ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Thursday, November 12, 2026

खण्डहर : ऐतिहासिक, धार्मिक तथा व्यापारिक केन्द्र बेत्रावती बजार


​रसुवा, रसुवा र नुवाकोटको संगमस्थल बेत्रावती जहाँ उत्तरगया गाउँपालिका-५ र विदुर नगरपालिका-१० काे सिमाना जोडिएकाे छ ।  स्थानीय समुदाय कालिका, उत्तरगया, बिदुर, किस्पाङ क्षेत्रकाे देहदहन गर्ने घाट (मुत्यू पछि अन्त्येष्टि गर्ने ठाउँ) समेत हाे । 

उत्तरगयाधाम ऐतिहासिक, धार्मिक तथा व्यापारिक केन्द्र बेत्रावती बजार अहिले खण्डहरमा परिणत भएको छ । ​गत ०८३ सालकाे भदौ १० गते लेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढीले यस ऐतिहासिक, धार्मिक तथा व्यापारिक केन्द्रको कुरूप भएकाे छ । सलाँखु, फलाँखु र त्रिशूली नदीको त्रिबेणी बेत्रगंगा, उत्तरगया, पौषेऔंशी, एकादशी, गाइजात्रा तथा माघे संक्रान्ति पर्वका गोरू जुधाइ जस्ता धेरै मेला लाग्ने स्थल हाे । 

​उर्लेर आएको भोटेकोशी नदीले किनारका घर, पसल र स्थानीय पूर्वाधारहरूलाई क्षण भरमै बगाएर लग्यो । धार्मिक दृष्टिकोणले पवित्र मानिने उत्तरगयाधाम र परापूर्वकालदेखिको प्रसिद्ध व्यापारिक नाका बेत्रावती अहिले बगरमा परिणत भएकाे छ । 

बाढीले ठूलो धनजनको क्षति पुर्‍याउनुका साथै सयौं स्थानीय बेपत्ता,  विस्थापित र घरबारविहीन बनाएको छ। हिजोसम्म व्यापारिक चहलपहल र दर्जन बढि मेलामा तीर्थालुहरूको आगमनले गुञ्जायमान हुने बेत्रावती बजार क्षेत्र अहिले सुनसान रहेकाे छ । 

उत्तरगयाधाम रहेको बेत्रावतीमा लाग्ले प्रमुख मेलाहरू 

पौषे औंसी मेला :  हिन्दू धर्म ग्रन्थहरूमा उत्तरगया धाम पवित्र स्थल भनिन्छ, जहाँ त्रिशूली गंगा, बेत्रगंगा र रुद्रगंगाको त्रिवेणी संगम रहेको छ। पौषे औंसीका दिन यहाँ आफ्ना दिवंगत पितृहरूको नाममा श्राद्ध, तर्पण, पिण्डदान र अन्नदान गर्न देशका विभिन्न भाग तथा भारतबाट समेत हजारौँ भक्तजनहरू आउने गर्दथे । यहाँ श्राद्ध गर्नाले २१ पुस्तासम्मका पितृहरूले मुक्ति पाउने धार्मिक जनविश्वास छ।

माघे संक्रान्ति मेला : माघे संक्रान्तिको अवसरमा बेत्रावतीमा ऐतिहासिक तथा सांस्कृतिक गोरु जुधाउने मेला लाग्दछ। नेपाल–भोट युद्धका क्रममा बेत्रावती सन्धि भएपछि विजय उत्सवको रूपमा यो परम्परा सुरु भएको मानिन्छ। यो मेला हेर्न र स्थानीय संस्कृति अवलोकन गर्न ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ पुग्छन्।

ठूली एकादसी मेला : हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीसवटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो। त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ। सनातन हिन्दू सम्प्रदायमा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा स्थित भगवान् विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसै कारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ। चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । यस दिन रातभर पुजा गरी बेत्रावतीमा फुलको डोली लैजाने वा तारण तार्ने, र घरघरमा तुलसी बिबाह गर्ने चलन छ । 

तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवन् समेत गरिन्छ । तुलसी र भगवान् शालिग्राम (विष्णुको स्वरूप) को प्रतीकात्मक विवाह गर्ने परम्परा छ। जसलाई तुलसी विवाह भनिन्छ। यो विवाह उत्सवलाई अत्यन्तै हर्षोल्लासका साथ मनाइन्छ र यसलाई लोकजीवनमा हिन्दु विवाहको प्रारम्भिक सुरुवात पनि मानिन्छ। 

