र बन्द गर्ने कार्य गरिने भएकाले कहिलेकाहीँ एकैपटक ठूलो मात्रामा पानी छोड्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । यसका कारण बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रमा लाङटाङ खोलाको बहाव असामान्य रूपमा परिवर्तन हुन सक्ने भएकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आयोजना कार्यालयले आग्रह गरेको छ।

यस अवधिमा नदी क्षेत्रमा आवतजावत गर्ने, पौडी खेल्ने, माछा मार्ने, नुहाउने, लुगा धुने, बस्तुभाउ चराउने तथा नदीजन्य सामग्री उत्खननजस्ता गतिविधिहरू अत्यन्त जोखिमपूर्ण हुने भन्दै सर्वसाधारणलाई नदी क्षेत्रभित्र प्रवेश नगर्न तथा नगराउन अनुरोध गरिएको छ।

साथै, परीक्षण अवधिमा कुनै असामान्य अवस्था वा सम्भावित जोखिम देखिएमा तत्काल आयोजना कार्यालय वा नजिकको प्रहरी चौकीमा जानकारी गराउन आयोजनाले आग्रह गरेको छ। सूचनालाई बेवास्ता गरी कुनै दुर्घटना भएमा आयोजना जिम्मेवार नहुने स्पष्ट पारिएको छ। यो आयोजना २०७७ साल देखि सुरु भएको हो।

पृथ्वी जयन्तीकाे अवसरमा रसुवामा ५० जनाले गरे रक्तदान


रसुवा, पृथ्वी जयन्तीको अवसरमा उत्तरगया गाउँपालिकाद्वारा बेत्रावतीमा आयोजना भएकाे  खुला रक्तदान कार्यक्रममा ७ महिला सहित ५० जनाले रक्तदान गरेका छन् । 


नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याज सह आयोज रहेको कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन् । 


पहिलाे रक्तदाता गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याललाइ नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखाका अध्यक्ष रामशरण गजुरेलले ब्लड ब्याग हस्तान्तरण गरी सुरू भएकाे कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हाेमनाथ दाहाललगायत जनप्रतिनिधि तथा कर्मचारी र स्थानीयले रक्तदानमा भाग लिएका थिए । 



Saturday, January 3, 2026

श्री धैबुङ कालिका साना किसान सहकारी १४ लाख नाफामा


रसुवा, श्री धैबुङ कालिका साना किसान कृषि सहकारी सस्था लि.ले आ ब ०८१/०८२ मा १४ लाख ७८ हजार ५४९ रुपयाँ नाफा कमाएको छ । 

संस्थाको कुल लगानी ६ करोड १४ लाख ६८ हजार ४ सय रहेको भने कुल कारोवार ९ करोड १८ लाख ३० हजार ४६९ रुपैयाँ रहेको छ । सो काे जानकारी धैबुङ कालिका साना किसान कृषि सहकारी सस्था लि को १४ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनमा दिइएको हो । 


त्यसै गरी श्री धैबुङ कालिका साना किसान कृषि सहकारी सस्था लि को १४ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले हेमनाथ खतिवडालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।  उपाध्यक्ष नमराज न्यौपाने , सदस्यमा क्रमश विष्णुप्रसाद पौडेल , शान्ता तामाङ , रामकृष्ण पौडेल , सविना घिमिरे, पुर्णमाया थोकर, रामबहादुर तामाङ रहेका छन् ।


श्री धैबुङ कालिका साना किसान कृषि सहकारी संस्था लि को १४ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले हेमनाथ खतिवडालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । उपाध्यक्ष नमराज लामिछाने, सदस्यमा क्रमश विष्णुप्रसाद पौडेल, शान्ता तामाङ,  रामकृष्ण पौडेल , सविना घिमिरे, पुर्णमाया थोकर, रामबहादुर तामाङ रहेका छन् । 

लेखा समिति संयोजक शंकर प्रसाद न्यौपाने  सदस्य कमल बडाल र अप्सरा भट्ट रहेका छन् । सभाको  उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सभाको उद्घाटन गर्दै कृषि र पशुपालनबाट यहाँका किसानकाे समृद्धि सम्भावना रहेकाे बताउँदै बागमती प्रदेश सरकारले  पशुपालनका लागि अनुदान कार्यविधि तयार गर्न लागेकाे बताए । बिशेष अतिथि प्रदेशसभा सदस्य इन्द्र गोतामे,  कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, वडा अध्यक्ष फणिन्द्रप्रसाद न्याैपानेलगायतका जनप्रतिनिधिहरूले शुभकामना दिएका थिए ।


संस्थाका अध्यक्ष विष्णुप्रसाद पाैडेलकाे अध्यक्षतामा भएकाे सभा लेखा समिति संयाेजक विष्णुप्रसाद देवकाेटाले गरेका थिए । कार्यक्रममा प्रबन्धक फुलमाया गाेले, लेखा समिति सदस्य रामकृष्ण पाैडेल र अध्यक्ष विष्णुप्रसाद पाैडेलले प्रतिवेदन पेस गरेका थिए । 

सहभागी सेयर सदस्यहरूले प्रतिवेदन उपर टिप्पणी तथा सुझाव दिएका थिए । 



Friday, January 2, 2026

किसानकाे गोलभेडा फार्ममा लाङटाङ राष्ट्रिय निकुञ्जद्धारा फडानी


रसुवा, नौकुण्ड गाउँपालिका–५ लामाचेमा रहेको एक कृषि फर्ममा लगाइएको गोलभेडा खेतीमा ०८२ पुस १६ गते लाङटाङ राष्ट्रिय निकुञ्जले फडानी गरेको छ । 

राजन्य कृषि तथा पशुपन्छी फर्मका प्रोप्राइटर चुडामणि पौडेलले आफ्नै निजी बारीमा लगाइएको गोलभेडा खेती समेतकाे टनेल निकुञ्जले फडानी गरेको बताएका छन् । कुनै पूर्व सूचना नदिई खेती फडानी गरिएकाले आफू अन्यायमा परेकोले न्यायका लागि स्थानीय सरकार, प्रशासन र संचारमाध्यममा अनुराेध गरेकाे बताए ।


“पाकेर फल बेच्नसमेत पाइएन,” उनले भने, “करिब ३ सय मिटर टनेल र लटरम्म फुल फुल्न लागेको करिब ६ हजार गोलभेडाका बोटमा क्षति पुगेको छ ।” सार्वजनिक जग्गामा परेको भए आफूले खाली गरिदिने भए पनि एक पटक मौका समेत नपाएको पौडेलको भनाइ छ । पौडेलले करिब तीन वर्षदेखि सो स्थानमा फार्म खाेलेर  गोलभेडा खेती गर्दै आएको जानकारी दिए ।


यता, लाङटाङ राष्ट्रिय निकुञ्जले भने उक्त फर्मअन्तर्गतको केही जग्गा सार्वजनिक रहेको भन्दै कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको जनाएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार ३५ दिनको सूचना दिएर अतिक्रमण भएकाे जग्गा खाली गराउन भनेकाे बताए । 

कालिकास्थानमा जनप्रतिनिधि तथा वार्डेन र प्रमुख जिल्ला अधिकारी समेत सहभागी भएर १८ गते वार्डेन र स्थानीय जनप्रतिनिधिले स्थलगत अनुगमन गरी छानविन गर्ने छलफल भएपनि कार्यन्वयन नभएकाे पाैडेलले बताए । निकुञ्जका प्रमुख शाहलाइ स्थानीयले कृषि बालीमा क्षति भएकाेले क्षतिपुर्ति दिनुपर्ने बताए । गल्ती मानिसबाट भएकाे भए कानूनी दायरामा ल्याएर कारवाही गर्नुकाे साटेमा खेती र संरचनामा क्षति हुन नहुने स्थानीय बताउछन् । 

परम्परागत रूपमा बाउबाजेकै पालाबाट भोगचलन गर्दै आएको जग्गामा तरकारी खेती गर्दै आएकाे उनले केहीले गरिखाएकाे रिसले उजुरी गरेपछि फार्ममा क्षति गरेकाे उनकाे आरोप छ ।

नाैकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलानले जग्गा सम्बन्धि सीमा समस्या न्यायिक समितिमार्फत छलफल र समाधानको प्रक्रियामा रहेको बेला कानूनी शक्तिको दुरुपयोग गर्दै निकुञ्जले किसानको क्षति गर्नु दुखकाे कुरा भएकाे बताए । अनुमानित मूल्य करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएकाे पाैडेलले बताए ।

सार्वजनिक जग्गा मिचेकाे भए नीति नियम अनुसार छानविन गरी कारवाही हुनुपर्छ तर अन्दाधुन्ध किसानले लगायकाे बाली,लगानी तहसनहस हुँदा लाखौं किसानकाे मन राेएकाे अखिल नेपाल किसान महासंघ रसुवाका अध्यक्ष खिलनाथ पाैडेलले बताए । घटनाकाे उचित छानविन गरी दाेषीलाई कारबाही र किसानलाई उचित क्षतिपूर्तिको ब्यवस्था तत्काल हुनुपर्ने उनकाे माग छ ।



नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार सूचीमा रसुवाबाट पेम्बाछिरिङ


रसुवा,  नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार सूचीमा रसुवामा जिल्ला सभापति पेम्बा छिरिङ तामाङ परेका छन् ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत ११० जनाको नामावली निर्वाचन आयोगमा पेस गरेको सूचिमा उनकाे नाम समावेस  । सार्वजनिक सूची अनुसार जनजाति क्लस्टरमा पेम्बा छिरिङ तामाङको नाम समावेश गरिएको हो ।


Thursday, January 1, 2026

घट्टेखोलामा १ सय ८ धारा निर्माण गरिने


रसुवा,  जिल्लाको सदरमुकाम धुन्चे नजिकै रहेको घट्टेखोलामा १ सय ८ वटा धारा निर्माण गरिने भएको छ।

धुन्चे युवा समाजको पहलमा घट्टेखोलामा गोसाईद्वारसहित १ सय ८ वटा कलात्मक धारा निर्माण गरी मानव कल्याण तथा लोकहितका लागि प्रयोगमा ल्याउने योजना रहेको छ। यो कार्य ‘जलदान महादान’ जस्तै पवित्र पुण्यकार्य भएको र यसले उक्त क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सक्ने रसुवा पर्यटन तथा होटल व्यवसायी संघका अध्यक्ष विशाल घलेले बताए। 

रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार गोसाईकुण्ड शिरमा अवस्थित भगवान शिवको पाउ परेको पवित्र भूमिसम्म पुग्न नसक्ने श्रद्धालुहरूका लागि आफ्नै स्थानबाट सहयोग गर्न अपिल गरिएको छ।

मुक्तिनाथको संरचनाजस्तै बनाउने लक्ष्यसहित धुन्चेवासीहरू यो परियोजना सफल पार्न सबैको सहयोग प्राप्त हुनेमा विश्वस्त छन्। स्थानीय किम्बदन्तीअनुसार गोसाईबाबा यही स्थान हुँदै पानीको खोजीमा हिँडेका थिए र पहाड फोरेर पानी निकाल्दा दह बनेर बगेको पानीबाट १ सय ८ धारा निर्माण हुने विश्वास छ। कैलास दर्शनमा जाने तीर्थयात्रीहरूले समेत यहाँ स्नान गर्न सक्ने गरी संरचना तयार गरिने वेत्रावती निवासी दिल श्रेष्ठले बताए।


त्रिशूली नदीको उद्गमस्थल त्रिशूलधारा, गोसाईकुण्डलगायत १ सय ८ कुण्डबाट बगेर आएको पानी गोसाईकुण्डकै पाउ घट्टेखोलामा १ सय ८ कुण्ड निर्माण भएपछि यसको धार्मिक महत्त्व अझै बढ्ने रसुवा उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुन्दरलाल श्रेष्ठले बताए।

यस क्षेत्रको भ्रमण गर्दा बन्यजन्तु, चराचुरुङ्गी, पुतली, जडीबुटी, गुम्बा, धार्मिक स्थल, विभिन्न सांस्कृतिक भेषभूषा तथा ज्ञान–गुनका पक्षबारे जानकारी पाउन सकिने भएकाले सबै वर्गका मानिसका लागि यो क्षेत्र महत्वपूर्ण रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले बताए।

धर्म, संस्कार र संस्कृति हराउँदै गएको अवस्थामा धुन्चेवासीहरूले यस्तो पुण्यकार्यमा अग्रसरता देखाएकोमा आफूले पनि सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए।


सार्वजनिक सुनुवाइमा नाकादेखि बिस्थापित र भूमिहीनका गुनासा जनचासाे कम

 


रसुवा, जिल्ला प्रशासन कार्यालयकाे आयोजनामा कालिकास्थानमा भएको सार्वजनिक सुनुवाइमा ०७२ सालको भूकम्पबाट बिस्थापत भएकाहरुदेखि भूमिहीन, सुकुमवासी र रसुवागढीका नाकामा रहेका समस्याहरुका गुनासो उठान भएका छन् । 

जनचासाे कम भएकाेले नागरिककाे सहभागिता कम रहेकाे थियाे । स्थानीयकाे जनसहभागिता कम भएपछि सार्वजनिक सुनुवाइमा धेरै प्रस्नहरू भने थिएनन् । 



रसुवागढी नाका सञ्चालनमा

रसुवा, चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी झण्डै ६ महिनापछि सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आज बिहानदेखि नाका सञ्चालनमा आएको बताए। नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरेपश्चात् सवारीसाधन सञ्चालनमा आएको हो। 

उनका अनुसार पुलको भारवहन क्षमता ५५ टन बराबर रहेको छ। नाका खुलेपश्चात् चिनियाँ सामान आयातका लागि ८ वटा नेपाली कन्टेनर मितेरी पुल पार गरी केरुङतर्फ प्रस्थान गरिसकेका जनाउँदै सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले केही सवारीसाधन त्यसतर्फ जानका लागि तयारी अवस्थामा रहेका बताए। 

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी सञ्चालनमा आएको छ । गत असार २४ गते लेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त मितेरी पुल निर्माण पछि आजबाट नाका खुलेको हो । 

गत आइतबारबाट सवारी चालकका लागि आवतजावत खुला गरिएको भए तापनि आयात(निर्यात भने सुरु भएको थिएन।  अब एकतर्फी पालैपालो आवागमन प्रणाली कडाइका साथ लागू गरिने चिनियाँ पक्षले जनाएको छ। जी२१६ सीमा क्षेत्रमा सडक कालोपत्रेको काम भइरहेकाले जनवरी १ देखि जनवरी ८ सम्म आधा मार्ग मात्र सीमापार आवागमनका लागि प्रयोग हुनेछ।

यस अवधिमा चिनियाँ समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आवागमन खुला रहनेछ भने बाँकी समय दुवैतर्फबाट आवागमन नियन्त्रण गरिनेछ। जनवरीपछि चिनियाँ समयअनुसार बिहान ९ देखि १ बजेसम्म ९सामान्य भन्सार समयभन्दा १ घण्टा बढी० सवारीसाधन प्रवेशका लागि खुला रहनेछ। दिउँसो २ देखि ७ बजेसम्म अस्थायी रूपमा सञ्चालन गरिनेछ।

२०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल बाढीले बगाएसँगै दुई देशबीचको सडक सञ्जाल टुटेको थियो। २०७७ सालमा आएको बाढीले उक्त पुलमा क्षति गरेपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको थियो। चीनबाट बग्ने लेन्दे खोलामा बाढीले बर्खाको बेलामा क्षति गर्ने गरेको छ। जसको कारण दुई देशबीचको सडक सञ्जाल टुट्ने गरेको छ। 

उक्त पुल चिनियाँ लगानीमा निर्माण भएको थियो। जीर्ण अवस्थामा रहेको पुल २०७२ सालमा आएको भूकम्पले थप क्षति गरेपछि पुलको पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एन्ड ब्रिजले गरेको थियो। व्यापारिक कारोबार बढ्दै गएपछि पहिले भएको भन्दा ५ मिटर उत्तरपूर्वमा पुल निर्माण गरिएको थियो।

रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । यहाँबाट तयारी कपडा, स्याउ, जुत्ता चप्पल, झोला, मोटरको ब्याट्री, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ । 

नेपालबाट चीनतर्फ पस्मिना, गलैँचा, बाँसको मुढा, अम्रिसो, मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सी क्यान्डी, चकलेट, सक्खर, चुइंगमलगायत वस्तु निर्यात हुँदै आएको थियो ।

०७१ मंसिर १५ गते यो नाका औपचारिक रुपमा खुल्ला भएकोमा ०७२ वैशाख १२ को विनाशकारी भूकम्प पछिको पहिरोका कारण अवरुद्ध भएको थियो । 

केरुङबाट सिगात्से ५ सय ४८ किमी टाढा छ । सिगात्सेसम्म रेल आएको र  रसुवागढी नाकासम्म रेलमार्गले जोड्ने चीन सरकारको योजना रहेको छ ।






Wednesday, December 31, 2025

सामुदायिक कुकुरलाई बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान



रसुवा, गोसाइँकुण्ड गाउँपालिका पशु सेवा शाखाको आयोजनामा तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर, बनेपाको प्राविधिक सहयोगमा निःशुल्क कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ।

१३ गतेसम्म सञ्चालन गरिएको उक्त अभियान गाउँपालिका २, ५ र ६ वडालाई समेटेर स्याफ्रुबेशी , टिमुरे र सदरमुकाम धुन्चे स्थित बालमन्दिर क्षेत्रमा सञ्चालन गरिएको थियो । 

पशुसेवा शाखाका नायव पशु स्वास्थ्य प्राविधिक राजेन्द्र न्यौपानेका अनुसार अभियान अवधिमा कुल १५२ वटा कुकुरको बन्ध्याकरण गरिएको छ भने १८० वटा कुकुरलाई रेबिजविरुद्ध खोप प्रदान गरिएको हो। वडागत विवरणअनुसार वडा नं २ टिमुरेमा २३ वटा, वडा नं ५ स्याफ्रुमा ५२ वटा तथा वडा नं ६ धुन्चे बाल मन्दिर क्षेत्रमा ७७ वटा सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न भएको छ।  

पशुसेवा शाखाका प्रमुख अनोजप्रसाद बास्कोटाका अनुसार यस अभियानले आवारा कुकुरको संख्या नियन्त्रण, रेबिज रोगको जोखिम न्यूनीकरण तथा समग्र जनस्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। उहाँका अनुसार बिहान, बेलुकी र रातको समयमा सामुदायिक कुकुरहरू बढी आक्रामक हुने, रोगी वा अपाङ्ग भएका घरपालुवा कुकुरलाई कतिपयले सडकमा छाड्ने प्रवृत्ति तथा अनियन्त्रित प्रजननका कारण पछिल्ला वर्षहरूमा सामुदायिक कुकुरको संख्या बढ्दै गएको छ। 



कार्यसम्पादन मूल्यांकनकाे नतिजा : जिल्ला प्रशासन कार्यालय रसुवा देशभरमा दोस्रो स्थानमा


रसुवा, गृह मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय रसुवाले देशभर कै दोस्रो स्थानमा परेकाे छ । 

मन्त्रालयले सार्वजनिक गरेको मूल्यांकन नतिजाअनुसार कुल २९.२५ मध्ये २८.६८७५ अंक प्राप्त गर्दै रसुवा  जिल्ला प्रशासन कार्यालय नेपालकै दोस्रो स्थानमा परेको हो। मूल्यांकनमा पहिलो स्थान मनाङ र तेस्रो स्थानमा तेह्रथुम जिल्ला प्रशासन कार्यालय परेको छ।

हाल जिल्ला प्रशासन कार्यालय रसुवाको नेतृत्व प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले गरिरहेका छन्। गृह मन्त्रालयमा कार्यरत उपसचिव पन्थीले गत भदौ महिनादेखि रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन्। 

हिमाली तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने रसुवाले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय मध्ये दोस्रो स्थान हासिल गर्नु उल्लेखनीय उपलब्धि भएको सरोकारवालाहरूले बताएका छन् । सीमित स्रोत साधनका बाबजुत सेवा प्रवाह, प्रशासनिक अनुशासन, सुरक्षा व्यवस्थापन, अन्तरनिकाय समन्वय तथा सार्वजनिक सेवाको प्रभावकारितामा रसुवा प्रशासन कार्यालयले देखाएको सक्रियता मूल्यांकनमा  भएको जनाइएको छ।


Sunday, December 28, 2025

रसुवामा ४१ हजार ४७१ जना मतदाता अन्यमा १ जना


रसुवा, जिल्लाभर २ हजार १२ जना मतदाता थपिएर ४१ हजार ४ सय मतदाता रहेका छन् । 

जिल्ला निर्वाचन कार्यालय रसुवाले अद्यावधीक गरेकाे मतदाता नामावली अनुसार जम्मा मतदाता ४१ हजार ४सय ७१ जना रहेकाे जिल्ला निर्वाचन कार्यालय  रसुवाका सूचना अधिकारी महेश आचार्यले बताए । 

रसुवाका कुल मतदातामा  पुरुष २११४१, महिला २०३२९ र अन्य १ जना रहेका छन्। यस अघि ४० हजार ५ सय मतदाता थिए । 

प्रतिनिधि सभा निर्वाचन ०७४ मा मतदाता ३२,३२२ थिए भने ०७९ मा ३९,४५९ जना मतदाता रहेका थिए । 

कार्यालयका अनुसार कालिका गाउँपालिकामा ९,३१६ जना, उत्तरगया गाउँपालिकामा ८,७९३ जना, आमाछोदिङमो गाउँपालिकामा ५,५४७ जना,नौकुण्ड गाउँपालिकामा ११,४०६ जना र गोसाइँकुण्ड गाउँपालिकामा ६,४०९ जना मतदाता रहेका छन् ।  ०७८ काे जनगणना अनुसार जनसंख्या ४५ हजार ५ सय ५४ रहेकाे छ । 

मितेरी पुलको पुनर्निर्माण सम्पन्न भई नाका सञ्चालनमा


रसुवा, नेपाल चीन सिमाना रसुवागढी स्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्न भई नाका सञ्चालनमा आएसँगै आइतबार ८० जना नेपाली केरुङ पुगेका छन् भने ४ जना चिनियाँ नागरिक नेपाल भित्रिएका छन्।

सीमापार ढुवानीमा संलग्न रसुवाका प्रवेश पास प्राप्त सवारी चालक तथा केरुङमा व्यापार गर्दै आएका जिल्लाबासी ८० जना नाका हुँदै केरुङ गएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए। उनका अनुसार चार जना चिनियाँ नागरिक भने नेपाल प्रवेश गरेका छन्। गत असार २४ मा ल्हेन्देखोलामा उर्लिएको बाढीले नेपाल–चीन मैत्रीको प्रतीक मितेरी पुल बगाए पछि  चीन सरकारले बेलिब्रिज निर्माण गरेर करिब ६ महिनापछि नाका सञ्चालनमा आएकाे हाे ।  

रसुवागढीमा निर्माण गरिएको बेलीब्रिज आइतबारदेखि सञ्चालनमा आएको हो। गत असार २४ गते चीनतर्फको लेन्देखोलामा आएको भीषण बाढीले नेपाल–चीन व्यापारिक मार्गअन्तर्गत रहेको मितेरी पुल बगाएपछि दुई देश बीचको आवागमन तथा व्यापार साढे पाँच महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको थियो। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त स्थानमा बेलीब्रिज निर्माण सम्पन्न गरिएको हो।

हालका लागि सीमापार ढुवानीमा संलग्न रसुवाका प्रवेश पास प्राप्त सवारी चालक तथा केरुङमा व्यापार गर्दै आएका जिल्लाबासीलाई मात्र चीनतर्फ प्रवेश अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए।

