ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, April 3, 2024

छत्र, भजन र बालुननाँच : एक परिचय

हिराकी मन्दिर सुन गजुर ...२ प्रभूज्यू सैं औरै चली जाए, आज बसे ललना बंशीनाथ कृष्ण आए आज बसे ललना राधासाथ कृष्ण आए आज बसे ललना हरिसाथ खेलन आए आज बसे ललना ललना सैं, खेलना सैं आए आज बसे ललना ..

 


"औरै गृहे खेलन जाउँ माता मालिका औरै गृहे खेलन जाउँ" भन्दै अन्य स्थल वा निमन्त्रणा गरिएको ठाउँमा छत्र लिएर नाँच देखाउन छत्रीय भाइहरू तल्लीन रहन्छन् । 

यस्तै यस्तै भजन गाएर छत्रीय भाइहरू आँगनमा छत्र लिएर नाँच्दा सोह्रवर्षे तन्नेरीदेखि सत्तरी वर्षे बृद्धासम्म मोहित हुन्छन् । लोकप्रिय भजननाँच, छत्रनाँच र बालुननाँचले सबैलाई आकषिर्त गर्दछ । माथिको भजन छत्रनाँच शुरू गर्दा वा निमन्त्रणा भएको घरमा छत्र लिएर जान लाग्दा गाईन्छ ।


छत्रनाँच पन्ध्रौ सोह्रौ शताब्दीतिर लोकप्रिय थियो भन्ने संस्कृतिविद्हरूको अनुमान छ । देशका अन्य भागमा यो नाँचको स्वरूप कस्तो छ, हामी त्यहाँसम्म पुग्न सकेका छैनौं । तर रसुवा र नुवाकोटका केही भागमा आज पनि प्राथमिकताका साथ नाँचिदै छ छत्रनाँच । फूलको माला वा सप्तरंगी कपडाको आकर्षक छत्र, भजननाँच र बालुननाँचको त्रिपक्षीय सम्बन्ध नै छत्रनाँच हो । समाजमा यस्ता कार्यले सामाजिक सद्‍भाव कायम गर्न सहयोग पुर्‍याईरहेको छ ।

 

रसुवामा छत्रनाँचको शुरूवात कसरी र कहिले भयो भनेर खोतल्नु आवश्यक छ । कुनै किटान हुन सकेको छैन । हाम्रा पुर्खा बितेर गए, वर्तमान छत्रनाँच नाँच्ने भक्तजनहरू वा छत्रीय भाइहरू पनि बितेपछि इतिहाँस होईन, छत्रनाँच, बालुननाँच र भजन नाँचका दृश्य उनीहरूसँगै बिलाउनेछ ।

 

 

छत्रनाँच देखाउनको लागि बाँसको डण्डीमा दुईइतले छाता आकारको गोलो घेरामा चारैतिर फूलका माला वा सप्तरंगी कपडाको ध्वजाहरू झुण्ड्याई बनाएको छत्र चाहिन्छ । छत्रीय भाइहरूको भनाईअनुसार छत्र उठाउन दशैंको टीका, तिहारको लक्ष्मीपूजा वा भाइटिका महत्वपूर्ण मानिएको छ । यी दिनहरूमध्ये कुनै दिन छत्र बनाउन छत्रीय भाइहरू एकै ठाउँमा भेला हुन्छन् । यसरी बनाईएको छत्र ठूली एकादशी वा माघे संक्रान्तिमा सेलाउने प्रचलन छ । तर आजभोलि स्थानीय महत्वपूर्ण पर्वका दिनमा छत्रका प्रारम्भ र विर्सजन गर्न थालिएको छ ।

 

छत्रलाई विभिन्न देवीदेवताको नाम दिएर कीर्तन गरिन्छ । मातामालिका, बिन्ध्यावासिनी, बंशीनाथ कृष्ण, हरि, रामजस्ता धेरै नामले छत्रलाई पूजन गरिन्छ । छत्रनाँचको इतिहाँस हेर्दा रसुवाको जिवजिवे, ज्याङलाङ, रूप्सेपानी, मनीगाउँ, कटुञ्जे र नुवाकोटको गेर्खुलगायतका गाउँहरूमा छत्रनाँच नाँचिने गरिएको छ । छत्रीय गुरूहरूका भनाई अनुसार नुवाकोटको गेर्खुबाट यो नाँच रसुवामा भित्रिएको भनाई पाईन्छ ।

