ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, November 11, 2025

संसद् पुनर्स्थापनाको माग गर्दै रसुवामा प्रदर्शन

रसुवा, नेकपा एमाले रसुवाले संसद् पुनर्स्थापनाको माग गर्दै यहाँका ५ वटा स्थानीय तहमा भेला र प्रदर्शन गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार एमाले रसुवाले जन निर्वाचित संसद् पुनर्स्थापना गर्नुपर्ने माग राख्दै जिल्लाभर प्रदर्शन गरेको हो । पार्टी केन्द्रले संसद् पुनर्स्थापना र महाधिवेशन केन्द्रित जनपरिचालन एवं जनसभा गर्न सबै पालिका कमिटीहरूलाई निर्देशन दिएको थियो । 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि भदौ २७ गते प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । 

एमालेले संसद् विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको आवाज उठाउँदै आएको छ । संसद् पुनर्स्थापनाको माग राख्दै एमालेले देशभरका स्थानीय तहमा भेला र प्रदर्शन गरेको हो ।

प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै रसुवाको नाैकुण्ड गाउँपालिकामा मङ्गलवार सम्पन्न सभालाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य माधबप्रसाद अर्यालले आन्दोलनबाट बनेको सरकारले संसद् विगठन गर्न पाउने अधिकार नरहेको बताउँदै प्रतिनिधि सभाको पुनर्स्थापना पछि मात्र जेनजी पुस्ताले अघि सारेका मागहरू पूरा गर्न सकिने बताए । 

कालिका गाउँपालिकामा भएकाे कार्यक्रममा पार्टी केन्द्रिय सदस्य प्रेम तामाङले जेनजी आन्दोलनका नाममा भएको आन्दोलनले सरकारी तथा निजी सम्पत्तीमा भएको क्षतिले मुलुक धेरै वर्षपछि परेकाे र वर्तनमान सरकार संविधान र जनताको चाहना विपरीत निर्माण भएको जनाउँदै समृद्ध नेपाल निर्माणमा एमाले कटिबद्ध रहेको बताए । कालिका गाउँपालिकामा भएकाे कार्यक्रममा जिल्ला नेताहरू उद्दवप्रसाद रिजाल, कृष्णबहादु तामाङ, विष्णुप्रसाद देवकाेटा, कमलनाथ आचार्य, भवानीप्रसाद न्याैपाननेलगायतले मन्तब्य दिएका थिए । 

सभापछि कालिकास्थानमा नारा, जुलुस र्याली गरेका थिए । त्यसै गरी आमाछोदिङमो, गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकामा पनि गाउँपालिका स्तरिय भेला तथा प्रदर्शनी सम्पन्न भएको छ । यस अघि २२ गते सबै वडाहरूमा वडा कमिटीकाे आयाेजनामा  छलफल तथा भेला सम्पन्न भएकाे नेकपा एमाले रसुवाले जनाएकाे छ । 







Friday, November 7, 2025

मस्तिष्कघातका कारण गम्भीर बिरामी मुरलीबहादुरको उपचारमा सहयोग गर्न अपिल


रसुवा, कालिका गाउँपालिका–३ इटपारेका मुरलीबहादुर नेपाली मस्तिष्कघात (ब्रेन स्ट्रोक) का कारण गम्भीर बिरामी परेका छन् । उनकाे उपचारका लागि सहयाेग जुटाउन सबैलाइ परिवार तथा आफन्तले अपिल गरेका छन् । 

उनको अहिले काठमाडौंस्थित केएमसी हस्पिटल, सिनामंगलमा उपचार भइरहेको छ । चिकित्सकहरुले उनलाई तत्काल शल्यक्रिया (अपरेसन) गर्नु बताएका छन् । तर नेपालीको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा कठिनाइ उत्पन्न भएको परिवारले जनाएको छ । जिल्ला भूमिअधिकार मञ्चका रसुवा संस्थापक सदस्य समेत रहेका नेपाली भूमिहीन हुन् । 

उक्त अवस्थालाई ध्यानमा राख्दै स्थानीयवासी तथा शुभेच्छुकहरूले “जीवन रक्षाका लागि सानो सहयोग, उहाँका लागि ठुलो आशा” भन्ने नारासहित सहयोग अभियान सुरु गरेका छन् ।  अभियान अन्तर्गत इच्छक शुभेच्छुकहरूले बिरामीको उपचारका लागि आर्थिक सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ । सहयोग गर्न इच्छुक महानुभावहरूले ग्लोबल आइएमई बैंक कालिकास्थान शाखामा रहेको संगिता स्याबा (बिरामीको बुहारी) को नाममा रहेको बैंक खाता नम्बर १९३०७०१०००२०७२ प्रयोग गरी सहयाेग प्रदान गर्न सकिने बिरामीका छाेरा शंकरले बताए । 

यस अभियानका सहयोगीहररूले अपिल गरेका छन् “हाम्रो सानो सहयोगले पनि एक जनाको जीवन बचाउन र एक परिवारमा उज्यालो फर्काउन सक्ने छ । मानवताको नाताले सबैलाई सहयोगका लागि आह्वान गर्दछौं ।”

