ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, August 27, 2023

नजिकको धार्मिक गन्तव्य : सानो (मिनी) गोसाइँकुण्ड

रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ र ६ को सिमानामा रहेको मिनीगोसाइँकुण्ड गोसाइँकुण्डसम्म पुग्न नसक्नेका लागि नजिकको तीर्थ बनेको छ । घट्टेखोलास्थित केही वर्ष अघिमात्र निर्माण भएको यो कुण्ड धुन्चेका स्थानीयबासी, कर्मचारी तथा घुम्न जानेका लागि पवित्र गन्तव्य बनिरहेको छ ।



    सानो गोसाइँकुण्ड (Mini Gosainkunda) को परिचय

    रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ र ६ को सिमानामा रहेको मिनीगोसाइँकुण्ड गोसाइँकुण्डसम्म पुग्न नसक्नेका लागि नजिकको तीर्थ बनेको छ । घट्टेखोलास्थित केही वर्ष अघिमात्र निर्माण भएको यो कुण्ड धुन्चेका स्थानीयबासी, कर्मचारी तथा घुम्न जानेका लागि पवित्र गन्तव्य बनिरहेको छ ।


    यस क्षेत्रमा स्नान गरी पितृ तर्पण गरेमा पितृहरू मोक्ष हुने जनविश्वास रही आएको छ ।

    प्राकृतिक छटाले भरिपूर्ण यस क्षेत्रबाट गोसाइँकुण्ड सुरूवात हुन्छ । यहाँबाट खन्ती, देउराली, धिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीबिना हुँदै गोसाइँकुण्ड तथा वरपरका क्षेत्रमा पुग्न सकिन्छ ।
    एक पटक पितृतर्पण गर्नैपर्ने यस मिनीगोसाइँकुण्ड पेरिफेरिमा आकर्षक झरनाहरू पनि रहेका छन् ।

    मिनी गोसाइँकुंण्ड तथा यस वरपरका क्षेत्रका आकर्षणहरू

    - लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको मनोरम छटा
    - बैदिक तथा धार्मिकसहितको पर्यटकीय गन्तव्य
    - रेष्टुरेन्ट तथा आवासको व्यवस्था
    - चराचुरूङ्गी तथा जंगली जनावरको अवलोकन
    - विभिन्न सांस्कृतिक क्षेत्रहरू
    - तामाङ संग्रहालय
    - हिमालयन मिनरल वाटर कम्पनी
    - सदरमुकामको नजिकको गन्तव्य

    कसरी पुग्ने मिनी गोसाइँकुण्ड ?

    - रसुवा जिल्लाको सदरमुकाम धुन्चेबजारबाट पूर्व उत्तरतर्फ सडकखण्डमा रहेको गणेश मन्दिर दाँयाबाट मिनरल वाटर कम्पनीबाट तियारी बगर हुँदै यस स्थानमा पुग्न सकिन्छ ।

    तपाईलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला । तपाईबाट सुधारको आशासहित ।



    Thursday, August 24, 2023

    कमै सुनिएको कुण्ड : चिलिमेको ग्रुब्राकुण्ड

     बोल्न नसकेका  बालकलाई यस कुण्डमा स्नान गराउदा बोली फुट्ने, कान नसुन्नेका लागि स्मरण शक्ति बढ्ने, गानुगोला हराउने, छाला सम्वन्धि समस्या हराउने जनविश्वास समेत् रहेको छ ।



      ग्रुबाकुण्डको परिचय

      रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ टेकाङ्चे र सिम्बु क्षेत्रको ठीक माथि टेताङ्चेमा रहेको गुब्रा कुण्डको नाम कमै मानिसले मात्र सुनेका छन् ।

      विभिन्न बिशेषता रहेको यस कुण्डमा हरेक वर्ष जनै पूर्णिमाका दिन मेला लाग्ने गर्दछ ।

      प्रायः स्थानीय समुदायको मात्र आवागमन हुने यस कुण्डका विभिन्न विशेषताहरू रहेका छन् ।


