Find us on Facebook

Responsive Advertisement
यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

Pages

सूचना प्रविधिको विकासमा नकारात्मक असर रोक्न सामर्थ्य राख्नुपर्छ : पत्रकार नेपाल

Saturday, June 1, 2024

सूचना प्रबिधिको विकासमा सचेत हुन आवश्यक

रसुवा, प्रविधिले समाजमा ब्यापक परिवर्तन ल्याएको तर त्यसको भरपुर उपयोग गर्न सक्नुपर्ने पत्रकार किशोर नेपालले बताए । सूचना प्रविधिको विकासका लागि स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

नेपालमा सूचना प्रविधिको नकारात्मक असर रोक्न सरकारले सामर्थ्य राख्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ रसुवाको आयोजनामा भएको छलफलमा उनले सामाजिक संजालले कसै बिरुद्ध आलोचना मात्र गर्ने वा प्रोत्साहन गर्ने खालको सूचना दिने काम भएको तर पत्रकारले व्यवसायीकता निर्वाह गर्नुपर्ने बताए । 

महासंघका पूर्व सभापति समेत रहेका नेपालले पत्रकार महासंघ यो संरचनाबाट नचल्ने बताए । 

व्यवसायिक पत्रकारिता संजालका अध्यक्ष रुची श्रेष्ठले प्रबिधिको विकासको समस्या बुझ्न जरुरी रहेको बताए । लोकतन्त्रमा सूचनामा ठूलो शक्ति भएकोले राज्य व्यवस्थाले कन्ट्रोल गर्नुपर्ने बताइन् । उनले सामाजिक सञ्जालले निम्त्याएको समस्या समाधानमा मुख्य भूमिका पत्रकारकाे हुने बताइन् । 

कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले सामाजिक संजालमा आउने फेक सूचनाले कन्फ्युज हुने गरेको तर नयाँ टेक्नोलोजीको प्रयोग गरेर आय आर्जन गर्न सकिने बताए । 

नयाँ प्रविधिले सामाजिक संजालमार्फत उपचार खर्च जुटेर मानिसको ज्यान बचान सहज भएको समेत सरकोरवालाहरूले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रसुवाका पुर्व अध्यक्षहरू तथा  जनप्रतिनिधिहरू समेत सहभागी थिए । 


नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेश ताेकिएकाे समयमा गर्न माग

रसुवा, नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनबाट तोकिएको मिति जेठ २६ गते सम्पन्न गर्न पत्रकारका ६ वटा संगठनले संयुक्त रूपमा माग गरेका छन् । 

महासंघकाे केन्द्र, प्रदेश, शाखा, प्रतिष्ठान र एशोशियटको निर्वाचन सम्पन्न गर्न तत्काल आवश्यक वातावरण बनाउन विज्ञप्ति मार्फत माग गरिएको छ । नेपाल पत्रकार महासंघका अद्यावधिक सदस्यहरूको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र उक्त नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रिया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण मिलाउन पनि माग गरेका हुन् । 

रसुवा, नुवाकाेटलगायत धेरै जिल्लामा शुद्धिकरणका नाममा क्रियाशील पत्रकारकाे नाम हटाउने कार्य भएकाे भन्दै कार्यालयमा ताला बन्द समेत भएकाे सूचना छ । 

महासंघको २७ औँ महाधिवेशनबाट जेठ २६ गते  निर्वाचनको मिति तोकिएकोले सोही मितिमा निर्वाचन गर्न ती सङ्गठनहरूले माग गरेका हुन् ।  निर्वाचनको मिति नजिकिँदै जाँदा सदस्यता र नामावलीको विवाद देखाएर चुनाव नगर्ने षडयन्त्र भइरहेको ती संगठनकहरुको साझा निष्कर्ष छ । 

तत्काल सदस्यता टुङ्ग्याइ मतदाताको टुङ्गो लगाएर सार्वजनिक गर्न उहाँहरूले माग गर्नुभएको छ । ‘निर्वाचन प्रयोजनका लागि बैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकोमा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, ६ वटा संगठनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


२४औँ विश्व दूध दिवस मनाइयाे


२४औँ  विश्व दूध दिवस मनाइयाे

रसुवा, कालिकास्थानमा पनि २४औँ  विश्व दूध दिवस मनाईएको छ । 
पशु सेवा कार्यालय रसुवा र नुवाकोटको आयोजना र कालिका गाउँपालिकाको सहआयोजनामा दिवस मनाईएको हो । 

पशु सेवा कार्यालय नुवाकोटले वार्षिक कार्यक्रम अनुसार विश्व दुध दिवस २०८१ कालिका गाउँपालिकाको कालिका हिमालय माद्यमिक विद्यालय र कालिका गाँउपालिका जनप्रतिनिधि कर्मचारी र विद्यार्थीहरूलाई दही खुवाएर सुरु गरेको थियाे । 

दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरेको पशु सेवा कार्यालयको प्रमुख डा. राम प्रकाश प्रधानले बताए । 

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्‍याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न दूध दिवस मनाउन थालेको हो । सन् २००१ को जुन १ तारिखका दिन विश्व दूध दिवस मनाउने गरिएको बताए । 

मान्छेले दूध तथा दुग्धजन्य पदार्थ नियमित रुपमा प्रयोग गर्नुपर्ने भन्दै उनले एक जनाले एक दिनमा २५० मिलिलिटर दुध पिउनुपर्ने बताए । ‘एउटा मान्छेले वर्षमा ९१ लिटर दूध खानुपर्छ’, उनको दावी गरे । आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालिएको हो । 