मूरलीबहादुर बचाउ अभियान सुरू गरी सहयाेग जुटाउन  सुरू भएकाे छ । 



Tuesday, October 14, 2025

नीलकण्ठ माविमा शैक्षिक सामग्री वितरण

 


रसुवा, कालिका गाउँपालिका–५ को सहयोगमा निलकण्ठ नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

१ सय ५ जना विद्यार्थीहरूलाई जुत्ता, मोजा, झोला, पानीको बोतल, कपीलगायत शैक्षिक सामग्रीहरू वितरण गरिएको हो। वडा नं। ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दीप पौडेल, वडा सदस्यहरू र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा इसीडिदेखि कक्षा ५ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक वर्षभरीका लागि पुग्ने गरी सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले जानकारी दिए।


विद्यालयले यसरी वितरण गरिएको शैक्षिक सामग्रीले विद्यार्थीहरूको उत्साह र शैक्षिक सहभागिता अझ बढ्ने विश्वास व्यक्त गरेको छ।


 

राष्ट्रिय भूमि अधिकार मञ्चद्धारा सरकारलाई ११ बुँदे मागपत्र पेश


रसुवा, राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले अन्तरिम सरकारलाई ११ बुँदे मागपत्र पेश गरेको छ ।मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जी नेतृत्वको टोली मंगलबार सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हालाई मागपत्र बुझाएको हो ।

मागपत्रमा भूमि समस्या समाधान आयोग किन खारेज गरियो ? भन्ने कारण सार्वजनिक गर्न, भूमिहीन, दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण र व्यवस्थापनको काम नियमितरूपमा सञ्चालन गर्न, र आयोग विघटनअघि संकलित लगत तथा अभिलेख सुरक्षित राखी तथ्याङ्क प्रणालीमा प्रविष्ट गर्नुपर्नेलगायतका मागहरू समावेश छन्।

त्यसैगरी, भूमिहीन परिवारका लागि आवास तथा कृषि प्रयोजनका न्यूनतम जग्गा सीमा तोक्न, बिर्ता, गुठीका किसान, मोही, हरुवा–चरवा आदिलाई भूमि अधिकार दिलाउन, त्रुटिपूर्ण छूट जग्गा दर्ता प्रक्रिया बन्द गर्न, र मालपोत तथा नापी कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग पनि गरिएको छ ।

मञ्चले हदबन्दीभन्दा बढी जग्गा भूमिहीन, दलित र सुकुमबासीलाई वितरण गर्न, मध्यवर्ती क्षेत्रका भूमिहीनको अधिकारमा कुनै बाधा नपुग्ने सुनिश्चितता गर्न, र मोही जग्गा बाँडफाँडको कार्य तोकिएको समयमा पूरा गर्न सरकारसँग आग्रह गरेको छ ।

मन्त्री सिन्हाले मञ्चका मागहरू सम्बोधनका लागि मन्त्रालय सक्रिय रहने र भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न पहल जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

मञ्चले हालै विघटन गरिएको भूमि समस्या समाधान आयोगको पुनःस्थापना वा वैकल्पिक संरचना बनाएर त्यसले सुरु गरेको कामलाई निरन्तरता दिनुपर्ने माग पनि गरेको छ । मञ्चका अध्यक्ष दर्जीले भने, “विगत २०४६ सालदेखि आयोग बन्ने र विघटन हुने क्रम चल्दै आएको छ । आयोग खारेज भएपछि भूमिहीनहरूको व्यवस्थापन कार्य रोकिएको छ, जसले लाखौँ परिवार निराश भएका छन् ।”

मञ्चका अनुसार हाल देशभर करिब १५ लाख भूमिहीन तथा अव्यवस्थित परिवार रहेका छन्, जसले आयोगमा जग्गा दर्ता र व्यवस्थापनका लागि निवेदन दिएका थिए ।

Monday, October 13, 2025

लाङटाङ घुम्न जाने भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारका


रसुवा, लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ । 

गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता हुनेहरुमा भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्र्षीया सनिता श्रेष्ठ रहेका छन् । संस्कृति, किशन र सनिता एउटै परिवारका रहेको सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष लच्छुराम न्यौपानले जानकारी दिनुभयो । 

उनीहरु रामेछापबाट बसाइँसराइ गरेर दधिकोटमा बसोबास गर्दै आएको न्यौपानले बताउनुभयो । उनीहरुको अवस्था अझै अज्ञात रहेको छ । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिनुभयो । बेपत्ताहरूको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्यका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो । 

यसअघि संस्कृति, किशन र सनिता मध्यपुरथिमिमा बस्ने भनि समाचार सार्वजनिक भएको थियो । लाङटाङ जाने क्रममा मध्यपुरथिमि शङ्खधरचोकबाट गाडी चढेकाले रोज कर्माचार्यले उनीहरु थिमिको भएको प्रहरीलाई जानकारी गराएका कारण उनीहरू थिमिको भएको समाचार सार्वजनिक भएको थियो ।

Sunday, October 12, 2025

अभियान कै रूपमा राष्ट्रिय भिटामिन ‘ए खुवाउने

 


