ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, November 2, 2026

उत्तरगयाका महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम सुरु


​रसुवा, उत्तरगया गाउँपालिका-५ माझागाउँमा मानसिक स्वास्थ्य सेवा विस्तार तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सुरु भएको छ ।

​उत्तरगया गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई लक्षित गरी तीन दिने मानसिक स्वास्थ्य सेवा विस्तार तथा क्षमता अभिवृद्धि तालिम सोमबारबाट सुरु भएको हो । उक्त कार्यक्रममा उत्तरगया गाउँपालिकाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको छ ।

​Wiseđena Foundation, 8xmille, Unione Buddhista Italiana, ASIA र PiPAL को संयुक्त सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले बताएकाे छ ।

यस कार्यक्रमले स्थानीय स्तरमा मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न तथा सम्बन्धित क्षेत्रका जनशक्तिको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको एसिया नेपालका उमेश भट्टराइले बताए ।

Sunday, November 1, 2026

संविधानसभा सदस्य तथा एमालेका नेता तामाङको अन्त्येष्टि

 

राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ तस्वीर : दिपक लामा

रसुवा, जिल्लाको कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्व, नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा संविधानसभा सदस्य ६५ वर्षिय छोवाङ तेन्जेन तामाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर नेता तथा कार्कर्ताहरू र स्थानीयले अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।

​गोसाइँकुण्ड गाउँपालिका वडा नं. ६, धुन्चे निवासी तामाङको शनिबार बिहान निधन भएको हो। उनको निधनले रसुवाको राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। ​धुन्चेमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले तामाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सबैले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कैसाङनुर्पु तामाङले उहाँको निधनले रसुवाको राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।



त्यसैगरी, प्रतिनिधिसभा सदस्य मोहन आचार्य, संविधानसभा सदस्यद्वय प्रेम तामाङ र जनार्दन ढकालले उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । अन्तिम श्रद्धाञ्जली सभामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।


​कम्युनिष्ट आन्दोलनलाई स्थापित गर्न अग्रणी भूमिका निर्वाह गर्नुभएका तामाङ नेकपा (एमाले) रसुवाका संस्थापक सदस्य हुन् । उनले आफ्नो जीवनको लामो कालखण्ड रसुवाको राजनीतिक, सामाजिक र साङ्गठनिक विकासमा समर्पित गरे । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक धुन्चे गाउँविकास समितिको अध्यक्षका रूपमा निर्वाचित भई उनले गाउँमा संस्कार सुधार तथा जनसेवाको सुरुआत गरेका थिए ।

उनले ​पार्टी संगठन निर्माणका क्रममा नेकपा (एमाले) रसुवाको जिल्ला सचिव, अध्यक्ष र प्रदेश सदस्यहुँदै केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारीसम्म पुगे । बि सं २०७० सालको निर्वाचनमा संविधानसभा सदस्य भई नेपालको नयाँ संविधान निर्माणको ऐतिहासिक यात्रामा रसुवा जिल्लाको तर्फबाट महत्वपूर्ण जिम्मेवारी निर्बाह गरेका थिए । २०७९ सालको आमनिर्वाचनमा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत भएका थिए ।

सामाजिक क्षाेत्रमा समेत यहाँकाे ठूलाे याेगदान रहेकाे छ । उनले सैसस महासंघ, शिक्षक संगठन र घरेलु तथा साना उद्याेग महासंघमा समेत स्थापनाकालमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । शव यात्रामा जिल्ला स्थित नागरिक समाजका अध्यक्ष तथा जिल्ला स्थित नेता, कार्यकर्ता र जिल्लावासीकाे सहभागिता रहेकाे थियाे ।



Saturday, October 31, 2026

स्वास्थ्यकर्मीहरूको क्षमता विकास अभिमुखीकरण सम्पन्न

 


बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान तथा प्रेषण सम्बन्धी स्वास्थ्यकर्मीहरूको क्षमता विकास अभिमुखीकरण कार्यक्रम २०८३ कात्तिक १४ गते विदुर नगरपालिका–४, नुवाकोटमा सम्पन्न भयाे । 