हालको बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर यहां पितृको नाममा हिन्दू धर्मालम्वीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् भने बौद्धमाग्रीहरूले मृत्यू भएका आफ्ना आफन्तका नाममा लामाहरूले पनि मन्त्र पढ्ने र बत्ती बाल्ने गर्छन् । पुस्तौदेखिका पितृहरुको संझनामा पिण्डदान गरिन्छ । 

धार्मिक किवदन्ती अनुसार सत्ययुगमा देवता र दानवले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान महादेवले कालकुट नामक विष पिएर विषको डाहा मार्न यही ठाउमा लौरोले खोस्री तप्त नदी उत्पन्न गराई सो नदीको पानीले शीतलता पाई उत्तरापन्थ गोसाँइकुण्ड गएको विश्वास गरिन्छ ।


आफ्ना आफन्त जनको नाममा यहाँ आएर श्राद्ध गर्दा पितृ मोक्ष हुने र पहिलेदेखी नै चलिआएको परम्परालाई धान्नको लागि र आफ्नो धर्म संस्कृतिलाई जोगाउनु पर्छ भन्ने मान्यताले गर्दा उत्तरगयामा श्राद्ध गर्ने चलन थियाे ।  

ईतिहासका महत्वपूर्ण घटनाक्रममा पनि उत्तरगयाको वर्णन गरिएको पाईन्छ । यहाँ वालाचर्तुदशी, पौषेऔषी, रामनवमी, हरिवोधनी एकादशी, दशहरा, ऋषितर्पणी, कुशे औशी आदी पर्वमा भक्तजनहरूको भव्य मेला लाग्ने गरेकाे ठाउँकाे  हाे । 

नेपाल –तिव्वत बीच लडाई हुँदा वि सं १८४९ असोज १७ गते बेत्रावती सन्धी भएको स्थल पनि यही क्षेत्र भएकोले यस क्षेत्रको महत्व छ ।  बाढी पछि अब कहाँ कसरी स्थान पुरानाे अवस्थामा फर्रकाउने प्रश्न गम्भीर रूपमा उठेकाे छ । 




स्थानीयको श्रमदानबाट स्याफ्रुवेंसीमा काठेपुल निर्माण कार्य सम्पन्न

रसुवा, भेटेकोशी बाढी पछि स्थानीयको श्रमदानबाट आमाछोदिङ्मो गाउँपालिकामा आवतजावत गर्न स्याफ्रुवेंसीमा काठेपुल निर्माण गरिए पनि ०८३ कार्तिक १३ गतेको बाढीले पुल बगाएको थियो ।

सडक सञ्जाल अवरुद्ध हुँदा आवातजावत गर्न र स्थानीय किसानहरूले उत्पादन गरेको नगदे बाली बजारसम्म पुर्‍याउन समेत कठिन भएको थियो । श्रमदाबाट काठेपुल भनेपनि बनेपछि केही राहत मिलेकाे गतलाङका ताजेन स्याङवाले बताए । 

गत वर्ष आमाछोदिङ्मो गाउँपालिकाका–२, ३, ४ र ५ बाट करिब ३ करोड रुपियाँ बराबरको तरकारी निकासी भएको थियो । त्यस्तै, यस वर्ष उत्पादन बढेर करिब ६ करोड रुपियाँ बराबरको तरकारी बजार पठाउने तयारी थियो । तर, बाढी आएको दुई महिना बढी बितिसक्दा पनि यातायात सञ्चालन नहुनु र कुनै वैकल्पिक मार्गसमेत नहुँदा बन्दा, आलु र सिमीजस्ता नगदे बाली बारीमै कुहेर जाने अवस्था सिर्जना भएको थियो । जनप्रतिनिधि तथा अगुवाहरूकाे अभियानमा जनश्रमदानबाट काठेपुल बनेपछि अब तरकारी बाेकेर भनेपनि बजार लैजान केही हदसम्म सहज हुने किसान मार लामा बताउछन् । 


गत वर्षको तुलनामा दोब्बर आम्दानी हुने अपेक्षा गरेका किसानहरू वर्षभरिको मेहनत खेर जाने जोखिमले चिन्तित बनेका थिए । पुन : अस्थायी काठेपुल बनेपछि आवतजावत र कृषि उपज ओसारपसारमा सहज भएको स्थानीय आमाछोदिङमो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हुन् । निमा तामाङले बताए । 

राम्चे युवा क्लबद्वारा आयोजित तिहार विशेष भलिबल प्रतियोगिता तस्वीरहरू

 फाेटाेफिचर









तस्वीर स्राेत : बिराज लाेप्चन 


Tuesday, November 10, 2026

कृषि उपज खाद्य शुरक्षा र जन स्वास्थ्य

 