मानिसले जन्मेदेखि खाएकोले यसको महत्व छ हामीले अवको वार्षिक कार्यक्रममा यसलाई प्रथमिकता दिएर अघि वढ्ने कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले बताए । २४औँ  विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी नुवाकोट र रसुवामा मनाइँदैछ ।

२४औँ  विश्व दूध दिवस मनाइयाे


लेखापढी कानुन व्यवसायी एसोसिएसनमा पाण्डे

Thursday, May 30, 2024


लेखापढी कानुन व्यवसायी एसोसिएसनमा पाण्डे


रसुवा, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन रसुवाको धुन्चेमा सम्पन्न चौथो अधिवेशनले तोयानाथ पाण्डे अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।


अधिवेशनबाट उपाध्यक्षमा सञ्जय तामाङ, सचिवमा सितेम्पा तामाङ, सहसचिवमा राज थोक्रा तामाङ, कोषाध्यक्षमा बुद्ध श्रेष्ठ र सदस्यमा राहुल झा, प्राप्ति तामाङ, गोरमेन तामाङ, दावादोर्जे तामाङ चुनिएका छन् । एसाेसिएसनकाे  प्रथम अधिवेशनबाट बलबहादुर नगरकोटी, दोस्रो अधिवेशनबाट ज्ञानेन्द्रनाथ न्यौपाने र तेस्रो अधिवेशनबाट सितेम्पा तामाङ अध्यक्षमा निर्वाचित भएका थिए ।

जिल्ला अदालत रसुवाबाट एक सय ५० जनाभन्दा बढीले लेखापढीकाे काम गर्ने इजाजतपत्र लिए पनि १३ जनाले  नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन रसुवामा आबद्ध भई काम गरिरहेका छन् । 

जिल्ला अधिवेशनमा केन्द्रीय अध्यक्ष सीताराम दाहाल, महासचिव सूर्यबहादुर थापासहित केन्द्रीय सदस्य र जिल्लाका सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति थिए । 

लेखापढी कानुन व्यवसायी एसोसिएसनमा पाण्डे


कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाइयाे

कुकुरको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाइयाे


रसुवा, गोसाईकुण्ड गाउँपालिकामा घर पालुवा तथा छाडा कुकुरको बन्ध्याकरण सहित रेविज विरुद्धको खोप लगाइएको छ ।

जिल्लाका सदरमुकाम समेत रहेको गोसाईकुण्ड गाउँपालिका-६ धुञ्चे, सोले र ठाडेका १ सय २ घर पालुवा तथा छाडा कुकुरको बन्ध्याकरण गरिएको हो ।

नेपाल एनिमल वेलफेयर एण्ड रिसर्ज सेन्टरको प्राविधिक सहयोगमा गोसाईकुण्ड गाउँपालिका पशु सेवा शाखाको आयोजनामा घरपालुवा तथा छाडा भुस्याहा कुकुरहरू नियन्त्रणका लागि ३ दिने कुकुर बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर सञ्चालन गरिएको गोसाईकुण्ड गाउँपालिका पशुसेवा शाखा प्रमुख अनोज बास्काेटाले बताए  ।

जिल्लाको सदरमुकाम स्थित धुञ्चेमा छाडा कुकुर धेरै देखिएको र राती सडकमा हिड्ने यात्रुहरूलाई समय समयमा टोक्ने जनगुनासो आए पछि अनाधिकृत रुपमा हिडडुल गर्ने भुस्याहा कुकुर तथा घरपालुवा कुकुरहरुको नियन्त्रण तथा व्यवस्थापन गर्न अभियान थालेकाे हाृ । 

कुकुरको टोकाईबाट लाग्ने रबिज रोगबाट नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले बन्ध्याकरण तथा रेविज विरुद्धको खोप शिविर सञ्चालन गरिएको गोसाईकुण्ड गाउँपालिका पशु सेवा शाखा प्रमुख बास्कोटाले जानकारी दिए । 

नेपाल एनिमल वेलफेयर एण्ड रिसर्ज सेन्टरको प्राविधिक सहयोगमा ५ जनाको पशु विशेषज्ञ टोलीले गोसाईकुण्ड -६ मा छरिएर रहेका १ सय २ वटा छाडा भुस्याहा कुकुर तथा घरपालुवा कुकुरहरुलाई नियन्त्रणमा लिई छाडा कुकुर तथा घरपालुवा कुकुरलाई बन्ध्याकरण गरी रेजिज भ्याक्सिनलगाएको  शाखा प्रमुख बास्कोटाले जानकारी दिए । 

१ सय २ वटा छाडा भुस्याहा कुकुर तथा घरपालुवा कुकुरहरूलाई नियन्त्रणमा लिएको मध्ये भाले कुकुर ५४ र पोथी कुकुर ४८ वटालाई बन्ध्याकरण सहित रेबिज भ्याक्सिन लगाइएको हो ।

स्वास्थ्य शिविरबाट ९ सयको उपचार

Wednesday, May 29, 2024

स्वास्थ्य शिविरबाट ९ सयको उपचार

रसुवा, घरदैलामै स्वास्थ्य सेवा दिने उद्देश्यले नौकुण्ड गाउँपालिकाको ठूलो भोर्लेमा सञ्चालित निःशुल्क स्वास्थ्य शिवरबाट नौ सय २२ जनाले उपचार पाएका छन् । सेवा पाउनेमा भोर्ले, चित्ती,बडरेलगायत आसपास गाउँका बासिन्दा छन् । 