      ग्रुबाकुण्ड तथा यस क्षेत्रका आकर्षणहरू

      - नेपालको उत्तराखण्डमा रहेको १०८ कुण्ड मध्ये यो गुब्राकुण्ड पनि एक हो ।
      - यो कुण्डमा स्नान र पुजा आराधना गर्दा धार्मिक लाभ प्राप्त भइ आफुले सोचेका सबै खालका मनोञ्कांक्षा पुरा हुने जनविश्वास रही आएको छ ।
      - बोल्न नसकेका बालकलाई यस कुण्डमा स्नान गराउदा बोली फुट्ने, कान नसुन्नेका लागि स्मरण शक्ति बढ्ने, गानुगोला हराउने, छाला सम्वन्धि समस्या हराउने जनविश्वास समेत् रहेको छ ।
      - यस क्षेत्रमा अवलोकनका लागि तामाङ संस्कृतिको भेषभूषा नाँचगान, हिमाली कुनाको गाउँ बस्ती
      - १४ दशमलव आठ मेगावाट क्षमताको अपर साङ्जेन जलविद्युत् केन्द्र , रामरामको भीर , तिलुचे बगर, मिश्रित वनस्पति, दर्जनौं प्रजातिका जनावर आदि यस क्षेत्रका आकर्षणहरू हुन् ।

      कसरी पुग्ने ग्रुबाकुण्ड ?

      - काठमाडौंबाट त्रिशूली, धुञ्चे, स्याफ्रुबेँसी, गोल्जुङ, थाम्वुचेत, चिलिमे गाउँ हुँदै यहाँ पुग्न सकिन्छ ।
      - कुण्डको नजिकैसम्म सडक मार्ग रहेको छ । अशक्तहरू पनि जान सक्ने ।

      यो सामग्रीको बारेमा तपाईलाई कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला ।

      सन्दर्भ स्रोत : ज्ञानु दाईको फेसबुकबाट

      रमणीय : लार्च्याङटार

      पछिल्लो समय सडक पहुँच विस्तार भएसँगै यहाँ विभिन्न कार्यक्रम गर्न र वनभोज (पिकनिक) लागि मानिसहरूको आवागमन हुन थालेको छ ।

        लार्‍च्याङटारको परिचय

        रसुवा जिल्ला नौकुण्ड गाउँपालिका, वडा नं ३ अवस्थित लार्‍च्याङटार रमणीय र पर्यटकीय गन्तव्य हो । नौकुण्ड गाउँपालिकाको कार्यालय पार्‍च्याङभन्दा माथिको थुम्को नै लार्‍च्याङटार हो ।

        पछिल्लो समय सडक पहुँच विस्तार भएसँगै यहाँ विभिन्न कार्यक्रम गर्न र वनभोज (पिकनिक) लागि मानिसहरूको आवागमन हुन थालेको छ ।

        यहाँबाट नौकुण्ड गाउँपालिकाका क्षेत्रहरू स्याङ्ग्युल, थाङ्दोर, लाङ्बु, आरूखर्क, घोर्मु, बेताङ, सर्स्यु, लामाचेत, सिस्नेरी, कप्थलीटार, भोर्ले, दनुस्वारा, सरमथली, पाटीखर्क, चिलाउने गाउँ, मन्दुचेतलगायत नुवाकोट जिल्लाको लिखु, तादी गाउँपालिकाका वस्तीहरू, रानीपौवा, ककनी, शिवपूरीसम्मका मनोरम दृश्यहरू देखिन्छ ।

        लार्‍च्याङटार क्षेत्रका मुख्य आकर्षणहरू

        - रमणीय दृश्य

        - सूर्योदय र सूर्यास्तको दृश्य

        - पिकनिक स्पोट

        - अध्ययन, अवलोकनको थलो

        - चरा अवलोकन

        - तामाङ संस्कृति र भेषभूषा

        - आवास तथा रेष्टुरेन्टको सुविधा

        कसरी पुग्ने लार्‍च्याङटार ?