नाका सञ्चालनमा आए पनि तत्काल सबै प्रकारका सवारी साधन सञ्चालन हुने छैनन्। चिनियाँ पक्षबाट प्राप्त जानकारीअनुसार जनवरी १, २०२६ देखि सवारी आवागमन सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए।

रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । यहाँबाट तयारी कपडा, स्याउ, जुत्ता चप्पल, झोला, मोटरको ब्याट्री, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ । 

नेपालबाट चीनतर्फ पस्मिना, गलैँचा, बाँसको मुढा, अम्रिसो, मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सी क्यान्डी, चकलेट, सक्खर, चुइंगमलगायत वस्तु निर्यात हुँदै आएको थियो ।

०७१ मंसिर १५ गते यो नाका औपचारिक रुपमा खुल्ला भएकोमा ०७२ वैशाख १२ को विनाशकारी भूकम्प पछिको पहिरोका कारण अवरुद्ध भएकाे थियो । 

केरुङबाट सिगात्से ५ सय ४८ किमी टाढा छ । सिगात्सेसम्म रेल आएको र  रसुवागढी नाकासम्म रेलमार्गले जोड्ने चीन सरकारको योजना छ । 

विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण


रसुवा, क्रियाशील सामाजिक सेवा तथा साहित्यिक सङ्गठन नेपाल (आस्लुन) ले कालिका गाउँपालिका–४ धुसेनी स्थित श्री सेतीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।


“न्यानो माया–२०८२” कार्यक्रमअन्तर्गत विद्यालयका ४७ जना छात्र–छात्रालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री सहयोग गरिएको संस्थाका कोषाध्यक्ष सुबास देवकोटाले जानकारी दिए । आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका विद्यार्थीहरूलाई लक्षित गरी उक्त सहयोग प्रदान गरिएको हो उनले  भने ।



कार्यक्रममा सहयोग सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए । विद्यालय पक्षले यस्ता सहयोग कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढ्नुका साथै पठन–पाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।


वर्षेनी असहाय विद्यार्थीहरूलाइ यस्ता सहयाेग गर्दै रसुवाको एक गैरसरकारी संस्था आस्लुनले यसअघि पनि रसुवा जिल्लाको गोसाइँकुण्ड माध्यमिक विद्यालय तथा लोकिल आधारभूत विद्यालयमा स्टेशनरी सामग्री तथा न्यानो कपडा सहयोग गरेका थिए । संस्थाका अध्यक्ष सुशील आचार्यले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने बताए । 





Thursday, December 25, 2025

पुनर्वास पर्खिरहेका भूकम्पपीडित



विश्वास नेपाली


ठूलो जनधनको क्षति पुर्‍याएको २०७२ को भूकम्प अझै भुल्न सकिएको छैन । भूकम्पको दस वर्ष पुग्न लाग्यो । तर यसबाट सिर्जित केही समस्या समाधान हुन बाँकी छन् । खासगरी थातथलोबाट विस्थापितहरू अहिले पनि जोखिमपूर्ण अवस्थामा टहरोमै छन् । 


रसुवा उत्तरगया गाउँपालिका– ५ खाल्डे बगरका २०० भन्दा बढी परिवार यो व्यथा भोगिरहेका छन् । उनीहरू त्रिशूली नदीले कुनै समय छाडेको बगरमै छन् । यसपालि बर्खामा त्रिशूलीको भेल झन्डैझन्डै बस्तीमा पसिसकेको थियो, विस्थापितहरू भागाभाग भए । धन्न प्रकृतिले आफ्नो लय समात्यो, बस्ती जोगियो ।


यहाँ बसेका विस्थापितहरू पुरानो गाउँघर फर्केर जान सक्ने अवस्था छैन । यता सरकारी सहयोग नपाउँदा पुनर्वासमा जान पनि सकेका छैनन् । सहयोगको याचना गरेको पनि वर्षौं बित्यो, तर सुन्ने कसले रु यसबीच उनीहरू सयौं पटक सिंहदरबार धाए । आफ्नो पीडा मन्त्री, प्रधानमन्त्रीलाई सुनाए । तर भएन सुनुवाइ । विस्थापित बस्ती व्यवस्थापन सङ्घर्ष समितिका संयोजक छेकु लामा कतैबाट माग सुनुवाइ नभएपछि टहरोमै बस्न बाध्य भएको पीडा सुनाउँछन् । बालबालिका, महिला, ज्येष्ठ नागरिकलगायत सबैको बिचल्ली देखिन्छ यहाँ ।


भूकम्प प्राकृतिक प्रकोप हो । कतिबेला आउँछ, कति क्षति पुर्‍याउँछ भन्ने पूर्वआकलन गर्न सकिन्न । केही क्षणमात्रै यसरी आइदिने भूकम्पले पुर्‍याउने क्षति र त्यसपछि सिर्जना हुने असर र प्रभाव भने लामो समयसम्म रहिरहन्छ । यो पाठ पछिल्लो दशकका केही ठूला भूकम्पले सिकाएर गएका छन् । आफ्नो बासथलो नै भत्किएको घरसँगै सर्वस्व गुमाएर २०७२ वैशाख १२ पछि विस्थापित भएका साविक हाकु गाविस–८ र ९, डाँडागाउँ गाविसका वडा नं। ८ र ९ ९हाल उत्तरगया गाउँपालिका–१० का भूकम्पपीडित अहिले पनि उत्तरगया–५ को खाल्डे बगरमा बसोबास गरिरहेका छन् । नजिकै उत्तरगया गाउँपालिकाको प्रशासनिक भवन पनि छ र त्यहींबाट नै दैनिक कामकाज हुने गरेको छ ।


लामो सङ्घर्षपछि र खाल्डेमा बसोबास गर्नेमध्ये १२८ परिवारलाई पुनर्वास गराउने भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ सालमा नजिकै तल्लोपैरेमा ३८ रोपनी जग्गा खरिद गर्‍यो । पछि विस्थापितलाई पुर्जा वितरण गर्ने भनी प्राधिकरणकै नाममा जग्गा खरिद गरिएको पनि ४ वर्ष बित्यो तर विस्थापितका लागि निजी आवास निर्माण हुन सकेका छैन । उता सरकारले प्राधिकरण खारेजी गरेसँगै विस्थापितलाई भनी खरिद गरिएको जग्गा अब के हुने रु अलमल छ । संयोजक छेकु भन्छन्, ‘हामीसँग पैसा छैन घर बनाउन । सरकारले दिने अनुदान आउँछ वा आउँदैन अन्योल छ । निर्माण सामग्रीको भाउ बढेको छ, सरकारले दिने भनेको २ लाख रुपैयाँले घर बनाउन त के जग हाल्न पनि पुग्दैन । तामाङ समुदाय एकै ठाउँमा झुरुप्प बस्ने संस्कार पुरानै हो । जता पुगे पनि सामाजिक र सांस्कृतिक कार्यमा भेला हुनैपर्छ । हाम्रो संस्कृति त्यही हो । हामी एकीकृत बस्तीमा बस्न चाहन्छौं ।’


खाल्डैमै बस्ने बाँकी थप ५४ परिवार भूकम्पपीडितका लागि दोस्रो चरणमा प्राधिकरणले सोही ठाउँमा जग्गा खरिद गर्ने भन्दै सूचना प्रकाशन ९२०७७ माघ २८ गते० गरेको भए पनि जग्गा खरिद नगर्दै प्राधिकरण खारेजीमा पर्‍यो । त्यसपछि विस्थापितको पुनर्वासको मुद्दा झनै ओझेलमा परेको छ । बस्तीका अगुवा एवं उत्तरगया गाउँपालिकाका कार्यपालिका सदस्य पूर्ण घले भन्छन्, ‘अझै २९ परिवारको नाम छुटेको छ, उनीहरूलाई पनि विस्थापित सूचीमा राखिनुपर्ने थियो, तर पटकपटक अनुरोध गर्दा पनि प्राधिकरणले छुटाइदियो । यसरी तत्कालीन प्राधिकरणको अनुदान वितरण कार्यविधिअनुसार सरकारको अनुदान प्राप्त गर्नका लागि लाभग्राही कायम भएको हुनुपर्छ ।’