सिविन नेपालको आयोजना तथा प्लान इन्टरनेशनलको सहयोगमा सञ्चालित कार्यक्रममा ४६ जना सहभागी मध्ये ३४ महिला र १२ पुरुष थिए।  अभिमुखीकरणमा विभिन्न स्वास्थ्य संस्थाका ३८ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको कार्यक्रममा मानसिक स्वास्थ्य समस्या, तनाव, चिन्ता, डिप्रेसन, प्रारम्भिक पहिचान, मनोसामाजिक परामर्श तथा प्रेषण प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो।

क्लिनिकल साइकोलोजिस्ट डा अञ्जन ढकाल तथा मनोचिकित्सक डा. भीष्म के.सी. र डा. शुभा श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रममा कान्ति बाल अस्पतालमार्फत टेलिपरामर्श तथा फलोअप सेवाको व्यवस्था बारे समेत जानकारी दिइएको थियो।




फड्के पुल बगाएपछि पुन: २ पालिका आवतजावतमा समस्या

 

रसुवा, तीन दिनदेखि लगातार परेको वर्षातका कारण गोसाइकुण्ड गाउँपालिका–५ स्याफ्रवेसीमा रहेको काठको अस्थायी फड्के बगाएपछि स्थानीय समस्यामा परेका छन् । 

भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले बगाएको मोटरेवल पुल बगाएपछि समस्या परेको हो । 

लगातार तीन दिनको वर्षापछि आएको लाङटाङ खोलाको बाढीले गाउँलेले २ साता लगाएर बनाएका फड्के (काठेपुल) बगाएको स्थानीय नुर्पुछिरिङ तामाङले बताए ।  

आमाछाेदिङमो गाउँपालिका र गोसाइकुण्ड गाउँपालिकाको वडा नं ६ बाहेकको सवै वडामा आवत जावत तथा अत्यावश्यक वस्तुहरू लैजान तथा स्थानीय उत्पादन बजारसम्म लैजान समस्या परेको छ । 

लुइन र पुलबाट केही सामानहरु ल्याउन तथा स्थानीयलाइ आवतजावत गर्न सकह भएको अस्थायी पुल बगेपछि समस्या भएको गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । दुइवटा गाउँपालिका बीचको सम्पर्क पुन विच्छेद भएकोले समस्या समाधानका लागि अब पुल बनाउने जगकाे अवस्था हेरेर अस्थायी पुल बनाउने अध्यक्ष तामाङले बताए ।  

’लगातार तीन दिनसम्म परेको पानीले खोलाको सतह बढायो। दुःखले निर्माण गरेका चारवटा काठेपुल एक हप्ता नबित्दै बगायो,’ अध्यक्ष लामाले भने, ’हाल चुम उपत्यका जाने बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। अब केही समयपछि फेरि त्यही ठाउँमा अस्थायी पुल निर्माणको काम सुरु गर्छौँ, त्योबाहेक अन्य विकल्प छैन।’

स्थानीयले जनश्रमदान गरेर बनाएको फड्के पुल लगतार ३ दिनदेखि वर्षातले बगाएपछि अब पुनः पुल बनाउन समय लाग्ने भएकोले स्थानीय समस्यामा परेको आमाछोदिङमो गाउँपालिका-३ का वडा अध्यक्ष सुरेन्द्र तामाङले बताए । 

स्याफुवेशी स्थित फड्के बगाएपछि गोसाईकुण्ड गापा र आमाछोदिङ्मो गापा पुनः विच्छेद भएको छ । ठेकदार कम्पनी र सडक विभागलाई जति सक्दो चाँडो बेली वृज निर्माणमा मेसिन ल्याउन र काम गर्न प्रमुख जिल्ला अधिकारीमार्फत अनुरोध गरिएको छ । 





Friday, October 30, 2026

सडक विभागका ६ वटा स्काभेटर थन्किए, बाढीपछिकाे निर्माणका काम अलपत्र

 


