Monday, November 17, 2025
दसौं जिल्ला सभा तथा आ.व.०८१/०८२ को वार्षिक समीक्षा सम्पन्न
Sunday, November 16, 2025
छैठौं राष्ट्रपति रनिङ सिल्डकाे उपाधि कालिकालाइ
रसुवा, कालिका गाउँपालिकाद्वारा आयोजित छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता समापन समारोह, बागमती प्रदेश सरकारको प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रभात तामाङको प्रमुख अतिथ्यतामा समापन भयाे ।
कालिका गाउँपालिका अन्तर विद्यालय स्तरिय छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८२ को उपाधि कालिका हिमालय माविले जितेकाे छ । कालिका हिमालय माविको खेल मैदानमा सञ्चालित छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता १९ स्वर्ण, १६ रजत र ७ कास्य गरी जम्मा ४२ पदक सहित कालिका हिमालय माविले रनिङ सिल्ड जितेको हो ।
त्यस्तै १५ स्वर्ण, १६ रजत र १ कास्य गरी जम्मा ३२ पदक सहित गत वर्षको बिजेता सेतीभूमे मावि राम्चे द्वितीय स्थान हाँसिल गरेकाे छ । ४ स्वर्ण ४ रजत ७ कास्य सहित १५ पदकका साथ सेतीदेवी मावि तृतीय भएको छ ।
कालिका गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा बागमती प्रदेश सरकारको प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङकाे प्रमुख आतिथ्यता तथा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाको अध्यक्षतामा बागमती प्रदेश सभा सदस्य ईन्द्र गौतम, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरे, नौकुण्ड गाउँपालिकाअध्यक्ष नुर्वुस्याङवो घले, उपाध्यक्ष चन्द्रबहादुर ग्लान वडा अध्यक्षहरू लगायत जनप्रतिनिधिहरू सहभागी थिए ।
Saturday, November 15, 2025
बेमौसमी वर्षाले रसुवाका किसानहरू मर्कामा
रसुवा, लगातार परेको बेमौसमी वर्षाले रसुवाका किसानहरू ठूलो मर्कामा परेका छन् । वर्षाको कारण काटेर खेतमै सुकाउन राखिएको धान उठाउन नपाउँदै उम्रिन थालेको छ ।
रसुवा जिल्लाको दक्षिणी क्षेत्र कालिका, नौकुण्ड र उत्तरगया गाउँपालिकाका किसानहरू सबैभन्दा बढी प्रभावित भएका छन् । लगातार चार दिनसम्म परेको वर्षाले खेतमै रहेको धान भिजेर अंकुरित भएपछि किसान चिन्तित भएका छन् । स्थानीय किसान ज्ञानेन्द्र घिमिरे भन्छन्, “चार दिन लगातार ठूलो पानी पर्ला भनेर सोचेका थिएनौं। खेतमा काटेर सुकाउन राखेको धान उठाउन नपाउँदै सबै उम्रियो। अब पाक्दै गरेका बाली पनि काट्न पाइने अवस्था छैन।”
बेत्रावती, पैरेबेसी, कुडुल्ले लगायतका फाँट र टारी खेतमा किसानले काटेकाे धान तथा पराल बेमौसमी वर्षाले भिजाएपछि लाखाैंकाे क्षती भएकाे छ । के कति क्षती भएकाे बारे स्थानीय सरकार वा कतै पनि लगत संकलन नभएकाे किसानहरू बताउछन् ।
जिल्लामा कात्तिक ११ देखि १५ गतेसम्म लगातार पानी परेको थियो । मौसम अझै पूर्ण रूपमा खुलेको छैन, जसका कारण बाली भित्र्याउन किसानहरू हतारमा छन् । कृषि प्राविधिकहरूले पनि लगातार वर्षाका कारण यस वर्ष रसुवामा धान अभाव हुने अनुमान गरेका छन्।
लोकतन्त्रकाे रक्षा र प्रतिगामी गतिविधि बिरुद्ध एमाले रसुवाकाे जनप्रदर्शन
