ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, October 17, 2026

रसुवाको अन्न भण्डार : खण्डहरमा परिणत (फाेटाेफिचर)

रसुवा, लेन्देखोला हुँदै भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण रसुवा जिल्लाको उत्तरगया गाउँपालिका ४ र ५ का खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।


त्रिशूली नदि नजिकै  पैरेवेसी, खाल्टे, नाैबिसे, कैदलेटारमा खेती याेग्य समथर फाँट र बस्ती पनि रहेकाे थियाे । 

धान भित्र्याउने समय नजिकिँदै गर्दा बाढीले धानबालीसहित खेतमा क्षति पुर्‍याएपछि स्थानीय किसानको खाद्य सुरक्षा र जीविकोपार्जनमा गम्भीर असर परेको छ ।


स्थानीयका अनुसार पैरेबेँसी क्षेत्रमा धानबाली भित्र्याउने समय भए पनि बाढीले धान फल्ने खेतसमेत बगाएको छ। खेतीयोग्य जमिनमा ढुङ्गा, गिट्टी र बालुवा थुप्रिएपछि जमिन तत्काल खेती गर्न नसकिने अवस्थामा पुगेको छ।


स्थानीय गोविन्द घिमिरेका अनुसार बाढीले घर तथा खेतबारीमा क्षति पुर्‍याउँदा स्थानीयको आवास र जीविकोपार्जनमा समस्या उत्पन्न भएको छ। उहाँका अनुसार उत्तरगया गाउँपालिका–४ बाट २८ जना स्थानीय बेपत्ता भएका छन् भने पैरेबेँसी क्षेत्रमा ४४ घर बाढीबाट प्रभावित भएका छन् ।



स्थानीय तहको प्रारम्भिक अनुमानअनुसार उक्त क्षेत्रमा करिब ३ सय ५० रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ। सो जमिनमा करिब तीन हजार मुरी धान उत्पादन हुने अनुमान गरिएको थियो। बाढीले खेतीयोग्य जमिनमा क्षति पुर्‍याएपछि यस वर्षको खाद्यान्न उत्पादनसँगै किसानको आम्दानीमा समेत असर पर्ने देखिएको छ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति आकलनसम्बन्धी विवरणअनुसार भोटेकोशी बाढीले रसुवासहित प्रभावित क्षेत्रका कृषियोग्य जमिनमा व्यापक क्षति पुर्‍याएको छ। प्राधिकरणको प्रारम्भिक विवरण अनुसार रसुवामा मात्रै एक हजार ८ सय ६ हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको अनुमान गरिएको छ।

यसबाट कृषि उत्पादन र किसानको जीविकोपार्जनमा दीर्घकालीन असर पर्ने जोखिम रहेको छ । बाढीबाट प्रभावित किसानका लागि क्षतिग्रस्त खेतबारीको पुनःस्थापना, खाद्यान्न तथा बीउबिजनको व्यवस्था र वैकल्पिक आयआर्जनका अवसर सिर्जना गर्नु आवश्यक देखिएको छ।


घर तथा खेतीयोग्य जमिन गुमाएका परिवारको अवस्था पहिचान गरी तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ।







No comments:

Post a Comment