निमा तामाङ 

रसुवा जिल्लाको उत्तरी भेगमा अवस्थित आमाछोदिङमो गाउँपालिका जैविक र भौगोलिक रूपमा कृषि तथा पशुपालनका लागि निकै सम्भावना बोकेको क्षेत्र हो । स्वच्छ हावा, चिसो वातावरण र प्राङ्गारिक माटोको अनुकूलताका कारण यहाँ मूख्य गरी बन्दागोभी, काउली, आलु, सिमी, रायोको साग जस्ता मौसमी र बेमौसमी तरकारीहरू प्रचुर मात्रामा उत्पादन हुने गदर्छ । 

आमाछोदिङमोका किसानहरूले कडा परिश्रम र पसिना बगाएर गुणस्तरीय बन्दा उत्पादन गर्दै आएका छन् । तर, उपयुक्त बजार, न्यूनतम समर्थन मूल्य र व्यवस्थित बजारीकरणको अभावका कारण किसानहरूले आफ्नो उत्पादन बारीमै कुहाउनुपर्ने वा कौडीको भाउमा बेच्नुपर्ने बाध्यता छ ।

किसानको उत्पादनले बजार नपाउनु केवल आर्थिक घाटाको विषय मात्र होइन । यसको सीधा सम्बन्ध स्थानीय अर्थतन्त्र, खाद्य सुरक्षा तथा पोषण सुरक्षा र अन्ततः आम नागरिकको जनस्वास्थ्यसँग गहिरो सम्बन्ध राख्दछ । मैले प्रस्तुत लेखमा आमाछोदिङमो गाउँपालिका भित्रका किसानको बन्दालगायत तरकारी उत्पादनपछि बजार समस्याले जनस्वास्थ्य तथा सामाजिक जीवनमा पार्ने बहुआयामिक असर र समाधानका व्यावहारिक उपायहरू बारे विश्लेषण गर्ने प्रयास गरेकाे छु । 

१. आमाछोदिङ्मो गाउँपालिकामा कृषि तथा तरकारी उत्पादनको सम्भावना

आमाछोदिङ्मो गाउँपालिकाको हावापानी बेमौसमी तरकारी खेतीका लागि प्राकृतिक वरदान मानिन्छ। तराई र मध्य पहाडमा गर्मी मौसममा तरकारीको अभाव हुने समयमा यहाँ उच्च गुणस्तरको बन्दा उत्पादन गर्न सकिने भौगोलिक अनुकूलता छ । प्राङ्गारिक प्रविधिलाई प्रवद्र्धन गर्दै रासायनिक मल र विषादीको न्यूनतम प्रयोग गरी स्वास्थ्यकर तरकारी उत्पादन गर्न सक्ने क्षमता यस क्षेत्रमा छ ।

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण लाङटाङ क्षेत्र नजिकै हुनुका साथै त्रिशूली कोरिडोर र पासाङल्हामु राजमार्गसँगको पहुँचका कारण यहाँको उत्पादनलाई नुवाकोट, काठमाडौलगायतका सहरी क्षेत्रमा पु¥याउन सक्ने राम्रो सम्भावना निकै छ। यद्यपि, यी सम्भावनाहरू हुँदाहुँदै पनि उचित पूर्वधार र बजारीकरण नीतिको अभावमा किसानको मेहनत खेर गइरहेको छ।

२. बन्दाले बजार नपाउँदा किसान र परिवारमा पर्न सक्ने आर्थिक तथा सामाजिक असर

किसानले महिनौँ लगाएर, ऋणधन गरी, मल र बीउमा लगानी गरेर फलाएको बन्दा बिक्री नहुँदा उनीहरूमा गम्भीर आर्थिक सङ्कट सिर्जना हुन्छ। लागत मूल्य समेत नउठ्दा किसानहरू ऋणको दलदलमा फस्छन्। यसले उनीहरूमा कृषि पेसाप्रतिको विश्वास घटाउँछ र यसले किसानमा चरम निरासा पैदा गर्दछ।

आर्थिक समस्याको सीधा असर सामाजिक जीवनमा देखिन थाल्छ। आम्दानीको स्रोत ठप्प भएपछि ग्रामीण क्षेत्रका युवाहरू कृषि पेसा छाडेर वैदेशिक रोजगारी वा सहरी क्षेत्रतर्फ पलायन हुन बाध्य हुन्छन् । यसले गाउँमा खेतीयोग्य जमिन बाँझो रहने, वृद्धवृद्धा र बालबालिका मात्र गाउँमा बाँकी रहने र परम्परागत ग्रामीण सामाजिक संरचना थप कमजोर बन्ने खतरा उत्पन्न हुन्छ।

