ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, August 19, 2026

युब्रागाउँको एक घरमा आगलागी


रसुवा, नौकुण्ड गाउँपालिका–२ युब्रागाउँका लर्का थोक्राको घरमा बिहीबार राति  आगलागी भएको छ। । राति करिब १ बजेतिर अचानक आगलागी भएको हो।

आगलागीबाट नगद, पशुपंक्षी तथा घरभित्रका सम्पूर्ण खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति नभएपनि  आर्थिक क्षति भएको इलाका प्रहरी कार्यालय कालिकास्थानका रमेश रायले जानकारी दिए । 

रातिको समयमा आगलागी भए पनि कुनै मानवीय क्षति भने हुन नपाएको स्थानीय गणेशमान लामाले बताए । 

एकपाखेका बिस्थापित १० परिवार टेन्टमा


नौकुण्ड गाउँपालिका–६ स्थित एकपाखे क्षेत्रमा जमिन भासिएर बस्ती जोखिममा परेपछि बिस्थापित १० परिवारलाइ नजिकैको कप्थलीटारमा टेन्टमा सारिएको छ । 

पहिरोले जमिन भासिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाउँपालिका र वडा कार्यालयको विशेष पहल तथा समन्वयमा उद्धार र स्थानान्तरणको कार्य सम्पन्न गरिएको छ । विपद्को समयमा समयमै ध्यान दिई स्थानीयको सुरक्षालाई प्राथमिकता दिएर स्थानान्तरण गरिएपछि प्रभावित परिवारहरूले राहत महसुस गरेका छन् । 

स्थानीय सरकारले विपद्को घडीमा जोखिममा रहेको बस्ती स्थानान्तरण गरेको स्थानीय दावा लामाले बताए । उनिहरु अहिले टेन्टमा बसेका छन् । नौकुण्ड गाउँपालिका–६ का अध्यक्ष योनुर्बु तामाङलगायत नौकुण्ड गाउँपालिकाको टोलीलाई सुरक्षित स्थानमा बस्ती सार्न जुटेका थिए । 

प्रभावित क्षेत्रका बासिन्दाहरूले आगामी दिनमा पनि विस्थापित परिवारहरूको दीर्घकालीन व्यवस्थापन, पुनर्वास र आवश्यक राहत सहयोगका लागि निरन्तर पहल र सहयोगको अपेक्षा राखेका छन् । 




१७ बस्ती जोखिममा



रसुवा, पाँच गाउँपालिकामा १७ बस्ती पहिरो र प्राकृतिक विपत्को जोखिममा छन् । जिल्ला विपत् व्यवस्थापन समितिको सम्पन्न बैठकले यस्ता बस्तीको संरक्षणका लागि पूर्वाधार विकास मन्त्रालय (सिंहदरबार र हेटौँडा)सँग बजेट माग गरेकोे छ । 

समितिका अध्यक्ष एवम् रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार जिल्लाका जोखिमका बस्तीमा क्षति कम गर्न ती क्षेत्र खाली गरी लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयसँग समन्वय गरेर तत्कालका लागि अस्थायी संरचना निर्माण गर्ने तयारी भइरहेको छ । 

पटकपटक आएको बाढीका कारण गल्छीत्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाअन्तर्गतको त्रिशूली–मैलुङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्लाको उत्तरगया–५, नौबिसे पेट्रोल पम्पनजिक सडक कटान भएका कारण स्थानीय बस्ती, जलविद्युत् आयोजना र गाउँपालिकाको प्रशासनिक कार्यालयसमेत उच्च जोखिममा परेका छन् । जोखिमका बस्तीको संरक्षणका लागि पहल गरिने भएको छ । जोखिममा परेका बस्तीहरुमा आमाछोदिङ्मोको फूलबारी बस्ती र पाजुङ घरबस्ती, उत्तरगयाको बलेखर्क बस्ती, बनुवा घुम्ती बस्ती र चिप्लेटी बस्ती, कालिकाको चित्रेपानी बस्ती, गोम्बा डाँडा घरबस्ती, बाँस्तोला घरबस्ती, पाख्रिन टोल, डिखेत घरबस्ती, रूपसेपानी र ग्राङ क्षेत्र रहेका छन् । 

त्यसैगरी, गोसार्इँकुण्डको दाहाल फेदी (साबिक थुमन– ८), बाङदी (साबिक स्याफ्रुबेँसी– १) र स्याफ्रुबेँसी बजार क्षेत्रलगायत नौकुण्डको थाङ्दोर पुच्छार, युब्रा बस्ती र एकपाखे बस्ती रहेको छ । यसका साथै, पासाङल्हामु सडकखण्डअन्तर्गत उत्तरगया– ५, बनुवाघुम्ती क्षेत्रमा सडक डिभिजन नुवाकोटले निर्माण गरेको ग्याबिन पर्खाल वर्षाका कारण भत्किएकाले त्यसको दीर्घकालीन रोकथामका लागि विस्तृत अध्ययन गर्न समितिको बैठक निर्णय समेत गरको छ । 


लाङटाङ जिच कारखाना बन्दहुने अवस्थामा


 

रसुवा, नेपालकै जेठो र ऐतिहासिक पहिचान बोकेको रसुवाको चिज उद्योग दूध उत्पादन घटेपछि संकटमा परेको छ। सात दशकअघि स्थापना भएको रसुवाको चिज उत्पादन क्षेत्रमा पछिल्लो समय अनेकौं चुनौतीहरू थपिँदै छन्। 