प्रतिगामी षड्यन्त्र बिरुद्ध लोकतन्त्र र संबिधानको रक्षा गर्दै संसद पुर्नस्थापनाको माग सहित देशभरका ७४ जिल्ला सदरमुकामहरुमा जनप्रर्दशन भएकाे नेकपा एमाले रसुवाका सचिव पेम्पा तामाङले बताए ।
नेकपा एमाले रसुवाले शनिबार सदरमुकाम धुन्चेमा प्रदर्शनसहित जनसभामा संसद पुनर्स्थापना, लोकतन्त्र तथा संविधान संरक्षण, जेन–जि पुस्ताका माग सम्बोधन र सर्वपक्षीय सरकार गठनजस्ता मुद्दा उठाउँदै एमालेले धुन्चे स्वागत गेटबाट विरोध कार्यक्रम सुरु गरेको थियो । जुलुस शिव मन्दिर हुँदै शंखपार्कमा पुगेर जनसभामा परिणत भएको हो।
जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जेन–जि आन्दोलनको नाममा केही भ्रम र अस्थिरता सिर्जना गरिएको दाबी गरे।
उनले भने यस्तो वातावरण लोकतान्त्रिक संरचनामाथि कै चुनौती भएको र एमालेको हालको अभियान त्यसको प्रतिवाद स्वरूप सुरु गरिएको हो ।

सुनुवारले देशको सार्वभौमसत्ता तथा स्वाभिमानमा बाह्य हस्तक्षेपको प्रयास भइरहेको भन्दै एमालेले यसलाई स्वीकार गर्न नसक्ने बताए। संविधान, समृद्धि र स्थिरताका पक्षमा नागरिक समाज र सबै राजनीतिक शक्तिहरू एकजुट भएर उभिनु पर्ने आवश्यकता रहेकाे उनले बताए । जिल्ला कमिटी उपाध्यक्ष कैसाङनुर्पु तामाङकाे अध्यक्षतामा भएकाे जनसभामा केन्द्रीय नेता, प्रदेश कमिटीका नेताहरू, सवै वडाबाट कार्यकर्ताहरू पार्टीका जिल्ला नेताहरू सहित झण्डै १ हजार जना सहभागी थिए ।
Tuesday, November 11, 2025
संसद् पुनर्स्थापनाको माग गर्दै रसुवामा प्रदर्शन
रसुवा, नेकपा एमाले रसुवाले संसद् पुनर्स्थापनाको माग गर्दै यहाँका ५ वटा स्थानीय तहमा भेला र प्रदर्शन गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार एमाले रसुवाले जन निर्वाचित संसद् पुनर्स्थापना गर्नुपर्ने माग राख्दै जिल्लाभर प्रदर्शन गरेको हो । पार्टी केन्द्रले संसद् पुनर्स्थापना र महाधिवेशन केन्द्रित जनपरिचालन एवं जनसभा गर्न सबै पालिका कमिटीहरूलाई निर्देशन दिएको थियो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि भदौ २७ गते प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
एमालेले संसद् विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको आवाज उठाउँदै आएको छ । संसद् पुनर्स्थापनाको माग राख्दै एमालेले देशभरका स्थानीय तहमा भेला र प्रदर्शन गरेको हो ।
प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै रसुवाको नाैकुण्ड गाउँपालिकामा मङ्गलवार सम्पन्न सभालाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य माधबप्रसाद अर्यालले आन्दोलनबाट बनेको सरकारले संसद् विगठन गर्न पाउने अधिकार नरहेको बताउँदै प्रतिनिधि सभाको पुनर्स्थापना पछि मात्र जेनजी पुस्ताले अघि सारेका मागहरू पूरा गर्न सकिने बताए ।
कालिका गाउँपालिकामा भएकाे कार्यक्रममा पार्टी केन्द्रिय सदस्य प्रेम तामाङले जेनजी आन्दोलनका नाममा भएको आन्दोलनले सरकारी तथा निजी सम्पत्तीमा भएको क्षतिले मुलुक धेरै वर्षपछि परेकाे र वर्तनमान सरकार संविधान र जनताको चाहना विपरीत निर्माण भएको जनाउँदै समृद्ध नेपाल निर्माणमा एमाले कटिबद्ध रहेको बताए । कालिका गाउँपालिकामा भएकाे कार्यक्रममा जिल्ला नेताहरू उद्दवप्रसाद रिजाल, कृष्णबहादु तामाङ, विष्णुप्रसाद देवकाेटा, कमलनाथ आचार्य, भवानीप्रसाद न्याैपाननेलगायतले मन्तब्य दिएका थिए ।
