रसुवा, लेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्त, अभिभावक र घरबार गुमाएका बालबालिकाहरूको मनोसामाजिक अवस्थालाई ध्यान दिँदै सामाजिक संस्थाहरुले मनोसामाजिक परामर्श सुरु गरेका छन् ।
बाढीपछिको मानसिक आघात (ट्रमा) तनाव न्यूनीकरण गर्दै गाउँगाउँमा बालबालिकालाई पुनः सामान्य जीवन र अध्ययनमा फर्काउन गाउँपालिकाले विद्यालयस्तरमै मनोसामाजिक परामर्श तथा अभिप्रेरणात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
गाँउमा बालबालिका तथा अन्य व्यक्तिलाई पनि मनोसामाजिक परामर्श आवश्यक हुने भएकोले सामाजिक संस्थाहरुले विज्ञहरु पठाएर परामर्श दिन आवश्यक रहेको गैसस महासङ्घका केन्द्रीय कोषाध्यक्ष गोविन्द शाहीले बताए ।
बाढीका कारण सडक सञ्जाल विच्छेद भएपछि युनिसेफ, सिएमसी नेपाल , टिपिओ नेपाल, सिविन, जेसिवाइसियन, सेयर एण्ड केयरलगायतका सामाजिक संस्थाहरु र मनोसामाजिक परामर्शदाताहरूले समुदायमा परामर्श सुरु गरेका छन् । उत्तरगया र गोसाईकुण्डमा मनोसामाजिक परामर्शकर्ता विद्यालयहरूमा पुगी परामर्श सेवा प्रदान गरिरहेको मनोपरामर्शदाता मीन तामाङले बताए ।
आमाछोदिङ्मो गाउँपालिका-४ मा रहेको पार्वती कुण्ड माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि विशेष परामर्श कार्यक्रम आयोजना गरिएको उत्तरगया गाँउपालिकाकी उपाध्यक्ष चमेली गुरुङले भनीन् । कार्यक्रममा विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया, सामूहिक काउन्सिलिङ तथा तनाव भुलाउने खालका विविध मनोरञ्जनात्मक खेलकुद गतिविधिहरू गराइएको छ ।
एकीकृत बसाइँ र मनोसामाजिक परामर्श बारे समुदायमा बुझाई नै फरक रहेको र केही बालबालिकाहरुमा समस्या देखिएको सिविन कर्मी तारा भण्डारीले बताइन् ।
आफ्ना आमाबाबुलगायत नजिकका आफन्त गुमाउँदा बालबालिकामा गहिरो मानसिक असर परेको हुँदा बालबालिकाहरूलाई भय, त्रास र नकारात्मक सोचबाट बाहिर निकालेर मानसिक रूपमा सबल बनाउन ठूलो राहत पुर्याएको आमाछोदिङमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए ।
No comments:
Post a Comment