ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Friday, June 5, 2026

गाेल्जुङ गाउँ प्लाष्टिकजन्य प्रदुषण मुक्त वडा घोषणा



रसुवा, आमाछोदिङमो गाउँपालिका वडा नं ४ गोल्जुङलाइ प्लाष्टिक जन्य प्रदुषण मुक्त वडा घोषणा गरिएको छ । जिल्लामै पहिलाे पटक प्लाष्टिक प्रदुषण मुक्त वडा घोषणा  भएकाे हाे । 

डिभिजन वन कार्यालय रसुवा र आमाछाृदिङमो गाउँपालिका वडा नं ४को आयोजनामा ५४ औं विश्व वातावरण दिवसको अवसरमा भएको एक कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य इन्द्रप्रसाद गोतामेले प्लाष्टिक प्रदुषण मुक्त वडा घोषणा गरेका हुन् ।


समुदायले दैनिक जीवन ब्यवहारमा प्लाष्टिकको प्रयोगलाइ कम गर्दै जना सकेमात्र प्लाष्टिक प्रदुषण मुक्त वडा घोषणाले सार्थकता पाउने बताए । सन् १९७३ देखि हरेक वर्ष जुन ५ मा मनाउन थालिएको हो। ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारा सहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो ।

कार्यक्रममा विशेष अतिथी जिल्ला समन्वय समितिका प्रमुख अशेककुमार घिमिरेले प्लाष्टिक प्रदुषण मुक्त वडा घोषणाले मात्र नपुग्ने बताए । उनले वातावरण संरक्षण र वातावरण मैत्री विकास गरी थप कार्यक्रम गरेर प्लाष्टिकको कम प्रयोग गर्दै जाने र भविष्यमा २७ वटै वडामा नमुना तथा सफल वडा हुने बताए । 


डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङ सभ्य समाजका लागि स्वच्छ वातावरण र सरसफाइ आवश्यक हुने बताए । उनले घोषणा गरेर वितरण गरेर मात्र नहुने , प्लाष्टिक कम प्रयोग गर्नुपर्ने, फोहोरको उचित विर्सजन गरेर सफा र स्वच्छ समाज विकास गर्नुपर्ने बताए । यस वडालाइ नमूना वडाका रुपमा विकास गरी अरु वडालाइ पनि प्रेरणा मिल्ने गरी सन्देश दिनुपर्ने बताए । कार्यक्रम सफलपार्न स्थानीय समुदायको महत्वपूर्ण हात रहनेमा तामाङले जोड् दिए । 


आमाछोदिङमो गाउँपालिका वडा नं ४ वडा अध्यक्ष धर्म तामाङले प्लाष्टिक प्रदुषण मुक्त वडा घोषणा भयो अब हामी सबैले जिम्मेवारी पुर्वक लागेर सफल पार्नुपर्ने बताए । उनले समुदायले बानी परिवर्तन गरी प्लाष्टिकलाइ विस्तारै विस्थापित गर्न वितरण भएको वैकल्पिक झोला बोकेर अब बजार जानुपर्ने बताए । 

कार्यक्रममा सरसफाइका लागि फौहोर संकलन गर्न ठाउँ ठाउँमा डष्टविन, प्लाष्टिकको सट्टामा वैकल्पिक झोला समेत वितरण गरिएको थियो । 

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय जनप्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, सामुदायिक वन  उपभोक्ता समुहका प्रतिनिधिहरु, पत्रकारहरु सहभागी थिए । स्थानीय युवा तथा बालबालिकाहरूले माैलिक कला तथा गीत र नृत्य समेत प्रस्तुत गरेका थिए । 

 


रसुवामा पूर्ण खोप बारे छलफल

 


रसुवा, आधारभूत स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापन स्थानीय तहको जिम्मेवारी भएकाले पूर्ण खोप सुनिश्चित गर्न सबै तहका सरोकारवालाको साझेदारी र समन्वय आवश्यक रहेकाे बताइएकाे छ ।

पूर्ण खाेप बारे छलफल कार्यक्रममा तथा पूर्ण खाेप समन्वय समितिकाे बैठकमा जनस्वास्थ्य अधिकृत निर्धाेज घर्तीमगरले पुर्णखोप निर्देशिका २०७१ तेस्रो संशोधन २०७७ अनुसार १६ देखि २३ महिना उमेर समुहका सम्पुर्ण वालवालिकाहरुले राष्ट्रिय खोप तालिकामा समावेश भएको सम्पुर्ण खोपहरु पाएको अवस्थालाई पूर्ण खोपलाइ पुर्ण खाेप भनिने बताए । 