सभापछि कालिकास्थानमा नारा, जुलुस र्याली गरेका थिए । त्यसै गरी आमाछोदिङमो, गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकामा पनि गाउँपालिका स्तरिय भेला तथा प्रदर्शनी सम्पन्न भएको छ । यस अघि २२ गते सबै वडाहरूमा वडा कमिटीकाे आयाेजनामा छलफल तथा भेला सम्पन्न भएकाे नेकपा एमाले रसुवाले जनाएकाे छ ।
Friday, November 7, 2025
मस्तिष्कघातका कारण गम्भीर बिरामी मुरलीबहादुरको उपचारमा सहयोग गर्न अपिल
रसुवा, कालिका गाउँपालिका–३ इटपारेका मुरलीबहादुर नेपाली मस्तिष्कघात (ब्रेन स्ट्रोक) का कारण गम्भीर बिरामी परेका छन् । उनकाे उपचारका लागि सहयाेग जुटाउन सबैलाइ परिवार तथा आफन्तले अपिल गरेका छन् ।
उनको अहिले काठमाडौंस्थित केएमसी हस्पिटल, सिनामंगलमा उपचार भइरहेको छ । चिकित्सकहरुले उनलाई तत्काल शल्यक्रिया (अपरेसन) गर्नु बताएका छन् । तर नेपालीको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा कठिनाइ उत्पन्न भएको परिवारले जनाएको छ । जिल्ला भूमिअधिकार मञ्चका रसुवा संस्थापक सदस्य समेत रहेका नेपाली भूमिहीन हुन् ।
उक्त अवस्थालाई ध्यानमा राख्दै स्थानीयवासी तथा शुभेच्छुकहरूले “जीवन रक्षाका लागि सानो सहयोग, उहाँका लागि ठुलो आशा” भन्ने नारासहित सहयोग अभियान सुरु गरेका छन् । अभियान अन्तर्गत इच्छक शुभेच्छुकहरूले बिरामीको उपचारका लागि आर्थिक सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ । सहयोग गर्न इच्छुक महानुभावहरूले ग्लोबल आइएमई बैंक कालिकास्थान शाखामा रहेको संगिता स्याबा (बिरामीको बुहारी) को नाममा रहेको बैंक खाता नम्बर १९३०७०१०००२०७२ प्रयोग गरी सहयाेग प्रदान गर्न सकिने बिरामीका छाेरा शंकरले बताए ।
यस अभियानका सहयोगीहररूले अपिल गरेका छन् “हाम्रो सानो सहयोगले पनि एक जनाको जीवन बचाउन र एक परिवारमा उज्यालो फर्काउन सक्ने छ । मानवताको नाताले सबैलाई सहयोगका लागि आह्वान गर्दछौं ।”
मूरलीबहादुर बचाउ अभियान सुरू गरी सहयाेग जुटाउन सुरू भएकाे छ ।
Tuesday, October 14, 2025
नीलकण्ठ माविमा शैक्षिक सामग्री वितरण
रसुवा, कालिका गाउँपालिका–५ को सहयोगमा निलकण्ठ नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
१ सय ५ जना विद्यार्थीहरूलाई जुत्ता, मोजा, झोला, पानीको बोतल, कपीलगायत शैक्षिक सामग्रीहरू वितरण गरिएको हो। वडा नं। ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दीप पौडेल, वडा सदस्यहरू र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा इसीडिदेखि कक्षा ५ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक वर्षभरीका लागि पुग्ने गरी सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले जानकारी दिए।
विद्यालयले यसरी वितरण गरिएको शैक्षिक सामग्रीले विद्यार्थीहरूको उत्साह र शैक्षिक सहभागिता अझ बढ्ने विश्वास व्यक्त गरेको छ।
राष्ट्रिय भूमि अधिकार मञ्चद्धारा सरकारलाई ११ बुँदे मागपत्र पेश
