ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, November 21, 2026

बालबालिकालाई झोला तथा शैक्षिक सामग्री वितरण

 

​रसुवा-रसुवाको नौकुण्ड गाउँपालिका भित्र रहेका २९ वटा सामुदायिक विद्यालयका १ हजार ८ सय ६२ जना बालबालिकाहरूलाई झोला तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

हेलम्बु एजुकेसन एन्ड लाइभ्लीहुड पार्टनरसिप (HELP) को सहयोगमा विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको हो ।

झोला तथा शैक्षिक सामग्री वितरण ​कार्यक्रममा बोल्दै संस्थाका संस्थापक तथा निर्देशक जिम्मी लामाले ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधारका लागि आगामी दिनमा शैक्षिक छात्रवृत्ति लगायतका अन्य क्षेत्रहरूमा समेत निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थी तथा अभिभावकहरू उत्साहित भएका छन्

उत्तरगया क्षेत्रमा बिहीबार साँझ पितृका संझनामा बत्ती बाल्ने भक्तजनहरूको घुइँचो

 


बेत्रावती, रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगयाधाममा हरिबोधिनी एकादशीको अघिल्लो रात बत्ती बाल्ने श्रद्धालुहरूको भीड लागेको छ ।

उत्तरगया क्षेत्रमा बिहीबार साँझ बत्ती बाल्ने भक्तजनहरूको घुइँचो लागेको हो । ​गत भदौ १० गते आएको विनाशकारी बाढीले क्षति पुर्‍याएको स्थानमा भक्तजनको सुविधालाई ध्यानमा राख्दै टेन्ट टाँगेर बत्ती बाल्ने ठाउँ निर्माण गरिएको छ । भदौ १० को बाढीले बेत्रावतीस्थित राम मन्दिर र उत्तरगयाधाम क्षेत्रलाई बगरमा परिणत गरेपछि बत्ती बाल्ने र बस्ने स्थानको अभाव सिर्जना भएको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै उत्तरगया गाउँपालिकाले टेन्ट राख्ने व्यवस्था गरेको हो ।

​त्रिशूली र फलाँखु खोलाको सङ्गमस्थलमा हरिबोधिनी एकादशीको अघिल्लो रात श्रद्धालुहरू दिवङ्गत पितृका नाममा रातभरि बत्ती बालेर जाग्राम बस्ने गर्छन् । ​परलोक भएका आफ्ना आमाबुबा तथा आफन्तको नाममा बिहीबार साँझदेखि नै भक्तजनहरू जाग्राम बसेर बत्ती बालिरहेका छन् । स्थानीय पुरोहित वासु भण्डारीका अनुसार पितृका नाममा बत्ती बाल्नाले उनीहरूको आत्मालाई शान्ति मिल्नुका साथै उत्तम लोक प्राप्त हुने जनविश्वास रहि आएको छ । ​उत्तरगया क्षेत्रमा हरिबोधिनी एकादशी, पौषे औँसी तथा बालाचतुर्दशीलगायतका तिथिमा विशेष मेला लाग्ने गर्दछ

Monday, November 16, 2026

गतलाङदेखि स्याफ्रुबेसी फट्के पुलसम्म बस सेवा सुरू

 


रसुवा , भदाै १० गतेकाे भाेटेकाेसी बाढी पछि सडक तथा पुल बगाएपछि अवरूझ बस सेवा सुरू भएपछि स्थानीयलाइ सहज भएकाे छ । 

आमाछोदिङमो गाउँपालिका - ३ गतलाङदेखि स्याफ्रुबेसी फट्के पुलसम्म नियमित बस सेवा सञ्चालनमा आएको छ। लामो समयदेखिको प्रयासपछि गतलाङ, चिलिमे र गोल्जुङहुँदै स्याफ्रुबेसीसम्म सार्वजनिक बस चल्न थालेको हो।

अब बिहान ७:३० बजे गतलाङबाट स्याफ्रुबेसीतर्फ छुट्ने बस साँझ २ बजेपछि सोही बाटो हुँदै पुनः गतलाङ फर्किनेछ। गतलाङदेखि स्याफ्रुबेसीसम्म बसबाट फड्के पुल तरेपछि पुन अर्काे बस चढेर काठमाणडाैसम्म पुग्न सकिन्छ । 

