ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, September 13, 2026

बालबालिकाहरुलाई सामाजिक संघसंस्थाहरुद्वारा मनोसामाजिक परामर्श दिइदै





रसुवा, लेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्त, अभिभावक र घरबार गुमाएका बालबालिकाहरूको मनोसामाजिक अवस्थालाई ध्यान दिँदै सामाजिक संस्थाहरुले मनोसामाजिक परामर्श सुरु गरेका छन् ।

बाढीपछिको मानसिक आघात (ट्रमा) तनाव न्यूनीकरण गर्दै गाउँगाउँमा बालबालिकालाई पुनः सामान्य जीवन र अध्ययनमा फर्काउन गाउँपालिकाले विद्यालयस्तरमै मनोसामाजिक परामर्श तथा अभिप्रेरणात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

गाँउमा बालबालिका तथा अन्य व्यक्तिलाई पनि मनोसामाजिक परामर्श आवश्यक हुने भएकोले सामाजिक संस्थाहरुले विज्ञहरु पठाएर परामर्श दिन आवश्यक रहेको गैसस महासङ्घका केन्द्रीय कोषाध्यक्ष गोविन्द शाहीले बताए । 


बाढीका कारण सडक सञ्जाल विच्छेद भएपछि युनिसेफ, सिएमसी नेपाल , टिपिओ नेपाल, सिविन, जेसिवाइसियन, सेयर एण्ड केयरलगायतका सामाजिक संस्थाहरु र  मनोसामाजिक परामर्शदाताहरूले समुदायमा परामर्श सुरु गरेका छन् ।  उत्तरगया र गोसाईकुण्डमा मनोसामाजिक परामर्शकर्ता विद्यालयहरूमा पुगी परामर्श सेवा प्रदान गरिरहेको मनोपरामर्शदाता मीन तामाङले बताए । 

आमाछोदिङ्मो गाउँपालिका-४ मा रहेको पार्वती कुण्ड माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि विशेष परामर्श कार्यक्रम आयोजना गरिएको उत्तरगया गाँउपालिकाकी उपाध्यक्ष चमेली गुरुङले भनीन् ।   कार्यक्रममा विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया, सामूहिक काउन्सिलिङ तथा तनाव भुलाउने खालका विविध मनोरञ्जनात्मक खेलकुद गतिविधिहरू गराइएको छ । 

एकीकृत बसाइँ र मनोसामाजिक परामर्श बारे समुदायमा बुझाई नै फरक रहेको र केही बालबालिकाहरुमा समस्या देखिएको सिविन कर्मी तारा भण्डारीले बताइन् । 

आफ्ना आमाबाबुलगायत नजिकका आफन्त गुमाउँदा बालबालिकामा गहिरो मानसिक असर परेको हुँदा बालबालिकाहरूलाई भय, त्रास र नकारात्मक सोचबाट बाहिर निकालेर मानसिक रूपमा सबल बनाउन ठूलो राहत पुर्‍याएको आमाछोदिङमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए । 




Friday, September 11, 2026

राहत सामग्री लैजान हेलिप्याड बनाउँदै स्थानीय सरकार

 


रसुवा, आमाछोदिङ्मो गाउँपालिका–५ स्थित थम्बुचेतमा हेलिकप्टरमार्फत राहत खाद्यान्नको ढुवानी गर्न हेलिप्याडको निर्माणमा आमाछोदिङ्मो गाउँपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी, नागरिक, र सान्जेन जलविद्युत् कम्पनीको उपकरणसमेतका सहायतामार्फत हेलिप्याड निर्माण जुटेका छन्।

आमाछोदिङ्मो गाउँपालिकाको हाकु, नेसिङ, ग्रेगाउँ, गोल्जुङ, गतलाङ, चिलिमे, तातोपानीलगायतका गाउँमा सडक सञ्जाल तथा व्यवस्थित हेलिप्याड नहुँदा विपत तथा अन्य आपतकालीन उद्धारका लागि हेलिप्याड बनाउन थालेको गाउँपालिकाले जनाएको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त भएको स्याफ्रुबेंसीदेखि चिलिमे हाइड्रोपावरसम्मको भोटेकोशी नदी वारिको सडक मार्ग खुलाउन हामी आमाछोदिङ्मो गाउँपालिकाको जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी समेतको संयुक्त टोलीले स्याफ्रुबेंसीको वस्तुस्थिति हेरेर स्थानीयसँग छलफल गरी गाउँपालिका , चिलिमे हाइड्रोपावर कम्पनी र सान्जेन हाइड्रोपावर कम्पनीको समेत सहयोगमा स्काभेटर र सान्जेन हाइड्रोपावरको एउटा जेसीभीलाई चिलिमे हाइड्रोपावरले इन्धनको व्यवस्थापन गरी सडक निर्माणमा गरिएको आमाछोदिङ्मो गाउँपालिका–५ का वडा अध्यक्ष दावागोम्बो तामाङले बताए।