        नौकुण्ड गाउँपालिकाको कार्यालयभन्दा माथि रहेको यसस्थलमा पुग्नको लागि निम्नानुसारको मार्ग प्रयोग गर्न सकिनेछ ।

        १) रसुवा-नुवाकोटको सिमाना बेत्रावतीभन्दा माथि जिरोबाट भोर्ले-नौकुण्ड सडकखण्डबाट

        २) पासाङल्हामु राजमार्ग कालिकास्थानबाट जिबजिबे-खाल्चेत – लामाचेत, कप्थलीटार- पार्‍च्याङ हुँदै वा खाल्चेत- सर्स्यु – दारघारी- पार्‍च्याङ हुँदै

        ३) नुवाकोटको बिदुरबाट नुवाकोट दरबार- चोकदे-लच्‍याङ- सरमथली – पाटीखर्क - पार्‍च्याङ हुँदै

        यसको अलावा नुवाकोटको दुप्चेश्वर – उर्लेनीबाट पनि यस स्थानमा आउन सकिन्छ ।

        तपाईलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला, तपाईबाट सुधारको आशासहित ।

        गोसाइँकुण्ड जाने तीर्थालुलाई यात्रा सहज बनाउन सूचना प्रवाह

         

        धुन्चे, भदौ ७ गते ।

        जनैपूर्णिमाका समयमा गोसाइँकुण्ड जाने तीर्थालुको यात्रा सहज बनाउन सूचना प्रवाह गर्न थालिएको छ ।


        नमस्ते गोसाइँकुण्ड होटलका सञ्चालक तथा होटल व्यवसायी संघका अध्यक्ष रामशरण गँजुरेल (निशान) ले तीर्थालुलाई यात्रा सहज होस् भनेर सूचना प्रवाह गरिएको बताए ।

         

        धुन्चेदेखि गोसाइँकुण्डसम्मको नक्सा तयार पारी त्यहाँ रहेका स्थान, मुख्यमुख्य आकर्षण, होटल, लजको संख्या, क्षमता तथा पुग्नका लागि कति समय लाग्छ भनेर प्रत्येक दिन तीर्थालुहरूलाई जानकारी प्रदान गरिएको गँजुरेलले बताए ।


        जानकारी दिने क्रममा तीर्थालुलाई हुन सक्ने समस्या, जाँदा के के लानुपर्छ भन्ने जानकारी समेत् दिइएको छ ।


        Wednesday, August 23, 2023

        ऐतिहाँसिक पौवाघरको नाम निसाना मेटिँदै

         यो पौवाघर संरक्षणको लागि राज्यका कुनै पनि निकायको ध्यान गएको देखिँदैन । यहाँ लहरै डाँडामा तीनवटा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने जाने तीर्थालुलाई सातु सामलको प्रवन्ध गरिएसँगै यहाँको वस्तीको नामाकरण समेत् लहरै पौवा वा अपभ्रंश भई लहरेपौवा भएको हो ।
        गौरीदेवीले निर्माण गरेको पौवाघरको पुरानो तस्वीर

          पौवाघरको परिचय

          रसुवा जिल्ला, उत्तरगया-५, माझगाउँमा अवस्थित ऐतिहाँसिक पौवाघरको नाम निसाना मेटिँदै छ । संरक्षणको अभावमा जीर्ण बन्दै गएको उक्त पौवाघर २०७२ को भूकम्पसँगै नाम निसाना मेटिन लागेको हो ।

          विभिन्न ऐतिहाँसिक तथ्य अनुसार यो पौवाघर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने समयदेखि नै निर्माण भएको हो । युद्द जित्ने कामनासहित यहाँ धैबुङमा रहेका सिद्द योगी अगस्तीबाट खड्गसिद्दि प्राप्त गरेवापत पृथ्वीनारायण शाहले अगस्तीलाई बेत्रावतीदेखि माथिको धैबुङ गाउँ सदावर्त गुठीको रूपमा बिर्ता दिएका थिए । उनै सिद्द योगीले आफ्नो धर्म चेली गौरादेवीलाई कुश बिर्ताको रूपमा दिएका थिए । बेत्रावतीमा राममन्दिर निर्माण गरी नियमित पूजाआजा चलाउने र बेत्रावतीदेखि ठीक माथि माझगाउँमा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा सत्कार वा सातु सामलको प्रवन्ध गर्ने शर्तमा गौरीदेवीले धैबुङ गाउँ गुठीको रूपमा प्राप्त गरेकी हुन् ।