रसुवा, बाढीका कारण कतै सडक र पैदल मार्ग मर्मत हुन सकेको छैन बेत्रावतीमा सडक विभागका ६ वटा स्काभेटर थन्किए, गाउँमा भने विकास निर्माणका काम अलपत्र परेका छन् । 

बेत्रावतीको बगर सम्याइदिने, खोला क्षेत्र तल खारेर नदी आसपासको क्षेत्र उठाउने र व्यवस्थित गरिदिने हो भने पनि स्थानीयले ठूलो राहत महसुस गर्ने थिए। 

यतिबेला बाढी प्रभावित गाउँबस्तीका नागरिकहरू अनेकौँ समस्यासँग जुधिरहेका छन्। गाउँगाउँमा सडक विस्तार, बाटो निर्माण, झोलुङ्गे पुल तथा अस्थायी फट्के पुल निर्माणलगायत थुप्रै अत्यावश्यक काम बाँकी छन् । 

तर विडम्बना  सडक विभागका ६ वटा स्काभेटरहरू दशैँअघि नै, बेलिब्रिज निर्माण सम्पन्न भएको भोलिपल्टदेखि बेत्रावतीमा थन्क्याएर राखिएको स्थानीयको भनाइ छ।

एकातिर विपद्बाट प्रभावित नागरिकहरू आवागमन र पुनःस्थापनाका लागि संघर्ष गरिरहेका छन् भने अर्कोतिर यस्ता अत्यावश्यक काममा प्रयोग गर्न सकिने सरकारी मेसिनरी लामो समयसम्म प्रयोगविहीन अवस्थामा राखिनु कति उचित हो र ?

महाविपत्तिको समयमा जनताका समस्या समाधान गर्नुपर्ने जिम्मेवार निकायका कार्यालय, हाकिम तथा कर्मचारीहरूले चाडपर्वको बिदापछि पनि कामलाई प्राथमिकता दिनुपर्ने होइन र ?

सामाजिक संञ्जालमा धेरैले लेखेका छन्  सरकारी स्रोतसाधन जनताको सेवाका लागि हो, थन्क्याएर राख्नका लागि होइन। ती मेसिनहरू तत्काल आवश्यकताअनुसार प्रभावित क्षेत्रमा परिचालन गरी रोकिएका विकास निर्माण तथा पुनःस्थापनाका कामलाई गति दिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ। यस विषयमा सामाजिक सञ्जालमा धेरै टिप्पणी हुन थालेको छ । 

भत्केका सडक सञ्जाल तथा केही मर्मत गर्नु पर्ने सडककाे काम नगरेकाे पनि गुनासाे छ । 

बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य परीक्षण तथा उपचार शिविर सम्पन्न


नुवाकाेट, बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्या पहिचान, परामर्श तथा उपचारमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले नुवाकोटमा सिविन नेपालद्धारा जिल्लामा आयोजित मानसिक स्वास्थ्य परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ।

नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन नेपाल)द्धारा आयोजना भएकाे तथा प्लान इन्टरनेशनलको सहयोगमा कात्तिक १३ गते नुवाकोटको विदुर नगरपालिका–५ स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा शिविर सञ्चालन गरिएको हो।

शिविरबाट  ८७ जनाले सेवा प्राप्त गरेका थिए।  नुवाकोटको विदुर नगरपालिका–५ स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आयोजित शिविरमा विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका बालबालिका तथा किशोरकिशोरीले मानसिक स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए। 

शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका सेवाग्राहीहरूमा समायोजन विकार, चिन्ता विकार, अवसाद, शोक तथा वियोगसँग सम्बन्धित समस्या, रूपान्तरण विकार, भावनात्मक रूपमा अस्थिर व्यक्तित्व विकार तथा आफूलाई जानाजानी हानि पुर्‍याउने व्यवहारलगायतका मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू पहिचान भएका थिए।

त्यसैगरी, केही सेवाग्राहीमा मनोविकृति, मदिरा निर्भरता, मदिरा सेवनका कारण उत्पन्न मनोविकृति सम्बन्धी समस्या समेत देखिएका थिए।