दुग्ध विकास संस्थानअन्तर्गत रसुवाका पाँच उच्च हिमाली क्षेत्रहरू धुन्चे, चन्दनबारी, लाङटाङ, तातोपानी र गत्लाङमा यस वर्ष पनि वैशाखदेखि कात्तिक मसान्तसम्मका लागि चिज उत्पादन सुरु भइसकेको छ। 

पौष्टिक तथा औषधियुक्त घाँस पलाउने मौसम सुरु भएसँगै यी केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन्। हालसम्म पाँचवटै केन्द्रबाट १६ सय केजीभन्दा बढी चिज र एक हजार केजी मक्खन उत्पादन भइसकेको छ। उत्पादित चिज काठमाडौंस्थित लैनचौर केन्द्रीय भण्डारमा पठाउने तयारी भइरहेको छ। संस्थानले चिजको मूल्य प्रतिकेजी १ हजार ९ सय र बटर ९मक्खन० प्रतिकेजी १ हजार १ सय ५० निर्धारण गरेको छ। तर नेपालकै जेठो मानिने लाङटाङ चिज उत्पादन केन्द्र भने यस वर्ष विविध कारणले ढिलो गरी एक साताअघि मात्र सञ्चालनमा आएको छ। 

स्विस सरकारको सहयोगमा २००९ सालमा नेपालमै पहिलोपटक रसुवामा चिज उद्योगको स्थापना भएको थियो। २०१० सालमा क्यान्जिङ विमानस्थलमा चिज बोक्नका लागि हवाईजहाजसमेत आएको स्थानीय कर्म लामाले बताए। त्यसपछि स्थानीय बासिन्दाले चौंरीपालनलाई व्यावसायिक रूपमा अँगाल्दै आएका थिए। पछिल्ला वर्षहरूमा पर्यटन व्यवसायको विस्तारसँगै चौंरीपालक किसानहरू होटल तथा लज सञ्चालनतर्फ आकर्षित भएपछि चौंरीपालक कृषक अभावले चिज उद्योगहरूमा दूधको अभाव हुन थालेको हो। 


दिनहुँ युवा पुस्ता वैदेशिक रोजगारीतर्फ पलायन हुनु, पुराना चौंरीपालक किसानहरूको उमेर ढल्किँदै जानु, दूधको उत्पादन निरन्तर घट्दै जानुले केन्द्र सञ्चालन गर्न निकै मुस्किल परेको चन्दनबारी चिज उत्पादन केन्द्रका प्रमुख सुभाष राई बताउँछन्। चन्दनबारी तथा अन्य चिज केन्द्रहरू सीमित दूध संकलनकै भरमा सञ्चालन भइरहेका छन्। अर्कोतर्फ, दूध विकास संस्थानले पहिले किसानहरूलाई उपलब्ध गराउँदै आएको छाता, बाल्टिन र गमबुटजस्ता किसानलाई प्रेरित गर्ने सामग्रीमा कटौती गरेकोले पनि असर परेको किसानहरू बताउँछन्।


विनाशकारी भूकम्पका कारण यहाँ ६ सयभन्दा बढी चौंरी मरेपछि यहाँ चौंरीपालक कृषकहरू घटेका थिए। ‘विस्तारै बर्सेनि चौंरी पाल्ने घट्दै गएको घाँसका अभाव हुँदै गएकोले स्थानीय कृषक चौंरीपालन छाडेर होटल व्यवसायतर्फ लाग्न थालेका छन्। खर्क टाढा छ खर्कमा घाँस पनि अभाव हुने वर्षात्मा खर्कबाट दूध तार्न सकस हुन्छ,’ कृषक लाक्पा लामा बताउँछन्।


यहाँ उत्पादन हुने चिज र बटरलाई बजार अभाव हुने थिएन। यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकले मन पराउने हुनाले स्थानीय बजारमै सबै खपत हुन्थ्यो अब बन्द हुने अवस्थामा पुग्यो लामाले भने। 

चौंरीपालक किसानलाई राज्यले उचित राहत र प्रोत्साहन नदिए विश्वमै प्रसिद्ध लाङटाङ चिज इतिहासमा मात्र सीमित हुने जोखिम बढेको छ। लाङटाङमा बर्सेनि दूध उत्पादन घटेको छ। अहिले चौंरीपालक किसान दुई जना मात्र रहेका छन्। गत वर्ष पाँच जना थिए। यो क्रम अहिले घट्दो छ। स्थानीय चिज उत्पादन केन्द्रका प्रमुख ग्याल्बो लामाले भने— ‘भूकम्पअघि यहाँ ३३ जना किसानले झन्डै ३ सय ५० जति चौंरी पालेका थिए।’ लाङटाङमा दूध उत्पादन घटेपछि लामालाई अहिले दुग्ध विकास संस्थानले धुन्चेस्थित पाङले खर्क चिज उत्पादन केन्द्रमा पठाएको छ।

एकपाखे बस्तीका पहिराे पीडित १० परिवार सुरक्षित स्थानमा सारियाे


रसुवामा पहिरोको जोखिममा रहेका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। अविरल वर्षाका कारण जमिन चर्किएर पहिरोको जोखिम बढेपछि नौकुण्ड गाउँपालिका–६ स्थित एकपाखे बस्तीका १० परिवारका ३१ जनालाई सुरक्षित स्थानमा सारिएको हो।

बस्ती तलको जमिन चर्किएर भाँसिन सक्ने र पहिरोले घरमा क्षति पुर्‍याउन सक्ने जोखिम देखिएपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा उनीहरूलाई कफ्थलीटारस्थित सार्वजनिक स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

