रसुवा, आमाछोदिङ्मो गाउँपालिका–३ माङचेतस्थित नेपाली सेनाको फाइरिङ रेन्जमा विष्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा ७ जना घाइते भएका छन्।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रसुवाका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेशीस्थित नेपाली सेनाको श्रीनाथ गणको सुरक्षा वेशको बंकरमा लामो समयदेखि भण्डारण गरी राखिएका, म्याद सकिएका, विभिन्न आयोजनामा प्रयोग भएर खपत अवधि समाप्त भएका काम नलाग्ने विष्फोटक पदार्थलाई बर्निङ तथा डिमोलिसन विधिबाट डिस्पोज गर्ने क्रममा घटना भएको हो।
घाइते मध्ये नेपाली सेनाका दुई जना र भोटेकोसी जलविद्युत आयोजनासँग सम्बन्धित पाँच जना रहेका छन्।
नेपाली सेनातर्फ श्रीनाथ गणका अम राजु भण्डारी र एम्युनिसन महाशाखाका प्रा। अम भोजबहादुर सारु घाइते भएका छन्। दुवैको टाउको, हात, खुट्टा तथा अनुहारमा चोट लागेको छ।
यस्तै, भोटेकोसी जलविद्युत आयोजनातर्फ मकवानपुरका सविन राना सामान्य घाइते भएका छन् भने रसुवाका निमा दोर्जे तामाङको अवस्था मध्यम रहेको छ। आमाछोदिङ्मो–४ का सोनाम घलेको टाउको, घाँटी तथा शरीरका विभिन्न भागमा चोट लागेकाले अवस्था गम्भीर रहेको बताइएको छ।
त्यसैगरी मकवानपुर हेटौंडाका आइते पाख्रिन र बैतडीका वीरेन्द्र धामीको कान नसुन्ने समस्या देखिएको र दुवैको अवस्था सामान्य रहेको छ।
घाइते सबैलाई उपचारका लागि रसुवा अस्पताल धुन्चे पठाइएकाे छ । प्रहरी चौकी थाम्बुचेतबाट प्रहरी नायब निरीक्षक धनबहादुर तामाङको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।
घाइतेलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरी जनाएको छ ।
No comments:
Post a Comment