ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, January 26, 2026

नाैकुण्डकाे नेकाङ गुफा अ‍ोझेलमा



सरस्वती न्याैपाने

रसुवा, उचित प्रचार प्रसार अभावमा धेरै स्थानले चर्चा पाउन सकेका छैनन् । यस्तै उपेक्षामा परेकाे छ नाैकुण्डकाे  नेकाङ गुफा । 

याे गुफा नौकुण्ड गाउँपालिका-२  युब्रा गाउँको अगाडि अवस्थित छ । नेकाङ गुफा साधारण गुफा होइन । यो एक अत्यन्तै विशाल, रहस्यमय र दैविक शक्तिलेले पुर्ण  पवित्र स्थल भए पनि उचित प्रचारप्रसारको कमीले अ‍ोझेलमा परेको हाे । 

युब्रा गाउँका स्थानीय गणेशमान तामाङ भन्नुहुन्छ, ‘यो गुफालाई हल्कारूपमा लिनु वा खेलाँची सम्झनु ठूलो भूल हुनेछ । किनकि यहाँ देवी माको बासस्थान रहेको स्पष्ट अनुभूति हुन्छ । देवी मा कहिल्यै एक्लै बस्नुहुँदैन । उहाँसँगै बनझाँक्री, सिमेभूमे, बायुक, स्याउरी, नाग–नागिनीलगायत अनेकौँ दैवी शक्तिहरूको सहअस्तित्व रहेको छ ।’

गुफाभित्र रहेको अण्डाजस्तो आकारको विशेष संरचना अत्यन्त शक्तिशाली छ, जुन बनझाँक्री–शक्तिसँग सम्बन्धित भएको संकेत स्पष्ट देखिन्छ । त्यो बल्छ, ऊर्जा दिन्छ र अनौठो अनुभूति गराउँछ । इतिहास र जनविश्वासअनुसार नुवाकोटको ब्रादी भन्ने स्थानमा पनि यस्तै देवी माको गुफा रहेको थियो । दिदी–बहिनी देवीहरूसँगै बस्ने क्रममा भएको मतभेदपछि दिदी देवी थाचपको नेकाङ गुफामा आएर बस्नुभएको भन्ने जनश्रुति छ ।

अझै आश्चर्यको कुरा, थाचपदेखि नुवाकोट ब्रादीसम्म गुफामार्गले नै जोडिएको विश्वास छ, जहाँ दिदी–बहिनी देवीहरू कहिलेकाहीँ भेट्न जाने बाटो रहेको भनाइ आज पनि जीवित छ । अर्को कुरा धामीझाँक्री लामाहरु विषेश गरी यस नेकाङ गुफामा बस्ने र ज्ञान लिने गरेको बताइन्छ ।

खास गरी भर्खर उत्रिँदै गरेका धामी लामाहरु ज्ञान आर्जनका लागि गुफा बस्ने गर्छन् । सबैले मान्ने गुरुले आफ्ना चेलाहरूलाई आध्यात्मिक ज्ञान आर्जनका लागि गुफा बसाउन लाने गर्छन् । 

माघ १ गतेका दिन गुफाबाट फर्किएपछि मुख्य आकर्षण नै धामीझाँक्रीको कला, लामा नाच प्रदर्शन, स्थानीय नाचगान प्रदर्शन हुने गर्छ । यति ठूलो ऐतिहासिक, धार्मिक र दैविक महत्व बोकेको स्थल हुँदाहुँदै पनि आजसम्म यसको उचित संरक्षण, सरसफाइ र व्यवस्थापन नहुनु दुःखद हो । मान्छेले थुपारेको ढुंगालाई पर्यटन क्षेत्र घोषणा गरिन्छ भने, यति ठूलो शक्ति, आस्था र इतिहास बोकेको स्थानले किन उपेक्षित रहनुपर्ने हो ?



स्थानीय गणेशमान तामाङ भन्नुहुन्छ, ‘सरकार पक्ष, स्थानीय तह, आम जनता र सम्पूर्ण भक्तजनहरूले यसको प्रचार र संरक्षण गर्नुपर्छ । नेकाङ गुफालाई धार्मिक तथा आध्यात्मिक पर्यटन क्षेत्र घोषणा गरी वैज्ञानिक एवं धार्मिक दृष्टिले संरक्षण गरिनुपर्छ । यसको नियमित सरसफाइ र सुरक्षित पूर्वाधारमा ध्यान दिइयोस् ।’

उहाँका अनुसार यसो हुन सकेमा स्थानीय जनतालाई रोजगारी र पहिचानको अवसर सिर्जना हुनेछ । यसले केवल देवी माको शक्ति संरक्षण मात्र होइन, नौकुण्ड गाउँपालिका र सम्पूर्ण क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने माध्यम बन्न सक्छ । आस्था, शक्ति र प्रकृतिको संगम रहेको यो पवित्र भूमिलाई जोगाउनु हाम्रो सामूहिक दायित्व हो । आज ध्यान नदिँदा भोलि पछुताउनु नपरोस् ।

यो धार्मिक गुफा– आस्थाको केन्द्र, शक्तिको स्रोत र नौकुण्डको पहिचान हो भनिन्छ । यो कुनै मानवनिर्मित गुफा नभएर दैवीशक्तिको रूपम रहेको प्राकृतिक गुफा हो । यसैले सबैले यसको संरक्षण र प्रचार गर्न जुर्मुराउनु जरुरी छ ।