स्थानीय जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरूको लामो समयदेखिको प्रयास स्वरूप बस सेवा सुचारू भएको हो। तिहार अगाडि नै चिलिमेका वडा अध्यक्ष दावागोम्बो तामाङ, गोल्जुङका वडा अध्यक्ष धर्म तामाङ र गतलाङका वडा अध्यक्ष सुरेन्द्र तामाङको विशेष पहलमा आमाछोदिङमो गाउँपालिकामा जनप्रतिनिधिहरूसँग छलफल गरी जिल्ला प्रशासन कार्यालयसमक्ष सहयोगको अपिल गरिएको थियो। 

त्यसपश्चात प्रमुख जिल्ला अधिकारी र पासाङ ल्हामु यातायात व्यवसायी समितिका अध्यक्षसँग भएको संवादमा व्यक्त प्रतिबद्धताअनुसार यो यातायात सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो। 

स्याफ्रुमा फड्के पुल तथा आमाछोदिङमो गाउँपालिका–२ ग्रेदेखि ठूलोभार्खु तलसम्म आठ सय १३ मिटर लामो ‘ग्राभिटी रोपवे’ निर्माण भएपछि कृषि उपज बजार लैजान समेत सहज भएकाे छ । 

बस सेवा सञ्चालनमा आएपछि गतलाङ क्षेत्रमा उत्पादित कृषि बाली तथा वस्तुहरू काठमाडौंसम्म पुर्‍याउन ठूलो राहत पुग्ने भएको छ। यहाँ उत्पादित सिस्नु, बन्दा, आलु  लगायतका कृषि उपजहरू सहज रूपमा बजारसम्म ल्याउन सकिनेछ। 

बाढीकाे ८० दिनसम्म निष्कृय रहेका आमाछोदिङमो क्षेत्रका स्थानीय बजारहरूलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ। काठमाडौंमा बसोबास गरिरहेका परिवारलाई घरायसी प्रयोजनका लागि गाउँघरकै अर्गानिक उत्पादनहरू मगाउन अब निकै सहज हुनेछ।

बस सेवा सुचारु भएपछि स्थानीय निमानुर्पु तामाङलगायतले आफूहरूलाई दैनिक आवतजावतमा ठूलो राहत मिलेको बताएका छन्। उनीहरूले यस यातायात सेवाको भरपुर लाभ लिन सम्पूर्ण स्थानीयलाई आग्रहसमेत गरेका छन्।

टिमुरेका बिस्थापितहरू खैदी फर्किए



रसुवा, गोसाइकुण्ड गाउँपालिका –२ टिमुरेका बिस्थापितहरू ०८३ कार्तिक ३० गते जन्मभूमि फर्केका छन् ।

टिमुरेका बिस्थापितहरू स्थानीय कामीनुर्पु तामाङको नेतृत्वमा खैदी जाँदै गरेको सहभागीहरूले बताएका छन् ।  काठमाण्डौ स्थित स्वयम्भु मुस्ताङ गोम्बामा बस्दै आएकोमा उक्त समूह सुरक्षित स्थान पहिचान गरी पैदल मार्ग निर्माणका लागि  जन्मभूमि फर्केको तामाङले बताए। 

“भोटेकोशी बाढीका कारण सडक तथा पुल बाढीले बगाएकोले सबै आधारभूत सामान लैजान पैदल मार्ग समेत अभावले आवातजावत र सामान ओसारपसारमा निकै कठिन हुने गरेको छ । त्यसैले हामी सबैले मिलेर पैदलमार्ग निर्माण गर्न लागेका छौं ।” तामाङले भने “अब त्यहाँ हामीसँग कुनै पनि आधारभूत कुरा हुँदैन । बाटो बनाउँदै खैदी पुगेर अस्थाइ आवास निर्माण गर्न र खाद्यान्नको व्यवस्थापन गर्न समेत अभाव हुने हुनाले सहयोगी दातासँग समन्वय गरिदिनुपर्यो  ।”

गोसाइकुण्ड गाउँपालिका –२ टिमुरे गाउँका १ सय १८ विस्थापित घरधुरी मध्ये तत्कालका लागि ७५ घरधुरीका एक/एक जना मात्रै टिमुरे फर्केका हुन् ।  उनीहरू पैदल बाटोलगायत आधारभूत व्यवस्थापनका लागि केही अगुवा मात्र फर्केका हुन् ।  “हामी थातथलो फर्कन तयार छौँ । हामी जन्मभूमिमा गएर हिजोको परम्परा, संस्कृति र रीतिरिवाज जोगाउनु छ । छिटोभन्दा छिटो फेरि रसुवागढी नाकालाई बनाउनुपर्नेछ । हामी त्यसैका लागि फर्कन चाहन्छौँ, स्थानीय फुर्पुदोर्जे घलेभने , सदैव यसरी होल्डिङ सेन्टरमा बसेर सम्भव भएन ।”

