ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, September 21, 2026

बेत्रावतीमा अस्थायी फट्के निर्माणः पैदल यात्रुलाई आवतजावतमा राहत

 


रसुवा, लेन्दे खोलाहुँदै भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीले क्षति पुर्‍याएको फलाखु खोलामा अस्थायी फट्के (काठको पुल) पुन निर्माण गरिएको छ । यसअघिको काठको पुल बगाएपछि स्थानीयले पुनः काठको पुल बनाएका हुन् ।

रसुवा र नुवाकोटको सिमाना भएर बग्ने उक्त खोलामा काठको पुल निर्माण भएसँगै पैदल यात्रुहरूका लागि आवतजावत सहज भएको छ । धेरै यात्री एकै पटक हिड्न जाेखिम हुन सक्ने भएकाेले पालाे गरेर वारपार गरिरहेका छन् । 

बाढीले पक्की पुल र सडक खण्डमा गम्भीर क्षति पुर्‍याएपछि रसुवाको उत्तरगया गाउँपालिका र नुवाकोटको विदुर नगरपालिका जोड्ने मुख्य पासाङल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो। सडक सञ्जाल विच्छेद हुँदा स्थानीयवासीले ठूलो सास्ती व्यहोर्दै आएका थिए।

सर्वसाधारणको दैनिकी र आउजाउलाई सहज बनाउन सुरक्षा निकाय र स्थानीयवासीको संयुक्त श्रमदानमार्फत उक्त अस्थायी काठे पुल तयार पारिएको हो। 

बेत्रावतीमा फट्के बनेसँगै दुई जिल्ला जोड्ने पैदल मार्ग पुनः सञ्चालनमा आएको छ, जसले स्थानीयवासीलाई ठूलो राहत मिलेको स्थानीय दिलकृष्ण श्रेष्ठले बताए । 


तस्वीर स्राेत : रवि श्रेष्ठबाट








गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा २५ विद्यार्थी र ६ शिक्षकरशिक्षिका बेपत्ता

 


रसुवा, लेन्देखोला हुँदै भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पूर्णरूपमा ध्वस्त भएको छ। बाढीमा परी उक्त विद्यालयका २५ विद्यार्थी र ६ जना शिक्षक तथा शिक्षिका बेपत्ता भएका छन्।

विद्यालयमा ३५ विद्यार्थी अध्ययनरत थिए। बाढीपछि १० विद्यार्थी मात्र सम्पर्कमा आएका छन्। बेपत्ता विद्यार्थीमध्ये सबैभन्दा धेरै शिशु कक्षाका १० जना रहेका छन्। ज्यान जोगाएका विद्यार्थीहरू आफ्ना अभिभावकसँगै काठमाडौंस्थित होल्डिङ सेन्टरमा बस्दै आएका छन्।

विद्यालयका प्रधानाध्यापक फुर्पु दोर्जे घलेका अनुसार बाढीले विद्यालयको भवनसहित टिमुरे गाउँ र बजार क्षेत्र नै तहसनहस बनाएको छ। चीन सरकारको सहयोगमा निर्माण गरिएको २८ कोठे सुविधासम्पन्न नयाँ विद्यालय भवनसमेत बाढीले पूर्णरूपमा क्षतिग्रस्त भएपछि विद्यालय सञ्चालन गर्न कठिन भएको छ।

बाढीमा विद्यालयका शिक्षक रामचन्द्र बिक, सन्तोष श्रेष्ठ र हिमानसिं तामाङ तथा शिक्षिका कविता न्यौपाने, कान्छी घले र सोनाम बुरी तामाङ बेपत्ता भएका छन्। “धेरै आफन्त गुमेका छन्। बाँचेकाहरू एक–दुई सेकेन्डले जोगिएका छन्,” प्रधानाध्यापक घलेले भन्नुहुन्छ, “मानिसहरू आफ्नो ठाउँमा फर्कन चाहन्छन्, तर त्यसका लागि सरकारले सुरक्षित वातावरण बनाउनुपर्छ।”

टिमुरेमा विद्यालय मात्र होइन, वडा कार्यालयलगायतका सार्वजनिक तथा निजी संरचनासमेत बाढीले बगाएको छ। सडक र पुलमा क्षति पुगेपछि आवतजावतसमेत प्रभावित भएको छ। २०७८ सालको जनगणनाअनुसार टिमुरेमा १ सय ६३ घरधुरीमा ५ सय ५० जनसंख्या थियो।

प्रधानाध्यापक घलेका अनुसार टिमुरे गाउँका ७७ महिला र ६८ पुरुष गरी १ सय ४५ जना तथा विभिन्न समयमा बसाइँसराइ गरी आएका थप ५८ जनासहित २ सय ३ जना बेपत्ता छन्। यसमा अन्य कामदार तथा बाहिरबाट आएका यात्रुहरूको विवरण समावेश छैन।

जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख दुर्गा सिलवालका अनुसार बाढीबाट प्रभावित जिल्लाका अन्य विद्यालयमा पठनपाठन सुरु भए पनि नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेमा तत्काल पठनपाठन सञ्चालन गर्न सकिने अवस्था छैन। विद्यालयको भवन, कक्षाकोठा र अन्य संरचना पूर्णरूपमा क्षतिग्रस्त भएकाले विद्यार्थीलाई सुरक्षित वातावरणमा पठनपाठन गराउन चुनौती भएको छ।

प्रारम्भिक तथ्यांकअनुसार जिल्लाभर २ सय ८५ विद्यार्थी बेपत्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयका १ सय ५० विद्यार्थी रहेको बताइएको छ। बाढीका कारण जिल्लाका विभिन्न स्थानमा शिक्षक, सरकारी कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयसमेत बेपत्ता भएका छन्।



बाढीले पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड ४५ लाख क्षति



भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको प्रारम्भिक आर्थिक क्षति भएको प्रतिवेदन पेश गरिएको छ । 

क्षतिग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थान तथा भविष्यमा हुने विपद्का लागि पूर्वतयारीलाई व्यवस्थित बनाउन पुनर्रुत्थानको मस्यौदा तयार गर्ने जिम्मेवारीसमेत सम्बन्धित समितिलाई दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित पर्यटन क्षेत्रमा परेको प्रभाव तथा पुनरुत्थानसम्बन्धी प्रतिवेदन प्रस्तुति तथा छलफल कार्यक्रममा नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली ९क्यूआरटी० का संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमलाले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गनेस’को उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द निरौला, सहसचिव तथा शाखा प्रमुखहरू, नेपाल पर्यटन बोर्डका प्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रतिवेदनअनुसार बाढी तथा पहिरोबाट विशेषगरी रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ ।