लाभग्राही सूचीमा परेर जग्गा खरिद गरिएका १२८ र लाभग्राही सूचीमा परेका तर जग्गा खरिद गर्न बाँकी ५४ परिवार विस्थापित गरी १८२ परिवारको पुनर्वास अन्योलमै छ । अगुवाहरूले भनेझैं २९ परिवार त छुट सूचीमै छन् । राज्यको नजरबाट हेर्दा यी संख्या ठूलो नहोला तर सामान्य नागरिक र अनि समुदाय र पीडितको आँखाबाट हेर्दा हरेक एक–एक घरपरिवार नै ठूलो हो ।

नेपालको संविधानको मौलिक हक धारा ३७ मा आवासको हकको ग्यारेन्टी गरिएको छ, तर यहाँ त राज्यले नै पुनर्वासमा सहयोग गर्नुपर्ने जनताको आवास जोखिममा छ । पटकपटक सरकार गुहार्दा पनि सुनुवाइ भएको छैन, यो लाजमर्दो विषय त हुँदै हो, नेपाली नागरिकमाथिको अन्याय पनि हो ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख गोविन्दराज पोखरेलले खाल्डेमै पुगी एकीकृत बस्ती बनाएर राख्ने बचन दिएका थिए । त्यतिबेला तत्कालीन पुनर्निर्माण दूत सीताराम कट्टेल ‘धुर्मुस’ र बस्ती बसाउन सहयोग गर्ने भन्दै कादुरी फाउन्डेसनका जुद्धबहादुर गुरुङ पनि सँगै हेलिकोप्टर चढेर त्यहाँ पुगेका थिए । तर, पछि खाल्डे जोखिम रहेको भौगर्भिक प्रतिवेदन आएको बताएर त्यहाँ एकीकृत बस्ती बनाउन नमिल्ने भनियो । बसोबास प्रक्रिया अघि बढाइएन । यद्यपि विस्थापितहरू अहिले पनि सोही ठाउँमा टहरामै छन् ।


खाल्डेबाहेक अन्यत्र विस्थापित भई बसोबास गर्दै आएका विस्थापित भूकम्पपीडित परिवारले २ लाख रुपैयाँ लिएर घडेरी खरिद गरे भने खाल्डेका विस्थापितहरू चाहिँ लामो समयसम्म पनि स्थायी रूपमै खाल्डेमै बसोबास गराइनुपर्ने माग राख्दै बसिराखे । जति गर्दा पनि प्राधिकरणले त्यहाँ एकीकृत बस्ती बसाउन वा निजी आवास पुनर्निर्माण गर्नका लागि कुनै पनि अनुदान उपलब्ध गराएन । उनीहरूलाई २ लाख रुपैयाँ लिएर त्यसवरपर बसोबास गर्न भन्यो । तर, त्यहाँ वरपर २ लाख रुपैयाँले एक आना जग्गा पाउन पनि मुस्किल थियो । घर बनाउन कम्तीमा ४ आना जग्गा चाहिन्छ । जग्गा थोरै भएको खाल्डे वरपर भूकम्पपछिको जग्गाको मूल्य असाध्यै उकासिएको छ । विस्थापित परिवारले भने, ‘सरकारले नै जग्गा खरिद गरी एकीकृत बस्ती बनाएर राखिदेयोस् ।’ तर भने जस्तो भएन ।


विस्थापित एवं उत्तरगया गाउँ कार्यपालिका सदस्य बुटी तामाङ भन्छिन्, ‘यत्तिका लामो समयदेखि अस्थायी त्यो पनि सानो टहरोमा बस्नुपर्दा महिलालाई ज्यादै गाह्रो हुने रहेछ । रोजगारीको अवसर छैन, राहत दिने सहयोगी पनि छैनन् । यहाँका विस्थापितको दैनिकी ज्यादै कष्टकर छ । हामीले बास बस्ने एउटा सुरक्षित घर सरकारसँग मागेका हौं त्यति पनि पाउन सकेनौं ।’


उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार प्राधिकरणको खारेजीपछि विस्थापितको पुनर्वासको काम रोकियो । नजिकको सरकार भएको हुँदा विस्थापितहरू छिटो पुनर्वास गराइदिन भन्दै गाउँपालिका आइरहन्छन्, तर स्थानीय सरकारसँग पर्याप्त बजेट स्रोत नहुँदा यो काम अघि बढाउनका लागि समस्या छ । अध्यक्ष अर्याल भन्छन्, ‘पर्याप्त स्रोत नभएकाले हामीले पनि सङ्घीय सरकारलाई नै यो समस्या समाधान गरिदिन भनिरहेका छौं, तर कसरी समाधान गर्ने भन्नेमा अलमल भइरहेको छ ।’


खाल्डेमा बस्ती राख्नेबारे आफूले धेरै पहल गरेको तर भौगर्भिक अध्ययन हुँदा उक्त स्थान नदी ९बाढी० को जोखिममा रहेकाले एकीकृत बस्ती राख्न नसकिएको उत्तरगया गाउँपालिकाका पूर्वअध्यक्ष उपेन्द्र लम्साल बताउँछन् । उनी भन्छन्, ‘विस्थापितहरूको अवस्था ज्यादै नाजुक छ, तर यहाँ हुनुपर्नेभन्दा बढी राजनीति भयो ।’ लम्सालले पहल नगरेका होइनन् । तर, विस्थापित खाल्डे नछाड्ने, नेपाल सरकारले त्यहाँ राख्न नमान्ने हुँदा विवाद लामै चल्यो । स्थानीय सरकारको मात्रै पहलले पुगेन, हामीले त्यतिबेला अरू दलको राम्रो सहयोग पाउन नसकेको उनले गुनासो सुनाए । राज्यको नीतिगत र कार्यान्वयन गर्ने निकायको कमजोरीले गर्दा विस्थापितले अहिलेसम्म पनि दुःख पाइरहेका छन् । यो दुःखद् पक्ष हो ।


विकट ठाउँबाट बेंसी झरेका विस्थापितलाई धाँजा फाटेको गाउँ फर्कनुभन्दा बगरमै भए पनि बस्न औधी चाह जाग्यो । सरकारले प्रतिपरिवार २ लाख रुपैयाँ घडेरी खरिद गर्न उपलब्ध गराउन खोज्दा अन्यत्र जान मानेनन् । त्यसो त त्यसपरपर २ लाखमा ४ आना घडेरी किन्न सकिने अवस्था थिएन । भूगोलमा अत्यन्तै ठगिएको रसुवामा सुरक्षित घडेरी पाउनै मुस्किल थियोरछ । भूकम्पपछि १०९ परिवारले छिमेकी जिल्ला नुवाकोट गएर घडेरी खरिद गरी घर बनाएका छन् ।


अर्कोतर्फ गोगने, तिरु, डाँडागाउँबाट विस्थापित भएकाले आफूहरू अस्थायी टहरामा बस्न थालेदेखि नै स्कुले उमेरका बालबालिकालाई वेत्रावती आसपासका विद्यालयमा भर्ना गराएका छन् । त्यहाँबाट अन्यत्र सर्दा बालबालिकाको शिक्षा, स्वास्थ्यमा समेत असर पर्ने भन्दै त्यही आसपास एकीकृत बस्ती बसाएर राखिदिन अनुरोध गरिरहे । साथै विस्थापितहरूले त्यसवरपर केही कृषि कर्म गर्न सकिने, श्रम र केही रोजगारी पनि उपलब्ध हुने भएकाले पनि यहाँ बस्न थालेपछि न गाउँ फर्कन माने न त त्यहाँबाट अन्यत्र सर्न नै । 

यसरी समस्यासँग जेलिएका भूकम्पपीडितको अहिलेसम्म पनि पुनर्वास गराउन राज्यले सहयोग नगर्नु ज्यादै अन्यायपूर्ण कार्य हो । जिल्ला भूमि अधिकार मञ्च रसुवाका अध्यक्ष भवानीप्रसाद न्यौपाने पनि राज्यले पहिले नै पुनर्वास गराउनुपर्थ्यो भन्छन् ।


