बेत्रावती, रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगयाधाममा हरिबोधिनी एकादशीको अघिल्लो रात बत्ती बाल्ने श्रद्धालुहरूको भीड लागेको छ ।
उत्तरगया क्षेत्रमा बिहीबार साँझ बत्ती बाल्ने भक्तजनहरूको घुइँचो लागेको हो । गत भदौ १० गते आएको विनाशकारी बाढीले क्षति पुर्याएको स्थानमा भक्तजनको सुविधालाई ध्यानमा राख्दै टेन्ट टाँगेर बत्ती बाल्ने ठाउँ निर्माण गरिएको छ । भदौ १० को बाढीले बेत्रावतीस्थित राम मन्दिर र उत्तरगयाधाम क्षेत्रलाई बगरमा परिणत गरेपछि बत्ती बाल्ने र बस्ने स्थानको अभाव सिर्जना भएको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै उत्तरगया गाउँपालिकाले टेन्ट राख्ने व्यवस्था गरेको हो ।
त्रिशूली र फलाँखु खोलाको सङ्गमस्थलमा हरिबोधिनी एकादशीको अघिल्लो रात श्रद्धालुहरू दिवङ्गत पितृका नाममा रातभरि बत्ती बालेर जाग्राम बस्ने गर्छन् । परलोक भएका आफ्ना आमाबुबा तथा आफन्तको नाममा बिहीबार साँझदेखि नै भक्तजनहरू जाग्राम बसेर बत्ती बालिरहेका छन् । स्थानीय पुरोहित वासु भण्डारीका अनुसार पितृका नाममा बत्ती बाल्नाले उनीहरूको आत्मालाई शान्ति मिल्नुका साथै उत्तम लोक प्राप्त हुने जनविश्वास रहि आएको छ । उत्तरगया क्षेत्रमा हरिबोधिनी एकादशी, पौषे औँसी तथा बालाचतुर्दशीलगायतका तिथिमा विशेष मेला लाग्ने गर्दछ
No comments:
Post a Comment