रसुवा, राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले अन्तरिम सरकारलाई ११ बुँदे मागपत्र पेश गरेको छ ।मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जी नेतृत्वको टोली मंगलबार सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हालाई मागपत्र बुझाएको हो ।
मागपत्रमा भूमि समस्या समाधान आयोग किन खारेज गरियो ? भन्ने कारण सार्वजनिक गर्न, भूमिहीन, दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण र व्यवस्थापनको काम नियमितरूपमा सञ्चालन गर्न, र आयोग विघटनअघि संकलित लगत तथा अभिलेख सुरक्षित राखी तथ्याङ्क प्रणालीमा प्रविष्ट गर्नुपर्नेलगायतका मागहरू समावेश छन्।
त्यसैगरी, भूमिहीन परिवारका लागि आवास तथा कृषि प्रयोजनका न्यूनतम जग्गा सीमा तोक्न, बिर्ता, गुठीका किसान, मोही, हरुवा–चरवा आदिलाई भूमि अधिकार दिलाउन, त्रुटिपूर्ण छूट जग्गा दर्ता प्रक्रिया बन्द गर्न, र मालपोत तथा नापी कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग पनि गरिएको छ ।
मञ्चले हदबन्दीभन्दा बढी जग्गा भूमिहीन, दलित र सुकुमबासीलाई वितरण गर्न, मध्यवर्ती क्षेत्रका भूमिहीनको अधिकारमा कुनै बाधा नपुग्ने सुनिश्चितता गर्न, र मोही जग्गा बाँडफाँडको कार्य तोकिएको समयमा पूरा गर्न सरकारसँग आग्रह गरेको छ ।
मन्त्री सिन्हाले मञ्चका मागहरू सम्बोधनका लागि मन्त्रालय सक्रिय रहने र भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न पहल जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।
मञ्चले हालै विघटन गरिएको भूमि समस्या समाधान आयोगको पुनःस्थापना वा वैकल्पिक संरचना बनाएर त्यसले सुरु गरेको कामलाई निरन्तरता दिनुपर्ने माग पनि गरेको छ । मञ्चका अध्यक्ष दर्जीले भने, “विगत २०४६ सालदेखि आयोग बन्ने र विघटन हुने क्रम चल्दै आएको छ । आयोग खारेज भएपछि भूमिहीनहरूको व्यवस्थापन कार्य रोकिएको छ, जसले लाखौँ परिवार निराश भएका छन् ।”
मञ्चका अनुसार हाल देशभर करिब १५ लाख भूमिहीन तथा अव्यवस्थित परिवार रहेका छन्, जसले आयोगमा जग्गा दर्ता र व्यवस्थापनका लागि निवेदन दिएका थिए ।
Monday, October 13, 2025
लाङटाङ घुम्न जाने भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारका
रसुवा, लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ ।
गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता हुनेहरुमा भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्र्षीया सनिता श्रेष्ठ रहेका छन् । संस्कृति, किशन र सनिता एउटै परिवारका रहेको सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष लच्छुराम न्यौपानले जानकारी दिनुभयो ।
उनीहरु रामेछापबाट बसाइँसराइ गरेर दधिकोटमा बसोबास गर्दै आएको न्यौपानले बताउनुभयो । उनीहरुको अवस्था अझै अज्ञात रहेको छ । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिनुभयो । बेपत्ताहरूको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्यका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।