३. तरकारी उत्पादन र बिक्रीको समस्या र खाद्य तथा पोषण सुरक्षा

खाद्य सुरक्षा भन्नाले केवल पेट भर्न अन्न पाउनु मात्र होइन, बरु शरीरलाई आवश्यक पर्ने पोषणयुक्त खाद्यवस्तु पर्याप्त र निरन्तर पाउनु पनि हो। जब स्थानीय स्तरमा उत्पादन भएको बन्दा तथा अन्य तरकारीले बजार पाउँदैनन्, तब किसानहरूले आगामी दिनमा खेतीको क्षेत्रफल घटाउन थाल्छन् वा उत्पादन नै बन्द गर्छन् ।

यसरी उत्पादन घट्दै जाँदा स्थानीय स्तरमा ताजा र पौष्टिक तरकारीको निरन्तर उपलब्धतामा कमी आउँछ । स्थानीय उत्पादन नष्ट हुनु र किसान निरुत्साहित हुनुले दीर्घकालीन रूपमा सिङ्गो गाउँपालिकालाई नै खाद्य तथा पोषण असुरक्षाको जोखिममा धकेल्छ ।

४. ताजा तरकारीको उपभोग घट्दा जनस्वास्थ्यमा पर्न सक्ने सम्भावित असर

बन्दालगायतका हरिया तरकारीहरू भिटामिन ’सी’, भिटामिन ’के’, फोलिक एसिड, क्याल्सियम, पोटासियम र फाइबर (फोकस) का उत्कृष्ट प्राकृतिक स्रोत हुन्। स्थानीय रूपमा उत्पादन भएको ताजा बन्दा उपभोग गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै पाचन प्रणाली स्वस्थ रहन्छ ।

तर, बजारीकरणको समस्याले गर्दा स्थानीय बजारमा ताजा तरकारीको सहज आपूर्ति नहुनु वा किसानले उत्पादन छाड्दै जाँदा नागरिकले उपभोग गर्ने तरकारीको मात्रामा कमी आउँछ। ताजा र जैविक तरकारीको सट्टा संकलित, धेरै दिन पुराना वा रासायनिक विषादी प्रयोग गरिएका बाहिरबाट ल्याइएका तरकारी उपभोग गर्नुपर्ने बाध्यता हुन्छ। यसले गर्दा मानिसहरूमा कब्जियत, अपच, मोटोपन, मुटुरोग, उच्च रक्तचाप र मधुमेह जस्ता नसर्ने रोगहरूको जोखिम बढाउँछ।

५. जोखिम समूहमा पर्न सक्ने गम्भीर असर (बालबालिका, गर्भवती, वृद्धवृद्धा)

ताजा र पोषणयुक्त तरकारीको अभावको पहिलो र सबैभन्दा ठूलो मार समाजका जोखिममा रहेका समूहहरूमा पर्दछः

बालबालिकाः बालबालिकालाई शारीरिक र मानसिक विकासका लागि भिटामिन र खनिज पदार्थको अत्याधिक आवश्यकता पर्छ। तरकारीको उपभोग घट्दा बालबालिकामा कुपोषण, रक्तअल्पता (एनिमिया), उचाइ अनुसार तौल नपुग्नु (सुकेनास) र सरुवा रोगहरूसँग लड्ने क्षमतामा कमी आउँछ।

गर्भवती तथा स्तनपान गराउने महिलाः यो अवस्थामा महिलालाई फोलिक एसिड र आइरन जस्ता पोषक तत्वहरू प्रचुर मात्रामा चाहिन्छ। पोषणयुक्त बन्दा र सागपातको कमीले गर्भवती महिलामा रक्तअल्पता हुने, समय अगावै बच्चा जन्मिने वा जन्मिने बच्चाको तौल कम हुने जस्ता जटिलताहरू देखिन सक्छन्।

वृद्धवृद्धाः वृद्धवृद्धाको पाचन प्रणाली कमजोर हुने भएकाले उनीहरूलाई सजिलै पच्ने र फाइबरयुक्त ताजा तरकारी आवश्यक पर्छ। तरकारीको कमीले उनीहरूमा नसर्ने रोगहरूको प्रकोप र शारीरिक कमजोरी बढाउँछ।

६. कृषि पेसाबाट पलायन र आयातित तरकारीमा निर्भरताको जोखिम

किसानहरू निरन्तर घाटा सहेर कृषिमा टिकिरहन सक्दैनन्। बन्दाले बजार नपाउने समस्या दोहोरिइरहेमा किसानहरूले खेती गर्न छाड्नेछन् । यसको प्रत्यक्ष परिणाम भनेको गाउँपालिका तरकारीमा आत्मनिर्भर हुन छाडेर बाहिरबाट ल्याइने तरकारीमा पूर्ण रूपमा निर्भर हुनु हो।