उक्त क्षेत्रमा रसुवा भसार, मितेरी पुल, विद्यालय, गोम्वा, लगायत सरकारी तथा निजी संरचना क्षति भएका छन् । मुस्ताङ गोम्बामा २ सय ७ जना पुरुष, २ सय ४ जना महिला गरेर ४ सय ११ जना आश्रित छन् । ती मध्ये १ सय ७१ जना बालबालिका र ८० जना जेष्ठ नागरिक रहेका छन् ।





भोटेकोशी बाढी प्रभावितको न्याय र पुनर्वासका लागि बेत्रावतीमा साझा सरोकार समिति गठन


रसुवा, भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीबाट प्रभावित व्यक्तिहरुको भेलाले प्रभावित नागरिकहरूको हक, अधिकार र स्थायी पुनर्वासको माग गर्दै उत्तरगया गाउँपालिका–५, बेत्रावतीमा ०८३ कार्तिक २९ गते सरोकार समिति गठन गरेको छ ।

स्थानीय विप्लव खड्काको संयोजकत्वमा २३ सदस्यीय समिति गठन गरिएको हो । समितिको सह–संयोजकमा दिलकृष्ण श्रेष्ठ र सचिवमा लेखनाथ अधिकारी चयन हुनु भएको छ । बाढीका कारण घर, जग्गा, व्यवसाय तथा आफ्नो सम्पूर्ण गाउँबस्ती नै गुमाएका मैलुङ, पैरेबेँसी, खाल्टे, नौबिसे, कैदलेटार र बेत्रावतीलगायत आसपासका प्रभावित समुदायलाई समेटेर समिति गठन गरिएको हो । प्रभावितहरूले आधारभूत अधिकार रक्षाका लागि क्रियाशिल रहने, जिविकोपार्जनका लागि सरकारसँग पहल गर्ने, निजी आवास र साँस्कृितक पुनर्निर्माण लगायतका विषयमा छलफल गरेका थिए ।

बाढीबाट प्रभावितहरूको न्याय, उचित क्षतिपूर्ति, दीर्घकालीन स्थायी पुनर्वास तथा प्रभावित नागरिकहरूको हकअधिकारको सुनिश्चिता गराउन सामूहिक रूपमा दबाब सिर्जना गर्ने मूख्य उद्देश्यले समिति गठन गरिएको जनाइएको छ ।

विपद्को कठिन घडीमा पीडितहरूका आवाजलाई एकताबद्ध गरी राज्य र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन समितिले महत्वपूर्ण भूमिका खेल्ने  समितिका सचिव लेखनाथ अधिकारीले बताउनुभयो  ।

भेलाबाट बिभिन्न सरोकारवालाहरूसँग समन्वय गरी तीन दिन भित्र जिल्ला प्रशासन रसुवा, बागमती प्रदेश सरकार र स्थानीय सरकारमा ज्ञापन–पत्र बुझाउने र उत्तरगया गाउँपालिकामा रहेका पाँच वटै वडाका प्रभावितहरू समेटेर संगठित हुने निर्णय भएको सहसंयोजक दिलकृष्ण श्रेष्ठले जानकारी दिनुभयो  ।



सोलार प्रणाली सुरु भएसँगै अब नियमित डिजेल ओसार्नुपर्ने झन्झट हट्याे

 


रसुवा, नेपाल चीन सीमावर्ती टिमुरेको टेलिफोन सेवा निरन्तर राख्न टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो। 

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले विद्युत् संरचना बगाएपछि टिमुरेको टेलिफोन टावर डिजेल जेनेरेटरमार्फत चलाइँदै आइएको थियो। सडक सम्पर्क टुटेका कारण टावर चलाउन आवश्यक डिजेलसमेत हेलिकप्टरबाटै ढुवानी गर्नुपर्ने चरम बाध्यता थियो। सोलार प्रणाली सुरु भएसँगै अब नियमित डिजेल ओसार्नुपर्ने झन्झट हटेको छ। 

नेपाल टेलिकमले टिमुरेकाे खैदीमा आवश्यक प्राविधिक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत ढुवानी गरेर १२ किलोवाटको सोलार सिस्टम जडान गरेको जनाएको छ। अब राष्ट्रिय प्रसारण लाइनको बिजुली नहुँदा पनि यस क्षेत्रमा टेलिकमको टुजी तथा फोरजी सेवा चौबीसै घण्टा निर्वाध चल्नेछ। 