एउटै गाउँपालिकाबाट ६ जना उम्मेदवार



रसुवा,  आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लाभर १२ जना उम्मेदवारमध्ये ६ जना उत्तरगया गाउँपालिकाबाट रहेका छन्। 

उत्तरगया गाउँपालिकाबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधव लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वसन्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का हरिप्रसाद घिमिरे, मंगोल नेशनल अर्गनाइजेसनका विनोद थिङ, कम्युनिस्ट पार्टी ९माओवादी०का होमप्रसाद आचार्य रहेका छन्।  

नौकुण्ड गाउँपालिकाबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका दाबासाङ्बो तामाङ, स्वतन्त्र सागर लामा र दावामिङमर तामाङ छन् भने आमाछोदिङमो गाउँपालिकाबाट मानबहादुर तामाङ उज्यालो नेपालका उम्मेदवार हुन्। 

कालिका गाउँपालिकाबाट नेकपा एमालेका केन्द्रीय सदस्य प्रेमबहादुर तामाङ  र स्वतन्त्र उम्मेदवार चित्रकुमारी देवकोटाले उम्मेदवार छन्। उम्मेदवारहरू पार्टीका कार्यकर्ता तथा समर्थकसहित नारा जुलुससहित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका थिए।



Friday, January 23, 2026

कपाल मुण्डन गरेर बाबुको काजकिरिया गर्दै योगमाया


रसुवा, हिन्दू संस्कारअनुसार छोराले मात्रै बाबु आमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै कालिका गाउँपालिका–२ की ४९ वर्षीया योगमाया ढकाल इश्वरीले कपाल मुण्डन गरेर बाबुको किरिया बसेकी छिन् । 

ब्राम्हण समुदायमा छोराले मात्रै बाबु आमाको काज–किरिया गर्ने परम्परा छ । याेगमाया ब्रम्हणकी जेठी छाेरी अबिबाहित हुन् । लामाे समयदेखि दमको समस्याबाट ग्रसित रोहिणीप्रसाद ढकालको माघ ६ गते ८१ वर्षको उमेरमा मृत्यू भयो । मृतक ढकालका सन्तान ३ छाेरीहरू याेगमाया, सरस्वती र गायत्री  मात्र हुन्। 

आफुलाइ जन्मदिने बाबु आमाको सेवा गर्ने र अन्त्यष्ठि कर्म पनि आफ्नै जिम्मेवारी हो योगमायाले भनिन् ‘छाेरा जत्तिकै छोरीको पनि भूमिका हुनुपर्ने र यस्ता लैङ्गिक असमानता हटाउन पनि बाबुको किरिया थालेकी हुँ ।’

उनकाे इच्छा अनुसार कपाल मुण्डन गरेर उनले काका टंकप्रसाद र अरू आफन्तको सहयाेगमा अन्त्यष्ठि कर्म गरिरहेकी छिन् । छोरा नहुँनेका परिवारमा छोरीले यसरी कपाल मुण्डन गरेर बाबुको काजक्रिया गर्न सुरूवात गरेको यो पहिलो कार्य हो ।

‘इश्वरी दिदीले नै बाबुकाे अन्त्यष्टिमा दागबत्ती दिइन् र नियमित काजक्रिया पनि सुरु गरिन् अब समाजमा संस्कार सुधारको थालनी भयो, यो सकरात्मक कुरा हो ’ स्थानीय समाजसेवी शंकर न्यौपानेले भने ।



निकुञ्जको सनकले फाँडियो किसानको लहलहाउँदो ६ हजार बोट गोलभेँडा, निन्दनिय छ : किसान महासङ्घ



रसुवा, टनेलामा हुर्किरहेको करिब दुई महिनाको ६ हजारभन्दा बढी लहलहाउँदो गोलभेँडाका बोटहरू नियाल्दा एउटा किसानको मनमा के पाक्छ होला  ? आफ्नै पसिनाको बलमा खेती गर्न लाग्ने खर्च खेताला अनि मुनाफाको आश । 

जब त्यस्ता फल लाग्दै गरेका हजारौँ गोलभेँडाका बोटहरू चट् चट् चट् काटिन्छन् एक दिन । किसानको मन कति दुख्ला ? जसको परिवारले पुस्तौँदेखि खेतीबालीमै आफ्नो जीविकोपार्जन  गर्नुपरेको छ । 

रसवा जिल्ला नौकुण्ड गाउँपालिका वडा नं ५ स्थित लामाचेत गाउँमा एउटा परिवारले करिब ८ रोपनी पाखा जग्गामा लगाइएको लहलहाउँदो गोलभेँडाका बोटहरू तस्वीरमा छ लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारीहरूको दल बल नै आएर काटेर तहस नहस परिदिएका छन् । 

निकुञ्जले प्रतिजग्गामा खेती गरिएको भन्दै लगाउँदै गोलभेँडा खेतीको विनास गरेका हुन् । निकुञ्जका कर्मचारीहरूले करिब ३५ लाख रुपैयाँ बराबरको क्षति पुर्याइदिएको कृषक चुडामणि पौडेलले बताए । 

कृषक पौडेल त्यस क्षेत्रमा पुस्तौँदेखि बस्दै आएका छन् । उनी लामाचेतका स्थायी बासिन्दा हुन् । आफूले नापी भएकै जग्गा भोगचलन गरेको कृषक पौडेलको दाबी छ । यद्यपि, केही महिनाअघि नापी कार्यालयले समेत केही जग्गा सामुदायिक वनमा पर्ने भन्दै चिह्न लगाइदिएको थियो । सो कुरा थाहा पाएपछि पिडीत पौडेलले आफूले तिरो तिरेको जग्गा देखाइदिनु पर्ने तर्क गरेका थिए । आफूले लगाएको बाली स्याहार्न पाउनुपर्ने उनको भनाई थियो । 