बाहिरबाट वा सीमापारिबाट आयात गरिने तरकारीहरू लामो समयसम्म ताजा राख्न र कीराबाट जोगाउन विभिन्न प्रकारका रासायनिक विषादी र प्रिजर्भेटिभ्सको प्रयोग गरिएको हुन सक्छ। यस्ता विषादीयुक्त तरकारीको नियमित उपभोगले दीर्घकालीन रूपमा मिर्गौला रोग, कलेजोको समस्या र क्यान्सर जस्ता घातक रोगहरूको जोखिम बढाउँछ। यसका साथै, स्थानीय पुँजी बाहिरिने हुँदा गाउँपालिकाको आर्थिक अवस्था अझ कमजोर बन्दछ।

७. किसानको आम्दानी घट्दा स्वास्थ्य, शिक्षा र पोषणमा पर्ने प्रभाव

किसानको मुख्य आम्दानीको स्रोत नै उनीहरूले बिक्री गर्ने कृषि उपज हो। बन्दाको उचित मूल्य नपाउँदा किसान परिवारको बजेटमा प्रत्यक्ष गिरावट आउँछ। जब घरायसी आम्दानी घट्छ, तब परिवारले आफ्ना प्राथमिक आवश्यकताहरूमा कटौती गर्न बाध्य हुनुपर्छः

स्वास्थ्य सेवाः बिरामी पर्दा समयमै स्वास्थ्य संस्थामा गएर उपचार गराउने वा औषधी खरिद गर्ने क्षमता घट्छ, जसले गर्दा सामान्य बिरामी पनि जटिल बनेर ज्यान जाने जोखिम रहन्छ।

शिक्षाः बालबालिकाको कापी, कलम, पोसाक र विद्यालयको शुल्क तिर्न धौ–धौ पर्छ, जसले गर्दा बालबालिकाहरू बिचैमा पढाइ छाड्न (ड्रपआउट) बाध्य हुन सक्छन्।

पोषणः दैनिक भोजनमा विविधता र गुणस्तर घट्छ। महँगा तर पौष्टिक खाद्यवस्तु खरिद गर्न नसक्दा परिवारका सबै सदस्यहरू कुपोषणको सिकार बन्छन्।

स्थानीय उत्पादन, स्थानीय बजार र जनस्वास्थ्यबीचको सम्बन्ध

स्थानीय उत्पादन, स्थानीय बजार र जनस्वास्थ्य एकापसमा अन्योन्याश्रित रूपमा जोडिएका छन्। यस सम्बन्धलाई निम्न त्रि–कोणीय चक्रबाट बुझ्न सकिन्छः

स्थानीय कृषि उत्पादन

१. स्थानीय कृषि उत्पादनले स्थानीय बजारलाई ताजा र विषादी रहित तरकारी उपलब्ध गराउँछ।

२. स्थानीय बजारले किसानलाई उचित मूल्य र आम्दानी दिलाएर कृषिमा टिकाइराख्छ।

३. ताजा उत्पादनको उपभोगले जनस्वास्थ्य बलियो बनाउँछ, जसले गर्दा नागरिकको उपचार खर्च जोगिन्छ र उनीहरूको कार्यक्षमता वृद्धि भई पुनः स्थानीय अर्थतन्त्र र उत्पादनमा सकारात्मक योगदान पुग्छ।

९. गाउँपालिकाले लिन सक्ने व्यावहारिक र दीर्घकालीन उपायहरू

आमाछोदिङमो गाउँपालिकाले किसानको बन्दा तथा अन्य कृषि उपजको बजार सुनिश्चित गर्न र जनस्वास्थ्यको रक्षा गर्न तत्काल निम्न व्यावहारिक कदमहरू चाल्नु आवश्यक छः

कार्यान्वयन गर्ने व्यावहारिक कदमहरू

१ संकलन केन्द्र र शीतगृह (Cold Storage)प्रमुख उत्पादन क्षेत्रहरूमा ससाना संकलन केन्द्रहरू र तरकारीलाई केही दिन सुरक्षित राख्न शीतगृहको स्थापना गर्ने।

२ स्थानीय हाटबजार गाउँपालिकाका मुख्य–मुख्य वडा वा क्षेत्रहरूमा साताको एक वा दुई दिन स्थानीय हाटबजार सञ्चालन गरी प्रत्यक्ष बिक्रीको व्यवस्था मिलाउने।

३ संस्थागत खपत (Institutional Use)गाउँपालिका भित्र सञ्चालित दिवा खाजा कार्यक्रम (विद्यालयहरू), अस्पताल, स्वास्थ्य चौकी र सरकारी निकायका क्यान्टीनहरूमा अनिवार्य रूपमा स्थानीय उत्पादन नै खरिद गर्ने नीति लागू गर्ने ।