रसुवा, कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ ।


सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदैन आएको छ । 


यस वर्ष सोही मितिमा दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ ।


महाशाखाका निर्देशक डा विवेककुमार लालले ७५३ स्थानीय तहमा दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी गराए । यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए ।


पीडित परिवारलाइ क्षतिपूर्ति दिने सहमति , रसुवा बन्द फिर्ता

 



रसुवा,  पीडितका परिवारलाइ २५ लाख रुपैयाँ क्षतिपूर्ति तथा रोजगारी सुनिश्चित गर्ने सहमति पछि रसुवा बन्द फिर्ता भएको छ । 

गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा शनिबार दिउँसो १ बजे करेन्ट लागेर मृत्यू भएका कालिका गाउँपालिका ३ का स्क्याभेटर चालक ५० वर्षीय शिव पौडेलका आफन्त तथा स्थानीयले जिल्ला बन्द गरेका थिए ।   

रसुवागढी जलविद्युत आयोजना सरकारी सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र पीडितका तर्फबाट कालिका गाउँपालिकामा भएको छलफल पछि मृततका परिवारलाइ २५ लाख रुपैयाँ क्षतिपूर्ति र परिवारका १ जनालाइ रोजगारीको सुनिश्चितता गर्ने सहमति पछि बन्द फिर्ता भएको हो । 

प्रहरी, कालिका गाउँपालिकाका जनप्रतिनिधि, रसुवागढी जलविद्युत कम्पनी तथा पीडित परिवारसँग कालिकास्थानमा छलफल पछि सो सहमति भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए ।   


पीडित परिवारबाट क्षतिपूर्ति माग गरी रसुवा बन्द

 


रसुवा,  गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा शनिबार दिउँसो १ बजे करेन्ट लागेर मृत्यू भएका कालिका गाउँपालिका ३ का स्क्याभेटर चालक ५० वर्षीय शिव पौडेलको परिवारले रसुवा बन्द गरेका छन् ।  

बन्दको अब्हान गरेपछि पासाङल्हामु सढकको रसुवा खण्डमा सवारी साधन चलेका छैनन् । काठमाण्डौका लागि कुनै सवारी चलेनन्। भने राजधानीबाट रसुवातर्फ जाने सवारी पनि बन्द छ । बन्दकर्ताले एम्बुलेन्स र विदेशी पर्यटक बाहेक मोटरसाइकल पनि ठप्प पारेका छन् । बन्दकर्ताहरूले बेतिनी, बनुवालगायत ठाउँठाउँमा सडक अवरुद्ध पारेका छन् । 

रसुवागढी जलविद्युत कम्पनीमा कार्यरत मृतकका परिवारलाइ काजक्रिया र क्षतिपूर्ति वापत ३५ लाख रूपैयाँ , पत्नीलाइ रोजगारी र छोराछेरीको उच्च शिक्षा अध्ययनकाे सुनिश्चित हुनुपर्ने जस्ता माग राख्दै जिल्ला प्रशासन कार्यालय र रसुवागढी जलविद्युत कम्पनीको ध्यानाकर्षण गराएको स्थानीय पुष्पराज न्यौपानेले बताए । उचित माग पुरा नभएसम्म लास बुझेर सदगत गर्ने बताएका छन् भने रसुवा जिल्ला बन्द घोषणा गरेपछि सार्वजनिक यातायात चनेका छैनन् । 

कम्पनी तथा पीडित परिवारसँग कालिकास्थानमा छलफल हुन लागेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए ।   माग पुरा नभए कडा आन्दोलन गर्ने बन्दकर्ताहरुले बताएका छन् । 

Saturday, October 11, 2025

रेडियो लाङटाङकाे ११ औँ वार्षिक साधारणसभा सम्पन्न

 


रसुवा, रेडियो लाङटाङ ९०।३ मेगाहर्जको ११ औँ वार्षिक साधारणसभा शनिबार कालिका गाउँपालिकाको सभाहलमा सम्पन्न भयो । 

पर्यटन विकस तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालति रेडियाे लाङटाङ ९०.३ मेगाहर्जको ११ औँ वार्षिक साधारणसभा कार्यक्रमको अवसरमा जिल्लामा कार्यक्षेत्र बनाई नेपाल टेलिभिजन जिल्ला संवाददाता सुशील कोईरालालाई यस वर्षको स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार २०८२ प्रदान गरियो । 

उनलाइ नगद पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको हो । यस्तै योगमाया अधिकारी (ईश्वरी) स्मृति महिला स्वयंसेवीका पुरस्कार २०८२ बाट कालिका-३ की महिला स्वास्थ्य स्वयंसेवीका कुलकुमारी न्यौपाने नगद पाँच हजार पाँच सय पचपन्न रुपैयाँ सहित सम्मानित भइन् । साे अवसरमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक श्यामबहादुर पुडासैनी पनि सम्मानित भए । 

जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथिले तामाङले समाज रुपान्तरणको मुख्य आधार पत्रकार रहेको बताउदै समुन्नत, सुसंस्कृत, सभ्य समाज निर्माणमा सामुदायिक रेडियोको निर्णायक भूमिका हुने हुँदा निश्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा कुरामाथि जोड् दिए । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व अधिकारी , कालिका गाउँपालिका अध्यक्ष हरी कृष्ण देवकोटा, रसुवा अस्पताल मेसु डा।अचुत पौडेल, जनस्वास्थ्य कार्यलयका झमप्रसाद आचार्य, नागरिक समाज रसुवाका अध्यक्ष वाबुलाल तामाङलगायत जनप्रतिनिधि, राजनीतिक दल गैरसरकारी संस्था, पत्रकार र स्वास्थ्य स्वयंसेवीक र स्थानीयबासीहरू सहभागी थिए । 


करेन्ट लागेर एक जनाको मृत्यु


रसुवा, गोसाइँकुण्ड गाउँपालिका-२, टिमुरेमा शनिबार दिउँसो १ बजे करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।  

सडक निर्माणको क्रममा स्काभेटर चालक पौडेललाई एक्कासि करेन्ट लागेर कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।   मृतकको रसुवा अस्पतालमा पोस्टमार्टम भएको प्रहरीले जनाएको छ।









एक सय ८४ औं पटक रक्तदान गर्ने सतक रक्तदाता प्रेमसागर रसुवामा सम्मानीत


रसुवा, नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले कालिका गाउँपालिका–२ मा ०८२ असाेज २५ गते १८४औं पटकको रक्तदान गरे ।  

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याचकाे संयुक्त रुपमा शनिबार आयोजित ७ औं रक्तदान कार्यक्रममा सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले १८४औं पटकको रक्तदान गरेका हुन् । 

कार्यक्रममा कर्माचार्यलाई जिल्लावासी तथा कालिका गाउँपालिकाले पनि छुट्टछुट्टै सम्मान पत्र प्रदान गरे । प्रमुख अथिति रसुवा नागरिक समाजका अध्यक्ष तथा नेपाल रेडक्रस साेसाइटीका सभापति बाबुलाल तामाङ, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, जनस्वास्थ्य प्रमुख झमप्रसाद आचार्यलगायका जनप्रतिनिधि तथा स्थानीयले  उनलाइ दोसल्ला तथा सम्मानपत्र प्रदान गरेर सम्मान गरेका थिए । 

सम्मान ग्रहण गर्दै कर्माचार्यले याे सम्मानले अभियानमा अझै बढी लाग्ने र रक्तदानका क्षेत्रमा काम गर्न जिम्मेवारी थपिएको महसुस गरेको बताए । 

सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यललाइ देशब्यापी रूपमा रक्तदान अभियान सञ्चालन गरेकाे भन्दै कालिका गाउँपािलकाले सम्मानपत्र तथा दाेसल्लाले सम्मान गरेका थिए । रक्तदान आयोजक दुवै संस्था तथाले रसुवामा याे अभियानलाइ जाेड्ने कार्यमा कर्माचार्यले र संस्थापक जिल्ला अध्यक्ष प्रमिला लामाकाे पनि याेगदान रहेकाे चर्चा गरियाे । कर्माचार्य नेपालका रेकर्डेट रक्तदातामा हालसम्मका धेरै पटक रक्तदान गर्ने हुन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याचले नियमित रूपमा ७ औं पटक रक्तदान आयोजना गरेक हुन् । 

जिल्लाका बिभिन्न स्थानबाट आएर ८६ जनाले रक्तदान गरी ८६ पिन्ट रगत संकलन गरिएको रक्तदाता समाज रसुवाका अध्यक्ष रामशरण गजुरेलले बताए । संकलन भएको रगत केन्द्रीय रक्तसञ्चार केन्द्रमा पठाइएको छ । 











Sunday, October 5, 2025

लाङटाङ घुम्न गएका ४ जना बेपत्ता, खोजी कार्य जारी


रसुवा , गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेको पेदिङ खोल्सामा आएको बाढीले बगाउँदा लाङटाङ भ्रमणमा गएका ४ जना बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० हेमबहादुर शाहीका अनुसार भक्तपुरबाट आएका १६ जनाको टोली मध्ये ४ जनालाई शनिबार खोल्साले बगाएको हो । घटनास्थल लाङटाङ पदमार्गको घोडातबेला भन्दा तल पर्छ । 

बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिकाका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ र सँगिता श्रेष्ठ रहेका छन् भने रवि श्रेष्ठ भक्तपुर नगरपालिकाका भएको प्रहरीले जनाएको छ । 

भिषण झरी सहित आएको हिम पहिरोमा परेको हुनसक्ने स्थानीय ग्याल्बो लामाले बताए । 

खोजीका लागि लाङटाङ र स्याफ्रु प्रहरी चौकीबाट टोली खटाइएको तर भेटिने सम्भावना न्युन देखिएको डीएसपी शाहीले जानकारी दिए ।  उनीहरुको खोजी कार्य जारी रहेको छ । 