वर्षौंदेखि यसरी कष्टकर जीविकामा बसोबास गर्दै आइरहेका विस्थापित परिवारको उचित पुनर्वासमा ध्यान दिनु राज्यका तहगत निकायको जिम्मेवारी हो । पुनर्वासको विविध विकल्प छन्, यसअघि खरिद गरिएका जग्गामा निजी आवास निर्माण बनाइदिने । सूचना प्रकाशन भइसकेको र जग्गा दिन तयार भएका जग्गाधनीबाट जग्गा अधिग्रहण गरिदिने । र, छुटमा परेकालाई पनि समेटी एकीकृत बस्तीमार्फत सबै खाल्डेवासीलाई तल्लो पैरेबेंसीमा एकीकृत बस्ती बसाएर राख्न सकिन्छ । त्यहाँ बस्ती राखिदिँदा अहिलेको शिक्षा, स्वास्थ्य र केही मजदुरीमा जोडिएकालाई ठूलो असर पर्दैन । 

अझ फाइदा पुग्छ । खाल्डे जोखिम भएकामा विस्थापित पनि जानकार छन्, तर उनीहरू तल्लोकपैरेमा बस्न इच्छुक छन्, त्यहाँका जग्गाधनी पनि आवश्यक जग्गा दिन तयार छन्, तर समस्या लगानीको भयो । जुन विस्थापित परिवारसँग छैन । राज्यकै सहयोगको पर्खाइमा छन् ।


दशकदेखि यसरी कष्टसाथ बस्दै आएका विस्थापितलाई न्याय हुने गरी सरकारले पुनर्निर्माण र पुनर्वासमा सहयोग गर्नु जरुरी देखिन्छ । साथै उनीहरूको कष्टकर जीविकाबाट मुक्ति दिलाउन सीप र क्षमताअनुसारको जीविकोपार्जनमूलक कार्यक्रम, बालबालिकाको शिक्षा, अस्वस्थ र ज्येष्ठ नागरिकलगायतलाई उचित स्वास्थ्यको विषयमा पनि ध्यान दिनुपर्छ ।

कान्तिपुरबाट साभार

स्थानीयको माग पूरा नभए माथिल्लो त्रिशूली -१ आयोजनामा स्थानीयले आन्दोन गर्ने

रसुवा, स्थानीयले गत मंसिर ८ गतेदेखि मागपत्र पेस गरेपनि माथिल्लो त्रिशूली -१ आयोजनामा नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले सुनुवाइ नगरेपछि थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

आमाछोदिङमो गाउँपालिका–१ र २ को हाकुबेसीदेखि ठूलोहाकु, नेसिङ हुँदै ग्रेगाउँ जोड्ने सडकका लागि कम्पनीले पुर्वसहमति अनुसार ४५ करोड रुपैयाँ विनियोजन गरेपनि स्थानीयको माग अनुसार नभएको स्थानीय सुब्बा तामाङले बताए । गुणस्तरिय कामका लागि स्थानीय निर्माण कम्पनीहरूलाइ योजना नदिन स्थानीयको माग रहेको छ । बुधबार भएको छलफलमा सहभागी गाउँपालिका अध्यक्षले नै समझदारी गराउनुको साटो हातपात गरेको बताए । 

सडक मर्मतका लागि गाउँपालका र कम्पनी बीच १ वर्ष अघि नै सहमति भएको र काम गर्नका लागि २० दिन अघि नै ६ वडा कम्पनीलाइ कार्यादेश दिए पनि काम सुरु हुन नसकेको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए । उनले भने केही युवाहरूले कम्पनीले नै काम गर्न भने पनि उनीहरूले सहमतिमा काम गर्न भने पनि अवराेध हुन भएन ।
स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नै निर्माण कम्पनीमार्फत काम गर्न लागेको युवाहरूकाे आरोप छ । उनीहरुले यस अघि गरेको कामका आधारमा गुणस्तरिय काम नहुने स्थानीयको गुनासो छ । वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष र उनका भाइ हाकु माविका प्रधानाध्यापक दावा नोर्चुङ तामाङ, स्थानीय साङतेम्पा तामाङ, तेम्रेल तामाङलगायतका ६ वटा निर्माण कम्पनीलाइ काम गर्न दिने सहमति भएको कम्पनीले जनाएको छ ।

 

गाउँपालिका अध्यक्षले हातपात गरी २ जनालाइ चोटपटक लागेको छ जन प्रतिनिधिकै दादागिरी छ यस्ताे भए कसरी सहमति हुन्छ ? मंगलबार भएकाे भेलामा गाउँपालिका अध्यक्ष बुचुङ तामाङले कुटपीट गरेकाे स्थानीयले सुब्बा तामाङले बताए । उनले भने शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने हाम्रो स्पष्ट उद्देश्य थियो। तर गाउँपालिका प्रमुख स्वयं फर्ममा संलग्न रहेको अवस्थामा पनि स्थानीय युवासँग गाउँपालिका प्रमुखबाट हातपात भएको घटनाप्रति हामी गम्भीर आपत्ति जनाउँछौँ। 

शान्तिपूर्ण रूपमा आफ्ना जायज माग राखिरहेका स्थानीय युवामाथि भएको यस प्रकारको व्यवहार निन्दनीय तथा कानून विपरीत छ। यस्तो अवस्थामा स्थानीय युवाहरूको सुरक्षा र संरक्षणको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ। सम्बन्धित निकायले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न र स्थानीय युवाहरूको सुरक्षाको सुनिश्चितता गर्न हामी जोडदार माग गर्दछौँ । 

कोरियाली लगानीकर्ताको लगानीमा बन्ने ‘माथिल्लो त्रिशूली–१’२१६ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको निर्माणाधीन अवस्थामा स्थानीयसँग धेरै बिबाद हुने गरेकाे छ । आयोजना निर्माण आगामी सन् २०२६ सम्ममा सम्पन्न गरिसक्ने आयोजना प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको लक्ष्य छ ।
कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा स्थानीय लगानीकर्ताको १० प्रतिशत बाहेक सबै स्वामित्व तथा ऋण विदेशीकै रहेको छ । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी १९ करोड ४२ लाख अमेरिकी डलर रकम स्वपुँजी जुटाइएको छ । 