 

विभिन्न समारोह, महोत्सव तथा विभिन्न संघ संस्था र राजनीतिक पार्टीका कार्यक्रममा पनि छत्र र भजननाँचले स्थान पाउँदै आएको छ । छत्र नाँच बोलाएको घरमा मात्र गई नाँचिन्छ । र सो घरबाट प्राप्त हुने दानदक्षिना स्वरूपको पैसा र अन्य सामग्री संकलन गरी छत्र विर्सजनमा खर्च गरिन्छ । बचेको रकम विभिन्न धार्मिक कार्य तथा मठ मन्दिर निर्माणको लागि खर्च गर्ने चलन रहिआएको छ ।

 

छत्र नाचको मूलपाठलाई हेर्दा हिन्दी आगन्तुक शब्दको प्रयोग भएको पाईन्छ । यसरी छत्रनाँचमा हिन्दी शब्दको प्रयोग प्रशस्तै पाउँदा छत्रनाँच भारतबाट नेपालमा भित्रिएको अनुमान गर्न सकिन्छ । 

 


जस्तै :

औरे गृहे खेलन जाउँ, अब औरे गृहे खेलन जाउँ हो माता मालिका औरै गृहे खेलन जाउँ ,माता मालिका औरै गृहे खेलन जाउँ , राम .......

 

तिमरा नगरीमा खेलन आयौ

आज्ञा देउ धरती माता ।।

तिमरे चरण चित्त लाउँ माता मालिका, मनले चिताको वर पाउँ माता मालिका ।

 

 

छत्र उठाइएको वा निमन्त्रणा भई आएका घरमा नाँच्न जम्मा हुने जमातलाई 'छत्रीय भाइ' भनिन्छ । मुख्य गुरू वा छत्र राखिएको घरमा निम्तो दिएपछि अरु छत्रीय भाइलाई गुरूले नै बोलाउने चलन छ । बेलुकी सबै छत्रीय भाई मिलेर छत्र नाँच्नको लागि तयारी गरिन्छ । नाँच र कीर्तन गर्नु अघि आवश्यक पर्ने खैजडी, मञ्जीरा तथा विविध वाद्य बादनको सामग्रीको जोहो गरिएको हुन्छ ।

 

"औरै गृहे खेलन जाउँ माता मालिका औरै गृहे खेलन जाउँ" भन्दै अन्य स्थल वा निमन्त्रणा गरिएको ठाउँमा छत्र लिएर नाँच देखाउन छत्रीय भाइहरू तल्लीन रहन्छन् । बाटामा रमाईला रमाईला भजन कीर्तन गर्दै छत्रीय भाइहरू सम्बन्धित घरमा पुग्छन् । जयजयाकार गर्दै पाहुना आएको खबर दिन्छन् । खैजडी र मञ्जीराको तालबाट ...पाहुना आए राम खेलन आए हरिकै पाहुना आए.. भनेर भजन गाउँछन् ।

 


पाहुना आए भन्ने पाठ सकिए पछि खनी खनी देऊ बासै हार, लालमन मोहन हरि मन मोहन हो... भन्ने नाँच नाचिन्छ । त्यस पछि छत्र राख्नको लागि भक्तजनहरूले भजन गाउँदै यज्ञस्थल वा आँगनको माझमा रहेको किलामा छत्र राख्छन् ।

 