शिविरका क्रममा मानसिक स्वास्थ्य समस्या पहिचान भएका बालबालिका तथा किशोरकिशोरीमध्ये तीन जनालाई आवश्यक औषधि सिफारिस गर्नुका साथै थप मनोसामाजिक परामर्शका लागि पठाइएको थियो सिविनका सन्ताेष विमलीले बताए । 

अन्य सेवाग्राहीलाई उनीहरूको स्वास्थ्य अवस्थाअनुसार मनोसामाजिक परामर्श तथा आवश्यक उपचार सेवा लिन सिफारिस गरिएको थियो। साथै, मानसिक तनाव न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्राम अभ्यास समेत सिकाइएको थियो।

विशेषज्ञ सेवाका लागि रेफर

शिविरमा स्वास्थ्य परीक्षण गराएका सेवाग्राही मध्ये थप परीक्षण तथा विशेषज्ञ उपचार आवश्यक देखिएका दुई जनालाई क्लिनिकल साइकोलोजिस्ट, दुई जनालाई अर्थोपेडिक विभाग र एक जनालाई युरोसर्जरी विभागमा रेफर गरिएको थियो।

मानसिक स्वास्थ्य समस्या पहिचान भएका सेवाग्राहीलाई समयमै आवश्यक उपचार तथा परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले विशेषज्ञ सेवामा रेफर गरिएको हो।

कान्ति बाल अस्पतालमार्फत टेलि–परामर्श र फलोअपको व्यवस्था

शिविरमा मनोसामाजिक परामर्श तथा मनोचिकित्सा सेवा प्राप्त गरेका बालबालिका तथा किशोरकिशोरीलाई निरन्तर उपचार र परामर्श सेवाको पहुँचमा राख्न विशेष व्यवस्था मिलाइएको छ। 

यसअन्तर्गत थप परामर्श तथा उपचार आवश्यक पर्ने सेवाग्राहीलाई कान्ति बाल अस्पतालमार्फत टेलि–परामर्श तथा मनोचिकित्सा सेवाको माध्यमबाट नियमित फलोअप गरिने व्यवस्था गरिएको छ।





नागरिकमैत्री सेवा प्रवाहमा प्रहरीले सम्झौता गर्दैन : डिआईजी रेग्मी


रसुवा, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, मकवानपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) दिपक रेग्मीले अपराध नियन्त्रण र नागरिक मैत्री सेवा प्रवाहमा प्रहरीले कुनै पनि बहानामा सम्झौता गर्न नहुने बताए । 

जिल्ला प्रहरी कार्यालय रसुवा र इलाका प्रहरी कार्यालय कालिकास्थानको विस्तृत अनुगमन तथा निरीक्षण गर्नुहुँदै डीआईजी रेग्मीले कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।  निरीक्षणका क्रममा उनले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति परिचालन र व्यवस्थापनको वस्तु स्थिति बारे जानकारी लिएका थिए । 

समसामयिक विषयमा निर्देशन दिँदै प्रदेश प्रहरी प्रमुख रेग्मीले प्रहरी कर्मचारीहरूको आचरण र व्यवहारमा सुधार ल्याउनु अनिवार्य रहेको उल्लेख गरे । प्रहरीको पहिलो पहिचान नै उसको आचरण र बोली (व्यवहार हो,उनले भने कानुन कार्यान्वयनमा दृढ र कठोर रहँदै सेवा प्रवाहमा भने पूर्ण रूपमा नागरिक मैत्री बन्नु पर्दछ। 

आम नागरिकले विना हिचकिचाहट प्रहरीको सहयोग लिन सक्ने वातावरण सिर्जना हुनुपर्ने बताउदै डिआईजी रेग्मीले कार्यक्षेत्रमा थप व्यावसायिक र चनाखो भएर खटिन प्रहरी टोलीलाई निर्देशन दिए । शान्ति सुरक्षा कायम गर्न, सम्भावित अपराधका घटनाहरूलाई निरुत्साहित गर्न र जनमानसमा सुरक्षाको बलियो अनूभूति गराउन प्रहरीको सक्रियता बढाइनुपर्नेमा उनले जोड् दिए ।