रसुवा, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रसुवा जिल्लामा ९ वटा राजनीतिक दल र ३ स्वतन्त्र गरी १२ जनाले माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
सदरमुकाम स्थित मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार साँझसम्ममा नाै राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार गरी १२ जनाको उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट इन्जिनियर मोहन आचार्यले तेस्रो पटक उम्मेदवारी मनोनयन दर्ता गराए । आचार्य २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दुई पटक निर्वाचित भइसकेका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य प्रेमबहादुर तामाङले उम्मेदवारी दर्ता गरेका छन् । तामाङ २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित हुनुका साथै २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट माधव लामिछानेले उम्मेदवारी मनोनयन दर्ता गराए । उनी पहिलो पटक निर्वाचनमा होमिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट युवा बसन्त भट्टले उम्मेदवारी मनोनयन दर्ता गरे । जेएनजीको प्रतिनिधित्व गर्दै उनी पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट हरिप्रसाद घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । घिमिरे २०७९ सालको प्रदेशसभा निर्वाचनमा उम्मेदवार रहेका थिए ।
त्यसैगरी मंगोल नेशनल अर्गनाइजेसनका विनोद थिङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका दाबासाङ्बो तामाङ, कम्युनिष्ट पार्टी (माओवादी) का होमप्रसाद आचार्य तथा उज्यालो नेपाल पार्टीका तर्फबाट मानबहादुर तामाङले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी राजन रायले बताए । यस अघि रास्वपाका जिल्ला संयोजक रहेका मानबहादुरले राजिनामा गरी उज्यालो नेपालको उम्मेदवार बनेका हुन् ।
स्वतन्त्रतर्फबाट सागर लामा, दावामिङमर तामाङ र चित्रकुमारी देवकोटाले उम्मेदवारी दिए । उम्मेदवारहरू पार्टीका कार्यकर्ता तथा समर्थकसहित नारा जुलुस सहित गर्दै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
दलका तर्फबाट महिला उम्मेदवार छैनन् भने स्वतन्त्रबाट १ जना महिलाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।







0 Comments :
Post a Comment