डा.केदारनरसिंह केसीको अगुवाइमा यशोदादेवी–भगवानसिंह मेमोरियल ट्रस्ट काठमाडौंको आयोजना र रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने तथा स्थानीय रुद्रादेवी स्वास्थ्य आमा समूहको सहयोगमा नौकुण्ड– ५ स्थित ठूलोभोर्ले गाउँमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

शिविरमा दुई सयको अल्ट्रासाउन्ड,९२ लाई स्त्रीसम्बन्धी रोग उपचार, एक सय १० जनालाई दाँत एवम् ५० जनालाई प्रसूतिसम्बन्धी उपचारका साथै दुई सय ७१ जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष न्यौपानेले बताए । निःशुल्क प्रदान गरिएको औषधि मध्ये ५० प्रतिशत स्थानीय तह र ५० प्रतिशत डा. केसीले व्यवस्था गरेका थिए ।

उपचारमा आएका अधिकांश सेवाग्राहीमा गानोगोला, दम, अमलपित्त, टाउको दुखाइ, नसा तथा हाडजोर्नीजस्ता विविध समस्या थियो । 

स्थानीय बहादुरसिंह तामाङले कमजोर आर्थिक अवस्थाका कारण टाढा जान नसकेका बासिन्दालाई उपचारमा ठूलो राहत मिलेको बताए । शिविरमा स्वास्थ्य परीक्षण तथा उपचारका लागि डा. केसीको नेतृत्वमा डा. विनोद अर्याल, डा. दीपेश पौडेल, डा. जसपाल यादव, डा. पूजा महतो, डा. सामना कोइराला, डा. अमर श्रेष्ठ र वरिष्ठ दन्त सहायक राजेन्द्र राना मगर संलग्न थिए ।






रसुवागढीकाे सेयर डिम्याट खातामा

रसुवागढीकाे सेयर  डिम्याट खातामा

रसुवा, हजुरले रसुवागढीकाे सेयरका भर्नु भएको थियाे ? सेयर तपाइकाे डिम्याट खातामा आयो त ?  रसुवागढी जलविद्युत कम्पनीकाे स्थानीयलाइ प्रदान गरिएकाे राइट सेयर मेराे सेयरमा आउन थालेकाे  छ । 

अब ३ वर्ष लक पिरिएड रहेपनि अब कम्पनीले लाभग्राहीको मेरो सेयर खातामा ट्रान्सफर गरेको छ । ३ दिन अघिदेखि कम्पनीले ट्रान्सफर गरेकाे सेयर मेरो सेयर खातामा छ चेक गर्नुहाेला  । 

साे सेयर ०६२ भदौसम्म बिक्री गर्न भने पाइने छैन । तीनवर्ष लकइन समय सकेपछि मात्र बिक्री गर्न पाइने रसुवागढी जलविद्युत कम्पनीले जनाएकाे छ । कम्पनीकाे साधारणसभा असार ११ गते बस्ने छ । 

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयबासीका लागि छुटयाइएको  शेयरको लकइन खुल्ला गरिदिन धितोपत्र बोर्डमा अनुरोध समेत गरेको थियो । सो सम्बन्धमा बोर्डबाट कुनै प्रतिक्रिया नआएकाले कम्पनीले स्थानीयबासीको शेयर सिडिएस एण्ड क्लियरिङ लि. मा दर्ता तथा नेपाल स्टक एक्सचेन्ज लि. मा सूचिकरण गर्ने निर्णय गरेको हो ।

लामो समयसम्म  आफुले खरिद गरेको शेयर डिम्याट खातामा नआउँदा जनतामा कौतुहलता बढ्न नदिन समाजमा भ्रमकाे राजनीति भइरहको र डिम्याट खातामा ट्रान्फर गरिदिन कम्पनीलाई अनुरोध समेत हुँदै आएकाले बाँडफाँड भएको मिति २०७९ भदाै २८ देखि ३ वर्ष २०८२भदाै २७ गतेसम्म बेच्न नमिल्ने भएता पनि आफनो लगानीको शेयर आफनो खातामा देख्न पाउँदा ढुक्क महसुस हुने भएकाले कम्पनीले लकइन अवधि समाप्त भए पश्चात स्वतः बिक्री वितरण गर्न मिल्ने गरी नेपाल स्टक एक्सचेन्ज लि.मा सूचिकरण समेत गरिसकेको रसुवागढी जलविद्युत कम्पनीका कम्पनी सचिव नरनाथ न्याैपानेले बताए ।   

कालिका गाउँपालिका बढी बेरुजु, उतरगयामा सबैभन्दा कम

कालिका गाउँपालिका बढी बेरुजु,  उतरगयामा सबैभन्दा कम

रसुवा, पाँचवटा गाउँपालिका रहेको रसुवाको जिल्लामा सबैभन्दा बढी बेरुजु कालिका गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन स्वरूप आर्थिक वर्ष २०७९र८० को लेखाजोखा प्रतिवेदन विवरणमा सबैभन्दा भन्दा बढी बेरुजु कालिका गाउँपालिका र सबैभन्दा कम उतरगयामा देखिएको हो । 

कालिकाको बेरुजु ४ दशमलव २४ प्रतिशत रहेको छ । उतरगयाको सबैभन्दा कम बेरुजु शून्य दशमलव ६० प्रतिशत रहेको छ । यस्तै गोसाईंकुण्ड गाउँपालिकाको बेरुजु १ दशमलव ८५ प्रतिशत छ भने नौकुण्ड गाउँपालिकाको २ दशमलव २३ प्रतिशत रहेको छ । 

आमाछोदिङमो गाउँपालिकाको बेरुजु ३ दशमलव ५३ प्रतिशत रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कार्यालयले देशैभरिका ७ सय ५३ मध्ये ४ सय ४८ गाउँपालिकाहरूको बेरुजु सार्वजनिक गरेको छ । 


