रसुवा, गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा जिल्लाकाे संस्थागत (निजी) विद्यालयहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।
बाढीमा परी दर्जनौँ विद्यार्थी र अभिभावक बेपत्ता भएपछि सयौँ बालबालिका बिचल्लीमा परेका छन् । जिल्लाको पठनपाठन नराम्ररी प्रभावित बनेको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रसुवाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बाढीका कारण जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा गोसाइँकुण्ड बोर्डिङ स्कुलका १९ जना, मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका १० जना र हाइल्यान्ड आवासीय माध्यमिक विद्यालयका ९ जना विद्यार्थी रहेका छन् ।
यसैगरी, बाढीका कारण २०१ जना विद्यार्थीका अभिभावक बेपत्ता भएका छन् । प्याब्सनका अनुसार गोसाइँकुण्डका ४६, हाइल्यान्डका ४२, नमुना एभरग्रीनका ४१, मोडर्न ट्रिनिटीका ३३, ग्रिनगार्डनका २५, नर्थपोलका ९ र हिमालयनका ५ जना विद्यार्थीले आफ्ना अभिभावक गुमाएका हुन् । अभिभावक बेपत्ता भएसँगै सयौँ बालबालिका अहिले मानसिक तथा भौतिक सङ्कटमा परेका छन् ।
मानवीय क्षतिसँगै बाढीले व्यापक भौतिक संरचनासमेत ध्वस्त पारेको छ । बाढीका कारण मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक सुरोज डङ्गोल र एक शिक्षिका बेपत्ता हुनु भएको छ। साथै, सो विद्यालयका ३ वटा भवन, विद्यालय बसलगायत सम्पूर्ण भौतिक संरचना बाढीले बगाएर पूर्ण रूपमा नष्ट पारेको प्याब्सनले जनाएकाे छ।
सहपाठी साथीहरू र अभिभावक गुमाउनुका साथै भौतिक पूर्वाधार ध्वस्त भएपछि पठनपाठन केही समय पूर्ण रूपमा ठप्प बनेको थियो। तर, पछिल्लो समय अवस्थालाई सामान्यीकरण गर्दै शिक्षालाई निरन्तरता दिन सरोकारवाला निकायहरूले पहल तीव्र पारेका छन् ।
प्याब्सन रसुवाका अध्यक्ष पासाङ लामाका अनुसार प्याब्सन केन्द्रीय विपद् व्यवस्थापन समितिको सहयोगमा पहिलो चरणको राहत वितरण कार्य सम्पन्न भइसकेको छ । सदस्य विद्यालयका छात्रावासमा रहेका अभिभावकविहीन विद्यार्थीहरूको खानपान तथा विद्यालय तत्काल सञ्चालनका लागि आवश्यक खाद्यान्न एवं अत्यावश्यक सामग्रीहरू उपलब्ध गराइएको उनले जानकारी दिए ।
जिल्लाका ७ संस्थागत विद्यालयमध्ये ५ वटा विद्यालयहरू पुनः सञ्चालनमा आइसकेका छन्। तर, ठूलो क्षति बेहोरेका बाँकी २ विद्यालयहरूको अवस्था निकै चुनौतीपूर्ण रहेकाले तिनलाई सञ्चालनमा ल्याउन आवश्यक तयारी भइरहेको छ।
प्रभावित बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न प्याब्सन रसुवाले केन्द्रीय कार्यसमितिसँग थप सहयोगको अपिल गरेको छ । केन्द्रीय प्याब्सनको समन्वयमा अभिभावक गुमाएका तथा बाढीप्रभावित बालबालिकाहरूलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन लागिएको पनि अध्यक्ष लामाले बताए ।

No comments:
Post a Comment