ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, January 31, 2026

छ महिनामा एक अर्ब १६ करोड राजस्व सङ्कलन


रसुवा, रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ । हाल करिब दुई सय वटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेको छ ।

७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सो जानकारी दिएका हुन् । 

कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सोमबार भन्सार दिवस मनाएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा थुप्रिएको ढुङ्गा, बालुवा हटाउने कार्य नेपाल इन्टर मोडल यातायात विकास समितिमार्फत भइरहेको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिए । उनका अनुसार हालसम्मको सरसफाइबाट करिब दुई सय ५० वटा ट्रक अट्ने वातावरण बनेको छभने केही भागमा अझै सफाइ बाँकी छ ।

सो अवसरमा उत्कृष्ट कार्य गर्ने दुई व्यवसायी र चार जना कर्मचारीलाई सम्मान गरिएको थियो । व्यवसायीतर्फ विद्युतीय सवारीसाधन आयात गरी गत आवमा रु तीन अर्ब २१ करोड राजस्व बुझाउने सिजी मोटर सप्लायर्स तथा रु ७४ करोडबराबरको सामग्री निर्यात गर्ने फिन्जो सोनाम सप्लायर्स काठमाडौँलाई सम्मान गरिएको हो । कर्मचारीतर्फ नायबसुब्बा रमेश ज्ञावली, इलेक्ट्रिसियन राजु ओली, हल्का सवारी चालक श्यामकुमार सिलवाल र कार्यालय सहयोगी नरेशदत्त जोशीलाई सम्मान गरिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामीछिरिङ तामाङ, रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, समाजसेवी मीना थापामगर, भन्सार एजेन्ट सङ्घका अध्यक्ष सुरेन्द्रप्रसाद सुवेदी, नेपाल सीमापार व्यापार सङ्घका सहकोषाध्यक्ष सुमन श्रेष्ठ, सिन्धुपाल्चोक वाणिज्य सङ्घका उपाध्यक्ष इन्द्र राउतलगायतले आ–आफ्ना धारणा राखेका थिए।

सो अवसरमा रसुवागढी नाकालाई नीति–नियमअनुसार सञ्चालन गर्दै उत्तरी नाकाको गरिमा अझ उच्च बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा वक्ताहरूले जोड दिए । साथै सडक सुधार कार्ययोजना सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चीन सरकारको सहयोगमा सुधार हुन लागेको सडकको पहिलो चरणमा असहज मोडहरू सिधा बनाउन सवारी चालकहरूले माग गरेका छन् ।

यसैबीच, हिउँदको सुक्खा होस् वा वर्षायामको हिलो पहिरो पन्छाई रसुवागढीखण्डमा सडक सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको जनाउँदै रसुवागढी जलविद्युत् केन्द्रलाई पनि कार्यक्रममा प्रशंसा गरिएको भन्सार कार्यालयका सूचना अधिकारी ठाकुर गौतमले जानकारी दिए । 










दुइ सय ४० लिटर रक्सी पाेखियाे

 

रसुवा,  इलाका प्रहरी कार्यालय कालिकास्थान रसुवाबाट खटिएको प्रहरी टोलीले जिल्ला रसुवाको कालिका -२ कालिकास्थानमा अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेकाे छ ।

सवारी साधनहरू रोकि चेक जाँच गर्दा लुकाई छिपाई राखेको १२ ओटा ग्यालिन करिब २ सय ४० लिटर अबैध घरेलु मदिरा बरामद गरी आवश्यक कानुनी प्रकृया पूरा गरी नष्ट गरिएको प्रहरीले जनाएकाे छ।

तामाङ संस्कारमा चाहिने रक्सी बनाउन झन्झट लाग्नेहरूले किनेर संस्कृति धान्ने तथा रक्सी बनाएर केहीले घरखर्च चलाउने पनि गर्दछन् । यसरी विदेशी मदिरा ब्यापार गर्न दिने र घरेलु मदिरा बिक्री बितरण गर्न राेक्न नहुने स्थानीयकाे गुनासाे छ ।

‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ लेकालीलाइ

 


रसुवा,‘ शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’बाट रसुवाका सर्जक तथा पत्रकार ज्ञानेन्द्रनाथ न्याैपाने जी लेकालीलाइ  शुक्रबार धुलिखेलमा प्रदान गरिएकाे छ ।  

शब्दयात्रा प्रकाशनले यस वर्षदेखि सुरू गरेकाे रसुवा जिल्लाका प्रतिभालाई २५ हजार रुपियाँ, अभिवन्दन पत्र र शब्दयात्रा पट्टसहित ‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ प्रदान गरी सम्मान गरिएकाे हाे ।  पत्रकार तथा सर्जक  लेकालीलाइ राष्ट्रिय संचार माध्यममा रसुवाका गतिबिधि सम्प्रेषण गरेकाे भन्दै सम्मान गरिएकाे हाे । 


शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा उत्तरगया गाउँपालिका–५ बनुवाकी डा सरस्वती आचार्यले आफ्ना अभिभावकको नाममा पुरस्कार स्थापना गरेकी हुन्।  स्व माता टोपकुमारी र स्व पिता तुलसीप्रसाद आचार्यको स्मृतिमा “टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार” स्थापना गरिएको हाे । 

शब्दयात्रा प्रकाशनले हुतात्मा दिवसको अवसर पारी माघ १६ गते आफ्नै सभाकक्षमा आयोजना गरेको समारोहमा दशवटा पुरस्कार समर्पण गरेको छ । 

          



Wednesday, January 28, 2026

सबै प्रश्नहरुको उत्तर जनताकाे घरदैलोमा दिने प्रेम तामाङकाे घाेषणा



रसुवा,  आगामी फाल्गुण २१ गते हुने प्रतिनिधिसभाका लागि नेकपा एमालेवाट रसुवाको उम्मेदवार  प्रेम तामाङले मतदाताहरुसँग आफ्ना एजेण्डा सहित मत मागिरहेका छन्। उनले आफु बिरुद्ध भ्रम फैलाउन खोलेकोले उठ्रका सबै प्रश्नहरुको उत्तर जनताकाे घरदैलोमा दिने प्रेम तामाङकाे घाेषणा गरेका छन् । 

२०६४ सालमा संविधानसभाको सदस्य निर्वाचित भएका उनी २०७४ सालमा वागमति प्रदेशसभामा निर्वाचित भएका थिए। उनी गत मङसिर अन्तिम साता काठमाडौंमा भएको पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी  जिल्ला रसुवा इन्चार्ज पनि हुन्। उनले अहिलेम्म जनताको पक्षमा गरेको सेवा भावना मतमा प्रमुख आधार भएकाे बताएका छन् । 

म सबै जिल्लामा नै बसेर जनताको काम गर्दै आएको छु, जनताको दु:खलाई म आफ्नै दु:खजस्तो सम्झन्छु र सकेको सहयोग गाई उनी भन्छन् यस पनि जनताले पत्याउनुभएको हो, एकपटक पनि विश्वास गरेर मतदान गर्न आग्रह गर्दछु। रसुवामा प्रतिनिधिसभाको एउटैमात्र निर्वाचन क्षेत्र रहेको छ।


उनले फेसबुकमा स्टाटस लेख्दै घाेषणा  गरेका छन्  पर्दा पछाडीबाट र पर्दा अगाडिबाट मेरा विषयमा उठाइएका सबै प्रश्नहरुको उत्तर म सङ्ग छ म तपाइहरुको घरदैलोमा नै आएर ती प्रश्नहरुको उत्तर दिनेछु। म तपाईहरुको काख पोल्टामा हुर्केको मान्छे हु र आज पनि म तपाइहरुको त्यो न्यानो काख छोडेर कहि कतै गएको छैन र जाँदिन पनि । म सङ्ग चुनाव जितेको र हारेको दुबै अनुभवहरु छन् । 

उनले लेखेका छन् लेखेका छन् म तपाइहरुले चुनाव जिताउँदा कहिल्यै मातिन र म चुनाव हार्दा कहिल्यै आत्तिन,सधै तपाईहरुकै साथमा रहे रहिरहेको छु,रहिरहने छु । अहिले हामी फगत एक थान सांसदको लागि चुनाव लडिरहेका छैनौं । रसुवालीको सिर झुकाउने रसुवाको बिकृत राजनीतिक संस्कारको अन्त्य गर्दै सुसंस्कृत राजनीतिक उचित संस्कार स्थापित गर्ने र सबै वर्गले राजनीती गर्न सक्ने र चुनाव लड्न सक्ने राजनीतीक संस्कार स्थापित गर्ने हाम्रो मुख्य ध्यय हो  । यसको लागि हामी सबै रसुवाबासी एकजुट हौं । धन्यवाद ।

उनले रसुवावासीलाई एकजुट भएर आफ्नो लक्ष्य पूरा गर्ने अभियानमा सहयोग गर्न पनि आग्रह गरेका छन्। उसले आफूले त्यो क्षेत्रमा जनताको पक्षमा गरेको कामका बारेमा जनतालाई थाहा भइसकेको र कसैले खोजे ती सबै विवरण प्रस्तुत गर्ने पनि बताएका छन्।



रसुवाकाे उत्तरी क्षेत्रमा हिमपात : स्थानीय खुसी


रसुवा , रसुवाको माथिल्लो क्षेत्रमा हिमपात भएको छ। जिल्लाको गोसाइँकुण्ड, आमाछोदिङ्मो गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपात भएको हो। 