स्थानान्तरण गरिएका १० परिवारका १७ पुरुष र १४ महिला गरी ३१ जना छन् । अस्थायी बसोबासका लागि १२ वटा टेन्ट निर्माण गरिएको छ । प्रहरी चौकी पारच्याङबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारेको हो।




Wednesday, August 12, 2026

बनुवा घुम्तीमा सडकछेउको ग्याबियन पुन: भासियो

 


रसुवा, उत्तरगया गाउँपािलका -५ बनुवा घुम्तीमा सडकछेउको ग्याबियन पुन: भासिएपछि समस्या भएका छ । 

गतवर्ष लगाइएकाे ग्याबियन भासिएर पुन यसवर्ष लगाइएकाे ग्याबियन पनि भासिएपछि समस्या भएकाे हाे । गत वर्ष र यसवर्ष गरी कराेडाैं रकम खर्च भएपनि बालुवामा पानी जस्तै भएकाे स्थानीयले गुनासाे गरे । 

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ अन्तर्गत पासाङ ल्हामु राजमार्गको बनुवा घुम्ती क्षेत्रमा सडकछेउमा निर्माण गरिएको ग्याबियन भासिएको छ। जाली भासिएसँगै उक्त सडकखण्ड अत्यन्तै जोखिमयुक्त बनेको स्थानीय दयाराम आचार्यले बताएका छन्।

यस क्षेत्रमा यात्रा गर्ने सवारीसाधन तथा पैदल यात्रुले विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ। सडकको तलतिर ठूलो बस्ती रहेकाले ग्याबियन थप भासिएमा सडक संरचनामा क्षति पुग्नुका साथै गम्भीर दुर्घटना हुन सक्ने जोखिम रहेको उनीहरूको भनाइ छ।

स्थानीयवासीहरूले सम्बन्धित निकायलाई तत्काल स्थलगत निरीक्षण गरी आवश्यक मर्मत, संरक्षण तथा जोखिम न्यूनीकरणका कार्य तत्काल अघि बढाउन आग्रह गरेका छन्।

यसैबीच, उक्त सडकखण्ड प्रयोग गर्ने सबै चालक तथा यात्रुहरूलाई सुरक्षित र सतर्क भएर यात्रा गर्न अनुरोध गरिएको छ। सुरूमा नै ग्यावियन मिलाएर नहालेकाे र तेर्साे गरेर हालेर सिधै माथि उठाएकाे र माथिबाट माटाे भरेपछि लाेड थेग्न नसकेकाे स्थानीयले गुनासाे गरेका छन् ।

डिभिजन सडक कार्यालयले यसकाे बारेमा कुनै प्रतिक्रिया दिएकाे छैन । दाेस्राे पटक पनि नटिक्नुले प्राविधिक फेल भएकाे जनगुनासाे छ । 




टेलिमेडिसिन सेवा विस्तारको लागि ठूलोगाउँ स्वास्थ्यचौकीलाई उपकरण हस्तान्तरण

 

रसुवा, उत्तरगया गाउँपालिकाले ठुलोगाउँ स्वास्थ्यचौकीलाई टेलिमेडिसिन सेवा सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरेको छ ।  

गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा ती सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नु भएको हो।

यस सेवाको सुरुआतसँगै अब स्थानीय नागरिकहरूले आफ्नै गाउँको स्वास्थ्य चौकीबाटै विशेषज्ञ चिकित्सकहरूसँग प्रत्यक्ष परामर्श र उपचार सेवा पाउन सक्नेछन् । गुणस्तरीय, सहज र प्रविधिमैत्री स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै गाउँपालिकाले टेलिमेडिसिन सेवा विस्तार गरेको जनाएको छ। 

उत्तरगया गाउँपालिकाद्वारा विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

 

रसुवा,  उत्तरगया गाउँपालिकाले विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल (मैलुङ) लाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

प्राकृतिक विपद्का समयमा खोज, उद्धार र राहत कार्यलाई द्रुत र व्यवस्थित बनाउने उद्देश्यले विपद् व्यवस्थापन सामग्री उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। 

विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने र आगामी दिनमा पनि यस्ता पूर्वतयारीलाई निरन्तरता दिइने प्रतिबद्धता गाउँपालिकाले व्यक्त गरेको छ।

उत्तरगयाधामका १०८ शिवलिङ्गमा पूजा आराधना


साउनको अन्तिम सोमबार उत्तरगयाधाममा रहेकाे १०८ शिवलिङ्गमा भक्तजनले गरे पूजा आराधना गरेका छन् । 

रसुवा, साउन महिनाको अन्तिम सोमबार आज रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित पवित्र धार्मिक तीर्थस्थल उत्तरगया धाममा भक्तजनहरूले पूजाआराधना गरेका छन् । 

त्रिशूली, बेत्रगङ्गा र रुद्रगङ्गाको सङ्गमस्थल तथा त्रिवेणीधामका रूपमा परिचित यस स्थानमा पितृमोक्षका लागि स्नान, तर्पण र श्राद्ध गर्ने ठूलो धार्मिक महत्व रहको छ।

धाम क्षेत्रमा नवनिर्मित १०८ वटा शिवलिङ्गमा आज बिहानैदेखि श्रद्धालुहरूले विशेष पूजा आराधना तथा जलारोहण गरेका छन्।

