ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, October 18, 2026

विनाशकारी बाढीबाट रसुवागढी हाइड्रोपावरमा ९१ जना कर्मचारी तथा कामदार बेपत्ता

 


रसुवा,गाेसाइकुण्ड गाउँपालिका -२ टिमुरे स्थित  रसुवागढी जलविद्युत आयोजनामा भोटेकोशी नदीमा ०८३ भदाै १० गते आएको विनाशकारी बाढीबाट भएको क्षति, बेपत्ता कर्मचारीहरूको अवस्था, पीडित परिवारलाई राहत तथा सहयोग र आयोजनाको वर्तमान अवस्था सम्बन्धी जानकारी दिएकाे छ ।  

विनाशकारी बाढीका कारण आयोजनाका अधिकांश संरचनाहरूमा अकल्पनीय क्षति पुगेको छ। उक्त प्राकृतिक विपद्का कारण जलविद्युत् केन्द्रमा तत्कालीन अवस्थामा कार्यरत कम्पनीका नियमित करार सेवातर्फका ५० जना र दैनिक ज्यालादारी तर्फका २ जना गरी जम्मा ५२ जना कर्मचारी बेपत्ता भएकाे कम्पनीले एक विज्ञप्तीमार्फत जनाएकाे छ ।  

कम्पनीका सञ्चालक सुनौंऔदी तामाङ समेत आयोजनाको साइट कार्यालय रहेको घट्टेखोला क्षेत्रबाट सम्पर्क विहीन भएका थिए । विभिन्न कन्ट्याक्टर कम्पनीबाट प्राप्त विवरण अनुसार ती कम्पनीहरूमा कार्यरत जम्मा ३९ जना कर्मचारी तथा कामदार समेत बेपत्ता छन् । 

यस विनाशकारी  प्राकृतिक विपद्का कारण कम्पनीले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको छ। यस दुःखद घडीमा कम्पनी बेपत्ता कर्मचारीहरू, उनका परिवारजन तथा प्रभावित सम्पूर्ण व्यक्तिहरूप्रति गहिरो दुःख व्यक्त गर्दै रसुवागढी हाइड्रोपावर कम्पनी  लिमिटेडले हार्दिक समवेदना प्रकट गरेकाे छ । 

कम्पनीका सचिव नरनाथ न्याैपानेका अनुसार बाढीबाट बेपत्ता हुनुभएका कर्मचारीहरूको सम्भावित खोजी तथा उद्धारका लागि कम्पनीले आफ्नो सम्पूर्ण उपलब्ध शक्ति, स्रोत र साधन परिचालन गरेको थियो। तथापि, निरन्तर प्रयासका बाबजुद बेपत्ता कर्मचारीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसक्दा उनीहरूलाई सकुशल उद्धार गर्ने कम्पनीको प्रयास अपेक्षित रूपमा सफल हुन सकेन। यसबाट कम्पनी परिवार अत्यन्त मर्माहत भएको छ।

जलविद्युत् केन्द्र प्रमुख सहित कम्पनीको ठूलो जनशक्ति उक्त विनाशकारी बाढीमा परी बेपत्ता भएको र सकुशल रहेका कर्मचारीहरूले समेत आफ्ना परिवार तथा आफन्तजन गुमाई शोक र पीडामा रहनु परेको विषम परिस्थितिमा कम्पनीले अत्यन्त न्यून जनशक्तिबाट आफ्ना नियमित कार्य सञ्चालन गर्नुपरेको छ।

यस कारण बेपत्ता कर्मचारीका परिवार तथा आफन्तजनसँग समयमै पर्याप्त सम्पर्क तथा संवाद गर्न र उहाँहरूको रीतिरिवाज तथा परम्पराअनुसार गरिने काजकिरिया स्थलमा समेत प्रारम्भीक दिनहरूमा उपस्थित भई समवेदना प्रकट गर्न नसकिएको अवस्थाप्रति कम्पनी दुःख व्यक्त गर्दछ। 

यस कठिन परिस्थितिमा परिवार तथा आफन्तजनले कम्पनी परिवारको अपेक्षित साथ र सहयोगबिना नै सामना गर्नुपरेको अवस्थाप्रति कम्पनी क्षमायाचना गरेकाे जनाएकाे छ । रसुवागढी जलविद्युत आयोजना भौगोलिक रूपमा अत्यन्त कठिन स्थानमा अवस्थित आयोजना हो। नेपाल-चीन सीमाक्षेत्र नजिकै रहेको उक्त आयोजना स्याफ्रुबेंसीबाट करिब १६ किलोमिटरको दूरीमा रहेको छ। बाढीका कारण स्याफ्रुबेंसीदेखि आयोजना स्थलसम्म पुग्ने सडक तथा सो मार्गमा रहेका ६ वटा पक्की पुलहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