लाङटाङ, क्यान्जिन, थुमन, गतलाङको माथिल्लो भेग, बृद्धिम, धुन्चेको लेक, चन्दनबारी, चोलाङपाटी, ठूलोस्याफ्रु, लौरीबिनायकलगायतको स्थानमा वर्षासँगै हिमपात भएको छ। हिउँ परेपछि चिसोको कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ।  

‘यसवर्ष समयमै हिमपात भयो खेतीपाती सप्रिने भाे भने  डाडाँ जस्तो भएको हिमालमा हिउँ पनि टल्कने भयो’  गोसाइकुण्ड गाउँपालिका–१ नागथलीमा होटल सञ्चालन गर्द आएका दावासाङबो तामाङ भन्छन् ‘बल्ल हिउँ प¥यो खुसी लाग्यो । ’


गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका ८२ वर्षीय पासाङ तामाङले अहिले परेको हिउँ र पानीले खेतीबाली सप्रिने बताए। उनले भने, ‘हिउँ पर्‍यो अब खेतीपाती राम्रो हुन्छ। पानी र हिउँ परेकाले वन जंगल, पर्यटनमा पनि सकरात्मक प्रभाव  पर्छ। हिउँ परेपछि जंगलमा आगलागीको डर पनि कम हुन्छ।’

हिउँ नपर्दा जमिन निकै रुखो भएको थियो। गत्लाङका चौरीपालक कृषक चेङदावा तामाङ भन्छन् ‘हिउँ परेपछि केही दिन चिसो बढे पनि जंगल, खेतबारीमा घाँसपात उम्रिने समयमा पानी तथा हिउँ परेकाले घाँसपात पनि फस्टाउँछ वातावरण पनि स्वच्छ हुन्छ।’ 

चिसो बढेसँगै स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको छ । लाङटाङ र क्याङजीन क्षेत्रमा हिमपात भइरहेको स्थानीय ख ग्याल्बु तामाङले बताए । अत्यधिक चिसोका कारण धेरै स्थानीय बासिन्दा घर बाहिर निस्कन सकेका छैनन् ।


हिमपात र वर्षा भएपछि किसानहरू भने  खेतीपाती सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने खासै असर नपर्ने देखिएको छ । 

उम्मेदवारहरू हाल जिल्लाको दक्षिणी भेगमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका कारण निर्वाचन गतिविधिमा प्रत्यक्ष प्रभाव नपरेको बताइएको छ । यद्यपि चिसो बढेकाले दक्षिणी भेगमा पनि घरदैलो गर्न केही समस्या देखिएको छ । 

यसैबीच जिल्ला प्रशासन कार्यालय रसुवाले चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गर्दै एक सूचना जारी गरेको छ ।







तस्वीरहरू : दावा साङबाे तामाङ र ख ग्याल्बाे तामाङ

Tuesday, January 27, 2026

ड्रोन ह्याण्डलिङ सम्बन्धि ३ दिने तालिम सम्पन्न


रसुवा, वन डढेलो नियन्त्रण तथा अनुगमनको लागि ड्रोन ह्याण्डलिङ सम्बन्धि ३ दिने तालिम मिति २०८२ माघ ७ देखि ९ गतेसम्म धुन्चेमा सम्पन्न भयाे ।

डिभिजनल वन अधिकृत शम्भु तामाङकोलगायत फिल्डका समेत कर्मचारीहरू उपस्थित तालिममा प्रशिक्षकहरू राज कुमार रिमाल र विशाल रायमाझीले सहजीकरण गरेका थिए ।

तालिममा ड्रोन ह्याण्डिल कसरी गर्ने , यसबाट टाढाकाे वन भित्रकाे गतिबिधि कसरी भिडियाे र फाेटाे लिनेलगायतका विषयमा जानकारी दिइएकाे थियाे ।

वन कार्यालयमा ड्रोन रहेकाे र त्यसकाे ह्याण्डलिङ तालिम भएकाेले अब वनमा हुने सवै खाले गतिबिधिलाइ नजिकबाट अनुगमन गर्ने र अवैध गतिबिधि नियन्त्रणमा समेत सहयाेग पुग्ने विस्वास गरिएकाे छ ।

Monday, January 26, 2026

नाैकुण्डकाे नेकाङ गुफा अ‍ोझेलमा



सरस्वती न्याैपाने

रसुवा, उचित प्रचार प्रसार अभावमा धेरै स्थानले चर्चा पाउन सकेका छैनन् । यस्तै उपेक्षामा परेकाे छ नाैकुण्डकाे  नेकाङ गुफा । 

याे गुफा नौकुण्ड गाउँपालिका-२  युब्रा गाउँको अगाडि अवस्थित छ । नेकाङ गुफा साधारण गुफा होइन । यो एक अत्यन्तै विशाल, रहस्यमय र दैविक शक्तिलेले पुर्ण  पवित्र स्थल भए पनि उचित प्रचारप्रसारको कमीले अ‍ोझेलमा परेको हाे । 

