ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, September 27, 2026

बाढी प्रभावित कर्मचारी तथा परिवारको खोज तथा उद्धारमा दुसान



रसुवा, लेन्देहुँदै भाेटेकाेसी नदिमा भदाै १० गते एक्कासी आएको बाढीका कारण प्रभावित आफ्ना कर्मचारी तथा उनीहरूका परिवारको खोज, उद्धार र सहयोगका लागि निरन्तर सक्रियताका साथ काम गरिरहेको एक दुसान इनर्बिलिटी कम्पनी लिमिटेडले जनाएको छ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालयलगायत सुरक्षा निकाय, कालिका र गोसाईँकुण्ड गाउँपालिका,जिल्ला प्रशासन कार्यालय रसुवा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई घटनाको विवरण सहित आधिकारिक रूपमा जानकारी गराइएको थियो।

कम्पनीले घटनापछि भदौ १५ गतेदेखि हालसम्म करिब १९ पटक हेलिकप्टरबाट खोजी गरिएको जनाएको छ। साथै, चितवनसम्मको तल्लो तटीय क्षेत्रमा दैनिक ड्रोनमार्फत खोजी कार्य जारी रहेको र खोजी, उद्धार तथा उत्खननको कामसमेत अघि बढाइएको कम्पनीको भनाइ छ।

माथिल्लाे त्रिशूली -१ मा कार्यरत दुसान कम्पनीमा कार्यरत कर्मचारीका परिवारजनलाई घटनास्थलसम्म पुगेर खोजी कार्यमा सहभागी हुन सहज होस् भन्ने उद्देश्यले कम्पनीले बसोबास र हेलिकप्टरको व्यवस्था गरेको जनाएको छ। नेपाली सेना र कोरियाली राजदूतावासको सहयोगमा विभिन्न कठिनाइका बाबजुद परिवारजनलाई आयोजना स्थलसम्म पुर्‍याइएको कम्पनीले जनाएको छ।

यसैगरी, कम्पनीले भदौ ११ गते आपत्कालीन राहत कोष स्थापना गरी प्रत्येक पीडितका परिवारलाई एक लाख रुपैयाँका दरले अन्तरिम राहत उपलब्ध गराएकाे दुसान इनर्बिलिटी कम्पनी लिमिटेडका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेले बताए । 

बाढीकाे समयमा कार्यकक्षमै रहेका अधिकृत अर्जुन भागेर बल्लतल्ल बचे र अरू साथीलाइ पनि बचाए । सबैलाइ बचाउने प्रयास पूर्ण रूपमा सफल हुन सकेन । उनले भने तिब्र बेगकाे बाढीबाट बच्न सकेनन् भने कसैले पनि पुर्वानुमान गरे भन्दा ठूलाे बाढीबाट जाेखिन मुस्किल थियाे । न्याैपानेले तत्कालै फेसबुकमा लाइभ गरी हामी भागेर जंगलमा छाैं भनेर भिडियाे सार्वजनिक गरेका थिए । 

ठूलाे त्रासमा पनि अधिकृत अर्जुन बाढीपछि नियमित रूपमा बेपत्ता कर्मचारीहरूकाे हाेलिकाप्टर तथा ड्राेनबाट खाेज, उद्धार र परिवार भेटमा निकै सक्रिय रहेका छन् । 

परिवारजनको सहायताका लागि भदौ २१ गते ‘फ्यामिली असिस्टेन्स सेन्टर’ स्थापना गरी सम्पर्क व्यक्ति तोकिएको र केन्द्रका सदस्यहरूले पीडित परिवारसँग निरन्तर सम्पर्कमा रहेर कम्पनीका योजना तथा उपलब्ध सहयोग बारे जानकारी दिइरहेको कम्पनीले जनाएकाे छ।

आर्थिक रूपमा कमजोर परिवारलाई विशेष प्राथमिकतामा राखेर घरमै पुगेर सेवा–सुविधा, बीमा रकम तथा सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने रकमका विषयमा जानकारी दिने र आवश्यक सहजीकरण गर्ने कामसमेत भइरहेको कम्पनीले जनाएको छ।