नदीमा बेलिब्रिजका लागि जग निर्माण र अर्को व्यवस्था नभएसम्मका लागि तत्काल तुइन निर्माण गर्न स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णयसमेत गरेको र जिल्ला विपद् व्यवस्थापन समितिले समेत तुइनलाई पहिलो प्राथमिकतामा राखेको हुँदा अबको २–३ दिनमा तुइन निर्माण हुन सक्ने।

हाल हेलिकप्टरबाट राहत ढुवानी भएको अवस्थामा तुइन निर्माण भएमा निकै कम खर्चमा खाध्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीहरू सडक मार्गबाट ल्याउन सडक मर्मत थालेको अध्यक्ष तामाङले बताए।

बाढीबाट प्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सक सहितको थप टोली पठाउने



रसुवा, लेन्देहुँदै  भोटेकोशी नदिमा बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली नुवाकोट जाने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तरता दिनुका साथै आवश्यकताअनुसार थप सेवा उपलब्ध गराउने निर्णयअनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली नुवाकोट पठाउन लागिएको हो।

यसअघि नै प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन गरी सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा थप आवश्यक देखिएपछि अर्को टोली पठाउन लागिएको मन्त्रालयले जनाएको छ।

टोलीमा कान्ति बाल अस्पतालकी ११औँ तहकी बालरोग विशेषज्ञ डा। विना प्रजापति, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा हरिकुमार श्रेष्ठ र डा श्रीराम खड्का तथा सोही अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। धनबहादुर रहेका छन्।

चिकित्सकहरूको टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकताअनुसार मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ। टोलीसँग आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाइने मन्त्रालयले जनाएको छ।

बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहमा पर्न सक्ने अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यकता पहिचान गरी थप विशेषज्ञ जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री परिचालन गर्दै आएको छ।

हैजा विरुद्धको खोप अभियान सुरू



रसुवा, बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । 

नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार  गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्।

 

खोप अभियानअन्तर्गत लक्षित चार पालिकाभित्रका १ वर्षभन्दा माथिका सबै उमेर समूहका नागरिकलाई हैजाविरुद्धको खोप लगाइँदैछ । तर, हाल ज्वरो आएका र पखाला लागिरहेका बिरामीलाई भने यो खोप लगाइने छैन। उनीहरू निको भएपछि मात्र खोप दिइने जिल्ला जनस्वास्थ्य  कार्यालय रसुवाले जनाएको छ ।


यसैगरी,बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा उद्धार तथा राहत वितरणमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई हैजाको खोपका साथै ’टिटानस र डिप्थेरिया’विरुद्धको खोप पनि लगाइने व्यवस्था मिलाइएको छ ।


दूषित पानी र प्रतिकूल वातावरणका कारण हैजा जस्ता जलजन्य रोग फैलन सक्ने जोखिम उच्च रहने भएकाले पूर्वतयारी स्वरूप यो कदम चालिएको हो । स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको टोली खटाएर सञ्चालन गरिएको अभियानमा सहभागी भई तोकिएका केन्द्रबाट खोप लिन स्वास्थ्य प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ ।

Thursday, September 10, 2026

बाढीमा हराएकाहरुको खोजी तथा उद्दार जारी


रसुवा । भदौ १० गते आएको बाढीका कारण बेपत्ताहरुको खोजी जारी रहेको छ । २ साता बित्दा समेत झण्डै ४ हजार मानिस हराइरहेकोले खोजी भइरहेको हो । 

जिल्ला प्रशासन कार्यालयका अनुासर १६१६ जनाको उद्धार भएको छ भने ३९१५ जना बेपत्ता छन् । हालसम्म १० जनाको सनाखत भएको छ भने १८५ जनाको मात्र शव भेटिएको छ । 

चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धारको प्रयास भइरहेको छ । 

कम्पनीको तत्कालीन प्रबन्ध–निर्देशकका कुलमान घिसिङले सुरुङमा लेदो सहितको वालुवा ढुंगा हटाउने कार्य तीव्र रूपमा भइरहेको छ । उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको छ । सुरूङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको छ । त्यहाँबाट चिसो हावा समेत आइरहेकोले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा र अनुमान रहेको घिसिङले बताउनुभयो ।  

विद्युतगृह छिचोल्न करिब १०० मिटर बाँकी रहेको छ । उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत कम्पनीका कर्मचारी खटेका छन् । 

अझै बिभिन्न विद्युत आयोजनाको सुरूङमा फसेकाहरु जिवित उद्धारका लागि सवै क्षेत्रबाट अनुरोध भइरहेको छ । 