क्षेत्रगत रूपमा सबैभन्दा बढी क्षति होटल व्यवसायमा भएको प्रारम्भिक आकलन गरिएको छ । होटल क्षेत्रमा रु १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार, वैदेशिक पर्यटन आम्दानीमा रु १४ अर्ब ६० करोड २४ लाख ६४ हजार तथा मानवबल एवं पर्यटक व्यवस्थापनमा रु १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५०० बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, सम्पदा तथा पर्यटन पूर्वाधारतर्फ रु १ अर्ब ६६ करोड ४० लाख, सवारीसाधनतर्फ रु १ अर्ब ५१ करोड ४० लाख ८० हजार, रेस्टुरेन्टतर्फ रु १ अर्ब ३८ करोड ५० लाख २० हजार र लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ रु १ अर्ब २७ करोड ६४ लाख ४० हजार बराबरको क्षति भएको आकलन गरिएको छ ।

आन्तरिक पर्यटन राजस्वमा रु १९ करोड ८७ लाख, राफ्टिङ तथा क्याम्पिङ साइटमा रु १५ करोड ५० लाख र ट्रेकिङ ट्रेलमा रु ५ करोड बराबरको प्रारम्भिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

बाढी तथा पहिरोमा १ हजार ११७ जना नेपाली तथा विदेशी नागरिक प्रभावित तथा सम्पर्कविहीन भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ३१० जनाको सकुशल उद्धार गरिएको छ भने १३ जना सम्पर्कमा आएका छन् । हालसम्म ७९४ जना सम्पर्कविहीन रहेकोमा ६०६ जना विदेशी र १८८ जना नेपाली रहेको जनाइएको छ । उद्धार गरिएकामध्ये २५८ पुरुष र ५२ महिला छन् ।

घटना भएको करिब एक घण्टाभित्रै पर्यटक प्रहरी, ट्राभल तथा ट्रेकिङ कम्पनी र कैलाश–मानसरोवर टुर अपरेटरहरूसँग समन्वय गरी खोज तथा उद्धार कार्य सुरु गरिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी गराएका हुन् । 

प्रतिवेदनमा विपद्पछिको पर्यटन पुनरुत्थानलाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा मात्र सीमित नगरी भविष्यमा देखिन सक्ने जलवायुजन्य जोखिमलाई समेत ध्यानमा राखेर सुरक्षित तथा दिगो पर्यटन प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

 बोर्डका वरिष्ठ निर्देशक ऐरले रसुवा क्षेत्रलाई दीर्घकालीन रूपमा ‘क्लाइमेट हेरिटेज’ का रूपमा विकास गर्ने अवधारणा अघि सारिएको जानकारी दिए । उनले संकटका समयमा प्रभावकारी समन्वय र शीघ्र प्रतिकार्यका लागि बोर्डमा २४ सै घण्टा सञ्चालन हुने क्राइसिस सेल तथा क्यूआरटीलाई निरन्तरता दिनुपर्ने र त्यसका लागि वार्षिक रु १ देखि ५ करोडसम्म बजेट व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य तथा निजी क्षेत्रका प्रतिनिधि सहदेव धमलाले बाढी(पहिरोबाट पर्यटन व्यवसाय, होटल तथा पदमार्गमा ठूलो क्षति पुगेको उल्लेख गर्दै प्रभावित व्यवसायीका लागि तत्काल राहत, कर छुट तथा सहुलियतपूर्ण पुनरुत्थान प्याकेज आवश्यक रहेको बताए ।

उनले वैकल्पिक पदमार्ग तथा यातायात पहुँच शीघ्र सञ्चालनमा ल्याउनुका साथै अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल सुरक्षित र पर्यटकका लागि खुला रहेको सन्देश प्रभावकारी रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिए । छलफलका क्रममा भोटेकोशी बाढीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि आवश्यक कार्ययोजना अघि बढाउने विषयमा छलफल भएको थियो ।

साथै, आगामी विपद्का समयमा प्रभावकारी समन्वय, शीघ्र प्रतिकार्य तथा पर्यटन क्षेत्रको पुनरुत्थान प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुनर्रुत्थानको योजना मस्यौदा तयार गर्ने थप जिम्मेवारी सम्बन्धित समितिलाई मन्त्री पौडेलले दिएका छन् । मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको शीघ्र उद्धार तथा क्षतिग्रस्त पर्यटन पूर्वाधारको पुनर्निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको बताए । 

उनले नेपाल पर्यटन बोर्ड तथा निजी क्षेत्रसँगको सहकार्यमा तयार हुने संयुक्त कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आगामी पर्यटकीय सिजनअघि प्रमुख गन्तव्यमा सुरक्षा, सञ्चार तथा यातायात पहुँच पुनःस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रारम्भिक प्रतिवेदनले पर्यटन क्षेत्रमा प्रमाणमा आधारित तथा एकीकृत सूचना प्रवाह, जलवायु–अनुकूल पर्यटन पूर्वाधार, पूर्वसूचना प्रणाली, पर्यटक प्रहरीको विस्तार तथा पर्यटन बीमा प्रणालीको संस्थागत विकास गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

त्यसैगरी, प्रभावित क्षेत्रको पर्यटन पुनरुत्थानसँगै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई निरन्तरता दिन भारतका दुई शहरमा प्रेस ब्रिफिङ तथा ‘नेपाल नाइट’ कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारिएको छ ।

नेपाल पर्यटन बोर्डले सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा निजी क्षेत्रसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै पर्यटक सुरक्षा, विश्वसनीय सूचना प्रवाह र पर्यटन क्षेत्रको दिगो पुनरुत्थानलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

बाढीका कारण समाजसेवी दावाफिन्जाेकाे जीवनमा ठूलाे बज्रपात

 


रसुवा, लेन्देखाेलाहुँदै भाेटेकाेसी नदिमा भादाै १० गते चीनतर्फबाट आएको विनाशकारी बाढीले जिल्लाका धेरै जना बेपत्ता छन् । गोसाईकुण्ड गाउँपालिका-५ विकासप्रेमी ९१ वर्षिय दावा फिन्जाे तामाङकाे परिवारमा पनि ठूलाे बज्रपात भयाे । 

१९९४ साल असार १५ गते गोसाईकुण्ड गाउँपालिका-५ सानाे भार्खुमा बाबु डिनडुव वाङदी तामाङ (ब्लोन) तथा आमा निम ल्हेनजेन थोकरकाे काखबाट जन्मिनु भएका उनी पेशाले कृषि, सामाजिक सेवामा छन् । सानो भार्खु गाउँमा बस्ने तामाङका छोरा फुर्पासाङको होटल थियो । 

स्याफ्रुवेसी बजारमा रहेकाे राम्राे हाेटल थियाे बुद्ध गेष्ट होटल । पुर्खौली सम्पत्ति र चार पुस्ताको मेहनतबाट समृद्ध हुँदै गएको होटल व्यवसाय नाती टिन्डु छिरिङले सम्हालेका थिए । 