कम्पनीले बेपत्ता तथा मृत्यु भएका श्रमिकका परिवारसँग छलफल गरी सामाजिक सुरक्षा कोष, नाता प्रमाणित र वडा सिफारिसलगायतका विषयमा कानुनी परामर्श सहित आवश्यक सहयोग र सहजीकरण गरिरहेको दाबी गरेको छ। बाढीमा हराएकाहरुको हेलिकप्टरबाट चितवनसम्मको तल्लो तटीय क्षेत्रमा केन्द्रित रही दैनिक ड्रोनबाट खोजी उद्धार तथा तथा उत्खननको कार्यसमेत अगाडि बढाइरहेको छ । 

बाढीको कारणबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेका प्रारम्भीक प्रतिवेदनमा घटनाको मूख्य कारण दोस हितको बाढी रहेको जानकारी दिइएको कम्पनीले उल्लेख गरेको छ। घटना बारे विशेषज्ञहरूबाट अध्ययन भइरहेको र हालसम्म कुनै संस्थालाई जिम्मेवार ठहर गर्ने अन्तिम निष्कर्ष नआएको कम्पनीको भनाइ छ।

कम्पनीले नियमित रूपमा अद्यावधीक गरेको विवरण अनुसार कोरियाली र नेपाली गरी कुल ८६ जना कर्मचारीहरू मध्ये ४४ जना सकुशल रहेका छन् । ४२ जना मध्ये तीन जनाको मृत्यू भएको र ३९ जना अझै सम्पर्क विहीन रहेको कम्पनीले जनाएको छ। 


यी विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय रसुवाको अभिलेखसँग दैनिक रूपमा अद्यावधिक भइरहेको बताइएको छ।

घटनापछि पीडित कर्मचारी तथा परिवारको सुरक्षा, सम्पर्क विहीनहरूको खोजी तथा विवरण व्यवस्थापन र गृह मन्त्रालयसहित स्थानीय तहका निकायसँगको समन्वयलाई उच्च प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार खोजी तथा उत्खनन् कार्यमा सहयोग पुर्‍याउन नेपाल सरकारलाई १५ वटा ‘बबक्याट’ उपकरण समेत हस्तान्तरण गरिएको छ। 

दुसान इनर्बिलिटी कम्पनीका अनुसार बाढी पछि उद्धार, खोजी तथा परिवारजनको सहयोगका लागि नेपाली सेना, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कोरियाली दूतावास र नेपाल प्रहरीलगायतका निकायसँग निरन्तर समन्वय भइरहेको छ। 

थप जानकारी तथा सूचनाका लागि लागि कम्पनीका प्रशासनिक अधिकृत प्रकाश पन्तलाई ९८४०५२००८५ मा सम्पर्क गर्न सकिने समेत कम्पनीले जनाइएको छ।











बाढीले खोस्याे २७ बर्षको मेहनत

 


रसुवा, त्रिशूली नदीको किनारमा अवस्थित रमणीय बेत्रावती बजार। यही बजारको माटो र कलामा आफ्नो जीवनको उर्बर २७ वर्ष समर्पित गरेका एक सर्जक हुन्, शशि डङ्गोल।

२०५० सालबाट व्यावसायिक रूपमा आर्ट (पेन्टिङ) कर्ममा होमिएका उनी बेत्रावतीमै बसेर कला सिर्जना मात्र गरेनन्, बरु यस क्षेत्रको कला र सामाजिक पहिचानलाई समेत उचाइमा पुर्‍याए ।

तर, गत भदौ १० गतेको विनासकारी बाढीले उनको यही पहिचान, सपना र अठोटलाई एकै पलमा भग्नावशेषमा परिणत गरिदियो ।

त्रिशूली नदीबाट करिब ५०० मिटरको दूरीमा रहेको उनका साढे तीन तले घर र त्यहाँ सञ्चालित 'शशि आर्ट एन्ड बेत्रावती ग्यालरी' लाई बाढीले पूर्ण रूपमा क्षति पुर्यायो । नयाँ घर बनाएर बसेको जम्मा तीन वर्ष मात्र भएको थियो, तर प्रकृतिले उनको यो खुसी ३ सेकेन्डमै खोसियो । बाढीले घरको माथिल्लो तल्लासम्मै क्षति पुर्‍याएको छ भने ज्यान बचाउन भाग्ने क्रममा उनी सामान्य घाइते समेत भए ।