स्थानीयहरूका अनुसार पनि उक्त जग्गा पौडेलले पुस्तौँदेखि भोगचलन गर्दै आएका हुन् । पीडित पौडेलको परिवार मात्रै नभएर त्यस वरपरका करिब ३० घरधुरी परिवारमध्ये अधिकांशले नापी नभएको प्रतिजग्गामा बसोबास गरिरहेको स्थानीयहरूले जानकारी दिए । 

“आफूले पुस्तौँदेखि भोग चलन गर्दै आएको जमिन प्रतिजग्गा रहेछ र आफ्नो खास नापी रहेको जग्गा अर्को नजिकै स्थानमा रहेछ भन्ने कुरा केही महिनाअघि मात्रै नापीको कर्मचारीबाट थाहा पाएको थिएँ” उनले भने । 

कानुनी उपचारको समय नदिइकन बलजफ्ती निकुञ्जका कर्मचारीले गुण्डागर्दी शैलीमा खेतीबाली नष्ट गरेको आरोप पीडित पक्षको छ ।  

“मेरो परिवार घर नभएको मौका छोपेर दलबलसहित आएर ६ हजार बढि गोलभेँडाका बोट काटिदिए । यो किसानमारा कर्मचारी हो मलाई अन्याय भएको छ, राज्यले किन कसानलाई विस्थापित गर्न खोज्दैछ रु” पौडेलले प्रश्न गरे । 

आफूलाई लगाएको बाली स्याहार्नेसमेत समय नदिएको कृषक पौडेलले खेद जनाए । “मलाई मेरो नापी भएको स्थानमा जग्गा देखाउनु पर्यो, दिलाउनुपर्यो । यदि यो प्रतिजग्गा नै रहेछ भने पनि किन मलाई उचित मौका दिइएन रु मेरो बाली स्याहार्ने समय दिइएन रु” पौडेलको प्रश्न छ । 

आफूले दिएको निवेदनको वास्तै नगरी क्षति पुर्याइदिएको भन्दै उनले सोवापत क्षतिपूर्ति पाउनुपर्ने मागसमेत राखे । “मलाई मेरो सम्पूर्ण क्षतिपूर्ति चाहिन्छ । यहाँ ३५ लाख रुपैयाँ नोक्सानी भएको छ, गोलभेँडा मात्रै काटिदिएनन्, टनेलका प्लाष्टिक, पाइप मल्चिङ सबै बिगारिदिएका छन् । पुस्तौँदेखि मैले भोग चलन गरेको जमिन आजै कसरी छोड्न सक्छु रु यो मेरो पैत्रिक सम्पत्ति हो” उनले भने, “केही समय बुझ्ने मौकै नदिइ मेरो निवेदनको वास्तै नगरी नियोजित रूपमा खेतीको विनास गरे । निकुञ्जले मेरो नापी भएको जग्गा देखाओस्, क्षतिपूर्ति देओस्, यो नियम सबैका लागि सामान रूपमा लागु गरोस् ।” 

वनको नियम देखाएर कर्मचारीहरूले व्यवहार गर्दा किसान उद्योगीहरूसँग द्वन्द्व बढिरहेको उनको भनाइ छ । राज्यले वन र कृषक एक अर्काका साझेदार हुन् भनेको छ । वनको रक्षक किसान हुन् । किसानले वन जोगाउँछ भन्ने राज्यको नीति हो तर, वन क्षेत्र वरपर वसोबास गर्ने किसानहरू सधैँ मर्कामा परेको सुनिन्छ । वन र किसान सँगसँगै जानुपर्ने भनिए पनि वनको ऐन–नियमको डण्डा देखाउँदै पुस्तौँदेखि बसिरहेका स्थानीय किसानहरूलाई विस्थापित हुन बाध्य बनाएको एउटा उदाहरण बनेका छन् – चुडामणि पौडेल । 

पुस्तौँदेखि जीविकोपार्जन गर्दै आइरहेका किसानहरूलाई अहिले त्यहीँ वनको नियम भारी बनेको देखिन्छ । अखिल नेपाल किसान महासङ्घकी महासचिव सरिता भुसालका अनुसार किसान चुडामणि पौडेल अन्यायमा परेका छन् । उनलाई सम्बन्धित निकायले जति सक्दो छिटो क्षतिपूर्ति सहित न्याय दिलाउनुपर्दछ ।

“यस्तो प्रकारको घटना निन्दनिय छ । किसानमाथिको बर्बर यताना हो । किसान महासङ्घ घोरभर्त्सना गर्दछ । राज्यले किसानलाई संरक्षण गर्ने नीति लिएपछि विभिन्न स्थानमा कर्मचारीहरूको सनकले ऐननियमको अनेक डण्डा देखाउँछ किन रु” उनले भनिन्, “राज्यको नीति सबैका लागि समान हुनुपर्दछ । यसरी एउटा परिवारप्रति मात्रै लक्षित हुनु घोर अन्याय हो, हामी भर्त्सना गर्दछौँ । सामुदायिक वनको छेउमा आश्रित किसानहरू वैकल्पिक उपाय बिना विस्थापित हुनु भएन । पुस्तौँदेखिको भोग चलन गरि आएका किसानहरूलाई उचित व्यवस्था गरेर मात्रै हटाइनुपर्दछ । न कि एउटा सूचनाको भरमा । राज्यको यस्तो व्यवहारले हामी किसानहरू आन्दोलिन हुन बाध्य हुनेछौँ । ”