स्याफ्रुवेसी बजारदेखि माथि (उत्तर तर्फ) भिरालो भार्खु गाउँस्थित पुर्खौली घरबाट करोडौं मूल्यको होटल व्यवसायसम्मको प्रगतिबाट खुशी  हुनु भएका दावाफिन्जो परिवारको खुशी भदौ १० गतेबाट सकियाे । 

होटल मात्र होइन, छोरा फुर्पासाङ, बुहारी छेटिन, नाति टिन्टु छिरिङ, नातिनी बुहारी याङ्जी, पनाति कल्साङ र एक जना काम गर्ने मान्छे समेत बाढीले बेपत्ता भए । 

सरकारी अभिलेख अनुसार बाढीबाट हालसम्म १२५९ जनाको मृत्यु भएको तथ्याँक छ । अझै ५०५३ जना सम्पर्कविहिन छन् । 

उनीहरु एक हप्ता भार्खु बस्ने गरी त्यहाँ पुगेका थिए । त्यही कारण  दावा दम्पत्ति बच्न सफल भए । तर सय वर्ष नजिकको उमेरमा आफूहरू बाँचेर आफ्नै तीन पुस्ता गुमाउनुको पीडा उहाँ व्यक्त नै गर्न सक्नु हुन्न ।

समाजसेवी दावाफिन्जो तामाङको ‘भेडिगोठ देखि राष्टिय पञ्चायतसम्म’ नामको जीवनीमूलक पुस्तक प्रकासित छ । पुस्तकमा उहाँले जीवनमा गरेका परम्परागत संघर्षदेखि समस्याहरूको फिहरिस्त प्रस्तुत गरेका छन् ।  तर पुस्तकमा यस्तो संकटको कतै बर्णन छैन । 

बुढेसकालमा पाँच जनाकाे साेकमा परेका तामाङप्रति समवेदना मृतक प्रति हार्दिक भावपूर्ण श्रदाञ्जली । 






माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाबाट हालसम्म ३७ शव निकालियो

 

रसुवा । लेन्देखोलाहुँदै भोटेकोशी बाढीबाट क्षतिग्रस्त २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको क्षेत्रबाट १३ शव निकालिएको छ ।

आयोजनाका अनुसार असोज ४ गते नेपाली सेना समेतको विज्ञ र कम्पनीको संयुक्त उद्धार टोलीले अडिट–३ बाट अपस्ट्रीम हेडरेस टनेलभित्र खोजी गर्ने क्रममा कन्क्रिटिङका लागि तयार पारिएको रिबारको जालमा अल्झिएका तथा हिलोमा ढल्किएको अवस्थामा थप १३ शव फेला पारी बाहिर निकालेको हो ।

थप १३ शव बाहिर निकालिएसँगै अडिट–३ क्षेत्रबाट हालसम्म निकालिएका शवको संख्या ३७ पुगेको कम्पनीले जनाएको छ । 

अडिट–३ क्षेत्रबाट निकालिएका शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्बा स्वास्थ्य परिसरमा लगिएको छ। जिल्ला प्रहरी कार्यालयले मृतकका परिवार तथा आफन्तलाई शवको सनाखत प्रक्रियामा सहयोग गर्न आग्रह गरेको कम्पनीले जनाएको छ । 

आयोजनाका अनुसार ग्राउन्ड सर्चका लागि सर्च डगको टोली परिचालन गरी उद्धार तथा खोजी कार्य जारी छ । यस्तै, कम्पनीको दुईतर्फी टनेलमा मिनी एक्साभेटर प्रयोग गरेर पनि खोजी तथा उद्धार कार्य भइरहेको छ । 


Sunday, September 20, 2026

हराएकी बालिका खोजी दिन आग्रह

 


रसुवा, कालिका गाउँपालिका–३, धारापानी निवासी इन्द्रजित तामाङ र सिर्जना तामाङकी ६ वर्षीया छोरी जेसिका तामाङ बेपत्ता भएकी छिन् । 

भदाै १० गतेकाे उत्तरगया पब्लिक बोर्डिङ इङलिस स्कुल आग्लीटारमा अध्ययनरत बालिका बाढी आउँदै गर्दा सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले उनलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएका थिए । 

“जिवित उद्धार भएको खबरले उत्साह थपेको थियो भेट्ने आशा अझै मरेको छैन । ” बालिकाकी आमा सिर्जनाले बताइन् ।  उनले भनीन् भेटेर उद्धार भएकाे भन्ने खबर पाएकाे अहिलेसम्म हाम्राे सम्पर्कमा छैन । 

त्यसपछि अन्य बालबालिकाको उद्धार गर्न गएको र फर्केर आउँदा आफूले छोडेको स्थानमा जेसिकालाई नदेखेको कुरा ती विद्यार्थीले अभिभावकलाई पटक–पटक बताउँदै आएका छन् ।

तर अहिलेसम्म कुनै पत्तोपत्तो छैन । बालिकाकी आमा सिर्जनाले भनीन् “आशा छ नानी फर्किने हामी प्रतीक्षामा छौं ।”कहीं कतै कसैले जेसिकालाई देख्नुभएको छ कि ? कसैले उद्धार गरेर सुरक्षित स्थानमा राख्नुभएको छ कि ?

जेसिकाको फोटो हेरेर कुनै पनि स्थानमा देख्नुभएमा वा कुनै जानकारी प्राप्त भएमा वाशंका लागेमा सो को सूचना तुरुन्त नजिकको प्रहरीचौकी वा उनका अभिभावकलाई खबर गरिदिनुहोस् परिवारले अनुरोध गरेका छन् । 


बालिकाको तस्वीर सहित छ 


एउटै आयोजनाका ५७६ जना सम्पर्कविहीन



रसुवा, भोटेकोशी बाढीका कारण रसुवाका सात जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्याका कामदार सम्पर्कविहीन भएका छन्। तीमध्ये माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका मात्रै ५ सय ७६ जना कामदार सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।

त्यस्तै, रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना कामदार सम्पर्कविहीन छन्। रसुवा भोटेकोशीका चार, लाङटाङ खोलाका ४२, चिलिमेका आठ र मेलुङ खोलाका सात कामदार सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ। माथिल्लो मेलुङमा कार्यरत कति कर्मचारी सम्पर्कविहीन छन् भन्ने यकिन हुन सकेको छैन।


नुवाकोटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाका १ सय ५८ जना कामदार पनि सम्पर्कविहीन छन्। त्यस्तै, माथिल्लो त्रिशूली–३ का ४२ जना, त्रिशूली जलविद्युत् आयोजनाका एक जना र देवीघाट जलविद्युत् आयोजनाका एक जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ। मिडिल त्रिशूली गंगाका दुई जना कामदार पनि सम्पर्कविहीन छन्। 