यस भयानक विपत्तिमा उनका ग्यालरीमा रहेका अमूल्य सम्पत्तिहरू पूर्ण रूपमा सखाप भएका छन् । शशि डङ्गोल आफैंले बनाएका २७० देखि २७५ वटा बहुमूल्य पेन्टिङहरू (करिब ५ करोड मूल्य बराबरका) नष्ट भएका छन् ।  दिग्गज कलाकारहरूका करिब ६० देखि ६२ थान अमूल्य पेन्टिङहरू पनि हिलोमा पुरिएर काम नलाग्ने भएका छन् । यसका साथै घरका भित्ता, भर्याङ र कोठाका आकर्षक वाल आर्टहरू सबै बाढीको लेदोले छोपेका छन् भने क्यानभास, ब्रस, कलर र अन्य अनगिन्ती आर्ट मेटरिएलहरू पनि पूर्ण रूपमा नष्ट भएका छन् । 

काठमाडौंबाट गएका कलाकार मित्रहरूसँग मिलेर रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आर्ट वर्कसप तथा कलासम्बन्धी गतिविधिहरू सञ्चालन गर्न उनी सधैं अग्रसर हुन्थे । उनका ग्यालरीमा प्रवेश गर्ने जो कोही पनि त्यहाँका कलाकृति देखेर मन्त्रमुग्ध हुँदै २–३ घण्टा त्यहीं बिताउँथे । बेत्रावतीको यो ग्यालरी त्यस क्षेत्रको एउटा साङ्केतिक सङ्ग्रहालय जस्तै बनेको थियो । तर, अहिले उनी आफैं बेत्रावतीस्थित स्वाँराडाँडा जङ्गलको होल्डिङ सेन्टरमा अन्य गाउँलिहरूसँगै आश्रय लिएर बस्न बाध्य भएका छन्।

सर्वस्व गुमाए पनि कलाकार डङ्गोलको सिर्जनशील मन र आशा भने मरेको छैन । उनी सरकारसँग एउटै अपेक्षा राख्छन्— स्थानीय बेत्रावतीवासीहरूको मर्म र पीडालाई बुझेर 'बेत्रावतीस्थलमै बेत्रावती बजार बसाउने' उपयुक्त प्रबन्ध मिलाइयोस्। यदि यसो हुन सकेमा उनी आफ्नो 'बेत्रावती आर्ट ग्यालरी' लाई पुनर्जीवित गर्ने र आफ्नो गुमेको सपनालाई फेरि अगाडि बढाउने दृढ संकल्पमा छन्। "घर त ठडिएको देखिन्छ नै, तर भित्र केही बाँकी छैन। यो केवल भौतिक क्षति मात्र होइन, २७ वर्षको साधना र सिर्जनाको पतन हाे ।

Saturday, September 26, 2026

नेपाली कांग्रेसको समानान्तर महाधिवेशन तयारी

रसुवा, नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टी भित्र समानान्तर महाधिवेशनको तयारीलाई तीव्र पार्दै रसुवा र नुवाकाेट जिल्लामा संयोजक तोकेकाे छ ।

यसै क्रममा बागमती प्रदेशकाे रसुवा र नुवाकोट जिल्लाका लागि पनि नयाँ जिम्मेवारी तोकिएको हाे । प्राप्त जानकारी अनुसार रसुवा जिल्लाको संयोजकको जिम्मेवारी प्रभावशाली नेता तथा नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य उप्रेन्द्रराज लम्साललाई दिइएको छ । लम्साल उत्तरगया गाउँपालिकामा निर्वाचित पूर्वअध्यक्ष समेत हुन् ।

हाल रसुवा बाढीको विपद्मा परेको र आम रसुवावासी शोकमा डुबेको कारण, रसुवाको अधिवेशन निर्धारित समयभन्दा केही पछि सारिने रसुवा संयोजक लम्सालले बताए ।