किसानलाई उचित विकल्प नदिई लाखौँको बाली नष्ट गरिदिएको भन्दै महासचिव भुसालले भत्र्सना गरिन् । “ती कर्मचारी किसानकै करले पालिएका हुन् । कसैलाई काख, कसैलाई पाखा गर्न मिल्छ रु महासचिव भुसालले थपिन्, “प्रति जग्गामा रहेको भए पनि उसको बाली स्याहार्न पाउने हक समय दिनुपर्दछ, राज्यले बैकल्पिक व्यवस्था देखाउनुपर्दछ । न त्यहाँ कुनै ठूलो आयोजना बन्दैछ न सरकारले उपयोगमा ल्याएको छ । यस्तो अवस्थामा पुस्तौँदेखि भोगचलन गरिआएका, जीविकोपार्जन  गरिआएका किसानहरूलाई उचित विकल्प नदिई निमोठ्नु निन्दनिय छ कडा कारबाही हुनुपर्दछ । 

अर्थ डबलीले किसानको गोलभेँडा फडाँनी गर्न नेतृत्व गरेका लाङटाङ राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत श्याम कुमार शाहसँग सम्पर्क गरेको थियो । उनले भने, “सरकारी जग्गा संरक्षण गर्नु हाम्रो कर्तव्य हो । हामीले नियमानुसार नै गोलभेँडा खेती नष्ट गरेका हौँ । पीडित पक्षलाई हामीले असारमै ३५ दिने सूचना दिएका थियौँ । पुनः कार्तिकमा १५ दिने सूचना समेत दिएका हौँ । अटेरी गरेपछि त्यो क्षेत्र संरक्षण गर्न हामी बाध्य भएका हौँ । त्यस क्षेत्र वरपर अन्य व्यक्तिहरूले पनि सार्वजनिक जग्गा भोगचलन गर्दै आएको उजुरी परेमा उनीहरूलाई पनि नियमानुसार कारबाही गर्न बाध्य हुनेछौँ ।”

यता पीडित कृषक पौडेलेको तर्क भने फरक छ । उनी भन्छन्, “यो मेरो पैत्रिक सम्पत्ति हो । कर तिरिरहेको छु । यदि प्रति जग्गा रहेछ भने मेरो तिरो तिरेको जग्गा देखाइदिनु पर्यो । मैले स्थानीय निकायमा यो विषय किनारा नलागुन्जेल बाली स्याहार्न पाउनुपर्ने गरी उचित व्यवस्थापन गर्न निवेदन गरेको थिएँ, एक्कासी फँडानी किन गर्नु परेको हो रु कानुनी उपचार खोजी रहेको समयमै निकुञ्जले गुण्डागर्दी शैलीमा उत्रिनु गलत छ । म अन्यायमा परेको छु ।”  

स्थानीयहरूका अनुसार कृषक पौडेलले बाँझो जमिनमा खनजोत गरी उदाहरणिय गोलभेँडा खेती गरेका थिए । उनको गोलभेँडा खेती त्यस क्षेत्रकै नमूना खेती भएको भएको स्थानीयले जानकारी दिए । 

अनुसन्धानको विषय किनारा नलाग्दै किसानको ६ हजार गोलभेँडाको बिरुवा काटिनुपर्ने कारणबारे निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत शाह मौन रहे । उनी थप बोल्न चाहेनन्, थप जानकारी सूचना अधिकारीबाट लिनु भन्दै पन्छिए । उक्त घटना यही पुसमा शाहकै नेतृत्वमा भएको थियो । 

यता गाउँपालिकाका उपाध्यक्ष चन्द्र बहादुर गलानले सो घटनाबारे दुःख व्यक्त गरे । उनले भने, “यो दुःखद् घटना हो । यसलाई मुद्दा मामिलाभन्दा आवश्यक सल्लाह गरेरै अघि बढ्नुपर्दछ । निकासका लागि समन्वय गर्न हामी तयार छौँ । सकेको राहत तथा सहयोग पनि गर्नेछौँ ।”

उनका अनुसार सो क्षेत्रमा पुस्तौँदेखि स्थानीयहरूले आफ्नो जमिन ठानेर खेतीबाली गर्दै, जग्गा भोगचलन गर्दै आएका छन् । “कहाँ प्रतिजग्गा कहाँ नम्बरी भन्ने कुरा एउटा पालिकाको लगानीले मात्रै अनुसन्धान गर्न सक्दैन” उनले भने “राज्यले नै यस्तो समस्याको समाधान गर्नुपर्दछ । हामी तत्काल समस्या परेको क्षेत्रमा प्राविधिक पठाएर सहयोग गर्न तयार छौँ । पीडित पक्षलाई पनि सक्दो सहयोग गर्ने छौँ ।” 

रसुवा जिल्ला प्रमुख अधिकारी राजेश पन्थीले उजुरीको आधारमा निकुञ्जका कर्मचारीले कारवाही प्रक्रिया अघि बढाएको जानकारी दिए । उनले भने, “मैले सूचना पाएअनुसार प्रति जग्गामा घर टहरा बनाई खेतीबाली लगाएको भन्ने उजुरीको आधारमा त्यहाँ चुडामणि पौडेल कारबाही गरिएको हो । राज्यले नियमानुसार प्रति जग्गा संरक्षण गर्ने गरी अघि बढ्न पाउँछ ।”

