ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, October 18, 2026

विनाशकारी बाढीबाट रसुवागढी हाइड्रोपावरमा ९१ जना कर्मचारी तथा कामदार बेपत्ता

 


रसुवा,गाेसाइकुण्ड गाउँपालिका -२ टिमुरे स्थित  रसुवागढी जलविद्युत आयोजनामा भोटेकोशी नदीमा ०८३ भदाै १० गते आएको विनाशकारी बाढीबाट भएको क्षति, बेपत्ता कर्मचारीहरूको अवस्था, पीडित परिवारलाई राहत तथा सहयोग र आयोजनाको वर्तमान अवस्था सम्बन्धी जानकारी दिएकाे छ ।  

विनाशकारी बाढीका कारण आयोजनाका अधिकांश संरचनाहरूमा अकल्पनीय क्षति पुगेको छ। उक्त प्राकृतिक विपद्का कारण जलविद्युत् केन्द्रमा तत्कालीन अवस्थामा कार्यरत कम्पनीका नियमित करार सेवातर्फका ५० जना र दैनिक ज्यालादारी तर्फका २ जना गरी जम्मा ५२ जना कर्मचारी बेपत्ता भएकाे कम्पनीले एक विज्ञप्तीमार्फत जनाएकाे छ ।  

कम्पनीका सञ्चालक सुनौंऔदी तामाङ समेत आयोजनाको साइट कार्यालय रहेको घट्टेखोला क्षेत्रबाट सम्पर्क विहीन भएका थिए । विभिन्न कन्ट्याक्टर कम्पनीबाट प्राप्त विवरण अनुसार ती कम्पनीहरूमा कार्यरत जम्मा ३९ जना कर्मचारी तथा कामदार समेत बेपत्ता छन् । 

यस विनाशकारी  प्राकृतिक विपद्का कारण कम्पनीले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको छ। यस दुःखद घडीमा कम्पनी बेपत्ता कर्मचारीहरू, उनका परिवारजन तथा प्रभावित सम्पूर्ण व्यक्तिहरूप्रति गहिरो दुःख व्यक्त गर्दै रसुवागढी हाइड्रोपावर कम्पनी  लिमिटेडले हार्दिक समवेदना प्रकट गरेकाे छ । 

कम्पनीका सचिव नरनाथ न्याैपानेका अनुसार बाढीबाट बेपत्ता हुनुभएका कर्मचारीहरूको सम्भावित खोजी तथा उद्धारका लागि कम्पनीले आफ्नो सम्पूर्ण उपलब्ध शक्ति, स्रोत र साधन परिचालन गरेको थियो। तथापि, निरन्तर प्रयासका बाबजुद बेपत्ता कर्मचारीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसक्दा उनीहरूलाई सकुशल उद्धार गर्ने कम्पनीको प्रयास अपेक्षित रूपमा सफल हुन सकेन। यसबाट कम्पनी परिवार अत्यन्त मर्माहत भएको छ।

जलविद्युत् केन्द्र प्रमुख सहित कम्पनीको ठूलो जनशक्ति उक्त विनाशकारी बाढीमा परी बेपत्ता भएको र सकुशल रहेका कर्मचारीहरूले समेत आफ्ना परिवार तथा आफन्तजन गुमाई शोक र पीडामा रहनु परेको विषम परिस्थितिमा कम्पनीले अत्यन्त न्यून जनशक्तिबाट आफ्ना नियमित कार्य सञ्चालन गर्नुपरेको छ।

यस कारण बेपत्ता कर्मचारीका परिवार तथा आफन्तजनसँग समयमै पर्याप्त सम्पर्क तथा संवाद गर्न र उहाँहरूको रीतिरिवाज तथा परम्पराअनुसार गरिने काजकिरिया स्थलमा समेत प्रारम्भीक दिनहरूमा उपस्थित भई समवेदना प्रकट गर्न नसकिएको अवस्थाप्रति कम्पनी दुःख व्यक्त गर्दछ। 