जिल्लामा रहेकाे ठूलाे तथा निर्माणाधीन माथिल्लाे त्रिशूली १ जलविद्युत आयोजनामा धेरै क्षती भएकाे छ । याे आयोजनाले ८५  काम सकेकाे थियाे । 

भागेर बाँच्न सफल भएका नाैकुण्ड गाउँपालिका ५ का अर्जुन न्याैपाने भालिपल्टदेखि नै माथिल्लाे त्रिशूली १ जलविद्युतका कामदार तथा हराएका साथीहरू खाेजी कार्यमा लागेकाे छन् । खाेज उद्धारका लागि लागेका छाैं कति सफल हुन्छाैं । उनले भने धेरै साथीहरू बेपत्त छन् । 


विद्यालयमा त्रास बिर्साउन बाढी प्रभावित विद्यालय खुल्यो

 


रसुवा, भदौ १० गते लेन्देखोला हुँदै भोटेकोसीमा आएको बाढीका कारण क्षतिग्रस्त विद्यालयहरूको अध्ययन सुरु भएको छ । जिल्लाभरका ४ विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त छन् । 

विनाशकरी बाढीमा परेर उत्तरगया गाउँपालिका–२ स्थित चिप्लेटी आधारभूत विद्यालयमा १ जना विद्यार्थी बेपत्ता छन् । उत्तरगया गाउँपालिका–४ मा रहेको मालिकादेवी आधारभूत विद्यालयमा ११ जना विद्यार्थी बेपत्ता छ् । उत्तरगया गाउँपालिका –५ मा रहेको मोर्डन ट्रिनिटी इङलिस स्कुल ८ जना विद्यार्थी बेपत्ता छन् । 

धेरै विद्यार्थीहरू बचेका अभिभावकहरूसँग अन्यत्र गएका छन् । नजिकै रहेका वा होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरू विद्यालय पढ्न आउन थालेका छन् । उनीहरूलाइ खेल्ने, आवश्यकताको आधारमा प्रभावित विद्यार्थीलाइ मनोसामाजिक परामर्श दिने र नियमित अध्ययनमा फर्काउने प्रयास भइरहेको छ । 

उत्तरगया गाउँपालिकाले सूचना प्रकाशन गरेर विद्यालय खुल्ला गरेको छ । मोर्डन ट्रिनिटी स्कुल बगेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरू नीलकण्ठ, शिवालय लगायतनजिकका विद्यालयमा पढ्न थालेका छन् । 

गोसाइकुण्ड गाउँपालिका–२ मा नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा २५ जना विद्यार्थीहरू बेपत्ता छन् । जिल्लाभरका २८५ जना विद्यार्थी बेपत्ता भएका छन् । सबैभन्दा धेरै विद्यार्थी बेपत्ता छन् । 

उत्तरगया गाउँपालिका -५ स्थित नीलकण्ठ माविमा अध्ययनरत ५०८ जना विद्यार्थी मध्ये भदौ १० गतेको बाढीमा परेर झण्डै १५० जना विद्यार्थी बेपत्ता भएका छन् । नीलकण्ठ माविका प्रधानाध्यापक माधव लामिछाने भन्छन् “हाम्रो विद्यालयमा अध्ययनरत विद्यार्थीहरू विद्यालय बसको प्रतिक्षमा थिए । बसले एक पटक विद्यार्थी लिएर अर्को ठाउँमा विद्यार्थी लिन गएको समयमा त्यही समयमा कैदलेटार, खाल्टे क्षेत्रका धेरै विद्यार्थी बाढीमा बेपत्ता भए ।”

गोसाइकुण्ड गाउँपालिका–२ मा धेरै संरचना ध्वस्त भएको छ । चीन सरकारले बनाएको २८ कोठे नयाँ सुविधा युक्त भवन पूर्ण रुपमा क्षती भएपछि त्यहाँ पठन पाठन गराउन कठिन भएको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालय बाहेक अरुमा पठन पाठन सुरु भएको जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख दुर्गा सिलवालले बताए । 

नेपाल राष्ट्रिय आवि टमुरेका प्रधानाध्यापक फुर्पु दोर्जे घलेले भने “धेरै आफन्त गुमे बचेकाहरू ५ सेकेन्डले बँचेका छन् । विद्यालयका ३५ जना विद्यार्थी मध्ये २५ जना विद्यार्थी, ३ शिक्षक र ३ शिक्षिकाहरू बाढीमा बेपत्ता भएका छन् । आफ्नो ठाउँमा मान्छे फर्कन चाहेको छ तर वातावरण सरकारले बनाउनुपर्छ ।” 

नीलकण्ठ माविमा रहेको राहत संकलन केन्द्र तथा प्रहरी आवास लगायतको भिडभाड व्यवस्थापन गरी विद्यालय सुचारु गरिएको छ । गत विहिबारबाट पठनपाठन सुरु भएको छ । विद्यालयमा होल्डिङ सेन्टर र राहत बितरण केन्द्र पनि विद्यालयमा रहेकोले समस्या भएको छ । बालबालिकाहरु साथी सबै जम्मा नहुदाको समस्या छ । सुरुमा १ सय २० जना थिए अहिले २ सय ४० जना विद्यार्थी विद्यालयमा आएका छन् प्रधानाध्यापक लामिछानेले बताए । 

उत्तरगया गाउँपालिका शिक्षा शाखा प्रमुख बोदराज पाठक भन्छन् “हाम्रो पालिकाबाट ५ कर्मचारी र शिक्षकहरू रमेश लामिछाने, मीननाथ न्यौपाने, संजिव तामाङ, नारायणवहादुर थापा, अजयकुमार यादव, विद्यालय नर्स ममता श्रेष्ठ, वालविकास शिक्षक मनमाया तामाङ र सुकवहादुर तामाङ अझै बेपत्ता छन् ।”

बाढीका कारण कर्मचारीहरु, जनप्रतिनिधि बेपत्ता छन् । विदेशी नागरिक २९०, रसुवाका २६७४, जिल्ला बाहिरका २८३४, कर्मचारी, सुरक्षाकर्मी गरी ३७९८ जना बेपत्ता रहेका छन् । हालसम्म १४६१ जनाको उद्धार भएको छ । जिल्लामा रहेका ९ वटा होल्डिङ सेन्टरमा २०० जना रहेका छन् । पक्कीपुल ६, झोलुङ्गे पुल १०, आर्च पुल १, बेली÷ट्रस ब्रिज ८ वटा पुर्ण रुपमा क्षती भएको छ । 


Saturday, September 19, 2026

समिर सुरुङभित्रै बेपत्ता भए बाबुकाे पीडा उनकै शब्दमा


रसुवा, भाेटेकाेसीकाे बाढीपछि रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा हराइरहेका छोराको अवस्था सम्झेर पिता माधव लामिछानेले लेखे हृदयविदारक शब्दहरू पीडा : 

