ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, November 15, 2026

चिसोका कारण रसुवाका बाढी विस्थापित समस्यामा


रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित खाल्टेमा रहेका भूकम्प विस्थापितहरू बाढीका कारण पुनः विस्थापित भएपछि अहिले चिसोका कारण समस्यामा परेका छन्।

आफूसमेत ७७ परिवार विस्थापित भएर विदुर नगरपालिका–५ पिपलटारस्थित कोदोबारी होल्डिङ सेन्टरमा टेन्ट र टिनका छाप्रामा बसिरहेको उत्तरगया गाउँपालिका–१ का वडा सदस्य बुटी तामाङले बताउनुभयो। उहाँका अनुसार उक्त स्थानमा १०४ पुरुष, ९९ महिला र ७० बालबालिका गरी कुल २७३ जना बसोबास गरिरहेका छन्।

खाल्टेमा बस्दै आएका ६१ जना बेपत्ता भएको र मृतक तथा बेपत्ता भएकाहरूको सामूहिक अन्त्येष्टि गरिएको तामाङले जानकारी दिनुभयो। विनाशकारी बाढीपछि खाल्टेमै पुगेर सामूहिक अन्त्येष्टि पूजा गरिएको अर्का विस्थापित छेकु लामाले बताउनुभयो। विस्थापितहरूलाई सरकारले चाँडै पुनर्वासको व्यवस्था गरिदिनुपर्ने उहाँको माग छ। वि।सं। २०७२ को भूकम्पमा उत्तरगया गाउँपालिका–१ का गोगने, तिरु, मैलुङलगायतका गाउँबाट विस्थापित भई खाल्टेमा बस्दै आएकाहरू बाढीका कारण पुनः विस्थापित हुँदा अत्यन्तै दुःख पाएको पीडितहरूको गुनासो छ।

सरकारले कोठाभाडा सहायता दिने घोषणा गरेपछि र अस्थायी आश्रयस्थलमा हिउँद काट्न नसकिने त्रासले रसुवाका कतिपय विस्थापित परिवार काठमाडौँमा डेरा गरी बसेका छन् भने केही अझै अस्थायी आश्रयस्थलमै छन्। यस्तै, बेत्रावती बजारका ३४ भन्दा बढी घरपरिवार उत्तर–पूर्वी भागमा रहेको स्वारडाँडामा स्वस्फूर्त रूपमा सरेका छन्। बाढी प्रभावितहरूले सरकारी आश्रय केन्द्रको पर्खाइ नगरी आफैँ टेन्ट र टहरा गाडेर अस्थायी बसोबासको व्यवस्था गरेका हुन्।

उत्तरगया गाउँपालिका पैरेबेँसीबाट विस्थापित चिरिमाया तामाङसहित भीमसेनस्थान विद्यालयको अस्थायी आश्रयस्थलमा बस्दै आएका १० परिवार हाल काठमाडौँमा कोठा भाडामा लिएर बसिरहेका छन्। गाउँ र सम्पत्ति सबै बगे पनि सरकारको भरोसामा आश्रयस्थलमा बसेका तामाङसहितका पीडितले हालसम्म घोषित राहत पाउन सकेका छैनन्।

बाढीबाट घर, खेत र सम्पत्ति गुमाएर अस्थायी आश्रयस्थलमा बसिरहेका परिवारलाई खानेपानीजस्ता आधारभूत आवश्यकतामै समस्या भएपछि दैनिकी थप कष्टकर बनेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा महिलालाई पानी ओसार्न टाढासम्म जानुपर्ने बाध्यता रहेको पीडितहरू बताउँछन्।

No comments:

Post a Comment