यस कठिन परिस्थितिमा परिवार तथा आफन्तजनले कम्पनी परिवारको अपेक्षित साथ र सहयोगबिना नै सामना गर्नुपरेको अवस्थाप्रति कम्पनी क्षमायाचना गरेकाे जनाएकाे छ । रसुवागढी जलविद्युत आयोजना भौगोलिक रूपमा अत्यन्त कठिन स्थानमा अवस्थित आयोजना हो। नेपाल-चीन सीमाक्षेत्र नजिकै रहेको उक्त आयोजना स्याफ्रुबेंसीबाट करिब १६ किलोमिटरको दूरीमा रहेको छ। बाढीका कारण स्याफ्रुबेंसीदेखि आयोजना स्थलसम्म पुग्ने सडक तथा सो मार्गमा रहेका ६ वटा पक्की पुलहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

हालै मात्र रसुवा जिल्ला नुवाकोट जिल्लासँग सडक सञ्जालमा जोडिएको अवस्थामा क्षतिग्रस्त सडक तथा पुलहरूको पुनर्निर्माण नगरी आयोजनास्थलसम्म पुग्ने अन्य वैकल्पिक मार्ग उपलब्ध छैन। त्यसैले सडक तथा पुलहरूको पुनर्निर्माण सम्पन्न भएपछि मात्र आवश्यक मेसिनरी, उपकरण तथा अन्य निर्माण सामग्री आयोजनास्थलसम्म पुर्‍याउन सम्भव हुनेछ। त्यसपश्चात् मात्र आयोजनास्थलमा आवश्यक पुनर्निर्माण, मर्मतसम्भार तथा अन्य गतिविधिहरू अघि बढाउन सकिने जनाएकाे छ । 

बाढीबाट  बेपत्ता भएका तथा मृत्युवरण गरेका  कर्मचारीका परिवार तथा आफन्तजनसँग प्रत्यक्ष  भेटघाट गरी उहाँहरूको अवस्था बुझ्ने उद्देश्यले कम्पनी व्यवस्थापनका प्रतिनिधिहरूबाट काठमाडौं उपत्यका, नुवाकोट, रसुवा तथा पूर्वी क्षेत्रमा रहनुभएका बेपत्ता तथा मृतक कर्मचारीका परिवारजनसँग उहाँहरू बसोबास गर्नुभएको स्थानमै गई एक चरणको भेटघाट सम्पन्न गरिएको छ।

भेटघाटका क्रममा अधिकांश आश्रित परिवारहरूको आर्थिक अवस्था कमजोर रहेको र उहाँहरूले तत्काल आर्थिक सहयोगको अपेक्षा गर्नुभएको हुँदा बेपत्ता तथा मृतक कर्मचारीका नजिकका हकवालाले नियमानुसार प्राप्त गर्नुपर्ने अन्य रकम तथा सुविधाका लागि आवश्यक कागजात जुटाउन समय लाग्ने भएकाले पीडित परिवारको तत्कालीन आर्थिक अवस्थालाई केही सहज बनाउने उद्देश्यले कम्पनीको सञ्चालक समितिले कानून बमोजिम कर्मचारीका नजिकका हकवालालाई प्रति कर्मचारी पाँच लाखका दरले तत्काल नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ।

उक्त राहत रकम प्राप्त गर्नका लागि सम्बन्धित वडा कार्यालयबाट बेपत्ता वा मृतक कर्मचारीसँगको नाता प्रमाणित हुने कागजात तथा नजिकको हकवाला सिफारिसलगायत आवश्यक कागजातहरू तयार गरी कम्पनीमा उपलब्ध गराइदिनुहुन सम्बन्धित परिवारजनमा कम्पनीले  अनुरोध  गरेको छ।

हालसम्म प्राप्त कागजातका आधारमा बेपत्ता तथा मृतक गरी जम्मा ५३ जना कर्मचारीमध्ये ४७ जना कर्मचारीका परिवार तथा आफन्तजनलाई प्रति परिवार ५ लाखका दरले हुन आउने राहत रकम सम्बन्धित नजिकका हकवालाको बैंक खातामा जम्मा गरिसकिएको छ। बाँकी परिवारजनलाई समेत आवश्यक कागजात प्राप्त भएपछि नियमानुसार राहत रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाइनेछ।

कम्पनीबाट उपलब्ध गराइने तत्कालीन नगद राहतका अतिरिक्त बेपत्ता कर्मचारीहरूको मृत्यु प्रमाणित हुने कागजात प्राप्त गर्नका लागि नेपाल सरकारका सम्बन्धित निकायबाट जारी सार्वजनिक सूचनामा उल्लेख भए बमोजिम आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न परिवार तथा आफन्तजनलाई जानकारी गराइएको छ।बेपत्ता कर्मचारीहरूको मृत्यु दर्ता प्रमाणपत्र प्राप्त भएपछि नियमानुसार प्राप्त गर्न सकिने जनाइएकाे छ । 