भोटेकोशीको बाढीले रसुवासहितका क्षेत्रमा दूरसञ्चारका भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो। टिमुरेमा बिजुली नहुँदा वैकल्पिक ऊर्जाको अभावमा सेवा नै बन्द हुने जोखिम बढेको थियो। 

सोलार प्रणालीमार्फत ऊर्जाको दिगो विकल्प तयार भएपछि टेलिफोन र मोबाइल इन्टरनेट सेवा भरपर्दो बनेको छ। यसबाट उत्तरी सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दा, व्यापारी, सुरक्षाकर्मी तथा यात्रुहरूलाई सञ्चार सम्पर्क कायम राख्न सहज भएको नेपाल टेलिकम रसुवाले जनाएको छ।

Sunday, November 15, 2026

चिसोका कारण रसुवाका बाढी विस्थापित समस्यामा


रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित खाल्टेमा रहेका भूकम्प विस्थापितहरू बाढीका कारण पुनः विस्थापित भएपछि अहिले चिसोका कारण समस्यामा परेका छन्।

आफूसमेत ७७ परिवार विस्थापित भएर विदुर नगरपालिका–५ पिपलटारस्थित कोदोबारी होल्डिङ सेन्टरमा टेन्ट र टिनका छाप्रामा बसिरहेको उत्तरगया गाउँपालिका–१ का वडा सदस्य बुटी तामाङले बताउनुभयो। उहाँका अनुसार उक्त स्थानमा १०४ पुरुष, ९९ महिला र ७० बालबालिका गरी कुल २७३ जना बसोबास गरिरहेका छन्।

खाल्टेमा बस्दै आएका ६१ जना बेपत्ता भएको र मृतक तथा बेपत्ता भएकाहरूको सामूहिक अन्त्येष्टि गरिएको तामाङले जानकारी दिनुभयो। विनाशकारी बाढीपछि खाल्टेमै पुगेर सामूहिक अन्त्येष्टि पूजा गरिएको अर्का विस्थापित छेकु लामाले बताउनुभयो। विस्थापितहरूलाई सरकारले चाँडै पुनर्वासको व्यवस्था गरिदिनुपर्ने उहाँको माग छ। वि।सं। २०७२ को भूकम्पमा उत्तरगया गाउँपालिका–१ का गोगने, तिरु, मैलुङलगायतका गाउँबाट विस्थापित भई खाल्टेमा बस्दै आएकाहरू बाढीका कारण पुनः विस्थापित हुँदा अत्यन्तै दुःख पाएको पीडितहरूको गुनासो छ।

सरकारले कोठाभाडा सहायता दिने घोषणा गरेपछि र अस्थायी आश्रयस्थलमा हिउँद काट्न नसकिने त्रासले रसुवाका कतिपय विस्थापित परिवार काठमाडौँमा डेरा गरी बसेका छन् भने केही अझै अस्थायी आश्रयस्थलमै छन्। यस्तै, बेत्रावती बजारका ३४ भन्दा बढी घरपरिवार उत्तर–पूर्वी भागमा रहेको स्वारडाँडामा स्वस्फूर्त रूपमा सरेका छन्। बाढी प्रभावितहरूले सरकारी आश्रय केन्द्रको पर्खाइ नगरी आफैँ टेन्ट र टहरा गाडेर अस्थायी बसोबासको व्यवस्था गरेका हुन्।

उत्तरगया गाउँपालिका पैरेबेँसीबाट विस्थापित चिरिमाया तामाङसहित भीमसेनस्थान विद्यालयको अस्थायी आश्रयस्थलमा बस्दै आएका १० परिवार हाल काठमाडौँमा कोठा भाडामा लिएर बसिरहेका छन्। गाउँ र सम्पत्ति सबै बगे पनि सरकारको भरोसामा आश्रयस्थलमा बसेका तामाङसहितका पीडितले हालसम्म घोषित राहत पाउन सकेका छैनन्।

बाढीबाट घर, खेत र सम्पत्ति गुमाएर अस्थायी आश्रयस्थलमा बसिरहेका परिवारलाई खानेपानीजस्ता आधारभूत आवश्यकतामै समस्या भएपछि दैनिकी थप कष्टकर बनेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा महिलालाई पानी ओसार्न टाढासम्म जानुपर्ने बाध्यता रहेको पीडितहरू बताउँछन्।