          यो पौवाघर संरक्षणको लागि राज्यका कुनै पनि निकायको ध्यान गएको देखिँदैन । यहाँ लहरै डाँडामा तीनवटा पौवाघर निर्माण गरी गोसाइँकुण्ड आउने जाने तीर्थालुलाई सातु सामलको प्रवन्ध गरिएसँगै यहाँको वस्तीको नामाकरण समेत् लहरै पौवा वा अपभ्रंश भई लहरेपौवा भएको हो ।

          पौवाघर तथा वरपरका आकर्षणहरू

          - ऐतिहाँसिक स्थल

          - वरपर रहेका विभिन्न मठमन्दिर (राम, सीता, हनुमान आदि)

          - पवित्र नदी (बेत्रगंगा, रूद्रगंगा र त्रिशूली गंगा)
          - तीर्थ श्राद्द, तर्पणको लागि महत्वपूर्ण क्षेत्र
          - सांस्कृतिक विविधता

          कसरी पुग्ने पौवाघर ?

          - यो स्थान पासाङल्हामु राजमार्गको माझगाउँ सडकखण्डबाट केही तल, भीमसेन आवासीय प्राविको ठीक माथि अवस्थित छ ।

          - पासाङल्हामु राजमार्गबाट २ मिनेटको पैदलयात्रामा पौवाघरको भग्नावशेषमा पुग्न सकिन्छ ।

          तपाईलाई यो सामग्री कस्तो लाग्यो, कृपया कमेन्ट गर्नुहोला, तपाईबाट सुधारको आशासहित ।


          सन्दर्भ स्रोत : गोसाइँकुण्ड, प्रकृति संरक्षण र इतिहाँस, सुवास आचार्य (आगमन)

          Saturday, August 19, 2023

          प्रभावित वस्तीमा पहिरो पूर्व चेतना प्रणाली जडान

           

          उत्तरगया, रसुवा, भाद्र २ गते  । रसुवाको उत्तरगया-४ ढुंगेमा पहिरो पूर्व चेतना प्रणाली जडान गरिएको छ ।


          एकसयभन्दा बढी घरधुरीहरू पहिरोको उच्च जोखिममा रहेका कारण उक्त प्रणाली वा  सेन्सर र साइरन जडान गरिएको हो ।


          गाउँपालिकाभित्र सञ्चालित 'प्रतिबद्द परियोजना' अन्तर्गत उक्त कार्य सम्पन्न भएको बताइएको छ । परियोजनामा पिन, आत्मनिर्भर सेवा केेन्द्र, सेभ द चिल्ड्रेन र कन्सोर्टियमको साझेदारी रहेको छ । परियोजनालाई युरोपियन युनियनको आर्थिक सहयोग गरेको छ । 

           

          यो प्रविधि प्रयोगसँगै पहिरोको पूर्व सूचना जानकारी हुने हुनाले पहिरोको जोखिम न्यून गर्न सकिने बताइएको छ ।

           

          लामो समयदेखि प्रविधिको क्षेत्रमा कार्य गर्दै आइरहेको रामलक्ष्मण इनोभेसनले उक्त प्रणाली जडान गरेको उत्तरगया-४ का वडा सदस्य वासु न्यौपानेले बताए ।


          रामलक्ष्मण इनोभेसनका अनुसार हाल जडान भएको प्रणालीको खर्च ५ लाख हाराहारीमा रहेको छ । 



          Friday, August 18, 2023

          सुकिला हिउँका पगरीभित्र लुकेको लाङटाङ उपत्यका

          सुकिला हिउँका पगरी गुथेर युगौंदेखि पर्यटकको स्वागत तथा सत्कारमा जुटिरहेका लाङटाङ्गेली वा एक हुल भोट बर्मेली, चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थलको नामबाट वा धारिलो भीरको एक कन्दरामा फैलिएको सानो उपत्यका, कतै झुरुप्प त कतै अलग अलग बस्तीहरूको नामबाट आज नेपालको तेस्रो प्रमुख पर्यटकीय मार्गको रूपमा आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ लाङटाङ ।
          क्याञ्जेन भ्याली, रसुवा 

            लाङटाङ क्षेत्रको परिचय

            रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका-४ मा रहेको लाङटाङ उपत्यका स्वर्गको एक टुक्रा जस्तै हो । नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा परिचित लाङटाङ क्षेत्र यही उपत्यकाको नामले परिचित छ ।