कम्पनीका अनुसार विनाशकारी बाढीबाट कम्पनीले व्यहोर्नुपरेको मानवीय तथा भौतिक क्षति अत्यन्त दुःखद र अपूरणीय छ। यस विपद्का कारण बेपत्ता भएका तथा मृत्युवरण गरेका कम्पनीका संचालक तथा कर्मचारी, उनका परिवारजन, आफन्तजन तथा अन्य सरोकारवालाहरूको पीडा र कठिनाइप्रति कम्पनी गहिरो सहानुभूति व्यक्त गरेकाे छ ।  

बेपत्ता कर्मचारीहरूको अवस्था बारे जानकारी प्राप्त गर्ने प्रयास, प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्य, नियमानुसार प्राप्त गर्न सकिने बीमा तथा अन्य सुविधाका लागि आवश्यक सहजीकरण र पीडित परिवारबाट प्राप्त मागहरूको सम्भाव्य सम्बोधनमा कम्पनीले आफ्नो जिम्मेवारी निर्वाह गर्दै जाने प्रतिबद्धता पनि जनाएकाे छ ।  

यस कठिन घडीमा पीडित परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै कम्पनीले सबै सरोकारवाला निकाय तथा आम जनसमुदायबाट आवश्यक सहयोग, समन्वय र सद्भावको अपेक्षा गरेकाे छ । 



Saturday, October 17, 2026

बाढी घर बगाएपछि हाेल्डिङ सेन्टरमा आश्रय लिन बाध्य

 


रसुवा, लेन्देहुँदै भोटेकोसी नदीमा आएको भीषण बाढीले घरबारविहीन बनाएपछि उत्तरगया गाउँपालिका–५ पैरेवेसीका ४४ परिवारका नागरिक हाेल्डिङ सेन्टरमा आश्रय लिन बाध्य भएका छन् । 

बाढीले घरसँगै अन्नपात, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री समेत बगाएपछि विस्थापित परिवारको बास र गाँसको व्यवस्था निकै चुनौतीपूर्ण बनेको छ ।

उनीहरु ०८३ भदौ १० गते भोटेकोसीहुँदै त्रिशूली नदीमा आएको बाढीले घर बगाएपछि विद्यालयका कोठामा आश्रय लिन पुगेका हुन् । जीवनभरको कमाइले बनाएको घर र घरभित्रका सामग्री आँखैअगाडि बगाउँदा विस्थापित परिवार शोक र अन्योलमा छन् । बालबालिका, महिला तथा ज्येष्ठ नागरिक सहितका प्रभावितलाई सुरक्षित आवास, खाद्यान्न र अत्यावश्यक सामग्रीको आवश्यकता परेको छ ।

वडा नं ४ को पैरेबेसी क्षेत्रको ४४ घर बाढीले बगाएको र त्यहाँ रहेको मालिकादेवी आधारभूत विद्यालय समेत बगाएको उत्तरगया गाउँपालिका –४ का वडा सदस्य बासुदेव न्यौपानेले बताउनुभयो ।  

घरसँगै लत्ताकपडा र ओढ्ने–ओछ्याउने सामग्री गुमाएका परिवारलाई सिरक, कम्बल, बालबालिकाका कपडा तथा खाना पकाउने भाँडाकुँडालगायतका सामग्री समेत उपलब्ध गराएर वडा नं ५ माझगाउँ स्थित भीमसेन आधारभूत विद्यालय भवनमा विस्थापितका लागि सामूहिक भोजनको व्यवस्थासमेत गरेका छन् । 

त्यहाँ रहेका २४ जना विस्थापितहरूलाई  नियमित खाना तथा व्यवस्थापनको काम सामुदायिक आत्मनिर्भर केन्द्रले गरेको छ ।

रसुवा, नुवाकोट र धादिङमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि सहायता कक्ष

 

रसुवा, विपद्का बेला ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको जीवन रक्षा, सहायता र सेवामा पहुँच सुनिश्चित गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालले रसुवा, नुवाकोट र धादिङ जिल्लामा सहायता कक्ष स्थापना गरेको छ।