उत्तरगया गाउँपालिकाले बाढीबाट घर गुमाएका परिवारहरूलाई मासिक ५ हजार रुपियाँ दिने


रसुवा, भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढीका कारण घरबार विहीन भएका पीडित परिवारहरूका लागि उत्तरगया गाउँपालिकाले ५ हजार रूपैयाँ नगद दिने भएकाे छ । 

बाढीबाट घर गुमाएका परिवारहरूलाई रसुवा जिल्लाभित्र कोठा भाडामा बस्नका लागि प्रतिपरिवार मासिक ५ हजार रुपियाँ भाडा सहयोग उपलब्ध गराउने र आवश्यक खाद्यान्न समेत प्रदान गर्ने निर्णय गरेको छ ।

साथै, गाउँपालिकाले नुवाकोटको बट्टारस्थित होल्डिङ क्याम्पमा आश्रय लिइरहेका बाढी प्रभावितहरूलाई रसुवा फर्काउनका लागि यातायात तथा सम्पूर्ण व्यवस्थापन गाउँपालिका स्वयंले गर्ने निर्णय गरेको छ । 

विपद्का बेला अभिभावक विहीन बनेका बालबालिकाहरूको संरक्षणलाई उच्च प्राथमिकता दिँदै गाउँपालिकाले पालिकाको पूर्वस्वीकृति र अनुमति विना कसैले पनि अन्यत्र नलैजान आग्रह गरेको छ ।

बाढीका कारण उत्तरगयामा ८ सय १८ घर बिस्थापित


रसुवा,  लेन्दे खाेला हुँदै भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढी पश्चात् रसुवा जिल्लामा पुर्‍याएको क्षतिको सम्पूर्ण विवरण हालसम्म एकीन हुन सकेको छैन । 

उत्तरगया गाउँ कार्यपालिकाले सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार बाढीका कारण ८ सय १८ घर बिस्थापित भएका छन् । गाउँपालिकाले तयार गरेको तथ्याङ्क अनुसार ८ सय ७७ जना सम्पर्कविहीन, मृत्यु भई सनाखत भएका १२ जना, पूर्ण घर क्षति संख्या ६ सय १८, पूर्ण विस्थापित परिवार ६ सय १३ रहेको गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले बताए ।  

६ वटा होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका बाढी प्रभावितको संख्या ४ सय ९२ जना रहेको छ । सडक सञ्जाल नहुँदा समस्यामा परेका १ हजार ९९ घरपरिवारलाई राहत उपलब्ध गराइएको छ । होल्डिङ सेन्टरमा ४ सय ९२ जनालाई नियमित खाना खाजाको व्यवस्था भएको छ ।

गाँउपालिकाका कर्मचारीहरु मध्ये जनस्वास्थ्य निरिक्षक बलराम न्यौपाने, जनस्वास्थ्य अधिकृत प्रदिप न्यौपाने, अनमी दिनिसा शाही डोल्पा, कार्यालय सहयोगी रेप्पा तामाङ हालसम्म सर्म्पविहीन छन् । गाँउपालिकाका सूचना प्रविधि अधिकृत जनक आचार्यको शवको सनाखत भइसकेको छ । शिक्षक मीननाथ न्यौपाने, रमेश लामिछाने,  संजिव तामाङ, नारायण वहादुर थापा, अजय कुमार यादव सर्म्पविहिन छन् । 

त्यस्तै विद्यालय नर्स ममता श्रेष्ठ वालविकास शिक्षक मनमाया तामाङ,  वालविकास शिक्षक सुकबहादुर तामाङ समेत हालसम्म सर्म्पविहीन हुनुहुन्छ । कार्यपालिकाको खाल्टेमा रहेको भवन, कार्यपालिकाको भाडामा रहेको कैदलेटारको भवन, वडा नं १ स्थित निर्माणाधीन कार्यालय भवन र वडा सम्पर्क कार्यालय, दुई वटा स्वास्थ्य संस्था, दुई वटा विद्यालय, एक पशुसेवा कार्यालय, एक कृषि सेवा कार्यालय , एक संस्थागत विद्यालय , चार  जलविद्युत आयोजना र दुई  बैंकमा  क्षति भएको छ । जिल्लाभर बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी र ५ सय ८९ जना विदेशी पर्यटक सम्पर्कविहीन छन् । 

सुरक्षा फौजले सम्पर्कविहीनको खोजी तथा उद्धारकार्यलाई थप तीव्रता दिएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोजी तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ६ सय ४६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ३ हजार ६ सय २८ जनाले जिल्ला र बाहिर रहेका विभिन्न स्थानमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् । जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार जारी रहेको छ ।