त्यस्तै, नुवाकोट जिल्लाको संयोजकमा कांग्रेस नुवाकोट जिल्ला सचिव श्रीराम श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ। देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ ।

हाल संयोजक कोइरालाले नै सम्बन्धित जिल्ला संयोजकहरूलाई नियुक्ति पत्र प्रदान गरिरहेका छन् । देउवा पक्षले आगामी असोज १५ गते वडा अधिवेशन गर्ने र मंसीर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

देउवा समूहले देशभरका ५५ जिल्लामा संयोजक तोक्ने योजना अनुसार हालसम्म कोशी प्रदेशमा आठ, बागमतीमा ११, गण्डकीमा आठ, लुम्बिनीमा १२, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा आठ वटा जिल्लामा संयोजकहरू तोकिसकेको जनाएको छ।

तोकिएका संयोजकहरूले सम्बन्धित जिल्लामा देउवा पक्षका तर्फबाट गर्नुपर्ने सम्पूर्ण संगठनात्मक गतिविधिहरू तथा आगामी अधिवेशनसम्बन्धी आवश्यक कामहरू अब द्रुत गतिमा अघि बढाउने छन्।

Friday, September 25, 2026

बाढीकाे बितण्डामा समेत इन्धन आपूर्ति सेवा निरन्तर


रसुवा, नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित उत्तरगया आयल ट्रेडर्स ठूलो वित्तीय क्षती र पारिवारिक संकटमा परे पनि सञ्चालक समूहले रसुवामा इन्धन आपूर्ति सेवा निरन्तरता दिएको छ।

बाढीकाे बितण्डाका कारण साे पम्प सञ्चालकका सदस्य तथा कर्मचारी गरी चार जना अझै बेपत्ता हुँदा तथा ठूलाे क्षती भएकाे अवस्थामा पनि जिल्लालाइ कालिकास्थानबाट  पेट्राेलियम पदार्थकाे सेवा पुर्याएकाे छ । 

पम्पका सञ्चालक उद्धवप्रसाद रिजालका अनुसार विभिन्न सवारी तथा कम्पनीबाट करिब ३ करोड रुपैयाँ उधारो उठ्न बाँकी रहेकाे छ । छ। ९ रोपनी जग्गा, भौतिक सम्पत्ति तथा वित्तीय दायित्व समेत जोड्दा करिब १८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष तथा अप्रत्यक्ष क्षती भएको छ । 

रिजाल समेत सिताराम पौडेल, शंकर न्यौपाने र बलराम ढकालको समूहले रसुवाको कालिकास्थानमा सञ्चालित ‘गन्तव्य पेट्रोल पम्प’मार्फत इन्धन आपूर्ति भने रोकेको छैन। 

कालिकास्थानमा सञ्चालन गर्दै आएको ‘गन्तव्य पेट्रोल पम्प’ अहिले रसुवाका लागि इन्धन आपूर्तिको महत्वपूर्ण आधार हाे । भौगोलिक विकटता, सडकको असहज अवस्था र बाढी पछिकाे उत्पन्न कठिन परिस्थितिका बीच पनि उनीहरूले इन्धन ढुवानीलाई निरन्तरता दिइरहेका छन्। आवश्यक पर्दा ड्रममा समेत तेल बोकेर विभिन्न स्थानसम्म पुर्‍याउँदै रसुवामा इन्धन अभाव हुन नदिन उनीहरू सक्रिय छन्।


भौगोलिक कठिनाइका बावजुत ड्रममा समेत इन्धन सेवा दिन ढुवानी गर्दै आएको समूहले इन्धन बोकेको ट्र्याक्टर दुर्घटनामा परेर करिब ४ लाख रुपैयाँ बराबरको तेल खोलामा बगेपछि थप क्षति व्यहोरेको छ।

लगातारको संकटका बाबजुद नागरिकलाई इन्धन अभाव हुन नदिई सेवा जारी राखेको भन्दै स्थानीयवासीले सञ्चालक समूहको सेवा प्रयासको प्रशंसनीय रहेकाे बताएका छन् । 





बाढीका कारण दलित समुदायका ६२ जना बेपत्ता

 