यसअघि संस्कृति, किशन र सनिता मध्यपुरथिमिमा बस्ने भनि समाचार सार्वजनिक भएको थियो । लाङटाङ जाने क्रममा मध्यपुरथिमि शङ्खधरचोकबाट गाडी चढेकाले रोज कर्माचार्यले उनीहरु थिमिको भएको प्रहरीलाई जानकारी गराएका कारण उनीहरू थिमिको भएको समाचार सार्वजनिक भएको थियो ।
Sunday, October 12, 2025
अभियान कै रूपमा राष्ट्रिय भिटामिन ‘ए खुवाउने
रसुवा, कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ ।
सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदैन आएको छ ।
यस वर्ष सोही मितिमा दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा विवेककुमार लालले ७५३ स्थानीय तहमा दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी गराए । यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए ।
पीडित परिवारलाइ क्षतिपूर्ति दिने सहमति , रसुवा बन्द फिर्ता
रसुवा, पीडितका परिवारलाइ २५ लाख रुपैयाँ क्षतिपूर्ति तथा रोजगारी सुनिश्चित गर्ने सहमति पछि रसुवा बन्द फिर्ता भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा शनिबार दिउँसो १ बजे करेन्ट लागेर मृत्यू भएका कालिका गाउँपालिका ३ का स्क्याभेटर चालक ५० वर्षीय शिव पौडेलका आफन्त तथा स्थानीयले जिल्ला बन्द गरेका थिए ।
रसुवागढी जलविद्युत आयोजना सरकारी सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र पीडितका तर्फबाट कालिका गाउँपालिकामा भएको छलफल पछि मृततका परिवारलाइ २५ लाख रुपैयाँ क्षतिपूर्ति र परिवारका १ जनालाइ रोजगारीको सुनिश्चितता गर्ने सहमति पछि बन्द फिर्ता भएको हो ।
प्रहरी, कालिका गाउँपालिकाका जनप्रतिनिधि, रसुवागढी जलविद्युत कम्पनी तथा पीडित परिवारसँग कालिकास्थानमा छलफल पछि सो सहमति भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए ।
पीडित परिवारबाट क्षतिपूर्ति माग गरी रसुवा बन्द
रसुवा, गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा शनिबार दिउँसो १ बजे करेन्ट लागेर मृत्यू भएका कालिका गाउँपालिका ३ का स्क्याभेटर चालक ५० वर्षीय शिव पौडेलको परिवारले रसुवा बन्द गरेका छन् ।
बन्दको अब्हान गरेपछि पासाङल्हामु सढकको रसुवा खण्डमा सवारी साधन चलेका छैनन् । काठमाण्डौका लागि कुनै सवारी चलेनन्। भने राजधानीबाट रसुवातर्फ जाने सवारी पनि बन्द छ । बन्दकर्ताले एम्बुलेन्स र विदेशी पर्यटक बाहेक मोटरसाइकल पनि ठप्प पारेका छन् । बन्दकर्ताहरूले बेतिनी, बनुवालगायत ठाउँठाउँमा सडक अवरुद्ध पारेका छन् ।
रसुवागढी जलविद्युत कम्पनीमा कार्यरत मृतकका परिवारलाइ काजक्रिया र क्षतिपूर्ति वापत ३५ लाख रूपैयाँ , पत्नीलाइ रोजगारी र छोराछेरीको उच्च शिक्षा अध्ययनकाे सुनिश्चित हुनुपर्ने जस्ता माग राख्दै जिल्ला प्रशासन कार्यालय र रसुवागढी जलविद्युत कम्पनीको ध्यानाकर्षण गराएको स्थानीय पुष्पराज न्यौपानेले बताए । उचित माग पुरा नभएसम्म लास बुझेर सदगत गर्ने बताएका छन् भने रसुवा जिल्ला बन्द घोषणा गरेपछि सार्वजनिक यातायात चनेका छैनन् ।
कम्पनी तथा पीडित परिवारसँग कालिकास्थानमा छलफल हुन लागेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए । माग पुरा नभए कडा आन्दोलन गर्ने बन्दकर्ताहरुले बताएका छन् ।