रसुवा,भदौ १० गते आएको विनाशकारी बाढीपछि रसुवागढी जलविद्युत आयोजनाको सुरुङभित्र फसेका आफ्ना जेठा छोरा समिर लामिछानेसहितका कामदारहरूको स्थिति अझै अज्ञात रहँदा उनका पिता माधव लामिछानेले गहिरो हृदयविदारक भावुक पीडा व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत लामिछानेले सुरुङभित्र अक्सिजनको अभावमा तड्पिएर हुनुपरेको मृत्युको कल्पना गर्दै हृदयविदारक भावुक पीडा व्यक्त गरेका हुन् । हालै चिलिमे सुरूङमा भेटिएका शवहरूको अवस्था नबिग्रिएको सन्दर्भ जोड्दै उनले सुरुङभित्र रहेकाहरूको मृत्यु केही दिनअघि मात्र भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

बाबु ? तिमीहरू चाहिँ सुरुङमा नहुनु ल। सुरुङमा हुनेहरूको मृत्यु कति पीडादायी भयो होला ?  चिलिमेमा अहिलेसम्म शव नबिग्रिएको देख्दा मृत्यु भर्खरै एक/दुई दिनअघि मात्र भएको जस्तो लाग्छ, उनले भावुक हुँदै लेखेका छन्, अक्सिजनको अभावमा त्यसरी तड्पिएर मर्नुभन्दा त बाढीमा सिधै परेको भए बरु यति धेरै यातना हुँदैनथ्यो होला। आयोजनामा विगत ६ वर्षदेखि इलेक्ट्रिकल इन्जिनियरका रूपमा कार्यरत समिर सुरुङभित्रै बेपत्ता छन् ।


सरकार र सम्बन्धित निकायको सुस्त उद्धार कार्यप्रति कडा असन्तुष्टि जनाउँदै लामिछानेले राज्यको लापरबाहीका कारण आफूहरूले यो नियति भोग्नुपरेको आरोपलगाएका छन्। घटनाको सुरुवाती चरणदेखि नै सम्पूर्ण सुरुङ क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञ उद्धारकर्ताहरू तत्काल परिचालन गरिएको भए आफ्ना छोरासहित अन्य कामदारहरूलाई जीवितै वा समयमै उद्धार गर्न सकिने उनको दाबी छ। 

उनले यस्तै खाले स्टाटस् लेखिरहँदा सामाजिक संजालमा धेरैले गाली वर्षा गरेका थिए । उनले समयमा उद्धार हुन सके त्यहाँ रहेका प्राविधिक तथा कामदारहरू बाँच्ने थिए भन्ने ध्येयले लेखेका हुन् । तर अग्रह र पूर्वाग्रहले गाली वर्षा गर्नेहरू प्रति मानवीय समवेदनाहीन शब्दहरूले प्रहार नगर्न धेरैले सामाजिक संजलमा लेख्नेहरू पनि छन् । 

सरकारले समयमै अनुमति दिएर विदेशी विज्ञ उद्धार कर्तालाइ ल्याउन सकेकाे भए धेरै जना प्राविधिक, कामदार तथा अन्यकाे जिवित उद्धार सम्भव थियाे भन्ने धेरैले टिप्पणी गरेका छन् । 



Friday, September 18, 2026

तुईनको आवतजावत कठिनाइ


गोसाँइकुण्ड गाउँपालिका –५ स्याफ्रुवेसीमा तुईनको तरेर पहरामा रहेको भ¥याङबाट तल जानुपर्ने भएकाेले जेष्ठ नागरिक तथा बालबालिकालाइ आवतजावत कठिन आमाछोदिङमो गाउँपालिका तथा गोसाइकुण्ड गाउँपालिका भेगको नागरिकलाई आवतजावतमा निकै कठिनाई भैईरहेको छ । चाडो भन्सदा चाँढो सडक तथा बेलीबृज बनाउन सको नागरिकलाई राहत हुने आमाछोिदङ गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले बताइन् । 

अहिले स्थानीय प्रशासन र सुरक्षा निकायको प्रयासमा भोटेकोशी नदीमा फलामे तुइन निर्माण गरी अस्थायी आवतजावत सुरु गरिएको छ, तर यो यात्रा निकै जोखिमपूर्ण र जटिल छ। खाद्यान्न, औषधि र दैनिक उपभोग्य सामग्री ढुवानीमा अझै ठूलो समस्या भइरहेको छ।

तस्वीर : हेमनाथ खतिवडा, रसुवा

माथिल्लो त्रिशूली- १ मा १८ वटा शव भेटियो


रसुवा, लेन्देखोलाहुँदै भोटेकोसी नदिमा भदौ १० गते आएको विनाशकारी बाढील बेपत्ता भएका २१६ मेगावाट  क्षमताकाे माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरूङबाट १८ वटा शव भेडिएको छ । 

नेपाली सेनाका अनुसार सुरूमा अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका थिए । फेरि खोजीका क्रममा थप १२ वटा शव देखिएको र निकाल्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए । “जाली भित्र देखिएको तर सबै शाव निकाल्न बाकी रहेको सूचना प्राप्त भएको छ ।” पाण्डेले भने । 

आयोजनाको सुरूङबाट यसअघि विभिन्न मितिमा १५ वटा शव निकालिएको छ । शवको सनाखत हुन सकेको छैन । माथिल्लो त्रिशूली –१ को सुरूङमा कम्तिमा ३ सय जना फसेको हुन सक्ने आशंका गरिएको छ । 

बाढीमा हराएका मानिसहरुको खोज तथा उद्धार कार्य जारी रहेको छ । विद्यातका टनेलमा उद्धार कार्य ढिलाइ भएकोले जिवित उद्धारका सम्भावना टरेको बाढी प्रभावित तथा बृपत्ताका आफन्तहरु बताउछन् । 


सडक अवरुद्ध भएपछि करोडौँको तरकारीले पाएन बजार गतलाङका किसान चिन्तित


 रसुवा, नेपाल–चीन सिमानाको लेन्दे खोलाहुँदै भोटेकोसी नदीमा आएको बाढीले सडक सञ्जाल अवरुद्ध पारेपछि आमाछोदिङमो गाउँपालिकाका किसान बजार अभावमा चिन्तित बनेका छन् ।

आमाछोदिङमो गाउँपालिका–३ गतलाङका किसानले गत वर्ष प्रतिपरिवार रु ५० हजारदेखि रु ६ लाख ५० हजारसम्म आम्दानी गरेका थिए। गत वर्ष गाउँमा कुल २ करोडको कारोबार भएकोमा यस वर्ष बजार पाउन सके रु ३ करोड बराबरको बन्दा बजार पठाउने तयारी थियो।