विपद् प्रतिकार्य तथा राहत वितरणका क्रममा पहुँचको अभाव र विभेदका कारण ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूले थप सास्ती भोग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको राष्ट्रिय अपाङ्ग महासंघ नेपालले जनाएको छ।


यस अभियानमा नेपाल सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र विश्व स्वास्थ्य सङ्गठनले सहकार्य गरेका छन्। त्यस्तै, ब्लाइन्ड युथ एसोसिएसन नेपाल र नेपाल बहिरा सङ्घले रणनीतिक साझेदारी गरेका छन्। अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिको धारा ११ अनुरूप विपद्का बेला अपाङ्गता भएका व्यक्तिको सुरक्षा र संरक्षणलाई प्राथमिकता दिँदै सहायता कक्ष स्थापना गरिएको हो।


विपद् प्रभावित क्षेत्रमा स्थापना गरिएका सहायता कक्षले राहत वितरण केन्द्र, स्वास्थ्य संस्था र अस्थायी आवास अपाङ्गतामैत्री तथा ज्येष्ठ नागरिकमैत्री भए नभएको मूल्याङ्कन गर्नेछन्। हिँडडुल गर्न नसक्ने, ओछ्यानमा रहेका तथा अन्य व्यक्तिको सहयोगमा निर्भर रहनुपर्ने प्रभावितको अवस्था पहिचान गरी आवश्यक सहायता उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरिनेछ।


सहायता कक्षले प्रभावित व्यक्तिको आवश्यकता पहिचान तथा अभिलेखीकरण गर्ने, आकस्मिक स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगका लागि सम्बन्धित निकायमा प्रेषण गर्ने तथा साङ्केतिक भाषामार्फत सुरक्षित सूचना प्रवाह गर्ने कार्य गर्नेछ। साथै, राहत वितरणका क्रममा हुने विभेदसम्बन्धी गुनासो सुनुवाइ र पुनर्निर्माणका संरचनालाई अपाङ्गतामैत्री बनाउन स्थानीय तहसँग समन्वय गर्नेछ।


‘विपद्को समयमा कसैलाई पनि पछाडि नछोडौँ’ भन्ने मूल नाराका साथ सुरु गरिएको यस अभियानले प्रत्यक्ष राहत वितरणभन्दा पनि राहत तथा सेवा प्रवाह गर्ने सरकारी र गैरसरकारी निकायलाई समावेशी, पहुँचयोग्य र जवाफदेही बनाउन सहजीकरण गर्ने लक्ष्य राखेको छ।


स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य संस्थासँग समन्वय गरी सञ्चालन गरिएको सहायता कक्षले विपद् प्रभावित ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचान, सुरक्षा र सेवामा पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लाङटाङमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी


 

रसुवा, गोसाइकुण्ड गाउँपालिका—४ मा रहेको प्रमुख पर्यटकीय क्षेत्र, लाङटाङमा हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गरिएको छ ।


लेन्दे खोलाहुँदै भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीले लाङटाङका स्थानीयवासीको मुख्य किनमेल गर्ने थलो, स्याफ्रुबजारमा पूर्ण क्षति पुर्‍याउनुका साथै स्याफ्रु जोड्ने सडक पुल समेत बगाएपछि गोसाइँकुण्ड गाउँपालिका—४ मा पर्ने लाङटाङका बासिन्दाका लागि राहतस्वरूप खाद्यान्न पुर्‍याइएको हो ।


विश्व खाद्य कार्यक्रम अर्न्त्गतको हालसम्म १० टन खाद्यान्न हेलिकोप्टर मार्फत लाङटाङ पुर्‍याइएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडा अध्यक्ष डिन्ढुप तामाङले जानकारी दिनुभयो ।


जिल्ला सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल यात्रापछि मात्र पुग्न सकिने लाङटाङका स्थानीयवासीलाई खाद्यान्न सङ्कट पर्न नदिन हेलिकप्टरबाट ढुवानीको व्यवस्था मिलाइएको हो। पर्यटक आवागमन समेत हुन थालेको लाङटाङमा सहज पैदलमार्ग तथा स्याफ्रुसम्म पुल तथा सडक मार्ग तत्काल जोड्न लागिएको गोसाईकुण्ड गाउपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो ।