घटनाबारे अनुसन्धान गरी गल्ती गर्नेले सजाय पाउने उनले बताए । “नियम कुनै एक घररपरिवार मात्रै लक्षित हुँदैन । तर, मेरो निष्कर्ष केही समय बाली स्याहार्न दिनु भएको भए हुने थियो । अब क्षति भएपछि उक्त क्षतिपूर्ति मिलाइदिनुसम्म भनेको छु तर, अझै दोहोर्याएर अुनसन्धान गरि कसको गल्ती हो उसले सजाय पाउनुपर्दछ” उनले भने, “मलाई भएको रिपोर्टिङ अनुसार निकुञ्जले पटक पटक सूचना निकालेर स्थानिय निकाय, नेपाली सेना तथा समुदायसँग समन्वय गरी यो कारबाही गरिएको हो । अतिक्रमित स्थानबाट हटाउन खोजिएको हो ।” 

यस घटनाले पौडेलेको परिवार मात्रै नभई त्यस वरपरका ३० भन्दा बढि घरधुरीसँगै पालिकाभरका स्थानीय नै प्रभावित हुने देखिन्छ । अधिकार पाएको स्थानीय निकाय गाउँपालिकाले पुस्तौँदेखि भोगचलन गर्दै आइरहेको प्रतिजग्गालाई कसरी किसानमैत्री बनाउँला ? अब पालिका र निकुञ्जले  यस्ता प्रति जग्गामा रहेका, पुस्तौँदेखि भोगचलन गरिरहेका किसानहरूको अन्नबाली, पौडेलको गोलभेँडा खेती जस्तै फाँडेर किसान बिस्तापित गर्छ वा कुनै बैकल्पिक उपाय बनाएर किसान संरक्षण गर्ला ?



Thursday, January 22, 2026

पठन संस्कृति : उन्नत जीवनको आधार



देवराज सिंखडा

हामीले पूर्वीय दर्शनमा आधारित जीवनपद्धति अँगाल्दै आएका छौँ । हाम्रा पुर्खाहरू ज्ञानकोश प्रकृति, मौलिक संस्कृति, पुर्खाले सिर्जना गरेका अनमोल सिप, कला र प्रविधिसँग नजिक रहेर, खेलेर, चिन्तन, मनन र ध्यान गरेर ज्ञान आर्जन गर्दथे । विभिन्न परिस्थिति र घटनामा परेर र आवश्यकता, चाहना र बाध्यताले धेरै प्रकारका अभ्यास र प्रयोग गरेर अनुभव हासिल गर्दथे । यिनै अनुभवबाट ज्ञान र संस्कार निर्माण हुन्थे । आफुले सिकेको, 

जानेको, बुझेको अनुभव र ज्ञान अरूलाई बाँड्न, सिकाउन उद्यत् हुन्थे । उतिवेला रचना गरिएका विश्वविख्यात ज्ञानग्रन्थहरू वेद, उपनिषद्, पुराणहरू, त्रिपिटक, कुरान आदि आधुनिक विज्ञान र प्रविधिका जननी मानिन्छन् । वर्तमान युग ज्ञान र विज्ञानको हो । 

ज्ञान प्राप्त गर्न पुस्तक, घटना, अवस्था, अवस्थितिको अध्ययन, अवलोकन, तर्क र अनुभव आवश्यक पर्दछ । परम्परागत रूपमा विभिन्न प्रकारबाट ज्ञान प्राप्त गर्न सकिन्छ; पढेर, गरेर, हेरेर वा सुनेर र अनुभव गरेर । यी कुरा हामीमा नै निहित छन् । शरीरका ज्ञानेन्द्रियहरू कर्मेन्द्रियहरू, मन र मस्तिष्क ज्ञान प्राप्तिका माध्यमहरू हुन् । हामी जहाँ–जहाँ पुग्दछौँ, जे–जे देख्दछौँ वा जे–जे गर्छौँ, जे–जे अनुभव गर्र्छौँ, यिनै हुन् ज्ञान वृद्धि गर्ने प्रमुख मार्गहरू । अहिले विज्ञान र प्रविधिको तीव्र विकासले सूचना तथा सञ्चार प्रविधिमा पहुँच विस्तार भएको छ ।

 इन्टरनेटको प्रयोग सही ढङ्गले गर्न सकेमा सिकाइको एउटा भरपर्दो र सर्वसुलभ माध्यम बन्न सक्छ । पछिल्ला केही वर्षहरूदेखि मानिसहरूको ध्यान किताब खोज्ने, किन्न र पढ्नमा भन्दा मोबाइल फोन, ट्याब्लेट, ल्यापटपजस्ता अत्याधुनिक विद्युतीय उपकरणतिर बहकिने गरेको छ । आजका किशोर, युवा, प्रौढ वा वृद्ध सबैजना यस्तो प्रविधिसँग जानकार छन् र प्रयोगकर्ता बनेका छन् । अहिले सूचना प्रविधि हाम्रो  जीवन पद्धति बनेको छ, बर्सेनि बढ्दै र झाँगिँदै गएको छ ।

केही मानिसहरूबाट सुन्ने गरेका छौँ– ‘अब किताब किनेर पढ्ने जमाना गयो, गुगल, फेसबुक आदि हेरे पुगिहाल्छ नि !’ हाम्रो देशले भर्खरै अल्पविकसित मुलुकबाट बामे सर्दै विकासशील देशको हैसियत बनाउँदै छ । विकसित देशहरूमा किताब पढ्नेको सङ्ख्या घटेको छ र ? 