स्थानीय समाजसेवी फुर्पुसिङ्गी तामाङ भन्छन्, गाउँभरिको करोडौँ मूल्य बराबरको कृषि उपज संकटमा परेको छ। अब छिटोभन्दा छिटो स्याफ्रुबेँसी र बेत्रावतीमा बेलीब्रिज बनाउनुपर्छ।


गतलाङमा २/३ वर्षदेखि व्यावसायिक रूपमा सुरु भएको बन्दा खेती फस्टाएपछि हाल सबै वडामा यसको विस्तार भएको छ। यस वर्ष वडा नं २, ४ र ५ मा पनि धेरै किसानले बन्दा खेती गरेका छन्।

तामाङ थप्छन्, गाउँका झन्डै चार सय घरधुरीले सयौँ रोपनी जमिनमा मुख्य आयस्रोतका रूपमा बन्दा खेती गरिरहेका थिए। तर, विनाशकारी बाढीले सडक विच्छेद गरेपछि उत्पादित बन्दा बारीमै कुहिने अवस्था आएको छ। समयमै सडक सञ्चालन नभए किसानको ठूलो लगानी खेर जानेछ। यातायात ठप्प हुँदा तरकारी बजारसम्म पुर्‍याउन नपाई बारीमै नष्ट हुने भएपछि किसानहरू चिन्तित छन्। समयमै बेत्रावती र स्याफ्रुमा बेलीब्रिज हाल्न सरकारको ध्यानाकर्षण गराए पनि ढिलाइ भइरहेको आमाछोदिङमो(३ का वडाध्यक्ष सुरेन्द्र तामाङले बताए।

स्थानीय विकास लामा भन्छन्, समयमा सडक सञ्जाल नजोडिए बन्दा गाईवस्तुलाई दिनुपर्ने अवस्था छ।ु अनुकूल मौसमका कारण व्यावसायिक बन्दा खेती सफल भएपछि यहाँका ४ सयभन्दा बढी परिवार पूर्ण रूपमा तरकारी खेतीमा लागेका थिए। सबै जग्गामा बन्दा रोपिएको छ, बजारमा लैजान नसके किसान ठूलो मारमा पर्छन्,लामाले भने।

अगुवा किसान मार लामाका अनुसार, भोटेकोसीको बाढीमा परेर गतलाङका २५ जना बेपत्ता भएको चिन्ता छँदै छ, अर्कोतर्फ ४ सय परिवारले प्रतिपरिवार ४/५ गाडी बन्दा उत्पादन गरेका छन्। अन्नबाली छाडेर सबैले बन्दा रोपेका हुनाले बजार पुर्‍याउन छिटो बाटो खोल्न सरकारलाई भनिदिनुपर्‍यो।

अबको १५ देखि २० दिनभित्र बन्दा पूर्ण रूपमा तयार भई बजार पठाउन योग्य हुन्छ, तर ढुवानीका लागि सडक नहुँदा चिन्ता थपिएको छ।गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङ भन्छिन्, प्राकृतिक विपत्तिका कारण कृषि उपज बजार लैजान समस्या भएको छ। सडक त ढिलो चाँडो बन्ला, तर किसानले ठूलो मिहिनेत गरेर लगाएको खेती समयमै बजार लैजान नपाएर कुहिने भयो भन्ने मुख्य चिन्ता हो।

गतलाङवासीका लागि बन्दा खेती नै आम्दानीको मुख्य स्रोत हो। वर्षभरिको खाद्यान्न (चामल, नुन, तेल) खरिद गर्ने तथा छोराछोरीको विद्यालय शुल्क तिर्ने आधार यही खेती हो। विगतका वर्षहरूमा राम्रो आम्दानी भएकाले यस वर्ष किसानहरूले ऋण तथा कर्जा लिएरसमेत खेती विस्तार गरेका थिए।


यातायात सुचारु गरी उत्पादित तरकारी सहज रूपमा बजारसम्म पुर्‍याउने वैकल्पिक माध्यम खोज्न वा सडक मर्मत तीव्र पार्न पीडित कृषकहरूले स्थानीय सरकार, डिभिजन सडक कार्यालय र सरोकारवाला निकायसँग आपत्कालीन माग गरेका छन्।

सडक समयमै जोडिए कृषि उपजले बजार पाउने र गाउँमा ग्यास, खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानीको समस्या पनि समाधान हुनेछ। गतलाङ आलु र लेकाली बन्दाका लागि जिल्लाको राम्रो पकेट क्षेत्र मानिन्छ।

गतलाङका तेन्जीनिमा तामाङले गत वर्ष ६ दाजुभाइ मिलेर ३० रोपनी जग्गामा बन्दा खेती गरी रु। २० लाख कमाएका थिए। उनी भन्छन्, आलु खेतीबाट भन्दा बन्दाबाट राम्रो आम्दानी भएपछि सबैले बन्दा रोप्न थालेका हुन्। हामीले यस वर्ष ३५ रोपनीमा बन्दा खेती गरेका छौँ। यहाँ उत्पादन भएको आलु र लेकाली बन्दा बुटवल, नारायणगढ, पोखरा र सर्लाहीसम्म पठाइने गरिएको थियो। बाढीले बिगारेको सडक र पुल छिटो निर्माण गर्न किसानको माग छ।



राहतकाे चामल कुहिएको भेटियाे

 


रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म करिब १६ बोरा चामललगायत केही राहत सामग्री मात्र पुगेको छ । तर, १६ मध्ये दुई बोरा चामल कुहिएको तथा उपभोग गर्न नमिल्ने अवस्थामा समेत रहेको देखिएको छ । 

आमाछोदिङमो गाउँपालिकामा बितरण भएको चामल डल्ला परेको र कुहिएको भेटिएको स्थानीय अगुवा तथा रास्वपा नेता देव सोल्टाले जानकारी दिए ।  विपद्कोसंवेदनशील समयमा प्रभावित नागरिकले गुणस्तरीय र सुरक्षित राहत पाउनु उहाँहरूको अधिकार हो । तर, अन्य प्रभावित क्षेत्रमा राहत सामग्री पुगिरहेको अवस्थामा आमाछोदिङ्मो क्षेत्र भने केही पछाडि परेको महसुस भइरहेको स्थानीय सोल्टाले बताउनु भयो । 

हेलिकोप्टर मार्फत ढुवानी गरिएको चामल बितरणका क्रममा चामलका दुई बोरा खोल्दा डल्ला परेको चामल भेटिएको आमाछोदिङमो गाउँपालिका–३ का वडा अध्यक्ष सुरेन्द्र तामाङले बताए ।  सम्बन्धित सम्पूर्ण निकायलाई आमाछोदिङ्मोका प्रभावित नागरिकका लागि तत्काल आवश्यक खाद्यान्न तथा अन्य राहत सामग्रीको वितरणका लागि उचित व्यवस्थापन गर्न अध्यक्ष तामाङले अनुरोध गरे ।  