Saturday, October 11, 2025
रेडियो लाङटाङकाे ११ औँ वार्षिक साधारणसभा सम्पन्न
रसुवा, रेडियो लाङटाङ ९०।३ मेगाहर्जको ११ औँ वार्षिक साधारणसभा शनिबार कालिका गाउँपालिकाको सभाहलमा सम्पन्न भयो ।
पर्यटन विकस तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालति रेडियाे लाङटाङ ९०.३ मेगाहर्जको ११ औँ वार्षिक साधारणसभा कार्यक्रमको अवसरमा जिल्लामा कार्यक्षेत्र बनाई नेपाल टेलिभिजन जिल्ला संवाददाता सुशील कोईरालालाई यस वर्षको स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार २०८२ प्रदान गरियो ।
उनलाइ नगद पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको हो । यस्तै योगमाया अधिकारी (ईश्वरी) स्मृति महिला स्वयंसेवीका पुरस्कार २०८२ बाट कालिका-३ की महिला स्वास्थ्य स्वयंसेवीका कुलकुमारी न्यौपाने नगद पाँच हजार पाँच सय पचपन्न रुपैयाँ सहित सम्मानित भइन् । साे अवसरमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक श्यामबहादुर पुडासैनी पनि सम्मानित भए ।
जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथिले तामाङले समाज रुपान्तरणको मुख्य आधार पत्रकार रहेको बताउदै समुन्नत, सुसंस्कृत, सभ्य समाज निर्माणमा सामुदायिक रेडियोको निर्णायक भूमिका हुने हुँदा निश्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा कुरामाथि जोड् दिए ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व अधिकारी , कालिका गाउँपालिका अध्यक्ष हरी कृष्ण देवकोटा, रसुवा अस्पताल मेसु डा।अचुत पौडेल, जनस्वास्थ्य कार्यलयका झमप्रसाद आचार्य, नागरिक समाज रसुवाका अध्यक्ष वाबुलाल तामाङलगायत जनप्रतिनिधि, राजनीतिक दल गैरसरकारी संस्था, पत्रकार र स्वास्थ्य स्वयंसेवीक र स्थानीयबासीहरू सहभागी थिए ।
करेन्ट लागेर एक जनाको मृत्यु
सडक निर्माणको क्रममा स्काभेटर चालक पौडेललाई एक्कासि करेन्ट लागेर कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए। मृतकको रसुवा अस्पतालमा पोस्टमार्टम भएको प्रहरीले जनाएको छ।
एक सय ८४ औं पटक रक्तदान गर्ने सतक रक्तदाता प्रेमसागर रसुवामा सम्मानीत
सम्मान ग्रहण गर्दै कर्माचार्यले याे सम्मानले अभियानमा अझै बढी लाग्ने र रक्तदानका क्षेत्रमा काम गर्न जिम्मेवारी थपिएको महसुस गरेको बताए ।
सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्यललाइ देशब्यापी रूपमा रक्तदान अभियान सञ्चालन गरेकाे भन्दै कालिका गाउँपािलकाले सम्मानपत्र तथा दाेसल्लाले सम्मान गरेका थिए । रक्तदान आयोजक दुवै संस्था तथाले रसुवामा याे अभियानलाइ जाेड्ने कार्यमा कर्माचार्यले र संस्थापक जिल्ला अध्यक्ष प्रमिला लामाकाे पनि याेगदान रहेकाे चर्चा गरियाे । कर्माचार्य नेपालका रेकर्डेट रक्तदातामा हालसम्मका धेरै पटक रक्तदान गर्ने हुन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ व्याचले नियमित रूपमा ७ औं पटक रक्तदान आयोजना गरेक हुन् ।
जिल्लाका बिभिन्न स्थानबाट आएर ८६ जनाले रक्तदान गरी ८६ पिन्ट रगत संकलन गरिएको रक्तदाता समाज रसुवाका अध्यक्ष रामशरण गजुरेलले बताए । संकलन भएको रगत केन्द्रीय रक्तसञ्चार केन्द्रमा पठाइएको छ ।