 मंगलबार भएकाे छलफलमा भएकाे बिबाद भिडियाेमा हेर्नुहाेस् ।
 

रसुवाली किसान : जता भेडा, उतै बास

विश्वास नेपाली रसुवा, हिमाली जिल्ला रसुवाका उच्च भूगोललाई वर्षैभरि हिउँले ढाकिबस्छ । यहाँका बासिन्दा कृषि, पशुपालन, जडीबुटी संकलन र पर्यटन व्यवसायमा संलग्न छन् । संघीयताको अभ्यासपछि भने गाउँघर आएको सडकले परिवर्तन ल्याएको छ । र, गाउँदेखि राजधानी मोडिएको सडकले हिमाली गाउँ–ठाउँका नवपुस्तालाई सहरतिर तानेको छ । केही विदेश पुगेका छन् । यद्यपि अघिल्ला पुस्ता भने कृषि–पशुपालनमै तल्लीन छन् । रसुवाबाट राष्ट्रिय पञ्चायत उपाध्यक्ष भएका दावा फिन्जो तामाङको पुस्तक ‘भेडीगोठदेखि राष्ट्रिय पञ्चायतसम्म’ मा उनले लेखेका छन्, ‘मेरो जन्म नै च्योलङखर्कको गोठमा भयो, यसर्थ जन्मजात–गोठालो ।’ जीवनको लामो कालखण्ड गोठालो जीवन बिताएका तामाङका भेडासँगै गाई, गोरु र चौंरीका पाँच गोठ थिए । ०२७ सालमा तत्कालीन युवराज वीरेन्द्र गोसाइँकुण्ड भ्रमण जाँदा दावाको सहयोगबाट प्रभावित भएपछि उनी दरबारनिकट भएका थिए । उच्च चुचुरामा टल्किने सेता हिमशृङ्खला देख्दा आकर्षक लाग्छन् । केही दिन घुम्न आउनेलाई ‘वाह’ लाग्छन् । तर, यहीं जन्मे–हुर्केर जीवन बिताइरहेका मानिसको दैनिकी असाध्यै कठिन छ— अजंगका पहाड, भिराला जमिन, वन–जंगलले ढाकेका अधिकांश क्षेत्र १ चिसो याममा बसाइँ सरिबस्ने यो कठिन भूगोलका किसानका व्यथा अनेकन् छन् । गोठमै बस्ने सेनाम फुर्पु घले ९४५० चौंरीपालक कृषक हुन्, उनका ५६ चौंरी छन् । मोबाइल–फोन सम्पर्कमा आएका उनी कुटुमसाङ सिन्धुपाल्चोकबाट थप ३ वटा चौंरी खरिद गरी रसुवा लाग्दै रहेछन्, ‘नुवाकोटको शिखरबेंसी पुगें’ भन्दै थिए । अब ५९ वटा चौंरीका धनी भएका छन् । सानैदेखि चौंरी गोठालो उनी गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका हुन् । ‘चौंरी गोठालाको स्थायी ठेगाना हुँदैन’ भन्ने घले १२ महिनामा १४ ठाउँमा गोठ सर्छन् । भन्छन्, ‘गर्मी चढेपछि चैतदेखि असोज १५ सम्म माथि–माथि लेक चढ्नुपर्छ– गोसाइँकुण्डसम्म पुगिन्छ ।’ असोजपछि भने तल झर्दै धुन्चे पुगिन्छ । घले मात्रै होइन, उनका अघिल्ला पुस्ताले पनि पनि चौंरीपालन नै गर्थे । ‘चौंरीको दूध बेचेर छोराहरूलाई काठमाडौं राखेर पढाउन सकें, एउटा छोरो जापान पढ्न गएको छ, अर्को काठमाडौंमा,’ उनी भन्छन् । वार्षिक न्यूनतम ७ लाख रुपैयाँसम्म कमाइ गर्छन् घले । गोसाइँकुण्ड–४ लाङटाङ हिमालको फेदीमा बस्छन्— ग्याल्वो तामाङ ९५०० । उनी पहिले चौंरीपालक कृषक थिए, अहिले गाउँवासीले पालेको चौंरीको दूध संकलक हुन् अर्थात् चिज उत्पादन गर्ने केन्द्र प्रमुख । भन्छन्, ‘हामीले यहाँबाट स्थानीय याक–चौंरी पालक किसानलाई सेवा दिइरहेका छौं ।’ तामाङका अनुसार, दक्षिण एसियाकै पहिलो याक–चिज उत्पादन केन्द्र, लाङटाङमा वि।सं। २००९ सालमा स्थापना भएको थियो, जहाँ उनका बुबाले लामै समय काम गरे । रसुवाका पत्रकार ज्ञानेन्द्र न्यौपाने भन्छन्, ‘रसुवाको उच्च हिमाली भेग याक–चौंरीका लागि अत्यन्तै लाभदायक ठाउँ हो । किसानलाई दूध बिक्री गर्न सहज होस् भनेर हिमाली खर्कमै विभिन्न ५ ठाउँमा चिज उत्पादन केन्द्र स्थापना गरिएको छ । स्वादिलो यहाँको चिज काठमाडौंसम्मै पुग्छ ।’ ‘लाङटाङ उपत्यका आसपास ४ वटा–लाङसिसा, झाङ्बु, नाङकाङ र याला खर्कहरू छन्, जहाँ याक–चौंरी चराउन किसानहरू गर्मीमा उकालो चढ्छन् । चिसो सुरु भएपछि तल्लो भाग लामा होटलसम्मै झर्छन्’, ग्याल्वो तामाङ भन्छन्, ‘०७२ को भूकम्पले लाङटाङ तहसनहस भयो । किसानहरूले पहिले जस्तो चौंरी पाल्दैनन् । धेरैजसो गाउँवासीहरू होटल–व्यवसायतिर लागे ।’ भूकम्पमा लाङटाङ पहिरोले १७५ स्थानीय मानिस र ७०० भन्दा बढी चौंरी बितेका थिए । आमाछोदिङ्मो गाउँपालिका–२ सानोहाकुका चिप्पु छिरिङ तामाङ ९४४० भेडा–बाख्रापालक कृषक हुन् । उनी वर्षैभरि भेडा–बाख्राको पछि लाग्दैलाग्दै लेक–बेंसी गर्छन् । साथमा बोक्छन्– डोको, चित्रो, केही थान बर्को ९ओढ्ने०, नुन अनि सातु–सामल । यतिबेला उनी लेकबाट बेंसी ९उनकै गाउँ– सानो हाकु० झरेका छन् । उनीसँग छ, १०० भन्दा बढी भेडा–बाख्रा र ३ भैंसी । पुर्ख्यौली पेसा नै कृषि र पशुपालन भएको तामाङको ७ जनाको परिवार यसैबाट चलेको छ । मौसम तात्न थालेपछि भेडा–बाख्रासँगै लेक चढ्छन् र पुग्छन् उच्च हिमाली भेगका सोमदाङ, साङ्जेन र जागेश्वर खर्कहरू । खर्कहरू चरिचरनका लागि राम्रो ठाउँ हो भन्छन्, उनी । त्यही खर्कमा चित्रा–प्लास्टिकको घर बनाएर बस्छन्, चिप्पुहरू । चिप्पु भन्छन्– गाउँबाट खर्क पुग्न बाटोमै १०–१२ दिन बिताउनुपर्छ । खर्क पुग्न सजिलो छैन, न खाने ठेगान, न बस्ने । जताजता भेडा–बाख्रा, उतैउतै बास । भन्छन्, गोठालो पेसा सहज छैन । बेलाबेला उनलाई सघाउँछन्, श्रीमती कार्चुङ र छोरा निर्मलले । पशुपालनको आयले १ छोरा र ४ छोरीलाई काठमाडौंमै राखेर पढाइरहेका छन् । गोसाइँकुण्ड– ५ ठूलो भार्खुका पासाङ डिन्डुप तामाङ ९५५० चौंरीपालक किसान हुन् । उनी २० चौंरीका धनी हुन् । गोठालो सहयात्रामा लाक्पा तामाङ, च्याङ्वा तामाङ र नुर्वसोनाम तामाङ पनि छन् । उनीहरू चौंरीपालन गर्छन् । गर्मी छल्न उनीहरू गोसाइँकुण्ड आसपासका लौरीबिना, चोलाङपाटी र चन्दनबारीका खर्कहरू पुग्छन् भने जाडो छल्न ठूलोभार्खु हुँदै त्रिशूली किनारासम्मै झर्छन् । यस्तो चक्र वर्षैभरि चलिरहन्छ । पासाङ भन्छन्, ‘चौंरीपालक कृषकको निश्चित गोठ र खर्क नहुने रहेछ, पाइने घाँसपात र तातो–चिसो मौसमले निर्धारण गर्छ ।’ यतिबेला रसुवाका गाउँ–पाखामा चिसो बढ्न थालेको छ, पासाङ चौंरीसँगै ठूलोभार्खुमुनि पाखोमा छन् । ‘माघसम्म यतै बस्नुपर्छ, मौसम बिस्तारै तात्न थालेपछि मात्रै उँभो लाग्ने हो । चन्दनबारीमा दुग्ध विकास संस्थानको चिज उत्पादन केन्द्र छ, हामी त्यहीं दूध बिक्री गर्छौं,’ पासाङ भन्छन् । सानैदेखि गोठालो पासाङपछिका नयाँ पुस्ता भने अब गोठालो छैनन्, जेठो छोरा–बुहारी र छोरी–ज्वाइँ फ्रान्स पुगेका छन् भने कान्छो जर्मन । पशुपालनकै आम्दानीले उनले तल स्याफ्रुबेंसी बजारमा २ तले पक्की घर पनि बनाएका छन् । आमाछोदिङ्मो–३ गत्लाङका फुर्पु छोवाङ तामाङ ९५१० चौंरीपालक किसान हुन् । उच्च हिमाली गाउँ गत्लाङका फुर्पुको जीवन चौंरीसँगै विभिन्न खर्कमा विचरण गर्दै बितिरहेको छ । फुर्पुको गोठमा यतिबेला २४ वटा चौंरी छन् । र, अहिले उनी बेंसी झरेका छन्, भार्खु गाउँ आसपास । भन्छन्, ‘चिसो बढ्दै जाँदा अझ तल हाकुसम्म झर्छौं ।’ उनको गोठालो यात्रा संघर्षपूर्ण छ । कहिले उच्च हिमाली भेगका खर्कमा उक्लिनुपर्छ, कहिले बेंसी । माङचेत, गोठेन, सोमदाङ, जागेश्वर र साङ्जेन खर्क उनका चौंरीका चरन–क्षेत्र हुन् । उनलाई सघाउँछिन्, ४५ वर्षीया श्रीमती युक्रे तामाङले । फुर्पु भन्छन्, ‘हाम्रा छोराछोरी भेडा–चौंरी पेसामा छैनन् । काठमाडौंमा राखेर पढाएका छौं । पहिले पो विद्यालय थिएन, पैसा थिएन, हामी बा–आमासँगै खर्क–गोठालो जान्थ्यौं, अबका पुस्ताले त्यो छाडे ।’ पत्रकार एवं सामुदायिक वन उपभोक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा भन्छन्, ‘कहिलेकाहीं पशुबस्तु चराउने विषयमा गाउँलेहरूबीच खर्क विवाद हुन्छ । केही वर्ष पहिले साङ्जेन खर्कमा गाउँलेबीच ठूलो विवाद भयो । पशुपालक किसानलाई चरिचरनका लागि वन तथा खर्कहरू खुला नगरिने हो भने, पशुपालनको जुन लेक–बेंसी चक्र छ, त्यसमा खलल पुग्छ । अर्कोतर्फ पालिकामा भएको आधारभूत सेवा किसानका लागि पर्याप्त छैन, जिल्लामै भेटेनरी अस्पताल र पशुविज्ञ नहुँदा नुवाकोट र काठमाडौं धाउन बाध्य छन्, किसानहरू, त्यसले पनि पछिल्लो समय पशुपालन पेसामा कमी आएको छ ।’ डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङ भन्छन्, ‘चौंरी र भेडापालन रसुवाको माथिल्लो भेगको पहिचानसँगै परम्परागत पेसा हो । यसलाई मास्न दिनु हुँदैन भनेर बहुसरोकावाला छलफल सुरुवात गरेका छौं । किसान र पशुपालनसँगै वन र खर्क संरक्षणको योजनामा काम गरिरहेका छौं ।’ आमाछोदिङ्मो गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङ भन्छिन्, ‘खर्कका विषादीयुक्त झारपात, घाँस हटाउने र नयाँ उन्नत जातको घाँस छर्ने काम गरी पशुपालक किसानलाई उत्प्रेरित र सहजता प्रदानको प्रयास गरिरहेका छौं । आउँदो फागुन–चैतमा ड्रोनबाट खर्कहरूमा घाँस छर्ने योजना छ । र, आाउँदो वैशाखमा गत्लाङ ‘चौंरी–महोत्सव’ नै आयोजना गर्दै छौं ।’ गत्लाङका किसान मिङमर तामाङ भन्छन्, ‘हाम्रो पालिकामा ६७ वटा याक–चौंरी, गाई–गोरु गोठ छन्, करिब २५०० चौंरीहरू छन् । पहिलो पटक महोत्सव नै आयोजना गर्दै छौं । महोत्सवमा सबै चौंरी र किसानहरू सहभागी हुनेछन् ।’ किसान भन्छन्– न बासको ठेगान, न खानाको । मौसमले जता डोर्‍याउँछ, त्यतै यात्रा–चिसो सुरु हुँदा तलतल ९बेंसी० र गर्मी चढेपछि भने उँभोउँभो ९लेक० । फेरिने मौसम र समयकालअनुसार गोठालो–जीवन निर्भर हुन्छ । किसानहरूको लेक–बेंसी यात्रा गर्मी र जाडो मौसमले निर्धारण गर्छ । रसुवाको उच्च हिमाली भेगमा मुख्य गरी याक–चौंरी र भेडा–च्याङ्ग्रा पालिन्छ । जागेश्वर, साङ्जेन, यासा, लाङसिसा, झाङ्बु, नाङकाङ, याला, चन्दनबारी, ढिक्सा, लौरीबिना, गोसाइँकुण्ड, सोमदाङ, मानचेत यहाँका उच्च हिमाली क्षेत्रका खर्कहरू हुन् । त्यहाँ पुग्न कठिन छ, तर गर्मी बढ्ने समय भेडा–च्याङ्ग्रा–चौंरीलाई यी खर्कमा पुर्‍याइन्छ । जब लेकमा चिसो बढ्न थाल्छ, फेरि बेंसी झर्छन् । किसानको लेक–बेंसी यात्रा कठिन छ, तर रोचक पनि छ । कान्तिपुर कोशेलीबाट साभार

