बेत्रावती, रसुवा र नुवाकोटको सिमाना बेत्रावतीमा बिहीबार ११ हल गोरु जुधाइ प्रतियोगिता सञ्चालन हुने भएको छ।
हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुँदै आएको गोरु जुधाइ मेला यस वर्ष पनि निरन्तरता दिन लागिएको हो। स्थानीय गोसाईंकुण्ड युवा क्लवले वि।स। २०६२ देखि प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन वेत्रावतीमा गोरु जुधाइ उत्सव गर्दै आएको छ।
प्रतियोगितामा भागलिनेको लागि ११ हल गोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ। प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको स्थानीय गणेश श्रेष्ठले बताए।
रसुवाको कालिका, उत्तरगया गाउँपालिकाबा गाउँबाट र नुवाकोटका हर्कपुर, साहुगाउँ, तुप्चे, फिकुरी, गेर्खुलगायतका गाउँका किसानहरू आआफ्ना जुरे गोरु जुधाएर मनोरञ्जन तथा पुरस्कार प्राप्त गर्नका लागि वर्षभरी पौष्टिक खानेकुरा खुवाएर पालेका गोरु ल्याउदछन् ।
गोरु जुधाइ अवलोकन गर्न आउने दर्शकका लागि पार्किङ स्थल, शौचालय तथा पिउने पानीको व्यवस्था गरिएको छ। साथै सस्तो मूल्यमा खाजा तथा खानाका लागि स्टलको समेत व्यवस्था गरिएको स्थानीय शसी डंगोल बताउछन् ।
नेपाल र तिब्बतबीच १८४९ साल असोज १७ गते सम्पन्न बेत्रावती सन्धिको खुसीयालीमा मनाइँदै आएको गोरु जुधाइ मेलाले ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। मेला अवलोकन गर्न रसुवासहित नुवाकोट, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर र ललितपुरलगायतका देशभरबाट हजारौँ दर्शक सहभागी हुने गरेका छन्।
कृषिमा आधुनिकीकरणसँगै हाते ट्याक्टरको प्रयोग बढ्दै जाँदा गाउँघरमा गोरु पाल्ने चलन घट्दै गएको कारण प्रतियोगिता सञ्चालनमा चुनौती देखिन थालेको क्लबले जनाएको छ।
प्रतियोगितामा सहभागी गोरु धनीहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ भने जुधारु गोरुलाई भिटामिन तथा प्रतिस्पर्धामा सहभागी गोरुको बीमा समेत गरिएको आयोजकले जनाएको छ।
तिब्बती सेना र नेपाली सेनाबीच वेत्रावतीमा सन्धि भएपछि खुसियालीमा गोरु जुधाएर रमाइलो गर्ने चलन थालनी भएको स्रानीय बताउछन् । भोटतिब्बत र नेपालको युद्धका कारण युद्धग्रस्त क्षेत्रको अनुभव भोगेका यहाँका बासिन्दाले युद्ध समाप्त भएको खुसीयालीमा गोरु जुधाउएर उत्सव मनाउँन थालिएको हो भने सन्धिको प्रसङ्गमा इतिहासमा लेखिए पनि कहिलेदेखि गोरु जुधाउने उत्सव सुरु भएको कुराको एकीन अभिलेख चाहिँ अहिलेसम्म फेला परेको छैन।
गोरु जुधाइ छिमेकी जिल्ला नुवाकोट र धादिङमा पनि हुने गर्दछ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा मामाघर जाँदा उनलाई मनोरञ्जन दिलाउन गोरु जुधाइ मेलाको सुरुवात गरिएको किम्बदन्ति रहेको छ ।
सिंह विसं १९७८ सालमा नुवाकोटको तारुकाको चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए ।
यही परम्परा अन्ततः वरपरको गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको हो । मेला अवलोकनका लागि काठमाडौँ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, चितवन लगायतका जिल्लाबाट सर्बसाधारण आउने गर्दछन ।


0 Comments :
Post a Comment