४ प्रशोधन र मूल्य अभिवृद्धि बन्दा धेरै फलेको समयमा खेर जान नदिन किसानहरूलाई गुन्द्रुक, अचार, वा सुकाएर राख्ने (ड्राइयर ) सम्बन्धी साना प्रशोधन तालिम र औजार उपलब्ध गराउने ।

५ बजार पहुँच र ढुवानी अनुदान ठूला सहरी बजारहरू (काठमाडौँ, त्रिशूली) का व्यापारीहरूसँग समन्वय गरी स्थानीय सहकारीमार्फत बजारीकरण गर्ने र तरकारी ढुवानीमा निश्चित प्रतिशत अनुदानको व्यवस्था गर्ने ।

६ न्यूनतम समर्थन मूल्य किसानलाई घाटा नहुने गरी बन्दाको न्यूनतम समर्थन मूल्य तोक्ने र बजारमा सो मूल्य नपाएमा पालिका वा सहकारीमार्फत खरिद गर्ने व्यवस्था मिलाउने ।

१०. सरोकारवाला निकायहरूको भूमिका

सङ्कट समाधानका लागि केवल गाउँपालिकाको प्रयास मात्र पर्याप्त हुँदैन। सबै सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नु पर्दछः

गाउँपालिका (स्थानीय सरकार) : नीति निर्माण, बजेट विनियोजन, पूर्वाधार विकास (संकलन केन्द्र, कृषि सडक), न्यूनतम समर्थन मूल्य तोक्ने र बजार अनुगमन गर्ने ।

किसान समूह तथा सहकारीः किसानहरूलाई संगठित गर्ने, एकैपटक धेरै उत्पादन नगरी बजारको माग अनुसार पालैपालो खेती गराउने (क्रप क्यालेन्डर), र उत्पादित बन्दा लगायतका तरकारी र कृषि उपजको संयुक्त बजारीकरण गर्ने।

निजी क्षेत्र (व्यापारी तथा व्यवसायी) स्थानीय किसानसँग प्रत्यक्ष सम्पर्क गरी बिचौलिया बिना उचित मूल्यमा तरकारी खरिद गर्ने र सहरी बजारसम्म पु¥याउने।

प्रदेश र सङ्घीय सरकारः कृषि प्राविधिक सहयोग, कृषि बीमाको पहुँच, ठूला प्रशोधन उद्योग स्थापनामा अनुदान र प्रादेशिक कृषि बजारहरूसँग आमाछोदिङ्मो गाउँपालिका भित्रका किसानलाई जोड्न जरूरी छ।

निष्कर्ष

आमाछोदिङ्मो गाउँपालिकामा किसानले उत्पादन गरेको बन्दाले बजार नपाउनु केवल एउटा मौसमी तरकारी बिक्री नभएको साधारण समस्या मात्र होइन । यसले किसानको जीविकोपार्जनमा धक्का पु¥याउनुका साथै युवा पलायन, स्थानीय अर्थतन्त्रको क्षय, खाद्य सुरक्षाको सङ्कट र अन्ततः आम नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पार्ने दीर्घकालीन जोखिम छ ।

ताजा र पोषणयुक्त स्थानीय तरकारीको अभावमा नागरिकको स्वास्थ्य बिग्रनु र त्यसको उपचारमा थप पुँजी खर्च हुनु गाउँपालिकाको समग्र विकासका लागि समेत ठूलो चुनौती हो। त्यसैले, किसानको उत्पादनको उचित मूल्य र बजार सुनिश्चित गर्नु केवल कृषि क्षेत्रको विषय मात्र नभई स्थानीय अर्थतन्त्र, खाद्य तथा पोषण सुरक्षा र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील विषय हो ।

त्यसैले स्थानीय सरकार, सहकारी, किसान र निजी क्षेत्रले हातेमालो गर्दै उत्पादनदेखि उपभोगसम्मको चक्रलाई व्यवस्थित बनाउनु आजको प्रमुख आवश्यकता हो। किसानको पसिनाको मूल्य जोगिए मात्र आमाछोदिङ्मो आत्मनिर्भर, स्वस्थ र समृद्ध बन्न सक्नेछ ।

लेखक आमाछोदिङमो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हुन् । 

गोसाइँकुण्ड गाउँपालिका स्वास्थ्य , रसुवा अस्पताल सम्मानित


रसुवा, बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालय, हेटौँडाद्वारा भोटेकोशी बाढीको विपद्का कठिन परिस्थितिमा स्वास्थ्य सेवा प्रबाहमा उत्कृष्ट योगदान पुर्‍याए बापत गोसाइँकुण्ड गाउँपालिका स्वास्थ्य शाखा, जिल्ला जनस्वास्थ्य कार्यालय र रसुवा अस्पताललाई प्रशंसापत्र प्रदान गरी सम्मानित गरिएको छ।   