रसुवाको अन्न भण्डार : खण्डहरमा परिणत (फाेटाेफिचर)

रसुवा, लेन्देखोला हुँदै भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण रसुवा जिल्लाको उत्तरगया गाउँपालिका ४ र ५ का खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।


त्रिशूली नदि नजिकै  पैरेवेसी, खाल्टे, नाैबिसे, कैदलेटारमा खेती याेग्य समथर फाँट र बस्ती पनि रहेकाे थियाे । 

धान भित्र्याउने समय नजिकिँदै गर्दा बाढीले धानबालीसहित खेतमा क्षति पुर्‍याएपछि स्थानीय किसानको खाद्य सुरक्षा र जीविकोपार्जनमा गम्भीर असर परेको छ ।


स्थानीयका अनुसार पैरेबेँसी क्षेत्रमा धानबाली भित्र्याउने समय भए पनि बाढीले धान फल्ने खेतसमेत बगाएको छ। खेतीयोग्य जमिनमा ढुङ्गा, गिट्टी र बालुवा थुप्रिएपछि जमिन तत्काल खेती गर्न नसकिने अवस्थामा पुगेको छ।


स्थानीय गोविन्द घिमिरेका अनुसार बाढीले घर तथा खेतबारीमा क्षति पुर्‍याउँदा स्थानीयको आवास र जीविकोपार्जनमा समस्या उत्पन्न भएको छ। उहाँका अनुसार उत्तरगया गाउँपालिका–४ बाट २८ जना स्थानीय बेपत्ता भएका छन् भने पैरेबेँसी क्षेत्रमा ४४ घर बाढीबाट प्रभावित भएका छन् ।



स्थानीय तहको प्रारम्भिक अनुमानअनुसार उक्त क्षेत्रमा करिब ३ सय ५० रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ। सो जमिनमा करिब तीन हजार मुरी धान उत्पादन हुने अनुमान गरिएको थियो। बाढीले खेतीयोग्य जमिनमा क्षति पुर्‍याएपछि यस वर्षको खाद्यान्न उत्पादनसँगै किसानको आम्दानीमा समेत असर पर्ने देखिएको छ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति आकलनसम्बन्धी विवरणअनुसार भोटेकोशी बाढीले रसुवासहित प्रभावित क्षेत्रका कृषियोग्य जमिनमा व्यापक क्षति पुर्‍याएको छ। प्राधिकरणको प्रारम्भिक विवरण अनुसार रसुवामा मात्रै एक हजार ८ सय ६ हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको अनुमान गरिएको छ।

यसबाट कृषि उत्पादन र किसानको जीविकोपार्जनमा दीर्घकालीन असर पर्ने जोखिम रहेको छ । बाढीबाट प्रभावित किसानका लागि क्षतिग्रस्त खेतबारीको पुनःस्थापना, खाद्यान्न तथा बीउबिजनको व्यवस्था र वैकल्पिक आयआर्जनका अवसर सिर्जना गर्नु आवश्यक देखिएको छ।


घर तथा खेतीयोग्य जमिन गुमाएका परिवारको अवस्था पहिचान गरी तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ।







ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको कालिका मन्दिर

 

कालिका गाउँपालिका-२, कालिकास्थानमा रहेको ऐतिहासिक तथा प्रसिद्ध धार्मिक तीर्थस्थल कालिका मन्दिरमा वडा दशैमा चहलपहल हुने गर्दछ तर यसवर्ष दशैकाे चहलपहल धेरै हुन सकेन । भाेटेकाेसीकाे बाढीका कारण केही गुमेका तथा आफन्त बेपत्ता भएका कारण पनि पुजाआजा गरेनन् भने रमाइलो पनि भएन ।

महत्व

प्राकृतिक दृश्यको धनी, ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ । दोस्रो पटक नेपाल (चीन युद्द हुँदा चिनीया फौजले नेपाली फौजलाई लघारेर बेत्रावती पुर्या एपछि चिनीयाहरूले यस मन्दिरमा गाई, गोरू बली चढाएका थिए, जसको प्रभाव चट्याङ, हावाहुरी जस्ता विपत्तिसहित ठूलो संख्यामा चिनीयाँ फौज मरेका थिए । त्रिशूलीमा होमिन पुगेका थिए भनिएको छ । त्यसैबेलादेखि कालिका माईको शक्ति स्थापित भएको हो भन्ने भनाई रहेको छ । 

