रसुवा, रसुवा र नुवाकोटको संगमस्थल बेत्रावती जहाँ उत्तरगया गाउँपालिका-५ र विदुर नगरपालिका-१० काे सिमाना जोडिएकाे छ । स्थानीय समुदाय कालिका, उत्तरगया, बिदुर, किस्पाङ क्षेत्रकाे देहदहन गर्ने घाट (मुत्यू पछि अन्त्येष्टि गर्ने ठाउँ) समेत हाे ।
उत्तरगयाधाम ऐतिहासिक, धार्मिक तथा व्यापारिक केन्द्र बेत्रावती बजार अहिले खण्डहरमा परिणत भएको छ । गत ०८३ सालकाे भदौ १० गते लेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढीले यस ऐतिहासिक, धार्मिक तथा व्यापारिक केन्द्रको कुरूप भएकाे छ । सलाँखु, फलाँखु र त्रिशूली नदीको त्रिबेणी बेत्रगंगा, उत्तरगया, पौषेऔंशी, एकादशी, गाइजात्रा तथा माघे संक्रान्ति पर्वका गोरू जुधाइ जस्ता धेरै मेला लाग्ने स्थल हाे ।
उर्लेर आएको भोटेकोशी नदीले किनारका घर, पसल र स्थानीय पूर्वाधारहरूलाई क्षण भरमै बगाएर लग्यो । धार्मिक दृष्टिकोणले पवित्र मानिने उत्तरगयाधाम र परापूर्वकालदेखिको प्रसिद्ध व्यापारिक नाका बेत्रावती अहिले बगरमा परिणत भएकाे छ ।
बाढीले ठूलो धनजनको क्षति पुर्याउनुका साथै सयौं स्थानीय बेपत्ता, विस्थापित र घरबारविहीन बनाएको छ। हिजोसम्म व्यापारिक चहलपहल र दर्जन बढि मेलामा तीर्थालुहरूको आगमनले गुञ्जायमान हुने बेत्रावती बजार क्षेत्र अहिले सुनसान रहेकाे छ ।
उत्तरगयाधाम रहेको बेत्रावतीमा लाग्ले प्रमुख मेलाहरू
पौषे औंसी मेला : हिन्दू धर्म ग्रन्थहरूमा उत्तरगया धाम पवित्र स्थल भनिन्छ, जहाँ त्रिशूली गंगा, बेत्रगंगा र रुद्रगंगाको त्रिवेणी संगम रहेको छ। पौषे औंसीका दिन यहाँ आफ्ना दिवंगत पितृहरूको नाममा श्राद्ध, तर्पण, पिण्डदान र अन्नदान गर्न देशका विभिन्न भाग तथा भारतबाट समेत हजारौँ भक्तजनहरू आउने गर्दथे । यहाँ श्राद्ध गर्नाले २१ पुस्तासम्मका पितृहरूले मुक्ति पाउने धार्मिक जनविश्वास छ।
माघे संक्रान्ति मेला : माघे संक्रान्तिको अवसरमा बेत्रावतीमा ऐतिहासिक तथा सांस्कृतिक गोरु जुधाउने मेला लाग्दछ। नेपाल–भोट युद्धका क्रममा बेत्रावती सन्धि भएपछि विजय उत्सवको रूपमा यो परम्परा सुरु भएको मानिन्छ। यो मेला हेर्न र स्थानीय संस्कृति अवलोकन गर्न ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ पुग्छन्।
ठूली एकादसी मेला : हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीसवटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो। त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ। सनातन हिन्दू सम्प्रदायमा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा स्थित भगवान् विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसै कारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ। चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । यस दिन रातभर पुजा गरी बेत्रावतीमा फुलको डोली लैजाने वा तारण तार्ने, र घरघरमा तुलसी बिबाह गर्ने चलन छ ।
तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवन् समेत गरिन्छ । तुलसी र भगवान् शालिग्राम (विष्णुको स्वरूप) को प्रतीकात्मक विवाह गर्ने परम्परा छ। जसलाई तुलसी विवाह भनिन्छ। यो विवाह उत्सवलाई अत्यन्तै हर्षोल्लासका साथ मनाइन्छ र यसलाई लोकजीवनमा हिन्दु विवाहको प्रारम्भिक सुरुवात पनि मानिन्छ।
हालको बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर यहां पितृको नाममा हिन्दू धर्मालम्वीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् भने बौद्धमाग्रीहरूले मृत्यू भएका आफ्ना आफन्तका नाममा लामाहरूले पनि मन्त्र पढ्ने र बत्ती बाल्ने गर्छन् । पुस्तौदेखिका पितृहरुको संझनामा पिण्डदान गरिन्छ ।
धार्मिक किवदन्ती अनुसार सत्ययुगमा देवता र दानवले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान महादेवले कालकुट नामक विष पिएर विषको डाहा मार्न यही ठाउमा लौरोले खोस्री तप्त नदी उत्पन्न गराई सो नदीको पानीले शीतलता पाई उत्तरापन्थ गोसाँइकुण्ड गएको विश्वास गरिन्छ ।
आफ्ना आफन्त जनको नाममा यहाँ आएर श्राद्ध गर्दा पितृ मोक्ष हुने र पहिलेदेखी नै चलिआएको परम्परालाई धान्नको लागि र आफ्नो धर्म संस्कृतिलाई जोगाउनु पर्छ भन्ने मान्यताले गर्दा उत्तरगयामा श्राद्ध गर्ने चलन थियाे ।
ईतिहासका महत्वपूर्ण घटनाक्रममा पनि उत्तरगयाको वर्णन गरिएको पाईन्छ । यहाँ वालाचर्तुदशी, पौषेऔषी, रामनवमी, हरिवोधनी एकादशी, दशहरा, ऋषितर्पणी, कुशे औशी आदी पर्वमा भक्तजनहरूको भव्य मेला लाग्ने गरेकाे ठाउँकाे हाे ।
नेपाल –तिव्वत बीच लडाई हुँदा वि सं १८४९ असोज १७ गते बेत्रावती सन्धी भएको स्थल पनि यही क्षेत्र भएकोले यस क्षेत्रको महत्व छ । बाढी पछि अब कहाँ कसरी स्थान पुरानाे अवस्थामा फर्रकाउने प्रश्न गम्भीर रूपमा उठेकाे छ ।





No comments:
Post a Comment