            सुकिला हिउँका पगरी गुथेर युगौंदेखि पर्यटकको स्वागत तथा सत्कारमा जुटिरहेका लाङटाङ्गेली वा एक हुल भोट बर्मेली, चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थलको नामबाट वा धारिलो भीरको एक कन्दरामा फैलिएको सानो उपत्यका, कतै झुरुप्प त कतै अलग अलग बस्तीहरूको नामबाट आज नेपालको तेस्रो प्रमुख पर्यटकीय मार्गको रूपमा आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ लाङटाङ ।

            तिनै लाङटाङ्गेलीका अतिथि सत्कारका दृश्य तथा मृत्युपर्यन्त सम्झनाका लागि बनाईएका क्षुर्तेन हेर्दै गगन चुमुला झैं गरी हज्जारौं पर्यटकलाई सुपारी बाँडिरहेको लाङटाङ हिमश्रृङ्खला ।

            लाङटाङ वा लामटाङ मानव वस्ती बस्नु पूर्व अवस्थामा 'लाङडाङ' नामले परिचित थियो । 'लाङ' को अर्थ तिब्बतीयन भाषामा 'गोरू' र 'डाङ' को अर्थ 'अघाएको' भन्ने हुन्छ ।

            सुनिए अनुसार उहिले तिब्बततिरबार यहाँ एउटा गोरू भागेर आएको रहेछ । गोरूलाई खोज्दै एउटा गोठालो पनि पछिपछि आयो । खाम्जिङ कटेर नेसा: गाङ अर्थात् चौतारो पछाडि आईपुगेछि मात्र गोठालाले भेट्छ र गोरू बाँधेर राखेर आफू उत्तानो परेर पल्टिन्छ ।

            गोठालो भुसुक्कै निदायो, ब्यूझेर हेर्दा गोरू त्यहाँ थिएन । गोरू बाँधिएको भनेको ढुंगाको प्वाल अहिलेसम्म पनि त्यहाँ छ । गोरू बाँधिएको ठाउँ हुनाले त्यसलाई लाङतासा (गोरू बाँधिएको) भनियो । गोरू खोज्दै गोठालो फेरि अघि बढ्यो, उसले गोरूलाई पूर्व (स्यार) तर्फ फर्केर सुतेको पायो । जसको कारण ठाउँको नाम पनि 'स्यार्पोको' रहन गयो भनिएको छ । त्यसैको अपभ्रम्शित रूप नै शेर्पागाउँ हो ।

            गोरू फेरि अगाडि बढ्यो, चाङडाम (हाल- लामाहोटल) पुग्यो, चाङडामको अर्थ खोलाको किनार हुन्छ । त्यहाँबाट गोरू क्युर्पुनेसामा पुग्यो । क्युर्पु (अमिलो) डालेचुकको जंगल धेरै भएको र त्यसलाई गोरूले खाएको हुनाले 'क्युर्पुनेसा' भनिएको हो, जसलाई हामी आजभोलि घोडातबेला भन्छौं ।

            गोरू समात्न नसक्दा गोरू अझै अगाडि बढ्यो, गोठालाले खोज्दै जाँदा घाँसपात, करू खाएर टन्न गोरू अघाएको भेट्यो । जहाँ गोरू अघाएको भेट्यो, त्यही ठाउँको नाम हो 'लाङडाङ । जसको अर्थ माथि नै उल्लेख गरिसकिएको छ ।

            अझै गोरू अगाडि बढ्दै जाँदा निकै पर पुगेपछि गोरूको यात्रा रोकियो, उसले भोटतिर फर्केर अर्को जन्म पनि भोटमा नै लिन पाउँ भनी प्रार्थना गर्दै देह त्याग गर्‍यो । गोरू मरेको हुनाले त्यस स्थानको नामाकरण लाङ (गोरू) सिसा (मरेको ठाउँ) – लाङसिसा रहन गयो ।

            लाङटाङ क्षेत्रका मुख्यमुख्य वस्तीहरूमा शेर्पागाउँ, रिमिचे, लामाहोटल, रिभरसाइड, घोडातबेला, थाङ्स्याप, गोम्बा, लाङटाङ, सिम्बु, क्याञ्जिन गोम्‍बा पर्दछन्।