परापूर्व कालमा अन्यत्र जोडिएको जस्तो स्थानीय धार्मिक कार्यका लागि भाँडाकुँडा दिने प्रचलन यहाँ पनि थियो । हाल रहेको मन्दिरभन्दा केही तल पहरामा अवस्थित कालिका माईले आवश्यकता र नियमानुसार कार्यको लागि भाँडाकुँडा माग भपमा उपलब्ध गराउने गरेकाे जनविस्वास छ । पछि नियमानुसार प्रयोग नभएपछि माई रिसाएर भाँडाकुँडा माग्दा दिन छोडेकी हुन् भन्ने किंबदन्तीसमेत् रहेको छ । 


वि सं २०६० सालमा राम्चेको पहिरोले त्यहाँ स्थित सैनिक ब्यारेक बगाएपछि विस्थापित सेना यस मन्दिर परिसरमा बस्दै आएका छन् । पहिले त्यहाँ काठमाण्डौं, ललितपुर, भक्तपुर र नुवाकोटका विभिन्न स्थानबाट समेत वनभोज र कालिकामाईको दर्शन गर्न तथा त्यहाँबाट देखिने विभिन्न दृष्यको अवलोकन गर्न आउँथे । यो स्थान ब्यारेकले ओगटेपछि अहिले दैनिक रूपमा पूजा आजा गर्न आउनेको संख्या घटेको छ भने वनभोज गर्न आउनेका लागि पनि ठाउँ अभाव भएको छ । सैनिक ब्यारेक अन्यत्र सारेर त्यस ठाउँलाई धार्मिक तथा ऐतिहाँसिक रूपमा विकास गरी पिकनिक स्थलको रूपमा पनि विकास गर्न सकिने स्थानीयबासी बताउँछन् । 

यही मन्दिरको पूर्वपट्टि चिउरीबोट नजिकै नेपाल (चीन युद्द हुँदा बखत् निर्माण भएको कोतघर जुन् अहिले अवशेष छैन । यहाँ वरपर रहेका ऐतिहाँसिक गढीहरू कमारेगढी, घलेगढी जस्ता ऐतिहाँसिक स्थलहरूको उचित प्रचारप्रसार गर्न सके यहाँ वरपरका वस्तीहरू पर्यटकीय क्षेत्र बन्न सक्नेछ ।



कालिका मन्दिर वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरू

कालिका मन्दिरसँग सम्बन्धित् भिडियोहरू



अस्पताललाई पोर्टेबल भिडियो एक्सरे मेसिन सहयोग


 

रसुवा, हिमालयन कर्पोरेसन सोसाइटी नेपालले रसुवा अस्पताललाई एक थान पोर्टेबल भिडियो एक्सरे (Portable USG) मेसिन  प्रदान गरेको छ। अस्पतालको स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त उपकरण उपलब्ध गराइएको हो।

नयाँ उपकरण भित्रिएसँगै अस्पतालमा आउने बिरामीहरूले सहजरूपमा अल्ट्रासाउन्ड सेवा पाउने भएका छन्। विशेषगरी गर्भवती महिला, आकस्मिक  (Emergency) कक्ष र अन्तरङ्ग (Inpatient)  विभागमा भर्ना भएका जटिल बिरामीहरूले सम्बन्धित शय्या वा विभागबाटै USG सेवा प्राप्त गर्न सक्नेछन्। यसले रोगको समयमै पहिचान, सही निदान र प्रभावकारी उपचार व्यवस्थापनमा ठूलो सहयोग पुग्ने अस्पताल प्रशासनले जनाएको छ।


अस्पतालमा आयोजित एक कार्यक्रमका बीच हिमालयन कर्पोरेसन सोसाइटी नेपालका अध्यक्ष दावा लामाले उक्त पोर्टेबल मेसिन हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण गरिएको उपकरण अस्पताल विकास समितिका अध्यक्ष निबेश श्रेष्ठ र डा सुनिलकुमार दासले संयुक्त रूपमा ग्रहण गरे । 

स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न र सेवाको गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै रसुवा अस्पताल परिवारले हिमालयन कर्पोरेसन सोसाइटी नेपालप्रति आभार व्यक्त गरेको छ।


स्राेत  : प्रमोदकुमार तितुङ