पूर्ण खाेप घाेषणा भएपनि नियमित रिपाेर्टिङ गरी खाेप सुनिष्चित र दिगाेपना दिनुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, जिल्ला समन्वय प्रमुख अशाेककुमार घिमिरे, नगरिक समाज, पत्रकार, कार्यालय प्रमुखहरू सहभागी थिए । 

जिल्ला खाेप समन्वय समितिले सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार गुणस्तरीय पूर्ण खोप प्राप्त गरे नगरेकाे अनुगमन गर्ने, स्थानीय स्रोत तथा साधनको परिचालनमार्फत खोप सेवाको दिगोपना सुनिश्चित दिने, खोप कार्यक्रममा सरोकारवालाहरूको साझेदारी तथा सहभागिता वृद्धि गर्ने खोपबाट बच्न सकिने रोगहरूको प्रकोप तथा महामारीमा उल्लेखनीय कमी लयाउन र  रोगमुक्त  अवस्थातर्फ अग्रसर गराउन भूमिका खेल्नु पर्ने बताइएकाे थियाे ।



Thursday, June 4, 2026

विश्व वातावरण दिवस : मावि स्तरिय जिल्लाव्यापी वक्तृत्वकाला प्रतियोगिता सम्पन्न


 रसुवा, विश्व वातावरण दिवस २०८३ काे अवसरमा वन डढेलाे (आगलागी ) नियन्त्रणमा युवा विद्यार्थीकाे भूमिका विषयक मावि स्तरिय जिल्लाव्यापी वक्तृत्वकाला प्रतियोगिता उत्तरगया गापा- ५ स्थित नीलकण्ठ माविमा सम्पन्न भयो ।

डिभिजन वन कार्यालय रसुवा र रेडियाे लाङटाङ ९०.१ मेगाहर्जकाे सहकार्यमा भएकाे कार्यक्रम डिभिजन वन  कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङकाे अध्यक्षतामा भएकाे थियाे । 

जिल्ला भरका १९ जना विद्यर्थीले भाग लिएकाे कार्यक्रममा सेतीदेवी मावि धुसेनीकी सिवानी अधिकारी प्रथम भइन् । 

द्धितीयमा नीलकण्ठ मावि  बाेगटीटारकी सरगम भुषाल, तृतीयमा डाडागाउँ माविका कृष्ण पाैडेल  र सान्त्वना नीलकण्ठ मावि बागटीटारकी कन्चन रैला भइन् । 


कार्यक्रममा प्रमुख अतिथि उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ, उत्तरगया गाउँपालिका ५ का वडा अध्यक्ष यमनाथ आचार्य, सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा, उत्तरगया ५ का पुर्व वडा अध्यक्ष इश्वर थापा, नीलकण्ठ माविका प्रधानाध्यापक माधवप्रसाद लामिछाने, राष्ट्रिय लाेक दाेहाेरी प्रतिष्ठानका बागमती प्रदेश समिति अध्यक्ष राजकुमार थापा मगर, पत्रकार तथा प्रेस चाैतारी रसुवाका अध्यक्ष बलराम घिमिरे, स्थानीय शिक्षक, विद्यार्थीहरू, समुदायका अगुवाहरू सहभागी थिए । 

वक्तृत्वकाला प्रतियोगितामा  सहभागी पुरस्कृतहरूलाइ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी विश्व वातावरण दिवसकाे सन्दर्भ र कार्यक्रमकाे एक समीक्षा गरी डिभिजन वन  कार्यालय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङले पर्यावरण संरक्षण, वनजंगलको सुरक्षा तथा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएकाे बताउँदै समापन गरेका थिए । 


Wednesday, June 3, 2026

निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरमा ९ सय ८० जनाले सेवा लिए

 

रसुवा, रसुवाको कालिका गाउँपालिका–५, जिवजिवेमा सञ्चालन गरिएको दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरमा ९ सय ८० जनाले स्वास्थ्य सेवा लिएका छन्।

जिवजिवे ग्रामीण अस्पतालको आयोजना तथा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंको प्राविधिक सहयोगमा जेठ ९ र १० गते शिविर सञ्चालन गरिएको हो।

शिविरमा ९ सय २० जनाको इको ECHO परीक्षण तथा १२० जनालाई इसिजी ECG सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ। परीक्षणका क्रममा मुटुमा गम्भीर समस्या देखिएका १२ जना बिरामीलाई थप उपचारका लागि काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सिफारिस गरिएको जनाइएकाे छ।