Sunday, August 24, 2025

दुइ बालिका बेपत्ता


रसुवा, कालिका गाउँपालिका–३ धारापानीका २ बालिका २ सातादेखि हराएका छन् । 

१४ वर्षिया सलिना तामाङ र १८ वर्षिया सञ्जिता तामाङ साउन २४ गतेदिख हराएका हुन । 

सलिनाका बाबु लारी तामाङ मलेसियामा छन् । छोरी हराएको खबर पाएपछि २५ गते बेत्रावती, काठमाण्डौ कोटेश्वर, कालिकास्थान, धुन्चेलगायतका प्रहरी चौकीमा जानकारी गरेको र मानव बेचविखन तथा अनुशन्धान ब्युरोमा समेत निवेदन उनका बाबुले दिएको बताए । ’हराएको छोरी खोजी गरिदिन मैले संचार माध्यम तथा प्रहरीमा अनुरोध गरेको छु तर दुइ सातामा पनि कुनै खबर आएन‘ तामाङले भने । 

सञ्जिताका दाजु सञ्जय तामाङका हराएकी बहिनीको खोजी गरिदिन जिल्ला स्थित प्रहरी चौकीहरुमा तथा संचार माध्यममा अनुरोध गरेको तर कुनै सूचना नपाएको बताए । खोजी कार्य भइरहेको 

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए । 

त्यसै गरी नौकुण्ड गाउँपालिका–५ र ६ को सिमानामा पर्ने माङसे खोलाले बगाउँदा एक बालक २ सातादेखि बेपत्ता भएका छन् । 

विद्यालयको छुट्टीपछि नौकुण्ड गाउँपालिका–६ का सुनिल लोप्चन आमासँगै घर फर्कने क्रममा आकस्मिक रूपमा बढेको खोलाको पानीले बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए । 


Thursday, August 14, 2025

यात्रुवाहक बस लहरेमा दुर्घटनामा १२ जना घाइते


 रसुवा, गत्लाङबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस आज दिउँसो दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार बा ४ ख ८४३५ नम्बरको बस पासाङल्हामू राजमार्गअन्तर्गत उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दिउँसो २ बजे सडकबाट करिब ३० मिटर तल खसेको हो ।

दुर्घटनामा घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि पठाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।


Wednesday, July 23, 2025

केरुङमा अड्किएका नेपाली तातोपानीबाट स्वदेश फिर्ता

 

रसुवा, बाढीले केरुङमा अड्किएका नेपाली तातोपानीबाट स्वदेश फर्किएका छ्न् । 

जेठ २४ गते ल्हेन्दे खोलाको बाढीले नेपाल–चीन सिमाना तर्ने रसुवा टिमुरेको मितेरी पुल बगाएपछि चिनियाँ क्षेत्रमा अड्किएका नेपाली तातोपानी नाकाबाट घर फर्किएका छन्।

गत असार २४ गते बिहान ल्हेन्दे खोलाको बाढीले भोटेकोशी नदी थुनिँदा नेपाल–चीन सीमा क्षेत्रको टिमुरे भन्सारमा ठुलो क्षति भएको थियो। त्यसवेला सीमा क्षेत्रमा कन्टेनर चलाउने चालक र व्यापारसँग सम्बन्धित अन्य नेपालीलाई चिनियाँ प्रहरीले उद्धार गरेर केरुङ पुर्‍याएको थियो।

दुई हप्तादेखि केरुङमा अड्किएका २०३ नेपाली नेपाल–चीन सरकारका अधिकारीबिच भएको सहमतिअनुसार तातोपानी नाका भएर फिर्ता भएका हुन्। उनीहरू बाढीपछि चीन सरकारले गरेको व्यवस्थापनमा केरुङमा बसिरहेका थिए। गृह मन्त्रालयको आग्रहमा ल्हासास्थित महावाणिज्य दूतावासले चीन सरकारसँग समन्वय गरेर नेपालीलाई केरुङबाट न्यालम, खासा हुँदै तातोपानी ल्याइएको हो।

चिनियाँ सुरक्षाकर्मी र अध्यागमनले तातोपानीको मितेरी पुल ल्याएर सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई घर फर्केका नेपाली जिम्मा लगाएका छन्। उनीहरूलाई  चिनियाँ सुरक्षाकर्मीले बुधबार बिहानै २० वटा माइक्रो बसमा राखेर दिउँसो तातोपानी ल्याएका हुन्।

केरुङमा अड्किएका नेपाली तत्काल ल्याउन युबा संघ रसुवाले प्रधानमन्त्री समक्ष अनुराेध पत्र पेस गरेका थिए भने प्रतिनिधि सभा तथा प्रदेश सभामा सदस्यहरूले पनि माग राखेका थिए । 

केरुङमा अड्किएका नेपालीकाे उद्दार गरी ल्याउन बिभिन्न संचार माध्यमले पनि विषय उठान गरेका थिए । 

Tuesday, July 22, 2025

केरुङमा अड्किएका नेपालीहरूलाई तातोपानी नाकाबाट स्वदेश फर्काइने


रसुवा, गत असार २४ गते रसुवा स्थित लेन्दे खाेलामा आएको भीषण बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि केरुङमा अड्किएका नेपालीहरूलाई तातोपानी नाकाबाट स्वदेश फर्काइने भएको छ।