युब्रा गाउँका स्थानीय गणेशमान तामाङ भन्नुहुन्छ, ‘यो गुफालाई हल्कारूपमा लिनु वा खेलाँची सम्झनु ठूलो भूल हुनेछ । किनकि यहाँ देवी माको बासस्थान रहेको स्पष्ट अनुभूति हुन्छ । देवी मा कहिल्यै एक्लै बस्नुहुँदैन । उहाँसँगै बनझाँक्री, सिमेभूमे, बायुक, स्याउरी, नाग–नागिनीलगायत अनेकौँ दैवी शक्तिहरूको सहअस्तित्व रहेको छ ।’

गुफाभित्र रहेको अण्डाजस्तो आकारको विशेष संरचना अत्यन्त शक्तिशाली छ, जुन बनझाँक्री–शक्तिसँग सम्बन्धित भएको संकेत स्पष्ट देखिन्छ । त्यो बल्छ, ऊर्जा दिन्छ र अनौठो अनुभूति गराउँछ । इतिहास र जनविश्वासअनुसार नुवाकोटको ब्रादी भन्ने स्थानमा पनि यस्तै देवी माको गुफा रहेको थियो । दिदी–बहिनी देवीहरूसँगै बस्ने क्रममा भएको मतभेदपछि दिदी देवी थाचपको नेकाङ गुफामा आएर बस्नुभएको भन्ने जनश्रुति छ ।

अझै आश्चर्यको कुरा, थाचपदेखि नुवाकोट ब्रादीसम्म गुफामार्गले नै जोडिएको विश्वास छ, जहाँ दिदी–बहिनी देवीहरू कहिलेकाहीँ भेट्न जाने बाटो रहेको भनाइ आज पनि जीवित छ । अर्को कुरा धामीझाँक्री लामाहरु विषेश गरी यस नेकाङ गुफामा बस्ने र ज्ञान लिने गरेको बताइन्छ ।

खास गरी भर्खर उत्रिँदै गरेका धामी लामाहरु ज्ञान आर्जनका लागि गुफा बस्ने गर्छन् । सबैले मान्ने गुरुले आफ्ना चेलाहरूलाई आध्यात्मिक ज्ञान आर्जनका लागि गुफा बसाउन लाने गर्छन् । 

माघ १ गतेका दिन गुफाबाट फर्किएपछि मुख्य आकर्षण नै धामीझाँक्रीको कला, लामा नाच प्रदर्शन, स्थानीय नाचगान प्रदर्शन हुने गर्छ । यति ठूलो ऐतिहासिक, धार्मिक र दैविक महत्व बोकेको स्थल हुँदाहुँदै पनि आजसम्म यसको उचित संरक्षण, सरसफाइ र व्यवस्थापन नहुनु दुःखद हो । मान्छेले थुपारेको ढुंगालाई पर्यटन क्षेत्र घोषणा गरिन्छ भने, यति ठूलो शक्ति, आस्था र इतिहास बोकेको स्थानले किन उपेक्षित रहनुपर्ने हो ?



स्थानीय गणेशमान तामाङ भन्नुहुन्छ, ‘सरकार पक्ष, स्थानीय तह, आम जनता र सम्पूर्ण भक्तजनहरूले यसको प्रचार र संरक्षण गर्नुपर्छ । नेकाङ गुफालाई धार्मिक तथा आध्यात्मिक पर्यटन क्षेत्र घोषणा गरी वैज्ञानिक एवं धार्मिक दृष्टिले संरक्षण गरिनुपर्छ । यसको नियमित सरसफाइ र सुरक्षित पूर्वाधारमा ध्यान दिइयोस् ।’

उहाँका अनुसार यसो हुन सकेमा स्थानीय जनतालाई रोजगारी र पहिचानको अवसर सिर्जना हुनेछ । यसले केवल देवी माको शक्ति संरक्षण मात्र होइन, नौकुण्ड गाउँपालिका र सम्पूर्ण क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने माध्यम बन्न सक्छ । आस्था, शक्ति र प्रकृतिको संगम रहेको यो पवित्र भूमिलाई जोगाउनु हाम्रो सामूहिक दायित्व हो । आज ध्यान नदिँदा भोलि पछुताउनु नपरोस् ।

यो धार्मिक गुफा– आस्थाको केन्द्र, शक्तिको स्रोत र नौकुण्डको पहिचान हो भनिन्छ । यो कुनै मानवनिर्मित गुफा नभएर दैवीशक्तिको रूपम रहेको प्राकृतिक गुफा हो । यसैले सबैले यसको संरक्षण र प्रचार गर्न जुर्मुराउनु जरुरी छ ।