ग्रामीण क्षेत्रका सेवाग्राहीलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरमा ठूलो संख्यामा स्थानीय बासिन्दाले आफ्नो मुटु स्वास्थ्य परीक्षण गराएका थिए।



उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला सम्पन्न

 


रसुवा, उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङकाे उपस्थितीमा उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला सम्पन्न भयाे । भेलाले टेकबहादुर तामाङकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।

सदरमुकाम धुन्चेमा आयोजित भेलाबाट उपाध्यक्षमा उर्केनछोमो तामाङ, सचिवमा पाराङवा स्याङवा तामाङ र म्हेन्दो तामाङ तथा कोषाध्यक्षमा श्याममाया तामाङ चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा गोपाल ग्लान, छोवाङ सोनाम वाइबा, किप्पाछिरिङ तामाङ, पासाङ तामाङ, लामादोर्जे तामाङ, सुकबहादुर लोप्चन, हर्कबहादुर लोप्चन, करिना थिङ, ल्हाचेन तामाङ, तुलुकर्मा लोप्चन, सञ्जय तितुङ, सेरछोवाङ लामा र अर्जुन तामाङ रहेका छन्।

यसैगरी उज्यालो नेपाल फ्रन्ट नेपाल, रसुवा जिल्ला समितिको अध्यक्षमा तेन्जिङ तामाङ र उपाध्यक्षमा रामकुमार थिङ चयन भएका छन्। अन्य पदहरू उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पछि पूर्ति गरिने जनाइएको छ। सहसचिवमा अभिषेश तामाङ चयन हुँदा सदस्यहरूमा राजकुमार तामाङ, विशाल तामाङ, रिसिवादि, सोमबहादुर तामाङ र विरलाल तामाङ रहेका छन्।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ सहभागी भई भेला सफल बनाएको बताइएको छ। उनले कार्यक्रममा सम्बोधन गर्दै नवनिर्वाचित पदाधिकारीहरूलाई खादा लगाएर स्वागत गरेका थिए।

Tuesday, June 2, 2026

नौकुण्डमा भूमि समस्या समाधान बारे तालिम सम्पन्न


रसुवा, जिल्ला भूमि अधिकार मञ्च रसुवा र चनभूमे गाउँ भूमि अधिकार मञ्च नौकुण्ड - ५ भोर्लेको संयुक्त आयोजनामा भूमि समस्या समाधान बारे भेला तथा प्रशिक्षण कार्यक्रम भोर्ले गाउँमा सम्पन्न भएको छ । 

नौकुण्ड गाउँपालिकामा लामाे समय देखि बिर्ता जग्गाको समस्या छ । नौकुण्ड गाउँपालिका कार्यालयको सहयोगमा भेला तथा तालिम कार्यक्रम सञ्चालन गरिएको जिल्ला भूमि अधिकार मञ्च रसुवाका अध्यक्ष भनावीप्रसाद न्यौपानेले जानकारी दिए ।  

२०८३ जेठ ९ र १० गते दुइ दिन आयोजना भएको भेला तथा प्रशिक्षणमा समुदायका अगुवा तथा बिर्ताका मोही किसानहरू सहभागी भएका थिए । साथै गाउँ कार्यालिका सदस्य सुमिना नेपाली वडा कार्यालयका जनप्रतिनिधिलगायत पनि सहभागी भएका थिए । 

प्रशिक्षण कार्यक्रमको सहजीकरण जिल्ला भूमि अधिकार मञ्चका अगुवा र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका प्रतिनिधिले गरेका थिए । प्रशिक्षणमा करिव ४० जना किसान प्रतिनिधिहरू सहभागी भएका थिए ।


प्रशिक्षण कार्यक्रममा सहभागी हुँदै नौकुण्ड गाउँपालिकाका कार्यपालिका सदस्य सुमिना नेपालीले भनिन्, हाम्रो पालिकाभित्र रहेका भूमिसम्बन्धी समस्या समाधान गर्नको लागि पालिकाले प्राथिमकता दिएको छ । बिर्ता समस्या र भूमिहीन सुकुमबासीको समस्या समाधान गर्नको लागि जिल्ला भूमि अधिकार मञ्चसँग सहकार्य पनि गरिरहेका छौँ । 

जिल्ला भूमि अधिकार मञ्च रसुवाका अध्यक्ष भवानीप्रसाद न्यौपानेले भने नौकुण्ड गाउँपालिका वडा नं. ५ मा बिर्ता समस्याले किसानहरू पीडित छन् । पहिले पनि किसानहरूलाई लालपुर्जा वितरण गर्न सहयोग गरेका थियौँ । 