            पहिलो हिमाली निकुञ्जको नामले मात्र हैन सायद नेपालमै पहिलो पटक याक चिज उत्पादन गर्ने ठाउँको नामले पनि परिचित छ लाङटाङ । पछिल्लो समयमा माउन्टेनियरिङ स्कूल निर्माण हुने कुराले पनि लाङटाङले झन् चर्चा पाउँदैछ । छिमेकी मुलुक चीनसँग कठालोमा बाँधिएको मुलुकको तेस्रो गन्तव्यले सांस्कृतिक, ऐतिहाँसिक, धार्मिक, पर्यटकीय तथा पर्यावरणीय यी सबै विधालाई उत्तिकै महत्व राख्दछ । यही क्षेत्रको गोसाइँकुण्डमा हुने धार्मिक मेला, क्याञ्जिन उपत्यकामा नाँचिने डुक्पा छेच्यु र यसका आपपासमा मनाईने विभिन्न सांस्कृतिक पर्व, कला संस्कृति तथा परम्पराले पर्यटकीय सम्बन्ध अझ गाढा र नजिक बनाउँदछ । विश्वमा नै दुर्लभ मानिएका रातो हाब्रे, हिमचितुवालगायतका जंगली जनावर, लालीगुँरास, लाङटाङे सल्लो तथा विविध प्रजातिका दुर्लभ वनस्पति अनि हिमश्रृङ्खला, नदीहरू यहाँका आकर्षणका केन्द्रविन्दु हुन् । यी सबैको उचित संरक्षण तथा व्यवस्थापन हुन सके युगौंसम्म धरतीभरिका आगन्तुकलाई डाकिरहनेछ यस लाङडाङले ।

            लाङटाङ क्षेत्रको आकर्षण

            o  प्रलयका उथुलपुथुलले ठडिएका गगनचुम्बी हिमश्रृङ्खला, ग्ल्यासियर,

            o  चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थल

            o  कतै झुरूप्प त कतै अलि बाक्लो वस्ती,

            o  पदमार्गका वरिपरि रहेका माने, छुर्तेन, गोम्बा, लाङटाङ राष्ट्रिय निकुञ्जको मनोरम छटा, लालीगुँरास, मार्गको नजिकै रहेको नदीको सुस्याहट, चराचुरूङ्गीको गायन, हिमचितुवा, घोरल, थारल, बँदेल, भालु, लङ्गुर बाँदर यहाँका मुख्य आकर्षण हुन् ।

            o  लाङटाङ री, क्याञ्जिन री, यालापिक, लाङसिसाजस्ता पिक र खर्कहरू ।

            o  चौंरी र भेडापालनको मुख्य क्षेत्र

            o  नेपालकै पहिलो याक चिज फ्याक्ट्री

            o  तिब्बतीयन / शेर्पा संस्कृति, भेषभूषा र रहनसहन पनि यहाँको आकर्षण हो ।

            o  होटल, लज तथा रेष्टुरेन्टको व्यवस्था 


            लाङटाङ क्षेत्रमा कसरी पुग्ने ?


            • रसुवा जिल्लाको पासाङल्हामु राजमार्गको स्याफ्रुबेंसीबाट खाम्जिङ- शेर्पागाउँ-रिमिचे - लामाहोटल  हुँदै
            • स्याफ्रुबेंसीबाट पहिरो - बम्बु- रिमिचे- लामाहोटल हुँदै
            • धुन्चेबाट भार्खु - नाउरडाँडा - ब्राबल - ठूलोस्याफ्रु - पहोरो - बम्बु हुँदै
            • मेलाम्ची वा हेलम्बुबाट ठाडेपाटी- फेदि- सूर्यकुण्ड- गोसाइँकुण्ड - ठूलोस्याफ्रु हुँदै
            • काठमाण्डौं सुन्दरीजल/शिबपूरी - चिसापानी- पाटीभञ्ज्याङ - कुटुमसाङ- ठाडेपाटी - घोप्चे- फेदि- गोसाइँकुण्ड हुँदै 
            • नुवाकोटको दुप्चेश्वर- सागरकुण्ड- नौकुण्ड- गोसाइँकुण्ड हुँदै