राम्रा पुस्तकहरू सङ्कलन गर्ने र पढ्ने बानी घटेको छैन, हट्ने त कुरै भएन । विद्युतीय उपकरणमा पढ्नुभन्दा किताबमा नै पढ्नुको छुट्टै मज्जा छ । किताब ज्ञानको र जानकारीको आधिकारिक र भरपर्दो स्रोत हो भने विद्युतीय उपकरणबाट प्राप्त हुने ज्ञान, सूचनाहरू, तथ्याङ्कहरू आधिकारिक र हाम्रो परिवेश, अवस्थाअनुकूल नहुन सक्छन् । यही समाज, यही परिवेश र संस्कृतिभित्र जन्मेर हुर्केका लेखकहरूद्वारा लेखिएका पाठ्यवस्तुहरूको पठनलाई प्राथमिकता दिनुपर्दछ । 

पठनसंस्कृति प्रवद्र्धनका लागि पहिलो आधार आपूm बसेको घर, परिवार हो । घरमा पठनमैत्री वातावरण निर्माण गर्ने काम परिवारका सक्रिय सदस्यहरूको हो । परिवारमा सामान्यतया तीन पुस्ताका सदस्य हुन सक्छन्– अघिल्लो पुस्ता, पछिल्लो पुस्ता र यी दुईबिचको उत्पादनशील पुस्ता । अर्थात् पहिलो पुस्ता, दोस्रो पुस्ता र तेस्रो पुस्ता । यी तीन पुस्तामध्ये पहिलो र दोस्रो पुस्ता मिलेर तेस्रो पुस्तालाई अध्ययनशील बनाउन प्रयत्न गर्नु अपरिहार्य हुन्छ । 

संस्कार राम्रो होस् वा नराम्रो, पुस्तान्तरण हुँदै आएको हुन्छ र हुँदै जानु पनि पर्छ । परिवारमा अघिल्ला पुस्ता कस्ता छन्  । त्यसकै प्रतिबिम्ब हो दोस्रो पुस्ता । दोस्रो पुस्ताको प्रतिच्छाया तेस्रो पुस्तामा पर्छ । यो कुरा बुझेर पहिलो र दोस्रो पुस्ताले तेस्रो पुस्तालाई यस्तो बनाउने भनेर समयमा नै सोच्नुपर्दछ । नत्र, यसको असर परिवारले मात्र होइन, सिङ्गो समाज र कालान्तरमा मुलुकले नमिठो गरी भोग्नुपर्ने दिन आउन सक्छ । भनिन्छ, ‘एउटा असल पुस्तक जीवनको असल साथी र सारथि बन्न सक्छ ।’ असल पुस्तकले कसैलाई हानि पु¥याउँदैन । 

अध्ययनशील मानिसले पनि अरूलाई हानि हुने क्रियाकलाप गर्न सक्दैन । पठनसंस्कृति संस्कारजन्य बानी हो । 

यसले मानिसका नयाँ कुरा जान्ने केही न केही नयाँ कुरा पढ्ने, अभ्यास गर्ने र सिक्ने चाहनामा रमाउन सिकाउँछ । यसले कुनै  कोठाभित्र अलग्गै बसेर किताब पढ्ने बानीको वकालत गर्दैन । व्यक्ति, घरपरिवार र समाजको आवश्यकता, अवस्था, रुचिको आधारमा व्यक्तित्व विकास, व्यवसाय प्रवद्र्धन र सामाजिक सेवाको क्षेत्रमा उपयोगी हुन सक्ने विषयवस्तुको अध्ययन गर्नु  पठन हो भने यसको निरन्तरताले बानीको निर्माण गर्छ । त्यो बानी नै परिष्कार र मानव विकासका लागि उपयुक्त वा स्वीकार्य बन्नु संस्कार हो । 

अतः सरल भाषामा भन्दा पाठ्यसामग्रीहरूको प्रयोगबाट सिकाइलाई अवसरको रूपमा लिनु, सिकेका कुरा जीवनमा उतार्न प्रयत्न गर्नु , सकारात्मक सोच बढाउँदै चिन्तन, मनन र विश्लेषणात्मक क्षमतामा स्तरोन्नति गर्दै जानु पठनसंस्कृति निर्माणतर्पmको यात्रा हो ।  हाम्रो समाजमा पठनसंस्कृति प्रवद्र्धन गर्न सकिने प्रशस्त सम्भावनाहरू छन् । 

नेपाली समाज मूलतः वैदिक दर्शनमा आधारित छ । अधिकांश घरघरमा, टोलटोलमा देवीदेवताहरूको पूजा–आरधना र सत्कार गर्ने परम्परा छ । दैनिक गरिने यी कार्यहरूबाट बालबालिकामा सकारात्मक प्रभाव पार्न सकिन्छ । माथि उल्लेख गरिएजस्तै पहिलो र दोस्रो पुस्ता प्रायः सबै लेखपढ गर्न सक्छन् । सिकाइ, ज्ञान, सिप र चेतनाको उन्नयन गरी साक्षरता वृद्धि, व्यक्तित्व विकास, सामाजिक मर्यादा र सुख–समृद्धि हासिल गर्न पठनसंस्कृति प्रवद्र्धन गर्न आवश्यक छ ।