०८३ भाद्र १० गते अकस्मात् आएको भोटेकोशी बाढीको विपद्का समयमा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएको कदर गर्दै आ व ०८२/०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको अवसरमा उक्त संस्थागत सम्मान प्रदान गरिएको हो।   

आपत्कालीन अवस्थामा जनस्वास्थ्य सेवाप्रतिको नेतृत्व, समर्पण र योगदानको उच्च सम्मान गर्दै प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा नरेन्द्र कुमार झा, प्रदेश सचिव डा सुमित्रा गौतम, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री माननीय गिरबहादुर तामाङ तथा मुख्यमन्त्री माननीय किरण थापा मगरद्वारा उक्त प्रशंसापत्र प्रदान गरिएको हो।   

विपद्को समयमा स्वास्थ्य सेवाको निरन्तरता, खोज तथा उद्धार, राहत व्यवस्थापन र नागरिकको स्वास्थ्य सुरक्षाका लागि अहोरात्र खटिने गोसाइँकुण्ड गाउँपालिका स्वास्थ्य शाखा, जिल्ला जनस्वास्थ्य कार्यालय र रसुवा अस्पतालको संयुक्त र संस्थागत प्रयासलाई यस सम्मानले उच्च कदर गरेको छ। उक्त प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको अवसरमा गोसाइँकुण्ड गाउँपालिकाको स्वास्थ शाखा प्रमुख बिमल घिमिरे, जिल्ला जनस्वास्थ्य कार्यालायको कार्यालय प्रमुख निरध्वाज घर्ती मगर र रसुवा अस्पतालको मेडिकल सुसरिटेण्डन्ट अमित प्रजपतीले प्रशंसापत्र  ग्रहण गरे ।  

गोसाइँकुण्ड गाउँपालिका स्वास्थ्य शाखाले काेभिड, तथा बाढीकाे विपद्का कठिन परिस्थितिमा स्वास्थ्य सेवा प्रबाहमा उत्कृष्ट योगदान गरेकाे छ । 

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग



रसुवा, भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका(१ हाकुबेँसी गाउँका १ सय ५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् ।

भोटेकोशी नदीमा आएको बाढीका कारण गाउँको तल्लो भागबाट तीव्र कटान हुन थालेपछि हाकुबेँसी गाउँ पूर्ण रूपमा जोखिममा परेको स्थानीय निमाकैसाङ तामाङले बताउनुभयो । उहाँका अनुसार बाढी गएको लामो समय भइसक्दा पनि भूबनोट कमजोर भई पहिरो खस्ने क्रम जारी रहेकाले सुरक्षित स्थानमा स्थानान्तरणका लागि प्रमुख जिल्ला अधिकारीमार्फत समुदायको लिखित माग बुझाइएको छ ।


बाढी र कटानका कारण गाउँमा रहेको एक विद्यालय र प्रहरी चौकी पनि सङ्कटमा परेका छन् । आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बाढी र पहिरोका कारण जोखिममा परेका नागरिकलाई सरकारले सुरक्षित आवासको अधिकार प्रत्याभूत गराउनुपर्ने बताउँदै जोखिमयुक्त बस्तीलाई तत्काल अन्यत्र सार्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।


यसैबीच, भोटेकोशी बाढीका कारण सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिहरूको विवरण यकिन गर्ने सम्बन्धमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । बैठकले रसुवाका स्थानीय तहका वडा कार्यालयमा प्राप्त निवेदनका आधारमा सम्बन्धित स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले गरेको निर्णयलाई अनुमोदन गरी विस्तृत विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा सिफारिस गर्ने निर्णय गरेको छ ।


प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जोखिममा परेका बस्तीको विषयमा भूगर्भविद्हरूले स्थलगत अध्ययन गरेपछि मात्रै स्थानान्तरणको ठोस निर्णय लिइने जानकारी दिनुभयो । बाढीमा बेपत्ता तथा सम्पर्कविहीन नागरिकको वडा तहबाट प्राप्त निवेदनका आधारमा केन्द्रमा सिफारिस गर्ने प्रक्रिया अघि बढिसकेको उहाँले बताउनुभयो ।

Monday, November 9, 2026

जलवायु न्यायको माग गर्दै कला प्रदर्शन, बाढीबाट प्रभावितकाे अवस्था र पीडालाई कलाकारहरूले क्यानभासमा उतारे

 