रसुवा, नेपाल चीन सिमानाको लेन्दे खोला हुँदै भोटकासीमा आएको बाढीका कारण ५ गाउँपालिका रहेको रसुवामा दलित समुदायका ६२ जना बढि बेपत्ता भएका छन् । 

स्थानीय तहले संकलन गरेको प्रारम्भीक तथ्यांकका आधारमा नौकुण्डमा ३, कालिका १०, आमाछोदिङमो ९, गोसाइँकुण्ड २२ र उत्तरगया गाउँपालिका क्षेत्रका १६ जना गरी ६२ जना बेपत्ता रहेका छन् । 

बेपत्ता भएका युवाहरु धेरै रहेका छन् । तगत संकलन भइरहेको हुनाले अझै संख्या थपिन सक्ने गोसाइँकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताए । 


Thursday, September 24, 2026

महलबाट सून्यमा पुगियाे भन्छन् प्याकुरेल

 



रसुवा , उत्तरगया गाउँपािलका -५ का हरि प्याकुरेल भन्छन् बाढीले जिराे नै बनायाे । हुन पनि धेरैलाइ भदाै १० गते नदिकाे बाढीले सून्यमा नै झारेकाे छ ।

प्याकुरेल ९ गतेसम्म गाउँपालिकालाइ घर भाडामा दिने घरबेटी बा थिए । अहिले अरूकाे घरमा काेठा खाेजेर बस्नु पर्ने बनायाे । दु:ख गरेर सबै व्यवस्थापन गरेका उनकाे १० आना क्षेत्रफलमा बनेको ३० कोठाको घर थियो, २५ कोठा गाउँपालिकालाइ भाडामा लगाएका थियौँ । घरसँगै ५ रोपनी जमिन पनि थियो। बाढीले जिरो नै बनाएर लिएर गयो। अब हामी त सुकुमवासी नै भयौँ । उनी जस्तै धेरैले यस्ताे अवस्था भाेग्नु परेकाे छ ।

उत्तरगयामा बाढी प्रभावितलाई एलपी ग्यास र चुलो वितरण


रसुवा,  भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको दैनिकी सहज बनाउन एसोसिएसन फर इन्टरनेशनल सोलिडारिटी इन एशिया (ASIA) ले उत्तरगया गाउँपालिकासँगको समन्वयमा १५० सेट एलपी ग्यास सिलिन्डर, ग्यास चुलो तथा आवश्यक सामग्री वितरण गरेको छ।

विपद्पछिको कठिन परिस्थितिमा रहेका प्रभावित परिवारहरूलाई सुरक्षित रूपमा खाना पकाउने सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो। लाभग्राहीहरूको छनोट तथा वितरण कार्य उत्तरगया गाउँपालिकासँगको समन्वयमा सम्पन्न गरिएको थियो । जसले वास्तविक प्रभावित परिवारसम्म सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको छ।

भोटेकोशी बाढीको प्रारम्भिक चरणदेखि एसिया अनलुसले राहत तथा पुनःस्थापनाका विभिन्न गतिविधिहरूमार्फत प्रभावित समुदायलाई निरन्तर सहयोग गर्दै आएको छ। राहत वितरणसँगै संस्थाले शिक्षा क्षेत्रको पुनःस्थापनाका लागि पनि पहल गरिरहेको छ ।  उत्तरगया–५ स्थित शिवालय आधारभूत विद्यालयमा ४ वटा कक्षाकोठा तथा डाडाँगाउँ माध्यमिक विद्यालयमा करिब ५० विद्यार्थी अट्ने छात्रावास भवन निर्माणको तयारी भइरहेको छ।

विपद्बाट प्रभावित समुदायको शीघ्र पुनःस्थापना तथा जीवनयापनलाई सहज बनाउन स्थानीय सरकार, सरोकारवाला निकाय तथा समुदायसँग सहकार्य गर्दै आगामी दिनहरूमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेकाे एसिया अनलुसका युवराज न्याैपानेले बताए । 



 विपत पछिकाेअभावमा ग्यास र चुलाे राहत प्रदान गरेकाेमा गाउँपालिका उपाध्यक्ष चमेली गुरूङले धन्यवाद दिइन् ।