रसुवा, लामो समयदेखि कुनै बिरुवा नउम्रेपछि सामुदायिक वनमा हरियाली बनाउन वनस्पत्ति र घाँसका बीउ छर्ने कार्य सुरु गरिएको छ ।
२०६५ सालमा डढेलोबाट उजाड बनेको वन क्षेत्रलाई पुनः हरियाली बनाउने उद्देश्यले आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङ स्थित ज्यार्सा गोठिन सामुदायिक वनमा ड्रोनमार्फत बीउ छर्न सुरु गरिएको हो ।
सामुदायिक वन समुहको सक्रियता तथा डिभिजन वन कार्यालय आयोजनामा १०० केजी बीउ छर्ने लक्ष्य राखिएको छ । प्रतिकूल मौसमका कारणले पहिलो दिन २० केजी बीउ मात्र छर्न सकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङका अनुसार स्थानीय हावापानीअनुकूल सल्लो, धुपी लगायतका वनस्पतिका बीउसँगै राई घाँस र ह्वाइट क्लोभरजस्ता घाँसका बीउ पनि मिसाएर छरिएको छ । लामो समयदेखि डढेलोलो कालो बनेको वन पुनस्र्थापनासँगै खर्क व्यवस्थापनलाई समेत प्रभावकारी बनाउने उद्देश्यले वनस्पति र घाँस दुवैका बीउ छरेको तामाङले बताए ।
विसं २०६५ मा भीषण डढेलोका कारण यस क्षेत्रमा झण्डै साढे ४ सय हेक्टर वन उजाड बनेको थियो । त्यहाँ रहेका सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ ठूला रुखहरू तथा विभिन्न वनस्पति नष्ट भएका थिए । दुर्गम भौगोलिक अवस्था र कठिन भू–भागका कारण परम्परागत रूपमा बिरुवा रोप्न चुनौती भएपछि ड्रोन प्रविधिको प्रयोग गरिएको हो ।
डढेलोबाट प्रभावित ४ सय ५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा ३० हेक्टर जमिनमा बीउ छर्ने योजना रहेको छ । यो अभियान लगातार तीन वर्षसम्म सञ्चालन गरिने वन कार्यालयले जनाएको छ । यस अघि रोपिएका विरुवा खुल्ला चरिचरण भएकोले चौरीले खाने ड्रोनबाट बीउ छर्न लागिएको हो स्थानीय फुर्पु तामाङले बताए ।
त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश राईले ड्रोन प्रविधिबाट बीउ छर्दा समय, श्रम र लागत पनि बचत हुने बताए । “डढेलोपछि माटोको उमार शक्ति कमजोर हुने भएकाले बीउमा आवश्यक पोषक तत्वसमेत मिसाएर छरिएको छ । यसले बिरुवा उम्रने सम्भावना बढाउँछ,” उनले भने ।
अभियानमा त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान र वन तथा भू–संरक्षण विभागको प्राविधिक सहयोग रहेको छ । डढेलोबाट १६ हजारभन्दा बढी सल्ला तथा अन्य बहुमूल्य प्रजातिका ठूला रुख नष्ट भएको डिभिजन वन कार्यालय रसुवाका सन्तोष तिम्सिनाले बताए ।
अघि पुनःस्थापनाअन्तर्गत ३० हजार भन्दा बढी बिरुवा रोपिएको छ भने ती बिरुवाको संरक्षणका लागि तारबारसमेत गरिएको छ । ड्रोनमार्फत बीउ छर्ने यो नवीन अभ्यासले डढेलो प्रभावित सामुदायिक वन क्षेत्रको पुनःस्थापनामा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको जार्सागोठेन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निमासाङजे तामाङले बताए । डढेलाेले जलेर कालो भएको वनमा पुन हरियाली बढाएर पर्यापर्यटन तथा अन्य सम्भावना रहेको तामाङ बताउछन् ।

0 Comments :
Post a Comment