नाकामा मितेरी पुल सञ्चालनमा नआएको कारणले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल ल्याउन तयारी गरिएको हो। चीनमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार फर्कन लागेका मध्ये सवारी चालक, व्यवसायी तथा घुम्न गएका नेपालीहरू छन्। उनका अनुसार बाढीपछि चीनले उद्धार गरी केरुङ पुर्‍याएका ती नेपालीहरूलाई चीनले नै तातोपानी नाकासम्म पुर्‍याउनेछ।

यस्तै, पाङसिङ क्षेत्रमा बाढीका कारण अड्किएका १३३ जना सवारी चालक, व्यवसायी तथा घुम्न पुगेका नेपालीहरूलाई पनि चीनले तातोपानी नाकासम्म पुर्‍याउने व्यवस्था मिलाएको छ।

यसबीच स्याफ्रु–रसुवागढी सडक खण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएकोले उनीहरूलाई अर्को नाकाबाट स्वदेश फर्काउने निर्णय गरिएको हो।

केरूङबाट नेपालीहरू ताताेपानी नाकाबाट ल्याउन यात्रा सुरू भएकाे केरुङमा अड्किएका हाेमनाथ ढकालले बताए । केरुङमा अड्किएका नेपाली तत्काल ल्याउन युबा संघ रसुवाले प्रधानमन्त्री समक्ष अनुराेध पत्र पेस गरेका थिए भने प्रतिनिधि सभा तथा प्रदेश सभामा सदस्यहरूले पनि माग राखेका थिए । 

केरुङमा अड्किएका नेपालीकाे उद्दार गरी ल्याउन बिभिन्न संचार माध्यमले पनि विषय उठान गरेका थिए । 




युवासंघको प्रधानमन्त्रीलाई आग्रह केरुङमा अलपत्रको तत्काल उद्धार गरियोस्


रसुवा, गत असार २४ गते नेपाल चीन सिमाना लेन्देखोलामा आएको बाढीले आएको भीषण बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको रसुवाबाट राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी रसुवाले प्रधानमन्त्रीलाई विशेष अनुरोधसहित पत्र प्रेस गरेको छ ।

असार २४ गते राति ३ बजेर १५ मिनेट जाँदा चिनको भू–भागमा रहेको अस्थायी हिमताल फुटेर आएको भीषण बाढीले रसुवामा अकल्पनीय विनाश मच्चाएको थियो । मितेरी पुल, सुख्खा बन्दरगाह, सडक तथा हाइड्रोपावरहरूमा ठूलो क्षति पुगेको छ भने नेपाली र चिनियाँ गरी १८ जना मजदुरको ज्यान गएको थियो । सयौँ गाडीहरू बगाएको बाढीपछि सडक अवरुद्ध हुँदा रसुवाबाट केरुङतर्फ गएका १५ सय बढी नेपाली मजदुर र व्यापारी अहिले चिनको केरुङमा अलपत्र अवस्थामा छन् ।

युवासंघ रसुवाका अध्यक्ष कुमार नगरकोटीले हस्ताक्षर गरेको अनुराेध पत्रमा भनिएको छ:

 “केरुङमा फसेका नेपालीहरू खाना  र नियमित सेवन गर्ने औषधि अभावमा पीडित भएका छन् । आधा महिना भइसकेको छ, उनीहरू अलपत्र छन् । नेपालमा रहेका उनीहरूका परिवारहरू पनि समस्यामा परेका छन् । त्यसैले प्रधानमन्त्रीज्यूको पहलमा तत्काल उद्धारको व्यवस्था गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।”

पत्रमा प्रधानमन्त्रीको तत्काल स्थल निरीक्षण र निर्देशनपछि सडक पुनःनिर्माण, उद्धार तथा राहत कार्य तीव्र रूपमा अघि बढेको भन्दै आभार व्यक्त गरिएको छ । यद्यपि अझै पनि स्याफ्रुबेसी बजारमुनिको बस्ती बाढीको कटानका कारण जोखिममा परेको उल्लेख गर्दै त्यसको रोकथामका लागि तत्काल पहल गर्न युवासंघले सरकारसँग माग गरेको छ ।

पत्रमा मितेरी पुल, सुख्खा बन्दरगाह र रोङ्गादेखि टिमुरेसम्मको सडक पुनर्निर्माणका लागि आवश्यक निर्देशन दिन आग्रह गर्दै बाढीमा क्षति पुगेका मजदुर तथा सम्पत्तिको उचित क्षतिपूर्ति सुनिश्चित गर्न पनि युवासंघले सरकारसँग अपिल गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल, रसुवाले गरेको यो आग्रहले बाढी–पीडितको आवाज पुनः सरकारको कानमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