आमाछोदिङमो गाउँपालिका–३ का २८ जना हालसम्म सम्पर्कविहिन रहेको पीडा यथावत रहेको र प्रभावित नागरिकले थप पीडा भोग्नुपर्ने गरी अखाद्य बस्तु बितरण हुनु अन्यायको विषय भएको स्थानीय रास्वपाका नेता देव सोल्टाले बताए । 

Wednesday, September 16, 2026

बाढी पीडितलाइ टेवाले गर्याे राहत वितरण

 


रसुवा, भाेटकाेसीकाे बाढीबाट प्रभावित टेवा नेपालद्धारा सञ्चालीत सामुदायिक सुरक्षा जालाे अन्तर्गत महिला समुहका सदस्य र परिवारलाइ राहत वितरण भएकाे छ । 

टेवा संस्थाबाट प्राप्त सामग्रीहरूमा तन्ना, तकिया, महिलाहरू लागि साडी, ब्ल्याङकेट, ग्यास सिलिन्डर वितरण भएकाे गैसस महासंघ रसुवाका काेषाध्यक्ष गायत्री लामिछानेले बताइन् । 

बाढीबाट बस्ती बगेर, परिवारका सदस्य बेपत्ता भएका रसुवाकाे उत्तरगयाबाट बिस्थापित भइ काठमाण्डाैमा बस्दै गरेकाहरूलाइ यस्ताे राहत पाएपछि खुसी भएका छन् । 





चिलिमे जलविद्युत आयोजनाको सुरुङमा पाँच जनाकाे शव फेला


रसुवा, सत्रदिनदेखि चिलिमे जलविद्युत केन्द्रको सुरुङ भित्र उद्धारका लागि खटेको टोलीले पाँच जनाको शव प्राप्त गरेको छ । सुरुङबाट चार जनाको शव र एउटा मानव अंग फेला परेको छ । 

लेन्दे खोलाहुँदै भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण चिलिमेको पावरहाउस जाने सुरुङको प्रवेसमार्ग बन्द गराएको थियो । 

मेसिन तथा भारतिय विज्ञ टोली सहित नेपाली सेना, प्रहरी समेतको टोलीले सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारका क्रममा पाँच जनाको शव फेला पारेका थिए । 

गोताखोरसहितको टोली उक्त प्वालबाट प्रवेश गरी सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा ५ वटा शव फेला पारेको नेपाली सेनाले जानकारी दिएको छ ।

शवहरु बाहिर निकालिएको र खोज तथा उद्धार बन्द गरिएको चिलिमे जलविद्युत कम्पनीका प्रकाश बहादुर कार्कीले बताए । बल्लतल्ल मानिस छिर्ने सानो प्वाल बनाएर भित्र जान सकेको कार्कीले बताए । त्यहाँ ६ जना जिवित रहेको आसंकाले १३ गदेखि खोज तथा उद्धार जारी रहेको थियो । 

हेलिकप्टरमार्फत स्याफ्रूबेसीमा पु¥याइएको एक्स्काभेटर र लोडर प्रयोग गरी चट्टान फोडेर करिब १ हजार ५० मिटर बाटो निर्माण गर्दै सुरुङसम्म पुगेर निरन्तर भग्नावशेष हटाउने काम गरेको थियो । 

कम्पनीको तत्कालीन प्रबन्ध–निर्देशकका कुलमान घिसिङले सुरुङमा लेदो सहितको वालुवा ढुंगा हटाएर उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढेको थियो । 

विद्युतगृह छिचोल्न करिब १०० मिटर बाँकी रहेको छ । उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत कम्पनीका कर्मचारी निकै खटेका थिए ।   

कम्पनीको तत्कालीन प्रबन्ध–निर्देशकका कुलमान घिसिङले सुरुङमा लेदो सहितको वालुवा ढुंगा हटाएर उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढेको थियो । 

विद्युतगृह छिचोल्न करिब १०० मिटर बाँकी रहेको छ । उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत कम्पनीका कर्मचारी निकै खटेका थिए ।   

यसैबीच लाङ्गटाङ जलविद्युत आयोजनाको सुरुङमा विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले खोजी कार्य गरिरहेको छ । माथिल्लो त्रिशूली–१ को सुरुङभित्र पनि आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ । त्रिशूली–३ ए को सुरुङ तथा पावर हाउस क्षेत्रमा पनि संयुक्त टोलीले खोजी कार्य जारी राखेको सेनाले जनाएको छ । 









भीषण बाढीका कारण त्यस क्षेत्रमा सञ्चार सेवा गम्भीर रूपमा अवरुद्ध

 


रसुवा, स्याफ्रूबेँसी, टिमुरेलगायतका क्षेत्रमा अचानक आएको भीषण बाढीका कारण त्यस क्षेत्रमा सञ्चार सेवा गम्भीर रूपमा अवरुद्ध भएको छ । 

बाढी र पहिरोले पुर्‍याएको क्षतिका कारण रसुवा तथा छिमेकी जिल्ला नुवाकोटका कैयौँ स्थानमा नेपाल टेलिकम र एनसेलका टावर तथा अप्टिकल फाइबर नेटवर्कमा क्षति पुगी सञ्चार सम्पर्क प्रभावित बनेको छ ।

नेपाल टेलिकम प्रवक्त्ता कमल लामिछानेका अनुसार बाढीका कारण टिमुरे क्षेत्रमा रहेका दुई वटा बीटीएस टावरमा क्षति पुगेको छ । नुवाकोटको त्रिशुली क्षेत्र वरपरका करिब पाँच वटा साइटसमेत निष्क्रिय बनेका छन् । 

‘नेपाल टेलिकमको चीनसँग जोडिने अप्टिकल फाइबर लाइनमा पनि बाढीले क्षति पुर्‍याएको छ,’ लामिछाने भने, ‘धादिङको गल्छीदेखि नुवाकोटको त्रिशूलीसम्म फाइबर चलिरहेको भए पनि त्रिशूलीभन्दा माथिल्लो भेगको फाइबर काटिएकाले सेवा अवरुद्ध हुन पुगेको छ ।’ 

टेलिकमले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा जोखिमयुक्त क्षेत्रका ग्राहकलाई नियमित रूपमा सतर्कता सम्बन्धी ‘अलर्ट म्यासेज’ पठाइरहेको र कम्पनीका प्रबन्ध निर्देशकको नेतृत्वमा आपतकालीन टोली गठन गरी सेवा पुनस्थापना तथा मर्मतका लागि उच्च सतर्कतामा राखिएको जनाएको छ ।

बाढीमा बेपत्ताको खोज तथा उद्धार कार्य जारी

 