छत्र राखेको घरबाट छत्र उठाउँदा, त्यहाँबाट हिड्दा, नाँच्ने घरमा पुग्दा, त्यहाँ पुगेर छत्र राख्दा होस अथवा त्यहाँबाट हिड्दा होस सम्पूर्ण प्रकृया भजन -पाठ) मार्फत् मात्र गरिन्छ । छत्र उठाएको बेलामा मात्र नभई सत्यनारायणको पूजा लगाउँदा पनि छत्रनाँचमा गाईने भजनहरू गाईन्छन् । सन्ध्याकालीन आरती र नारायण हरि.. भन्ने भजन मुख्यतः त्यतिबेला पनि गाईन्छ । एकादशी महात्म्य, कृष्णचरित्र वा अन्य धार्मिक ग्रन्थमा रहेका कथालाई आधार मानेर बनाईएको भजनलाई बालुनको रूपमा प्रस्तुत गरिन्छ ।

 

यसरी हाम्रा समाजमा रहेका वा भएका संस्कृतिको युवा पुस्ताले ग्रहण गर्न सकेमात्र संरक्षण सम्भव छ । नत्र एकादेशको कथा बन्न सक्छ । युवा पुस्ताले नसिकेकोमा यसको लोप हुने संकेत छ । अहिलेका छत्रीय भाइले नाँच्दै गर्दा भिडियो डकुमेन्ट्रीको रूपमा भने पनि संरक्षण गर्न सके भोलिका पिँढीले अध्ययन गर्न पाउने थिए । अझ पर्यटन विकास गर्न त्यस्ता दृश्यहरू कोसेढुङ्गा बन्ने थियो । जुन जुन ठाउँमा यस्ता संस्कृति रहेका छन् ती ती ठाउँमा उक्त संस्कृति संरक्षण गर्दै प्रचारप्रसार गर्न सके विदेशी वा स्वदेशी पर्यटक भित्र्याएर आर्थिक उन्नति गर्न सहयोग पुग्ने कुरामा सबैको मत एकै रहला ।

Sunday, December 3, 2023

समाचारहरूको सँगालो (News Gallery)

समाचार व्यवस्थापनमा हाम्रो प्रयास
स्थानीय तह अनुसार समाचारहरू


समाचार व्यवस्थापनमा हाम्रो प्रयास
विविध विषयगत समाचारहरूको ग्यालरी
समाचार व्यवस्थापनमा हाम्रो प्रयास
विविध विधाहरू

Monday, August 28, 2023

मकै बाली भित्र्याउँदा यसरी गर्नुस् गोदाम, सबै हिशावले सुरक्षित

 


रसुवाको उत्तरगया गाउँपालिका -३ ठूलोगाउँमा मकैलाइ झुत्तो परेर यसरी थाँक्रोमा भण्डारण गर्ने चलन कायमै छ । पुरानो यो चलन हराउँदै जान थालेपछि अहिले युवाहरूले पुन: यसरी राख्न थालेका छन् ।


किरा नलाग्ने र लामो समयसम्म नबिग्रने भएकोले यसरी राख्नु धेरै उचित भएकोले यसरी राख्न थालेका हुन् ।


स्थानीय उत्तरगया गाउँपालिका -३ ठूलोगाउँकी अम्बिका बिकले भनिन् पहिले काठको हुन्थ्यो अहिले ढलान घरको छतमा फलामे पोल, रड वा पिलरमा यसरी धेरैले थाँक्रो बनाएँ । यस्तो थाँक्रो हेरेर फोटो खिच्चेहरू धेरै झुम्मिने गरेको  पनि बिकले बताइन् । बीउ जोगाउन र सुरक्षित भण्डारका लागि रैथाने चलन मकै जोगाउन धेरै ठिक रहेको स्थानीय भोजमान तामाङ बताउँछन् ।


घर भित्र भन्दा सुरक्षित रहने पहिले भन्दा हल्का मोडिफाइ जस्तो पनि देखिने, राम्रो छ यसमा राखेको मकै सफा बस्छ पुरानो चलनले पनि निरन्तरता पायो, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङले भनिन् - यस्तो चलन धेरैले छाडेका थिए, घर भित्रभन्दा बाहिर खुल्लामा हुने र कोठा नचाहिने भएकोले  अहिले फेरि उही चलनलाई निरन्तरता दिन थालियो ।