लेन्दे खाेलाकाे बाढीका कारण क्षतिको २९ करोड रुपैयाँको बीमा दाबी


 रसुवा, लेन्दे खाेलाकाे बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न सात बीमा कम्पनीमा सो बराबरको दाबी परेको हो । शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा पाँच करोड २० लाख रुपैयाँ बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सात वटा दाबी परेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीमा एक करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा ७७ लाख रुपैयाँ बराबरको छ वटा, आइजीआई प्रूडेन्सियलमा ७५ लाख ५० हजार रुपैयाँ बराबरको नौ वटा बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, युनाइटेड अजोडमा ६८ लाख रुपैयाँ बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख रुपैयाँ बराबरको छ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख रुपैयाँ बराबरको सात वटा बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार कूल ६३ वटा बीमा दाबी परेको छ ।

नेपाल चीन सिमानाको लेन्दे खोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन त्यहाँ रहेको रसुवागढी जलविद्युत् आयोजना लगायत अन्य जलविद्युत आयोजनामा पनि भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।


दुई सातापछि स्याफ्रुबेसी–रसुवागढी सडक सुचारु


रसुवा, गत जेठ २४ गते नेपाल चीन सिमानाको रसुवागढी नाकामा लेन्दे खोलामा राति आएको बाढीले क्षतिग्रस्त स्याफ्रुबेसी–रसुवागढी नाका जोडने सडक २ साता पछि सुचारु भएको छ । 

सो बाढीमा १८ बेपत्ता भएका मध्ये हालसम्म २ जनाको सनाखत भएको छ । धेरै सवारी साधान र भवन तथा सडक संरचना बगाएर क्षति भएको थियो । 

गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक अयोजनाका अनुसार लिङलिङको सडक मर्मत तथा निमार्ण पछि सडक संचालनमा आएको हो । लिङलिङ र फ्याङलुङ खोलाको बीच भागमा रहेको करिब दुई सय मिटर सडक निमार्ण गरे पछि सडक सुचारु भएको आयोजनाका इन्जिनियर रुपनारायण पौडेले बताए । 

बाढीले स्याफ्रुबेशीदेखि रसुवागढीसम्मको दश स्थानमा कटान गरेको गरेको सडक दुबैतर्फबाट निर्माण गरी अस्थायी रुपमा भए पनि सञ्चालनमा ल्याउन सफल भएको आयोजनाले जनाएको छ । 

नेपाल र चीनको सिमाना रसुवागढीमा चीन तर्फबाट पनि कटान गरेका भागहरूको मर्मत तथा लेन्दे खोलामा तत्काल बेलिबृज निमार्णका लागि चिनीयाँ पक्षले काम गरिरहेकोले नेपाल चीन सिमानाको रसुवागढीमा बेलिबृज छिट्टै निमार्ण हुनेछ ।

Friday, July 18, 2025

लेन्दे खोलाको बाढी : अलपत्र नेपालीलाई स्वदेश फर्काउने तयारी


रसुवा,  लेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ। उनीहरूलाई तातोपानी नाका हुँदै ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। पौडेलका अनुसार अलपत्र परेका १ हजार २०० जनालाई स्वदेश फर्काउनका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ।

केरुङमा अलपत्र नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ। अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक ९१ जना छन्। कामको सिलसिलामा त्यहाँ रहेका १ सय १७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ।

तिब्बतको केरुङ बजारमा रहेका नेपाली कामदारहरू सुरक्षित छन्। लेन्दे खोलामा बाढी आउदा केरुङमा न त वर्षात भयो न त कुनै बाढी नै थियो। ‘लेन्देमा बाढी आएको र मितेरी पुल बगेको थाहा पाएपछि घरतर्फ कसरी जाने चिन्ता बढेको थियो तर धेरैले यहाँ सुरक्षित भएर काम गरिरहेका छन्’, त्यहाँ कार्यरत कालिका गाउँपालिका–३ का होमनाथ ढकालले भने, ‘चालक तथा मेसवालासहित २ सय जना जति नेपाल फर्कने तयारीमा बसेका छन्।’

केरुङमा आयात निर्यात कम्पनी र होटलमा काम गर्ने धेरै नेपाली छन्। रसुवागढी नाकाबाट आउने साना सवारी साधन तथा मालबाहक कन्टेनरका चालकहरू बाढीका कारण केरुङतर्फ पुगेको बखत रोकिनु परेको थियो।

पीडामा लेन्देखोला बाढी पीडित

जेठ २४ गते नेपाल चीन सिमानाको रसुवागढी नाकामा लेन्दे खोलामा राति आएको बाढीले ठूलो धनजनको क्षति भएको छ। बाढीमा १८ जना बेपत्ता भएकामध्ये हालसम्म २ जनाको सनाखत भएको छ। बाढीमा परेकाहरूमध्ये लास तथा मानव अंग गरी १२ वटा भेटिएको छ।

गोसाइँकुण्ड गाउँपालिका–२ की स्थानीय समाजसेवी मिनाक्षी थापा मगर नियमित जस्तै ३ बजे ब्युँझने गर्थिन्। ‘बिहान पौने ३ बजे नै खोलाको आवाज आयो। खोला बढेको, डुंगा बगेको गड्याङ गुडुङ गरेको आवाज आयो र केहीबेरमा जमिन हल्लियो। भूकम्प हो कि जस्तो लाग्यो’, मगर भन्छिन् ‘उनले नजिकै प्रहरीमा खबर गरिन्। सबै सडकमा निस्के। रसुवागढी जलविद्युत् आयोजनामा साढे ३ बजे मात्र साइरन बज्यो। खोलाले गाडी बगाएको देखियो।’ बिहानको उज्यायो हुँदा नहुँदै उद्धार सुरु भयो। मगरले पीडित परिवारका लागि निजी तवरबाट राहत समेत बितरण गरेकी छिन् । 