 

रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड बजेट

Tuesday, May 28, 2024



रसुवा,  सरकारले केरुङ काठमाडौं लगायत रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ। 

मंगलबार आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले जयनगर–बर्दिवास रेलमार्ग अन्तर्गत विजलपुरा बर्दिवास खण्ड तथा बथनाहा विराटनगर खण्डमा जग्गा प्राप्तिको कार्य सम्पन्न गर्ने घोषणा गरे। 

‘पूर्व पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास चोचा खण्डको निर्माणाधीन कार्य सम्पन्न गरिनेछ। केरुङ काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिनेछ,’ उनले भने, ‘रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड विनियोजन गरेको छु।’ निर्माणाधीन रसुवागढीमा सुख्खा बन्दरगाह निर्माणका लागि पनि सम्पन्न हुने बजेटमा उल्लेख छ । 

रसुवाका ६ युवाले गरे सगरमाथा आरोहण


रसुवा, नौकुण्ड गाउँपालिका–६ घोर्मुका छिरिङ (सज्जन) घलेले विश्वको सर्वोच्च शिखर सगरमाथाकाे आरोहण गरेका छन्। उनले एक फ्रान्सेली नागरिकसँगै सगरमाथा आरोहण गरेका हुन्। 

लामो समयदेखि पर्यटक पथप्रर्दशका रुपमा काम गर्दै आएका युवा सज्जनले सफल आरोहणपछि आफ्नो तेस्रो प्रयास तथा दोस्रो पटकको सफल आरोहण भएको बताए। 

उनले ०७९ वैशाख ३० गते  नौकुण्ड गाँउपालिकाबाट सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति भएका थिए । यसअघि उनले दर्जन हिमालको आरोहण गरेकाे थिए ।  

त्यसै गरी कालिका गाउँपालिका–१ का ४ युवाले पनि एकै पटक सगरमाथा आरोहण गरेका वडा अध्यक्ष दावा तामाङले जानकारी दिए। स्थानीय मिङमार तामाङ, लालबहादुर तामाङ, साङमिङमार तामाङ, सिङ्गी स्याङबा तामाङ र जीतबहादुर तामाङले विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्।



आगलागी र वातावरण

Monday, May 27, 2024



शैली खतिवडा

प्राकृतिक सौन्दर्यले भरपुर नेपाल विश्वको दोस्रो र दक्षिण एसियाको पहिलो वन सम्पदाको धनी देश पनि हो । ‘हरियो वन नेपालको धन’ भन्ने प्रचलन यतिकै भनिएको होइन । नेपालमा वनजङ्गलको महत्व धेरै छ । विश्वव्यापी वातावरण सन्तुलन कायम राख्नका लागि नेपालको वनको ठूलो महत्व छ । 

जडीबुटी औषधीको महत्वपूर्ण स्रोत वन क्षेत्र नै हो । नेपाल विश्वमा जैविक विविधताका हिसाबले २५ औँ र एसियाको ११ औँ धनी राष्ट्र हो । हावापानीको विविधताले नेपाल विश्वमै परिचित छ । देशको कुल भूभागको करिब झन्डै ४५ प्रतिशत क्षेत्रफल वनजङ्

गलले ओगटेको भए पनि सही रूपमा प्राकृतिक स्रोत र साधनको सदुपयोग नहुँदा विदेशबाट अर्बौंको काठ आयात गर्नुपर्ने बाध्यता रहेको छ भने अर्कोतर्फ गर्मीयाममा हरेक वर्ष अर्बको काठ जलेर, सडेर खेर गइरहेको छ ।

हाम्रो सम्पदा यी वनजङ्गलमा अहिले डढेलो लागेर विनाश भइरहेको छ । वनमा प्रवेश गर्दा, वनभोज जाँदा जथाभाबी आगो सल्काउँदा, चुरोट, बिँडी, सलाइका काँटी ननिभाई वनमा फ्याँक्दा वनमा डढेलोले प्राकृतिक सौन्दर्य पनि कुरूप भइरहेको छ । साथीहरू आगोका कारण वनमा भएका रुख मात्र जल्दैनन् ।

कलिला मुना, बोटबिरुवा, ठुला रुख, हजाराैं चराचुरुङ्गी, वन्यजन्तु उनका बासस्थान एकै छिनमा ध्वस्त हुने गर्छ । अहिले डढेलोको प्रकोप बढिरहेको छ । जति गर्मी बढ्यो उति आगलागीको सम्भावना बढ्छ ।

गर्मीको मौसममा आगलागीको घटना नभएको दिनै हुँदैन । बालबालिका र भान्सामा काम गर्ने मानिस आगोको जोखिममा बढी हुन्छ । साथीहरू हामीले पनि यसबारे कसरी सुरक्ष्ाित रहने भन्ने बुझ्नु पर्छ । हिउँदको

समयमा पर्ने चट्टानका कारण ठुला रुखमा क्षति पुगेको छ । वनजङ्गलमा डढेलो लगाउने व्यक्तिलाई सम्बन्धित सरकारी निकायको सहयोगमा कानुनी दायरमा ल्याउन नसक्नु नै वन डढेलोको मुख्य कारण हो । आगोका कारण वनमा भएका रुख मात्र जल्दैनन् । कलिला मुना, बोटबिरुवा, ठुला रुख, हजाराैं चराचुरुङ्गी, वन्यजन्तु उनका बासस्थान एकै छिनमा ध्वस्त हुने गर्छ । अहिले डढेलोको प्रकोप बढिरहेको छ । 