Sunday, October 5, 2025
लाङटाङ घुम्न गएका ४ जना बेपत्ता, खोजी कार्य जारी
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० हेमबहादुर शाहीका अनुसार भक्तपुरबाट आएका १६ जनाको टोली मध्ये ४ जनालाई शनिबार खोल्साले बगाएको हो । घटनास्थल लाङटाङ पदमार्गको घोडातबेला भन्दा तल पर्छ ।
बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिकाका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ र सँगिता श्रेष्ठ रहेका छन् भने रवि श्रेष्ठ भक्तपुर नगरपालिकाका भएको प्रहरीले जनाएको छ ।
भिषण झरी सहित आएको हिम पहिरोमा परेको हुनसक्ने स्थानीय ग्याल्बो लामाले बताए ।
खोजीका लागि लाङटाङ र स्याफ्रु प्रहरी चौकीबाट टोली खटाइएको तर भेटिने सम्भावना न्युन देखिएको डीएसपी शाहीले जानकारी दिए । उनीहरुको खोजी कार्य जारी रहेको छ ।
Sunday, August 24, 2025
दुइ बालिका बेपत्ता
रसुवा, कालिका गाउँपालिका–३ धारापानीका २ बालिका २ सातादेखि हराएका छन् ।
१४ वर्षिया सलिना तामाङ र १८ वर्षिया सञ्जिता तामाङ साउन २४ गतेदिख हराएका हुन ।
सलिनाका बाबु लारी तामाङ मलेसियामा छन् । छोरी हराएको खबर पाएपछि २५ गते बेत्रावती, काठमाण्डौ कोटेश्वर, कालिकास्थान, धुन्चेलगायतका प्रहरी चौकीमा जानकारी गरेको र मानव बेचविखन तथा अनुशन्धान ब्युरोमा समेत निवेदन उनका बाबुले दिएको बताए । ’हराएको छोरी खोजी गरिदिन मैले संचार माध्यम तथा प्रहरीमा अनुरोध गरेको छु तर दुइ सातामा पनि कुनै खबर आएन‘ तामाङले भने ।
सञ्जिताका दाजु सञ्जय तामाङका हराएकी बहिनीको खोजी गरिदिन जिल्ला स्थित प्रहरी चौकीहरुमा तथा संचार माध्यममा अनुरोध गरेको तर कुनै सूचना नपाएको बताए । खोजी कार्य भइरहेको
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।
त्यसै गरी नौकुण्ड गाउँपालिका–५ र ६ को सिमानामा पर्ने माङसे खोलाले बगाउँदा एक बालक २ सातादेखि बेपत्ता भएका छन् ।
विद्यालयको छुट्टीपछि नौकुण्ड गाउँपालिका–६ का सुनिल लोप्चन आमासँगै घर फर्कने क्रममा आकस्मिक रूपमा बढेको खोलाको पानीले बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।
Thursday, August 14, 2025
यात्रुवाहक बस लहरेमा दुर्घटनामा १२ जना घाइते
रसुवा, गत्लाङबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस आज दिउँसो दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार बा ४ ख ८४३५ नम्बरको बस पासाङल्हामू राजमार्गअन्तर्गत उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दिउँसो २ बजे सडकबाट करिब ३० मिटर तल खसेको हो ।
दुर्घटनामा घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि पठाइएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
Wednesday, July 23, 2025
केरुङमा अड्किएका नेपाली तातोपानीबाट स्वदेश फिर्ता
रसुवा, बाढीले केरुङमा अड्किएका नेपाली तातोपानीबाट स्वदेश फर्किएका छ्न् ।
जेठ २४ गते ल्हेन्दे खोलाको बाढीले नेपाल–चीन सिमाना तर्ने रसुवा टिमुरेको मितेरी पुल बगाएपछि चिनियाँ क्षेत्रमा अड्किएका नेपाली तातोपानी नाकाबाट घर फर्किएका छन्।