हालै मात्र रसुवा जिल्ला नुवाकोट जिल्लासँग सडक सञ्जालमा जोडिएको अवस्थामा क्षतिग्रस्त सडक तथा पुलहरूको पुनर्निर्माण नगरी आयोजनास्थलसम्म पुग्ने अन्य वैकल्पिक मार्ग उपलब्ध छैन। त्यसैले सडक तथा पुलहरूको पुनर्निर्माण सम्पन्न भएपछि मात्र आवश्यक मेसिनरी, उपकरण तथा अन्य निर्माण सामग्री आयोजनास्थलसम्म पुर्‍याउन सम्भव हुनेछ। त्यसपश्चात् मात्र आयोजनास्थलमा आवश्यक पुनर्निर्माण, मर्मतसम्भार तथा अन्य गतिविधिहरू अघि बढाउन सकिने जनाएकाे छ । 

बाढीबाट  बेपत्ता भएका तथा मृत्युवरण गरेका  कर्मचारीका परिवार तथा आफन्तजनसँग प्रत्यक्ष  भेटघाट गरी उहाँहरूको अवस्था बुझ्ने उद्देश्यले कम्पनी व्यवस्थापनका प्रतिनिधिहरूबाट काठमाडौं उपत्यका, नुवाकोट, रसुवा तथा पूर्वी क्षेत्रमा रहनुभएका बेपत्ता तथा मृतक कर्मचारीका परिवारजनसँग उहाँहरू बसोबास गर्नुभएको स्थानमै गई एक चरणको भेटघाट सम्पन्न गरिएको छ।

भेटघाटका क्रममा अधिकांश आश्रित परिवारहरूको आर्थिक अवस्था कमजोर रहेको र उहाँहरूले तत्काल आर्थिक सहयोगको अपेक्षा गर्नुभएको हुँदा बेपत्ता तथा मृतक कर्मचारीका नजिकका हकवालाले नियमानुसार प्राप्त गर्नुपर्ने अन्य रकम तथा सुविधाका लागि आवश्यक कागजात जुटाउन समय लाग्ने भएकाले पीडित परिवारको तत्कालीन आर्थिक अवस्थालाई केही सहज बनाउने उद्देश्यले कम्पनीको सञ्चालक समितिले कानून बमोजिम कर्मचारीका नजिकका हकवालालाई प्रति कर्मचारी पाँच लाखका दरले तत्काल नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ।

उक्त राहत रकम प्राप्त गर्नका लागि सम्बन्धित वडा कार्यालयबाट बेपत्ता वा मृतक कर्मचारीसँगको नाता प्रमाणित हुने कागजात तथा नजिकको हकवाला सिफारिसलगायत आवश्यक कागजातहरू तयार गरी कम्पनीमा उपलब्ध गराइदिनुहुन सम्बन्धित परिवारजनमा कम्पनीले  अनुरोध  गरेको छ।

हालसम्म प्राप्त कागजातका आधारमा बेपत्ता तथा मृतक गरी जम्मा ५३ जना कर्मचारीमध्ये ४७ जना कर्मचारीका परिवार तथा आफन्तजनलाई प्रति परिवार ५ लाखका दरले हुन आउने राहत रकम सम्बन्धित नजिकका हकवालाको बैंक खातामा जम्मा गरिसकिएको छ। बाँकी परिवारजनलाई समेत आवश्यक कागजात प्राप्त भएपछि नियमानुसार राहत रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाइनेछ।

कम्पनीबाट उपलब्ध गराइने तत्कालीन नगद राहतका अतिरिक्त बेपत्ता कर्मचारीहरूको मृत्यु प्रमाणित हुने कागजात प्राप्त गर्नका लागि नेपाल सरकारका सम्बन्धित निकायबाट जारी सार्वजनिक सूचनामा उल्लेख भए बमोजिम आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न परिवार तथा आफन्तजनलाई जानकारी गराइएको छ।बेपत्ता कर्मचारीहरूको मृत्यु दर्ता प्रमाणपत्र प्राप्त भएपछि नियमानुसार प्राप्त गर्न सकिने जनाइएकाे छ । 

कम्पनीका अनुसार विनाशकारी बाढीबाट कम्पनीले व्यहोर्नुपरेको मानवीय तथा भौतिक क्षति अत्यन्त दुःखद र अपूरणीय छ। यस विपद्का कारण बेपत्ता भएका तथा मृत्युवरण गरेका कम्पनीका संचालक तथा कर्मचारी, उनका परिवारजन, आफन्तजन तथा अन्य सरोकारवालाहरूको पीडा र कठिनाइप्रति कम्पनी गहिरो सहानुभूति व्यक्त गरेकाे छ ।  

बेपत्ता कर्मचारीहरूको अवस्था बारे जानकारी प्राप्त गर्ने प्रयास, प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्य, नियमानुसार प्राप्त गर्न सकिने बीमा तथा अन्य सुविधाका लागि आवश्यक सहजीकरण र पीडित परिवारबाट प्राप्त मागहरूको सम्भाव्य सम्बोधनमा कम्पनीले आफ्नो जिम्मेवारी निर्वाह गर्दै जाने प्रतिबद्धता पनि जनाएकाे छ ।  

यस कठिन घडीमा पीडित परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै कम्पनीले सबै सरोकारवाला निकाय तथा आम जनसमुदायबाट आवश्यक सहयोग, समन्वय र सद्भावको अपेक्षा गरेकाे छ । 



No comments:

Post a Comment