कक्षा १०

श्री कालिका हिमालय मावि रसुवा

मुना मासिकबाट



स्थानीय साबुन रसुवा र नुवाकाेटकाे बजारमा

स्थानीय साबुन रसुवा र नुवाकाेटकाे बजारमा

रसुवा, नुवाकाेट र रसुवाकाे बजार लक्षित गरी स्थानीय साबुन उद्योग संचालनमा आएको छ । राष्ट्रिय सहकारी महासंघका केन्द्रीय उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य डि बी बस्नेतले एक कार्यक्रमका बीच नुवाकाेटकाे कृपाशिल सहकारीद्धारा संचालनमा आएको कृपाधुन साबुन उद्योगकाे उद्घाटन गरे । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष बस्नेतले सहकारीद्धारा उद्योग संचालन गर्न नीति नियमले निकै अफ्ट्यारो पारेकोे बताउदै तत्काल ऐन संसोधन गर्न नेपाल सरकार समक्ष मागपत्र पेस गरेकाे बताए । 

बस्नेतले नुवाकोटमै पहिलो पटक सहकारीको तर्फबाट उद्योग सुरु भएकाेमा प्रशंसा गर्दै उनले स्थानीय सरकारले स्थानीय उद्योग स्थापना तथा संचालनमा बिशेष सहयोग र नियमित अनुगमन गर्नु पर्नेमा जाेड्दिए । 


कुल पैसठ्ठी लाख रूपैयाँ बराबरको लगानीमा संचालनमा आएको उद्योगमा १ सय आठ जना शेयर सदस्यहरू रहेको छन् भने ८ जनाले दैनिक प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । भैरबी साबुनको बजार नुवाकोट र रसुवा रहेको उद्योगका ब्यवस्थापक नारायणप्रसाद नेपालले जानकारी दिए । 

कृपाधुन कम्पनीबाट उत्पादन भएको भैरबी साबुन कपडाधुने साबुन अधिकांश नागरिकहरूले अत्याधिक रुचाएको बताए ।  गत फागुनदेखि परीक्षण उत्पादन सुरु भएकाे उद्योगले छोटो समय मै ५ लाख रुपैँयाको साबुन बिक्री गरेको  ब्यावस्थापक नेपालले जानकारी  दिए । 



कुबेतमा हराएकी कमलाकाे खाेजी हुँदै

Friday, May 24, 2024

रसुवा, कुबेतमा ११ दिनदेखि हराइरहेकी उत्तरगया गाउँपालिका -४ की २९ वर्षिया कमला वाइवाकाे खाेजी कार्य जारी रहेकाे छ । 

२१ महिना अघि राेजगारीका लागि कुवेत पुगेकी कमला वाइवा बेपत्ता भएपछि खाेजी कार्य जारी रहेकाे छ । सामाजिक अभियन्ता सावित्री अधिकारीले खाेजी गरिरहेकी छिन् । 

वाइवा समेत २६ जना कुवेतमा हराइरहेकाे सूचना छ । २१ महिनादेखि कुवेत बस्दै छाेरीले अन्यत्र काम  गर्ने वा नेपाल फिर्ता पठाइदिन भनेर पासपाेर्ट मागे पछि सम्पर्क विहीन भएकाे र अधिकारीकाे पहलमा खाेजी भइरहेकाे र खाेजीका लागि सक्दाे सहयाेग  गरिदिन कमलाका बाबु काजीमान वाइवाले सवैलाइ अनुराेध गरेका छन् ।  



आधारभूत खोज उद्धार र प्राथमिक उपचार पुनर्ताजगी तालिम सम्पन्न


रसुवा, उत्तरगया गाउँपालिका र प्रतिवद्ध परियोजनाको सयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको सहजीकरणमा जेठ ४ गतेदेखि कालिका गाउँपालिका वडा न २ भूमिघरमा संञ्चालन भएको आधारभूत खोज उद्धार र प्राथमिक उपचार सम्वन्धी ४ दिने पुनर्ताजगी तालिम ७ गते सम्पन्न भयाे ।

तालिममा सवै वडाको प्रतिनिधित्व हुने गरी १२ महिला र १४ पुरुष गरी कूल २६ जनाको सहभागिता रहेको थियो । ४ दिनसम्मको लगातार सैद्धान्तिक र प्रयोगात्मक अभ्यासले सहभागिहरूको खोज, उद्धार र प्राथमिक उपचार सम्वन्धी अघिल्लो तालिममा सिकेको ज्ञान, सीप र क्षमताको पूनर्ताजगी भएको छ ।

कार्यक्रमको औपचारिक समापन उत्तरगया गाउँपालिकाको उपाध्यक्ष चमेली गुरुङ्गले सहभागिहरुलाई प्रमाणपत्र र First Aid Kit वितरण गरी सम्पन्न भएको थियाे ।

राष्ट्रिय प्रशारण लाइनकाे पर्खाइमा सान्जेन आयोजना

राष्ट्रिय प्रशारण लाइनकाे पर्खाइमा सान्जेन आयोजना

रसुवा, आमाछोदङमो गाउँपालिका क्षेत्रमा निर्माणाधीन सान्जेन जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्न राष्ट्रिय प्रशारण लाइन कुरिरहेको छ। 

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको राष्ट्रिय प्रशारण लाइन निर्माणमा ढिलाइ भएपछि उत्पादित विद्युत खेर जान नदिनका लागि आयोजनाले प्रशारण लाइनको प्रतीक्षा गरिरहेका हुन्। 

कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन आयोजनाले गत पुसमा विद्युत उत्पादन गर्ने गरी काम गरे पनि प्रसारण लाइन समयमा नबनेपछि आयोजनाको विद्युत उत्पादन गर्न समस्या परेको हो। 

गत साउनमा १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन आयोजनाबाट विद्युत उत्पादन भइसकेको छ। प्रसारण लाइन समयमा नबनेपछि आयोजनाबाट उत्पादित विद्युत वैकल्पिक प्रसारण लाइनमार्फत चिलिमेको विद्युत प्रवाह हुने संरचनामा जोडिएको थियो। 

डा डम्बर नेपालीकाे डिजाइन तथा नेतृत्वमा निर्माण भएकाे चिलिमे जलविद्युत आयोजनाको सफल उत्पादनपछि सहायक कम्पनीको रुपमा सान्जेन आयोजना सुरु भएको हो। नेपाल विद्युत प्राधिकरणले समयमा प्रशारण लाइनकाे काम समयमा सम्पन्न गर्न कन्ट्याक्टरलाइ दवाव दिन नसकेर ढिलाइ भएकाे सराेकारवालाहरू बताउछन् । 

नेपाल विद्युत प्राधिकरणले चिलिमे हब सबस्टेशन ९२२ केभी र चिलिमेदेखि त्रिशूली–३‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माण अहिलेसम्म पूरा नगर्दा रसुवागढी जलविद्युत आयोजनाले उत्पादन गर्न  पाएकाे छैन । 

चिलिमेदेखि त्रिशूली–३‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माण अहिलेसम्म पूरा नगर्दा समस्या भएको हो। ‘प्रशारण लाइनको काम भइरहेकोले सोही अनुसार काम भइरहेको छ। 

प्रशारण लाइन अभावले टेस्टिङ र कमिसनिङको काम बाँकी छ,’ आयोजना प्रमुख अर्पण बहादुर सिंहले भने १५ जुनसम्म हामीले विद्युत उत्पादन गरिसक्छौं त्यसबेलासम्म प्राधिकरणले प्रशारण लाइन पनि सम्पन्न गर्नेछ।’ वेट कमिसनिङ प्राप्त हुनुअघिको काम सम्पन्न भएको हुन लागेको सिंहले बताए। नाका बन्दीका कारण भएको 

सान्जेन खोलाको पानी तिलुचे बगरमा बाँध बाँधेर एक हजार ४ सय मिटर लामो सुरुङ तथा ४ सय ८० मिटर लामो पेनष्टक पाइपबाट विद्युत उत्पादन गर्ने योजना रहेको छ। त्यसै विद्युत गृहबाट निस्कने पानी र सिम्बुखोलाको पानी समेत थपेर अर्को सान्जेन आयोजना निर्माण भएको हो। 

माथिल्लाे त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन

Friday, May 17, 2024

माथिल्लाे त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन

रसुवा, चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।

आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाको भाल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत् वितरण सबस्टेसन समेत उद्घाटन भयाे । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन, युरोपेली युनियनकी राजदूत भेरोनिक लोरेञ्जो, जर्मन राजदूत थोमस प्रिन्ज र युरोपेली लगानी बैंक की निर्देशक थौउराया ट्रिकीले  संयुक्त रुपमा त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन गरेका हुन् ।

करिब १०४ रोपनी जग्गामा निर्माण गरिएको त्रिशूली थ्री बी हब सबस्टेसनको लागत १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनबाट त्रिशूली थ्री बी हब सबस्टेसन मातातीर्थ सबस्टेसनसँग जोडिएको छ । 

प्रसारण लाइन तथा सबस्टेसनबाट करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ। कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७५ वटा टावरहरूमध्ये ७० वटाको जग हालिएको छ। बाँकी ५ टावरको आंशिक जग हालिएको छ भने ६० वटा टावर खडा गरिएको छ। 

भाल्चे सबस्टेसन तथा त्रिशूली थ्री बी हब–भाल्चे ३३ केभी प्रसारण लाइनसहित छिमेकी विद्युतीकरण कार्यक्रमको लागत ४२ करोड ९३ लाख रुपैयाँ रहेको छ । नुवाकोट र रसुवा जिल्लाका प्रसारण लाइन र सबस्टेसनबाट प्रभावित तथा त्यस आसपासका क्षेत्रमा विद्युत् पहुँच विस्तार र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन छिमेकी विद्युतीकरण कार्यक्रममार्फत ३३ तथा ११ केभी लाइन र वितरण सबस्टेसन निर्माण गरिएको हो । 

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, तादी खोलाका विभिन्न आयोजनाहरूको ४२ मेगावाट, ३७ मेगावाट माथिल्लो त्रिशूली थ्री बी, १४.८ मेगावाट माथिल्लो सान्जेन, १४.३ मेगावाट माथिल्लो मैलुङलगायतका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् यही प्रसारण लाइन तथा सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जाेडिने छ । 


चीनबाट विद्युतीय कार आयात बढ्याे

चीनबाट कार आयात  बढ्याे

रसुवा । नेपाल चीन सिमानाका रसुवागढी नाकाबाट विद्युतीय कार आयात बढेको छ । 

चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ वटा सवारी साधन आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । तीमध्ये चार हजार छ सय ७९ विद्युतीय कार नेपालतर्फ भित्रिएका छन् । 

यस नाकाबाट पाँच हजार आठ सय ५० सवारी साधन भन्सार प्रक्रिया पूरा गरी भित्रिएको हाे । विद्युतीय कारको खरिद मूल्य भने चिनियाँ उत्पादक कम्पनीमा २८ लाख ५१ हजार रुपैयाँ र भन्सार शुल्क ११ लाख ९८ हजार रुपैयाँ रहेको छ । भन्सार कार्यालयले चालु आवमा नियमानुसारको दररेटबाट मनग्य कर असुली गरेको जनाएको छ । 

