रसुवा, स्याफ्रूबेँसी, टिमुरेलगायतका क्षेत्रमा अचानक आएको भीषण बाढीका कारण त्यस क्षेत्रमा सञ्चार सेवा गम्भीर रूपमा अवरुद्ध भएको छ ।
बाढी र पहिरोले पुर्याएको क्षतिका कारण रसुवा तथा छिमेकी जिल्ला नुवाकोटका कैयौँ स्थानमा नेपाल टेलिकम र एनसेलका टावर तथा अप्टिकल फाइबर नेटवर्कमा क्षति पुगी सञ्चार सम्पर्क प्रभावित बनेको छ ।
नेपाल टेलिकम प्रवक्त्ता कमल लामिछानेका अनुसार बाढीका कारण टिमुरे क्षेत्रमा रहेका दुई वटा बीटीएस टावरमा क्षति पुगेको छ । नुवाकोटको त्रिशुली क्षेत्र वरपरका करिब पाँच वटा साइटसमेत निष्क्रिय बनेका छन् ।
‘नेपाल टेलिकमको चीनसँग जोडिने अप्टिकल फाइबर लाइनमा पनि बाढीले क्षति पुर्याएको छ,’ लामिछाने भने, ‘धादिङको गल्छीदेखि नुवाकोटको त्रिशूलीसम्म फाइबर चलिरहेको भए पनि त्रिशूलीभन्दा माथिल्लो भेगको फाइबर काटिएकाले सेवा अवरुद्ध हुन पुगेको छ ।’
टेलिकमले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा जोखिमयुक्त क्षेत्रका ग्राहकलाई नियमित रूपमा सतर्कता सम्बन्धी ‘अलर्ट म्यासेज’ पठाइरहेको र कम्पनीका प्रबन्ध निर्देशकको नेतृत्वमा आपतकालीन टोली गठन गरी सेवा पुनस्थापना तथा मर्मतका लागि उच्च सतर्कतामा राखिएको जनाएको छ ।
No comments:
Post a Comment