रसुवा, लेन्देहुँदै भाेटेकाेसी नदिमा आएको बाढीका कारण प्रभावित आफ्ना कर्मचारी तथा उनीहरूका परिवारको खोज, उद्धार र सहयोगका लागि निरन्तर काम गरिरहेको एक दुसान इनर्बिलिटी कम्पनी लिमिटेडले जनाएको छ।
कम्पनीका अनुसार घटना भएलगत्तै जिल्ला प्रहरी कार्यालयलगायत सुरक्षा निकाय, कालिका र गोसाईँकुण्ड गाउँपालिका,जिल्ला प्रशासन कार्यालय रसुवा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई घटनाको विवरण सहित आधिकारिक रूपमा जानकारी गराइएको थियो।
कम्पनीले घटनापछि भदौ १५ गतेदेखि हालसम्म करिब १९ पटक हेलिकप्टरबाट खोजी गरिएको जनाएको छ। साथै, चितवनसम्मको तल्लो तटीय क्षेत्रमा दैनिक ड्रोनमार्फत खोजी कार्य जारी रहेको र खोजी, उद्धार तथा उत्खननको कामसमेत अघि बढाइएको कम्पनीको भनाइ छ।
परिवारजनलाई घटनास्थलसम्म पुगेर खोजी कार्यमा सहभागी हुन सहज होस् भन्ने उद्देश्यले कम्पनीले बसोबास र हेलिकप्टरको व्यवस्था गरेको जनाएको छ। नेपाली सेना र कोरियाली राजदूतावासको सहयोगमा विभिन्न कठिनाइका बाबजुद परिवारजनलाई आयोजनास्थलसम्म पुर्याइएको कम्पनीले जनाएको छ।
यसैगरी, कम्पनीले भदौ ११ गते आपत्कालीन राहत कोष स्थापना गरी प्रत्येक पीडितका परिवारलाई एक लाख रुपैयाँका दरले अन्तरिम राहत उपलब्ध गराएकाे दुसान इनर्बिलिटी कम्पनी लिमिटेडका सामाजिक अधिकृत अर्जुन न्यौपानेले बताए ।
परिवारजनको सहायताका लागि भदौ २१ गते ‘फ्यामिली असिस्टेन्स सेन्टर’ स्थापना गरी सम्पर्क व्यक्ति तोकिएको र केन्द्रका सदस्यहरूले पीडित परिवारसँग निरन्तर सम्पर्कमा रहेर कम्पनीका योजना तथा उपलब्ध सहयोग बारे जानकारी दिइरहेको कम्पनीले जनाएकाे छ।
आर्थिक रूपमा कमजोर परिवारलाई विशेष प्राथमिकतामा राखेर घरमै पुगेर सेवा–सुविधा, बीमा रकम तथा सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने रकमका विषयमा जानकारी दिने र आवश्यक सहजीकरण गर्ने कामसमेत भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीले बेपत्ता तथा मृत्यु भएका श्रमिकका परिवारसँग छलफल गरी सामाजिक सुरक्षा कोष, नाता प्रमाणित र वडा सिफारिसलगायतका विषयमा कानुनी परामर्श सहित आवश्यक सहयोग र सहजीकरण गरिरहेको दाबी गरेको छ। बाढीमा हराएकाहरुको हेलिकप्टरबाट चितवनसम्मको तल्लो तटीय क्षेत्रमा केन्द्रित रही दैनिक ड्रोनबाट खोजी उद्धार तथा तथा उत्खननको कार्यसमेत अगाडि बढाइरहेको छ ।
बाढीको कारणबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेका प्रारम्भीक प्रतिवेदनमा घटनाको मुख्य कारण दोस हितको बाढी रहेको जानकारी दिइएको कम्पनीले उल्लेख गरेको छ। घटना बारे विशेषज्ञबाट अध्ययन भइरहेको र हालसम्म कुनै संस्थालाई जिम्मेवार ठहर गर्ने अन्तिम निष्कर्ष नआएको कम्पनीको भनाइ छ।
कम्पनीले नियमित रूपमा अद्यावधीक गरेको विवरण अनुसार कोरियाली र नेपाली गरी कुल ८६ जना कर्मचारीहरू मध्ये ४४ जना सकुशल रहेका छन्। ४२ जना मध्ये तीन जनाको मृत्यु भएको र ३९ जना अझै सम्पर्क विहीन रहेको कम्पनीले जनाएको छ।
यी विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय रसुवाको अभिलेखसँग दैनिक रूपमा अद्यावधिक भइरहेको बताइएको छ।
घटनापछि पीडित कर्मचारी तथा परिवारको सुरक्षा, सम्पर्क विहीनहरूको खोजी तथा विवरण व्यवस्थापन र गृह मन्त्रालयसहित स्थानीय तहका निकायसँगको समन्वयलाई उच्च प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार खोजी तथा उत्खनन् कार्यमा सहयोग पुर्याउन नेपाल सरकारलाई १५ वटा ‘बबक्याट’ उपकरण समेत हस्तान्तरण गरिएको छ।
दुसान इनर्बिलिटी कम्पनीका अनुसार बाढी पछि उद्धार, खोजी तथा परिवारजनको सहयोगका लागि नेपाली सेना, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कोरियाली दूतावास र नेपाल प्रहरीलगायतका निकायसँग निरन्तर समन्वय भइरहेको छ।
थप जानकारी तथा सूचनाका लागि लागि कम्पनीका प्रशासनिक अधिकृत प्रकाश पन्तलाई ९८४०५२००८५ मा सम्पर्क गर्न सकिने समेत कम्पनीले जनाइएको छ।



No comments:
Post a Comment