रसुवा प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आवको नौ महिनामा १५ अर्ब ७७ करोड राजस्व रुपैयाँ असुली भएको हो । तुलनात्मक हिसाबले एक सय ६६ प्रतिशत राजस्व वृद्वि भएको पाठकले बताए । 

गत आवको यस अवधिमा पाँच अर्ब ९४ करोड रुपैयाँ मात्र असुली भएको थियो । ठूलो सङ्ख्यामा चीनबाट सवारी साधन आयात भएकाले चालु आवमा करबापतको राजस्व बढेको हो । 

चालु आवको नौ महिनामा ४८ अर्ब ५९ करोड रुपैयाँ बराबरको सामग्री आयात भएको थियो । आयातीत सामग्रीहरूमा साना–ठूला सवारी साधन, इलेक्ट्री सामान, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखरलगायत दैनिक उपभोग्य सामग्री रहेको छ । 

सडक मार्ग व्यवस्थित हुन नसक्दा रसुवा खण्डको सडकमा मालवाहक कन्टेनर डिब्बा तथा नयाँ विद्युतीय सवारी साधन ल्याउन असहज भएकाले सडक मार्ग राम्रो मर्मतसुधार गरिदिन  सवारी चालकहरू तथा रसुवागढी नाकाका ब्यापारीहरूले अनुरोध गरेका छन् । 

०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा मौसममा दैनिक ३ सय देखि ४ सय वटा सवारी साधन आवतजावत हुने गरको थियो । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको हो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।



पत्रकार रमेश कुमारलाई खोज पत्रकारिता पुरस्कार प्रदान

Thursday, May 16, 2024

पत्रकार रमेशकुमारलाइ खोज पत्रकारिता पुरस्कार प्रदान

रसुवा, हिमाल खबर पत्रिकामा  कार्यरत पत्रकार रसुवाका  रमेशकुमार न्याैपाने खोज पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । 

धितोपत्र बजार तथा वित्तीय क्षेत्रमा भएका अनियमिता बारे लेखेका हिमालखबरकर्मी  न्याैपानेलाई बारबरा फाउन्डेशन खोज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । 

फाउन्डेशनले जेठ ३ गते काठमाडौंमा आयोजना गरेको एक समारोहमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले चार जना खोज पत्रकारलाई पुरस्कार प्रदान गरेका हुन् । न्यौपानेलाई ३ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिएकाे हो ।  

हिमाल खबरका समाचार प्रमुख न्यौपानेले पुरस्कारले अझै राम्रो रिपोर्टिङ गर्न उत्प्रेरणा मिलेको बताए । उनले भने 'यस्तो सम्मानले जीवनमा फर्केर हेर्दा पत्रकारितामा राम्रै काम गरिएछ भन्ने महसूस गराउँदो रहेछ।'

धितोपत्र बजारको आर्थिक चलखेल र अनियमिततालाई उजागर गरेकोमा तृतीय पुरस्कार प्रदान गरिएको बताइएको छ  । न्यौपानेले सर्वसाधारणलाई झुक्याएर लगानी रकम उठाउने कम्पनीहरूको प्रपञ्च तथा नियामकको मिलमतो बारे श्रृंखलावद्ध समाचार प्रकाशित गरेका थिए । 

सोही समारोहमा पत्रकार देवेन्द्र भट्टराई र मात्रिका दाहाललाई  १६ लाखसहित प्रथम पुरस्कार  र दीपा दाहाललाई ६ लाख सहित दोस्रो खोज पत्रकारिता  पुरस्कार प्रादान गरिएकाे छ ।  

व्यवसायिक चौरीपालन तालिम सम्पन्न

Wednesday, May 15, 2024

व्यवसायिक चौरीपालन तालिम सम्पन्न


धुन्चे । चौंरीपालनलाई व्यवसायिक बनाउन रसुवामा 'व्यवसायिक चौंरीपालन तालिम' सम्पन्न भएको छ । बैशाख २३ देखि २८ सम्म धुन्चेमा सञ्चालित उक्त तालिममा रसुवाका १९ र नुवाकोटका २ चौंरीपालन कृषकहरू सहभागी भएका थिए ।

वागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु सेवा तालिम केन्द्र ललितपुरको आयोजनामा सञ्चालित तालिममा चौंरीपालन व्यवसायलाई थप व्यवसायिक बनाउन प्रयोगात्मक अभ्यास समेत् गरिएको बताइएको छ । अभ्यासको कार्य सदरमुकाम नजिकै रहेको जोङदा गु चौरी खर्कमा गरिएको थियो ।

 