बिदुर, राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप ३१)  टर्कीमा भईरहेकाे छ । यस सन्दर्भमा नुवाकाेटका नागरिक समाजले शब्द तथा चित्रमार्फत विश्व समुदाय सामु ध्यानाकर्षण गराएका छन्।

टर्कीको आन्ताल्यामा सोमबार कोप–३१ सुरु भएको अन्तर्राष्ट्रिय बहससँग स्थानीय समुदायको पीडा जोड्दै आयोजित कला प्रदर्शनले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको अवस्था, जलवायुजन्य जोखिम र न्यायपूर्ण पुनर्निर्माणको आवश्यकतालाई विश्व समुदायसमक्ष पुर्‍याउने सन्देश दिएको छन् । 

नुवाकोटको विदुर नगरपालिका–५ स्थित देवीघाटमा जलवायु न्यायको माग गर्दै कला प्रदर्शन गरिएको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवस्था र बाढीपछिको पीडालाई कलाकारहरूले क्यानभासमा चित्रमार्फत उतार्दै विश्व समुदाय सामु ध्यानाकर्षण गराएका हुन् ।

गैरसरकारी संस्था महासंघको आयोजनामा जालपा नदी किनार देवीघाटमा आयोजित कार्यक्रममा कलाकारहरूले बाढीले निम्त्याएको विनाश, प्रभावित समुदायको पीडा र पुनर्निर्माणका चुनौतीलाई चित्रकलामार्फत प्रस्तुत गरेका थिए। कला प्रदर्शनमार्फत जलवायु परिवर्तनका असर भोगिरहेका समुदायको आवाज अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिव दाहालले संघीय सरकारले बाढी प्रभावितकाे घाउमा मलम नलगाएकाे र स्थानीय सरकारकाे पनि हात बाँधेकाे बताए । बिभन्न परिपत्रले काम गर्न राेकेकाेले काम गर्न नीतिगत अप्ठ्याराे भएकाे उनले बताए । 

कार्यक्रमको शुभारम्भ बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिव दाहालले गरेका थिए। कार्यक्रममा विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, गैरसरकारी संस्था महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा, नुवाकोटका अध्यक्ष लोचन भट्टराईलगायतले जलवायु न्यायको पक्षमा आवाज उठाएका थिए। साे कार्यक्रममा नागरिक समाजका विष्णुराज नेपाल, सन्ताेष खनाल, राजु आचार्य, राजकुमार आचार्य, भगवान राना मगर, गैसस महासंघ नेपालका विकल श्रेष्ठ, पवन गाैतमलगायत सहभागी थिए । 


वक्ताहरूले जलवायु परिवर्तनमा न्यून योगदान भए पनि नेपाल जस्ता विकासशील मुलुक र यहाँका समुदायले प्राकृतिक विपद्का गम्भीर असर भोग्नुपरेको बताए। अव्यवस्थित पुनर्निर्माण तथा औद्योगिक क्रान्तिबाट सिर्जित वातावरणीय प्रभावले जलवायु जन्य जोखिम थप जटिल बनाएको उनीहरूको भनाइ थियो।

जलवायुजन्य विपद्बाट प्रभावित समुदायको पुनर्स्थापना र पुनर्निर्माणका लागि ऋणको सट्टा अनुदान उपलब्ध गराउनुपर्नेमा उनीहरूले जोड दिएका थिए। जलवायु संकटमा जिम्मेवार पक्षले क्षतिको उचित सम्बोधन गर्दै प्रभावित समुदायलाई न्याय दिनुपर्ने उनीहरूको माग थियो।

कार्यक्रममा ‘ऋण होइन, अनुदान चाहिन्छ’, ‘नेपाललाई जलवायु न्याय चाहिन्छ’ र ‘हामीलाई न्याय अहिले चाहिन्छ’ भन्ने नारासहित जलवायु न्यायको आवाज उठाइएको थियो।

बिदुर नापा-५  जालपा नदि किनार देवीघाटमा कलाकारहरूले क्यानभासमा बाढी पछिकाे परिदृष्य चित्रमा उतारे । गैसस महासंघ नुवाकोटको आयाेजनामा शुभारम्भ भएको कार्यक्रम बेलकाेटगढी नपा उपप्रमुख शिव दाहाल, बिदुर ५ का वडा अध्यक्ष लीलनाथ न्यौपाने गैसस महासङ्घ रसुवाका अध्यक्ष  हेमनाथ खतिवडा, नुवाकोट अध्यक्ष लाेचन भट्टराई लगायतले जलवायु न्यायकाे आवाज उठाउदै अस्वस्थ पुननिर्माण र औद्यौगिक क्रान्त्रिका कारण प्रकाेप व्यहोर्नुपरेको बताए ।