पठनसंस्कृतिको प्रवद्र्धन एक्लो प्रयासले मात्र सम्भव हु ँदैन । यसका लागि हरेक नागरिक, हरेक परिवार, समाज, सामाजिक सङ्घसंस्था, राज्यका तहगत सरकारहरू, नीति निर्माण र योजना तर्जु मासम्म पुग्नुपर्ने हुन्छ । अझ प्रस्टसँग भन्नुपर्दा बालबालिकाका लागि घरपरिवार र विद्यालय, युवाहरूका  लागि विश्वविद्यालयहरू स्थानीय तह, सामाजिक सङ्घसंस्थाहरू, राजनीतिक दलहरूले भूमिका खेल्न सक्छन् । यसका लागि व्यक्ति नै सर्वाधिक महत्त्वपूर्ण पक्ष हो । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेभैmँ हामी सबैले आफ्नो आम्दानीको कम्तीमा पाँच प्रतिशत रकम पाठ्यसामग्री खरिदमा खर्च गर्न तत्पर हुनुपर्दछ । यसो गर्न सकेमा अभियानमा मद्दत पुग्दछ । 

विद्यालयहरूले मौजुदा पुस्तकालय र बुक कर्नरलाई थप व्यवस्थित गरी सबै बालबालिकाहरूले सहज रूपमा पुस्तकहरू प्रयोग गर्न सक्ने वातावरण बनाउन सक्नुपर्दछ । अबको नयाँ पुस्तालाई सानो उमेरदेखि नै पठनसंस्कार दिन सम्बद्ध पक्ष सबैले ध्यान दिनुपर्छ । 

पठनसंस्कृति प्रवद्र्धन गर्ने राज्यको प्रमुख अङ्ग स्थानीय तह हो । यो जनताप्रति प्रत्यक्ष उत्तरदायी स्थानीय सरकार हो । स्थानीय तहहरूले आफ्नो सेवाक्षेत्रभित्र रहेका सबै तह र प्रकारका विद्यालयहरूमा सूचना प्रविधिसहितको आधुनिक पुस्तकालय र पुस्तकालय कर्मचारीको व्यवस्थालाई पहिलो शैक्षिक कदमको रूपमा लिनुपर्दछ । विद्यार्थीले घरघरमै बसेर पनि प्रयोग गर्न सकिने डिजिटल सामग्रीहरू निःशुल्क वितरण गर्न सक्नुपर्दछ । सामुदायिक पुस्तकालयहरूलाई प्रविधियुक्त, पाठकमैत्री र व्यवस्थित बनाइनुपर्छ । 

विषयगत शाखाहरूले टोल–टोल र बस्तीबस्तीमा गएर चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, बिउबिजनको साथसाथै सान्दर्भिक पुस्तकहरू पनि निःशुल्क वा न्यूनतम शुल्कमा वितरण गर्दा नागरिकहरू थप लाभान्वित हुन्छन् । स्वास्थ्य शाखा, शिक्षा तथा खेलकुद शाखाले पढ्ने, लेख्ने र सिक्ने कुरामा विशेष ध्यान दिन सक्छन् । अर्को प्रभावकारी क्षेत्र सञ्चार हो । 

यसमा कागजी अर्थात् छपाइ माध्यम र विद्युतीय माध्यम दुवैले नागरिकको मौलिक हक, अधिकार सुरक्षित गर्न मानिसहरूको जमघट भइरहने स्थानहरूमा आफ्ना उत्पादनहरू पु¥याइदिन सक्छन् । त्यस्तै, ती उत्पादन, प्रकाशन र प्रसारणहरूलाई  डिजिटल एपमार्फत उपलब्ध गराउन सक्छन् । इन्टरनेट सेवा प्रदायक संस्थाहरूले मानिसहरूको बाक्लो उपस्थिति हुने स्थानहरूमा निःशुल्क वाइफाइ सेवा दिन सक्छन् । राज्यका स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, प्रादेशिक अस्पताल र सङ्घीय अस्पतालहरूले रोग लागेर उपचारका लागि धाइरहनुभन्दा रोग लाग्न नदिन रोकथामको विधि अपनाउन सक्छन् । 

यसका लागि आफ्नो कार्यक्षेत्रमा नै परामर्श सेवा र पाठ्य वा श्रव्यदृश्य सामग्री वितरण गर्न सक्छन् । जडीबुटी खेती गर्न र औषधि कारखानाहरू सञ्चालनमा सहयोग पु¥याउन सकिन्छ । यसैगरी कृषि, वन, कानुनजस्ता मन्त्रालयमातहतका निकायहरूले चेतनामूलक कार्यक्रममार्पmत पठनसंस्कति प्रवद्र्धनमा सघाउन सक्छन् ।

अहिले हाम्रो समाज पुस्ता–पुस्तामा विभाजित हुन थालेको देखिन्छ । एउटा पुस्तामाथि अर्को पुस्ताको भरोसा र सम्बन्ध कमजोर हु ँदै गएको छ । आदर, स्नेह र सद्भाव खल्बलिन लागेको देखिराखेका छौँ । स्वार्थको पहाड चुलिँदै गएको छ । यसको कारण हामी आत्मानुशासनबाट भाग्दै छौँ । के गर्ने, के नगर्ने, के बोल्ने के, नबोल्ने, के लेख्ने, के नलेख्ने, आपूm को हो र अरू को हुन् भन्ने कुरामा ध्यान जान छोडेको छ । परिवार र देशका लागि सिङ्गो जीवन दिएका आमाबाहरू आश्रमहरूमा रोइरहेका छन् । नकारात्मक सोच, विचार र व्यवहारले नयाँ पुस्तालाई अन्यत्र धकेलिरहेछ । नागरिक कर्तव्य र देशभक्ति शिथिल बन्दै गएको छ । 