पौराणिक तथा धार्मिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिने यस पावन भूमिमा १०८ शिवलिङ्ग स्थापना गरिएसँगै तीर्थालु तथा दर्शनार्थीहरूको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । साउनको अन्तिम सोमबार भएकाले देवका पनि देवता महादेवुको पूजा गरी मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ रसुवाका स्थानीयसहित वरपरका जिल्लाहरूबाट भक्तजनहरू उत्तरगया धाम पुगेका थिए ।  

धाम परिसरमा शिवलिङ्ग थपिएपछि यस क्षेत्रको धार्मिक पर्यटकीय महत्त्व अझ बढेको छ भने दर्शनार्थीहरूलाई पूजाआराधना गर्न थप सहज र उत्साहप्रद बनेको छ। 

पूर्वाधार विकास, उपलब्धि, अभ्यास, चुनौती बारे छलफल

 

रसुवा, जिल्लाको पूर्वाधार विकास, यसका उपलब्धि, अभ्यास, चुनौती र आगामी सुधारका विषयमा छलफल कार्यक्रम धुन्चेमा सम्पन्न भयाे ।

जिल्ला विपत व्यवस्थापन सिमितकाे बैठक पछि रेडियो लाङटाङ ९०.३ मेगाहर्जको आयोजनामा जिल्लाको पूर्वाधार विकास, यसका उपलब्धि, अभ्यास, चुनौती र आगामी सुधारका विषयमा सरोकारवालाहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य जिल्लामा भइरहेको भौतिक र सामाजिक पूर्वाधार विकासको समीक्षा गर्दै भावी रणनीतिका बारेमा साझा धारणा बनाउनु रहेको आयोजकले बताएकाे छ । कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक समाज र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

साे अवसरमा ५ वटै गाउँपालिकाबाट प्राविधिकहरू, डिभिजन सडक कार्यालय नुवाकोटका कार्यालय प्रमुख ईन्जिनियर बद्रीप्रसाद शर्मा ,गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक योजना नुवाकोटका आयोजना प्रमुख इन्जिनियर कृष्णनाथ ओझाले प्रस्तुती गरेका थिए ।



केरुङमा करोडौँको कृषि उपज बिग्रिँदै


रसुवा, सामान ढुवानीको लागि केरुङमा नेपाली गाडीको अभाव भएको छ । 

गाडी अभाव हुँदा  केरुङ पाङसिङ क्षेत्रमा नेपाल ल्याउनका तयारी अवस्थामा रहेको अदुवा, लसुन, स्याउ, ड्रागन फ्रुट र सुन्तला लगायतका कृषि तथा फलफूलजन्य सामानहरू रोकिएका छन् । 

गाडीको अभावमा लामो समयदेखि सामान अलपत्र परेको केरूङबाट पुरूषोत्तम पौडेलले बताए ।  पर्याप्त ढुवानी साधन नहुँदा ठूलो परिमाणमा कृषि उपज नासिने अवस्थामा पुगेको पौडेलले भने ।

नेपाली गाडीको सहज व्यवस्था हुन नसक्दा विशेष गरी छिट्टै बिग्रिने तरकारी तथा फलफूल व्यापारमा जोडिएका व्यवसायीहरू ठूलो आर्थिक क्षति व्यहोर्न अबस्थामा पुगेका  छन् । 

सम्बन्धित निकायले तत्काल नेपाली गाडीको व्यवस्था गरी रोकिएका सामान नेपाल भित्र्याउने वातावरण नबनाए व्यापारीको भारी लगानी डुब्नुका साथै नेपाली बजार र उपभोक्तासमेत प्रत्यक्ष प्रभावित हुने देखिएको छ।

तस्वीर र समाचार : पुरूषोत्तम पौडेल

भालुको खुट्टा जस्तो देखिने (आखेटोपहार) सहित दुई जना पक्राउ



रसुवा, गोसाइकुण्ड गाउँपालिका–६ धुन्चेमा भालुको जस्तो देखिने दुई वटा खुट्टा (आखेटोपहार) सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नावय उपरीक्षक अशोक थापाका अनुसार गोसाईकुण्ड गाउँपालिका–६ धुन्चेस्थित पासाङल्हामु राजमार्ग सडकखण्डमा वन्यजन्तुको अवैध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चालक आमाछोदिङ्मो–५ का २९ वर्षिय गोम्बो तामाङ र आमाछोदिङ्मो–३ का २४ वर्षिय तोप्देन तामाङ रहेका छन् । 

गत्लाङबाट त्रिशुलीतर्फ जाँदै गरेको प्र.३.०१ ००५ ख ९७८३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा गाडीको हाइड्रोलिक पाइपमुनि रातो डोरीले बाँधेर लुकाइराखिएको अवस्थामा उक्त वन्यजन्तुको खुट्टा फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरिएको दुई वटा खुट्टा र टिपरसहित दुवै जनालाई आवश्यक कानूनी कारवाही तथा अनुसन्धानका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको जनाएको छ ।


Tuesday, August 11, 2026

विष्फोटक पदार्थ नष्ट (डिस्पोज) गर्ने क्रममा घाइते युवाकाे निधन


रसुवा, रसुवाको आमाछोदिङमो गाउँपालिका–३ मानचेतस्थित नेपाली सेनाको फाइरिङ रेन्जमा म्याद सकिएका विष्फोटक पदार्थ नष्ट (डिस्पोज) गर्ने क्रममा भएको दुर्घटनामा गम्भीर घाइते भएका सोनाम घलेको निधन भएको  छ।