सरकारले २०८३ असार मसान्तसम्म बिर्ता जग्गा जोतभोग गर्ने किसानहरूले निवेदन दर्ता गर्न पाउने गरी सूचना गरेकाे र २०८४ असार मसान्तमा जग्गा दर्ताको टुङ्गो लगाउने गरी विर्ता उन्मूलन  नियमावली २०१७ को नवौं संशोधन भएको जानकारी दिइएकाे थियाे । 

सहभागीहरू बीच सबैलाई समयमै वडा तथा गाउँपालिकामार्फत भूमि प्रशासन कार्यालयमा निवेदन पेश गर्न अनुरोध गरिएकाे भूमि विज्ञ तथा सहजकर्ता विश्वास नेपालीले बताए । 

रेडप्लस (उत्सर्जन न्युनिकरण ) सम्बन्धि पालिका स्तरिय सचेतना तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

 


रसुवा, जलवायु परिवर्तनका असर न्युनीकरण र वन क्षेत्रको दिगो संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले जुरिस्डिक्सनल रेडप्लस उत्सर्जन न्यूनीकरण सम्बन्धि गाउँपालिका स्तरिय १ दिने सचेतना तथा अन्तर्क्रिया कार्यक्रम ३ वटा गाउँपालिकामा सम्पन्न भयाे ।

२०८३ जेठ ९, १० र ११ गते क्रमश उत्तरगया, कालिका र नाैकुण्डमा सम्पन्न भएकाे हाे । सामुदायिक वन उपभाेक्ता समुह, आदिवासी जनजाति महासंघ, अपाङता भएका, दलित, महिला तथा जनप्रतिनिधि तथा वातावरण शाखाका प्रमुख, पत्रकारहरूलगायत सहभागी थिए । कार्यक्रममा सहजकर्ताहरू बिनाेद सापकाेटा र कमला पाेखरेलले सहजिकरण गरेका थिए । सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे समन्वयमा भएकाे थियाे ।

रेडप्लस कार्यक्रमको महत्व, उद्देश्य र स्थानीय तहमा यसको कार्यान्वयनका पक्षहरूबारे विस्तृत जानकारी दिंदै रेडप्लस अवधारणा, नेपालमा रेडप्लससँग सम्बन्धित संरचना र आदिवासी जनजाति तथा स्थानीय समुदायको सशक्त सहभागिता सुनिश्चित गर्नुपर्ने विषयमा विशेष जोड् दिइएको थियो ।

यस कार्यक्रममा सहभागी सरोकारवाला निकाय र समुदायका प्रतिनिधिहरूले वन संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको भूमिकाबारे आफ्नो धारणा र सुझावहरू प्रस्तुत गरेका थिए ।

रेडप्लस (REDD+) कार्यक्रमले वन विनाश र क्षयिकरण न्यूनीकरण, वनको दिगो व्यवस्थापन र कार्बन उत्सर्जन घटाउँदै जलवायु सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने उद्देश्य राखेकाे सहजकर्ता तथा फेकाेफाेन बागमती प्रदेशका अध्यक्ष बिनाेद सापकाेटाले जानकारी दिए । कालिका गाउँपालिका- ३ का वडा अध्यक्ष फणिन्द्र प्रसाद न्याैपाने, नाैकुण्ड गाउँपालिका- ३ का वडा अध्यक्ष नाेकेन्द्रदेव माेक्तान, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ लगायतका सहभागीहरूले अहिलेकाे जल्दाे बल्दाे र नयाँ विषयमा जानकारी भएकाे बताए ।

सो अवसरमा जलवायु परिवर्तन, वन विनाश र क्षयीकरणका कारणहरू, रेडप्लस (REDD+)कार्यक्रम, तथा लिफ कार्यक्रम (LEAF) अन्तर्गत लाभ वितरण प्रक्रिया जस्ता विषयहरूमा गहन छलफल गरिएको थियो।्र

रेडप्लस कार्यक्रमको उद्देश्य, कार्यान्वयनको चरण, वन संरक्षणको भूमिकासँगै कार्वन व्यापार र लाभांश वितरणको विषयमा विस्तृत जानकारी गरिएको थियो । सो अवसरमा सहभागीहरुबीच वन संरक्षणको भूमिकासँगै पालिका स्तरमा वनको दिगोपना, वातावरणीय सचेतना र जलवायु प्रतिरोधात्मक विकास योजनाको विषयमा ३ वटै गाउँपालिकामा छलफल गरिए सहजकर्ता कमला पाेखरेलले बताइन् ।