रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म करिब १६ बोरा चामललगायत केही राहत सामग्री मात्र पुगेको छ । तर, १६ मध्ये दुई बोरा चामल कुहिएको तथा उपभोग गर्न नमिल्ने अवस्थामा समेत रहेको देखिएको छ ।
आमाछोदिङमो गाउँपालिकामा बितरण भएको चामल डल्ला परेको र कुहिएको भेटिएको स्थानीय अगुवा तथा रास्वपा नेता देव सोल्टाले जानकारी दिए । विपद्कोसंवेदनशील समयमा प्रभावित नागरिकले गुणस्तरीय र सुरक्षित राहत पाउनु उहाँहरूको अधिकार हो । तर, अन्य प्रभावित क्षेत्रमा राहत सामग्री पुगिरहेको अवस्थामा आमाछोदिङ्मो क्षेत्र भने केही पछाडि परेको महसुस भइरहेको स्थानीय सोल्टाले बताउनु भयो ।
हेलिकोप्टर मार्फत ढुवानी गरिएको चामल बितरणका क्रममा चामलका दुई बोरा खोल्दा डल्ला परेको चामल भेटिएको आमाछोदिङमो गाउँपालिका–३ का वडा अध्यक्ष सुरेन्द्र तामाङले बताए । सम्बन्धित सम्पूर्ण निकायलाई आमाछोदिङ्मोका प्रभावित नागरिकका लागि तत्काल आवश्यक खाद्यान्न तथा अन्य राहत सामग्रीको वितरणका लागि उचित व्यवस्थापन गर्न अध्यक्ष तामाङले अनुरोध गरे ।
आमाछोदिङमो गाउँपालिका–३ का २८ जना हालसम्म सम्पर्कविहिन रहेको पीडा यथावत रहेको र प्रभावित नागरिकले थप पीडा भोग्नुपर्ने गरी अखाद्य बस्तु बितरण हुनु अन्यायको विषय भएको स्थानीय रास्वपाका नेता देव सोल्टाले बताए ।

No comments:
Post a Comment