यी सबै अवस्थाका कारणहरूमध्ये एउटा प्रमुख कारण पठनसंस्कृतिमा देखिएको उदासीनता हो । वास्तवमा पठनसंस्कृति अनुशासन हो, बुद्धि र विवेकको द्वार हो । सचेतना र सहिष्णुता, सामाजिक सद्भाव र उत्तरदायित्व वृद्धिको आधार हो । ज्ञान, सिप र प्रविधिको पुस्तान्तरण र समाजको रूपान्तरणको सरल माध्यम हो । पठनसंस्कृति अज्ञान र अन्धविश्वासको निर्मूलीकरण हो भने ज्ञान, विज्ञान र विश्वासको जग मजबुत पार्नु  हो । कला, साहित्य र विचारमा परिष्कार ल्याउनु हो । अतः मानवजीवनलाई सुखी र समृद्ध बनाउन पठनसंस्कृतिको जगेर्ना र विकास आवश्यक छ ।

लेखक पुर्व शिक्षक तथा समाजसेवी हुन् । 

सालासुङ्गी जलविद्युतले प्रभावित स्थानीयलाई सेयर दिने निर्णय


रसुवा,  आमाछोदिङमो गाउँपालिका–५ मा रहेको सालासुङ्गी जलविद्युत आयोजनाले आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर उपलब्ध गराउने निर्णय गरेको छ।

आयोजनाका इन्जिनियर राजु श्रेष्ठका अनुसार उक्त जलविद्युत आयोजना सन २०१९ मा सुरु भई सन २०२५ मा सम्पन्न भएको हो। 

७८ मेगावाट क्षमताको यो आयोजना करिब २० अर्ब रुपैयाँ लगानीमा निजी क्षेत्रबाट निर्माण गरिएको हो। आयोजना निर्माणका क्रममा प्रभावित बनेका स्थानीय बासिन्दाको माग बमोजिम सेयर वितरण गर्ने निर्णय सहित प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।

स्थानीय स्रोत–साधन, जल, जंगल र जमिन प्रयोग गरी निर्माण गरिएका संरचनामा स्थानीयलाई प्राथमिकताका आधारमा सेयर दिनुपर्ने माग स्थानीयवासीले लामो समयदेखि उठाउँदै आएका थिए। सेयर पाउनुपर्ने मागसहित स्थानीयले विरोध कार्यक्रमसमेत सुरु गरेपछि आयोजना पक्ष सेयर दिन तयार भएको जनाइएको छ।

समुद्री सतहबाट करिब ३ हजार ४ सय मिटर उचाइमा बाँध बनाएर निर्माण गरिएको उक्त आयोजनाबाट हिउँद याममा करिब १५ मेगावाट मात्र विद्युत उत्पादन हुने इन्जिनियर श्रेष्ठले बताए।

आयोजनाको तर्फबाट स्थानीयलाई सेयर दिने विषयमा औपचारिक जानकारीसहित पत्र प्राप्त भएपछि विरोध कार्यक्रम स्थगित गरिएको आमाछोदिङमो गाउँपालिका–५ का वडा अध्यक्ष दावा गोम्बो तामाङले जानकारी दिए।


Wednesday, January 21, 2026

रसुवामा तेस्रो पटक निर्वाचनमा हाेमिए तामाङ र आचार्य लामिछाने र भट्ट नयाँ काे काे छन् उम्मेदवार



रसुवा, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोहन आचार्य र प्रेम तामाङ तेस्रो पटक निर्वाचनमा होमिएका छन् । केही नयाँ अनुहार पनि छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवार गरी १२ जनाको उम्मेदवारी दर्ता गरेका हुन् । 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा ४१ हजार ४ सय ७१ जना मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट इन्जिनियर मोहन आचार्यले तेस्रो पटक उम्मेदवारी मनोनयन दर्ता गराए । आचार्य २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दुई पटक निर्वाचित भइसकेका छन् । 

नेकपा एमालेका केन्द्रीय सदस्य प्रेमबहादुर तामाङले उम्मेदवारी दर्ता गरेका छन् । तामाङ २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित , २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका व्यक्ति हुन् । 

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट माधव लामिछानेले उम्मेदवारी मनोनयन दर्ता गराए । उनी पहिलो पटक निर्वाचनमा होमिएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बसन्त भट्टले पहिलो पल्ट उम्मेदवारी मनोनयन दर्ता गरे । 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का तर्फबाट हरिप्रसाद घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । घिमिरे २०७९ सालको प्रदेशसभा निर्वाचनमा उम्मेदवार रहेका थिए ।

त्यसैगरी मंगोल नेशनल अर्गनाइजेसनका विनोद थिङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका दाबासाङ्बो तामाङ, कम्युनिष्ट पार्टी (माओवादी) का होमप्रसाद आचार्य तथा उज्यालो नेपाल पार्टीका तर्फबाट मानबहादुर तामाङले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी राजन रायले बताए । 

यस अघि रास्वपाका जिल्ला संयोजक रहेका मानबहादुरले राजीनामा गरी उज्यालो नेपालको उम्मेदवार बनेका हुन् । स्वतन्त्रतर्फबाट सागर लामा, दावामिङमर तामाङ र चित्रकुमारी देवकोटाले उम्मेदवारी दिए ।