सुरक्षा निकायका अनुसार बर्निङ तथा डिमोलिसन विधिबाट विष्फोटक पदार्थ नष्ट गर्ने क्रममा एक्कासि भएको विष्फोटमा परी गम्भीर घाइते भएका लाङटाङ भोटेकोसी जलविद्युत आयोजनामा कार्यरत आमाछोदिङमो–४ गोल्जुङ निवासी २७ वर्षे घलेको मृत्यु भएको हाे ।  

उनको टाउको, घाँटी तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई प्रारम्भिक उपचारको पछि थप उपचारका लागि काठमाडौं पठाउने तयारीको क्रममा उनको मृत्यु भएको थियो। सेनाले विष्फाेट हुनु नपर्ने विस्फाेट भएकाे जनायाे । 

उक्त घटनामा दुई सैनिकसहित अन्य ६ जना घाइते भएका छन्। बाकी घाइते मध्ये ३ जनाको रसुवा जिल्ला अस्पतालमा उपचार गरी थप उपचारका लागि रिफर गरी त्रिशूली अस्पतालमा उपचार  भइरहेको छ भने ३ जनालाइ थप उपचारको लागि हेलिकप्टरबाट सैनिक अस्पताल काठमाडौ लगिएको छ ।  

घटनाको पूर्ण विवरण र विष्फोटको वास्तविक कारणबारे जिल्ला प्रशासन कार्यालय रसुवाले थप अनुसन्धानका लागि टाेली खटाएकाे छ । 

Monday, August 10, 2026

विष्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा ७ जना घाइते


रसुवा, आमाछोदिङ्मो गाउँपालिका–३ माङचेतस्थित नेपाली सेनाको फाइरिङ रेन्जमा विष्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा ७ जना घाइते भएका छन् ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रसुवाका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसी स्थित नेपाली सेनाको श्रीनाथ गणको सुरक्षा वेसको बंकरमा लामो समयदेखि भण्डारण गरी राखिएका, म्याद सकिएका, विभिन्न आयोजनामा प्रयोग भएर खपत अवधि समाप्त भएका काम नलाग्ने विष्फोटक पदार्थलाई बर्निङ तथा डिमोलिसन विधिबाट डिस्पोज गर्ने क्रममा घटना भएको हो।

घाइते मध्ये नेपाली सेनाका दुई जना र भोटेकोसी जलविद्युत आयोजनासँग सम्बन्धित पाँच जना रहेका छन्। नेपाली सेनातर्फ श्रीनाथ गणका अम राजु भण्डारी र एम्युनिसन महाशाखाका प्रा अम भोजबहादुर सारु घाइते भएका छन्। दुवैको टाउको, हात, खुट्टा तथा अनुहारमा चोट लागेको छ।

यस्तै, भोटेकोसी जलविद्युत आयोजनातर्फ मकवानपुरका सविन राना सामान्य घाइते भएका छन् भने रसुवाका निमा दोर्जे तामाङको अवस्था मध्यम रहेको छ। 

आमाछोदिङ्मो–४ का सोनाम घलेको टाउको, घाँटी तथा शरीरका विभिन्न भागमा चोट लागेकाले अवस्था गम्भीर रहेको बताइएको छ।

त्यसैगरी मकवानपुर हेटौंडाका आइते पाख्रिन र बैतडीका वीरेन्द्र धामीको कान नसुन्ने समस्या देखिएको र दुवैको अवस्था सामान्य रहेको छ।

घाइते सबैलाई उपचारका लागि रसुवा अस्पताल धुन्चे पठाइएकाे छ । प्रहरी चौकी थाम्बुचेतबाट प्रहरी नायब निरीक्षक धनबहादुर तामाङको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। घाइतेलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरी जनाएको छ । 


विस्तारित बैठक तथा पार्टी जागरण अभियानको सुरू

 


रसुवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) रसुवा जिल्ला कमिटीको आयोजनामा कालिकास्थानमा विस्तारित बैठक तथा पार्टी जागरण अभियानको औपचारिक शुभारम्भ गरिएको छ। सो कार्यक्रममा जिल्लाभरका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि, एमाले केन्द्रीय सचिव एवं बागमती प्रदेश कमिटी इन्चार्ज महेश बस्नेतले पार्टी जागरण अभियानको घोषणा गरे । उनले आगामी दिनमा साङ्गठनिक सुदृढीकरण, अनुशासित कार्यकर्ता परिचालन र जनस्तरमा पार्टीको पहुँचलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।
बैठक बारे जानकारी दिँदै जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष कैसाङनुर्पु तामाङले कार्यक्रममा जिल्लाको वर्तमान साङ्गठनिक अवस्थाको समीक्षा गर्दै भावी कार्ययोजना र पार्टीलाई थप क्रियाशील बनाउने रणनीतिक विषयहरूमा गहन छलफल भएको बताए । भेलामा नेकपा एमाले नेताहरू तेम्रेल लामा, उद्धव रिजाल, कुलप्रसाद भट्ट, अशाेक घिमिरे, रमेश आचार्यलगायतका नेताहरूले मन्तब्य दिएका थिए ।
बैठकले रसुवामा एमालेको साङ्गठनिक पकडलाई अझ मजबुत बनाउँदै जनताका मुद्दाहरूमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।

Saturday, August 1, 2026

सहमति पछि हड्ताल फिर्ता

रसुवा, स्याफ्रुवेशी स्थित चिलिमे हाइड्रोपावर अगाडिबाट सवारीसाधनसहित भोटेकोशी नदीमा बेपत्ता भएका चालक सविन तामाङको खोजी कार्य आज पनि जारी रहेको छ। 