व्यवसायिक चौरीपालन तालिम सम्पन्न

तालिम अवधिमा नेपालमा चौरीपालनको अवस्था, महत्व र सम्भावनाहरु, याक, नाक, डिम्जो र उराङ्ग चौरीका चारित्रिक विशेषतहरु, याक चौरीको प्रजनन् व्यवस्थापन तथा वर्णशंकरको आवश्यकता तथा महत्व, व्याउने, दुधालु माउ र बच्छाबाच्छीको हेरचाह व्यवस्थापन तथा विगौति दूधको महत्व, आहारा व्यवस्थापन, चरन तथा खर्क व्यवस्थापन, लेकाली घाँस तथा डालेघाँसहरु, युरिया मोलासेस मिनरल ब्लक बनाउने तरिका अभ्यास,याक चौरीमा लाग्ने आन्तरिक तथा बाह्य परजीविको नियन्त्रण, मुख्य मुख्य रोगहरु खोरेत, लम्पी स्कीन, भ्यागुते, पटके, क्षयरोग, ब्रुसेलोसिस, साल नझर्ने, भण्डार फर्कने,बच्चा अड्किने आदि रोगको बारेमा जानकारी,याक चौरी खर्कमा घुम्ती गोठ व्यवस्थापन, असल पशुपालन अभ्यास,  जैविक सुरक्षा व्यवस्थापन, सफा दूध उत्पादन विधि, दूध तथा दुग्ध पदार्थ विविधिकरण बारे जानकारी (छुर्पी, चिज, नौनी, ऊन, रौ उत्पादन), थुनेलो रोगको रोकथामको लागि टिट डिपिङ्ग प्रविधि बारे जानकारी एवं अभ्यास, पशुको शारीरिक तापक्रम नाप्ने, नाडीको गति जाँच्ने,श्वास प्रस्वासको गति जाँच्ने,जिवित पशुको शारीरिक तौल निकाल्ने, औषधि खुवाउने तरिका पशुपालनमा गोठालाको भूमिका र फार्म अभिलेख व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो ।

तालिममा सहभागी कृषकहरूले सिकाई उपलब्धिमूलक रहेको बताएका छन् । चौंरीपालन व्यवसायमा हाल देखिएका विविध चुनौति समाधानका लागि अपिल समेत् गरेका छन् ।

नुवाकोट जिल्ला तादी गाउँपालिका वडा नं १ का चौरीपालक कृषक छिरिङ शेर्पाले चौंरीपालन व्यवसाय लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रभितर पर्ने भएकोले चरनको सहज वातावरण सिर्जना गर्नुपर्ने बताए ।

याक चौरी कृषक महासंघका अध्यक्ष दावा स्याङ्बु शेर्पाले चौरीपालनलाई हिमाली जिल्लामा बसोबास गर्ने जनताको जनजीविकासँग गाँसिएकोले यसको संरक्षण तथा सम्वर्द्धनकोलागि सरकारले विशेष महत्वका साथ हेर्नु पर्ने बताए ।

 

जिल्ला समन्वय समितिकाे समीक्षा सुरू


रसुवा, जिल्ला समन्वय समिति रसुवाको आ.व.२०८०/८१ को चैत्र मसान्तसम्मको कार्यक्रमको समीक्षा कार्यक्रम बुधबार सुरु भयाे ।

प्रमुख अतिथी संघीय मामीला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जिल्ला समन्वय समितिकाे समीक्षाकाे उद्घाटन गर्दै प्रदेश सरकारलाइ पनि नदिएकाे न्याय सम्पदनसम्मकाे अधिकार स्थानीय सरकारलाइ संबिधानले नै  प्रदान गरेकाे बताए । 

उनले विद्यालय शिक्षा ऐन तथा संघीय निजामती सेवा ऐन चाँढै ल्याउने बताए । अहिले पनि असार मसान्तमा सरकारी सबैभन्दा बढि भुक्तानी गर्ने गरेकाे बताए । अस्थिर राजनीतिक अवस्थाले देश लामाे संक्रमणमा गुज्रेकाे बताउदै देश निर्माणका लागि कर्मचारी , जनप्रतिनिधि सवैले इमान्दार भएर लाग्नुपर्नेमा जाेड्दिए । 

समीक्षाकाे सुरूमा  रसुवा सामुदायिकआँखा केन्द्रका इन्चार्ज उर्मिला तामाङ, स्वास्थ्य बिमा बोर्ड रसुवाका प्रमुख अम्बिका शाह, नेपाल विद्युत बितरण केन्द्र प्रमुख सन्जीब भट्टराई, चरण तथा घाँसेबाली अनुसन्धान केन्द्र, मालपोत कार्यालय प्रमुख गणेश श्रेष्ठ, नापी कार्यालयले आफ्नो कार्यालयको प्रगती विवरण प्रस्तुत गरे । 

शिक्षा विकास तथा समन्वय इकाई रसुवा, रसुवा भन्सार कार्यालय, लाङटाङ राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, सडक डिभिजन नुवाकोट, गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेशी सडक आयोजना,आयुर्वेद तथा बैकल्पिक चिकित्सक, डिभिजन वन कार्यालय ,घरेलु तथा साना उद्योगलगायत विषयगत कार्यालयले आफ्नो कार्यालयको प्रगती विवरण प्रस्तुत गरेका छन्  ।


कार्यक्रममा संविधान सभा सदस्य छोवाङ तेन्जिन तामाङ, नेकपा एमाले रसुवाका अध्यक्ष एवम् संविधान सभा सदस्य जनार्दन ढकाल, प्रमुख जिल्ला अधिकारी बेधनिधी खनाल, आमाछोदिङमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङ, गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, आमाछोदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङ, नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय सदस्य साङतेम्पा तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी, सभापति  मानबहादुर तामाङलागयतले समीक्षामा मन्तब्य राखेका थिए ।  

संघ र प्रदेश अन्तरगतको सबै सरकारी तथा गैरसरकारी सबै कार्यालयको प्रस्तुत आज सकिए पनि बाकी स्थानीय तहहरूको प्रस्तुती भने भोलि बिहिवार बिहानदेखि हुने उप प्रमुख बिजय लामाले बताए । 

 


 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. यही हो हाम्रो रसुवा - All Rights Reserved
Template Created by Creating Website Inspired by Sportapolis Shape5.com
Proudly powered by Blogger