रसुवा ०८३ भदौ ३१ । नेपाल चीन सिमानाको लेन्देखोलाहुँदै भोटेकोसीमा आएको बाढीका कारण बेपत्ताहरुको खोज तथा उद्धार कार्य जारी रहेको छ । अहिले चिलिमे, माथिल्लो थ्रि ए र हाकु क्षेत्रको नदि तटिय क्षेत्र र जलविद्युतको सुरुङमा खोजी कार्य भइरहेको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार ३ हजार ७ सय ९० जना अझै बेपत्ता छन् । हालसम्म १९३ जनाको शव संकलन भएको छ भने १० जनाको सनाखत भएको छ । हालसम्म बाढीमा १४६२ जनाको उद्धार भएको छ । बाढीमा परेर ७४ जना घाइते मध्ये ४९ जना अस्पतालबाट उपचार पछि फर्केका छन् । 


Tuesday, September 15, 2026

बाढी प्रभावितलाई स्वास्थ्य बिमा बोर्डले कागजात बिना नै स्वास्थ्य बिमा सेवा उपलब्ध गराउने

रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई स्वास्थ्य बिमा बोर्डले कागजात बिना नै स्वास्थ्य बिमा सेवा उपलब्ध गराउन अस्पतालहरूलाई निर्देशन दिएको छ ।

स्वास्थ्य बिमा बोर्डको भदौ २३ गतेको निर्णयअनुसार बाढीमा परी स्वास्थ्य बिमा सम्बन्धी कागजात हराएको वा नष्ट भएको अवस्थामा पनि बोर्डको प्रणालीमा रहेको बिमितको विवरणबाट पुष्टि गरेर स्वास्थ्य बिमा सेवा उपलब्ध गराउन बोर्डले निर्देशन दिएको छ ।


रसुवा, नुवाकोट र धादिङ गरी तीन जिल्लालाई नेपाल सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र तोकेको छ । यस सन्दर्भमा ती जिल्लामा स्वास्थ्य बिमा सेवा सहज रूपमा सञ्चालन गरी नागरिकलाई सहजीकरण गर्न तोकिएको समयावधिसम्म स्वास्थ्य बिमा सेवामा लाग्ने सहभुक्तानी र अधिकतम सीमा हटाउन समेत बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध अस्पताल तथा निकायलाई निर्देशन दिएको हो ।

Monday, September 14, 2026

होल्डिङ सेन्टरमा ८५८ जना, बालबालिका २२० जना


रसुवा, लेन्दे खोला हुन्दै नेपाल चीन सिमाना भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण विस्थापित भइ होल्डिङ सेन्टरमा पुगेका छन् । 

रसुवाको उत्तरगया स्थित नीलकण्ठ माविमा १४ महिला, १६ पुरुष, २ गर्भवती, २ सुत्केरी, २५ जना बालबालिकाहरू गरी ३० जना रहेका छन् । 

शिवालय आधाभूत विद्यालयमा महिला २४, पुरुष २४ जना, बालबालिका २५, सुत्केरी २ , सुत्केरी २ गरी ४८ जना रहेका छन् । त्यसैगरी भीमसेन आधारभूत विद्यालयमा २५, पुरुष २६ बालबालिका १४ जना गरी ५१ जना रहेका छन् । 

गणेश आधारभूत विद्यालय सिरुचेतमा महिला १८, पुरुष १८, बालबालिका ३ जना गरी ३६ जना रहेका छन् । 

त्यसै गरी उत्तरगया गाउँपालिका–२ को सिम्ले आधारभू विद्यालयमा १ महिला ११ पुरुष  गरी  १२ जना आश्रय लिइरहेका छन् । 

जिल्ला प्रशासन कार्यालयबाट जारी प्रेस नोट अनुसार गोसाइँकुण्ड गाउँपालिका स्थित कोमिन स्यामेवाङफेल माविमा महिला २७, पुरुष २७ बालबालिका ३ जना गरी ५४ जना, लिङलिङ स्थित गोम्बामा महिला १४, पुरुष १८, बालबालिका २ जना गरी ३४ जना, राजधानी काठमाण्डौं स्थित बिभिन्न होल्डिङ सेन्टरमा महिला २२३, पुरुष २२०, बालबालिका १६२ जना गरी ६०५ जना समेत कुल ८७० जना आश्रय लिइरहेका छन् ।  

त्यसै गरी नुवाकोटको तामाङ प्लाजा तथा बिभिन्न होल्डिङ सेन्टरमा रहेका उत्तरगया गाउँपालिकाबाट विस्थापितहरु २७५ पविार बिदुर नगरपालिका-५ काे पिपलटारमा जग्गा भाडामा लिएर टेन्ट टााँगेर  बसेको  छन् ।   




बाढीमा १६ वटा टाटासुमो सहित चालक तथा यात्रु बेपत्ता


रसुवा, नेपाल चीन सिमानामा लेन्देखोलाहुँदै  भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीमा परी १६ वटा टाटासुमो सहित चालक तथा यात्रु बेपत्ता भएका छन् । 

काठमाडौंबाट  यात्रु लिन रसुवागढीतर्फ गएका टाटासुमो बाढीमा बगेका थिए। बाढीले केही सवारी साधनसँगै चालक तथा यात्रुलाई समेत बगाएको टाटासुमो सञ्चालक समितिले जनाएको छ।

टाटासुमोका सञ्चालक साधुराम खड्काका अनुसार बाढीमा बेपत्ता हुनेमा नुवाकोट विदुर चोकका चालक प्रमोद भट्टराई, बेलकोटगढी नगरपालिका–११ तिगाउँका दिपेन्द्र खतिवडा र राजेन्द्र खतिवडा, बेलकोटगढी नगरपालिका–६ तल्लो भगेरीका दिपक खतिवडा, सोही स्थानका महेश लामिछाने र सुजन लामिछाने, सिन्धुपाल्चोक कोदारीका ल्हाक्पा तामाङ, नुवाकोट सूर्यगढी गाउँपालिका ढुङ्गेचौरका केदार मैनाली बेपत्ता भएका हुन् । 

त्यसैगरि  रसुवा कालिका गाउँपालिका–२ का रामचन्द्र न्यौपाने, गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोलाका छिरिङ तामाङ, सिन्धुपाल्चोकका कुमार रायमाझी, भक्तपुर सूर्यविनायक नगरपालिका–९ का राजकुमार सुवाल गोसाइँकुण्ड  गाउँपालिका–५ ठूलोभार्खुका कर्म स्याङ्मो तामाङ, नुवाकोट विदुर नगरपालिका–१ बन्द्रेका दिपेश शाही,  नुवाकोट बेलकोटगढी नगरपालिका–६ का शिव खतिवडा, र  चालक दिवानन्द सुवेदी रहेका छन्।

त्यसैगरी मिनी गोसाइँकुण्ड यातायात प्रालिका अनुसार घुम्न गएका धेरै पर्यटकहरू बाढीमा परेर धेरै जना बेपत्ता भएका छन्।