अस्ति बेलुका करिब ५ बजेर ४० मिनेटमा भएको घटनापछि तामाङको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। घटनापछि पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको माग गर्दै धारापानी क्षेत्रमा गरिएको सडक अवरोध हिजो साँझ सम्बन्धित पक्षबीच सहमति भएपछि हटाइएको थियो।

 
सहमति अनुसार पीडित परिवारलाई राहतस्वरूप रु. १३ लाख उपलब्ध गराइने तथा कानुनी प्रक्रियाअनुसार बीमा दाबीमार्फत प्राप्त हुने रु. ५ लाख ५० हजारसमेत उपलब्ध गराइनेछ। यसरी पीडित परिवारले कुल रु. १८ लाख ५० हजार प्राप्त गर्ने सहमति भएको हो। सहमतिपत्रमा ढुवानी जिम्मेवारी प्राप्त कम्पनी कस्टम्स क्लियरिङ एन्ड लजिस्टिक्स प्रा.लि. का सञ्चालक श्रीधर आचार्य र पीडितका तर्फबाट चालक सविन तामाङका बुबा सुकराम तामाङले कालिका गाउँपालिका वडा नं ३ का अध्यक्ष फडिन्द्र यौपानेको रोहवरमा हस्ताक्षर गरेका छन्। यसैबीच, बेपत्ता तामाङको खोजीलाई तीव्र बनाउँदै घटनाको निष्पक्ष अनुसन्धान गर्न स्थानीयले माग गरेका छन्।

भूमि प्रशासन कार्यालयमा पाँच सय १ वटा लिखत पारित १ करोड ३२ लाख राजस्व संकलन


रसुवा, गत आर्थिक वर्ष २०८२/०८३ मा रसुवामा पाँच सय एक वटा जग्गा–जमिनको लिखत पारित भएको छ।

भूमि प्रशासन कार्यालय, रसुवाले लिखत पारितसँगै दृष्टिबन्धक, नामसारी, छुट दर्ता, जग्गा सुधार तथा अन्य कानुनी सेवा प्रदान गर्दै भूमि प्रशासनलाई थप व्यवस्थित बनाएको जनाएको छ।

कार्यालय प्रमुख गणेश श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा ३३५ वटा दृष्टिबन्धक पारित, ९० वटा मृत्यु नामसारी, २० वटा अभिलेख सुधार तथा २३ वटा पत्रबाट रोक्का फुकुवा गरिएको छ।

कानुनले तोकेको समयसीमा नाघेर मृत्यु नामसारी गर्न आएका ९० जनाबाट नियमानुसार जरिवाना समेत असुल गरिएको उनले बताए । भूमि प्रशासन कार्यालयका सूचना अधिकारी सन्तोष कुमार साहका अनुसार जिल्लामा रहेका ५८ हजार ४०१ कित्ता जग्गामध्ये दाखिला–खारेज, बण्डापत्र तथा कित्ताकाटका क्रममा ४०२ कित्ता खारेज भएपछि गत असार मसान्तसम्म ५७ हजार ९९९ कित्ता जग्गा किसानका नाममा दर्ता श्रेस्तामा कायम रहेको छ। नापी अभिलेखअनुसार जिल्लामा करिब २ लाख ४५ हजार रोपनी जग्गा किसानका नाममा श्रेस्ता–पुर्जामा दर्ता रहेको कार्यालयले जनाएको छ।

नेपालमा जग्गा किनबेचलाई कानुनी रूपमा माल अड्डाबाट लिखत पारित गर्ने व्यवस्था वि.सं. १९७९ सालदेखि सुरु भएको मानिन्छ। यस हिसाबले यो व्यवस्था लागू भएको करिब १०४ वर्ष पूरा भइसकेको छ।

त्यसभन्दा अघि गाउँका मुखिया, जिम्मल, जिम्वाललगायत स्थानीय अगुवाले जग्गाको स्वामित्वसम्बन्धी विवाद मिलाउने, तिरो निर्धारण गर्ने तथा मानामुरी र माटोका आधारमा जग्गाको अनुमानित क्षेत्रफल कायम गर्ने चलन थियो।

जग्गा किनबेच वा स्वामित्व हस्तान्तरण प्रायः तमसुक (हस्तलिखित कागज) बनाएर तथा स्थानीय साक्षी राखेर गरिन्थ्यो। वैज्ञानिक नापी, आधिकारिक नक्सा र सरकारी अभिलेखको व्यवस्था नहुँदा स्वामित्वसम्बन्धी विवाद पनि धेरै हुने गरेको थियो। पछि सरकारले देशभर वैज्ञानिक नापी सञ्चालन गरी जग्गाको निश्चित क्षेत्रफल कायम गर्‍यो। त्यससँगै माल अड्डाबाट कानुनी रूपमा लिखत पारित भएपछि मात्र जग्गाको स्वामित्व सुरक्षित र प्रमाणित हुने व्यवस्था लागू भएको हो।

यस व्यवस्थाले जग्गा कारोबारलाई कानुनी संरक्षण दिनुका साथै नागरिकको सम्पत्ति अधिकारलाई समेत मजबुत बनाएको कार्यालय प्रमुख श्रेष्ठले बताए । 

भूमि प्रशासन कार्यालय, रसुवाले गत आर्थिक वर्षमा कुल रु. १ करोड ३२ लाख ४५ हजार ४९६ राजस्व संकलन गरेको छ। त्यसमध्ये ३१ जनाबाट जग्गाको लाभकरबापत रु. ४४ लाख ७१ हजार ५३० संकलन भएको छ।