Saturday, December 20, 2025

कालिका बहुउद्देश्यीय सहकारीको ३१ लाख नाफामा

रसुवा, जिल्लाको उत्तरगया गाउँपालिका–५ बनुवाछापमा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०८१र०८२ मा ३१ लाख २७ हजार २ सय ३० रुपैयाँ खुद नाफा कमाएकाे छ । शनिबार सम्पन्न संस्थाको ३१ औँ वार्षिक साधारणसभामा संस्थाले आर्थिक वर्ष २०८१र०८२ मा १ करोड ६९ लाख ३३ हजार ८ सय ८ रुपैयाँ आम्दानी गरेको सहकारीका व्यवस्थापक गोविन्द घिमिरेले बताए । कुल आम्दानीबाट खर्च कटौती गर्दा ३१ लाख २७ हजार २ सय ३० रुपैयाँ खुद नाफा आर्जन कायम भएको हो । सहकारीका सचिव टंकप्रसाद पौडेलका अनुसार खुद नाफामध्ये १७ लाख २२ हजार रुपैयाँ शेयर सदस्यहरूलाई लाभांशका रूपमा वितरण गरिएको छ । हाल संस्थामा २ हजार १ सय ९७ जना शेयर सदस्य आबद्ध छन् । सभाले शेयर सदस्यहरूलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ ।
सहकारी संस्थाको वार्षिक कारोबार ११ करोड ८७ लाख ६३ हजार रुपैयाँ रहेको छ । कुल बचत रकम ६ करोड ५९ लाख ७० हजार रुपैयाँ र शेयर पूँजी १ करोड ३१ लाख २९ हजार ३ सय रुपैयाँ पुगेको छ । जिल्लामा सहकारी संस्थाहरू बन्द हुने क्रम बढिरहेका बेला कालिका बहुउद्देश्यीय सहकारी भने निरन्तर नाफामा रहँदै आएको छ । २०५३ सालमा आलुवाली समूहका रूपमा सुरु भएको यो संस्था ग्रामीण क्षेत्रमा छरिएर रहेको पूँजीलाई एकीकृत गर्दै कारोबार विस्तार गरेपछि बहुउद्देश्यीय सहकारीका रूपमा रूपान्तरण भएको हो। ससभामा संस्थाका अध्यक्ष विष्णुप्रसाद घिमिरेले आर्थिक वर्ष २०८२र०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कोषाध्यक्ष यमनाथ आचार्यले आर्थिक प्रतिवेदन र लेखा संयोजक लक्ष्मण घिमिरेले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरे।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले सहकारीले जनजीविकामा सहजता ल्याएकाे र राम्रो आम्दानी गर्दै शेयर सदस्यलाई लाभांश वितरण गर्न सफल भएकोमा प्रशंसा गर्दै आगामी दिनमा अझ प्रगति गर्न शुभकामना दिएका थिए । साधारणसभामा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याएका शेयर सदस्यहरूलाई सम्मान समेत गरिएको थियो।