उद्धारमा खट्ने प्रहरीले अरू धेरैलाई बचाए, उनीहरूले ज्यान गुमाए। ‘बिहान ४ बजे केरुङ बस्ने दिदीको फोन आयो। बिहान ६ बजेपछि फोन पनि चलेन। कतैबाट अपडेट लिन पाइएन। ६ दिनमा बत्ती बल्यो। गाउँ अन्धकार भयो। अझै नेट चलेको छैन। फोनमा पनि समस्या छ’, उनले भनिन्।

सुक्खा बन्दरगाहमा बस्ने गेट पाले लेम्बा तामाङले नेपाली तथा चिनियाँहरूलाई बाढीको संकेत गरेर ब्यँुझ्याएर बचाएका थिए। रसुवागढी लज विद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारी बाढी आउँदा घटनास्थलमै थिए। ‘जेठ २४ गते राति ३ बजे खोलाको आवाज आयो। हामी ३ः२० बजे त आत्तिएर भागेका थियौं। क्याम्पका रहेका सबै साथीलाई ब्युँझाएर भीरतिर चढेर बाँच्यौं। १० मिनेटमा पूरै क्याम्प खाली भयो। क्याम्पनजिकै घुँडाभन्दा माथि पानी आउने भइसकेको थियो’, अधिकारी भन्छन्, ‘सायद प्रि–फ्याव भवन भएकाले होला हल्लायो अनि आवाज पनि सुनियो। १ बजेतिर सेनाको हेलिकप्टरले हाम्रो २३ जनाको उद्धार गरेको दृश्य मेरो स्मरणमा रहेको छ।’

निर्माण सम्पन्न जलविद्युत आयोजनामा आठ दिन बित्दा पनि क्षति विवरण संकलन हुन सकेको छैन। आयोजनाको ड्याम साइड, भवन, टर्वाइन र गेटहरू भत्केको छ। क्याम्प पूरै ध्वस्त छ। ८ वटा हाइलक्स, माइक्रो गाडी पुरेको, प्रशारण लाइन, आयोजना तथा क्याम्पमा जाने बाटो क्षति भएको अधिकारीले बताए। सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार लिङलिङ नजिकैको ठूलो अवरोधले समस्या पारेको हो। १६ किमी मध्ये १५ किमी सडक अवरुद्ध हटाइएकाे छ।

बाढीले प्रभावित १६ किलोमिटर सडकको अधिकांश भागमा यातायात अवरुद्ध भएपछि स्थानीय प्रशासन, सडक विभाग, विभिन्न जलविद्युत् आयोजना तथा स्थानीय तहको सहकार्यमा मर्मत तीव्र गतिमा अघि बढेको हो। गल्छी–त्रिशूली–रसुवागढी सडक सुधार आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठले तिब्बततर्फबाट बग्ने लेन्देखोलामा आएको बाढीले सडकमा क्षति पुर्‍याएपछि आपत्कालीन मर्मत अभियान सुरु गरिएको जानकारी दिए। लिङलिङ भिरको बाहेक अधिकांश अवरोध हटाइएको छ। ‘सडक खुलेपछि जनजीवन सामान्य अवस्थामा फर्किने आशा छ’, उनले भने।

बेपत्ताको खोजी जारी

बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको रसुवामा पुनः बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले थप सतर्कता अपनाउन आम सर्वसाधारण र सरोकारवाला निकायलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विपद् सूचनाअनुसार असार २४ गते बिहान ३ः०० बजे चीनको तिब्बतबाट भोटेकोशी नदी हुँदै नेपाल प्रवेश गरेको हिम बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको तथ्य उल्लेख गरिएको छ। प्राकृतिक प्रकोपको जोखिम अझै कायम रहेको भन्दै जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट प्राप्त सूचनामा भोटेकोशी, त्रिशूली, लाङटाङ खोला, चिलिमे खोला लगायत जिल्लाभित्र बहने अन्य नदीरखोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना औंल्याइएको छ। यी क्षेत्र आसपास बसोबास गर्ने नागरिक, नदी किनारमा रहेका आयोजनाहरू, कार्यालयहरू तथा यातायात सञ्चालनमा संलग्न सरोकारवालाहरूलाई आवश्यक सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

प्रशासनले विशेष गरी नदी किनारमा बस्ती रहेका समुदायहरूलाई स्थानिय तह र सुरक्षाकर्मीहरूसँग समन्वय गरी सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरेको छ। साथै वर्षा तथा बाढीका कारण सडक मार्गहरूमा अवरोध वा क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राखी यात्राको क्रममा अत्यावश्यक सतर्कता अपनाउन समेत सुझाव दिइएको छ।