यो सामग्री हेमनाथ खतिवडाले तयार गरी पठाउनुभएको हो । 


ब्राबलमा स्याउ उत्पादन बढ्यो, हुन थाल्यो बजारीकरण

रसुवा, भदौ १२ । रसुवाको ब्राबलमा स्याउ उत्पादन बढ्न थालेको छ । विगतदेखि नै यहाँ स्याउ उत्पादन हुँदै आएपनि थोरै मात्रामा भएको उत्पादनले बजार प्राप्त गरेको थिएन ।

 


उच्च घनत्व प्रविधिमा स्याउ उत्पादन कार्यक्रम लागू भएसँगै उत्पादन बृद्दि भई बजारीकरणसमेत् भईरहेको छ । कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र र स्थानीय ब्राबल कृषक समूहमार्फत् साझेदारी उक्त कार्यक्रम सञ्चालन भएसँगै यहाँका स्थानीय कृषकहरूको आयआर्जन बढ्न थालेको छ ।

 


स्थानीय बजारमा नै बिक्री वितरण भइरहेको उक्त स्याउ खानलाई अति स्वादिष्ट रहेको धुन्चेमा फलफूल तथा तरकारी बिक्रेता रमेशकुमार न्यौपाने बताउँछन्    उनका अनुसार हाल गोसाइँकुण्ड तीर्थ यात्राको समय रहेकोले पनि स्थानीय स्याउ धेरै परिमाणमा बिक्री भईरहेको छ । स्याउको ग्रेडिङ गरी प्रतिकेजी २५० र ३०० मा बिक्री भईरहेको छ । 



गोरखनाथ बाबालाई सम्मान गरियो

रसुवा । भदौ ११ गते ।

परापूर्व कालदेखि गोरखादेखि आउने गोरखनाथ बाबालाई यस वर्ष पनि रसुवाको कालिकास्थानमा र धुन्चेमा सम्मान गरिएको छ ।


कालिकास्थानमा हिजो स्थानीयहरूले गोरखनाथ बाबाहरूलाई दही चिउरा खुवाउँदै सम्मान गरेका छन् । बाबाजीहरूले जयजयाकारसमेत् गरेका थिए ।



राज्य एकीकरण पूर्व नै यस स्थानमा गोरखबाबाहरूलाई यहाँ बनेका (हाल भग्वावशेष रहेका/नरहेका) पौवाघर वा कोतघरहरूमा राखेर सातुसामलको व्यवस्था गरिँदै आएको ऐतिहाँसिक तथ्यहरू पनि रहेका छन् ।


 

त्यस्तै हिजै साँझ गोरखनाथ बाबाहरूलाई धुन्चेमा सेवा सत्कार गरिएको छ । स्थानीय निमा वाङ्चु तामाङको घरमा राखेर उनीहरूलाई सेवा सत्कार गरिएको बताईएको छ । पाँच पुस्तादेखि नै निजको घरमा गोरखनाथ बाबाहरूलाई राख्ने गरिएको छ ।


गोरखनाथ बाबाको टोली आज ११ गते गोसाइँकुण्ड प्रस्थान गर्ने बताइएको छ ।

 

Sunday, August 27, 2023

गोसाइँकुण्डमा नेपाल टेलिकमको सेवा विस्तार


धुन्चे, रसुवा, भाद्र ११ गते ।

रसुवा जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्डमा नेपाल टेलिकमको सेवा सुचारू भएको छ ।

प्रमुख जिल्ला अधिकारी, लारानिका प्रमुख संरक्षण अधिकृत, नेपाल टेलिकम, गोसाइँकुण्ड क्षेत्र विकास समितिको पहलमा टेलिकमको सेवा विस्तार गरिएको बताइएको छ ।

रसुवा जिल्लाबाट निर्वाचित सांसद मोहन आचार्यले प्राविधिक सामग्री ढुवानीमा सहयोग पुर्‍याएसँगै गोसाइँकुण्डमा नेपाल टेलिकमको मोबाईल तथा टुजी सेवा सञ्चालनमा आएको हो ।