स्थानीय तहअनुसार गोसाइँकुण्ड गाउँपालिकाबाट रु. १९ लाख ९४ हजार ७६४, आमाछोदिङ्मो गाउँपालिकाबाट रु. ४ लाख ४९६, उत्तरगया गाउँपालिकाबाट रु. १४ लाख ४ हजार ७१, कालिका गाउँपालिकाबाट रु. २२ लाख २ हजार ५२५ तथा नौकुण्ड गाउँपालिकाबाट रु. २ लाख ७३ हजार ६१० राजस्व संकलन भएको सूचना अधिकारी साहले जानकारी दिए ।

कार्यालयका अनुसार संकलित राजस्वमध्ये लाभकर संघीय सरकारमा जाने व्यवस्था छ। बाँकी राजस्वमध्ये २ प्रतिशत भूमि सुदृढीकरण कोषमा जम्मा गरिन्छ भने शतप्रतिशत आधार मानी बाँकी रकम मध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत स्थानीय तहलाई वितरण गरिने व्यवस्था रहेको छ।

भूमि प्रशासन कार्यालयका कर्मचारी छेक्याल तामाङका अनुसार जग्गा–जमिन सम्बन्धी कानुनी परामर्श तथा सेवा लिन मासिक औसत २५ देखि ३० जना सेवाग्राही कार्यालयमा आउने गरेका छन्। कार्यालयको तथ्याङ्कले रसुवामा भूमि अभिलेख व्यवस्थापन, कानुनी स्वामित्व संरक्षण तथा राजस्व संकलनका कार्य वर्षेनि थप व्यवस्थित बन्दै गएको देखाएको छ। सेवा प्रवाहलाई समेत क्रमशः सरलीकृत बनाउँदै लगिएको कार्यालयले जनाएको छ।

Tuesday, July 28, 2026

वनमा ड्रोनमार्फत वनमा बीउ छर्न सुरु


रसुवा, लामो समयदेखि कुनै बिरुवा नउम्रेपछि सामुदायिक वनमा हरियाली बनाउन वनस्पत्ति र घाँसका बीउ छर्ने कार्य सुरु गरिएको छ ।

२०६५ सालमा डढेलोबाट उजाड बनेको वन क्षेत्रलाई पुनः हरियाली बनाउने उद्देश्यले आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङ स्थित ज्यार्सा गोठिन सामुदायिक वनमा ड्रोनमार्फत बीउ छर्न सुरु गरिएको हो । 

सामुदायिक वन समुहको सक्रियता तथा डिभिजन वन कार्यालय आयोजनामा १०० केजी बीउ छर्ने लक्ष्य राखिएको छ । प्रतिकूल मौसमका कारणले पहिलो दिन २० केजी बीउ मात्र छर्न सकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङका अनुसार स्थानीय हावापानीअनुकूल सल्लो, धुपी लगायतका वनस्पतिका बीउसँगै राई घाँस र ह्वाइट क्लोभरजस्ता घाँसका बीउ पनि मिसाएर छरिएको छ । लामो समयदेखि डढेलोलो कालो बनेको वन पुनस्र्थापनासँगै खर्क व्यवस्थापनलाई समेत प्रभावकारी बनाउने उद्देश्यले वनस्पति र घाँस दुवैका बीउ छरेको तामाङले बताए । 

विसं २०६५ मा भीषण डढेलोका कारण यस क्षेत्रमा झण्डै साढे ४ सय हेक्टर वन उजाड बनेको थियो । त्यहाँ रहेका सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ ठूला रुखहरू तथा विभिन्न वनस्पति नष्ट भएका थिए । दुर्गम भौगोलिक अवस्था र कठिन भू–भागका कारण परम्परागत रूपमा बिरुवा रोप्न चुनौती भएपछि ड्रोन प्रविधिको प्रयोग गरिएको हो । 

डढेलोबाट प्रभावित ४ सय ५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा ३० हेक्टर जमिनमा बीउ छर्ने योजना रहेको छ । यो अभियान लगातार तीन वर्षसम्म सञ्चालन गरिने वन कार्यालयले जनाएको छ । यस अघि रोपिएका विरुवा खुल्ला चरिचरण भएकोले चौरीले खाने ड्रोनबाट बीउ छर्न लागिएको हो स्थानीय फुर्पु तामाङले बताए । 

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश राईले ड्रोन प्रविधिबाट बीउ छर्दा समय, श्रम र लागत पनि बचत हुने बताए । “डढेलोपछि माटोको उमार शक्ति कमजोर हुने भएकाले बीउमा आवश्यक पोषक तत्वसमेत मिसाएर छरिएको छ । यसले बिरुवा उम्रने सम्भावना बढाउँछ,” उनले भने ।

अभियानमा त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान र वन तथा भू–संरक्षण विभागको प्राविधिक सहयोग रहेको छ । डढेलोबाट १६ हजारभन्दा बढी सल्ला तथा अन्य बहुमूल्य प्रजातिका ठूला रुख नष्ट भएको डिभिजन वन कार्यालय रसुवाका सन्तोष तिम्सिनाले बताए ।   

अघि पुनःस्थापनाअन्तर्गत ३० हजार भन्दा बढी बिरुवा रोपिएको छ भने ती बिरुवाको संरक्षणका लागि तारबारसमेत गरिएको छ । ड्रोनमार्फत बीउ छर्ने यो नवीन अभ्यासले डढेलो प्रभावित सामुदायिक वन क्षेत्रको पुनःस्थापनामा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको जार्सागोठेन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमासाङजे तामाङले बताए । डढेलाेले जलेर कालो भएको वनमा पुन हरियाली बढाएर पर्यापर्यटन तथा अन्य सम्भावना रहेको तामाङ बताउछन् । 





