रसुवा, नौकुण्ड गाउँपालिका–५ लामाचेमा रहेको एक कृषि फर्ममा लगाइएको गोलभेडा खेतीमा ०८२ पुस १६ गते लाङटाङ राष्ट्रिय निकुञ्जले फडानी गरेको छ ।
राजन्य कृषि तथा पशुपन्छी फर्मका प्रोप्राइटर चुडामणि पौडेलले आफ्नै निजी बारीमा लगाइएको गोलभेडा खेती समेतकाे टनेल निकुञ्जले फडानी गरेको बताएका छन् । कुनै पूर्व सूचना नदिई खेती फडानी गरिएकाले आफू अन्यायमा परेकोले न्यायका लागि स्थानीय सरकार, प्रशासन र संचारमाध्यममा अनुराेध गरेकाे बताए ।
“पाकेर फल बेच्नसमेत पाइएन,” उनले भने, “करिब ३ सय मिटर टनेल र लटरम्म फुल फुल्न लागेको करिब ६ हजार गोलभेडाका बोटमा क्षति पुगेको छ ।” सार्वजनिक जग्गामा परेको भए आफूले खाली गरिदिने भए पनि एक पटक मौका समेत नपाएको पौडेलको भनाइ छ । पौडेलले करिब तीन वर्षदेखि सो स्थानमा फार्म खाेलेर गोलभेडा खेती गर्दै आएको जानकारी दिए ।
यता, लाङटाङ राष्ट्रिय निकुञ्जले भने उक्त फर्मअन्तर्गतको केही जग्गा सार्वजनिक रहेको भन्दै कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको जनाएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार ३५ दिनको सूचना दिएर अतिक्रमण भएकाे जग्गा खाली गराउन भनेकाे बताए ।
कालिकास्थानमा जनप्रतिनिधि तथा वार्डेन र प्रमुख जिल्ला अधिकारी समेत सहभागी भएर १८ गते वार्डेन र स्थानीय जनप्रतिनिधिले स्थलगत अनुगमन गरी छानविन गर्ने छलफल भएपनि कार्यन्वयन नभएकाे पाैडेलले बताए । निकुञ्जका प्रमुख शाहलाइ स्थानीयले कृषि बालीमा क्षति भएकाेले क्षतिपुर्ति दिनुपर्ने बताए । गल्ती मानिसबाट भएकाे भए कानूनी दायरामा ल्याएर कारवाही गर्नुकाे साटेमा खेती र संरचनामा क्षति हुन नहुने स्थानीय बताउछन् ।
परम्परागत रूपमा बाउबाजेकै पालाबाट भोगचलन गर्दै आएको जग्गामा तरकारी खेती गर्दै आएकाे उनले केहीले गरिखाएकाे रिसले उजुरी गरेपछि फार्ममा क्षति गरेकाे उनकाे आरोप छ ।
नाैकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलानले जग्गा सम्बन्धि सीमा समस्या न्यायिक समितिमार्फत छलफल र समाधानको प्रक्रियामा रहेको बेला कानूनी शक्तिको दुरुपयोग गर्दै निकुञ्जले किसानको क्षति गर्नु दुखकाे कुरा भएकाे बताए । अनुमानित मूल्य करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएकाे पाैडेलले बताए ।
सार्वजनिक जग्गा मिचेकाे भए नीति नियम अनुसार छानविन गरी कारवाही हुनुपर्छ तर अन्दाधुन्ध किसानले लगायकाे बाली,लगानी तहसनहस हुँदा लाखौं किसानकाे मन राेएकाे अखिल नेपाल किसान महासंघ रसुवाका अध्यक्ष खिलनाथ पाैडेलले बताए । घटनाकाे उचित छानविन गरी दाेषीलाई कारबाही र किसानलाई उचित क्षतिपूर्तिको ब्यवस्था तत्काल हुनुपर्ने उनकाे माग छ ।




0 Comments :
Post a Comment