रसुवा , भदाै १० गतेकाे भाेटेकाेसी बाढी पछि सडक तथा पुल बगाएपछि अवरूझ बस सेवा सुरू भएपछि स्थानीयलाइ सहज भएकाे छ ।
आमाछोदिङमो गाउँपालिका - ३ गतलाङदेखि स्याफ्रुबेसी फट्के पुलसम्म नियमित बस सेवा सञ्चालनमा आएको छ। लामो समयदेखिको प्रयासपछि गतलाङ, चिलिमे र गोल्जुङहुँदै स्याफ्रुबेसीसम्म सार्वजनिक बस चल्न थालेको हो।
अब बिहान ७:३० बजे गतलाङबाट स्याफ्रुबेसीतर्फ छुट्ने बस साँझ २ बजेपछि सोही बाटो हुँदै पुनः गतलाङ फर्किनेछ। गतलाङदेखि स्याफ्रुबेसीसम्म बसबाट फड्के पुल तरेपछि पुन अर्काे बस चढेर काठमाणडाैसम्म पुग्न सकिन्छ ।
स्थानीय जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरूको लामो समयदेखिको प्रयास स्वरूप बस सेवा सुचारू भएको हो। तिहार अगाडि नै चिलिमेका वडा अध्यक्ष दावागोम्बो तामाङ, गोल्जुङका वडा अध्यक्ष धर्म तामाङ र गतलाङका वडा अध्यक्ष सुरेन्द्र तामाङको विशेष पहलमा आमाछोदिङमो गाउँपालिकामा जनप्रतिनिधिहरूसँग छलफल गरी जिल्ला प्रशासन कार्यालयसमक्ष सहयोगको अपिल गरिएको थियो।
त्यसपश्चात प्रमुख जिल्ला अधिकारी र पासाङ ल्हामु यातायात व्यवसायी समितिका अध्यक्षसँग भएको संवादमा व्यक्त प्रतिबद्धताअनुसार यो यातायात सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो।
स्याफ्रुमा फड्के पुल तथा आमाछोदिङमो गाउँपालिका–२ ग्रेदेखि ठूलोभार्खु तलसम्म आठ सय १३ मिटर लामो ‘ग्राभिटी रोपवे’ निर्माण भएपछि कृषि उपज बजार लैजान समेत सहज भएकाे छ ।
बस सेवा सञ्चालनमा आएपछि गतलाङ क्षेत्रमा उत्पादित कृषि बाली तथा वस्तुहरू काठमाडौंसम्म पुर्याउन ठूलो राहत पुग्ने भएको छ। यहाँ उत्पादित सिस्नु, बन्दा, आलु लगायतका कृषि उपजहरू सहज रूपमा बजारसम्म ल्याउन सकिनेछ।
बाढीकाे ८० दिनसम्म निष्कृय रहेका आमाछोदिङमो क्षेत्रका स्थानीय बजारहरूलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ। काठमाडौंमा बसोबास गरिरहेका परिवारलाई घरायसी प्रयोजनका लागि गाउँघरकै अर्गानिक उत्पादनहरू मगाउन अब निकै सहज हुनेछ।
बस सेवा सुचारु भएपछि स्थानीय निमानुर्पु तामाङलगायतले आफूहरूलाई दैनिक आवतजावतमा ठूलो राहत मिलेको बताएका छन्। उनीहरूले यस यातायात सेवाको भरपुर लाभ लिन सम्पूर्ण स्थानीयलाई आग्रहसमेत गरेका छन्।

No comments:
Post a Comment