Monday, July 27, 2026

साङजेन हिमालको काखमा अवस्थित डिल्पु कुण्ड

 


डिल्पु कुण्ड (Dilpu Kund) परिचय

रसुवा, डिल्पु कुण्ड रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका अन्तर्गत साङजेन (Sanjen) हिमालको काखमा अवस्थित एउटा प्राकृतिक हिमाली कुण्ड हो। यो कुण्ड हालसम्म गोसाइँकुण्ड वा पार्वतीकुण्डजस्तो व्यापक रूपमा प्रचारित नभए पनि प्राकृतिक सौन्दर्य, शान्त वातावरण र धार्मिक–पर्यटकीय सम्भावनाका कारण विशेष महत्व राख्छ। स्थानीय सञ्चारमाध्यमहरूले यसलाई "पर्यटकको पर्खाइमा रहेको रहस्यमय कुण्ड" भनेर उल्लेख गरेका छन्।

अवस्थिति

  • जिल्ला: रसुवा
  • गाउँपालिका: आमाछोदिङ्मो गाउँपालिका
  • क्षेत्र: साङजेन हिमाल आसपास
  • प्राकृतिक विशेषता

    • हिमाली स्रोतबाट भरिने स्वच्छ र चिसो पानीको प्राकृतिक कुण्ड।
    • वरिपरि अल्पाइन घाँसे मैदान, चट्टानी भूभाग र हिमाली वनस्पति पाइन्छ।
    • मौसम सफा हुँदा वरपरका हिमशृङ्खलाको सुन्दर दृश्य देख्न सकिन्छ।
    • गर्मीयाममा दुर्लभ हिमाली फूलहरू फुल्ने भएकाले प्रकृतिप्रेमीका लागि आकर्षक गन्तव्य हो।

    धार्मिक तथा सांस्कृतिक महत्व

    स्थानीय तामाङ समुदायले डिल्पु कुण्डलाई पवित्र स्थलका रूपमा सम्मान गर्ने परम्परा रहेको बताइन्छ। केही स्थानीयले विशेष अवसरमा पूजा तथा धार्मिक अनुष्ठान गर्ने चलन रहेको उल्लेख गर्छन्, यद्यपि यसको लिखित ऐतिहासिक अभिलेख सीमित छ।

    पुग्ने सम्भावित मार्ग

    सामान्यतया यात्रा यसरी गरिन्छ:

    • काठमाडौं → धुन्चे
    • धुन्चे → चिलिमे
    • चिलिमेबाट स्थानीय पदमार्ग हुँदै साङजेन क्षेत्र
    • त्यसपछि पदयात्राबाट डिल्पु कुण्ड

    मार्ग मौसम, स्थानीय बाटो र अनुमति व्यवस्थाअनुसार फरक हुन सक्छ। स्थानीय गाइड लिएर जानु उपयुक्त हुन्छ।

    घुम्न उपयुक्त समय

    • वैशाख–जेठ (अप्रिल–मे)
    • असोज–कात्तिक (अक्टोबर–नोभेम्बर)

    यी समयमा मौसम प्रायः सफा हुने भएकाले हिमाल र कुण्डको दृश्य राम्रो देखिन्छ।

    चुनौतीहरू

    • पर्याप्त पर्यटकीय पूर्वाधारको अभाव
    • स्पष्ट संकेत बोर्ड र पदमार्ग व्यवस्थापन आवश्यक
    • प्रचारप्रसार कम भएकाले धेरैलाई जानकारी छैन
    • संरक्षण तथा फोहोर व्यवस्थापनमा ध्यान आवश्यक

    पर्यटनको सम्भावना

    डिल्पु कुण्डलाई पार्वतीकुण्ड, साङजेन क्षेत्र र आमाछोदिङ्मोका अन्य प्राकृतिक तथा सांस्कृतिक गन्तव्यसँग जोडेर विकास गर्न सके रसुवाको नयाँ आकर्षक पदयात्रा गन्तव्य बन्न सक्ने सम्भावना देखिन्छ। 



भोटेकोशी नदीमा हामफालेर एक जना बेपत्ता



रसुवा, गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित भन्सार यार्डको स्याउ पार्किङ क्षेत्रबाट भोटेकोशी नदीमा हामफालेर एक व्यक्ति बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा रसुवाकै कालिका गाउँपालिका–४ निवासी ४४ वर्षीय खेसम बहादुर तामाङ रहेका छन् । उनकाे आफूले बोकेको झोला नदी किनारमा राखेकाे भेटिएकाे छ ।
घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल (BOP टिमुरे) बाट सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीको कमाण्डमा ७ जना, इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी निरीक्षक विक्रम कुँवरको कमाण्डमा ७ जना र नेपाली सेनाको श्रीनाथ गण घट्टेखोलाबाट उपसेनानी वीरेन्द्रकुमार चौधरीको कमाण्डमा १० जना गरी २४ जनाको संयुक्त सुरक्षा टोली उद्धारमा खटिएको छ।

संयुक्त सुरक्षा टोलीले भोटेकोशी नदी र तटीय आसपासका क्षेत्रमा बेपत्ता तामाङको खोजी कार्यलाई तीव्र बनाएको छ। घटनाको कारण भने खुल्न सकेको छैन र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।