गत असार २४ गते बिहान ल्हेन्दे खोलाको बाढीले भोटेकोशी नदी थुनिँदा नेपाल–चीन सीमा क्षेत्रको टिमुरे भन्सारमा ठुलो क्षति भएको थियो। त्यसवेला सीमा क्षेत्रमा कन्टेनर चलाउने चालक र व्यापारसँग सम्बन्धित अन्य नेपालीलाई चिनियाँ प्रहरीले उद्धार गरेर केरुङ पुर्याएको थियो।
दुई हप्तादेखि केरुङमा अड्किएका २०३ नेपाली नेपाल–चीन सरकारका अधिकारीबिच भएको सहमतिअनुसार तातोपानी नाका भएर फिर्ता भएका हुन्। उनीहरू बाढीपछि चीन सरकारले गरेको व्यवस्थापनमा केरुङमा बसिरहेका थिए। गृह मन्त्रालयको आग्रहमा ल्हासास्थित महावाणिज्य दूतावासले चीन सरकारसँग समन्वय गरेर नेपालीलाई केरुङबाट न्यालम, खासा हुँदै तातोपानी ल्याइएको हो।
चिनियाँ सुरक्षाकर्मी र अध्यागमनले तातोपानीको मितेरी पुल ल्याएर सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई घर फर्केका नेपाली जिम्मा लगाएका छन्। उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीले बुधबार बिहानै २० वटा माइक्रो बसमा राखेर दिउँसो तातोपानी ल्याएका हुन्।
केरुङमा अड्किएका नेपाली तत्काल ल्याउन युबा संघ रसुवाले प्रधानमन्त्री समक्ष अनुराेध पत्र पेस गरेका थिए भने प्रतिनिधि सभा तथा प्रदेश सभामा सदस्यहरूले पनि माग राखेका थिए ।
केरुङमा अड्किएका नेपालीकाे उद्दार गरी ल्याउन बिभिन्न संचार माध्यमले पनि विषय उठान गरेका थिए ।
Tuesday, July 22, 2025
केरुङमा अड्किएका नेपालीहरूलाई तातोपानी नाकाबाट स्वदेश फर्काइने
रसुवा, गत असार २४ गते रसुवा स्थित लेन्दे खाेलामा आएको भीषण बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि केरुङमा अड्किएका नेपालीहरूलाई तातोपानी नाकाबाट स्वदेश फर्काइने भएको छ।
नाकामा मितेरी पुल सञ्चालनमा नआएको कारणले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल ल्याउन तयारी गरिएको हो। चीनमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार फर्कन लागेका मध्ये सवारी चालक, व्यवसायी तथा घुम्न गएका नेपालीहरू छन्। उनका अनुसार बाढीपछि चीनले उद्धार गरी केरुङ पुर्याएका ती नेपालीहरूलाई चीनले नै तातोपानी नाकासम्म पुर्याउनेछ।
यस्तै, पाङसिङ क्षेत्रमा बाढीका कारण अड्किएका १३३ जना सवारी चालक, व्यवसायी तथा घुम्न पुगेका नेपालीहरूलाई पनि चीनले तातोपानी नाकासम्म पुर्याउने व्यवस्था मिलाएको छ।
यसबीच स्याफ्रु–रसुवागढी सडक खण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएकोले उनीहरूलाई अर्को नाकाबाट स्वदेश फर्काउने निर्णय गरिएको हो।
केरूङबाट नेपालीहरू ताताेपानी नाकाबाट ल्याउन यात्रा सुरू भएकाे केरुङमा अड्किएका हाेमनाथ ढकालले बताए । केरुङमा अड्किएका नेपाली तत्काल ल्याउन युबा संघ रसुवाले प्रधानमन्त्री समक्ष अनुराेध पत्र पेस गरेका थिए भने प्रतिनिधि सभा तथा प्रदेश सभामा सदस्यहरूले पनि माग राखेका थिए ।
केरुङमा अड्किएका नेपालीकाे उद्दार गरी ल्याउन बिभिन्न संचार माध्यमले पनि विषय उठान गरेका थिए ।









































